नेपाली महिलाहरुको प्रजनन् स्वास्थ्य सम्बन्धी समस्याहरु मध्ये पाठेघर झर्ने (खस्ने) ‘जसलाई आङ खस्ने पनि भनिन्छ’ एक मुख्य समस्या हो ।

अहिले पनि ग्रामिण भेगमा बसोबास गर्ने कतिपय महिलाहरुले यसलाई स्वास्थ्य समस्याको रुपमा लिने गरेको पाइदैन् । बरु उनीहरुले बच्चा भएपछि हुने स्वभाविक असरका रुपमा लिने गरेको पाईन्छ ।

अर्का तर्फ प्रजनन् अंग र यसको कामको बारेमा हाम्रो परिवार समाजमा निकै न्यून मात्रामा छलफल गरिन्छ । किनकी यस्ता कुरा परिवारको ठूला साना सदस्यसंग गर्दा लाज र इज्जत जाने कुरा सम्झिने गरिन्छ । यसले गर्दा कतिपय महिलाहरु मानसिक, शारीरिक रुपमा सहित श्रीमानबाट समेत पिडीत हुन बाध्य छन् ।

– डा. सुमनराज ताम्राकार हिमाल खबर पत्रिकामा लेख्छन् – पाठेघर स्थिर नभई, केही मात्रामा चलायमान अङ्ग हो । यसलाई यथास्थानमा राखिराख्न विभिन्न प्रकारका लिगामेन्ट (बाक्ला तन्तु) हरूले टेवा दिइरहेका हुन्छन् । योनीको माथिल्लो भागका लिगामेन्टहरू कमजोर भएर धेरै महिलाको पाठेघर तल सर्छ, जसलाई ‘आङ खसेको’ भनिन्छ ।

आङ खस्नुका चरणहरु यस्ता छन्

पहिलो प्रकारको आङ खस्ने समस्यामा पाठेघर झर्दा पाठेघरको बाह्य मुख पुट्ठाको हड्डी (इस्चियम) को भित्री चुच्चो भन्दा तल आइपुग्छ । पाठेघरको बाह्य मुख योनीद्वारसम्म आइपुग्नु यस समस्याको दोस्रो चरण हो । समस्याको तेस्रो चरणमा पाठेघरको बाह्य मुख योनीद्वारभन्दा बाहिर निस्किन्छ । चौथो चरणमा पाठेघर पूरै योनीद्वार बाहिर आइपुग्छ । यो समस्यासँगै अगाडिपट्टिको पिसाब थैली र पछाडिपट्टिको आन्द्रा तथा मलद्वार पनि झोलिन सक्छ ।

किन खस्छ आङ ?

सुत्केरी व्यथा लागेका महिलालाई पाठेघरको मुख पूरा खुल्नु अगावै कन्न (बल गर्न) लगाए, पेट थिचे, पहिलो प्रसूतिमा योनीद्वार ठूलो पार्ने घाउ (इपीजीओटोमी) नबनाए वा सुत्केरी हुँदाका घाउ राम्ररी नसिलाए पछि लिगामेन्टहरू कमजोर भएर आङ खस्ने समस्या आइलाग्छ । सुत्केरी भएपछि यथेष्ट आराम गर्न नपाएका वा कठोर शारीरिक परिश्रम गरेका, फराकिलो जन्मान्तर नभएका, लामो र कष्टपूर्ण सुत्केरी व्यथा लागेका महिलाहरूलाई यो समस्या बढ्ता हुन्छ ।

कतिपय महिलामा भने पाठेघरलाई टेवा दिने तन्तुहरू जन्मजात रूपमै कमजोर हुन्छन् । त्यस्ता महिला बच्चा नपाएको वा सहजै सुत्केरी भएका रहेछन् भने पनि आङ खस्ने समस्या हुन सक्छ । यसको अलावा महीनावारी सुकिसकेपछि इस्ट्रोजेन नामक हर्मोनको अभावमा पाठेघर वरिपरिका तन्तु कमजोर भएमा, पाठेघरमा मासु पलाएमा, लामो समयदेखिको धुम्रपानबाट दम वा खोकी लागेमा र कब्जियतका कारण बढ्ता बल पर्नाले पनि यो समस्या हुन सक्छ ।

नेपालका ग्रामीण महिलाहरू घाँस–दाउरा, पानी–पँधेरामा धेरै उकालीओराली गर्नुपर्ने बाध्यतामा छन् । गाउँघरमा धेरैजसो महिला धुम्रपान गर्छन् । उनीहरूलाई धुवाँरहित चुल्हो उपलब्ध छैन । उनीहरूको पोषणस्थिति उस्तै दयनीय छ । सुत्केरी अवस्थामा पनि कामकाजमा मनग्य खट्नुपर्ने तिनै महिला छोटो–छोटो अन्तरालमै बच्चा पाउन बाध्य हुन्छन् । यीमध्ये अधिकांश महिला आङ खस्ने समस्याको शिकार हुन्छन् ।

आङ खस्नुका लक्षण र उपचार

ढाड दुख्नु, हल्का रगत मिसिएको सेतो योनीस्राव बग्नु, पिसाब फेर्न गाह्रो हुनु, छिटो–छिटो पिसाब लाग्नु तर पूरै ननिख्रनु पाठेघर खस्ने समस्याका लक्षण हुन् भने गर्भावस्थामा पोषण, सरसफाइ, व्यायाम, सुत्केरी व्यथा लाग्दा समय नभइकन (पाठेघरको मुख पूरै नखुलेसम्म) नकन्ने, व्यथालाई लामो हुन नदिने, आवश्यकता अनुसार इपीजीयोटोमी वा सिजेरियन शल्यक्रिया र प्रसूतिपछि पाठेघर वरिपरिको लिगामेन्ट तथा पेट एवं जननेन्द्रिय वरिपरिको मांसपेशी कसिलो बनाउने अभ्यासले आङ खस्ने समस्या रोक्छ ।

दोस्रो चरणको आङ खस्ने समस्यासम्म अवस्था हेरी चुरा (रिङ्ग पेसरी) लगाउन पनि सकिन्छ । तेस्रो चरणदेखिको समस्यालाई शल्यक्रियाको जरुरत पर्दछ । यसका अलावा यस्तो समस्या भएका तर बच्चा पुगिसकेका वा महीनावारी सुकिसकेका महिलामा पनि पाठेघर निकाल्ने शल्यक्रिया गर्न सकिन्छ । जन्मजात मांसपेशी कमजोर भएका, बच्चा नपाएका वा अविवाहित महिलाहरूमा आङ खस्ने समस्या रहेछ भने पाठेघर वा योनीको माथिल्लो भाग माथि सार्ने फित्तासहितको शल्यक्रिया गरिन्छ । यस्तो शल्यक्रियाले बिरामी उभिने/उठ्ने क्रममा पेटको मासुमा बल पर्न गई पाठेघर माथितिर तानिन् छ। यो तरीकाले उमेर नपुगेका महिलाहरूलाई पाठेघर ननिकाली नै समस्याबाट छुट्कारा दिन्छ ।

पाठेघर निकाल्ने शल्यक्रिया गर्दा लापरबाही भयो भने रक्तस्राव भइरहने, मूत्रनलीमा चोट पुग्ने र पिसाब रोकिने, संक्रमण हुने, यौन सम्पर्क गर्दा पीडा हुने वा फेरि आङ खस्ने जस्ता जटिलता उत्पन्न हुन सक् छ। त्यसैले घुम्ती शिविरमा भन्दा सुविधासम्पन्न अस्पतालमा दक्ष एवं तालीमप्राप्त स्त्री रोग विशेषज्ञबाट शल्यक्रिया गराउनु बुद्धिमानी हुन्छ ।

शल्यक्रियाका दौरान पाठेघरको दुवैपट्टिको डिम्बाशय ननिकाले पनि केही वर्षमा डिम्बाशयहरूले सार्थक तवरले काम गर्न सक्दैनन् । डिम्बाशयले काम नगर्दा हातगोडा पोल्ने, गर्मी महसूस हुने, पसिना आउने, मुटु हल्लने, पिसाब पोल्ने, छिटोछिटो पिसाब लाग्ने, निद्रा नलाग्ने, पिसाब चुहुने, मूत्रनलीमा संक्रमण भइरहने, यौन सम्पर्कमा बढ्ता दुख्ने, मन उदास हुने, झिंजो लाग्ने समस्या हुन सक्छ ।

के छन् जटिलता ?

प्रा.डा. गेहनाथ बरालका अनुसार पाठेघर झर्नु र बच्चा पाउनु आफैंमा रोग हुँदै हैन । तर, पाठेघर खसेपछि नयाँ रोगहरू आउन सक्छन् । पाठेघर झरेपछि तन्केर जान्छ र त्यहाँ रगतका नलीहरू पुग्न सक्दैनन् । नपुगेपछि त्यस ठाउँमा रगत कम हुन्छ र घाउहरू बन्छ, अल्सर हुन्छ । रगत र अक्सिजनको मात्रा नपुगेर अल्सर हुन्छ, त्यसपछि सेतो पानी बग्छ ।
अर्को समस्या, पाठेघर त ‘लुज’ भएर खस्ने हो, पाठेघर खस्नेसँगै पिसाब थैली पनि झर्छ । पछाडिपट्टि मलद्वारको भाग पनि झर्छ । पिसाबको थैली झर्नेमात्रै हैन, जुन नली छ त्यो खुला हुन्छ, लुज हुन्छ, त्यसपछि पिसाब रोक्न सकिन्न ।

खोक्दा, हाछ्युँ गर्दा, हाँस्दा, उकालो–ओरालो गर्दा पिसाब चुहिने सम्भावना हुन्छ । पाठेघर र पिसाब थैली खसेपछि एकै ठाउँमा डल्लो हुन्छ, त्यहाँ पिसाब जमिराख्छ । त्यसले संक्रमण हुन्छ, पिसाब गर्ने पोजिसन फरक गरेपछि मात्रै पिसाब हुन्छ । मृगौलाबाट पिसाब नली हुँदै पिसाब थैली भएर बाहिर निस्किने, युरिन आउने ठाउँहरू तन्किएर ब्लक हुन्छ ।
त्यो भएपछि बांगिएर पिसाब राम्रोसँग ‘ड्रेन’ हुन सक्दैन । पछि पछि त मृगौला पनि सुनिँदै/फुल्दै जान्छ, अनि काम गर्न छोड्छ  । यसलाई युरोप्याथी भनिन्छ । 


सामाजिक जटिलता पनि हुन्छ । सेतो पानी बगिरहन्छ, रगत पनि बग्न सक्छ, पिसाब पनि चुहिन्छ । यस्तो हुँदा दुर्गन्ध हुने भएका कारण सामाजिक भेलामा महिलाहरूलाई जान गाह्रो हुन्छ ।


सानो उमेरमा विवाह गरेर बच्चा पाउँदा पनि पाठेघर खस्छ । यौनसम्पर्क गर्न गाह्रो हुँदा उनीहरूको दाम्पत्य जीवनमा जटिलता आउन सक्छ । यसले मनोवैज्ञानिक असर पर्ने भइहाल्यो । 

खसिसकेपछि के उपाय गर्ने ?


पाठेघर खसेको उपचार अप्रेसनमात्रै होइन । धेरै नै खसेको छ भनेमात्रै अप्रेसन गर्नुपर्छ । व्यायाम गर्दा पनि बढी हुन दिँदैन, बरु कम गर्छ । अर्को भनेको रिङ प्रयोग गर्ने हो । रिङ पनि दुई किसिमको हुन्छ । एउटा तीन–तीन महिनामा फेर्नुपर्ने हुन्छ भने अर्को सिलिकन हुन्छ ।

यो धेरै गन्हाउने पनि हुँदैन । लामो समयसम्म राख्न मिल्छ र त्यसैलाई फेरि सफा गरेर पनि राख्न मिल्छ । रबरको रिङचाहिँ फेरिरहनुपर्छ । त्यही सफा गरेर प्रयोग गर्यो भने इन्फेक्सन हुने सम्भावना हुन्छ । 

घरेलु उपचार के हुन्छ ?


लुगा च्यातिएपछि सिलाउनुपर्छ, ‘लुज’ भयो या ठूलो भयो भने घटाउनुपर्छ । पाठेघर खसेको उपचार पनि यस्तै हो । कुपोषित छ भने मासुको तन्तुहरू बलियो हुँदैन, त्यसो हुँदा पोषणयुक्त खायो भने केही राम्रो हुन्छ । गर्भवती हुँदा विशेष ध्यान दिनुपर्छ । बच्चालाई स्तनपान गराइरहनुपर्छ, त्यसकारण पोषण दूधमा गएर महिलाको आफ्नो शरीरमा पोषणको कमी हुन्छ । त्यसैले पोषणयुक्त खानेकुरा खानुपर्छ । सुत्केरी हुँदा रगत बगेको हुन्छ, त्यसको पूर्तिको लागि पनि प्रशस्त पोषणयुक्त खानेकुरा खानुपर्छ । 

रोकथाम कसरी गर्ने ?


– स्वास्थ्य संस्थामा डेलीभरी गर्ने
 ।

– गर्भवती हुँदा र सुत्केरी भइसकेपछि पोषिलो खानेकुरा खाने ।

– 
सुत्केरी भइसकेपछि कम्तिमा ६ हप्ता आराम गर्ने
 ।

– पेटमा असर पर्ने खालको गह्रुँगो काम नगर्ने ।

आङ खस्ने समस्या सामाजिक कुराहरु पनि जोडिएका हुन्छन्

– सानो उमेरमा विवाह गर्नु

– सानो उमेरमा बच्चा जन्माउनु

– धेरै बच्चा जन्माउनु तथा जन्मान्तर कम हुनु

– दक्ष स्वास्थ्यकर्मीद्वारा सुत्केरी नगराउनु ,स्वास्थ्य सेवाको पहुच नहुनु

– लामो समय सम्म सुत्केरी ब्यथा लाग्नु

– सुत्केरी अवस्थामा प्रर्याप्त पोशिलो खाना र स्याहार नपुग्नु

– गह्रौ भारी बोक्नु

– टुक्रुक्क बसेर धेरे बेरसम्म काम गर्नु

– घाँस काट्ने ,पानी बोक्ने जस्ता काम गर्नु

– पेटको माथिबाट तललिर कसेर पोटुका बाँध्नु

– सुत्केरी आमालाई बारम्बार खोकी लागि रहनु

– कब्जीयत हुनु

– असुरक्षित गर्भपतन गराउनु

– सुत्केरी पछि आराम नपुग्नु

– वंषाणुगत

नोट: माथि उल्लेखित स्वास्थ्य सम्बन्धी जानकारीहरु विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो । मानिसको शारिरिक अवस्था र समय अनुसार पनि माथि उल्लेखित कुराहरुको उपलब्धी फरक पर्छ । सम्पुर्णरुपमा यहि कुरामा मात्रै भर नपर्नुहोला । माथि उल्लेखित कुराहरु प्रयोग गर्दा तपाईको स्वास्थ्यमा थप खराबी देखिए, कृपया तुरुन्त रोकेर स्वास्थ्यकर्मीहरुसँग सल्लाह लिनुहोस् ।

साथै तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला ।

तपाइको एक सेयरले थाहा नभएकाहरुले ज्ञान पाउछन् भने हामीलाई पनि सहयोग मिल्नेछ ।