प्राकृतिक चिकित्सा एक यस्तो चिकित्सा विज्ञान हो, जसमा कुनै पनि औषधिको प्रयोगबिना रोगको उपचार गरिन्छ । यसमा आहारलाई नै औषधिको रुपमा प्रयोग गरिन्छ र अंकुरित खाद्य पदार्थलाई विशेष जोड दिइन्छ । यस्ता खाद्यलाई अमृत भोजनको संज्ञा पनि दिन सकिन्छ ।

अंकुरित खाद्य भनेको अनाज, गेडागुडी वा तरकारीका बिउहरूलाई पानीमा निश्चित समयसम्म भिजाएर उमारिएको खाद्यपदार्थ हो । उमार्दा अनाज, गेडागुडी वा तरकारीका बिउमा पाइने जटिल संरचना भएको पौष्टिक तत्वहरू सरल संरचनामा परिवर्तन हुन्छन् र नयाँ खनिज, भिटामिन तत्वहरु उत्पन्न हुन्छन् र सुपाच्य बन्छन् ।

यसलाई खाजा तथा नास्ताको रूपमा दिनहुँ काँचै खान सकिन्छ । काँचै खाँदा असर गर्छ भने हल्का बफाएर खान सकिन्छ तर काँचै खाँदा यसबाट अधिक मात्रामा पौष्टिक तत्व प्राप्त गर्न सकिन्छ ।

अंकुरित खाद्यका फाइदाहरू

यस्ता खाद्य पदार्थमा कार्वाेहाइड्रेट, ग्लुकोज, फ्रुक्टोज, माल्टोज आदिमा र प्रोटिन अमिनो एसिडहरूमा परिवर्तन हुन्छन् भने खनिज तत्व र भिटामिनको मात्रा र गुणस्तरमा वृद्धि हन्छ । उमार्दा खाद्य पदार्थमा हुनसक्ने अखाद्य तत्व पनि नष्ट हुन्छन् । यी परिवर्तनले गर्दा पौष्टिक तत्वहरू सुपाच्य हुन्छन् र शरीरले सजिलै प्रयोग गर्न सक्छ ।

अंकुरित खाद्य पदार्थमा भिटामिन ए, बि, सी र के को मात्रामा वृद्धि हुन्छ ।

उमार्दा लाइसिन नामक अमिनो एसिड बन्छ जसले क्याल्सियमको शोषणमा मद्दत गर्दछ, मांसपेशीको प्रोटिन बनाउँछ, घाउहरू चाँडै निको पार्छ र हर्माेन, इन्जाइम्स् र एन्टिबडी बनाउन निकै महत्वपूर्ण भूमिका खेल्छ ।

अंकुरित खाद्यमा एन्टिअक्सिडेन्ट तत्वहरू बढी मात्रामा पाइन्छन् जसले गर्दा फ्रिराडिकल्सको असरबाट हुने थुप्रै रोगबाट बच्छ सक्छौँ।

अंकुरित मेथीले मधुमेह र वाथ रोगमा फाइदा गर्छ ।

अंकुरित खाद्यहरूमा बिरूवामा पाइने फाइटोइस्ट्रोजिन भन्ने तत्व पाइन्छ जसले महिलाहरूमा महिनावारी रोकिएपछि हुने समस्याहरू जस्तै हड्डी कमजोर हुने, शरीर तात्ने, पसिना आउने, मन अनियन्त्रित हुने जस्ता महिनावारी हुनुभन्दा पहिला देखिने समस्याहरू र स्तन क्यान्सरलाई नियन्त्रण गर्दछ ।

यसमा कम क्यालोरी हुन्छ । नियमित सेवनले तौल घटाउन मद्दत गर्दछ ।

खाद्यपदार्थ उमार्ने तरिका

सबैभन्दा पहिले राम्रो खालको अनाज, गेडागुडी वा तरकारीका बिउलाई राम्ररी धुनुपर्छ । त्यसपछि सफा र स्वच्छ पानीमा ६ देखि १२ घण्टासम्म भिजाएर राख्नुपर्छ । बाँकी रहेको पानी फाल्ने र पुनः एकपटक सफा पानीले धुने ।

अब सफा र पातलो सुतीको कपडामा पोको पार्ने र घाम नलाग्ने अँध्यारो ठाउँमा झुन्डाएर राख्ने वा पोको नपारिकन घाम नलाग्ने अँध्यारो ठाउँमा त्यतिकै राख्ने । यसरी राखेको २४ घण्टादेखि ७२ घण्टाभित्र यी पदार्थ उम्रन्छन् ।

उमार्न सकिने खाद्य तत्वहरू

अनाज : गहुँ

गेडागुडी : मुङ्गको गेडा, चना, भटमास, बोडी आदि ।

बिउ : मेथीको दाना, ब्रोकाउली, बन्दागोभी, गाँजर, मुला, सलगम, चुकन्दर आदि ।

अंकुरित अन्न र केही अनुसन्धानहरु

अमेरिकामा १० हजार मानिसमा गरिएको एक सर्वेक्षणले अंकुरित मुङ हप्तामा ४ पटकभन्दा बढी खानाले मुटु रोग २२ प्रतिशतले कमी आउने देखाएको छ । त्यसैगरी नर्सहरूमा गरिएको अर्काे सर्वेक्षणले हप्तामा ४ पटकभन्दा बढी खानाले आन्द्राको क्यान्सर हुने सम्भावना ३५ प्रतिशत कम हुने तथा पुनः दोहोरिने सम्भावना ६५ प्रतिशतले कम हुने देखाएको छ ।

अंकुरित मुङमा पाइने खाद्य रेसाहरूले पित्तलाई सोस्छ जसले गर्दा रगतमा कोलेस्टेरोलको मात्रा कम हुन मद्दत गर्दछ । यसमा ग्याँस बनाउने तत्वहरू कम मात्रामा हुन्छन् जसले गर्दा कुनै पनि पाचन प्रणाली सम्बन्धित रोगहरूमा यसलाई खान सकिन्छ ।

अंकुरित मुङमा भिटामिन ‘सि’ र ‘के’ प्रचुर मात्रामा पाइन्छ ।

अंकुरित ब्राउन राइस खाँदा मधुमेहमा फाइदा पुग्छ । यसबाट मुटु र रक्तनलीसम्बन्धी रोग लाग्ने सम्भावना कम हुन्छ । यस्तै, निरास तथा रिस जस्ता भावना कम हुन्छन् र थकान पनि चाँडै मेटिन्छ ।

अनाजहरू तथा गेडागुडी उमार्दा अमिनो एसिडहरू र बि ग्रुप भिटामिनहरू र सरल चिनीको मात्रा बढ्छ भने प्रोटिन र जटिल कार्वाेहाइड्रेड सुपाच्य हुन्छन् ।

अंकुरित ब्रोकाउलीको बिउमा इसोथाइसाइनेट्स नामक तत्व पाइन्छ जसले मूत्रथैली, स्तन तथा पेटको क्यान्सर हुनबाट बचाउँछ ।

अंकुरित ब्रोकाउलीको बिउ गर्भवतीले नियमित खाएमा बच्चाहरूलाई जीवनभर मुटु रोग नलाग्न सक्छ ।

फापरमा अंकुरित गर्न राखेको २४ घण्टापछि कलेजोमा बोसो जमेर हुने रोगहरूलाई निको पार्ने तत्वहरूको जन्म हुन्छ । यसमा रुटिन र क्युसर्टिन भन्ने तत्वहरूको पनि वृद्धि हुन्छ ।

अंकुरित केराउमा सुपाच्य खनिज तत्वहरू जिंक र म्याग्नेसियमको वृद्धि हुन्छ । यसका लागि केराउ ४ दिनसम्म उमार्नुपर्छ । जिंकले छाला र कपाल राम्रो बनाउँछ र साथै विर्यको गुणस्तरमा वृद्धि गर्दछ ।

हामीले केहि सम्बन्धित थप जानकारी दिइएका छाैँ

कस्तो हुनुपर्छ सुत्केरीका लागि भोजन ?

‘नानी रोएको छ, भोक लाग्यो होला, खुवाइहाल’

‘नानीलाई छिटो दुध खुवाउनु’ शिशुका आमालाई घरपरिवारले यस्ता कुरा भनिरहन्छन्, सम्झाइरहन्छन् ।

अर्थात् धेरैको ध्यान शिशुमा हुन्छ। तर शिशुलाई दुध खुवाउनुपर्ने भएकाले पोषिलो खाना समयमा खानु, आराम गर्नु जस्ता कुरा विरलै सुन्छौँ ।

हो, बच्चाले भन्न जान्दैन। त्यसैले उसलाई समय–समयमा आमाको दुध खुवाइरहनुपर्छ। सुरुमा पाएको पोषिलो आहारले उसको भावी जीवनलाई प्रभाव पार्छ । शिशुले जन्मदेखि कम्तीमा पनि ४ वा ६ महिनासम्म प्रशस्त मात्रामा आमाको दुध खान पाएको खण्डमा उसले आवश्यक पौष्टिक तत्व त पाउँछ नै, रोग प्रतिरोधात्मक शक्ति पनि प्राप्त गरी उसको सन्तुलित वृद्धि र विकासमा टेवा पुग्छ ।

सर्वगुणसम्पन्न आमाको दुधको स्रोत अर्थात् आमाको पोषणको स्तर, उनले दैनिक प्राप्त गर्ने खानाको स्तरबारे भने तुलनात्मक रुपमा कम मात्र चासो राख्ने गरेको पाइन्छ । अझ नेपालको परिप्रेक्ष्यमा हेर्ने हो भने स्तनपानलाई पौष्टिक र स्वास्थ्यका दृष्टिकोणले भन्दा पनि परम्परागत मान्यताको रुपमा अवलम्बन गरिएको छ ।

स्तनपानलाई प्राथमिकता दिँदा शिशुले यथेष्ट पौष्टिक तत्व प्राप्त गर्ने मौका पाउँछ । तर आमाको खानामा उचित ध्यान पुर्याउन नसकेमा उनको स्वास्थ्य प्रतिकूल असर पर्न सक्छ । प्रायजसो सुत्केरी महिलामा लौहतत्व, भिटामिन ए तथा प्रोटिनको कमी भएको कुरा अध्यानले देखाएको छ ।

साधारणतया महिलाहरु आफ्नो बच्चलाई स्तनपान गराउन सक्षम हुन्छन् । टीबी, एड्स तथा विशेष औषधिको सेवन गरिएको अवस्थाबाहेक अन्य साधारण अवस्थामा स्तनपान गराउन सकिन्छ । सफलताका साथ स्थानपान गराउन सुत्केरी अवस्थाबाहेक गर्भवती अवस्थामा समेत महिलाको दैनिक खानामा ध्यान दिनुपर्ने हुन्छ ।

आमाको पोषणस्तर जति राम्रो हुन्छ, त्यति नै गुणात्मक र परिणात्मक रुपमा शिशुले आमाको दुध प्राप्त गर्न सक्छ । एकातिर आमाको स्वास्थ्यस्थिति सन्तुलित राख्न र अर्कोतिर शिशुलाई यथेष्ट दुध उपलब्ध गराउन आमाको भोजनमा साधारणभन्दा थप खानाको व्यवस्था गर्नुपर्छ ।

महिलाको अवस्था, उनले गर्ने कामको प्रकार हेरि दैनिक भोजनमा क्यालोरी, प्रोटिन, भिटामिन, खनिज पदार्थ थप गर्नुपर्ने हुन्छ । सुत्केरी महिलाले दैनिक आवश्यक सन्तुलित भोजन प्राप्त गर्न सकेमा शरीर स्वस्थ राख्न मद्दत मिल्छ। साथै, दुध बन्नका लागि शरीरमा जम्मा भएको पौष्टिक तत्वको पुनः पूर्ति हुनुका साथै शिशुका लागि प्रशस्त दुध उत्पादन गर्न मद्दत पुर्याउँछ ।

एक स्वस्थ दुध खुवाउने महिलाबाट करिब ६ सय मिलिलिटर प्रतिदिन दुध बन्न सक्छ । आफ्नो दैनिक पौष्टिक आवश्यकता पूरा गर्न र उल्लिखित परिमाणमा दुध बन्न उनलाई दैनिक आवश्यकताबाहेक थप पोषिलो खानाको जरुरत पर्न सक्छ ।

आमाले गरेको भोजन क्यालोरीमध्ये ६० प्रतिशत क्यालोरी मात्रा दुधमा रुपान्तरण हुन सक्ने भएकाले ४ सय २० क्यालोरीका लागि दैनिक थप ७ सय क्यालोरी आवश्यक पर्नेहुन्छ । यसैगरी आमाको दुधमा प्राप्त हुने ७.२ ग्राम प्रोटिनका लागि भोजनमा १४.४ ग्राम आवश्यक पर्ने हुनाले यस आवश्यक पर्ने हुनाले यस अवस्थामा २० ग्राम थप प्रोटिन अवस्थामा २० ग्राम थप प्रोटिन आवश्यक पर्छ ।

यसैगरी दुध खुवाउने महिलाको भोजनमा दैनिक ७ सयदेखि १ हजार मिलिग्रामसम्म क्याल्सियम थप गर्नुपर्ने हुन्छ । आमाको दुध बन्न शरीरको कुल क्याल्सियममध्ये करिब २ सयदेखि ८ प्रतिशत खर्च हुने भएकाले यसको पूर्तिका लागि पनि थप क्याल्सियम आवश्यक पर्ने हुन्छ ।

यदि दुई बच्चाबीचको जन्मान्तरको दूरी कम छ भने त्यस्तो स्थितिमा आमाको शरीरमा क्याल्सियम आवश्यक मात्रामा जम्मा हुन नसक्दा पछि गएर हाड कमजोर हुने सम्भावना हुन्छ । शिशु जन्मँदा रगत खेर जाने भएकाले यस समयमा बढी फलाम (लौहतत्व ) आवश्यक हुन्छ । तर स्तनपानको समयमा भने थप लौहतत्व त्यति आवश्यक पर्दैन ।

सुत्केरी अवस्थामा गर्भवती अवस्थामा भन्दा कम लौहतत्व भए पुग्ने हुन्छ । प्राय प्रशस्त स्तनपान गराउन्जेलसम्म केही महिना महिनावारी नहुने र महिनावारी सुरु भएपछि भने थप लौहतत्व आवश्यक पर्ने हुन्छ । भिटामिन ए, बी, सी, फोलिक एसिडका हकमा भने थप आवश्यक पर्दछ ।

यसप्रकार आमाको खानाले उनको शरीरबाट उत्पन्न हुने दुधको गुण र परिमाणमा प्रभाव पार्छ । त्यसैले यस अवस्थामा सकेसम्म उचित भोजनको व्यवस्था गर्नुपर्ने हुन्छ । हुन त कमजोर आर्थिक अवस्था भएको र उचित भोजन प्राप्त गर्न नसकेको अवस्थामा पनि महिलाले आफ्नो बच्चालाई स्तनपान गराउन सक्छिन् । यस्तो स्थितिमा आमाको शरीरका कोषहरुमा जम्मा भएका तत्वहरु प्रयोग भई दूध बन्ने भएकाले आमाले आफ्नो शिशुलाई स्तनपान गराउन त सक्छिन् ।

तर उनको शरीरमा बिस्तारै पौष्टिक तत्वको अभावबाट स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्छ । यस्तो स्थितिमा प्राप्त भएको आमाको दुधको आयतन कम हुने तथा परिमाणमा समेत कम हुन सक्छ । शक्तिभन्दा पनि भिटामिन बी, सी, थायमिनको परिमाणलाई आमाको खानाले बढी प्रभाव पार्छ। यदि आमाको खानामा उल्लिखित भिटामिनको कमी छ भने शिशुमा यी तत्वको अभाव हुने धेरै सम्भावना हुन्छ । यसैगरी जिंक र आयोडिनको अभाव छ भने पनि शिशुले पर्याप्त यी खनिज तत्व प्राप्त गर्न नसकी वृद्धि विकासमा असर पर्ने हुन्छ।

शिशुको सर्वाङ्ग विकासका लागि चहिने सम्पूर्ण तत्वहरु आमाको दुधमा प्राप्त हुन्छ। यसले आमाको स्वास्थ्यमा पनि सकारात्मक प्रभाव पार्ने हुन्छ। जस्तै स्तनपान गराउँदा आमाको शरीरबाट निस्कने एक प्रकारको हार्मोन अक्सिटोक्सिनले पाठेघरको मांसपेशी खुम्च्याउने, चाँडो रक्तस्राव रोक्ने, पहिलेको शारीरिक बनाबट र तौल कायम गर्ने, आमा र शिशुबीच बलियो भावनात्मक सम्बन्ध कायम राख्न मद्दत पुर्याउने हुन्छ । त्यसैले गर्भवती अवस्थामा समेत आमाको दैनिक भोजनको उचित व्यवस्था गर्नुपर्छ । यसबाहेक घर परिवारबाट पूर्ण सहयोगका साथै उचित वातावरण उपलब्ध गराउन सकेमा अवश्य पनि सफलताका आफ्नो शिशुलाई स्तनपान गराउन सक्छिन् ।

नोट: माथि उल्लेखित स्वास्थ्य सम्बन्धी जानकारीहरु विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो । मानिसको शारिरिक अवस्था र समय अनुसार पनि माथि उल्लेखित कुराहरुको उपलब्धी फरक पर्छ । सम्पुर्णरुपमा यहि कुरामा मात्रै भर नपर्नुहोला । माथि उल्लेखित कुराहरु प्रयोग गर्दा तपाईको स्वास्थ्यमा थप खराबी देखिए, कृपया तुरुन्त रोकेर स्वास्थ्यकर्मीहरुसँग सल्लाह लिनुहोस् ।

साथै तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला ।
तपाइको एक सेयरले थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग मिल्नेछ ।

याे भिडियाे पनि हेर्नुहाेला जानकारीका लागि