हाम्रो विभागमा दैनिक विभिन्न यौनरोगका समस्या लिएर आउने गरेका छन् । धेरैजसो महिलाहरू समस्या लिएर आउने भनेको भिडिएस (भेजाइनल डिस्चार्ज सिन्ड्रोम) हो ।

यौनांगमा मुसा भएका महिला पनि आउने गर्छन् । अर्कोचाहिँ हर्पिस भन्ने हुन्छ। यसमा ससाना पानी फोकाहरू आउने हुन्छ, जुन एकदमै भतभती पोल्ने र दुख्ने हुन्छ ।

सिफिलिसक पीडित पनि  हुन्छन् । यो महिला पुरुष दुवैमा हुन्छ । यो रोगमा सुरुमा आउने अक्सर खासै दुख्ने खालको हुँदैन। कुनै आफै निको भएर जाने खालका पनि हुन्छन् ।

२० देखि ३० वर्ष पुरानो रोग भएकाहरू पनि भेटिन्छन् । तर, अहिलेका युवाहरू धेरै हदसम्म चेतनशील भएका छन् । कम्तीमा आफूलाई यस्तो भयो भनेर खुलेर कुरा गर्न सक्ने भएका छन् ।

यौन शिक्षाको बारेमा थेरथोर जानकारी छ । कोही यस्तो समस्या आइपरे लुकाएर लजाएर बस्ने पनि गरेका छन् । हाम्रो विभागमा पनि विभिन्न समस्या बोकेर आउने गरेका छन् ।

धेरै सुई प्रयोग गर्ने लागुपदार्थ दुव्यर्सनीलाई रगतबाट एचसिबी, सिफिलिस, एचआइभी, हेपाटाइटिस बी, सी लाग्न सक्ने सम्भावना हुन्छ ।

यौनरोग लागेको मानिसलाई एचआइभी लाग्ने सम्भावना धेरै हुन्छ । अहिले त कतिपय महिलाहरूले पनि परपुरुषसँग सम्बन्ध राख्ने गरेका छन्, जसका श्रीमान् बाहिर गएका छन् । कोहीकोही त विदेशबाट श्रीमान् आउनुअघि केही संक्रमण भयो कि भन्ठानेर चेकअप गर्न पनि गरेका छन् । रोग बढ्नुअघि सावधानी अपनाउन गाह्रो छैन । अप्ठ्यारो मानेर बस्दा रोगले झनै दुःख दिन्छ ।

महिलाको गाेप्य अङ्गका समस्या पनि चानचुने होइन यस सम्बन्धित पनि बुझिराखाैँ

योनीबाट सेतो पानी वा गन्हाउने पानी बग्ने, यौनांग चिलाउने, दहीको छोक्रा जस्तो सेतो पदार्थ आउने जस्ता समस्या भएका महिलाहरू थुप्रै हुन्छन् । महिनावारी सुकेपछिका जोखिमहरू पनि भाेगिरहेका हुन्छन । महिनावारी सुकेपछि पनि रगत आइराख्ने समस्या एकदमै डरलाग्दो हुन्छ ।

सामान्य होला भनेर सुरुमा ख्याल राख्दैनन्, पछि त्यसले डरलाग्दो रूप लिन्छ । महिनावारी सुक्ने समस्या पनि नेपाली महिलामा धेरै पाइएको छ। सुकेपछि पनि एक–दुई थोपा बगिरह्यो भने निकै होसियार हुनुपर्छ । रातो टीकाजत्रो साइजको रगत बग्यो भने पनि केही डरलाग्दा लक्षण पो हुन् कि भनेर सचेत हुनुपर्छ।

युवा उमेरमै महिनावरी नसुक्दै सेतो पानी जाँदा भेजाइनल संक्रमण ठानेर सामान्य सरसफाइ गर्ने प्रवृत्ति पनि छ । तर उपचार नगरेको खण्डमा त्यो संक्रमण पाठेघरसम्म पुग्छ । पाठेघरमा गइसकेपछि फ्यालोपिन ट्युबमा जान्छ र संक्रमण पेटसम्म पनि पुग्छ ।

पिआइडी–पल्भिक इन्फ्लामेटरी डिजिज भनिन्छ यसलाई । हेर्दाखेरी सामान्य भेजनाइटिजबाट पिआइडीमा टर्न हुन्छ । त्यसपछि महिलाहरूलाई एकदम गाह्रो भइराखेको हुन्छ । तल्लो पेट दुख्छ । गर्भवती हुँदा एक्टोपिक प्रेग्नेन्सी हुने सम्भावना हुन्छ । त्यो भनेको बच्चा अन्तैतिर गएर बस्नु हो । त्यसैले यस्तो समस्यालाई यत्तिकै लिनुहुन्न।

योनी चिलाएर आउने समस्या पनि चानचुने होइन। यस्ताे समस्या भएकाहरूले  एकचोटि बायोस्पी गर्न गर्नु पर्दछ। यस्तो अवस्थामा पनि झन्डैझन्डै क्यान्सर हुन सक्ने लक्षण हुन सक्छ । त्यो अवस्था आयो भने  त्यसको भल्भाको पूरै एक तह निकालेर सामान्य अपरेसन गर्दै आएका छन् चिकित्सकहरू ।

हरेक महिलाले एकचोटि जेनेरल चेकअप गर्नैपर्ने हुन्छ। कुनै समस्या छ र जचाउँदा पनि रोग निको भएन भने अरू दुई–तीन जना डाक्टरसित पनि परामर्श लिन जरुरी हुन्छ । ३५ वर्ष पुगेका हरेक महिला जो यौन जीवनमा सक्रिय छन्, उनीहरूले समय–समयमा चेकअप गराइराख्नुपर्छ।

परिवारमा क्यान्सरको इतिहास छ भने चेकअप गराउनुपर्ने हुन्छ । विदेशतिर त हरेक घरमूलीको नाम टिपेको हुन्छ अस्पतालले। फोन गरेर आफैं बोलाउँछ । तर यहाँ अस्पताल आउन त आउनुपर्छ यस्तो सुविधा कहाँबाट हुनु ? जो महिला यसबाट पीडित छन् उनीहरूलाई त यस रोगबारे थाहासमेत हुदैन ।  सहरमा बस्ने र अलिक जाने बुझेका महिलाहरूले मात्र स्वास्थ्य सेवा राम्ररी उपभोग गरेको देखिन्छ । हामीले यस्ता रोगबाट बच्न सरसफाइ र आफ्नो बानीमा परिवर्तन गर्न जरुरी छ ।

हामीले केहि सम्बन्धित थप जानकारी दिइएका छाै

यस्तो रहेछ पाठेघर खस्नुका कारण र लक्षण

पाठेघर महिलाको शरीरको तल्लो पेटमा रहने थैली आकारको प्रजनन अंग हो । पाठेघरलाई गर्भाशय पनि भनिन्छ। महिनाबारीको समयमा रक्तश्राव यहीँबाट हुन्छ र महिला गर्भवती हुँदा गर्भको बच्चा यसै थैलीभित्र हुर्किन्छ ।

पाठेघरलाई वरिपरिका मासंपेशी र तन्तुले आफ्नो ठाउँमा अड्याइराखेको हुन्छ। विभिन्न कारणले गर्दा पाठेघरलाई आफ्नो ठाउँमा थामेर राख्ने मासंपेशी र तन्तु कमजोर हुन जान्छन् । फलस्वरूप पाठेघरको केही भाग वा सिंगै पाठेघर योनिसम्म वा त्योभन्दा बाहिर निस्किन्छ । यो अवस्थालाई पाठेघर झरेको वा आङ खसेको भनिन्छ । यो समस्या उपचार गरेर निको हुन्छ ।

पाठेघर झर्ने कारण

महिला सुत्केरी भएपछि पाठेघर खुम्चेर पहिलेकै अवस्थामा आइपुग्न करिब ६ हप्ता लाग्छ । सुत्केरी भएका बेला पाठेघरलाई अड्याइराख्ने मासंपेशी धेरै कमजोर भएका हुन्छन् । यी तल उल्लिखित कारणले पाठेघर झर्ने समस्या हुन सक्छ ।

प्रसव अवस्थामा बच्चा छिटो जन्मियोस् भनेर महिलाको पेटलाई बेस्सरी थिच्नु ।

प्रसव अवस्था नहुँदै बढी बल गर्नु ।

बच्चा जन्मिसकेपछि सालनाल छिटो निकाल्न भनेर आमाको तल्लो पेटलाई बेस्सरी थिच्नु ।

सुत्केरी भएको ६ हप्ताभित्र गह्रौँ भारी उठाउनु र गाह्रो काम गर्नु ।

धेरै बच्चा जन्माउनु तथा कम समयको अन्तरालमा बच्चा जन्माउनु ।

कम उमेरमै बच्चा जन्माउनु ।

गर्भावस्था र सुत्केरी अवस्थामा चाहिँदो मात्रामा पोषिलो खानेकुरा खान नपाउनु ।

असुरक्षित गर्भपात गराउनु ।

पाठेघर झर्दाको लक्षण

पाठेघर खस्दा सुरुमा योनिबाट केही चिज निस्केकोजस्तो महसुस हुन्छ । यो हिँड्दा, उभिँदा वा खोक्दा झन् बढेको तथा उत्तानो परेर पल्टिँदा चाहिँ कम भएको महसुस हुन्छ ।

यो समस्या बद्दै गएमा सिंगै पाठेघर योनि बाहिर झुन्डिएर बस्छ। त्यति बेला यो आफैँ योनिभित्र जाँदैन ।

यसले महिलालाई हिँड्न, बस्न, काम गर्न धेरै अप्ठेरो हुन्छ ।

झरेको पाठेघरको डल्लो तिघ्रासँग घस्रेर घाउ भई पाक्न पनि सक्छ ।

ढाड दुख्ने, योनिबाट गन्हाउने पानी, रगत बग्ने पनि हुनसक्छ ।

पाठेघर झर्ने समस्याको रोकथाम

प्रजनन अंग पूर्ण रूपले विकसित नभई गर्भधारण नगर्ने वा कम उमेरमा नै बच्चा नजन्माउने ।

सुत्केरी व्यथा लागेका बेला पाठेघरको मुख पूरा नखोली बल नगर्ने ।

सुत्केरी गराउन सकेसम्म स्वास्थ्य संस्थामा जाने

गर्भावस्था र सुत्केरीपछि कमजोर भएका मासंपेशी फेरि बलियो बनाउन कम्तीमा दुई वर्षको अन्तरमा मात्र अर्को बच्चा जन्माउने ।

सुत्केरीपछि कम्तीमा ६ हप्तासम्म महिलाले भारी उचाल्ने र गह्रौं काम नगर्ने ।

गर्भवती र सुत्केरी अवस्थामा पोसिलो आहार अरुबेला भन्दा बढी खाने ।

पाठेघर झरेको शंका लाग्नासाथ स्वास्थ्य संस्थामा गई सल्लाह लिने वा जचाउने ।

सुरुको अवस्था छ भने पनि अझ जटिल हुन नदिन गह्रौँ भारी बोक्ने आदि काम नगर्ने र समयमै उपचार गराउन स्वास्थ्य संस्था जाने ।

पाठेघर झर्ने समस्याको उपचार

पाठेघर झरेको अवस्थालाई पाठेघरको स्थिति अनुसार तीन चरणमा वर्गीकरण गरिन्छ ।

पाठेघर झरेको सामान्य अवस्था– योनिको भित्री मुखसम्म आएको ।

पाठेघर झरेको मध्यम अवस्था– केही भाग योनिको बाहिरसम्म आएको ।

पाठेघर झरेको पूर्ण अवस्था– सम्पूर्ण भाग योनिबाहिरै निस्केको ।

यिनै स्थितिका आधारमा पाठेघर झर्ने समस्याबाट पीडित महिलाको उपचार गरिन्छ । त्यसैले आफूलाई पाठेघरको स्थिति सामान्य अवस्थामा नभएको जस्तो लाग्छ र काम गर्दा असजिलो महसुस हुन्छ भने उपचारका निमित्त स्वास्थ्य कार्यकर्तासँग सम्पर्क गरी हाल्नुपर्छ ।

पाठेघर झरेको सामान्य अवस्थाको उपचार सजिलै हुन्छ । यसबेला योनि खुम्चाउने व्यायामले मात्र पनि पाठेघरलाई सामान्य अवस्थामा फर्काउन सकिन्छ । यो व्यायामले पाठेघर र योनिको वरिपरिका मासंपेशी बलिया हुन्छन् र पाठेघरलाई अड्याई राख्न सक्ने बनाउँछ । सामान्य अवस्थामा रिङ्गपेसरी राखेर अस्थायी उपचार पनि गर्न सकिन्छ ।

शल्यक्रिया उपचार

शल्यक्रिया वा अप्रेसन पाठेघर झर्ने समस्याको मुख्य उपचार विधि हो । यसमा पाठेघरलाई सिङ्गै काटेर झिकिन्छ । अप्रेसनपछि सामान्य व्यक्तिसरह काम गर्न सकिन्छ । अप्रेसनपछि महिनावारी भने हुँदैन र गर्भवती पनि हुन सक्दैन । बच्चा पाउने चाहना भएका महिलाले पाठेघरको शल्यक्रिया गर्नुहुँदैन ।

समाज र परिवारको दायित्व

यो समस्या विशेष गरी हाम्रो समुदायमा बच्चा जन्माउँदा या सुत्केरी भएको बेला महिलाले उचित स्याहार नपाउँदा हुन जान्छ । त्यसैले गर्भवतीलाई सुत्केरी गराउन वा बच्चा जन्माउन घरमा नगराई स्वास्थ्य संस्थामा लैजानुपर्छ। सुत्केरी अवस्थामा महिलालाई पोसिलो खाना खान दिने, आराम दिने, गह्रौँ भारी उठाउन नदिने जस्ता कुरामा परिवारका अन्य सदस्यले विशेष ध्यान दिनुपर्छ।

त्यस्तै कम उमेरमा विवाह नगराउने, धेरै सन्तान नजन्माउने कुरामा सचेत हुनुपर्छ। समस्याबाट पीडित महिलालाई हेयको दृष्टिले नहेरी समयमै उपचार गराउन सहयोग गर्नुपर्छ। यसमा पतिको भूमिका अझ धेरै महत्वपूर्ण हुन्छ ।

पाठेघर बाहिर बच्चा बस्नुको कारण, लक्षण र उपचार यस्तो छ

महिलाहरूको गर्भावस्था आफैँमा जटिल प्रक्रिया हो किनभने यसमा दुई जीवनको सवाल हुन्छ, बच्चा र आमाको । त्यसकारण गर्भावस्थामा कम्तीमा तीन पटक (तीन तीन महिनाको फरकमा) चिकित्सकलाई देखाउनु उपयुक्त हुन्छ ।

समान्यतया बच्चा पाठेघरमा हुर्किन्छ । तर, कहिलेकाहीँ बच्चा पाठेघरमा नबसी पाठेघरबाहिर बसिदिन्छ । पाठेघरबाहिर फ्यालोपियन ट्युब हुन्छ । धेरैजसो अवस्थामा पाठेघरबाहिर बस्ने बच्चा यही ट्युबमा बस्नेगर्छ । यसबाहेक बच्चा कहिलेकाहीँ अण्डकोष, ग्रिवा, पाठेघरबाहिर पेटमा पनि बस्नसक्छ ।

यो अवस्था किन खतरनाक ?

पाठेघरबाहिर रहेको गर्भ राम्ररी बढ्न सक्दैन र कुनै पनि बेला यो फुटेर महिलाको पेटमा रगत जम्नसक्छ । यस्तो अवस्थामा महिलाको ज्यानलाई नै खतरा हुनसक्छ ।

कारण

१. पाठेघरको पहिला संक्रमण भएर ट्युबमा क्षति भएको छ भने

२. ट्युबको पहिला शल्यक्रिया भएको छ भने

३. बाँझोपनको उपचारबाट गर्भ रहेको छ भने

४. पहिले पनि पाठेघर बाहिर गर्भ रहेको भए

५. कपर टीको प्रयोगले

लक्षणहरू

१. महिनावारी रोकिने

२. पेट दुख्ने

३. योनीबाट रगत जाने

४. वाकवाक लाग्ने

५. बेहोस हुने

पत्ता लगाउन गर्नुपर्ने जाँचहरू

१. पिसाबको टेस्ट । यसले गर्व छ वा छैन भन्ने थाहा हुन्छ

२. पेटको भिडियो एक्सरे

३. रगतको एचसिजी हार्मोनको टेस्ट

उपचार

१. गर्भ फुटेको छ भने रगतको व्यवस्था गरी तुरुन्त शल्यक्रिया गर्नुपर्छ ।

२. गर्भ फुटेको छैन भने त्यसको आकार, बिरामीको अवस्था र टेस्ट रिपोर्ट हेरेर केही समय पर्खिन पनि सकिन्छ र औषधिबाट पनि उपचार गर्न सकिन्छ । मेथोट्रेक्जेट नामक औषधि प्रयोग गर्न सकिन्छ ।

महिलाहरूको गर्भावस्था आफैँमा जटिल प्रक्रिया हो किनभने यसमा दुई जीवनको सवाल हुन्छ, बच्चा र आमाको । त्यसकारण गर्भावस्थामा कम्तीमा तीन पटक (तीन तीन महिनाको फरकमा) चिकित्सकलाई देखाउनु उपयुक्त हुन्छ ।

पाठेघरको क्यान्सर के हो ? लक्षण, कारण र रोकथाम

पाठेघरको क्यान्सरअन्तर्गत पाठेघरको मुखको क्यान्सर तथा पाठेघरको भित्रपट्टिको क्यान्सर प्रमुख हो । ह्युमन प्यापिलोमा भाइरसका कारणले पाठेघरको मुखको क्यान्सर भएको पाइन्छ । यसका साथै धेरैजना पुरुषसँग यौनसम्पर्क राख्ने, सानो उमेरमा धेरै सन्तान जन्माउने महिलामा पनि यो क्यान्सर हुनसक्छ ।

महिलामा हुने सम्पूर्ण क्यान्सरमध्ये स्तन क्यान्सर, फोक्सोको क्यान्सर र तल्लो आन्द्राको क्यान्सरपछि पाठेघरको क्यान्सर चौथो नम्बरमा पर्छ । जब पाठेघरमा असामान्य कोषहरू अनियन्त्रित रूपमा वृद्धि हुन्छन्, तब पाठेघरको क्यान्सर हुन्छ । डिम्बाशयको क्यान्सर र पाठेघरको मुखको क्यान्सरपछि पाठेघरको क्यान्सर नै प्रजनन प्रणालीको क्यान्सरबाट हुने मृत्युको तेस्रो कारक तत्त्व हो ।

४० वर्षभन्दा कम उमेरका महिलालाई पाठेघरको क्यान्सर हुने सम्भावना निकै कम हुन्छ । ५० वर्ष उमेरमाथिका महिलाहरू अर्थात् रजोनिवृत्ति भएका महिलाहरूमा पाठेघरको क्यान्सर हुने सम्भावना बढी हुन्छ र पाठेघरको क्यान्सर भएका महिलाहरूमध्ये ४० वर्षभन्दा बढी उमेरका महिलाहरू ९५ प्रतिशत हुन्छन् । महिनावारी बन्द भएपछि असामान्य रक्तश्राव भएमा पाठेघरको क्यान्सर लगभग सुनिश्चित हुन्छ ।

पाठेघरको क्यान्सरको यकिन कारण हालसम्म पत्ता लागेको छैन, त्यसकारण रोकथाम कठिन छ । हामीलाई थाहा भएका सम्भावित कारणहरू र हानिकारक तत्त्वहरू त्यागेर रोकथामको प्रयास गर्ने हो । संक्रमणको समयमै उपचार, सन्तुलित आहारविहार, सुरक्षित यौन अभ्यास, धुम्रपान त्याग, नियमित रूपमा योनिश्रावको परीक्षण, शारीरकि अभ्यास, लाक्षणिक उपचार, मनोवैज्ञानिक सहयोग, क्यान्सरका बारेमा जनचेतना विस्तारजस्ता उपायहरूले रोग प्रतिरोधात्मक शक्ति तथा मनोबल वृद्धि हुन्छ ।

समयमै उपचार गरेमा पाठेघरको क्यान्सरबाट ८४ प्रतिशत बाँच्ने सम्भावना हुन्छ। पाठेघरको पूर्णरूपमा क्यान्सर भइसकेपछि ८३ प्रतिशत महिलाहरू पाँच वर्ष बाँच्छन् भने सुरुको अवस्थामा निदान भएका ९६ प्रतिशत महिलाहरू पाँच वर्ष बाँच्ने सम्भावना हुन्छ ।

हाम्रोजस्तो अविकसित, स्वास्थ्य चेतना एवं सेवा केन्द्रीकृत भएको मुलुकमा कमसेकम प्रत्येक अस्पताल तथा प्राथमिक स्वास्थ्य केन्द्रमा अल्ट्रासाउन्ड र योनिश्रावको जाँच गर्ने न्यूनतम व्यवस्था भएमा पाठेघरको क्यान्सरको समयमै निदान भएर महिलाको मृत्युदर घट्ने सुनिश्चित छ ।

सामान्य लक्षणहरू

९० प्रतिशत महिलामा असामान्य रूपमा योनिबाट रक्तश्राव हुन्छ । महिनावारी हुने समयभन्दा धेरै दिन धेरै मात्रामा, रगतको कालो ढिका जस्तो, कहिलेकाहीँ पानीजस्तो रक्तश्राव हुन्छ। त्यस्तै महिनामा दुई-तीनपटक महिनावारी हुने, यौन सम्पर्कको समयमा वा सम्पर्कपछि रक्तश्राव हुने आदि ।

१. रजोनिवृत्ति भइसकेपछि रक्तश्राव हुनु ।

२. यौन सम्पर्कको समयमा बढी पीडा हुनु ।

३. तल्लो पेट दुख्ने, सुन्निने तथा हावा भरिएजस्तो हुनु ।

४. मूत्रत्यागपछि मूत्राशयमा पीडा र गाह्रो अनुभव हुनु।

५. शारीरकि तौल अस्वाभाविक रूपमा घट्नु वा बढ्नु ।

६. लामो समय रक्तश्रावका कारण रक्तअल्पता हुनु ।

पाठेघरको क्यान्सरको अवस्था

पहिलो अवस्था क्यान्सर पाठेघरमा मात्र हुन्छ, पाठेघरको द्वारमा हुँदैन।

दोस्रो अवस्था पाठेघरबाट क्यान्सर पाठेघरको मुख तथा द्वारसम्म फैलिन्छ।

तेस्रो अवस्था क्यान्सर पाठेघरबाट बाहिर फैलिन्छ तर तल्लो पेटका अंगहरूमा मात्र सीमित हुन्छ।

चौथो अवस्था क्यान्सर तल्लो पेटबाहेक अन्यत्र जस्तैः पिसाब थैली, आन्द्रा, कलेजो, फोक्सो, हड्डी ग्रन्थिहरू र अरू अंगहरूमा पनि फैलिन्छ।

कारण/कारक तत्त्वहरू

वैज्ञानिकहरूले पाठेघरको क्यान्सरको ठोस कारण पत्ता लगाउन नसके पनि हालसम्मको अनुसन्धानबाट निम्नलिखित कारक तत्त्वहरू प्रमाणित गरेका छन् ।

१. लामो समयसम्म एक्ट्रोजेन हर्मोन मात्र सेवन गर्ने महिलाहरूमा ।

२. मोटोपना शरीरमा भएको अत्यधिक बोसोले अन्य महिलाको तुलनामा ३ देखि १० गुणा हर्मोनको उत्पादन हुन्छ ।

३. पारविारकि इतिहास आमा, दिदी, बहिनी तथा छोरीलाई क्यान्सर भएमा ।

४. कहिल्यै गर्भवती नभएका महिला तथा ३५ वर्षपछि गर्भवती भएका महिलाहरूमा ।

५. महिनावारी १२ वर्ष पहिले सुरु भएका र रजोनिवृत्ति ५५ वर्षपछि भएका महिलाहरूमा ।

६. स्तन, डिम्बाशय वा आन्द्राको क्यान्सर भएका महिलाहरूमा ।

७. स्तन क्यान्सरको उपचारका लागि लामो समयसम्म टामोक्सिफेन औषधी प्रयोग गररिहेका महिलाहरूमा ।

८. पाठेघरको भित्री तह असामान्य रूपमा वृद्धि भएमा ।

९. मधुमेह तथा उच्च रक्तचाप भएमा ।

१०. तल्लो पेटमा बारम्बार विकिरण -एक्स रे औषधी)को प्रयोग भएमा ।

११. धेरै धुम्रपान गर्ने महिलाहरूमा ।

१२. ह्युमन पापिलोमा भाइरस, एचआईभी/एड्स वा अन्य निरन्तर संक्रमण भइरहेमा ।

१३. पाठेघरमा लामो समयसम्म ट्युमर फाइब्राइड आदि भएमा ।

१४. एस्ट्रोन प्रतिस्थापन उपचार निरन्तर गरेमा ।

रोकथाम

नियमित स्वास्थ्य परीक्षण गर्ने ।

तौल घटाउने ।

सन्तुलित आहारको सेवन गर्ने ।

कम चिल्लो र बढी रेसायुक्त खाना खाने ।

धुम्रपान नगर्ने ।

नियमित व्यायाम गर्ने ।

तल्लो पेटको संक्रमण समयमै उपचार गर्ने ।

स्वस्थ, मर्यादित एवं सुरक्षित यौन अभ्यास गर्ने ।

अवैज्ञानिक उपचारमा समय नष्ट गरेर सुरुको अवस्थालाई गम्भीर अवस्थामा नपुर्‍याउने ।

चिकित्सकको सल्लाह अनुरूप पाठेघरको शल्यक्रिया गरी हटाउने ।

नोट: माथि उल्लेखित स्वास्थ्य सम्बन्धी जानकारीहरु विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो । मानिसको शारिरिक अवस्था र समय अनुसार पनि माथि उल्लेखित कुराहरुको उपलब्धी फरक पर्छ । सम्पुर्णरुपमा यहि कुरामा मात्रै भर नपर्नुहोला । माथि उल्लेखित कुराहरु प्रयोग गर्दा तपाईको स्वास्थ्यमा थप खराबी देखिए, कृपया तुरुन्त रोकेर स्वास्थ्यकर्मीहरुसँग सल्लाह लिनुहोस् ।

साथै तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला ।
तपाइको एक सेयरले थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग मिल्नेछ ।

याे भिडियाे पनि हेर्नुहाेला जानकारीका लागि