प्रकृतिले मौसम अनुसार विभिन्न अन्न-उत्पादन दिएको छ । जाडो वा गर्मी उत्पादन हुने अन्न, फलफूल, सागसब्जीले हामीलाई त्यही मौसममा हुनसक्ने संभावित समस्याबाट बचाउँछ । बाषिर्क चक्र अनुसार नै विभिन्न फल, अन्न, सागसब्जी उत्पादन हुन्छ । यसरी मौसमी रुपमा प्राकृतिक रुपले उत्पादन भएका खानेकुराले शरीरमा आवश्यक पोषक तत्व प्रदान गर्छ ।

हरेक ऋतुका लागि सोहि अनुसारको खानेकुरा प्रकृतिले दिएको छ । यसरी प्राकृतिक रुपमा उत्पादन भएको मौसमी खानेकुराले हामीलाई संभावित रोगबाट बचाउँछ ।

शिशिर ऋतु

यस मौसममा मुँगको दालको खिचडी, अदुवा वा यस्तै गरम प्रकृतिको भोजन गर्नुपर्छ । चटपटे, चिसो खानेकुरा सेवन गर्नु हुँदैन ।

बसन्त ऋतु

यस मौसमा जौ, चना, गहुँ, मूँग, मसुरको दाल, वैगुन, मुला, परवल, करेलाको सब्जी खानुपर्छ । साथै केरा, सुन्तला, अवला सेवन गर्नुपर्छ । मेथी, जीरा, हिंग, काक्रा आदि पनि लाभदायक हुन्छ ।

ग्रीष्म ऋतु

पुरानो गहुँ, जौ आदि उपयोगी हुन्छ । दुधजन्य परिकार, आँप, करेला, परवल, तरबुजा सेवन गर्नुपर्छ ।

वर्षा ऋतु

खीर, दही, खिचडी एवं हल्का र सुपाच्य खानेकुरा सेवन गर्नुपर्छ । यस सिजनमा पाचन शक्ति कमजोर हुन्छ । त्यसैले गरिष्ठ एवं मसलेदार, चिल्लो, पिरो खानेकुरा सेवन गर्नु हुँदैन ।

शरद ऋतु

शीत ऋतुमा खाएको कुरा सजिलै पच्छ । यतिबेला गरिष्ठ भोजन पनि पचाएर शरीरले शक्ति ग्रहण गर्छ । तातो दुध, घिउ, गुड, मिश्री, अमला, कागति, अनार, नरिवल, गोभी सेवन गर्नु राम्रो हुन्छ ।

हेमन्त ऋतु

यो सिजनमा पौष्टिक एवं भिटामिनले भरपुर खानेकुरा सेवन गर्नुपर्छ ।

आवश्यक छ भोजनको नियम

भोजन गर्नुको उदेश्य केवल भोक मेट्नु मात्र होइन । यसको प्रभाव तन, मन एवं मस्तिष्कमा पर्छ । के भनिन्छ भने, गलत ढंगले आर्जन गरेको भोजनले मनलाई दुषित गर्छ ।

त्यस्तै, तारेको, भुटेको, मसलेदार, बासी, एवं गरिष्ठ भोजनले मस्तिष्कमा काम, क्रोध, तनाव आदि पैदा गर्छ । पाचन यन्त्रलाई पनि खराब गर्छ । भोक लागेको भन्दा धेरै कम र धेरै बढी खानेकुराले शरीरलाई रोगग्रस्त बनाउँछ ।

भोजनले उर्जाका साथै सप्त धातु -रगत, मासु, छाला, हड्डी आदि) पुष्ट हुन्छ । केवल खाना खाएर मात्र उर्जा मिल्दैन । खाना खाएपछि त्यसलाई पचाउने क्षमता पनि हुनुपर्छ । पाचन क्षमताका लागि सुपाच्य, स्वस्थ्य, पोषिलो खानेकुरा आवश्यक हुन्छ । त्यस्तै, शारीरिक सक्रियता पनि चाहिन्छ । नियमित व्यायामको खाँचो हुन्छ ।

हामीले भाेजन सम्बन्धी थप जानकारी दिइएका छाै

खाना समय अनुसार खाने कि भोक लागेपछि मात्र ? जानौं फाईदा र बेफाईदा

हामी आजकाल शरिरको आवश्यकताका लागि भन्दा पनि समयका लागि खाना खाने भएका छौं । हामी यति ब्यस्त भएका छौं की खाना खानका लागि पनि कयौंले समय तालिका बनाएका हुन्छौं । तर समय ब्यवस्थापनको यो तरिका सबै तरिकाले हानी नै गर्ने भने अवश्य छैन ।

विहान १० बजे घडि हेर्दै भन्छौं, ‘अहो दश बजिसकेछ अब त खाना खानुपर्छ ।’ अनि अलि विहानको समयमा भन्छौं, ‘बल्ल सात बजेको छ के खाना खानु यत्ति छिटो ?’

अब विचार गर्नुहोस् । हामी आफ्नो आवश्यकता अनुसार चलेका छौं त ? खानाको कुरामा पनि हामीलाई घडिले कजाईरहेको छ । हरेक सेकेण्ड उत्तिकै महत्वपूर्ण ठान्ने हामी आफ्नो शरिरलाई महत्व दिएकै हुँदैनौं । फलस्वरुप आजकाल मानिसहरुलाई लाग्ने रोगका प्रकृतिहरु पनि बदलिएका छन् । मानिसलाई लाग्ने अधिकांश रोगहरु खानपानकै कारण लाग्ने गरेको स्वास्थ्यकर्मीहरु बताउँछन् ।

त्यसो भए समयमै खाने कि भोक लागेपछि ? थाहा पाउनुस् भोजनको नियम

भोक लागेपछि खाना खानुका फाइदा

१. शरीरको आवश्यकता पुरा हुन्छ

२. शरीरले पौष्टिक तत्वलाई राम्ररी ग्रहण गर्छ

३. थकान कम हुन्छ

४. काममा ध्यान केन्द्रित गर्न सकिन्छ

५. खाना खानकै लागि समय कुरिरहनु पर्दैन

भोक लागेपछि मात्र खाना खाँदाका बेफाइदा

१. सही पोषकतत्व प्राप्त गर्न सकिन्न

२. आवश्यकताभन्दा बढि खाइन्छ

३. समय व्यवस्थापन गर्न गाह्रो हुन्छ

समयअनुसार खाना खाँदाका फाइदा

१. सेड्यूलमा चल्न शरीर अभ्यस्त हुन्छ

२. एसिडिटी र थकान हुँदैन

३. शरीरलाई खाना सोस्न समय प्राप्त हुन्छ

४. समय व्यवस्थापन गर्न सजिलो हुन्छ

समयअनुसार खाना खाँदाका बेफाइदा

१. भोक मर्छ

२. खाना नाश हुन्छ

३. पेटमा विभिन्न किसिमका समस्या हुन सक्छ

४.जबरजस्ती खाँदा खाना रुच्दैन

५. चाँडै थकान हुन्छ

साथै- यसरी घटाउन सकिन्छ कोलेस्ट्रोल 

कोलेस्ट्रोल बोसोयुक्त तत्व हो । कलेजोले यसको निर्माण गर्छ । हामीले खानासँग जुन बोसो प्राप्त गर्छौं, त्यसलाई शरीरले परिवर्तन गरेर कोलेस्ट्रोलको निर्माण गर्छ ।

यस्तो कोलेस्ट्रोलले शरीरका विभिन्न कोषिकालाई स्वस्थ र मजबुत राख्ने काम गर्छ । जब यसको मात्रा बढी हुन्छ, शरीरमा कैयौँ समस्या देखिन थाल्छ । जसले तौल बढ्ने, मुटुलगायतका समस्या निम्त्याउने गर्छ ।

शरीरमा कोलेस्ट्रोलको मात्रालाई सन्तुलनमा राख्न जरुरी हुन्छ । यसका लागि बोसोको प्रयोगलाई सीमित गर्न आवश्यक हुन्छ । कोलेस्ट्रोललाई सन्तुलनमा राख्न कैयौँ फलफूलले पनि अहं भूमिका निर्वाह गर्छ । यस्तो फलफूलको सेवन गरी शरीरमा भएको ब्याड कोलेस्ट्रोलको मात्रालाई घटाउन सकिन्छ ।

नास्पातीमा पानीमा घुलनशील पेक्टिङ फाइबर हुन्छ । जसले सेल्युलोजको स्तरलाई नियन्त्रणमा राख्ने काम गर्छ । नास्पातीमा शरीरका लागि आवश्यक कैयौँ पोषण तत्व हुन्छ । यसमा प्राकृतिक भिटामिन, मिनरल र एन्जाइमका साथै एन्टिअक्सिडेन्टको मात्रा पनि हुन्छ । जसले शरीरको ब्याड कोलेस्ट्रोलको मात्रालाई कम गर्ने क्षमता राख्छ ।

स्याउ निकै प्रचलित फलफूल हो । संसारका अधिकांश मुलुकमा स्याउ उपलब्ध हुन्छ । विशेषगरी हिमाली क्षेत्रमा फल्ने स्याउ शरीरका लागि निकै फाइदाजनक छ । स्याउ नेपालमा पनि निकै प्रचलित छ । यसबाट पर्याप्त मात्रामा प्रोटिन र भिटाभिन प्राप्त गर्न सकिन्छ ।

यसको नियमित सेवन गर्दा कोलेस्ट्रोलको मात्रा घटाउने काम मात्र गर्दैन कि रक्तचापलाई पनि सामान्य राख्ने काम गर्छ । स्याउमा पेक्टिनको घुलनशील रेसा हुन्छ । जसले रगतमा कोलेस्ट्रोलको मात्रालाई घटाउने र शरीरका लागि एन्टिब्याक्टेरियल फुडको भूमिका निर्वाह गर्ने काम गर्छ । यसलाई दाना या जुसका रूपमा प्रयोग गर्न सकिन्छ । यसलाई ब्रेकफास्ट र स्न्याक्सका रूपमा लिँदा पनि राम्रो हुन्छ ।

अमिलो फलफूलमा यस्तो इन्जाइम पाइन्छ, जसले मेटाबोलिजमको प्रक्रियालाई तीव्र गरेर कोलेस्ट्रोल घटाउन सहयोग गर्छ । कागतीमा भएको घुलनशील फाइबरले शरीरबाट ब्याड कोलेस्ट्रोललाई रगतमा जान रोक्ने काम गर्छ । यसमा पाइने भिटामिन सीले रक्तनली सफा गर्छ । शरीरमा जम्मा भएको ब्याड कोलेस्ट्रोललाई पचान प्रक्रियाका माध्यमबाट बाहिर निकाल्ने काम गर्छ । त्यसैले यसको कुनै पनि परिकार बनाएर प्रयोग गर्न सकिन्छ । जस्तो– सलाद, चिया, खाना, सर्बतलगायतमा यसको प्रयोग गर्न सकिन्छ ।

मेवा खानका लागि स्वादिलो मात्रा हुँदैन, मुटुको लागि निकै स्वस्थकर पनि हुन्छ । यसको प्रयोगले मुटुको सम्भावित रोगबाट बचाउन महत्वपूर्ण भूमिका निर्वाह गर्छ । मेवामा फाइबर, भिटामिन–सी र एन्टिअक्सिडेन्टलगायतका पोषण तत्व प्रचुर मात्रामा हुन्छ । जसले शरीरमा भएको रक्तनलीमा रगत जम्न नदिन ठूलो भूमिका खेल्छ । कोलेस्ट्रोल रगतमा मिसिँदा मुटु, रक्तचापलगायतका कैयौँ समस्या देखिन्छ । जसले हृदयाघात बनाउन पनि सक्छ । यसका लागि मेवा निकै स्वस्थकर मानिन्छ ।

टमाटरको प्रयोगले हर्ट स्ट्रोकको खतराबाट बचाउन महत्वपूर्ण भूमिका निर्वाह गर्छ । यसले रक्तनलीमा रगत जम्न रोक्ने काम गर्छ । रगत जम्दा रक्तनलीमा अवरोध सिर्जना हुन्छ । जसले हर्ट अट्याक, स्ट्रोकजस्ता गम्भीर रोगको खतरा निम्त्याउँछ । तर, यसको प्रयोगमा भने ध्यान दिन आवश्यक हुन्छ । टमाटरको अत्यधिक प्रयोग भने स्वास्थ्यका लागि फाइदाजनक हुँदैन ।

राती अबेर खाना खानुहुन्छ ? यस्ता रोग लग्न सक्छ

१. राती अबेर खाना खाएर तुरुन्त सुत्दा खाना बोसोमा बदलिन्छ । यसले मोटोपनको समस्या हुन्छ ।

२. राती अबेर खाना खाँदा मोटोपन बढ्छ । यसले ब्लड शुगर लेबल बढाउँछ । र, मधुमेह निम्त्याउन सक्छ ।

३. राती अबेर खना खाँदा खाना राम्ररी पच्न पाउँदैन । यसले गर्दा अपचको समस्या हुनसक्छ ।

४. राती खाना खाएर तुरुन्तै सुत्दा खाना फुड पाइमा आउँछ । यसले गर्दा निन्द्रा नलाग्न सक्छ ।

५. दिनहुँ राती अबेर खाना खाँदा शरीरमा कोलोस्टोर बढ्छ । यसले हृदय रोगको खतरा बढाउँछ ।

६. राती अबेर खाना खाँदा राम्ररी निन्द्रा पुग्दैन । यसले आफ्नो कार्य क्षमता घटाउँछ साथै तनाव पनि बढाउँछ ।

७. नियमित जसो राती अबेर खाना खाने बानीले उच्च रक्तचाप निम्त्याउन सक्छ ।

खाना खादा के गर्नु हुन्छ र के गर्नु हुदैन ?

हामीले खाएका हरेक कुराहरुले हाम्रो जीवनमा प्रभाव पारिरहेको हुन्छ । खाएका वस्तुहरु धेरै मलमूत्रको रुपमा निश्कासन भए पनि त्यसको रसहरुले हाम्रो शरीर बढ्ने र शक्ति दिने गर्दछ । यही खाएको वस्तु अनुसारको नै बुद्धिको विकास हुने गर्छ । त्यसकारण बुद्धि भ्रम गराउने नशालु वस्तुहरु खानको लागि आयुर्वेद आदिमा निषेध गरिएको छ ।

१. खाना खाँदा बोल्नु हुँदैन । जुत्ता चप्पल लगाएर, उठेर, नराम्रा कुराहरु हेर्दै र सुन्दै खाना खानु हुँदैन ।

२. दक्षिण दिशातर्फ फर्केर खाना खान हिन्दुधर्म ग्रन्थहरुमा निषेध गरिएको छ । दक्षिण दिशातिर फर्केर खाएको खानाले शरीर र स्वास्थ्यमा विभिन्न प्रकारका समस्याहरु दिने गर्दछन् । त्यसकारण सकेसम्म खाना खाँदा पूर्व वा उत्तरतिर फर्केर नै खानुपर्छ । पश्चिमतिर फर्केर खानुलाई पनि ठिकै मानिएको छ ।

३. आयुर्वेदमा खाना खानु भन्दा ठीक अघि पछि र खाना खाने समयमा पानी खानु हुँदैन भनेको छ । खाना खाँदा पानी पिएमा त्यसले विषको काम गर्छ भन्ने मान्यता छ । यस कुरालाई भौतिक विज्ञानले पनि स्वीकारेको छ ।

४. खाना खाइसकेपछि बज्र आसनमा बस्नाले खाएको कुराहरु पच्दछ । खाना खाएपछि १०० पाइला हिँड्नाले शरीरलाई अनावश्यक मोटो हुन दिँदैन भन्ने कुरा आयुर्वेदमा भनिएको छ ।

५. खाने बित्तिकै सुत्यो भने अनेक प्रकारका रोगहरु लाग्छन् । मोहीले पाचन क्रियालाई मजबुत बनाउने भएकाले खाना खाएपछि मोही खानु उत्तम हुन्छ । खानेबित्तिकै ध्यान गर्न, व्यायाम गर्न, शरीरमा तेल लगाउन हुँदैन।

६. चुठेपछि चिसो हातले आँखामा स्पर्श गर्नाले आँखा तेजिलो हुन्छ भन्ने शास्त्रीय मान्यता छ । खाना सकेसम्म चरेशको थालमा खानु उत्तम हुन्छ ।

७. आफूले नसक्ने खाना जुठो लगाएर फाल्नु हुँदैन, यसो गर्नाले घरमा दरिद्रता लाग्दछ भनिन्छ । नरुच्ने र नपच्ने खाना खानु हुँदैन । महर्षि चरकले दीर्घ जीवनको लागि कम खाना खानु भनेका छन् ।

८. यज्ञवल्क्यका अनुसार पेटको पाँच भागमध्ये तीन भाग अन्न, एक भाग पानीले भर्नुपर्छ भने एक भाग हावाको लागि खाली नै राख्नुपर्छ । यसरी भोजन गर्ने मानिस पेटका रोगहरुबाट पीडित हुनुपर्दैन र उसले स्वस्थ र शान्तसँग आफ्नो जीवनयापन गर्न सक्दछ भन्ने शास्त्रीय मान्यता छ ।

हामीले खानेकुरा पकाउँदा त्यसको पोषक तत्व कसरी सुरक्षित राख्ने ?

हामी खाना किन खान्छौं ? आम जवाफ हो, ‘भोक मेट्न ।’

यद्यपी खाना त्यही स्रोत हो, जसले हाम्रो शरीरलाई आवश्यक पोषक तत्व आपूर्ति गर्छ । अर्थात खानाबाट नै शरीरलाई चाहिने पोषक तत्व प्राप्त हुन्छ । यसर्थ खाना खानु केवल भोक मेट्नु मात्र होइन, शरीरलाई जीवित, उर्जावान्, स्वस्थ, तन्दुरुस्त बनाइराख्न पनि हो ।

तर, हामी भोक मेट्नका खातिर खानेकुरा खान्छौं । स्वादका लागि खान्छौं । त्यही कारण यसमा कुन खानेकुरामा के पोषक तत्व पाइन्छ, त्यसलाई कसरी ग्रहण गर्ने भन्ने कुरामा हामीलाई हेक्का छैन ।

प्रकृतिले हामीलाई यस्ता खानेकुरा दिएका छन्, जसले शरीरलाई बचाइराख्नका लागि आवश्यक पोषक तत्व प्रदान गर्छ । हरेक खानेकुरामा आफ्नै किसिमको पोषक तत्व हुन्छ । ति पोषक तत्व सन्तुलित मात्रामा शरीरले ग्रहण गर्छ । सोही अनुरुप सन्तुलित खानपान गर्नुपर्छ ।

कति खानेकुरा पकाएर खाइन्छ, कतिपय काँचो खाइन्छ ।

स्वादका लागि पोषक तत्व किन नष्ट गर्ने ?

खानेकुरा पकाउँदा अक्सर हाम्रो ध्यान के हुन्छ भने, त्यसलाई कसरी स्वादिलो बनाउने ?

तर, हामीले ध्यान दिनुपर्ने चाहि के कुरामा हो भने, कसरी त्यसको पोषक तत्वलाई सुरक्षित राख्ने ?

खानेकुरा विभिन्न प्रकृतिका हुन्छन् । ति खानेकुरा पकाउँदा कसरी त्यसमा भएको पोषक तत्व सुरक्षित राख्ने भन्ने कुरामा हामीले हेक्का राख्नैपर्छ । नभए त खाना खानु र भुस खानु एउटै हो, जसले पेट मात्र भर्छ । शरीरलाई आवश्यक पोषक तत्वका लागि पनि ठाउँ ओगट्छ ।

कसरी पकाउने खाना ?

खाना विभिन्न तरीकाले पकाइन्छ । कुनै खाना तारेर त कुनै उसिनेर पकाइन्छ । कुनै ग्रील गरिन्छ त कुनै हल्का फ्राई गरेर पकाइन्छ । खाना पकाउने तरीका पनि आ-आफ्नै हुन्छ ।

विभिन्न तरीकाले पकाउदा पनि कहिलेकाही जानेर वा नजानेर हामी खानामा भएको सम्पूर्ण पोषण तत्व सरक्षित गर्नमा असफल हुने गर्छौ । परिणामस्वरुप, स्वास्थ्यवर्दक तरीकाले खाना पकाउँदा पकाउँदै पनि ती खानेकुरामा भएको आवश्यक पोषण तत्व ग्रहण गर्नमा हामी असर्मथ हुन्छौ । यसको पछाडी दुईटा कारण मुख्य मानिन्छन् । कि त हामी खानालाई धेरै पकाउँछौ, या त काच्चै राख्छौ ।

पोषक तत्व कसरी सुरक्षित राख्ने ?

भिटामिन बी, सी, फोलेट लगायतको पोषण तत्व वाफ वा तातोमा बढी संवेदनशील हुन्छ, जसका कारण त्यसमा भएका आवश्यक तत्व क्रमश कम हुँदै जान्छ । खानामा भएका पोषण तत्व कम हुनुमा पकाउने समयावधी तथा आगोको रापले पनि धेरै प्रभाव पार्दछ । जबकी कम समयमा खाना पकाउने तरीका, तापक्रम तथा पानीको मात्राले पनि खानामा भएको पौष्टिक तत्वलाई संरक्षित गर्न निकै ठूलो भूमिका खेल्छ ।

यस हिसाबले भन्नु पर्दा हरिया सागसब्जी पकाउने सबै भन्दा राम्रो उपाय भनेको उसिन्नु हो । साजसब्जलाई उसिनेर पकाउदा यस्ता खानेकुरा छिटो पाक्नुका साथै यसमा भएका पोषणतत्व समेत नष्ट हुन पाउँदैन ।

खानामा पौष्टिक तत्वलाई कायम राख्न सागसब्जी तथा फललाई उचित तरीकाले काट्नु पर्छ । सागसब्जी वा तरकारीलाई ससाना टुक्रा बनाएर काट्दा त्यसमा भएका पौष्टिक तत्व नष्ट हुने सम्भावना धेरै हुने गर्छ ।

त्यस्तै, सागसब्जीलाई काटेपछि पानीमा डुबाउनले पनि कतिपय खानेकुरामा भएका पौष्टिक तत्व पानीमा घुलेर नष्ट हुने सम्भावना उच्च हुने गर्छ । त्यस्तै, सलाद तयार पार्दा खानेबेलामा मात्र तयार पार्नु पर्छ र हावाको सम्पर्कमा नआओस् भन्नका लागि राम्ररी छचोप्नु पर्छ ।

खाना पकाउनु अघि र पकाउँदा खानामा रहेको पोषण तत्वलाई नष्ट हुन नदिन पनि यी कुराहरुमा ध्यान दिन जरुरी छ ।

तेल, वटर लगायतका फ्याटको प्रयोग गर्ने-हरिया साजसब्जी थोरै आलोकाचो नै रहन दिने

खाना पकाउदा थोरै पानीको प्रयोग गर्ने

खानामा अमिलो मिसाउने

ताजा खाना खाने

खानामा फ्याक्ट प्रयोग बढाउने

मानिसहरु सोच्छन्, उमोलेको तथा स्टिम गरिएको खानेकुरामात्र स्वस्थकर हुन्छ । जबकी उमालेकै खानेकुरामा थोरै मात्र फ्याट वा चिल्लो मिसाउनाले पनि खानामा भएको पौष्टिक तत्व अझै बढ्ने गर्छ । फ्याटले खानाबाट मिल्ने पोषण अवशोषित गर्नमा शरीरलाई सहायता प्रदान गर्दछ । यसले खानाको स्वाद बढाउन समेत निकै मद्दत गर्दछ ।

केही सब्जी काच्चै राख्ने

ब्रोकाउली, बन्दा आदी तरकारी काच्चै खानु शरीरका लागि निकै फाइदाजनक मानिन्छ । यसमा मोयोसिनेज नामक एन्जाइम हुन्छ जसले व्याक्टेरिया तथा इन्फेक्सन रोक्नमा मद्दत गर्छ । जबकी यी खानेकुरालाई पकाउदा यसमा भएका एन्जाइम नष्ट हुने सम्भावना उच्च हुन्छ ।

खाना पकाउँदा पानीको प्रयोग गर्ने

खाना पकाउँदा हामी प्रायः पानीको प्रयोग गर्छौ । जबकी कुनै पनि हरिया सागसब्जीलाई धेरै बेर उमाल्नु हुँदैन । यसले खानामा भएको पोषण तत्व हराउन सक्छ । सागसब्जीमा पाइने पोषण तत्वलाई सुरक्षित राख्नका लागि पकाउँदा थोरै पानीको प्रयोग गर्नु पर्छ ।

खानामा अमिलो समावेश गर्ने

ब्रोकाउली, पालुङ्गो लगायतका सागसब्जीमा प्रशस्त मात्रामा आइरन पाइन्छ । खाना पकाउँदै गर्दा यस्ता खानेकुरामा भिटामिन सी, कागती, वा अन्य कुनै अमिलो पर्दाथ मिसाउनाले आइरन सोस्न मद्दत मिल्छ । त्यस्तै, कागती, सुन्तला आदीले शरीरमा पोषण तत्व अवशोषित गर्न मद्दत गर्छ ।

ताजा खाना खाने

जतिसक्दो ताजा खानेकुरा खाने बानी गर्नुपर्छ । लामो समयसम्म राखेको खाना वा वासी खानाबाट पोषण तत्व क्रमश कम हुँदै जाने गर्छ । जसका खाना खानु र नखानु लगभग एउटै जस्तो हुनपुग्छ । त्यसैले, खानालाई सकेसम्म पकाउना साथ खाँदा राम्रो मानिन्छ ।

तीन पोषक तत्व जुन दैनिक भोजनमा सामेल गर्नैपर्ने

पोषक तत्व हाम्रो खानामा सामेल गर्न सके मस्तिष्कदेखि रोग प्रतिरोध प्रणालीसम्मलाई स्वस्थ्य र सुदृढ पार्छ । हामीले शारीरिक र मानसिक रुपमा स्वस्थ र फिट रहन आफ्नो भोजनलाई सन्तुलित बनाउनु जरुरी छ । यी हुन् महत्वपूर्ण

भिटामिन बी

भिटामिन बीले मानसिक क्षमता वृद्धि गर्छ र मुटुको सुरक्षा गर्छ । ८ वटा भिटामिन बीमध्ये बी १२ र फोलेट सबैभन्दा महत्वपूर्ण छन् । भिटामिन बी१२ ले हामीले खाएको भोजनलाई ऊर्जामा परिणत गर्न सघाउनुका साथै हाम्रो स्नायुतन्त्रको सुरक्षाकवच मानिने ‘माइलिन’ बनाउन आवश्यक पर्छ ।

यसले मस्तिष्कका करोडौं ‘न्युरोन’लाई आपसमा सञ्चार गर्न पनि सघाउँछ । भिटामिन बी१२ को कमीले स्मरण शक्ति घट्ने, भ्रम उत्पन्न हुने र डिप्रेसन हुन्छ । फोलेट गर्भवतीका लागि महत्वपूर्ण मानिए पनि महिला पुरुष सबैका लागि यो उत्तिकै आवश्यक छ ।

भ्रुणको विकासमा यसको महत्वपूर्ण भूमिका हुन्छ । सामान्यतया शरीरमा फोलेटले मस्तिष्कघात र मुटुसम्बन्धी रोगको जोखिम बढाउने ‘एमिनो एसिड’को मात्रा बढ्न दिँदैन । फोलेट र भिटामिन बी मुटुका लागि आवश्यक पोषण समूहमा पर्छन् ।

केमा पाइन्छ भिटामिन बी र फोलेट

भिटामिन बी१२ त्यस्तो दुर्लभ भिटामिन हो, जुन वनस्पति अर्थात् सागसब्जी, फलफूल वा गेडागुडी कुनैमा पनि पाइँदैन । भिटामिन बी१२ अन्डा, चिज, दूध, दही, माछा र रातो मासुमा पाइन्छ ।

तर, फोलेट भने हरिया सागसब्जी, कुरिलो, भिटामिन लगायत विभिन्न पोषक तत्व मिसाइएका तयारी खाद्यान्नमा पाइन्छ ।

भिटामिन डी

शरीरका हाड र रोग प्रतिरोध प्रणालीका लागि भिटामिन डी आवश्यक छ । हामीलाई भिटामिन डीको ठ्याक्कै कति मात्रा आवश्यक पर्छ, वैज्ञानिकहरूले बताउन सकेका छैनन् । तर, अधिकांश अध्ययन अनुसन्धानले शरीर स्वस्थ राख्न भिटामिन डी महत्वपूर्ण रहेको देखाएका छन् ।

यसले क्याल्सियमलाई सोस्न सक्षम बनाउँछ, र क्याल्सियमले हाड बलियो बनाउँछ । रोग प्रतिरोध प्रणालीको प्रभावकारी कामका लागि पनि भिटामिन डी आवश्यक छ । केही अध्ययनले भिटामिन डीको कमी हुँदा क्रोन्स डिजिज (पाचन प्रणाली बिग्रने), ‘युमाटिड आर्थराइटिस’ र ‘मल्टिपल सिरोसिस’जस्ता रोग लाग्न सक्ने देखाएका छन् ।

भिटामिन डी पाइने खानेकुरा

भिटामिन डी पनि भोजनबाट पाउन कठिन छ । बरु हाम्रो शरीरले नै भिटामिन डी बनाउँछ तर यसका लागि हामीले हाम्रो छालामा बिहानको मधुरो घाम पार्नुपर्छ ।

साथै उत्तरी गोलाद्र्धका बासिन्दाले भने अन्डाको पहेँलो भाग, धेरै चिल्लो पाइने माछा (जस्तै सार्डिन), पोषक तत्व मिसाइएको दूध, सुन्तलाको रस, अन्न आदिबाट भिटामिन डी लिन सक्छन् । यसबाहेक आवश्यक परे चिकित्सकको परामर्शमा भिटामिन डीको ट्याबलेट खान सकिन्छ।

म्याग्नेसियम

म्याग्नेसियमले निदाउन सघाउनुका साथै दुखाइ घटाउँछ । पछिल्लो समय अनिद्राका रोगीहरू म्याग्नेसियम प्रति हुरुक्क छन् । तर, यसले निद्रा लगाउने औषधिजस्तो खानेबित्तिकै निद्राले लठ्ठ बनाइहाल्दैन । यसले मांसपेशीलाई आराम गर्न सघाउने र मांसपेशीको दुखाइमा आराम दिलाउने भएकाले हिजोआज धावक र कसरत गर्नेहरूबीच निकै लोकप्रिय भएको छ ।

यसले हामीलाई जगाइराख्ने मस्तिष्कको हिस्सालाई सुदृढ बनाउँछ । यसले हामीलाई राति निद्रा बिथोल्ने सामान्य एन्जाइटी शान्त पार्न पनि मद्दत गर्छ । म्याग्नेसियमले माइग्रेनको दुखाइ कम गर्ने पनि विभिन्न अध्ययनले देखाएका छन् ।

म्याग्नेसियम पाइने खानेकुरा

भोजन सम्बन्धी अधिकांश सर्वेक्षणले अमेरिकीहरूलाई म्याग्नेसियमको कमी भएको देखाएका छन् । यसको कारण भने फाइबर धेरै मात्रामा पाइने सागसब्जी र ब्राउन राइस म्याग्नेसियमको मुख्य स्रोत हुन् र अमेरिकीहरूले भोजनमा यी दुवैको साटो प्रशोधित र डिब्बाबन्द खानेकुरा खान्छन् । पर्याप्त फाइबर र म्याग्नेसियमको पोषण पाउन विभिन्न खालका बिउहरू अझ (हाडे बदाम, ओखर, फर्सीको बिउ) खानु उपयुक्त हुन्छ ।

चामलमा पाइने पोषक तत्वहरु के के हुन् ? याे पनि जानिराखाैँ

हामीले दैनिक जीवनमा प्रयोग गर्ने खान हो चामल जुन मानव जीवनको लागिको लागि नभइ नहुने बस्तु हो । हामी नेपालीहरुको मुख्य आहारा भनेको नै चामल हो । तर हामीलाई थाहा नहुन सक्छ चामलको फाइदाहरु आथवा चामलमा के के पाइन्छ भनेर ?

सेलेनियम

यो चामलमा पाइने एक खनिज हो, यसको सिधा सम्बन्ध हाम्रो प्रजनन क्षमतामा पर्छ । यसैले चामलको उपयोग गर्नाले प्रजनन क्षमताका लागि पनि लाभदायी हुन्छ ।

आइरन

चामलमा पाइने पोषकतत्वमा आइरन तत्व पनि हो । यसले शरीरलाई स्वस्थबद्र्धक बनाउन मद्धत गर्छ ।

आयुर्वेदमा चामलको स्थान

आयुर्वेदमा चामलको स्थान महत्वपूर्ण छ । आयुर्वेदमा चामललाई पेट ठन्डा राख्ने खाद्यपदार्थको रुपमा लिइन्छ ।

फाइबर

चामलमा पाइने फाइबरले हाम्रो शरीरका आवश्यकता पूरा गर्छ । फाइबरले पेटमा हुने विषाक्त पदार्थलाई नष्ट गर्छ, जसल क्यान्सरको सम्भावना कम हुन्छ ।

भिटामिन बी

चामलमा भिटामिन बी पनि पाइन्छ, जसले डिमेन्सिया र अल्जाइमर रोग रोक्न शरीरलाई मद्धत गर्छ ।

नोट: माथि उल्लेखित स्वास्थ्य सम्बन्धी जानकारीहरु विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो । मानिसको शारिरिक अवस्था र समय अनुसार पनि माथि उल्लेखित कुराहरुको उपलब्धी फरक पर्छ । सम्पुर्णरुपमा यहि कुरामा मात्रै भर नपर्नुहोला । माथि उल्लेखित कुराहरु प्रयोग गर्दा तपाईको स्वास्थ्यमा थप खराबी देखिए, कृपया तुरुन्त रोकेर स्वास्थ्यकर्मीहरुसँग सल्लाह लिनुहोस् ।

साथै तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला ।
तपाइको एक सेयरले थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग मिल्नेछ ।

याे भिडियाे पनि हेर्नुहाेला जानकारीका लागि