नेपाली समाजमा एउटा रमाइलो प्रसंग छ । जब कोही फलफूल बोकेर हिँडिरहेका हुन्छन् ।

छिमेकीले सोध्छन्, ‘होइन, कोहि बिरामी छ ?’

छिमेकीले किनपनि यस्तो आशंका गरे भने तपाईंले फलफूल बोक्नुभएको छ । अर्थात हामी घरमा कोही बिरामी परे फलफूल ख्वाउँछौ । कोही आफन्त, साथीभाई, छिमेकी अस्पतालमा भर्ना भए भने उनलाई भेट्न जाँदा फलफूल, जुस वा स्वस्थ्यवर्द्धक खानेकुरा बोक्छौ ।

जब हामी अस्पताल धाउँछौं छिमेकीले लख काट्छन्, ‘फलानो बिरामी भएछन् ।’ चाहे स्वास्थ्य परीक्षण गर्न होस् वा कुनै परामर्शका लागि, अस्पताल धाउन थालेपछि ‘फलानो रोगी भएछ’ भन्न थालिन्छ ।

कोही जब मर्निङ वाकमा निस्कन थाल्छन् । व्यायाम गर्न थाल्छन् । देख्नेहरु भन्छन्, ‘फलानोलाई पक्कै मधुमेह वा उच्च रक्तचापले छोएछ ।’

यसबाट हाम्रो समाजको मोटामोटी मनोविज्ञान के पाइन्छ भने, बिरामी भएपछि फलफूल खानुपर्छ । यसरी बुझौं, फलफूल भनेको कुरा विरामी वा रोगी भएपछि खाने चिज हुन् ।

फलफूल खानु, व्यायाम गर्नु, दौडनु, नियमित स्वास्थ्य परीक्षण गर्ने आवश्यक्ता त्यसबेला मात्र देख्छौं, जब शरीरमा रोगले ‘हाइ अलर्ट’ जारी गर्छ । अर्थात शारीरिक रुपमा स्वस्थ्य हुँदाहुँदै पनि तपाईंले यस किसिमको दिनचर्या अपनाउनु भयो भने, अनुमान गरिन्छ कि तपाईंमा कुनै रोग छ ।

रोग लागेपछि नै फलफूल खानुपर्छ, अस्पताल जानुपर्छ, मर्निङ वक गर्नुपर्छ भन्ने सोंचकै कारण हामी रोगी हुँदैछौं । जबसम्म रोग लाग्दैन, स्वस्थ्य जीवनशैली अपनाउने आवश्यक्ता देख्दैनौं । फलफूल खाने, व्यायाम गर्ने जरुरत ठान्दैनौ ।

यसबाट प्रष्ट के हुन्छ भने, जुन ढंगको जीवनशैली अपनाउनुपर्ने हो, त्यसको ठिक विपरित उभिएका छौं ।

अर्थात फलफूल सेवन गर्दैनौं । व्यायाम गर्दैनौं । मर्निङ वाकमा निस्कदैनौ । नियमित स्वास्थ्य परीक्षण गर्दैनौ । मनलाग्दो जीवनशैली अपनाउँछौं । मनलाग्दो खान्छौं । मनलाग्दो सुत्ने-उठ्ने गर्छौं । यहि कारण हामी रोगी हुन्छौं । जब रोगले गाँज्न थाल्छ, तब मात्र आफ्नो जीवनशैली परिवर्तन गर्ने अभ्यास गर्छौं ।

रोगी भएर उपचार गर्नु उपयुक्त कि रोग लाग्नै नदिनु ?

पक्कै पनि तपाईंको मनले दोस्रो विकल्प सर्वोत्तम मान्नेछ । तर, तपाईंको जीवनशैली पहिलो विकल्पमै अल्भिmएको छ । अर्थात जब रोगले च्याप्छ, तबमात्र उपचारको खोजीमा दौडनुहुन्छ ।

सोच्नुहोस् त, तपाईं एक जनालाई रोग लाग्छ । तर, त्यसले तपाईं एक्लोलाई मात्र दुःख दिदैन । सबै घर-परिवारले तनाव झेल्नुपर्छ । घरमा कुनै सदस्य विरामी भए सम्पूर्ण परिवारको मनस्थिती बोझिलो हुन्छ । कसैले पनि उमंगमय ढंगले आफ्नो काम गर्न सक्दैन ।

अर्कोतिर तपाईंको दैनिकी प्रभावित हुन्छ । भनेजस्तो वा सोचेजस्तो काम गर्न पाउनुहुन्न । अस्पताल धाउने, परीक्षण गर्ने, उपचार गर्ने, औषधी सेवन गर्ने चक्करमा तपाईं गल्दै र थाक्दै जानुहुन्छ ।

यता आर्थिक बोझ पनि थपिन्छ । एकातिर तपाईं आयआर्जनको काममा सहभागी हुनुभएको छैन । परिवारका लागि त्यसैपनि बोझ भयो । अर्कोतिर तपाईंको उपचारका लागि लाग्ने खर्चले व्यायभार बढाइदिन्छ ।

रोग लागिसकेपछिको अवस्थामा कसरी तपाईं र समग्र तपाईंको परिवारले पीडा झेल्नुपर्छ भन्ने कुराको उदाहरण मात्र हो यो । तर, यस्ता संभावित खतराबारे हेक्का हुँदा हुँदै पनि हामी खराब जीवनशैली अपनाउँछौं । जुन खान नहुने हो, त्यही खान्छौं । जे नगर्नुपर्ने हो, त्यही गर्छौं । हामी मनलाग्दो ढंगले यावत् कुरा गर्छौं र दोष चाहि रोग वा शरीरलाई दिन्छौं ।

रोग त्यसै लागेको होइन । त्यसमा तपाईंको कमजोरी आवश्य छ । तपाईंले रोग प्रतिरोधात्मक शरीर निर्माणका लागि कुनै प्रयास गर्नुभएको थियो ?

सुपाच्य र सन्तुलित भोजन गर्नुभएको थियो ? नियमित व्यायाम गर्नुभएको थियो ? सकारात्मक सोंचको विकास गर्नुभएको थियो ? सक्रिय जीवनशैली अपनाउनुभएको थियो ?

यी प्रश्नहरुको जवाफ नकारात्मक आउन सक्छ । त्यही कारण रोग लाग्यो । थला परियो । औषधी गर्नुपर्ने भयो । अस्पताल धाउनुपर्ने भयो । औषधी-उपचारमा पैसा सकियो ।

निरोगी अवस्थामा, शारीरिक रुपले तन्दुरुस्त भएको बेला हामीले शरीरलाई रोग प्रतिरोधात्मक बनाउन सक्छौं । यसका लागि केही गर्न पर्दैन । केवल जीवनशैली स्वस्थ्य र सन्तुलित राखे पुग्छ ।

यस्तो खानापान गरौं, जसले पाचन यन्त्रलाई सहज बनाउँछ । सजिलै पच्छ । साथसाथै शरीरलाई पोषण पनि आपूर्ति गर्छ । सन्तुलित र सुपाच्य खानेकुरा सेवन गरौं । खाना खाने समय नियमित गरौं । थोरै थोरै तर धेरै पटक खाने बानी गरौं ।

बिहान चाडै उठ्ने, चाडै सुत्ने गरौं । सुत्ने र उठ्ने तालिका नियमित गरौं । रातमा कम्तीमा सात वा आठ घण्टा मस्त सुतौं ।

सक्रिय दिनचर्या अपनाऔं । बिहान उठेर योग गरौं । मर्निङ वाक गरौं । व्यायाम गरौं । ध्यान गरौं । दिनभर पनि शारीरिक रुपमा केही न केही गरौं । सक्रिय जीवनशैली अपनाऔं ।

मनको शुद्धिकरण गरौं । मनको विकारले तनलाई असर गर्छ । शरीर र मनको सम्बन्ध नङ र मासुको जस्तै हुन्छ । जब तपाईं मानसिक रुपले तनावमा हुनुहुन्छ, त्यसको असर मुटुमा पर्छ । जब तपाईं भयाभित हुनुहुन्छ, डरको अवस्थामा हुनुहुन्छ, तनावको अवस्थामा हुनुहुन्छ, मुटुको गति बढ्छ । स्वासप्रश्वास प्रक्रिया अनियमित हुन्छ । यसले गर्दा शरीरको काम नियमित र चुस्त हुँदैन । रोगले आक्रमण गर्छ ।

त्यसैले शरीरलाई सक्रिय राख्ने, खानपान सन्तुलित र सुपाच्य गर्ने साथसाथै मनलाई शान्त, सकारात्मक पनि राख्ने । यस किसिमको जीवनशैलीले हामीलाई अस्पताल धाउनुपर्ने वाध्यताबाट मुक्त गर्छ ।

हामीले राेगहरू सम्बन्धि थप केहि जानकारी दिइएका छाै ।

अब गर्मी बढे सँगसँगै राेगहरू पनि बढ्छ, गर्मीयाममा लाग्ने रोगबारे जानी राखौं !

दूषित पानी र बासी, सडेगलेको खानाले झाडापखाला लाग्छ । विशेषगरी गर्मी समयमा यसका ब्याक्टेरिया सक्रिय हुन थाल्छन् । तर, चिसो मौसम नै भएको भान पर्न गई जथाभावी पानी पिउँदा तथा बासी तथा सडेगलेको खाँदा झाडापखालाले सताउने गर्छ ।

गर्मी मौसम बढे संगै सबैभन्दा बढी झाडापखालाका बिरामी आउने गरेको स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. केदार सेन्चुरीले बताए । झाडापखालाले मानिसलाई जलवियोजन गराई रोग प्रतिरोधात्मक क्षमतामा समेत असर गर्ने उनको भनाइ छ ।

यदि खानेकुरामा ध्यान नदिने हो भने आउँ पर्नेसम्मको समस्या उत्पन्न हुन्छ । ‘अहिलेसम्मको रिपार्ट हेर्दा जाडोबाट गर्मी सुरु हुने समयमा झाडापखालाका बिरामी बढी आएको पाएका छाँै ।’ उनले भने ‘त्यसका साथै आउँको समस्या पनि देखिएको छ ।

झाडापखाला लक्षण

धेरै तिर्खा लाग्ने,

छटपटी हुने

आँखा गढेको देखिने पेटको छाला तानेर हेर्दा हतपत नफर्किने

बच्चाले झोल पदार्थ पिउनमा समस्या

बच्चा बेहोससम्म हुन सक्ने

दुई हप्ताभन्दा लामो समयसम्म झाडापखाला लागेमा त्यसलाई दीर्घ झाडापखाला (क्रोनिक डायरिया) भनिन्छ । त्यसमा चिकित्सकको

सल्लाह लिएर औषधि खुवाउनुपर्छ ।

हेपाटाइटिस ए र ई (जन्डिस)

जाडो महिना सकिएर गर्मी सुरु हुँदा देखिने अर्को रोग भनेको हेपाटाइटिस ए र ईको समस्या हो । ए प्रत्येक वर्ष देखिइरहन्छ भने हेपाटाइटिस ई पनि केही वर्षको अन्तरमा स्थान विशेषमा देखिने गरेको सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन बताउँछन् । यी दुवै हेपाटाइटिसका कारण जन्डिस हुन सक्छ ।

जन्डिसले कलेजोलाई असर पार्छ । गर्भवती महिलालाई जन्डिस भएमा सबैभन्दा बढी खतरा मानिन्छ । कलेजो रोग विशेषज्ञ प्रा.डा. अनिल मिश्रका अनुसार शरीरमा हुने पहेँलोपनको मात्रा बढ्नु नै जन्डिस हो । पहेँलोपना बढ्ने कलेजोभित्र र कलेजोबाहिर लाग्ने रोगले गर्दा हो ।

कलेजोबाहिर पित्तको नलीमा केही खराबी भयो भने त्यो बाहिरको जन्डिस हो । त्यसलाई सर्जिकल जन्डिस भनिन्छ । कलेजोभित्र हुने जन्डिसलाई मेडिकल जन्डिस भनिन्छ । दूषित पानी सेवनका कारण जन्डिस लाग्ने मिश्र बताउँछन् ।

हेपाटाइटिस ए र ई (जन्डिस) लक्षण

शरीर पहँलो हुँदै जाने,

वाकवाकी लाग्ने,

खान मन नलाग्ने,

दायाँ कोखा भारी हुँदै जानेजस्ता लक्षण देखा पर्छन् ।

टाइफाइड

दूषित पानी र खानपानमा हुने असरका कारण देखिने अर्को रोग भनेको टाइफाइड हो । जहाँ पायो त्यहाँको पानी नउमाली पिउने, सहरका गल्लीमा बनाइएका खाना जथाभावी खाने र सफा पानीले नपखाली फलफूल खाने गर्दा टाइफाइडको सम्भावना धबढी हुन्छ ।

असुरक्षित खाना र फोहोर पानीमा पाइने सालमोनेलाटाइफी ब्याक्टेरियाका कारण टाइफाइड लाग्छ । आन्द्रामा ज्वरो आउने समस्याका कारण टाइफाइड हुने हुँदा यसलाई ‘आन्द्राबाट आउने ज्वरो’ पनि भनिन्छ ।

टाइफाइडका लक्षण

ज्वरो आउने

जिउ दुख्ने

पेट दुख्ने

दुई हप्ता कटेपछि कलेजो, फियो बढ्ने कडा खालको टाइफाइड भएर लामो समयसम्म रहेमा आन्द्रालाई प्वाल पार्ने सम्भावना रहन्छ ।

याे पनि पढ्नुहाेस्, घरेलु उपचार बाट यति धेरै राेगहरूकाे छुटकारा जानेर चकित पर्नु हुनेछ

अधिकांशले स्वास्थ्यलाई भन्दा खानपानलाई ध्यान दिने चलन छ । यस्तो खानपानले समस्या बनाएमा गाउँघरमा भनेको वेलामा स्वास्थ्यकर्मी पाउन पनि समस्या पर्छ ।

खाएको केही समयपछि पनि देखिने विभिन्न स्वास्थ्य समस्याको घरेलु उपचार गर्न सकिएमा धेरै सहज हुन्छ। स्थानीय रूपमा सजिलो एवं सर्वसुलभ पाइने निम्न जडीबुटीहरू तथा आयुर्वेदिक औषधिहरू प्रयोग गर्न सकिन्छ।

कब्जियत भएमा

हर्रो, बर्रो र अमलाबाट निर्मि त्रिफला चूर्ण ३ देखि ६ ग्राम राति सुत्ने वेलामा मनतातो पानीसँग खाँदा फाइदा गर्छ।

झाडापखला लागेमा

बेलको काँचो फलको गुदी आगोमा पकाएर महसँग पाउडर (चूर्ण) ३ देखि ६ ग्राम, रस १० देखि २० मिलि सेवन गर्नाले दिसाको साथमा रगत आउने, रगतमासी हुने समस्या पनि समाधान गर्छ। साधरण झाडापखलामा जिराको धुलो ३ ग्राम प्रयोग गर्न सकिन्छ।

वाकवाकी एवं बान्ता भएमा

वाकवाकी, उल्टी हुँदा दालचिनी वा सुकमेल प्रयोग गर्न सकिन्छ। शुद्ध दालचिनी वा सुकमेलका धुलो १ देखि ३ ग्राम प्रयोग गर्न सक्नुहुन्छ। अदुवाको रस वा सुकेको अदुवाको धुलो सेवन गर्दा पनि हुन्छ।

पेट दुखेमा वा पेटमा ग्यास भरिएमा

ज्वानो धुलो ३ देखि ५ ग्राम प्रतिदिन दुईपटक कुनै खाना वा अन्य पेय पदार्थमा राखेर खान सकिन्छ। पुदिनाको रस १०-२० मिलि र लेदो १-३ ग्राम प्रयोग गर्न सकिन्छ। बोझोको चूर्ण १२५ देखि ५०० मिग्रा र टुक्रा ५०० मिग्रा प्रयोग गर्न एवं चुस्न सकिन्छ।

टिमुरको धुलो अजीर्ण र ग्यास हटाउन १ देखि २ ग्राम साँझ–बिहान प्रयोग गर्दा फाइदा गर्छ। बच्चाहरूको साधारण पेट दुखाइमा, अजीर्ण, अरुचि रोगमा तुलसीको पातको रस र अदुवाको रस मिसाएर दिँदा फाइदा हुन्छ।

ग्यास्ट्राइटिक (अम्लपित्त भएमा)

अमला, मेथी, कुरिलो जराको धुलो, जेठीमधुमध्ये कुनै एक जडीबुटीको धुलो ३ ग्रामसम्म साँझ–बिहान प्रयोग गर्दा उपयोगी हुन्छ।

रुघाखोकी लागेमा

असुरोको पात वा फूलको रस १० मिलि र सुपको रूपमा ४० देखि ८० मिलि प्रयोग गर्न सकिन्छ। ताजा पातको रस निचोरेर मह वा अदुवाको रससँग मिलाएर खाने गर्दा पुरानो खोकी लागेको समस्या समाधान हुन्छ। रुघाखोकी लाग्दा ज्वानोको झोल बनाएर खाने चलन पनि छ। यसले खकार निकाल्न मद्दत गर्छ।

अदुवाको धुलो २ देखि ३ ग्राम दिनको दुईपटक श्वासप्रश्वास समस्या भएमा प्रयोग गर्ने सकिन्छ। सफा तुलसीको पातलाई पिनेर प्राप्त हुने रस (५–१० मि.लि) मा मह मिसाएर दिनको दुईदेखि तीनपटक सेवन गर्दा सर्दी, खोकी, रुघा, निमोनिया, दम, आदिमा प्रभावकारी हुन्छ।

रक्तचाप बढेमा

जटामसी, निम वा सर्पगन्धा जडीबुटीको धुलो १ देखि ३ ग्राम साँझ–बिहान प्रयोग गर्दा फाइदा गर्छ। लसुनको लेदो १ देखि २ ग्राम नियमित सेवन गर्दा रक्तचाप घटाउन फाइदा गर्छ।

मधुमेह (चिनीरोग बढेमा)

चिनीरोगीहरूले मेथीको रस खाने बानी गर्दा प्रभावकारी हुन्छ। मधुमेह तथा पिसाबसम्बन्धी रोगमा तुलसीको बिज पिँधेर तयार गरिएको लेदोलाई १–३ ग्रामसम्म दिनमा दुईपटक सेवन गर्दा पनि फाइदा गर्छ। गुर्जोको लहरा, तेजपात, बेसार आदिको धुलो ३ ग्रामसम्म नियमित रूपमा प्रयोग गर्दा फाइदा हुन्छ।

नोट : तर कुनै जटिल स्वास्थ्य समस्या आउँदा र औषधि किनेर सेवन गर्नुपर्दा चिकित्सक एवंम स्वास्थ्यकर्मीहरूसँग सल्लाह गर्न जरुरी छ । आयुर्वेदिक औषधिहरू प्रयोग गर्दा खानपानलाई पनि ध्यान दिनु जरुरी छ ।

मधुमेह, उच्च रक्तचाप र अन्य जीर्ण रोगीहरूले आहारविहारलाई ध्यान नराखी औषधि वा जडीबुटीको धुलो मात्र सेवन गर्दा प्रभावकारी हुँदैन। जडीबुटीको विश्वासमा परेर धेरै दिनसम्म खुला रहेका, म्याद नाघेका र गन्ध एवं स्वाद बिग्रेका औषधि प्रयोग गर्दा नकारात्मक असर पर्न सक्छ ।

तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला ।
तपाइको एक सेयरले  थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग हुनेछ । धन्यवाद ।

याे भिडियाे पनि हेर्नुहाेला जानकारीकाे लागि