रोगलाई मानिसको सबैभन्दा ठूलो शत्रु ठानेरै होला, शत्रु लागे पनि रोग नलागोस् भनेर कामना गरिन्छ । सबैलाई थाहै भएको कुरा हो, मिर्गौला शरिरका लागि एक महत्वपूर्ण अंग हो । तर यही मिर्गौलामा समस्या आयो भने निकै सास्ती भोग्नु पर्ने हुन्छ ।

प्रायः मिर्गौला रोग सुरुवाती अवस्थामा पत्ता लगाउन गाह्रो हुन्छ । त्यसैले यसलाई साइलेन्ट किलर पनि भनिन्छ ।मुत्रविज्ञका अनुसार गलत खानपान तथा औषधिको साइड इफेक्टका कारण मिर्गाैला खराब हुन्छ । त्यसैले केही सावधानी अपनाउन सकेमा यसबाट बँच्न सकिन्छ ।

मिर्गाैलामा समस्या उत्पन्न भएपछिका १० प्रारम्भिक लक्षण यस्ता हुन्छन्, जसलाई नजरअन्दाज गरियो भने अन्ततः ज्यान नै जोखिममा पर्दछ ।

स्वस्थ व्यक्तिका दुबै मिर्गौलाले संयुक्त रुपमा प्रति मिनेट १०० देखि १३० मिलिलिटरसम्म रगत छान्ने काम गर्दछ । साथै पिसाब मार्फत अनावश्यक तथा दूषित पदार्थ शरीरबाट बाहिर निष्कासन गर्दछ । तर कुनैपनि कारणले गर्दा यसरी छान्ने क्षमतामा ह्रास आएमा मिर्गौला रोग लागेको भन्नुपर्ने हुन्छ ।

मृगौला रोगको लक्षणको कुरा गर्दा, सबै भन्दा बुझ्नु पर्ने कुरा चाँहि के हो भने – मृगौला रोगको कुनै लक्षण नहुन सक्छ । तसर्थ मृगौला रोगको लागि परीक्षण गर्नु जरुरी छ । मृगौलाका रोगका लक्षणहरू व्यक्ति व्यक्तिमा फरक पर्छन् । खास रोगको प्रकार र त्यसको अवस्थामा धेरै कुरा निर्भर गर्छ । लक्षणहरू प्राय अस्पष्ट हुन्छन् त्यसैले प्रारम्भिक चरणमा निदान गर्न गाह्रो हुन्छ ।

मृगौला रोगका लक्षणहरू

अनुहार सुन्निनु

अनुहार, पेट र खुट्टा सुन्निनु मृगौला रोगमा प्राय देखिने लक्षण हुन् । मृगौला रोगले गर्दा सुन्निएको कुरा सबैभन्दा पहिले प्राय आँखा मुनि देखिन्छ र यो बिहान सबैभन्दा प्रस्ट देखिन्छ । मृगौलाले काम गर्न छोड्नु सुन्निनुको एउटा महत्वपूर्ण कारण हो ।

तर के कुरा ध्यानमा राख्नु पर्छ भने सुन्निदैमा मृगौलाले काम गर्न छोड्ने चाँहि होइन । केही खास मृगौला रोगमा, मृगौलाले सामान्य रुपमा काम गर्दा पनि सुन्निने समस्या हुन्छ । उत्तिकै महत्वपूर्ण कुरा, केही बिरामीहरूमा मृगौलाले काम गर्न छोड्यो भने पनि सुन्निने समस्या नदेखिन सक्छ ।

अरुचि हुनु, वाकवाकी लाग्नु, उल्टी हुनु

अरुचि हुनु, मुखमा असामान्य स्वाद आउनु मृगौलाले काम गर्न छोडेको व्यक्तिले भोग्ने आम समस्या हो । मृगौलाले काम कम गर्न थाल्यो भने शरीरमा विषालु पदार्थको वृद्धि हुन्छ, जसले गर्दा वाकवाकी लाग्ने र उल्टी आउने समस्या हुन्छ ।

उच्च रक्तचाप

मृगौलाको समस्या भएका बिरामीहरूमा धेरै जसो उच्च रक्तचापको समस्या हुन्छ । कम उमेर (३० वर्षभन्दा कम)मा उच्च रक्तचाप भयो र निदान भएको समयमा रक्तचाप अत्यधिक बढी छ भने, त्यो मृगौला रोगका कारण हुन सक्छ । सबै उच्च रक्तचाप भएको मानिसको पिसाब तथा रगतको परीक्षण गरी मृगौलामा केही असर छ छैन भनेर हेर्न अत्यन्त जरुरी हुन्छ ।

रक्तअल्पता र कमजोरी

कमजोरी हुनु, चाँडै थाक्नु र मन लगाएर कुनै काम गर्न नसक्नु रक्तअल्पता हुने व्यक्तिको आम गुनासा हुन् । कतिपय अवस्थामा मृगौलाका दीर्घरोगीहरूका लागि यो एकमात्र लक्षण हुन सक्छ । सामान्य उपचारबाट रक्तअल्पतामा सुधार भएन भने मृगौला रोगबारे जाँच गर्नुुपर्छ ।

अन्य लक्षणहरू

ढाडको तल्लो भाग दुख्ने, शरीर दुख्ने, चिलाउने र खुट्टा बाउँडिनु मृगौला रोगको लक्षण हुन सक्छन् । शरीरको विकासमा कमी र खुट्टा बाङ्गीने समस्या, मृगौलाले काम नगर्ने समस्या भएका बालबालिकाका लागि आम समस्या हुन्

पिसाब सम्बन्धी समस्या

पिसाब सम्बन्धी आम समस्या निम्न किसिमका हुन्छन्ः

धेरै खाले मृगौला रोगहरूमा पिसाबको मात्रामा कमी हुन सक्दछ ।

पिसाब पोल्ने, पिसाब लागिरहने र पिसाबबाट रगत र पिप निस्किने समस्या मुत्रनलीमा भएको संक्रमणका लक्षण हुन् ।

पिसाब फेर्न कठिनाई हुनु या त पिसाबको धारा सानो हुनु मुत्रप्रणालीको खराबीले हुन्छ ।

कुनै मानिसमा माथि उल्लेख गरिएका केही लक्षण र संकेत देखिए भने चिकित्सकसँग परामर्श लिई रगत, पिसाब वा अन्य परीक्षण गराएर मृगौला रोग वा अन्य कुनै रोग लागेको छ छैन भन्ने कुरा स्पष्ट हुनु आवश्यक हुन्छ । गम्भीर मृगौलाको रोग, लामो समयसम्म पनि कुनै लक्षण वा संकेत बिनानै पनि हुन सक्छ भन्ने कुरा बुझ्नु पनि आवश्यक हुन्छ ।

मिर्गाैलामा समस्या उत्पन्न भएपछिका १० प्रारम्भिक लक्षण

१. बारम्बार पिसाब लाग्नु । रातमा अझ बढी पिसाब लागिरहनु ।

२. पिसाब गर्दा पोल्नु, दुख्नु, अप्ठेरो महसुस हुनु ।

३. पिसाबमा रगत वा पिप देखिनु ।

४. जिउ सुन्निनु, जसलाई इडेमा भनिन्छ । मिर्गौला खराब भएसँगै शरीरमा जम्मा भएको पानी तथा नुन छानिएर बाहिर आउन पाउँदैन, त्यसैले शरीर फुल्छ ।

५. रक्तअल्पता र कमजोरी । मिर्गौला खराब भएसँगै रगतमा अक्सिजनको आपूर्ति राम्रोसँग हुँदैन, जसले रक्तअल्पता तथा कमजोरी पैदा हुन्छ ।

६. छालाको समस्या । मिर्गाैलाको खराबीले शरीरबाट विषाक्त पदार्थ बाहिर आउन पाउँदैन, जसका कारण छालामा समस्या देखा पर्दछ ।

७. मुखबाट गन्ध आउने । मिर्गाैलाको खराबीका कारण रगतमा युरियाको लेभल बढ्दछ, जसकारण मुखबाट दुर्गन्ध आउँछ ।

८. रक्तचाप बढ्नु । मिर्गाैला खराब भएसँगै रगतमा पानी तथा नुनको मात्रा बढ्दछ, जसका कारण रक्तचाप बढ्दछ ।

९. वाकवाकी लाग्नु । मिर्गाैलाको खराबीका कारण शरीरबाट विषाक्त पदार्थ बाहिर आउन नपाउँदा जुनसुकै बेला रिँगटा लाग्ने र वाकवाकी लाग्ने समस्या हुन्छ ।

१०. जोर्नी दुख्ने । यो मिर्गाैला रोगको आम लक्षण हो । मिर्गाैला खराब भएसँगै जिउका धेरैजसो जोर्नी दुख्ने समस्या पैदा हुन्छ ।

मिर्गौला रोग : पहिचान,रोकथाम र उपचार

-तपाईँमा निम्न समस्या भएमा मिर्गौला रोग लाग्ने सँभावना रहन्छ :

के तपाईँमा उच्च रक्तचाप (Hypertension) छ  ?

-के तपाईँलाई मधुमेह रोग छ  ?

-के तपाईँको परिवारमा मृगौलाको रोग छ  ?

-के तपाईँको तौल अत्यधिक बढी छ  ?

-के तपाईँ धुम्रपान गर्नुहुन्छ  ?

-के तपाईँको उमेर ५० बर्ष भन्दा बढी छ  ?

मिर्गौला रोगको पहिचान कसरी गर्ने?

प्रारम्भिक अवस्थामा मिर्गौला रोगको कुनै पनि लक्षण देखिँदैन । यस रोगका लक्षण देखिँदासम्म मिर्गौलाको काम ९०% भन्दा बढी कम भइसकेको हुन्छ ।

-मिर्गौला रोगका लक्षणहरु निम्न बमोजिमका हुन सक्छन् :

१. गोडा र पैताला फूल्ने,

२. जीउ फत्रक्क गल्ने र केही गर्न मन नलाग्ने,

३. सोचाइमा कमी आउने,

४. खानामा अरुची हुने र वाक्वाकी लाग्ने,

५. पिसाबमा फिँज देखिने,

६. राती सुत्दा स्याँ स्याँ हुने आदि

-मिर्गौला रोगको पहिचान सामान्य परीक्षणबाट पनि गर्न सकिन्छ-

१. पिसाबमा प्रोटिनको जाँच गरेर

२. रगतमा क्रियाटिनिनको परीक्षण गरेर

३. पेटको अल्ट्रासाउण्ड गरेर ।

मिर्गौला रोगबाट बच्न अपनाउनु पर्ने ८ सुनौला उपायहरू

आफुलाई स्वस्थ र सक्रीय राख्नुहोस्

आफ्नो रगतको मात्रालाई नियन्त्रण गर्नुहोस्

नियमित रक्तचापको परीक्षण गराउनुहोस्

स्वस्थ आहार खानुहोस् र शारीरिक तौललाई नियन्त्रण गर्नुहोस्

प्रशस्त झोलिलो खानेकुरा खानुहोस्

आजबाटै धुम्रपान गर्न छाड्नुहोस्

जीउ दुखेमा खाने पेनकिलर औषधीको सेवन नगर्नुहोस्

-आफुमा निम्न अवस्था भएमा ६-६ महिनामा नियमित मिर्गौला परीक्षण गराउनुहोस् :

१. मधुमेह भएमा

२. उच्चरक्तचाप भएमा

३. अत्यधिक मोटोपन भएमा

४. बाबु आमा दुईजना मध्ये एक जनामा मिर्गौला रोग भएमा

बर्षमा एक पटक मिर्गौला जचाऔँ

जस्तोसुकै शारीरिक अभ्यास गरेपनि र खानपीनमा ध्यान दिएपनि वर्षमा एक पटक मिर्गौला जाँच गराउनुपर्छ। मेरो मिर्गौला स्वस्थ छ कि छैन भन्ने थाहा पाउन बर्षमा एक पटक मिर्गौलाको परीक्षण गर्नुपर्छ। रगतमा क्रियाटिनन र पिसाबमा एलोमिन जाच्नुपर्छ। मिर्गौलामा रोग लागेको लक्षण थाहा हुँदैन।

मानिसहरु मिर्गौलाको समस्याले धेरै नै गालेपछि सुत्न, खान र दैनिक क्रियाकलाप गर्न नसक्ने भएपछि मात्र अस्पतालमा देखाउन आउँछन्। यस्तो अवस्थामा मिर्गौलाको उपचार गर्न ढिलो हुन्छ र मिर्गौला धेरै बिग्रिसकेको हुनसक्छ।

बदलिँदो जीवनशैलीका कारण हामी आफैले मिर्गौलाको समस्या हुने जोखिम निम्त्याइरहेका छौं। मिर्गौलामा रोग लागेको लक्षण थाहा हुँदैन। सुरुमा नै मिर्गौला रोग पत्ता लागेमा समस्याबाट मुक्त हुन सकिन्छ।

विरामी धेरै नै अशक्त भएर अस्पताल आउने हुँदा यस्तो अवस्थाका बिरामीलाई कि डाइलाइसिस गर्नुपर्छ या मिर्गौला नै प्रत्यारोपण गर्नुपर्छ। यी दुई कुरामध्ये एक गर्न सकेनौं भने विरामीको मृत्यु हुन जान्छ। त्यसैले यो डरलाग्दो स्थितिमा नपुग्नको लागि मानिसले समयमानै ध्यान दिनुपर्छ।

मिर्गौलाको कार्य, मिर्गौलामा लाग्न सक्ने रोग, यसका कारण, रोग पत्ता लगाउने तरिका, जोखिम र समाधानका उपाय

मानव शरीरमा मिर्गौलाको कार्य के हो  ?

हाम्रो शरीरमा दुईवटा मिर्गौला हुन्छन् । दुबै मिर्गौलाले बराबर काम गर्छन् । एउटा मिर्गौलाको तौल एकसय ५० ग्राम हुन्छ । मिर्गौलाले एकदिनमा १७ सय लिटर रगत फिल्टर गर्छ । रगत छान्ने प्रकृयामा एक सय ८० लिटर अल्ट्राफिल्ट्रेट आउँछ । त्योमध्ये एकसय ७८ लिटर मिर्गौलाले रिअब्जर्भ गर्छ । यसले कम्तीमा दुई लिटर पिसाब बनाउँछ ।

मानव शरीरमा जम्मा हुने दुषित पदार्थलाई छानेर बाहिर निकाल्नु मिर्गौलाको मुख्य काम हो । यसबाहेक मिर्गौलाले हर्मोन पैदा गर्छ । रगत बन्नका लागि आवश्यक हर्मोन पनि यसले बनाउँछ । शरीरको आन्तरिक वातावरण मिलाउने काम मिर्गौला र फोक्सोको हो ।

यी दुईले शरीरलाई चाहिने वातावरण बनाउँछन् । उदाहरणका लागि शरीरमा रक्तचाप तथा तापक्रम नियन्त्रण गर्ने काम मिर्गौला र फोक्सोले गर्छन् । निष्कर्षमा हामीले खाएको खानाबाट चाहिने चिज लिने र नचाहिने कुरा फाल्ने काम मिर्गौलाको हो ।

मिर्गौलामा कस्तो रोग लाग्न सक्छ ?

मिर्गौलामा लाग्ने रोगका विभिन्न वर्ग छन् । एउटा अनुवांशिक नै हुन्छ । जस्तो कि पोलिसिस्ट् किड्नी डिजिज् । यो रोग लागेका मानिसको किड्नीमा जन्मैदेखि पानी भरिएको फोकाहरु हुन्छन् । यो रोग लागेको मानिसको परिवारका अरु सदस्य पनि यो रोगबाट ग्रसित हुन्छन् । र, ४० वर्षको उमेरमा पुगेपछि ब्लड प्रेसर देखा पर्छ, कोखाहरु सुन्निएर आउँछ ।

नेपालमा पनि थुप्रै बिरामीहरुलाई यो समस्या छ । मिर्गौलामा लाग्ने अर्को प्रकारको रोग जुन ठ्याक्क मिर्गौलाकै चाहिँ हैन । अर्को प्रणालीको रोग हो तर असर मिर्गौलामा गर्छ । यो रोकथाम वा नियन्त्रण गर्न सकिने र गार्हो हुने दुईखालको हुन्छ ।

अर्को हुन्छ एक्युट किड्नी इन्जुरी । समयमा उपचार गरेमा यो रोग निको हुन्छ । अर्को क्रोनिक किड्नी डिजिज यो मधुमेह, उच्च रक्तचाप, पेनकिलर र एन्टिबायोटिकहरुले गर्दा लाग्ने रोग हो ।

मिर्गौलामा लाग्ने रोग कत्तिको आम स्वास्थ्य समस्या हो ?

पहिले नेपालमा मिर्गौलाको रोगबारे आमस्तरमा थाहा थिएन । अहिले धेरैलाई यसबारे थाहा छ । तथ्यांकका आधारमा यो आमस्वास्थ्य समस्याकै रुपमा देखा परेको छ । सरकारी तथ्यांक अनुसार नेपालमा हरेक महिना २५ सयजनाको मिर्गौला बिग्रन्छ । यो अझ बढी नै होला भन्ने हाम्रो अनुमान छ ।

विश्वको तथ्यांक हेर्ने हो भने १० प्रतिशत मानिसमा कुनै न कुनै खालको मिर्गौलाको समस्या छ । नेपालमा मात्र प्रतिमहिना २५ सय देखि ३ हजार मानिसको मिर्गौला खराब हुन्छ । यो सिजनल हुन्छ अर्थात् गर्मीमा बढी देखिन्छ । यतिबेला हामी पानी कम पिउँछौँ। तर पसिना बढी निस्कन्छ ।

मिर्गौलामा रोग लागेको कसरी पत्ता लगाउन सकिन्छ ?

जसमा मधुमेह छ, उच्च रक्तचाप छ, उसले सचेतता अपनाउनै पर्‍यो किनकी उनीहरुलाई मिर्गौलाको रोग लाग्ने सम्भावना बढी हुन्छ । अन्य लक्षणको कुरा गर्दा, एउटा पिसाब कम हुन्छ । कम्तीमा साढे २ लिटर पिसाब हुनुपर्छ । पिसाबको रंग अर्कै हुन्छ । पिसाबमा फिँज देखिन्छ । जिउ सुनिन्छ। स्वास फेर्न गार्हो हुन्छ ।

रक्तचाप बढ्छ । खानामा रुची घट्दै जान्छ, खानै मन नलाग्नेपनि हुन्छ । अनि बान्ता हुन्छ । यो एक्युट किड्नी इन्जुरीको लक्षण भयो। क्रोनिक किड्नी इन्जुरी भएमा पिसाबमा प्रोटिन देखा पर्छ । फिँज आउँछ । दिनमा भन्दा रातमा बढी पिसाब लाग्छ । शरीरमा पानी जम्मा हुन्छ ।

मिर्गौला र मुटुमा पनि पानी जम्छ । शरीरमा रगत कम हुँदै जान्छ । अल्छि लाग्छ। छालामा दाग देखा पर्छन् । बिस्तारै हड्डी कमजोर हुन्छ । यस्ता लक्षण देखिएमा शंका गर्नुपर्छ ।

मिर्गौलामा जोखिम उत्पन्न गर्ने कारकतत्व के के हुन् ?

मैले भनिसकेँ कि मिर्गौलामा लाग्ने रोग मुख्यतया दुई प्रकारका हुन्छन् (अनुवांशिक) र अरु नै प्रणालीको रोगका कारण मिर्गौलामा निम्तने समस्या । रोग लाग्ने कारक विभिन्न हुन सक्छन् । अत्यधिक पेनकिलरको प्रयोगले गर्दा पनि मिर्गौलाको रोग लाग्न सक्छ । झाडा पखाला, अत्यधिक रक्तश्राव, अरिंगालले टोक्ने, हेपाटाइटिस्, हर्वल औषाधि आदिका कारणले एक्युट किड्नी इन्जुरी हुन्छ ।

समयमा उपचार गरेमा यो रोग निको हुन्छ । क्रोनिक किड्नी डिजिज मधुमेह, उच्च रक्तचाप, पेनकिलर र एन्टिबायोटिकहरुले गर्दा लाग्ने रोग हो । यो रोग लागेमा मिर्गौला वा अन्य अंगमा ढुंगा भेटिन्छ । मिर्गौलाले काम राम्रो गरेको छ कि छैन भन्ने आधारमा यसलाई पाँच तहमा बाँडिन्छ । यसको मापन गर्ने आधारलाई ग्लोमर फिल्ट्रेसन रेट (जिएफआर) भनिन्छ ।

एउटा स्वास्थ्य मानिसको जिएफआर ८० देखि १२० मिलिलिटर प्रति मिनेट हुन्छ । यदि ९० मिलिलिटर प्रति मिनेट छ र मिर्गौलामा कुनै प्याथोलोजिकल ड्यामेज रहेछ भने स्टेज एक हुन्छ । यस्तै ९० देखि ६० एमएल प्रति मिनेट दोश्रो, ६० देखि ३० एमएल प्रति मिनेट तेश्रो, ३० एमएल प्रति मिनेट देखि १५ एमएल प्रति मिनेट चौँथो र १५ एमएल प्रति मिनेट भन्दा कम भएमा स्टेज् पाँच हुन्छ ।

जिएफआर १० एमएल प्रति मिनेट भन्दा कम भएमा कि डाइलासिस कि मिर्गौला प्रत्यारोपण चाहिन्छ भन्ने बुझ्छौँ ।

के हरेक व्यक्तिले मिर्गौलाको नियमित स्वास्थ्य परीक्षण गर्नु आवश्यक छ ?

आवश्यक छ । वर्षमा एकपटक मिर्गौलाको नियमित गर्नुपर्छ । जब मानिसहरुमा ज्ञान बढ्दै जान्छ, मिर्गौलाको रोगबारे पनि चेतना बढ्छ। अहिले धेरैलाई यसबारे जानकारी छ तर यो पर्याप्त छैन । खासगरि ४० कटेका मानिसमा केही न केही रोग लाग्न सक्छ । उच्च जोखिममा रहेका मधुमेह, युरिक एसिड, उच्च रक्तचाप तथा शरीरको कुनै अंगमा ढुंगा भएको व्यक्तिले परीक्षण गरिरहन अनिवार्य छ ।

स्वास्थ्य मानिसले पनि वर्षमा एकपटक मिर्गौलाको परीक्षण गराउनै पर्छ ।

मानिसहरुको दीर्घायु र दीर्घकालीन स्वास्थ्यमा मिर्गौलाको रोगले कस्तो असर पार्छ ?

अद्यावधिक तथ्यांक अनुसार नेपालमा १२ प्रतिशत मानिसलाई मधुमेह छ। मधुमेह भएका मध्ये ३५ देखि ४० प्रतिशतको मिर्गौला खराब हुन्छ । रक्तचाप भएका १५ देखि २० प्रतिशतको मिर्गौला खराब हुन्छ । यसका आधारमा के भन्न सकिन्छ भने मिर्गौलाको रोग लागेका मानिसको दीर्घायु कम हुन्छ ।

मिर्गौलाको रोग भएका व्यक्तिको परिवारका अन्य सदस्यलाई मिर्गौलाको समस्या हुने जोखिम कत्तिको हुन्छ ?

जोखिमको मात्रा रोगमाथि भर पर्छ । वंशानुगत र वातावरणीय पक्ष हेर्नुपर्छ । जस्तो कि कसैलाई पोलिसिस्टक किड्नी डिजिज छ, उनका चारजना बच्चा छन् भने दुईजनालाई त्यो रोग लाग्छ । यो वंशानुगत खालको भयो । अर्को वातावरणीय पक्ष । उस्तै खालको खाना तथा जीवनशैलीका कारण पनि जोखिम बढी हुन्छ ।

एकजनालाई स्टोन डिजिज् छ भने अर्कोलाई पनि हुने सम्भावना हुन्छ । यो सरुवा रोग हैन तर उस्तै खालको खानपान, बसाइ वा जीवनशैलीले जोखिम बढ्छ । परिवारका सबै सदस्यले पानी कम खान्छन् भने जोखिम बढ्यो नि ।

के मिर्गौलाको रोग लाग्नबाट बच्ने वा जोखिम कम गर्ने उपाय छन् ?

मधुमेह, उच्च रक्तचाप, युरिक एसिड, किड्नीमा ढुंगा भएमा रोक्न वा जोखिम कम गर्न सकिन्छ । एकतिहाइलाई ग्लोमर्लो नेफ्राइटिस् हुन्छ । उनीहरुलाई जोगाउन सकिन्न। इन्फेक्सन कम गरेर जोगाउन चाहिँ सकिन्छ । उदाहरणका लागि कसैकसैको मिर्गौलाको आयु १० देखि १५ वर्षसम्म बढाउन सकिन्छ । तर रोग लाग्नै नदिनु वा जोखिमबाट बच्नु उत्तम हो ।

मिर्गौला रोगको उपचारका लागि कस्ता स्वास्थ्य संस्था वा चिकित्सककहाँ जानपर्छ ?

नेपाल सरकारले जिल्ला अस्पतालमा पनि युरिया क्रेटिन, पिसाब, अलेट्रासाउन्ड जाँच्ने सुविधा दिएको छ । हामीकहाँ हालसम्म ३० जना नेफ्रोलोजिस्ट् नै छन् । जिल्ला सदमुकाम तथा सहरी क्षेत्रमा मधुमेह जाँच गराउने सुविधा सजिलै उपलब्ध छ ।

कार्डियोलोजिस्ट वा जेनेरल फिजिसियनकहाँ जान सकियो । यस्तै हरेक मेडिकल कलेजमा मिर्गौला परीक्षण तथा उपचार सुविधा पाइन्छ ।

मिर्गौला रोगको उपचारका क्रममा के कस्ता प्रयोगशाला वा रेडियोलोजिकल परीक्षण गरिन्छन् ?

मुख्य रुपमा पिसाब जाँच, रगत जाँच र अल्ट्रासाउन्ड गर्नुपर्छ । अरु रोग वा लक्षण अनुसार अन्य परीक्षण पनि आवश्यक पर्न सक्छ  । तर मुख्यरुपमा गरिने परीक्षण यिनै तीनओटा हुन्  ।

मिर्गौलाको रोग भएका व्यक्तिले खानेकुरामा केही बार्नु पर्छ कि पर्दैन ?

सबैभन्दा ठूलो कुरा त रोग लाग्नै नदिन ध्यान दिनुपर्‍यो । झोल पदार्थ खानुपर्‍यो । एक दिनमा साढे दुई लिटर झोल पदार्थ खानैपर्छ । पेनकिलर जथाभावी खान भएन । शरीरमा कुनै रोग छ भने स्वास्थ्य संस्थामा गएर उपचार गराइहाल्नु पर्छ । रोग पालेर बस्न भएन । नुन बढी भएको खाना पनि खानु हुँदैन ।

पोटासियम बढी भएको खाना नखाने । गोलभेडा, केरा, मौसम, सुन्तला, आलु ठिक्क मात्रामा खाने । मधुमेह तथा रक्तचाप छ भने नियन्त्रण गर्ने । तनाव कम गर्ने । मोटोपन नियन्त्रण गर्ने अनि शारीरिक व्यायाम गर्ने । यति गर्न सके तपाईँलाई मिर्गौलाको रोग लाग्ने सम्भावन न्यून हुन्छ । रोग छ भने पनि घटाउन सकिन्छ ।

अर्को कुरा धूमपान र मद्यपान त सबै रोगका लागि जोखिमपूर्ण नै हुन्छन् । मिर्गौला स्वस्थ्य राख्न गेडागुडी र घिउ पनि कम खानुपर्छ । च्याउ, मासु जस्ता प्रोटिन बढी हुने खाना कम गर्नुपर्छ । अघि पनि भनिहालेँ, पानी मज्जाले खानुपर्छ । बुझ्नैपर्ने एउटा कुरा धेरै झोल पदार्थ पनि राम्रो हुन्न ।

मिर्गौलाले आफ्नो क्षमता भन्दा बढी छान्न सक्दैन नि । अर्को ध्यान दिन पर्ने कुरा अहिले वैकल्पिक उपचार पद्दति पनि छन् तर मिर्गौला रोग लागेका मानिसलाई प्रत्यारोपण बाहेक अरु दीर्घकालीन उपचार हुन सक्दैन ।

मिर्गौला रोगको उपचार गर्ने क्रममा स्वास्थ्यसेवा प्रदायक तथा चिकित्सकले बिरामीका के कस्ता पक्ष हेर्नुपर्छ ?

हामी उसको आर्थिक सामाजिक पक्ष हेर्छौँ । बिरामीलाई मिर्गौला प्रत्यारोपण चाहिएमा उसका परिवारका सदस्यले दिन सक्छन् कि सक्दैन हेर्छौँ । खर्च गरेर उपचार भैसकेपछि बिरामीले उत्पादनशील जीवन जिउन सक्छ कि सक्दैन भन्ने कुरा पनि महत्वपूर्ण हुन्छ । सबैभन्दा महत्वपूर्ण बिरामीको पुनःस्थापना हो । यस्ता कुरामा हाम्रो ध्यान हुन्छ ।

रोग लागेर मिर्गौला फेल भएका व्यक्तिले मिर्गौला फेर्न वा प्रत्यारोपण गर्न सक्छन् ?

सक्छन्, तर यसका पनि केही सर्त छन् । ६० वर्षभन्दा मुनिकाले मात्र मिर्गौला फेर्न सक्छन् । मिर्गौला प्रत्यारोपण गर्ने मानिस अन्य ढंगले पनि स्वास्थ हुनुपर्छ । जस्तो मुटुको रोग हुनुभएन, क्यान्सर हुनु भएन । रगतको नाता भएका व्यक्तिले मात्र मिर्गौला दिन सक्छन् । दिने र लिनेको रक्तसमूह मिल्न पर्यो ।

ब्रेन डेथ भैसकेको व्यक्तिको काम गरिरहेको मिर्गौला पनि राख्न पाइन्छ। मिर्गौला दिने दायरा फराकिलो बनाउन सकिन्छ कि भनेर लागिरहेका छौँ । जस्तो कि मामा फुपु आदिको पनि राख्न सकिन्छ । यसको काम अंग प्रत्यारोपण समन्वय समितिले गर्छ ।

रोग लागेर एउटा मिर्गौला फेल भएको व्यक्तिको अर्को मिर्गौलाले कत्तिको काम गर्छ ? अर्को मिर्गौलामा रोग सर्ने सम्भावना कत्तिको हुन्छ ?

विभिन्न कारणले गर्दा दुईवटै मिर्गौला बिग्रने हुन्छ । एउटामात्र बिग्रने त कि जन्मैदेखि त्यस्तो हुनुपर्‍यो । कि एउटा मिर्गौलामा ढुंगा अड्केको र अर्को स्वास्थ्य हुनुपर्‍यो । यदि लामो समयदेखि बारम्बार पिसाबमा इन्फेक्सन देखियो । कारण ढुंगाले किड्नीमा असर गर्‍यो । त्यो मिर्गौला ननफङ्क्सनिङ अर्थात् काम गर्न नसक्ने हुन्छ ।

परीक्षणबाट थाहा भयो मिर्गौला मरिसकेको छ । अब त्यो मिर्गौला नहटाउने हो भने अन्य समस्या बल्झिन्छ । त्यस्तो अवस्थामा नहटाइ सुखै छैन । त्यसैले रोग लागिहालेमा दुबैमा लाग्छ ।

मिर्गौला रोगको उपचारमा खर्च कत्तिको ठूलो समस्या हो र कति रकम आवश्यक पर्छ ?

उपचार अलिक महंगो पर्छ । राष्ट्रिय स्वास्थ्य उपचार केन्द्रले हरेक तीनमहिनामा एक पल्ट मिर्गौला सम्बन्धि उपचार निःशुल्क गरेको छ । परीक्षण त सस्तै हुन्छ तर डाइलासिस नै गर्नुपर्‍यो भने महंगो पर्छ । डाइलासिस भनेको मिर्गौलाको जीवन लम्ब्याउने मात्र हो । डाइलासास गर्दा एक महिनामा ३० देखि ३५ हजार खर्च हुन्छ ।

सामान्यता ३ देखि ५ वर्ष आयु बढाउन सकिन्छ । हुन त कोहीकोही २० वर्षसम्म पनि बाँचेका छन् । मिर्गौला प्रत्यारोपण भनेको त नयाँ मिर्गौला फेर्ने कुरा भयो । यो पनि खर्चिलो हुन्छ । नेपालमा त्रिभुवन विश्वविद्यालयको शिक्षण अस्पताल, भक्तपुर अंग प्रत्यारोपण केन्द्र र वीर अस्पतालमा मिर्गौला प्रत्यारोपण हुन्छ ।

सुरुमा साढे तीनदेखि ५ लाख सम्म लाग्छ । बाँचुन्जेलसम्म हरेक महिना १५ हजारजतिको औषधि खानुपर्छ । चिकित्सकको सम्पकर्कमा रहिरहन पर्‍यो। नेपाल सरकारले डाइलासिस गर्नेलाई प्रतिबिरामी २५०० एकवर्षसम्म सहयोग दिन्छ । सरकारले प्रत्यारोपण गर्दा पनि दुईलाख सहयोग गर्ने गरेको छ ।

उपचारको प्रभावकारिता सुनिश्चित गर्न बिरामीको कस्तो भूमिका हुन्छ ?

रोग निदानका लागि बिरामीको भूमिका अहम् हुन्छ तर चिकित्सकले भनेको धेरैजसो बिरामीले स्वीकार्दैनन् वा मान्दैनन् । मधुमेह र रक्तचाप छ भने समयमा औषधि खानुस् नियन्त्रण गर्नुस् भन्यो अगाडि मानेजस्तो गर्छन्, बाहिर गएपछि भुल्दिन्छन् । सक्नेहरु दिल्ली र बैंगलोर पुग्छन् । अनावश्यक खर्च गर्छन् ।

कोही बिरामी चिकित्सकको सल्लाहबिना नै औषधि घटाउँदै लैजान्छन् । आयुर्वेदमा पुग्यो भने हाम्रो औषधि चटक्क छोड्छन् । बिरामीबाट यस्तो नहोस् भन्ने हाम्रो अपेक्षा हुन्छ। बिरामीले अरुका कुरा धेरै सुन्न हुँदैन ।

हामीले केहि सम्बन्धित थप जानकारी दिइएका छाै

मिर्गौला रोगलाई दुई भागमा विभाजन गरिएको छ ।

१. मिर्गौलाघात

२. दीर्घकालीन मिर्गौला रोग

१. मिर्गौलाघात 

मिर्गौलाको कार्य क्षमतामा अकास्मत वा तिव्र रुपले ह्रास आउँछ । जसमा पिसाबको निष्काशन कम हुन्छ । मिर्गौलाघात सामान्यतया उपचार गर्न सकिन्छ । मिर्गौलाघात विभिन्न कारणले हुनेगर्छ । केही कारण यस्ता छन् :

तीब्र रुपमा झाडापखला लागेर अत्यधिक जल विनियोजन भएमा

अत्याधिक रक्तश्राव भएमा

शरीरमा जीवाणुको संक्रमण भई धेरै नै शिथिल भएमा

कुनै पनि औषधिको धेरै सेवन वा विष सेवन भएमा

मुत्रनली अवरोध वा संक्रमण

मुत्राशयको क्यान्सर भएमा

तीब्र रुपमा मिर्गौला सुन्निने रोग भएमा

असुरक्षित गर्भपतन भए-गराएमा ।

२. दीर्घकालीन मिर्गौला रोग 

यो भनेको मिर्गौलामा तीन महिना वा सो भन्दा बढी समयदेखि क्षतिको अवस्था हुनु हो। अथवा मिर्गौलाको कार्यक्षमतामा ह्रास हुनु हो । मिर्गौलाको कार्यक्ष्मता १५ प्रतिशत भन्दा कम हुँदा दीर्घकालीन मिर्गौला रोगले मिर्गौला फेल वा मिर्गौलाको अन्तिम अवस्था सिर्जना गर्नसक्छ । मिर्गौला फेल भएपछि डायलाइसिस वा प्रत्यारोपण नै गर्नुपर्ने हुन्छ ।

दीर्घकालिन मिर्गौला रोग हुने कारण

उच्च रक्तचाप

मधुमेह

मिर्गौला सुन्निने रोग

जन्मजात मुत्रनली साँघुरो भई पिसाब ननिस्कने अवस्था

मूत्राशयमा बारम्बर संक्रमण

दुखाइ कम गर्ने औषधिको अत्याधिक प्रयोग

वंशानुगत रोग जस्तै मिर्गौलामा अंगुर जस्तो झुप्पा भएमा

यूरिक एसिडको मात्रा बढी भई बारम्बार बाथ भएमा

मिर्गौलाको दुवैतर्फको रत्तःनली साँघुरिएमा ।

नोट: माथि उल्लेखित स्वास्थ्य सम्बन्धी जानकारीहरु विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो । मानिसको शारिरिक अवस्था र समय अनुसार पनि माथि उल्लेखित कुराहरुको उपलब्धी फरक पर्छ । सम्पुर्णरुपमा यहि कुरामा मात्रै भर नपर्नुहोला । माथि उल्लेखित कुराहरु प्रयोग गर्दा तपाईको स्वास्थ्यमा थप खराबी देखिए, कृपया तुरुन्त रोकेर स्वास्थ्यकर्मीहरुसँग सल्लाह लिनुहोस् ।

साथै तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला । तपाइको एक सेयरले थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग मिल्नेछ ।

याे भिडियाे पनि हेर्नुहाेला जानकारीका लागी