गर्मी मौसममा खानपानमा अलिकता लापरवाहीले पनि बिरामी पर्ने सम्भावना हुन्छ । जाडो मौसमको तुलनामा गर्मीमा पाचन शक्ति कमजोर हुन्छ । यस्तो बेला बढी तारेको या मसालायुक्त खाना धेरै खानुहुँदैंन । फुड प्वाइजनको समस्या हुने पनि यही मौसममा हो । त्यसैले यो मौसममा हल्का या सजिलै पच्ने खालको खाना खानुपर्छ । गर्मीमा यी तरकारी खानु उपयोगी मानिन्छ ।

१. लौका

लौकामा करिब ९६ प्रतिशत पानी हुन्छ । सलादमा काँक्रोले काम गरेजस्तै यसले तरकारीमा पनि त्यस्तै काम गर्छ । लौका चिसो खालको तरकारी हो । यसले कलेजो स्वस्थ राख्न मद्धत गर्छ । क्यालोरी कम हुने भएकाले सजिलै पचाउन सकिन्छ । गर्मी मौसममा यसले पेट सफा पार्छ । ग्यास बन्न दिँदैंन । फाइबर पनि हुने हुनाले अल्सर, पायल्स र ग्यास्ट्रिकका रोगीका लागि लाभदायी हुन्छ ।

२. प्याज

गर्मी मौसममा प्याज वरदान नै हो । यसमा भिटामिन सी, भिटामिन बी ६ र म्याङगनिजको मात्रा भरपूर हुन्छ । यसका अलावा क्याल्सियम, आइरन, फोलेट, म्याग्नेसियम, फस्फोरस र पोटासियम पनि पाइन्छ । यसमा क्वेरसेटिन नामक एन्टीअक्सिडेन्ट पनि हुन्छ । यो मौसममा काचो प्याज खानाले लू पनि लाग्दैन । यसलाई तरकारीको रुपमा मात्र नभई काचै सलादका रुपमा खान सकिन्छ ।

३. करेला

स्वादमा तीतो भएपनि करेला स्वास्थ्यका लागि निकै लाभदायी मानिन्छ । यो सजिलै पच्छ । यसमा फस्फोरस पाइने भएकाले कफको समस्या हटाउन पनि मद्धत गर्छ । यसका साथै प्रोटीन, क्याल्सियम, कार्बोहाइड्रेट, फस्फोरस र भिटामिन पाइन्छ । करेलाले पाचनशक्ति मजबूत पार्ने भएकाले भोक पनि जगाउछ । यो चिसो खालको तरकारी भएकाले गर्मी मौसममा उपयोग गर्नु राम्रो मानिन्छ ।

४.हरियो सिमी

हरियो सिमीले पनि शरीरलाई आवश्यक पोषक तत्व प्राप्त हुन्छ । यसमा पर्याप्त मात्रामा भिटामिन ए, सी र बी ६ पाइन्छ । यो फोलिक एसिडको पनि राम्रो स्रोत हो । यसका अलावा क्याल्सियम, सिलिकन, आइरन, म्याङनिज, बिटा क्यारोटिन, पोटासियम र कपर तत्व पनि सिमीमा पाइन्छ । पर्याप्त मात्रामा एन्टीअक्सिडेन्ट पाइने भएकाले पनि यसले शरीरमा रोग प्रतिरोधी क्षमतामा वृद्धि गर्छ । कोशिकाहरुको क्षति ठीक गरी नयाँ कोशिका निर्माण गर्न पनि मद्धत गर्छ ।

५. फर्सी

फर्सी खनिज तत्वले भरपूर हुन्छ । यसले शरीरबाट विषाक्त पदार्थ बाहिर निकाल्छ भने एसीडीटी हटाउन र तौल कम गर्न मद्धत गर्छ । यसको बियाँले प्रोस्टेट क्यान्सरका बिरामीलाई फाइदा पुग्छ । यसमा आइरन, म्याग्नेसियम, सेलेनियम र फस्फोरस हुन्छ । गर्मी मौसममा पेट गडबड हुनेहरुका लागि यो निकै राम्रो खाद्यपदार्थ हो ।

६. गोलभेंडा

दिनुहँ एउटा गोलभेंडा खाने हो भने धेरै खालका रोगबाट बच्न सकिन्छ । यसमा भिटामिन ए र सी, फोलेट, पोटासियम, फाइबर र सबै खालका एन्टी अक्सिडेन्ट पाइन्छ । गोलभेंडा खानाले शरीरको रोगप्रतिरोधी क्षमता मजबूत हुन्छ भने रक्तचाप पनि नियन्त्रणमा आउँछ । त्यसैले मुटुका रोगीका लागि यो निकै उपयोगी मानिन्छ ।

हामीले केहि सम्बन्धित थप जानकारी दिइएका छाै

गर्मी बढ्यो, शरीरलाई शीतलता दिन खानुहोस् यस्ता फलफूल !

गर्मी बढेसँगै शरीरमा पानीको कमी हुने समस्या देखापर्छ । जस कारण विभिन्न रोग लाग्ने सम्भावना पनि उत्तिकै हुन्छ । गर्मीमा अत्यधिक पसिना बग्ने तथा आन्तरिक रुपमा पनि पानी बढी खपत हुने हुँदा शरीरमा पानी कमी हुने गर्छ । यसर्थ यसबाट जोगिन खानपिनमा ध्यान दिनुपर्छ ।

शरीरमा गर्मीको महसुस बढी हुँदा खाना खान मन नलाग्ने समस्याले विभिन्न रोगको संक्रमण हुन्छ । यसबाट जोगिन पानी र तरल पदार्थ प्रशस्त पिउने र फलफूलहरु खाने गर्नुपर्छ ।

कुन कुन फलफुल खाने ?

१. खरबुजा

गर्मी मौसममा खरबुजा खाँदा शरीरमा पानीको पूर्तिमात्रै होइन चिनीको मात्रासहित धेरै खनिज पदार्थ, भिटामिन र थोरै क्यालोरी पनि पाइन्छ । यसमा पाइने भिटामिन ए ले कपाल र छालालाई पनि राम्रो गर्छ। यसमा पाइने फाइबरले पाचन प्रणालीलाई सहयोग र्पुयाउनुका साथै कब्जियत हुनबाट पनि जोगाउँछ। यसमा ९२ प्रतिशत पानीको मात्रा हुन्छ ।

२. स्याउ

स्याउमा पाइने फाइबर, एन्टीअक्सिडेन्ट, भिटामिन बी कम्प्लेक्स जस्ता तत्वले गर्मीबाट जोगाउँछ । साथै स्याउमा पोटासियम, क्याल्सियम र फस्फोरस पनि अधिक मात्रामा पाइन्छ ।

३. मेवा

गर्मीमा खानै पर्ने अर्काे फल हो– मेवा । मेवा खाँदा छालालाई डढ्नबाट जोगाउन सहयोग गरी उपयुक्त सनब्लकको काम गर्छ । यसले मुटुका रोग, मधुमेह, क्यान्सरबाट बचाउन मद्दत गर्नुका साथै ब्लड प्रेसर घटाउँछ साथै घाउ पनि छिटो निको पार्ने काम गर्छ ।

४. काँक्रो

काँक्रो पनि गर्मीमा खाँदा लाभदायिक हुन्छ । यसमा ९५ प्रतिशत मात्रा पानी पाइन्छ।समा रहेको फाइबरको मात्राले कब्जियत हुनबाट जोगाउँछ। यसमा सोडियम, कार्बोहाइड्रेट, कोलेस्ट्रोलको मात्रा निकै कम पाइन्छ। काँक्रा काटेर माथिबाट थोरै वीरे नून छर्केर खानुस् वा दहीमा मिलाएर खानुस् तपाईं उत्कृष्ट स्वाद पाउनुहुन्छ साथै शरीरलाई शीतलता पनि ।

५. भूइँकटहर

गर्मीमा खान छुटाउनै नहुने भूँइकटहर पनि हो । छाला र स्वास्थ्यका लागि निकै नै उपयोगी फल भूँइकटहरमा भिटामिन सी धेरै मात्रामा पाइन्छ जसले शरीरमा रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता पनि बढाउँछ ।

६. केरा

केरा खानाले चिसो महसुस गराउनुका साथै ब्लड प्रेसर, आज्मा र क्यान्सरको जोखिम पनि घटाउँछ। यसमा धेरै मात्रामा कार्बोहाइड्रेट्स र फाइबर पाइन्छ । गर्मीमा धेरै झाडापखालाको समस्या पनि भोगिरहेका हुन्छौँ ।

गर्मीमा काखी गनाउँने समस्या छ ? छुट्कारा पाउन अपनाउनुहोस यी घरेलु उपाए !

गर्मी मौसम सुरु भइसकेको छ । यो समयमा धेरै मानिसलाई अत्याधिक पसिना आउने गर्दछ साथै काखी गन्हाउने समस्या हुने गर्दछ । यो समस्याले गर्दा कतिपयलाई सार्वजानिक स्थल र कार्यलयमा बस्दा समेत ठुलो समस्या हुने गर्दछ । तर, काखी गन्हाउँछ भन्दैमा नआत्तिनुहोस् । किनकी यसका समाधान पनि छन् । काखी गन्हाउने समस्याबाट बच्न यस्ता खाले घरेलु उपाय अपनाउन सकिन्छ ।

सरसफाई र स्वास्थ्यमा ध्यान

काखीमा पसिना आएपछि ब्याक्टेरिया उत्पन्न हुन्छन् र त्यसको दुर्गन्ध शरिरभर फैलिएर समग्रमा शरिर नै गन्हाउँछ । हाम्रो शरिरको कुनै पनि अंगमा आउने पसिनालाई रोक्न सकिँदैन किनकी पसिना आउनु पनि एउटा नियमितता हो । तर यसबाट उत्पन्न हुने समस्याबाट बच्न गर्मी मौसममा कम्तिमा दिनमा एकपल्ट नुहाउने गर्नुपर्छ । विशेगरी एन्टिब्याक्टेरिया साबुनको प्रयोग गर्नुपर्छ । हावा छिर्ने प्राय कटन र फाईबरका लुगा लगाउनुपर्छ । पसिना नसोस्ने तथा छालामा पनि अशर गर्ने भएकोले गर्मी मौसममा सिन्थेटिक्सयुक्त कपडा लगाउनुपर्छ ।

खाना खाँदा बिचार पुर्याउँ

गर्मी मौसममा कफीको मात्रा, जंक फुड र तेलीय खानेकुरा घटाउनै पर्छ । यी खानेकुरा विशेषगरी क्याफिनले पसिना ग्रन्थीलाई उत्तेजित बनाउँछ जसका कारण शरिरमा अत्यधिक पसिना आउने र गन्हाउने गर्छ । मौसमी फलफुल र प्रर्याप्त पानी पिउदा पनि पसिना गन्हाउने समस्याबाट केही हदसम्म बच्न सकिन्छ ।

काखीमा कागतीको रस लगाउनुस

कागतीको रस दल्नु सबैभन्दा उपर्युक्त घरेलु तरिका हो । यसबाट कुनै साइड इफेक्ट हुँदैन । आधा टुक्रा काटेको कागती काखीमा निचोरेर दल्ने र यसलाई केही समय सुक्न दिएर लुगा लगाउनुपर्छ । यसको केहीबेर पछि चिसो पानीले नुहाउनुपर्छ । यसले शरिरबाट आउने पसिनायुक्त गन्धबाट मुक्त गर्नुका साथै लामो समयसम्म ताजा राख्छ ।

तुलसी र निम पात

तुलसी र निम दुबैमा ब्याक्टेरिया बिरोधी तत्वहरु हुन्छन् । यसले ब्याक्टेरिया उत्पन्न हुनबाट बचाउँछ । तुलसी र निमको पातको लेपन बनाएर काखी वा शरिरको पसिन आउने अन्य भागमा लगाउनुपर्छ । केही समय रहन दिएर धुने वा नुहाउने गर्नुपर्छ । सातामा तीन पटक यस्तो लेपन लगाउँदा उत्तम हुन्छ । नुहाउनु भन्दा अगाडि यो लगाउँदा प्रभावकारी हुन्छ ।

छालाको पीएच घटाउ

एसिड भएको समयमा छालाको ब्याक्टेरिया बाँच्न सक्दैन । तसर्थ स्याउको वाइन, भिनेगार, चियाको तेल र विच हेजल लगाउँदा पनि शरिरको दुर्गन्ध हट्छ । स्याउको वाइन, भिनेगर र विच हेजललाई पाखुरामुनि दल्ने गर्नुपर्छ ।

अब गर्मी बढे सँगसँगै राेगहरू पनि बढ्छ, गर्मीयाममा लाग्ने रोगबारे जानी राखौं !

दूषित पानी र बासी, सडेगलेको खानाले झाडापखाला लाग्छ । विशेषगरी गर्मी समयमा यसका ब्याक्टेरिया सक्रिय हुन थाल्छन् । तर, चिसो मौसम नै भएको भान पर्न गई जथाभावी पानी पिउँदा तथा बासी तथा सडेगलेको खाँदा झाडापखालाले सताउने गर्छ ।

गर्मी मौसम बढे संगै सबैभन्दा बढी झाडापखालाका बिरामी आउने गरेको स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. केदार सेन्चुरीले बताए । झाडापखालाले मानिसलाई जलवियोजन गराई रोग प्रतिरोधात्मक क्षमतामा समेत असर गर्ने उनको भनाइ छ ।

यदि खानेकुरामा ध्यान नदिने हो भने आउँ पर्नेसम्मको समस्या उत्पन्न हुन्छ । ‘अहिलेसम्मको रिपार्ट हेर्दा जाडोबाट गर्मी सुरु हुने समयमा झाडापखालाका बिरामी बढी आएको पाएका छाँै ।’ उनले भने ‘त्यसका साथै आउँको समस्या पनि देखिएको छ ।

झाडापखालाका लक्षण

धेरै तिर्खा लाग्ने,

छटपटी हुने

आँखा गढेको देखिने पेटको छाला तानेर हेर्दा हतपत नफर्किने

बच्चाले झोल पदार्थ पिउनमा समस्या

बच्चा बेहोससम्म हुन सक्ने

दुई हप्ताभन्दा लामो समयसम्म झाडापखाला लागेमा त्यसलाई दीर्घ झाडापखाला (क्रोनिक डायरिया) भनिन्छ । त्यसमा चिकित्सकको सल्लाह लिएर औषधि खुवाउनुपर्छ ।

हेपाटाइटिस ए र ई (जन्डिस)

जाडो महिना सकिएर गर्मी सुरु हुँदा देखिने अर्को रोग भनेको हेपाटाइटिस ए र ईको समस्या हो । ए प्रत्येक वर्ष देखिइरहन्छ भने हेपाटाइटिस ई पनि केही वर्षको अन्तरमा स्थान विशेषमा देखिने गरेको सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन बताउँछन् । यी दुवै हेपाटाइटिसका कारण जन्डिस हुन सक्छ ।

जन्डिसले कलेजोलाई असर पार्छ । गर्भवती महिलालाई जन्डिस भएमा सबैभन्दा बढी खतरा मानिन्छ । कलेजो रोग विशेषज्ञ प्रा.डा. अनिल मिश्रका अनुसार शरीरमा हुने पहेँलोपनको मात्रा बढ्नु नै जन्डिस हो । पहेँलोपना बढ्ने कलेजोभित्र र कलेजोबाहिर लाग्ने रोगले गर्दा हो ।

कलेजोबाहिर पित्तको नलीमा केही खराबी भयो भने त्यो बाहिरको जन्डिस हो । त्यसलाई सर्जिकल जन्डिस भनिन्छ । कलेजोभित्र हुने जन्डिसलाई मेडिकल जन्डिस भनिन्छ । दूषित पानी सेवनका कारण जन्डिस लाग्ने मिश्र बताउँछन् ।

हेपाटाइटिस ए र ई (जन्डिस) लक्षण

शरीर पहँलो हुँदै जाने,

वाकवाकी लाग्ने,

खान मन नलाग्ने,

दायाँ कोखा भारी हुँदै जानेजस्ता लक्षण देखा पर्छन् ।

टाइफाइड

दूषित पानी र खानपानमा हुने असरका कारण देखिने अर्को रोग भनेको टाइफाइड हो । जहाँ पायो त्यहाँको पानी नउमाली पिउने, सहरका गल्लीमा बनाइएका खाना जथाभावी खाने र सफा पानीले नपखाली फलफूल खाने गर्दा टाइफाइडको सम्भावना धबढी हुन्छ ।

असुरक्षित खाना र फोहोर पानीमा पाइने सालमोनेलाटाइफी ब्याक्टेरियाका कारण टाइफाइड लाग्छ । आन्द्रामा ज्वरो आउने समस्याका कारण टाइफाइड हुने हुँदा यसलाई ‘आन्द्राबाट आउने ज्वरो’ पनि भनिन्छ ।

टाइफाइडका लक्षण

ज्वरो आउने

जिउ दुख्ने

पेट दुख्ने

दुई हप्ता कटेपछि कलेजो, फियो बढ्ने कडा खालको टाइफाइड भएर लामो समयसम्म रहेमा आन्द्रालाई प्वाल पार्ने सम्भावना रहन्छ ।

नोट: माथि उल्लेखित स्वास्थ्य सम्बन्धी जानकारीहरु विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो । मानिसको शारिरिक अवस्था र समय अनुसार पनि माथि उल्लेखित कुराहरुको उपलब्धी फरक पर्छ । सम्पुर्णरुपमा यहि कुरामा मात्रै भर नपर्नुहोला । माथि उल्लेखित कुराहरु प्रयोग गर्दा तपाईको स्वास्थ्यमा थप खराबी देखिए, कृपया तुरुन्त रोकेर स्वास्थ्यकर्मीहरुसँग सल्लाह लिनुहोस् ।

साथै तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला ।
तपाइको एक सेयरले थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग मिल्नेछ ।

याे भिडियाे पनि हेर्नुहाेला जानकारीका लागि