डायबेटिज पीडितमध्ये अधिकांश टाइप–टू डायबेटिजबाट ग्रस्त हुन्छन् । यस्तो डायबेटिज भएका व्यक्तिको शरीरमा इन्सुलिन उत्पादन त हुन्छ, तर यो पर्याप्त हुँदैन । यी चिज नियमित खाने गरेमा उपचारबिनै चिनीको मात्रालाई सामान्य अवस्थामा ल्याउन सकिएका उदाहरण छन् ।

यी ७ गल्तिहरु जसले डायबिटिज लगाउँछ

मधुमेह किन हुन्छ ? भनेर कसैले सोधे, कुनै पनि विज्ञसँग यसको एउटा मात्र जवाफ छैन किनभने निकै धेरै कारणहरुे गर्दा मधुमेह हुन्छ । खासगरी अस्वस्थ्य खानपान र अस्तव्यस्त जीवनशैली हुनु मधुमेह रोग हुनुको मुल कारण हो ।

हामी जीवनयापनका क्रममा कति गल्ती गरिरहेका हुन्छौ, जसले मधुमेहको जोखिममा पार्छ । यहाँ हामी त्यस्तै दैनिक जीवनमा गरिने ७ गल्तिहरुका बारेमा चर्चा गर्दैछौँ जसले मधुमेह गराउँछ । यी सात गल्तिहरुका कारणले हुने मधुमेह रोक्न खानु पर्ने ७ खानाको बारेमा पनि हामी यसमै चर्चा गर्नेछौँ ।

के हुन् त ति गल्ती ?

यी ७ गल्तिहरु तपाईले आफ्नो दैनिक जीवनमा गरिरहनु भएको छ कि छैन भन्ने कुरा याद गर्नुहोस् र सकेसम्म यी सात गल्तिहरुलाई कम गर्ने तर्फ ध्यान दिनुहोस् । कुनै कारणवश या विशेष दिनमा यस्तो कार्य हुनु त्यति खराब नै नहोला तर आफ्नो दैनिक जीवन नै यस्तो छ भने चै बेलैमा सजग हुनै पर्छ ।

१. राती अबेरसम्म बस्नु

राती अबेरसम्म बस्ने, पर्याप्त निन्द्रा नलिने, राती बस्दा चुरोट सेवन गर्ने, रातको समयमा भोजन गर्ने जस्ता बानी छ भने त्यसले मधुमेहको जोखिममा पार्छ ।

२. घामको कमी

शरीरमा भिटामिन ‘डी’ को कमी भएका मानिसहरुलाई टाइप-२ मधुमेहको खतरा अधिक हुन्छ । खासगरी घाममा नबस्ने व्यक्तिहरु यसको जोखिममा परेका छन् । घाम भिटामिन डिको प्राकृतिक स्रोत हो । बेला बेला घाममा बस्ने गर्नु शरिरका लागि फाइदाजनक हुन्छ ।

३. तनाव

तनाव तथा चिन्ता मधुमेहको एउटा प्रमुख कारण हुनसक्छ । किनकी तनाव तथा चिन्ताले शरीरले कार्टिसोल नामक हर्मोनको उतपादन गर्छ, जसले इन्सुलिन एक्टिविटीलाई बढाउँछ, यसले रगतमा चिनीको मात्रालाई समेत बढाउँछ ।

४. टेलिभिजनको लत

पिट्सवर्ग विश्वविद्यालयको एक अध्ययनले जनाए अनुसार टिभीको सामु विताएको हरेक घण्टाले मधुमेहको खतरा चार गुणा बढाईदिन्छ ।

५. कसरत नगर्ने

पूरै दिन बसेर काम गर्नु त हुन्न ? अफिसमा झण्डै आठ घण्टा बसेरै काम गर्ने र घरमा गएर पनि टिभीमै दिन व्यतित गर्नुहुन्छ भने तपाईहरुलाई पनि मुटुरोग तथा मधुमेहको जोखिम बढी हुनसक्छ । यसबाहेक तपाई शरिरबाट पसिना निस्किने गरि हरेक दिन कसरत गर्नु हुन्न भने पनि तपाई मुटुरोग र मधुमेहको जोखिममा पर्नु हुन्छ ।

६. नास्ता नगर्ने

के तपाईलाई थाहा छ ? जो मान्छेले विहानका नास्ता गर्दैन, उसले दिनभरमा क्यालोरीयुक्त खानेकुरा तथा बढी चिल्लो खानेकुराको सेवन गरिरहेको हुन्छ । यसबाहेक, शरीरलाई आवश्यक पर्ने खानेकुरा समेत खादैनन् । यसले इन्सुलिनको स्तर बढ्न सक्छ, र मधुमेह हुनसक्छ ।

७. अत्याधिक मात्रामा रिफाइन्ड कार्वोहाइड्रेटको प्रयोग

मैदायुक्त पाउरोटी, सेतो चामल, मैदा लगायतका खाद्यान्नको प्रयोगले शरीरलाई ज्यादामात्रामा इन्सलिन उत्पादन गर्न प्रेरित गर्छ र त्यसलाई शरीरले छिटै सोस्ने गर्छ । यसले गर्दा चाडै चाडै भोक लाग्ने गर्छ । परिणामस्वरुप अधिक खाना खाइन्छ ।

यी खाना जसले डायबिटिज हटाउँछ

तीतेकरेला

डायबेटिज भएकाका लागि करेला गुनकारी हुन्छ । यसमा हाइपोग्लिसेमिक नामक तत्व पाइन्छ, जसले पिसाब र रगतमा सुगरको मात्रा कम गरिदिन्छ । बढी लाभ हासिल गर्न बिहान खाली पेटमा तीतेकरेलाको जुस पिउने गर्नुपर्छ । करेलाको बियाँलाई पिसेर खानामा यसको पाउडर छरेर खाने गर्नाले पनि लाभ हुन्छ ।

अमला

अमला भिटामिन सीको उत्तम स्रोत हो । डायबेटिज भएकाका लागि अमलामा पाइने भिटामिन सी ज्यादै लाभदायक हुन्छ । एक चम्चा अमलाको रसमा एक कप तीतेकरेलाको जुस मिसाई दुई महिनासम्म बिहान नियमित सेवन गर्नाले उल्लेख्य सुधार महसुस गर्न सकिन्छ ।

जामुन

जामुनमा जाम्बोलाइन नाम गरेको ग्लुकोसाइड पाइन्छ, जसले शरीरभित्र चिनी उत्पादन हुने क्रमलाई कम गरिदिन्छ । जामुनको दाना सुकाई यसको धुलो बनाउन सकिन्छ र एक चम्चा धुलोलाई दूध, पानी अथवा दहीसँग मिसाएर खाइयो भने रगत र पिसाबमा चिनीको मात्रा कम हुँदै जान्छ ।

मेथी

दिनहुँ २५ देखि सय ग्रामसम्म मेथीका दाना खाएर रगत र पिसाबमा चिनीको मात्रा कम गर्न सकिन्छ । कति मात्रामा मेथी खाने भन्ने निक्र्याैल गर्नका लागि आयुर्वेदबारे जानकार वैद्यको परामर्श लिन आवश्यक छ ।

चना

चना भिजाएको पानी खाने गर्नाले पनि शरीरमा चिनीको मात्रा सन्तुलित हुने गर्छ ।

आँपको पात

आँपको कलिलो पात डायबेटिज रोगीका लागि अतिउपयोगी हुन्छ । १६ ग्रामजति आँपको पातलाई अढाई सय मिलिलिटर पानीमा रातभरि भिजाउने र बिहान पातलाई राम्रोसँग निचोरी नियमित पिउने गर्नाले डायबेटिजलाई नियन्त्रित अवस्थामा राख्न सकिन्छ । आँपको पात सुकाई यसको चूर्ण बनाएर दुई चम्चा चूर्ण दिनमा दुई पटक खाने गर्नाले पनि लाभ हुन्छ ।

अन्य खाना

मौसम, जरेसिमी, काँक्रो, प्याज, लसुनजस्ता खाना पनि डायबेटिजका रोगीका निम्ति ज्यादै लाभदायक हुन्छन् ।

हामीले केहि सम्बन्धित थप जानकारी दिइएका छाै

मधुमेहका रोगी देखि लिएर अन्य थुप्रै रोगीलाई लाभकारी हरियो मकै जानकारी लिनुहाेस्

मकै स्वास्थ्यका लागि अत्यन्त लाभदायक हुन्छ । हरियो मकै पोलेर खान सकिन्छ भने सुकेको मकै भुटेर पनि खान सकिन्छ । तौल घटाउन पनि मकै उपयोगी हुन्छ ।

मकै शरीरमा आवश्यक पर्ने पोषणका लागि जरुरी छ । मकैमा सबै प्रकारका मिनरल हुन्छन । मकैलाई पौष्टिक आहारका रुपमा सबैले खान सक्छन । यसको नियमित प्रयोगले शरीरलाई स्वास्थ्य राख्न ठूलो सहयोग मिल्छ । मकै अत्यन्तै हेल्दी आहारका रुपमा लिइन्छ ।

गाउँघरमा भुटेको मकै खाजको रुममा लिने गर्छन् जुन स्वास्थ्यका लागि पनि एकदमै राम्रो हुन्छ । अहिले शहरिया जीवन पनि भुटेको मकैमा लोभिएको छ । तर फिल्म हल वा रेष्टुराँमा खाइने पपकर्न भनिने भुटेको मकै गाउँघरको भन्दा फरक छ।

घरमै भुटेको मकै भन्दा बाहिरको पपकर्न अस्वस्थकर हुने विशेषज्ञहरु बताउँछन् । मकैमा धेरै तेल वा घिउ प्रयोग गर्न नहुने उनीहरुको सल्लाह छ । मकैमा लसुन र मरिचको धुलो हालेर खाँदा मुटु बलियो हुने पनि विशेषज्ञहरुको राय छ ।

हरियो मकै खाँदाका फाइदा

आँखा

आँखा स्वस्थ राख्नका लागि मकै अवश्य खानुस् । यसमा बीटा क्यारोटिन र भिटामिन ए प्रचूर मात्रामा हुन्छ र यसले आँखाका समस्या हटाइदिन्छ ।

तौल घटाउन

मकैमा प्रशस्त कार्बोहाइड्रेट हुनाले शरीरलाई ऊर्जा प्राप्त हुन्छ । यही ऊर्जाका कारण अरू खानेकुरातिर मन डुल्दैन र तौल कम हुन्छ ।

रक्ताल्पता

शरीरमा रगतको कमी हटाउनका लागि मकै लाभदायक हुन्छ किनकि यसमा भरपूर आइरन हुन्छ ।

कब्जियत

कब्जियतको समस्या छ भने उमालेको मकै खानुस् । यसमा भएको फाइबरले पेट सफा गरेर कब्जियत हटाइदिन्छ ।

कोलेस्ट्रोल

मकैमा भिटामिन सी, केरोटेनाइड र फाइबर हुन्छ र यसले शरीरमा कोलेस्ट्रोल कम गरेर रक्तकोशिकालाई सफा बनाउँछ । अनि मुटुले राम्ररी काम गर्न पाउँछ ।

क्यान्सर

मकैमा भएको एन्टीअक्सीडेन्ट र फ्लेवेनाइड गुणका कारण क्यान्सर जस्तो गम्भीर रोगको खतरा पनि हुन पाउँदैन । मकैमा भएको फेरुलिक एसिडले स्तन क्यान्सर लाग्नबाट बचाउँछ ।

बलियो हड्डी

मकैमा उपलब्ध जिंक, फोस्फोरस, म्याग्नेसियम र फलामले हाड बलियो बनाउँछ । बाथ वा जोर्नीका समस्या भएका मानिसले मकै अवश्य खानुपर्छ ।

राम्रो छाला

छालालाई निखार्नका लागि मानिस अनेकथरी सौन्दर्य प्रसाधन प्रयोग गर्छन् तर मकै खाने गर्नुभयो भने छाला चम्किन्छ । यसमा भएको भिटामिन ए र सीले चाउरी पर्न पनि दिँदैन ।

बुढ्यौली रोक्छ

भुटेको मकै खानाले बुढेसकाल लागेसँग अनुहारमा आउने चाउरी, अन्धोपन, मांशपेशीहरुको कमजोरी, कपाल झर्ने समस्या आदि सबै दुर हुन्छन् । यसले स्वास्थ राख्छ ।

आइरनको प्रचुरता

एक वयस्क पुरुषलाई प्रति दिन ८ एमजी आइरन र वयस्क महिलालाई प्रतिदिन १९ एमजी आइरनको आवश्यकता पर्छ । २८ ग्राम पप कर्नमा लगभग ०.९ मिलीग्राम आइरनको मात्रा हुन्छ । भुटेको मकै पर्याप्त खाने हो भने आइरनको गोली खाइरहनु पर्दैन ।

मधुमेहका रोगीलाई लाभकारी

भुटेको मकैमा फाइबर हुन्छ जसले शरीरभित्र ब्लड सुगरमा राम्रो प्रभाव पार्छ । जब शरीरमा पर्याप्त फाइबर हुन्छ, यसले ब्लड सुगर र इन्सुलिनको स्तरलाई नियमित गर्छ । त्यसैले मधुमेहका रोगीहरुलाई भुटेको मकै खाने सल्लाह दिइन्छ

पाेलेकाे मकै पनि उत्तिकै लाभकारी

पोलेको मकैमा पर्याप्त मात्रामा एन्टिअक्सिडेन्ट पाइन्छ । जसले बढ्दो उमेरको लक्षणलाई रोक्छ र क्यान्सरसँग लड्न पनि मद्दत गर्छ ।

बच्चाहरूको शारीरिक र मानसिक विकासका लागि पनि पोलेको मकै धेरै नै फाइदाजनक हुन्छ । यसमा कोलेस्ट्रोल नगन्य मात्रामा हुन्छ । त्यसैले पोलेको मकै खाँदा मुटु पनि स्वस्थ रहन्छ ।

पोलेको मकै खानाले दाँत बलियो हुन्छ ।

मकै खाइसकेपछि त्यसको खोयालाई भाँचेर सुँघ्दा रुघाखोकी निको हुन्छ ।

त्यति मात्र नभई मकैको खोयालाई सुकाएर जलाएर त्यसको धुवाँ सुँघ्नाले पनि रुघाखोकीमा फाइदा पुर्‍याउँछ । त्यसबाहेक यसले खोकी लागेकोमा पनि निको हुन्छ ।

भुटेकाे मकैकाे पनि स्वास्थ्यमा विषेश फाइदा छन्

भुटेको मकैमा भिटामिन सी, केरोटिनाईड, बायोफ््लेविनाईड हुन्छ जसले रक्त प्रबाहलाई तीब्र बनार्ई रक्तचाप नियन्त्रण गर्छ ।यसले कोलेस्ट्रोलको मात्रा नियन्त्रण गर्न सहयोग गर्छ । मुटु रोगको खतराबाट बचाउँछ ।

भुटेको मकैलाई तातो पानीमा केही बेर उमाल्नुहोस । यस पानीलाई छानेर मिश्रि मिसाएर खाँदा पिसाब पोलेको वा किड्नी कम्जोरीको समस्या समाधान हुन्छ ।

भुटेको वा पोलेको मकैमा कार्बोाइड्रेडको मात्र पर्याप्त हुने भएकोले यसले शरिरलाई पर्याप्त उर्जा दिन्छ ।

भुटेको मकै खाँदा दातको व्यायायम गराउँछ । मकै खादा दात सफा गर्ने र बलियो बनाउछ ।

भुटेको मकैमा फाईबरको मात्रा अत्यधिक हुन्छ । यसले पाचन प्रणालीमा सुधार गर्छ । भुटेको मकै खाने मानिसलाई एसिडिटी र कब्जियतको कहिल्यै समस्या हुदैन् ।

भुटेको मकैमा आइरन, कपर, र फस्फोरस र म्याग्नेसियमको मात्रा प्रर्याप्त हुने भएकोले शरिरमा हड्डीलाई मजबुत बनाउँछ ।

यसमा आईरन, भिटामिन बी १२, फोलिक एसिडको मात्र प्रर्याप्त हुन्छ । यसले शरिरमा रगत अभावको समस्याबाट जोगाई कम्जोरी हुनबाट बचाउँछ ।

कोदो खाँदा क्यान्सर, मुटुरोग र मधुमेहबाट पनि जोगाउँछ, यस्तो फाइदा

कोदोलाई धेरैजसो मानिसले राम्रो अन्न मान्दैनन् । तिनीहरू यसको गुणमा होइन कि रंगमा गएकाले त्यस्तो भएको बुझ्न गाह्रो छैन । तर, कोदो तपाईंहामीले सोचेजस्तो कम गुणकारी खाद्यान्न भने हुँदै होइन ।

यसमा चामल र मकैभन्दा ३५ गुणा अनि गहुँभन्दा ८.७३ गुणा बढी क्याल्सियम पाइन्छ । यसमा मकैभन्दा ३.७ गुणा, चामलभन्दा २.३ गुणा र गहुँभन्दा १.५ गुणा बढी आइरन पाइन्छ ।

मैथिलीमा मडुवा, नेवारीमा डुसी, अंग्रेजीमा मिलेट भनिने कोदो प्रोटिन, भिटामिन, ऊर्जा तथा खनिजको प्रमुख स्रोत हो । यसलाई भविष्यको स्मार्ट खानासमेत भनिएको छ ।

कोदो हाम्रो मुलुकका लागि फयुचर स्मार्ट फुड (भविष्यको स्मार्ट भोजन) रहेको जनाउँदै नेपाल कृषि अनुसन्धान परिषद् (नार्क), जिन बैंकका वरिष्ठ वैज्ञानिक डा. बालकृष्ण जोशी भन्छन्, ‘यसलाई ढिँडोका रूपमा मात्र नभई म:म, सेल रोटी, बिस्कुट, चाउचाउ र रोटी लगायतका आधुनिक परिकारका रूपमा पनि उपयोग गर्नुपर्छ ।’

सामान्य स्वस्थ व्यक्ति मात्र नभई बालबालिका, गर्भवती, मधुमेह, रक्तचापका बिरामीलाई समेत कोदो खानाले उल्लेख्य फाइदा पुग्ने वैज्ञानिक अनुसन्धानबाट पुष्टि भइसकेको औंल्याउँदै उनी स्वास्थ्यसम्बन्धी फाइदाका लागि यसको उपयोग हुनुपर्ने सुझाउँछन् ।

कोदो तराईदेखि उच्च पहाडी क्षेत्रसम्म जुनसुकै जलवायुमा पाइन्छ । हामीलाई चाहिने प्राय: सबै थोक यसमा हुने गरेको विज्ञहरू औंल्याउँछन् ।‘कोदोको सन्तुलित उपयोगले राम्ररी पोषित भएर स्वस्थ रहन सघाउँछ,’युनिसेफ नेपालका पोषणविद् नवीन पौडेल भन्छन्,‘पहिले नहुनेले कोदो खाने गरे पनि आजकल हुनेले खान थालेको अवस्था छ।’

नेपाली समाजमा कोदोको उपयोगलाई कुनै बेला गरिबीको प्रतीकसमेत मान्ने गरिएको थियो । यसलाई कुअन्न मान्ने परम्पराले गर्दा यसको गुण अपहेलित हुँदै आएको छ ।

नेपालीको खाने चलनमा मुख्य घटक नै भात भएको र यसैमा अत्यधिक निर्भर रहने भएकोले नसर्ने रोगको वृद्घिमा समेत यसले सघाइरहेको छ । दशैकाे पहिले तराई र पहाडमा आर्थिक रूपले विपन्न वर्गलाई स्वस्थ राख्ने मुख्य आधारमध्ये एउटा कोदोसमेत हुन सक्ने पौडेलको अनुमान छ ।

धेरैजसो सहरी क्षेत्रका हुनेखानेहरूले‘थ्रिल’रमाइलो र फरक स्वादको लागि कोदो खाने गरेको जनाउँदै पौडेल भन्छन्, ‘हामी यसको फाइदा जानेरभन्दा पनि नजानेर परम्पराग बानीव्यहोरा आदिले खाइरहेका छौं ।’

हाल हाम्रो मुलुकमा अमृतजस्तै उपयोगगर्न सकिने कोदोको विषजस्तो उपयोग भइरहेको विज्ञहरू बताउँछन् । कोदोको उपयोग घरेलु जाँड, रक्सी, तोङबा लगायतमा बढी भइरहेको दु:खद स्थिति अाैंल्याउँदै खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग (डीएफटीक्यूसी) का वरिष्ठ खाद्य अनुसन्धान अधिकृत पूर्णचन्द्र वस्ती भन्छन्,‘कोदोको नियमित सन्तुलित उपयोग मात्रै गर्न सके पनि हाम्रो मुलुकबाट कुपोषण हटाउन सकिन्छ ।’

ढिँडोको रूपमा कोदो खानु अति नै फाइदाजनक मानिन्छ । रोटीको रूपमा खानु वा गहुँ, मकै आदि पिठोमा कोदोको पिठो मिसाएर रोटी लगायतका परिकार बनाउनुसमेत लाभदायक मानिन्छ ।

अफ्रिकातिर कोदोलाई सातुजस्तै फिटेर खाने चलन छ । हाम्रो मुलुकमा पनि यसरी कोदोको उपयोग गरिँदा यसले थप स्वास्थ्यसम्बन्धी फाइदा मिल्न सक्छ ।

बालबालिकाका लागि बनाइने लिटोमा कोदोको उपयोग गर्दा उनीहरूको विकासका लागि थप टेवा पुग्ने गर्छ । मल्टिग्रेन (बहुअन्न) पिठोमा कोदोमिसाएर थप स्वस्थकर र स्वादिलो रूपमा उपयोग गर्न सकिने जनाउँदै बस्तीले‘हर्लिक्स’जस्तो शक्तिवर्धक पेय पदार्थबनाउने‘डीएफटीक्यूसी’मा केही अनुसन्धान भइरहेको बताए ।

खासगरी गर्भवतीले क्याल्सियमको चक्की खानुको सट्टा दुइटा कोदोका रोटी खाए पुग्छ । स्तनपान गराउनेहरूका लागि समेत यो दूध बढाउने आधार बन्छ । भारतमा कोदोले पापड, भुजिया, स्पागेटी, नुडल्स आदि बनाउन थालिएको छ ।

कोदोमा अरू पिठो मिसाएर बिस्कुट, पाउरोटी, बन, केक, मफिन, शिशु खाद्य पदार्थजस्ता विभिन्न परिकार बनाउन थालिएको छ ।

वस्तीका अनुसार, कोदो फलाम, क्याल्सियमजस्ता म्याग्नेसियम, फोस्फोरस र पोटेसियमजस्ता खनिजको समृद्घ स्रोत हो । यसमा प्रशस्त मात्रामा क्याल्सियम हुन्छ ।

फाइबरले भरिपूर्ण कोदोमा विभिन्न भिटामिन (जस्तै : बिटा क्यारोटिन, नियासिन, भिटामिन बी ६, फोलिक एसिड) हुन्छन् । यसमा भएको लेसितिनको उच्च मात्राले स्नायु प्रणालीलाई बलियो बनाउन सघाउँछ । यसको उपयोगले कुपोषण हटाउन सकिन्छ ।

यसमा प्रशस्त मात्रामा पोलिफेनल्स, टयानिन, फाइटोस्टेरोल्स लगायतका फाइटोकेमिकल्स पाइन्छन् । यो एन्टिअक्सिडेन्टले समेत परिपूर्ण हुन्छ ।

मुलुकको खाद्यान्न बालीको चौथो महत्त्वपूर्ण बाली कोदो रहेको अाैल्याउँदै बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रका वरिष्ठ बाली विकास अधिकृत प्रकाश आचार्य भन्छन्,‘कोदो खेतीमा मल, जल, विषादी आदिको खासै आवश्यकता नपर्ने हुनाले यो हाम्रो लागि अत्यन्त उच्च स्तरको अर्गानिक खाद्य पदार्थ हो ।’

मानिसलाई ज्ञात सबैभन्दा पुरानो खाद्य पदार्थमध्ये एक कोदो खाद्य र पोषण सुरक्षाको दृष्टिले महत्त्वपूर्ण भए पनि सरकार र राज्यले खासै महत्त्व दिएको छैन ।

हाम्रो मुलुकमा कोदोका दुई सयभन्दा बढी स्थानीय जात पाइन्छन् । यसको बीउ घरेलुस्तरमै करिब १० वर्षसम्म सुरक्षित राख्न सकिन्छ । मुलुकमा करिब २ लाख ६० हजार हेक्टरमा कोदोको खेती हुन्छ ।

वार्षिक रूपमा करिब ३ लाख १५ हजार मेट्रिक टन कोदोको उत्पादन हुन्छ । मुलुकमा कोदो बाली लगाउने कुल क्षेत्रफलको ७५ प्रतिशत जग्गा मध्यपहाडी जिल्लामा पर्छ ।

क्यान्सर, मुटुरोग र मधुमेहबाट जोगाउँछ

इन्डियन इन्स्टिच्युट अफ मिलेट रिसर्च (आईआईएमआर), हैदरावाद, भारतको तथ्यपत्रअनुसार कोदोबाट धेरै लाभ लिन सकिन्छ । महामारीसम्बन्धी अध्ययनहरूले के देखाएका छन् भने, कोदोको उपयोगले मुटु रोगको जोखिम कम हुन्छ, मधुमेहबाट जोगाउँछ, पाचन प्रणालीमा सुधार ल्याउँछ, क्यान्सरको जोखिम कम गर्छ, शरीरको शुद्घीकरण गर्छ/विषाक्तता हटाउँछ, श्वासप्रश्वासको स्वास्थ्यसम्बन्धी प्रतिरोधक क्षमता बढाउँछ, ऊर्जास्तरमा वृद्घिसँगै मांशपेशी र नशासम्बन्धी प्रणालीमा सुधार ल्याउँछ, पार्किन्सन्स रोग, मेटाबोलिक सिन्ड्रोम लगायतका थुप्रै डिजेनरेटिभ (पुनर्निर्माण हुन नसक्ने) रोगविरुद्घ सुरक्षा प्रदान गर्छ ।

कोदोमा रेसिस्टेन्ट स्टार्च, ओलिगोसेकेराइड, लिपिड, एन्टिअक्सिडेन्टजस्तो फेनोलिक एसिड, एवेनथ्राम्रामाइड्स, फ्लेभोन्वाइड्स, लिग्नस र फाइटेस्टेरोलजस्ता थुप्रै महत्त्वपूर्ण पोषकतत्त्व पाइन्छन् ।

कोदो मुटु रोगमा समेत अत्यन्त फाइदाजनक मानिन्छ । म्याग्नेसियम अत्यधिक हुने भएकाले यसले विशेष रूपले रक्तचाप कम गर्न, एथेरोस्केलेरोसिसमा मुटुको स्ट्रोकको जोखिमलाई न्यून गर्न सघाउँछ ।

कोदोमा भएको पोटेसियमले‘वासोडिलेटर’अर्थात् सानो रक्तवाहिनीलाई ठूलो पारेर रक्तचाप कम राख्न सहयोग गर्नुका साथै मुटु र रक्तनलीसम्बन्धी जोखिम कम गर्छ । यसले केही प्रकारका क्यान्सर र मुटु रोगबाट समेत जोगाउँछ । कोदोमा उच्च मात्रामा पाइने रेशाले कोलेस्ट्रोल कम गर्नसमेत सघाउँछ ।

यसले एलडिएल कोलेस्ट्रोललाई कम गर्नुको साथै एचडीएल कोलेस्ट्रोलको प्रभावलाई बढाउँछ । मधुमेह हुनबाट जोगाउन कोदोको उपयोग अत्यन्त फाइदाजनक देखिएको छ ।

यसमा भएका फाइबर, म्याग्नेसियम, भिटामिन–ई, फेनोलिक यौगिक र टयानिनले मधुमेहको खतरालाई कम गर्छ । किनभने यिनले रगतमा ब्लड ग्लुकोज र इन्सुलिनको स्तरको एक्कासि वृद्घिलाई मन्द पार्छ ।

पाचनसम्बन्धी विकारमा समेत कोदो उपयोगी मानिएको छ । यसले गर्दा ग्यास्ट्रिक अल्सर र कोलोन क्यान्सरको सम्भावनामा समेत कमी आउँछ । यसमा भएको रेसाले कब्जियत, अत्यधिक ग्यासलाई दूर गर्छ ।

यो रेसाले गहुँ र मकैको आटा सेवन गर्नेहरूको दाँजोमा इसोफेजियल क्यान्सर हुने सम्भावनामा समेत कमी ल्याउँछ ।

कोदोको नियमित उपयोगले क्यान्सरको जोखिमलाई समेत कम गर्न सक्छ । यो फेनोलिक एसिड, टयानिन र फाइलेट प्रशस्त भएको खाद्यपदार्थ हो । हालै गरिएको अध्ययनले रेसाले महिलामा स्तन क्यान्सरको सम्भावनालाई कम गर्छ ।

दिनहुँ ३० ग्राम रेसा उपयोग गरेर स्तन क्यान्सरको सम्भावना ५० प्रतिशतसम्म कम गर्न सकिन्छ । कोदोमा भएका उपयोगी तत्त्वहरूले विभिन्न क्यान्सरको जोखिममा कमी ल्याउँछन् ।

आईआईएमआरको अनुसार, कोदोले शरीरलाई विषाक्त पदार्थबाट मुक्त गर्छ ।

नोट: माथि उल्लेखित स्वास्थ्य सम्बन्धी जानकारीहरु विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो । मानिसको शारिरिक अवस्था र समय अनुसार पनि माथि उल्लेखित कुराहरुको उपलब्धी फरक पर्छ । सम्पुर्णरुपमा यहि कुरामा मात्रै भर नपर्नुहोला । माथि उल्लेखित कुराहरु प्रयोग गर्दा तपाईको स्वास्थ्यमा थप खराबी देखिए, कृपया तुरुन्त रोकेर स्वास्थ्यकर्मीहरुसँग सल्लाह लिनुहोस् ।

साथै तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला ।
तपाइको एक सेयरले थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग मिल्नेछ ।

याे भिडियाे पनि हेर्नुहाेला जानकारीका लागि