तोरीको तेल खासगरी भारत, रोम र ग्रिसमा हजारौं वर्षदेखि लोकप्रिय रहँदै आएको छ । सबैभन्दा पहिले यो ३ हजार बीसीमा भारतमा खेति गरिएको अनुमान गरिएको छ ।

दार्शनिक हिप्पोक्रेटसले तोरीका दानालाई केही निश्चित खालका औषधि बनाउन प्रयोग गर्थे । रोमनहरुले यसलाई रक्सी बनाउन प्रयोग गर्थे भने ग्रिकका प्रख्यात गणितज्ञ पाइथागोरसले बिच्छीले टोकेको उपचारमा प्रयोग गर्थे । यसका साथै तोरीको तेल भारत तथा नेपालमा खाना पकाउन प्रयोग हुँदै आएको छ ।

तोरीको तेलमा ६० प्रतिशत मोनोस्याचुरेटेड फ्याट (मुफा), २१ प्रतिशत पोलीअनस्याचुुरेटेड फ्याट (पुफा) र १२ प्रतिशत स्याचुुरेटेड फ्याट पाइन्छ । यी फ्याटी एसिडलाई असल फ्याट भनिन्छ । यी चिप्लो पदार्थ मुटुको धमनकिा भित्तामा गएर बस्न सक्दैन । यसमा कार्बोहाइड्रेट, फाइबर, प्रोटीन, भिटामिन र मिनरल पाइदैंन ।

तरकारीको महत्वपूूर्ण स्रोत भएकाले यसमा अल्फा लिनोलेनिक एसिड तथा ओमेगा फ्याटी एसिड हुन्छन् । एक चम्चा तोरीको तेलमा ०.८ ग्राम ओमेगा ३ फ्याटी एसिड पाइन्छ । यस्तै, एक टेबलचम्चा तेलमा १२४ क्यालोरी पाइन्छ । जसमा १४ ग्राम फ्याट हुन्छ । जसमध्ये ८.३ ग्राम मोनोस्याचुरेटेड फ्याट पाइन्छ, जुन ओलिभ आयल, अंगुरको बियाँ र बदामको तेलजस्तै हुन्छ ।

क्यान्सरको खतरा घटाउँछ
अनुसन्धानहरुबाट तोरीको तेलमा क्यान्सरविरुद्ध लड्ने तत्व पाइएको छ । यसमा पाइने लिनोलेनिक एसिड ओमेगा थ्रि फ्याटी एसिडमा परिवर्तन हुन्छ, जसले पेट तथा कोलोन क्यान्सर रोकथाम गर्छ ।

साउथ डकोटा युनिभर्सिटीको टोलीले गरेको अनुसन्धानले पनि यही कुरालाई प्रमाणित गरेको छ । उनीहरुले कोलोन क्यान्सर लागेको मुसामा तोरी, मकै र माछाको तेल प्रयोग गरेका थिए । तीमध्ये तोरीको तेलले बढी काम गरेको पाइएको थियो ।

मुटुुका लागि उपयोगी
तोरीको तेलमा मोनोस्याचुरेटेड र पोलिअनस्याचुरेटेड फ्याटी एसिड प्रशस्तमात्रामा पाइन्छ । यसका साथै ओमेगा थ्रि र ओमेगा सिक्स फ्याटी एसिड पनि पाइन्छ । यी फ्याटी एसिडले मुटु रोगको खतरा ५० प्रतिशतले कम गर्न मद्दत पुर्याउछन ।

तोरीको तेल हाइपोकोलेस्टेरोलेमिक (कोलेस्टेरोल घटाउने) र हाइपोलिपिडेमिक (लिपिड घटाउने) तत्व पाइन्छ । यसले एलडीएल (खराब) कोलेस्टेरोल घटाई र एचडिएल (असल) कोलस्टेरोल बढाउँछ । यसबाट मुटु रोगको खतरा कम हुन्छ ।

प्राकृतिक शक्तिबद्र्धक
तोरीको तेललाई प्राकृतिक शक्तिबद्र्धकका रुपमा लिइन्छ । तोरीको तेलले छालामा मसाज गर्दा रक्तसन्चार प्रणाली र पसिना ग्रन्थीमा सुधार ल्याउँछ । यसका साथै यसले पाचन प्रणालीमा सुधार ल्याउँछ ।

चिसो र रुघा निको पार्छ
तोरीको तेल लामो समयदेखि चिसो हटाउने प्राकृतिक पदार्थका रुपमा प्रयोग हुँदैं आएको छ । यसमा तातो बनाउने तत्व हुन्छ, जसले श्वासप्रश्वास नलीलाई सफा पार्छ । रुघा लागेको बेला तातो पानीमा जिरा र केही चम्चा तोरीको तेल हालेर बाफ लिने हो भने रुघा निको हुन्छ र घाँटी सफा पार्छ ।

जोर्नी दुख्ने र बाथ निको पार्छ
तोरीको तेलले नियमित मसाज गर्ने हो भने शरीरमा रक्तसन्चार बढाई जोर्नी दुख्ने र बाथको समस्या निको हुन्छ । यसमा हुने ओमेगा थ्रि फ्याटी एसिडले बाथसम्बन्धी दुखाईलाई हटाउने तत्वका रुपमा काम गर्छ ।

शरीरका अंगहरुको कार्यमा सुधार ल्याउँछ
तोरीको तेलले मसाज गर्ने हो भने शरीरमा रक्तसन्चारलाई बढाई ताजा महसुस गराउँछ र अंगहरुको कार्यक्षमता पनि बढ्छ । नवजात शिशुलाई तोरीको तेलले मसाज गर्ने चलन धेरै देशमा छ । यसले शरीर बलियो बनाउने, स्वास्थ्य राम्रो बनाउने र ताप दिने कुरा अध्ययनबाट पनि प्रमाणित भएका छन् ।

दममा उपयोगी
दम यस्तो रोग हो, जसको कुनै उपचार छैन । तर तोरीको तेलको उपयोगले यसको लक्षण र प्रभावलाई व्यवस्थित गरी घटाउन सकिन्छ । यो दमका लागि सबैभन्दा बढी प्रभावकारी सुरक्षित उपाय हो ।

खैरो तोरीको तेल छातिमा लगाउने हो भने फोक्सोमा हावाको आपूर्ति बढ्छ । एक टेबलचम्चा शुद्ध तोरीको तेललाई महमा मिसाएर दिनको तीनपटक खाने हो भने दमको आक्रमणलाई रोक्न सकिन्छ ।

यसका साथै तोरीको तेलमा अन्य फाइदा :

१. मष्तिष्कको कार्यक्षमता बढाउँछ

२. दाँत सेतो बनाउँछ र दाँतसम्बन्धी समस्या हटाउँछ

३. छाला स्वस्थ बनाउन मद्दत गर्छ

४. शरीरका काला धब्बा हटाउँछ

५. प्राकृतिक सनस्क्रीनको काम गर्छ

६. छाला सुख्खा हुन दिँदैंन र संक्रमणबाट जोगाउँछ

७. कपाल झर्नबाट जोगाउँछ, सुख्खा हुुन दिँदैंन

८. कपाल चाँडै फुल्न दिँदैंन

९. तोरीको तेल चायाँ पर्न दिँदैंन

तेलसम्बन्धि अन्य केहि थप जानकारी :

कुन तेल खानु ठिक?

बजारमा विभिन्न थरीका तेलको उपस्थिति बढे पनि तोरीको तेलको प्रयोगमा कुनै कमी आएको छैन । यद्यपि समय समयमा तोरीको तेलमा अखाद्य वस्तुको मिश्रणका खबरहरु पनि आउने गरेका छन् ।

काठमाडौंको ढुंगेधारा बस्ने शिवा शर्मा घिमिरेले दाङबाट आफ्नै बारीमा फलेको तोरी मिलमा पिसेर तेल काठमाडौं ल्याउने गर्छिन् । उनले लगभग दस वर्षदेखि नै तोरीकै तेल प्रयोग गर्दै आएकी छिन् । ‘थोरै हाल्दा पनि चाहिने जति चिल्लो पदार्थ पाइन्छ ।

स्वाद पनि मिठो हुन्छ । त्यसमाथि आफ्नै बारीमा फलेको तोरीको तेलको स्वाद नै मिठो लाग्ने,’ उनले भनिन् । अहिलेसम्म आफूले आफ्नै बारीमा उत्पादन भएको तोरीको तेल प्रयोग गर्ने भएकाले बजारमा पाइने कुनै तेल नकिनेको उनी बताउँछिन् ।

खानामा पाइने मिठास एकातिर छ, तर तेलमा हुने तत्वहरु कति मानिसका लागि लाभदायक नहुन सक्छन् । त्यसमाथि बजारमा पाइने तेलमा मिसाइने अखाद्य वस्तुहरुले पनि स्वास्थ्यलाई प्रतिकूल असर गरिरहेका हुन्छन् । त्यसो त, हाम्रो शरीरका लागि ए, डि, इ, के भिटामिन प्राप्त गर्न चिल्लो पदार्थ चाहिन्छ । त्यो चिल्लो पदार्थ हामीले खाने तेलबाट पूर्ति हुने गर्दछ ।

कस्तो तेल प्रयोग गर्ने ?

पोषणविद् डा. जया प्रधान शरीरको वृद्धि विकासका लागि चिल्लो पदार्थ अति आवश्यक पर्ने बताउँछिन् । तर वनस्पति स्रोतबाट प्राप्त चिल्लोको तुलनामा घिउ, नौनी, मासुको बोसोबाट पाउने चिल्लो अलि स्याचुरेट हुने भएकाले हामीले जुनसुकै किसिमको पनि भेजिटेबल तेललाई प्राथमिकतामा राख्नुपर्नेमा उनी जोड दिन्छिन् ।

‘स्याचुरेट फ्याट खान थाल्यौँ भने कोलस्ट्रोल बढाउने काम गर्छ । मुटुको समस्या पनि देखा पर्न सक्छ,’ उनी भन्छिन् । त्यसैले, नौनी, घिउ, बोसो, सकेसम्म खानामा समावेश नगर्ने र तरल अवस्थामा रहने चिल्लो पदार्थ ठिक्क मात्रामा खानामा समावेश गर्नु स्वास्थ्यका लागि लाभदायक हुने उनी बताउँछिन् ।

वीर अस्पतालका प्रमुख डाइटिसियन राजेश्वर पाण्डे चिल्लोको नाममा घिउ वा तेलमा तारेर भुटेर स्याचुरेटेड फ्याटहरु खान नहुने बताउँछन् । काँचो अवस्थामा खाली शुद्ध तेल खानु स्वास्थ्यका लागि राम्रो हुने उनी बताउँछन् ।

‘मेथी र ज्वानो परर्र पड्काएर होइन । राम्रोसँग तरकारी उसिनेर उमालेर बफाएर त्यसमाथि तेल राखेर खानुपर्छ,’ उनी भन्छन् । तेलको बारेमा राम्रोसँग बुझेर गुणस्तरमा ध्यान दिएर मात्र प्रयोग गर्नुपर्नेमा उनी जोड दिन्छन् ।

तेल कति र कसरी प्रयोग गर्ने ?

डा. प्रधान कुन खाना पकाइन लागेको भन्ने कुराले तेलको मात्रा निर्धारण गर्ने बताउँछिन् । दैनिक रुपमा मानिसलाई चाहिने शक्तिको २५ देखि ३० प्रतिशत क्यालोरी चिल्लो पदार्थबाट पूर्ति हुने गरी खानुपर्ने उनी बताउँछिन् । त्यसमा पनि स्याचुरेटेड फ्याटको मात्रा १० प्रतिशतभन्दा बढी हुन नहुनेमा उनको जोड छ ।

फ्राई गरेको खानेकुरा स्वास्थ्यका लागि हानिकारक हुने भएकाले त्यस्ता खानेकुराबाट टाढा रहन उनी सुझाउँछिन् । ‘अझ स्वास्थ्यको समस्या छ भने थप सजक हुनुपर्छ,’ प्रधान भन्छिन् । सकेसम्म काँचो तेल नै खानुपर्नेमा उनी पनि जोड दिन्छिन् ।

हामीले घरमै बनाउने तोरीको तेल राम्रो र शुद्ध हुने भए पनि स्वास्थ्यका लागि भने आलस, मकैलगायतका बनस्पति तेल लाभदायक हुने पाण्डे बताउँछन् । मखन भिटामिन ए र बीको राम्रो स्रोत भए पनि त्यो अन्य स्रोतबाट पाइने भएकाले ठूलो उमेरका मानिसलाई मखन पनि नखान उनी सुझाउँछन् ।

‘बढ्दो उमेरका बालबालिकालाई भने अलिकति मख्खन राखेर दिन सक्छौं । तर यसो गर्दा तताएर हैन मलेर दिनुपर्छ,’ पाण्डे भन्छन् । वनस्पति तेल पनि नतताई प्रयोग गर्न उनी सल्लाह दिन्छन् । तताएर धुँवा निकालेपछि त्यसमा भएको पौष्टिक तत्व नाश हुने र शरीरका लागि खराब हुने उनी बताउँछन् । तेललाई पानीमा उमालेर वा तरकारीमा पछि तेल हालेर खानु सबैभन्दा राम्रो हुने उनको सल्लाह छ ।

बिरामीले बार्नुपर्ने तेल

मुटुको बिरामी र कलेजोको समस्या भएका मानिसहरु चिल्लो पदार्थबाट टाढा रहनुपर्ने सुझाव डा. प्रधान दिन्छिन् । मधुमेहका बिरामीहरु तेलबाट टाढा रहनु नपरे पनि एउटा सीमामा सीमित हुनुपर्नेमा उनी जोड दिन्छिन् । उनीहरुले पनि वनस्पति तेललाई प्राथमिकतामा राख्नुपर्ने उनको सुझाव छ ।

पाण्डे पनि मुटुका बिरामीलाई चिल्लोबाट टाढा रहन सुझाव दिन्छन् । त्यसबाहेक, चिकित्सकको सल्लाहअनुसार अन्य रोगका बिरामीहरुले तेल र चिल्लो पदार्थ बार्नुपर्ने उनी बताउँछन् ।

बजारका तेल

बजारमा विभिन्न खालका तेलहरु पाइन्छन् । स्वदेशमा बनेकादेखि लिएर आयातित, सस्तो मूल्यदेखि महँगो मूल्यसम्मका तेलहरु पसलहरुमा पाइन्छ । तर समयसमयमा बजारमा अशुद्ध र अखाद्य तेल भएका खबरहरु पनि सुनिन्छन् ।

त्यसमाथि विभिन्न नाममा आउने गरेका विज्ञापनले पनि तेलप्रति आकर्षित गराइरहेको हुन्छ । तेलमा के मिसाएको छ वा कस्तो मिसाएको छ भनेर नाँगो आँखाले हेर्न नसकिने भएकाले तेल प्रयोग गर्ने बेलामा सचेत हुनुपर्नेमा पाण्डे जोड दिन्छन् । ‘तर सकेसम्म आलसको तेल, जैतुनको तेल, तोरी, रायो हो भने बुझेर खानुपर्छ,’ उनी भन्छन् ।

तेल किन्ने बेलामा सचेत हुन डा. प्रधानको सल्लाह छ । मिसावट भएका तेलहरु चाँडै बिग्रिने सम्भावना हुने भएकाले उपभोक्ताले किन्ने बेलामै ध्यान दिनुपर्ने उनी बताउँछिन् । उनका अनुसार तोरीको तेल र भटमासको तेल प्रयोग गर्नु राम्रो हुन्छ ।

स्वास्थ्य र सौन्दर्यका लागि तोरीको तेल :

तोरीको तेलले रौंछिद्रलाई खोलेर छालाबाट विषालु तत्त्वलाई बाहिर निकाल्छ । यसले रिङ्कल तथा एजिङको समस्याबाट पनि जोगाउँछ । तोरीको तेलल अत्यन्त राम्रो सनस्क्रिन हो ।यसले छालालाई इन्फेक्सन र र्‍यासेजबाट जोगाउँछ । तोरीको तेलको प्रयोगले छालाको सुख्खापन हट्छ । यसको प्रयोगपूर्व एलर्जी टेस्ट गराउनु उपयुक्त हुन्छ ।

छाला मुलायम एवं चम्किलो बनाउन तोरीको तेलमा थोरै नरिवलको तेल मिसाएर ५ मिनेटजति मसाज गर्ने अनि कटनले राम्रोसँग पुछ्ने । यसले छालालाई मुलायम बनाउँछ ।ओठ फुट्नबाट जोगाउन राति सुत्नुभन्दा पहिले तोरीको तेलको एक वा दुई थोपा नाइटोमा प्रयोग गर्नुपर्छ ।

तोरीको तेलले ट्यान र डार्क स्पट्सलाई हटाउँछ । यसका लागि तेलमा थोरै बेसन, दही र कागतीको रसको केही थोपा मिसाएर तयार पारिएको मास्क १०–१५ मिनेटसम्म अनुहारमा प्रयोग गर्नुपर्छ । त्यसपछि चिसो पानीले अनुहार पखाल्नुपर्छ । यसको प्रयोग सातामा तीनपटक गर्नु प्रभावकारी हुन्छ।

तोरीको तेलले केशलाई असमयमा सेतो हुनबाट जोगाउँछ । केशलाई सुख्खा राख्नुभन्दा तोरीको तेल प्रयोग गरी मालिस गर्नु उपयुक्त हुन्छ ।

नोट:

 माथि उल्लेखित स्वास्थ्य सम्बन्धी जानकारीहरु विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो । मानिसको शारिरिक अवस्था र समय अनुसार पनि माथि उल्लेखित कुराहरुको उपलब्धी फरक पर्छ । सम्पुर्णरुपमा यहि कुरामा मात्रै भर नपर्नुहोला । माथि उल्लेखित कुराहरु प्रयोग गर्दा तपाईको स्वास्थ्यमा थप खराबी देखिए, कृपया तुरुन्त रोकेर स्वास्थ्यकर्मीहरुसँग सल्लाह लिनुहोस् ।

साथै तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला । तपाइको एक सेयरले थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग मिल्नेछ ।