खानेकुराको बारेमा सरल जानकारी छ, त्यो हो – सकभर सुर्यास्त भए पछि खानु हुदैन । तर आधुनिक समाजमा सुर्यास्त नहुदै खाना खानु असम्भव प्राय: हुन्छ । साँच्चै भन्ने हो भने सुर्यास्त नभइ घरका सबै सदस्य घरमा आइपुगिसकेका पनि हुदैनन् ।

यसैले सुर्यास्त नभइ खाना खानु हुदैन भन्ने कुरालाई थोरै परिमार्जित गर्नु आवश्यक छ । अब भन्नु पर्छ, सुत्नु भन्दा कम्तिमा ३ घण्टा अगाडी बेलुकाको खाना खाइसक्दा राम्रो । पक्कै पनि धेरैले यो कुरा भने दैनिक जीवनमा लागू गर्न सक्छन् ।

यसका अतिरिक्त राती केहि खानेकुराहरु बर्जित गर्ने हो भने पनि स्वास्थ्यमा पुग्ने हानी कम गर्न सकिन्छ । यहाँ हामीले त्यस्तै केहि खानेकुराहरुको सूचि तयार पारेका छौँ जसलाई तपाईले राती नखानु भए स्वास्थ्य बिग्रिन पाउँदैन ।

मसलायुक्त खाना

सुतेको बेला मानिसको पाचन प्रक्रिया ढिलो सञ्चालनमा आउँछ । मसलायुक्त खाना पचाउन बढी समय लाग्छ । यस्तो खाना खाइयो भने गहिरो निद्रा लाग्दैन ।

यसले शरीरको तापक्रमसमेत घटाउने भएकाले मिठो निद्राका लागि यो राम्रो मानिँदैन । यस्तो खाना खाएर सुत्दा ऐँठन हुने सम्भावनासमेत भएको मन्ट्रियल विश्वविद्यालयले गरेको एउटा अनुसन्धानले देखाएको छ ।

केही तरकारीहरु

फलफूल र तरकारी स्वास्थ्यका लागि राम्रो हो । यसले शरीरमा रोगप्रतिरोधी क्षमता बढाउने गर्छ । तर, कुनै–कुनै फलफूल र तरकारी यस्ता हुन्छन्, जसलाई सुत्नुअघि खायो भने निद्रा पर्दैन ।

काउली, ब्रोकाउली लगायत तरकारीमा पाइने तत्वले दिमागमा उत्पन्न हुने ट्राइप्टोपान नामक एमिनो एसिडको प्रभावलाई कमजोर बनाइदिन्छ ।

ट्राइप्टोपान मिठो निद्रा लगाउन आवश्यक हुन्छ । त्यस्तै, बन्दाकोबी, कोसे तरकारी, सेतो च्याउ, गोलभेँडालगायत तरकारी पनि सुत्नुअघि खानु हुँदैन ।

मिठाई

सुत्नुअघि मिठाई, केक, चकलेट, कुकिज अथवा आइसक्रिम खाने बानी कसैकसैमा हुन्छ । यसले मनलाई आनन्द त देला, तर मिठो निद्रा दिँदैन ।

यस्ता खाद्य पदार्थमा चिनीको मात्रा उच्च हुन्छ, जसलाई राती सुत्ने बेला नियमित खानाले निद्रा पर्दैन ।

जंक फुड

खाना बनाउन अल्छी मानेर राती जंक फुड खाएर सुत्नेको संख्या बढिरहेको छ । क्यान्डी बार, पोट्याटो चिप्स, चाउचाउलगायत फास्ट फुडलाई डिनरका रूपमा खानेको संख्या बढ्दो छ ।

तर, यस्ता खानामा फ्याट र सुगरको मात्रा बढी हुन्छ, जसले निद्रा उत्पन्न गराउने हार्मोन काट्ने काम गर्छ ।

कफी

खाना खाइसकेर सुत्नुअघि कफी खाने बानी राम्रो होइन । सुत्ने बेलामा कफी खाइयो भने निद्रा पर्न अप्ठेरो हुन्छ ।

चकलेट

चकलेटमा क्याफिन हुन्छ । कालो खालको चकलेटमा क्याफिनको मात्रा अझ बढी हुन्छ । क्याफिनजन्य चिज खानाले मानिस थकानरहित हुन्छ र शरीरमा पाचनसम्बन्धी रासायनक्रिया तीव्र बन्छ ।

साथै, यसले शरीरलाई डिहाइड्रेट गराउँछ । सुत्नुअघि मानिसको शरीरमा यस्ता परिवर्तन आउनु ठीक मानिँदैन ।

मदिरा

मदिराजन्य पदार्थ पिउनाले मिठो निद्रा पर्ने आम मान्यता छ । तर, मिठो निद्रा पर्नुको अर्थ रातमा पटक–पटक नबिउँझनु पनि हो । बियर, रक्सी, वाइन आदि खाएर सुत्दा सुरुमा गहिरो निदाइए पनि रातमा पटक–पटक उठ्नुपर्छ ।

रातो मासु

बदाम, दूध, चिज आदिमा प्रोटिनको मात्रा सन्तुलित मात्रामा पाइन्छ, जसले मिठो निद्रा लगाउँछ । रातो मासुमा प्रोटिन उच्च मात्रामा पाइन्छ ।

यसले अनिद्राको समस्या उत्पन्न गराउँछ । साथै, प्रोटिनमा पाइने एमिनो एसिडले दिमागलाई चनाखो राख्छ र निद्रा पर्न दिँदैन ।

राती दही खानु हुदैन

रातमा तापक्रम चिसो हुदै जाने र यो आफैमा चिसो खाद्यपदार्थ भएकोले राती दही खाएर सुत्दा यसले खकारको मात्रा बढाउछ । बढेको खकारको पहिलो प्रभाव छातीमा पर्छ । छाती दुख्ने, खसखस हुने, शिथिलता बढ्नुका साथै कार्यक्षमतामा ह्रास र मानसिक अस्थिरताले पूर्ण रुपमा अस्वस्थ्य भइन्छ ।

बिहान अथवा दिउसो मात्र दही खानु राम्रो, किनपनी भनिएको हो भने हामीले खाएको दहीलाई सुर्यको तापमानले सन्तुलित बनाउने काम गरिरहेको हुन्छ र बिहान दिउँसो हाम्रो शरीर बढी नै सक्रिय हुनेहुदाँ पनि यसले शरीरको चिसोपनालाई नियन्त्रण गर्छ ।

स्वास्थ्य तथा शास्त्रका अनुसार राती गर्न नहुने कुराहरु

शास्त्र भन्छ दिनभरी हुने सुख शान्तिको सम्बन्ध रातसँग हुन्छ । रातीमा राम्रो निद्रा परेन भने शरीरको थकान मेटिँदैन । तपाइँलाई ताजा अनुभव रातभरीको विश्राम पछि मात्र हुन्छ ।

सुत्नुअघि केही कुरामा विचार गरिएन भने अस्वस्थता र रोगको भारी बोकेर समस्यामा पर्न सकिने हुन्छ । सुत्नु अगाडि गर्न नहुने यस्ता केही काम छन् ती कामले तनाव तथा स्वास्थ्य समस्या निम्त्यान सक्छ ।

१. सुत्नु अगाडि खाना

रातको खाना सकेसम्म सुत्नु अगाडि खानु हुँदैन । यसरी खाना खानेबित्तिकै सुत्ने गर्नाले मोटोपनको समस्याले दुःख दिन सक्छ ।

२. सुत्नुअघि ल्यापटप वा मोबाइल

सुत्नु भन्दा पहिले तपाई मोबाइल या ल्यापटप चलाइरहनु भएको छ भने पनि यसले तपाईलाई सुत्ने क्रममा समस्या दिन्छ । तपाईलाई यी ग्याजेटबाट निस्किने सिग्नलले मष्तिष्कलाई उठ्ने संकेत बारम्बार दिने हुँदा सुत्न समेत गाह्रो हुने गर्छ ।

३. चुइगम

युवाहरूमा चुइगम निकै लोकप्रिय छ र यो एउटा बानीको रूपमा पनि बसिसकेको छ धेरै युवाहरूमा । यदी तपाई सुत्ने बेलामा पनि पेपरमिन्ट फ्लेवरको चुइगम खाने गर्नुहुन्छ भने यसको गन्धले तपाईको निन्द्रा बिथोल्न सक्छ ।

४. किताब पढ्ने बानी

केही मानिसहरू सुत्नुभन्दा अगाडि पढ्ने गर्छन् । कुनै कुनै बेला त पढ्ने क्रममा आफ्नो निन्द्रा समेत हराउने गर्छन् । यो भन्दा सुत्नुभन्दा करिब २० मिनेट अगाडि नै किताब पढ्न छोड्नु भयो भने तपाईको निन्द्रा राम्रो हुन्छ ।

५. धुम्रपान

यदी तपाईं राती चुरोट वा कफी पिउने गर्नु हुन्छ भने त्यसमा रहेको निकोटिन तथा कैफिनले तपाईको निन्द्रा बिथोल्न सक्छ । यसले शरिरमा तनावको स्थिति उत्पन्न गर्छ र निन्द्रा नलाग्न सक्छ ।

६. चिसो पानीले मुख धुनु

राती सुत्नु भन्दा अगाडि तपाई यदी हात खुट्टा र अनुहार चिसो पानीले धुनुहुन्छ भने यो बानी बदल्नु राम्रो हुन्छ । सुत्नुभन्दा पहिले चिसो पानीले नभई मनतातो पानीले हातमुख धुँदा यसले मांशपेशीको तनाव कम गर्छ र मिठो निन्द्रा लाग्छ ।

७. अल्कोहल

निन्द्रामा यदी दुई पेग लगाउने बारे सोच्नुहुन्छ भने त्यो बानी हटाउनु राम्रो हुन्छ । अल्कोहलको सेवनले शरिरमा तनाव अधिक हुने गर्छ र निन्द्रामा असर गर्छ । सुत्नुअघि यी कुराहरुमा विचार पुर्याउनुभएन भने पछुताउन पनि पर्नसक्छ ।

शास्त्रमा अनसार यी ५ चीज सुत्ने समयमा सिरानी मुनी राख्नु राम्रो मानिन्छ |

१. हनुमान चालिसा

हरेक रात सुत्ने बेलामा हनुमान चालिसा या सुन्दरकाण्ड पाठ गरेर पुस्तकलाई सिरानीमुनी राखेर सुत्नुस् । शास्त्रका अनुसार यसो गर्दा मन एकाग्र भएर शान्त हुन्छ । मनमा डर, अहम र खराव सपना समेत आउँदैन । सपनाविहिन सुताइनले शरीर पुनर्जाग्रित हुन्छ ।

२. फलामको उपकरण

सुत्ने बेला सिरानी मुनी फलामको उपकरण राख्नु राम्रो मानिन्छ । यसले तपाइँको नजिक नकारात्मक उर्जा आउनबाट रोक्छ । वालवालिका सुत्ने बेला सानो कैँची वा चकु सिरानी मुनी राख्ने चलन पनि यसकै कारण चलेको हो ।

३. मुला

सिरानी मुनी मुला राखेर सुत्ने र विहान उठेर शिवलिङ्गमा अर्पण गर्दा शुभ फल मिलल्छ । शास्त्रका अनुसार यसले राहुको प्रभावलाई कम गर्छ र खराव सपना वा मानसिक तनाव हुनबाट रोक्छ ।

४. फूल

सुत्ने समयमा सिरानी मुनी भगवानलाई अर्पण गरेको फूल राख्दा मनमा शान्ति प्राप्त हुने शास्त्रमा उल्लेख छ । यसो गर्दा निद्रा पनि छिटो लाग्ने र विहान उठ्दा ताजा महसुस हुने समेत शास्त्रले उल्लेख गरेको छ । पछिल्लो समयमा थेरापीमा समेत यस्तो प्रयोग हुन थालेको छ ।

५. दुर्गा सप्तसती

पाठलाई सिरानी मुनी राखेर सुत्दा भयबाट मुक्ति मिल्ने शास्त्रमा उल्लेख छ । यसले दिनभर हुने चिन्ता र तनावबाट मुक्ति हुने शास्त्रमा उल्लेख छ । यसो गर्दा विहानमा उठ्दा ताजापन अनुभव समेत हुने विश्वास गरिन्छ ।