मानिसहरु पिसाब लागी रहन्छ भनेर त्यति पानी पिउने नै गर्दैनन् । तर पिसाब लागे पनि पानी पिउनु स्वास्थ्यको लागी एकदमै राम्रो हो । तर कसैलाई पानी नपिए पनि छिन-छिनमा पिसाब लागी रहने गर्दछ ।

छिनछिनमा पिसाव लागिरहन्छ ? ध्यान दिनुस् यस्ता हुन सक्छन् कारण

बानी भनौँ या बाध्यता, कसै-कसैलाई सामान्य भन्दा बढि नै पिसाब लागिरा’को हुन्छ । घरमै बसिराख्दा पनि आधा-आधा घण्टामा अथवा पन्ध्र-पन्ध्र मिनेटमा बाथरुम छिर्नै पर्ने हुन्छ । पानी बढि भएको होला भनेर कम पानी खान थाल्दा पनि पिसाबयन्त्रले पत्तो पाउँदैन ।

यस्तो अवस्थाबाट गुज्रिने सोँचेको भन्दा धेरै जना हुन्छन् । तर किन हुन्छ यस्तो ?

१. सामान्य बानीलाई नै तपाईँले नचिन्नुभएको हो कि ?

हुन त तपाईँलाई ‘धेरै’ जस्तो लाग्न सक्छ, तर तपाईँले दिनमा पिउनुभएको तरल पदार्थको मात्रालाई तुलना गर्ने हो भने, दिनमा ८ चोटिसम्म पिसाब लाग्नु भनेको ‘सामान्य’ नै हो । झ्याउ लाग्न छुट्टै कुरा हो, तर रातिको बेला एक चोटि पिसाब लाग्नु भनेको पनि सामान्य नै हो। यदि तपाईँलाई आफ्नो बानीप्रति विश्वास नलागे, कति-कति बेला पिसाब लाग्छ नोटमा टिपेर राख्नुहोस् अनि तुलना गर्नुहोस् ।

२. थैली नै सानो पनि हुन सक्छ

छिनछिनमा पिसाब गरिराख्नुपर्नेहरूको यो राम्रो बाहना हो- “मेरो थैली नै सानो छ!” तर यो सत्य कुरा नै हो । शारीरिक बनावटलाई हेर्ने हो भने, सबैको शरीर फरक-फरक हुन्छ । जसरी कोहि अग्लो कोहि होँचो हुन्छ, त्यसरी नै कसैको पिसाब थैली सानो त कसैको ठूलो हुन्छ ।

सामान्तयताः एउटा व्यक्तिको पिसाब थैलीले २ कप पिसाब थाम्न सक्छ, त्यो भनेको ३०० देखि ४०० मिलिलिटर हो । यदि तपाईँलाई आफ्नो पिसाब थैली सानो छ जस्तो लाग्छ भने जाँच पनि गर्न सक्नुहुन्छ । एउटा कप लिनुहोस् र नाप्नुहोस् ।

यदि साँच्ची नै तपाईँको थैली सानो छ भने त्यसलाई तपाईँले ट्रेनिङ्ग पनि गर्न सक्नुहुन्छ, धेरै थाम्नको लागि । सबैभन्दा बढि पिसाब थाम्न सक्ने मानिसहरूको आँकडा हेर्दा शिक्षक र नर्सले बढि थाम्न सक्दोरहेछन् । हाम्रो थैलीको खास कुरा नै त्यहि हो, जब भरिन्छ तब तन्किन्छ ।

फेरि पिसाब थामेर बस्नु हुँदैन भनेर कत्तिले जति बेला मन लाग्यो उतिबेला बाथरुम छिर्ने गर्छन् । “तर यसो गर्दा थैलीको बानी बिग्रिन्छ ।”, मूत्रविशेषज्ञ भन्छन्- “थामेर राख्नु र तन्काउनु भनेको फरक कुरा हो । हाम्रो थैलीलाई ट्रेनिङ्ग दिन सकिन्छ ।”

हाम्रो थैलीलाई धेरैबेरसम्म थामेर बस्नको लागि यसरी ट्रेनिङ्ग दिन सकिन्छ :

-मन लागेपनि नलागेपनि २/३ दिनसम्म ३०-३० मिनेटमा पिसाब गर्न जानुहोस् ।

-अब त्यसमा १५ मिनेट थपेर हरेक ४५ मिनेटमा पिसाब गर्नुहोस्, ३/४ दिनसम्म यसलाई निरन्तरता दिनुहोस् ।

-फेरि त्यसमा १५ मिनेट थपेर हरेक घण्टामा पिसाब गर्नुहोस् ।

-यसरी १५-१५ मिनेट थप्दै आफ्नो थैलीलाई ट्रेन गर्न सकिन्छ ।

३. कतै चाहिने भन्दा थोरै पानी त पिउनुभएको छैन ?

हो, यदि तपाईँलाई छिनछिनमै पिसाब लागिराख्ने समस्या छ भने तपाईँको शरीरमा पानीको मात्रा कमि पनि भएको हुन सक्छ । “जब पानी कम पिइन्छ, तब हाम्रो पिसाब त्यति नै बढि बाक्लो हुन्छ, जसमा एसिडको मात्रा बढि हुन्छ । त्यसैले गर्दा थैलीलाई जलन हुन थाल्छ र पिसाब लागेको महशुस हुन्छ ।”, ग्रिनलिफ भन्छन् । त्यसैले अलि बढि पानी पिएर विचार गर्नुहोस्, धेरै बेरसम्म थाम्न पनि सक्नुहुन्छ । फेरि एकैचोटि धेरै पानी पिउँदा पनि राम्रो हुँदैन । ठिक्क पिउनुहोस् ताकि तपाईँको पिसाबको रङ्ग खैरो परालको जस्तो होस्।

४. थैलीमा सङ्क्रमण अथवा मृगौलाको पत्थरी त भएको छैन ?

पिसाबथैलीको सङ्क्रमण र मृगौलामा पत्थरी हुँदा पनि थैलीमा जलन गराउँदछ र सामान्यभन्दा बढि पिसाब लाग्न सक्छ । तर फेरि दुवैको लक्षण पनि फरक फरक हुन्छ । विशेष गरी मृगौलाको पत्थरी हुँदा कम्मर पछाडि अत्याधिक दुख्छ भने थैलीको सङ्क्रमण हुँदा जतिबेला पनि तुरुन्तै पिसाब गर्नैपर्ने अवस्था सृजना हुन्छ र पिसाब गर्दा पीडा पनि हुन्छ । कसै-कसैको पिसाबमा रगत पनि देखिन सक्छ । त्यसैले यस्ता सङ्केतहरूमा विशेष ध्यान दिनुपर्दछ ।

५. कतै तपाईँलाई मधुमेह त भएको छैन ?

माथिका कुनै पनि कारणले तपाईँलाई धेरै पिसाब लागेको होइन जस्तो लाग्छ भने तपाईँलाई मधुमेह भएको हुन सक्ने बढि सम्भावना हुन्छ। यदि रगतमा सुगरको मात्रा बढि छ भने मृगौलाले ती सबै सुगरलाई छान्न सक्दैन र केहि मात्रा पिसाबथैलीमा खसाल्न सक्छ ।

जसको कारण त्यो सुगरले शरीरबाट बढि पानी सोस्दछ र बढि पिसाब पैदा गराउँदछ । यस्तो बेलामा गुलियो चकलेट अथवा कुनै गुलियो खानेकुरा खाँदा पनि पिसाब लागेको महशुस हुन्छ। “यो थैलीको समस्या होइन, यो त मधुमेहको सङ्केत हो ।”, विषेशज्ञ भन्छन् । त्यसैले तुरुन्तै चिकित्सकको परामर्शअनुसार उचित उपचार गर्नु आवश्यक हुन्छ ।

नोट:

माथि उल्लेखित स्वास्थ्य सम्बन्धी जानकारीहरु विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो । मानिसको शारिरिक अवस्था र समय अनुसार पनि माथि उल्लेखित कुराहरुको उपलब्धी फरक पर्छ । सम्पुर्णरुपमा यहि कुरामा मात्रै भर नपर्नुहोला । माथि उल्लेखित कुराहरु प्रयोग गर्दा तपाईको स्वास्थ्यमा थप खराबी देखिए, कृपया तुरुन्त रोकेर स्वास्थ्यकर्मीहरुसँग सल्लाह लिनुहोस् ।

साथै तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला । तपाइको एक सेयरले थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग मिल्नेछ ।