केही समययता लगातार जस्तो छाइरहेका समाचारका हेडलाइन हुन् यी । ‘बर्डफ्लु’ हाम्रो लागि नौलो शब्दावली होइन । यसले केही बर्षअघि नै समाजलाई थर्कमान बनाइसकेको छ । तर, विगतमा बर्डफ्लुले जनमानसमा जुन आतंक मच्यायो, अहिले त्यस्तो देखिदैन । धमाधम बर्डफ्लु भेटिएको र काग समेत मरेको खबर आइरहँदा पनि यसतर्फ सर्वधारणको ध्यान त्यती तानिएको पाइदैन ।

के त्यसो भए अब ‘बर्डफ्लु’बाट हामीले डराउनुपर्ने अवस्था छैन ? के यसले हामीलाई अब कुनै किसिमको हानी गर्नेवाला छैन ?

बर्डफ्लु के हो ?

बर्डफ्लु नामबाटै भेउ पाउन सकिन्छ कि, यो चराहरुमा हुने संक्रमण हो । कुखुरा एवं पंक्षीहरुको संक्रमित रोग हो यो । बर्डफ्लु एभियन इन्फ्लुएन्जा भाइरसको छोटकरी रुप हो ।

तर, यो संक्रमण चराहरुमा मात्र सीमित रहँदैन । मान्छेमा समेत फैलन सक्छ । कुखुराको मासु, प्वाँख, सिंगान, र्‍याल, दाना, अन्डा, अन्डा राख्ने क्रेट आदिबाट सर्न सक्छ ।

बर्डफ्लु यस्तो संक्रमण हो, जसले मृत्यु समेत हुनसक्छ । खासगरी बर्डफ्लु एच फाइभ एन वान नामक सूक्ष्म भाइरसको संक्रमण प्राणघातक हुन्छ । अति नै छिटो सर्ने यस्तो भाइरस १ सय ४४ प्रकारका हुन्छन् ।

१० करोडको मृत्यु

कुनैबेला बर्डफ्लुले ५ देखि १० करोड व्यक्तिको मृत्यु भएको थियो । मानव स्वास्थ्यकै लागि यो एक खतराको घण्टी थियो ।

सन् १९१८/१९१९ मा फैलिएको यस इन्फ्लुएन्जाबाट करोडौंको ज्यान गएको थियो । त्यसबेला यसलाई स्पेनिश फ्लु भनिन्थ्यो । पछि एशियाई फ्लुको नामकरण गरियो । सन् १९६८ मा यही संक्रमणलाई हङकङ फ्लुको नामले चिनियो, जसले दश लाख जनाको ज्यान लियो ।

कति घातक ?

कुखुरा वा चराचुरुंगीबाट फैलने यसको भाइरसले मान्छेलाई पनि संक्रमण गर्न सक्छ । यसरी मान्छेमा यसको संक्रमण फैलिएमा त्यो निकै घातक हुनसक्छ ।

खासगरी एच फाइभ, एन वान नामकरण गरिएको भाइरस निकै खतरनाक हुन्छ । यसको जटिलता के हुन्छ भने, यो निकै तिब्र गतिमा फैलिने संक्रमण हो । बर्डफ्लु बिरुद्धको उपचर एवं खोप अहिलेसम्म विकास नभएकाले पनि यसलाई निकै जटिल रोग मान्ने गरिन्छ । त्यसैले रोग लाग्नुअघि नै आवश्यक सर्तकता अपनाउनुपर्ने हुन्छ । यत्तिका खतरनाक हुँदा हुँदै पनि अहिले हामीकहाँ बर्डफ्लुप्रति त्यती धेरै सर्तकता अपनाएको भने पाइदैन ।

कसरी अपनाउने सतर्कता ?

हामीकहाँ व्यवसायिक रुपले कुखुरा पालन गरिन्छ । त्यहीबाट यो रोगको संक्रमण फैलने सबैभन्दा बढी भय हुन्छ । त्यसैले यस्ता कुखुराको सम्पर्कमा रहने व्यक्तिले निकै सर्तकता अपनाउनु पर्छ ।

उनीहरुले संक्रमित कुखुरा, दिसा, अन्डा, रगत, दाना, केहीपनि छुन हुँदैन ।

त्यसो त कुखुराको रेखदेख गर्नेले मात्र होइन, यसको उपभोग गर्नेले पनि सर्तक रहनुपर्छ । संभव भएसम्म त कुखुरा वा यसको अन्डा नखाएकै वेश । यदि खानै परेमा पनि राम्ररी पकाएर मात्र खानुपर्छ । ७० डिग्री भन्दा माथिको तापमानमा पकाएपछि बर्डफ्लुको भाइरस मर्ने विज्ञहरुले बताउँदै आएका छन् ।

१. संक्रमित कुखुराको सम्पर्कमा नजाने ।

२. राम्ररी हातधुने । संक्रमित कुखुराको सम्पर्कमा गएपछि राम्ररी साबुन पानीले हात धुनुपर्छ ।

३. कुखुराको मासु सकेसम्म नखाएकै राम्रो । खानु परेमा पनि राम्ररी पकाएर खानुपर्छ । अर्थात धेरैबेर उच्च तापमानमा पकाएर खानुपर्छ ।

४. पोल्ट्रीर्फममा गएको बेला माक्स लगाउनैपर्छ ।

५. आसपासमा चराहरु मरेको भेटिएमा बर्डफ्लुको कारण हुनसक्छ । त्यसैले सर्तक हुनुपर्छ ।

याे जानकारी पनि,

अब गर्मी बढे सँगसँगै राेगहरू पनि बढ्छ, गर्मीयाममा लाग्ने रोगबारे जानी राखौं !

दूषित पानी र बासी, सडेगलेको खानाले झाडापखाला लाग्छ । विशेषगरी गर्मी समयमा यसका ब्याक्टेरिया सक्रिय हुन थाल्छन् । तर, चिसो मौसम नै भएको भान पर्न गई जथाभावी पानी पिउँदा तथा बासी तथा सडेगलेको खाँदा झाडापखालाले सताउने गर्छ ।

गर्मी मौसम बढे संगै सबैभन्दा बढी झाडापखालाका बिरामी आउने गरेको स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. केदार सेन्चुरीले बताए । झाडापखालाले मानिसलाई जलवियोजन गराई रोग प्रतिरोधात्मक क्षमतामा समेत असर गर्ने उनको भनाइ छ ।

यदि खानेकुरामा ध्यान नदिने हो भने आउँ पर्नेसम्मको समस्या उत्पन्न हुन्छ । ‘अहिलेसम्मको रिपार्ट हेर्दा जाडोबाट गर्मी सुरु हुने समयमा झाडापखालाका बिरामी बढी आएको पाएका छाँै ।’ उनले भने ‘त्यसका साथै आउँको समस्या पनि देखिएको छ ।

झाडापखाला लक्षण

धेरै तिर्खा लाग्ने,

छटपटी हुने

आँखा गढेको देखिने पेटको छाला तानेर हेर्दा हतपत नफर्किने

बच्चाले झोल पदार्थ पिउनमा समस्या

बच्चा बेहोससम्म हुन सक्ने

दुई हप्ताभन्दा लामो समयसम्म झाडापखाला लागेमा त्यसलाई दीर्घ झाडापखाला (क्रोनिक डायरिया) भनिन्छ । त्यसमा चिकित्सकको

सल्लाह लिएर औषधि खुवाउनुपर्छ ।

हेपाटाइटिस ए र ई (जन्डिस)

जाडो महिना सकिएर गर्मी सुरु हुँदा देखिने अर्को रोग भनेको हेपाटाइटिस ए र ईको समस्या हो । ए प्रत्येक वर्ष देखिइरहन्छ भने हेपाटाइटिस ई पनि केही वर्षको अन्तरमा स्थान विशेषमा देखिने गरेको सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन बताउँछन् । यी दुवै हेपाटाइटिसका कारण जन्डिस हुन सक्छ ।

जन्डिसले कलेजोलाई असर पार्छ । गर्भवती महिलालाई जन्डिस भएमा सबैभन्दा बढी खतरा मानिन्छ । कलेजो रोग विशेषज्ञ प्रा.डा. अनिल मिश्रका अनुसार शरीरमा हुने पहेँलोपनको मात्रा बढ्नु नै जन्डिस हो । पहेँलोपना बढ्ने कलेजोभित्र र कलेजोबाहिर लाग्ने रोगले गर्दा हो ।

कलेजोबाहिर पित्तको नलीमा केही खराबी भयो भने त्यो बाहिरको जन्डिस हो । त्यसलाई सर्जिकल जन्डिस भनिन्छ । कलेजोभित्र हुने जन्डिसलाई मेडिकल जन्डिस भनिन्छ । दूषित पानी सेवनका कारण जन्डिस लाग्ने मिश्र बताउँछन् ।

हेपाटाइटिस ए र ई (जन्डिस) लक्षण

शरीर पहँलो हुँदै जाने,

वाकवाकी लाग्ने,

खान मन नलाग्ने,

दायाँ कोखा भारी हुँदै जानेजस्ता लक्षण देखा पर्छन् ।

टाइफाइड

दूषित पानी र खानपानमा हुने असरका कारण देखिने अर्को रोग भनेको टाइफाइड हो । जहाँ पायो त्यहाँको पानी नउमाली पिउने, सहरका गल्लीमा बनाइएका खाना जथाभावी खाने र सफा पानीले नपखाली फलफूल खाने गर्दा टाइफाइडको सम्भावना धबढी हुन्छ ।

असुरक्षित खाना र फोहोर पानीमा पाइने सालमोनेलाटाइफी ब्याक्टेरियाका कारण टाइफाइड लाग्छ । आन्द्रामा ज्वरो आउने समस्याका कारण टाइफाइड हुने हुँदा यसलाई ‘आन्द्राबाट आउने ज्वरो’ पनि भनिन्छ ।

टाइफाइडका लक्षण

ज्वरो आउने

जिउ दुख्ने

पेट दुख्ने

दुई हप्ता कटेपछि कलेजो, फियो बढ्ने कडा खालको टाइफाइड भएर लामो समयसम्म रहेमा आन्द्रालाई प्वाल पार्ने सम्भावना रहन्छ ।

गर्मी मौसममा के खाने के नखाने ? स्वस्थ रहन जान्नै पर्ने कुराहरु

गर्मी महिना शुरु भएको छ । गर्मी महिनामा आफ्नो हात र शरिरका विभिन्न अंगको सफाईमा ध्यान दिनु पर्छ । गर्मी मौसममा डिहाइड्रेसन, भोक नलाग्नु र धेरै पसिना आउने कारण शरिरको तापक्रम साधारण हुँदैन र थुप्रै रोग लाग्न सक्ने सम्भावना हुन्छ, त्यसैले गर्मिमा आवश्यकता अनुसार कमसेकम ३ देखि ५ लिटरसम्म पानी पिउनै पर्छ । यो स्थितीबाट बच्नका लागि आफ्नो खानपिनमा विशेष ध्यान दिन आवश्यक छ ।

गर्मी मौसममा खानुहोस् यी खानेकुरा, जसले तपाईलाई शरिरमा पानीको कमी हुनदिने छैन र स्वास्त राख्ने छ ।

के खाने ?

पानी

गर्मीमा प्रशस्त पानी पिइएन भने डिहाइड्रेसन हुन्छ । शरीरका नसा र कोशिकाहरूलाई पानीले सिंचित गरिराख्न शरीरमा पानीको मात्रा कम हुन दिनु हुँदैन । गर्मी महिनामा घामको सिधा असर हुने भएकाले शरिरलाई अत्यधिक पानीको आवश्यकता पर्दछ । यसर्थ, आफ्नै घरमा सफा गरिएको अथवा उमालेको पानी बोत्तलमा बोकेर हिँड्ने र पानी पिइरहने गर्दा सबैभन्दा उत्तम हुन्छ ।

मकै

गर्मीमा मकै पोलेर अथवा उसिनेर खानु कतिपयलाई त्यति रमाइलो नलाग्न सक्छ। तर, मकैमा लुटेन र जेक्सानथिन नामक अक्सिडेन्ट्स पाइन्छन् । यसले सूर्यका हानिकारक विकिरणबाट आँखालाई जोगाउने गर्छ । यसर्थ, मकै खाने सिजन शुरु भएपछि भने टन्नै हरिया मकै खान पाठकलाई सुझाव दिइन्छ। साथै, यसले बुढ्यौलीका कारण आँखा कमजोर हुने समस्यालाई पनि कम गर्छ। मकैले शरीरलाई ऊर्जा प्रदान गर्ने कुरा त छँदै छ।

गोल्भेडा

त्यस्तै गर्मी महिनामा गोल्भेडालाई पनि अत्यधिक उपभोगमा ल्याउनु श्रेयस्कर हुन्छ। गोलभेँडामा लाइसोपेन नामक तत्व पाइन्छ । यसले घामको रापबाट छालालाई डढ्नबाट जोगाउँछ । तर ख्याल गर्नुहोस्, कतिपय ठुला जातका गोल्भेडाहरुमा बढि विसादी प्रयोग भएका हुनाले केही घण्टा गोल्भेडालाई पानीमा भिजाएर या डुबाएरपछि मात्र जुस, पेष्ट या अचार बनाएर खानुहोला।

गाजर

त्यस्तै एउटा अनुसन्धानले एक कप गाजरको जुस १० देखि १२ हप्तासम्म नियमित खाने मानिसको छालामा घाममा पाइने विकिरणले हानि पुर्याउने जोखिम ५० प्रतिशत कम भएको पत्ता लगाएको थियो। सिधै गाजर खाँदा त झनै राम्रो। तर ख्याल गर्नुहोस्, गाजरमा विभिन्न चिरा परेका ठाउँमा फोहरहरु रहने भएकाले तीनलाई राम्रोसँग खुर्केर र पखालेर मात्र खानु होला।

खरबुजा

खरबुजा पनि गर्मीको मौशममा प्रशस्त पाइन्छ । शरीरमा डिहाइड्रेसन भयो भने दिमाग बोधो हुने र मुड ठीक नहुने समस्या हुने भएकाले प्रशस्त पानी भएका यस्ता फलफुलको प्रयोग आवश्यक छ ।

गर्मीमा पिसाब र पसिना मार्फत शरीरमा रहेको पानी बढी मात्रामा निकास हुने भएकाले पानीको मात्रा बढी भएको खरबुजा जस्ता फलफूल नियमित खाने प्रयास गर्नुपर्छ । खरबुजामा छालालाई घामको विकिरणबाट जोगाउने तत्वसमेत भएकाले गर्मीमा यो ज्यादै उपयोगी हुन्छ । खरबुजामा क्यालोरीको मात्रा कम हुने भएकाले खरबुजा बढी खाँदा पनि मोटाइएला भन्ने चिन्ता पनि हुँदैन ।

काँक्रो

काँक्रोमा सिलिकाजस्ता तत्व पाइन्छन् । जसले गर्मीमा छालालाई स्वस्थ बनाउने गर्छन् । साथै, यसमा फाइबर, पोटासियम र म्याग्नेसियम पनि प्रशस्त पाइन्छन् । काँक्रोमा पानीको मात्रा बढी पाइने भएकाले यसले शरीरलाई डिहाइड्रेट हुनसमेत दिँदैन । तसर्थ, गर्मीमा खानासँगै काँक्राको सलाद नछुटाउनु ज्यादै लाभदायक हुन्छ ।

दही

यो समयमा संक्रमणको जोखिम उच्च हुने तथा त्यसबाट पाचन क्रियासम्बन्धी समस्याहरु निम्तिने डर हुन्छ । गर्मी याममा खानपानको विषयमा अपनाउनुपर्ने सावधानी सँगै खानामा दही समावेश गराउनु निकै फाइदाजनक हुन्छ । दहीको नियमित सेवनले गर्मी याममा स्वास्थ्य तथा सुन्दरतालाई प्रवर्धन गर्न सहयोग पूराउँछ ।

पुदिना

पुदिनामा औषधीय गुण हुन्छ र यो स्वास्थ्यका लागि निकै राम्रो मानिन्छ । यसमा भिटामिन ‘ए’ को मात्रा धेरै हुने भएकाले मानव स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । यसले अनुहार चम्किलो बनाउन पनि सहयोग गर्छ । यो गर्मीका समयमा स्वास्थ्यका लागि झन् बढी फाइदाजनक मानिन्छ किनभने यसको गुण शीतल हुन्छ ।

के नखाने ?

मसालेदार खानेकुरा

चीया, कफी

बाँसी, सढेगलेका खानेकुरा, चिल्लो पीरो, धेरै दिनसम्म फ्रिजमा राखेको खानेकुरा

जाँड रक्सी र सूर्तिजन्य पदार्थ

तेलबाट बनेको खाने कुरा

गर्मि मौसममा हामीले तेल बाट बनेको वा तेलमा फ्राई गरेको खान नखाने यदि तेल बाट बनेको परिकार खाएमा मेटाबॉलिज्म (Metabolism) बिग्रन सक्छ जसका कारण बिरामी हुने सम्भावना रहनछ ।

माछा कम खाने

गर्मि मौसममा माछा कम खाने किन कि माछाले गर्मिमा शरीर लाई हिट बनाउछ र शरीरबाट पसिनाको मात्र बढी निकाली दिन्छ र हाम्रो शरीरको पाचन प्रणाली बिगारी दिन्छ त्यस कारण माछा कम खानु पर्छ ।

जंक फूड (चाउचाउ, लेज, कुरकुरे लगायत)/फास्ट फूड

एस्ता खानेकुरामा चिल्लो बढी र पौष्टिक तत्व कम हुन्छ र चिल्लोको मात्रले हामीलाई निकै असर गर्ने भएकाले हामी यी खानेकुरा बाट परै रहनु पर्छ ।

अन्डा कम खाने

गर्मि मौसममा अन्डा खानाले Salmonella इंफेक्शन गर्ने खातारा हुने भएकाले अन्डा कम खानु राम्रो हुन्छ ।

रातो मासु

रातो मासुमा बढीमात्रामा बोसो भएका कारण गर्मीमा यसले कोलेस्टेरोल बढाउँछ । कोलेस्टेरोलकै कारण पेट सफा नरहने अनि झाडापखाला लाग्ने गर्दछ ।

नोट: माथि उल्लेखित स्वास्थ्य सम्बन्धी जानकारीहरु विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो । मानिसको शारिरिक अवस्था र समय अनुसार पनि माथि उल्लेखित कुराहरुको उपलब्धी फरक पर्छ । सम्पुर्णरुपमा यहि कुरामा मात्रै भर नपर्नुहोला । माथि उल्लेखित कुराहरु प्रयोग गर्दा तपाईको स्वास्थ्यमा थप खराबी देखिए, कृपया तुरुन्त रोकेर स्वास्थ्यकर्मीहरुसँग सल्लाह लिनुहोस् ।

साथै तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला ।
तपाइको एक सेयरले थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग मिल्नेछ ।