कुनै एकान्त ठाउँमा गएको बेला आमा सम्झे मन रुन्छ । बढी न्यास्रो लाग्छ अनि आमाभन्दा आँसु र्झछ । नजिक भए खुसीका अनि टाढा भए वेदनाका आँसु र्झछन् । त्यो आमाप्रतिको गहिरो प्रेम भएर नै हो। एक विश्वचर्चित व्यक्ति एवं अमेरिकाका १६ औं राष्ट्रपति अब्राहम लिंकनले भनेका छन्-’आमाको काखमा भएको मान्छे कहिल्यै दुःखी हुँदैन । आमा प्रेम र विश्वासको बास्केट हो, एउटा सन्तानको लागि ।

एउटा भनाइ छ-’प्रेम र विश्वासको बास्केटमा हिंसाले कुनै ठाउँ पाउँदैन ।’ आमाबाट हिंसा हुने कुरा कल्पना बाहिर हुन्छ । साँच्चै भन्ने हो भने आमा छोडेर कतै गएमा एक्लो वा केही न केही अभाव भएजस्तो महसुस हुन्छ । आमा संसार हो। संसारमा सबै कुरा पाइन्छ तर आमा पाइँदैन । आमा सन्तानको ढुकढुकी हो। बालबालिकाको आशा र भरोसा हो । अनि समाजको गहना हो । आमाबिनाको परिवार खल्लो हुन्छ ।

आमाको बारेमा शब्दमा भूमिका बाँधेर केही लेखेरमात्र पुग्दैन । यसको वर्णय गरी साध्य छैन । आमाबिनाको जीवन पानीबिनाको माछाजस्तै हुन्छ । जहाँ आमा, त्यहाँमात्र राम्रो सपना देख्न सकिन्छ । आमाबिनाको जीवन मरुभूमिजस्तै हो। जहाँ मनले खुसी हात पार्न सक्दैन। आमा सन्तानको लागि महादेवता हुन् । आमाको बारेमा मातातीर्थ औंसीको दिनमात्र गुणगान गाएर आमाको भलो हुँदैन । आमालाई हेला गर्ने सन्तानलाई कुनै न कुनै समयमा नराम्रो आइलाग्छ ।

आमाको ओठमा सधैँ हाँसो दिन सक्नु नै सन्तानको सबैभन्दा ठूलो धर्म हो । जहाँ आमा त्यहाँ सधै घामछाँया हुन्छ । आमाको सक्रियता सन्तानको भाग्य र भविष्य निर्माणसँग सम्बन्धित हुन्छ । आफूले खाई नखाई आफ्नो सन्तानलाई मीठो मसिनो खान दिने आमाको कर्त्तव्यप्रति कसैको गुनासो रहँदैन । आफूले निल्नै लागेको गास पनि सन्तानलाई दिन उत्साहित हुन्छन् ।

कैयौं पीडा सहेर जन्म दिने भनेकै आमाले हो । आफ्नो दशधारा दूध पिलाएर नाना ताते गर्दै हुकाउने पनि आमाले हो । सबैभन्दा पहिलो माया साटासाट गर्ने वर्ग पनि आमा नै हो । पिठ्यँूमा घाँसपातको भारी अनि भारीमाथि नानीबाबुलाई बोकेर घरगोठ गराउने पनि आमा नै हुन् । बालकको चौतर्फी विकासको विषयमा गहिरो व्यवहारिक चिन्तन दर्शाउने वर्ग पनि आमा नै हो ।

आमालाई जवानीमा त्यति धेरै माया दिने नदिने सन्तानको कुरा हो तर साथ दिनु पर्दछ । जब आमा कमजोर हुँदै जान्छिन्, आमाको हेरविचार एवं स्याहार सहयोगमा कत्ति पनि कमी आउन दिनु हुँदैन । भनाइ छ, अरुको लाखभन्दा आमाको काख नै प्यारो हुन्छ । संसारको सबैभन्दा रमाइलो समय भनेको आमाको फरियामा बेरिदा एवं काखका कोकोहोलो गर्दा हुन्छ । आमाले यस संसारमा जन्म दिनुभएको छ । त्योभन्दा ठूलो आमाको महिमा गर्ने अरु केही छैन ।

आमा जीवनको ज्योति हो। मायाको सागर हो । जीवनको पहिलो प्रभावकारी ज्ञानरुपी पाठशाला पनि हो । तसर्थ हिजोका दिनमा स्याहार गर्दागर्दै शिथिल आमाको जीवनलाई सुखी स्वास्थ्य र सम्पन्न बनाउन जीवनको महत्वपूर्ण पाटो आमाको बुढेसकालको सहाराको लागि खुसीसाथ खर्च गर्नैपर्छ । पूर्ण रेखदेख एवं लालनपालन गर्ने काम सन्तानको हो । तसर्थ सबै सन्तानले आफ्ना जीवनदातालाई उच्च सम्मान एवं रेखदेखका साथ पालनपोषण गर्न कम्मर कसेर लाग्नु पर्दछ ।

को हुन् ‘आमा’ चिन्ने की ?

सृष्टीकर्ताको उपमा पाएकी आमा, लाग्छ मेरो लागी उनीजति प्रिय अरु कोहि छैन् । आमाको सम्मानका खातिर दर्जनौ उपमाहरु दिदै पनि आईएको छ । दुई अक्षरले निर्मित आमा शब्दलाई न हामीले हेलामा पार्न सकिन्छ न बिर्सन नै ।

जति तिरस्कार गर्न खोजेपनि मन भित्र कहिँ न कहिँ रहन्छिन् । तर आमाको मर्म बुझ्न त्यति सजिलो भने पक्कै छैन् । जो कोहि मानवलाई पनि ९÷९ महिना सम्म कोखमा राखेर जन्म दिन्छिन् । गर्भावस्थाको अप्ठ्यारो समयमा पनि निकै धर्यवान् र सहनशील भएर आफ्नो सन्तानलाई यो धर्तीमा टेकाउछिन् । जति पुरुषलाई बाबु बन्न सजिलो छ त्यो भन्दा धेरै गुणामा आमा बन्न गाह्रो छ ।

सन्तानको जन्म दिनु मात्र आमाको जिम्मेवारी होईन् । जन्मपछि पनि स्तनपान, स्याहारसुसार, पालनपोषण लगायतका कार्यमा मुख्य भूमिका निभाउनु पो आमा । जन्माएर खाल्डोमा पुरेर हिड्नु, खोलामा पाल्नु, पाईखानामा हाल्नु, घाँटी थिचेर मार्नु, गर्भपतन गर्नु लगायतका घृणीत काम सच्चा आमावाट कदापी हुन सक्दैन् ।

त्यहि आमा हो, दुखमा पनि हाँसेर तिमिलाई हँसाउन खोज्ने, त्यहि आमा हो, मेलापात्मा आफुलाई खान दिएको मकै भटमास, चिउरा, रोटी जे भएपनि पटुकीमा पोको पारि तिम्लाई ल्याईदिने, अप्रिय घटना केहि भईहाल्ला की भन्ठानेर आफु ननिदाई तिम्रो हेरचाह गर्नु, तिमि विरामी हुदा औषधिपचारका लागी सर्वश्व बेच्न तयार सम्म हुनु, बाबुले पिट्दा वा गाली गर्दा पनि बाबुको गाली वा पिटाई आफुले खाएर पनि ज्यान दिन सक्ने हुन् आमा । आफु विरामी हुदा समेत तिम्रो सरसफाई, पालनपोषण र रेखदेखमा जागा बस्ने सम्पुर्ण गुण आमामा भेटिन्छन् ।

जीवनमरणको दोसाँधवाट उम्केर आफ्ना सारा ईच्छा, चाहना र भावनालाई कुल्चिएर सन्तानको सदासदा भलो चाहने तिम्रो आमा । प्रसवको वेदनामा आफ्नो भन्दा पेटवाट बाहिरी संसारमा आउन चाहने तिमिलाई ख्याल गर्ने तिम्री आमा ।

सुत्केरी अवस्थामा जुवानोको झोल नपाएपनि दुध नआएपनि मातृस्पर्शमा टाँसेर तिम्लाई भुलाउन भएपनि दुधको लाम्टो चुसाउने तिम्री आमा । आफुले फाटेको, टालेको वा पुराना लुगा लगाएपनि सन्तानले राम्रै लगाओस भन्ने पवित्र भाव व्यक्त गर्ने तिम्री आमा । त्यस कारण तिम्ले बिर्सेर पनि आमालाई भुल्न, अपमान गर्न मिल्दैन् ।

चिसोमा न्यानो बनाउन, गर्मीमा शितल बनाउन, सन्तानले दुख्यो भन्दा पनि चिन्ता मान्ने कोमल हृदय भएकी आमा अझैपनि केहिको मनमा बस्न नसकेकीमा चिन्ता लागेको छ । कतिपयको आँखामा टिलपिल टिलपिल आँशु देखेको छु । कतिपय सन्तानले आमालाई बाचुन्जेलसम्म रुवाईराखेको उदाहरण पनि समाजमा उदाहरणको रुपमा देख्न सकिन्छ ।

आफु काँडामा सुतेर पनि आफ्ना सन्तानलाई फुलमा सुताउन चाहने, आफु मरेर सन्तानलाई बचाउन चाहने, आफु रोएर सन्तानलाई हँसाउन चाहने, आफु पछि हटेर सन्तान अघि बढोस् भन्ने निश्चल सोच र भावनाका साथ सधैँ प्रेरणादायी, निवास्र्थी, कोमल हृदयकी खानी, गंगामा बगीरहने पानी जस्तै मन भएकी मायाकी खानी हुन् आमा । भगवान्को साक्षत रुप आमालाई हलुवा रुपमा लिन मिल्दैन् ।

बाबुले के गरिस्, कति कमाईस् भनेर सोध्दा आमाको मुखवाट नानी आज खाईस् खाईनस्, के खाईस्, कतिबेला खाईस् जस्ता मायालु मातृत्व झल्कने शब्दावली तपाईमा पनि पोखिएको छ होला ? जुनसुकै विषयलाई हल्का रुपमा लियौ भने त्यो वस्तुको वास्तविक महत्व चाल पाईदैन् ।

आमा शब्द र भूमिकालाई पनि सतहि रुपमा लिदा खासै केहि होईन् तर भूमिका विश्लेषण गर्ने हो भने तपाईलाई पनि आत्मा देखि नै हो, आमा भनेको त वयान गरेरै सक्दिन जस्ता शब्द छताछुल्न हुन पुग्ला ।

आमाले नै तिमिलाई आ, आ र क, ख लगायतका बाह्रखरि लेख्न,बोल्न सिकाईन्, तातेताते गर्दै हिड्न सिकाईन् । खान, पिउन, पिसाव फेर्न, दिशा बस्न सिकाईन् । उनैले पारिवारिक तथा सामाजिक असल संस्कार सिकाईन् । त्यसै भनिएको होला, आमा शिक्षाको पहिलो गुरु भनेर ।

तिम्ले पैसाले धेरैथोक किन्न पाईएला तर आमा किन्न पाईएला र ? सहनशीलताको प्रतिमुर्ती आमा बाहेक अरु के हुन सक्छ र ? आमा मायाको खानी मात्र होईनन्, शिक्षाको पहिलो र संसार देखाउने गुरु हुन् । आमा संसारकी श्रेष्ठ र सृष्टीकर्ता मात्र कहाँ हुन् र ? उनी त आर्दशको प्रतिमुर्ती पनि हुन् ।

सर्वगुणी आमा कर्तव्यकी मुहान मात्र होईनन्, कल्याणकी देवी पनि हुन् । भनिन्छ, आमाको आँशु जीवनकै ठूलो पाप ठानिन्छ । यति भनिसकेपछि आमा को हुन् चिन्न गाह्रो छ र ?

तर अचेल आमा आफ्नै श्रीमान् र सन्तानवाट हेलामा पर्न थालीएको छ । तिमिलाई जन्मायो, हुर्कायो, जिम्मेवार बनायो तर बुढेशकालमा आमा बेसाहारा बन्दै बलिन्द्रधारा आँशु झार्न बाध्य बनेकी छिन् ।

आमाहरुकै लागी भनेर विभिन्न गाउँशहरमा बृद्धाश्रमको योजना तथा भवन निर्माण हुदैछ । बुढेशकालमा साहारा चाहिनेबेलामा आमालाई उहि एक्लोपनको उपहार दिने संस्कार मौलाउदैछ । यस तर्फपनि आमाका सन्तानहरुले गम्भिर रुपमा सोच्नुपर्ने समय आएको छ ।

आमावाट मायाको वास्तविक अर्थ बुझ्न, असल शिक्षा र संस्कार आर्जन गरी सभ्यता सहित हिड्न खोज्नु सन्तानको मुख्य कर्तव्य हो । आमावाट आशिर्वाद थाप्न र आमाको पुजा गर्न कहिल्यै नबिर्सनु ।

आमाको दुश्मन र आमाको चित्त दुखाउने काम पनि असल सन्तानले गर्नु उचित मानिदैन् । त्यसकारण लाग्छ, हजारवटा जिब्रो भएका शेष नागले वयान गरेपनि आमाको वयान गर्न सकिदैन् । आमाको गुन यो जुनीमा तिम्ले तिर्न नसकेपनि आमाको गुन तिर्न हरेक पलपलमा सम्मान गर्न सिक ।

साथै तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला । तपाइको एक सेयरले थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग मिल्नेछ ।