प्रविधिको बढ्दो विकाससँगै खेती गर्ने तरीकामा पनि परिवर्तन भएको छ । सामान्यतया खेतीका लागि जमीन, सिँचाइ, मलखाद, जनशक्तिलगायतको आवश्यकता पर्छ । तर, कृषि प्रविधिको विकासले परम्परागत खेतीबाट क्रमशः बोरामा गरिने ‘सेक फार्मिङ’, थोरै जमीनमा ठाडो वा चाङ लगाएर गरिने ‘भर्टिकल फार्मिङ’ हुँदै उच्चतम प्रविधि मनिएको पानीमा गरिने खेतीप्रणाली (हाइड्रोपोनिक्स) समेत प्रयोगमा आइसकेको छ । हाइड्रोपोनिक्स प्रविधि बिरुवालाई चाहिने विभिन्न पोषक तत्त्व पानीमा समावेश गरी उक्त पानीमा बाली हुर्काउने तरीका हो । त्यसका लागि बालीलाई माटोको आवश्यकता पर्दैन ।

यहाँ बोरामा गरिने खेती (सेक फार्मिङ) बारे चर्चा गरिएको छ । यस्तो खेती नेपालमा गाउँदेखि शहरबजारसम्म गरिँदै आएको छ । जमीन भिरालो हुँदा बीउ, मलखादलगायत पानीमा बग्ने समस्या हुन्छ । यसको विकल्पमा बोरामा खेती गर्ने प्रविधिको विकास भएको हो । शहरबजारमा जमीन, मलखाद तथा पानीको कमी भएको कारण यस्तो खेतीप्रति आकर्षण बढेको पाइन्छ । पूर्वी अफ्रिकाको केन्यामा मात्रै १० लाखभन्दा बढी मानिसले यसरी गरिने खेतीलाई आफ्नो पेशा बनाएका छन् । त्यसैगरी शहरतिर गमला, पुरानो बाल्टिन, बाटा, पेयपदार्थको बोतल, माछा बेच्न राख्ने थर्मकुल बक्स, दूध, तेलको प्याकेट, पोलिथिनलगायतमा समेत तरकारीखेती गरेको पाइन्छ ।

कसरी गर्ने बोरामा खेती

सेक फार्मिङ विधिबाट खेती गर्न शुरूमा राम्रो, दह्रो (नमक्किएको) बोराको व्यवस्था गर्नुपर्छ । त्यसपछि बोराको बीचमा पर्ने गरी केही ठूलो प्वाल भएको पाइप राख्नुपर्छ । बोरामा आवश्यक मात्रामा भरिएको माटो र मलखादसँगै माटोको उचाइ पुग्ने गरी पाइपमा समेत स–साना ढुङ्गा वा गिट्टी भरिन्छ । त्यस्तै, भरिसकेपछि बोराबाट पाइप हटाउनुपर्छ । यसो गर्नाले पाइपकै आकारमा गिट्टी भरिने हुँदा बोरामा लगाइएको बालीमा उक्त गिट्टीको माध्यमबाट सिँचाइ गर्न सजिलो हुन्छ । यस्तो प्रविधिबाट बोराको चारैतिर आवश्यक प्वाल पारी सागलगायतको बिरुवा लगाउन सकिन्छ । यद्यपि, नेपालमा भने सामान्यतया गिट्टीको प्रयोग नगरी पूरै बोरा वा आधामा मात्र खेती गर्ने चलन छ ।

माटो तथा हावापानी

यस्तो खेतीका लागि खुला, प्रशस्त उज्यालो भएको स्थान छनोट गर्नुपर्छ । साथै, बोरामा पानी जम्न दिनु हुँदैन । माटोभित्र समेत हावा खेल्न मिल्ने गरी सकेसम्म खुकुलो हल्का दुमट माटोको प्रयोग गर्नुपर्छ । प्राङ्गारिक मल प्रशस्त मात्रामा मिसाउनुपर्छ ।

फाइदा

यो प्रविधिबाट जमीन नभएकाले समेत सजिलै खेती गर्न सक्छन् । घरबाट निस्कने भान्साको फोहोर सदुपयोग हुन्छ । वातावरण प्रदूषणमा कमी आउँछ । साथै, आफैले उत्पादन गरेको स्वच्छ र शुद्ध अर्गानिक तरकारी उपभोग गर्न पाइन्छ । तरकारीका लागि छुट्ट्याइएको रकम तथा समयको बचत हुन्छ । विक्री गरेर आम्दानी पनि लिन सकिन्छ । काम नभएको तथा बिदाको समयमा तरकारीको स्याहार तथा गोडमेल गर्नाले स्वास्थ्य लाभ मिल्छ । हरियो बोटबिरुवाबाट प्राप्त स्वच्छ हावाले फ्रेश महसूस गराउँछ ।

समयको व्यवस्थापन

व्यस्त दिनचर्या भएको अवस्थामा पनि यो खेतीका लागि बिहान–बेलुकाको १र२ घण्टा समय दिए पुग्छ । तरकारी फलफूल केलाउँदा निस्केको फोहोर तथा घरबाट निस्किने अन्य कुहिने पदार्थलाई मल बनाएर तरकारीमा लगाउन सकिन्छ । साथै, तरकारी, भाँडा, लुगालगायत पखालेको पानीले नै सिँचाइ गर्न सकिन्छ ।

उत्पादन गर्न सकिने तरकारी

यो प्रविधिमार्फत साग, गोलभेँडा, करेला, फर्सी, बोडी, लसुन– प्याज, कुरिलो, बकुला, सिमीलगायत तरकारी उत्पादन गर्न सकिन्छ । त्यस्तै, मौसमी वा बेमौसमी तरकारीको रूपमा बन्दा, काउली, खुर्सानी, धनियाँ, पुदिनालगायतको खेती गर्न सकिन्छ । फलफूलहरूमा जुनार, अम्बा, स्ट्रबेरी, काँक्रो, कागती र जडीबुटीहरूमा बोजो, सुप, स्टेभिया, लेमन ग्रास, घोडताप्रे, घीउकुमारी, बाबरी, कपास, बिमिरोलगायत लगाउन सकिन्छ ।

रोगको उपचार

यस्तो खेती अर्गानिक किसिमले गर्दा राम्रो हुन्छ । बालीमा लाग्ने रोगकीरा नियन्त्रण गर्न, भिटामिनलगायत पोषक तत्त्व उपलब्ध गराउन गाईगोरुको गहुँत तथा साबुनपानीको प्रयोग गर्न सकिन्छ । त्यस्तै, उपलब्ध भएमा तितेपाती, कालोपाती ९बनमारा०, असुरो, सिस्नु, नीमलगायतको झोल पनि छर्न सकिन्छ । अधिक पानी र शीतबाट बचाउन, बेमौसमी तरकारी तथा फलफूल उत्पादन गर्न प्लाष्टिक घर बनाई बिरुवा हुर्काउन सकिन्छ ।

हामीले केहि थप जानकारी दिइएका छाै

जसका लागि तरकारी बारी नै युरोप र अमेरिका बन्यो

बिहानको मिरमिरेदेखि साँझको झिसमिसेसम्म माटो, मल, पानी र बिरुवासँग खेलिरहने बेनी नगरपालिका–२ खबराका चन्द्रबहादुर कार्कीले तरकारी बारीबाट मनग्य आम्दानी र सम्मान दुवै पाएका छन् । ‘कार्की जी नमस्कार’ भन्दै तरकारी बारीमा नै आउने ग्राहकलाई नमस्कार फर्काउँदै उनीहरुले रोजेको तरकारी टिपेर ग्राहकलाई दिँदै भलाकुसारीसम्म गर्न भ्याउने हसिला ५८ वर्षीय कार्की म्याग्दीका लागि अर्गानिक तरकारीका पिता मानिन्छन् ।

म्याग्दीको बेनी नगरपालिका–२ खबराका कार्कीका लागि घर अगाडिको तरकारी बारी नै युरोप र अमेरिका बनेको छ । ४० वर्ष अघिदेखि व्यावसायिक तरकारी खेती शुरु गरेका कार्कीले तरकारी फलाएर नै सम्पत्ति र सम्मान दुवै कमाएका छन् ।

तरकारीको बिउ र बिरुवासमेत आफ्नै नर्सरीमा उत्पादन गरेर तिनै बिरुवामार्फत व्यावसायिक रुपमा नै अर्गानिक तरकारी खेती गर्ने कार्कीले तरकारी बेचेर नै मासिक ६५ हजार रुपैयाँभन्दा बढी आम्दानी गर्छन् ।

कार्की जस्तै अर्का कृषक छन् बेनपा–२ रोहोटेका शोभित शर्मा । शर्माले पनि व्यावसायिक रुपमा तरकारी खेती गर्न लागेको करीब २० वर्ष भयो । यो २० वर्षको अवधिमा शर्माले तरकारीबाट नै ५० लाख रुपैयाँभन्दा बढीको सम्पत्ति जोडिसकेका छन् ।

सानै उमेरमा बुबाको मृत्यु भएपछि परिवारको सम्पूर्ण जिम्मेवारी सम्हालेका ३८ वर्षीय शर्माले भने, ‘साँझ बिहान खाने कुरा हुँदैनथ्यो, घरको जिम्मेवारीले गर्दा पढ्न पनि सकिन्, विदेश जाने पैसा भएन, त्यसपछि शुरु गरे दुई रोपनी पाखोवारीमा तरकारी खेती ।’२० वर्ष अघिको दुःख सम्झदै शर्माले भने, ‘त्यही पाखोवारीमा गरेको तरकारी खेतीबाट नै मेरो जीवनमा पनि हरियाली छाउँदै आयो ।’

कार्की र शर्मा दुई प्रतिनिधि पात्र मात्र हुन् । म्याग्दीमा पछिल्लो समय व्यावसायिक रुपमा अर्गानिक विधिद्वारा तरकारी खेती गरेर सम्पत्ति र सम्मान कमाउने किसानको संख्या वृद्धि हुँदै गएको छ ।

तीन वर्षदेखि पर्यटकीय क्षेत्रको रुपमा विकास भएको लभ्लीहिलको तल्लोपट्टि २० मिटरको दूरीमा छ, म्याग्दीका अगुवा कृषक चन्द्रबहादुर कार्कीको घर । घर अगाडिको २२ रोपनी जग्गामा फलेका छन् गोलभेडा, काउली, बन्दागोपी, मुला, गाजर, सिमी, काँक्रो, साग, प्याज, लसुन, धनियाँ र अन्य तरकारीहरु । घरको माथिल्लोपट्टि एउटा टिनले छाएको छाप्रोको पसलमा फलफूल र तरकारी राखिएको छ ।

लभ्लीहिलमा जाने पर्यटक त्यही पसलमा आएर फलफूल र तरकारी किनेर फर्किने गर्छन् । कार्कीले करीब २२ रोपनी र शर्माले १४ रोपनी जग्गामा तरकारी खेती गरेका छन् । स्थानीय बजारमा कार्की र शर्माले उत्पादन गरेको तरकारीको माग अहिले पनि उत्तिकै छ ।

तरकारी बेचेर कार्कीले मासिक ६५ हजार रुपैयाँभन्दा बढी र शर्माले ५५ हजार रुपैयाँको हाराहारीमा आम्दानी गर्छन् । तरकारी मात्रै होइन, यी दुवै कृषकले फलफूल खेती, बाख्रापालन र माछापालन पनि एकसाथ गरेका छन् । कार्कीले तरकारीको साथमा केरा खेती र माछापालन गरेका छन् भने शर्माले बाख्रापालन गरेर दोहोरो आम्दानी लिन सफल भएका छन् ।

दुवैतर्फको आम्दानी जोड्दा दुवै कृषकको आम्दानी मासिक एक लाख रुपैयाँभन्दा बढी हुन्छ । अहिले पनि कार्की र शर्माको बारीमा काउली, बन्दागोपी, मूला, गाजर, सिमी, काँक्रो फलेका छन् । मौसम र बेमौसममा समेत तरकारी उत्पादन गर्ने कार्कीले शुद्ध अर्गा्निक तरकारी उत्पादन गर्छन् ।

बारीमा फलेको तरकारीको स्वाद र गुणका कारणले नै लामो समय बजारमा आफ्नो उत्पादन टिकेको कार्कीको भनाइ छ । ‘तरकारीमा प्रयोग गर्ने विषादी कस्तो हुन्छ मलाई जानकारी छैन,’कार्कीले भने, ‘रोग किराको नियन्त्रण गर्ने मेरो औषधि गाईवस्तुको गहुँत मात्रै हो ।’

गहुँतकै प्रयोगले मात्रै तरकारीमा लागेका सबै रोग किरा मर्ने गरेको अनुभव उनीसँग छ । कार्कीले उत्पादन गरेको आधा जसो तरकारी बारीबाट नै बिक्री हुन्छ भने बचेको उनकी पत्नी लक्ष्मी कार्कीले बजारमा पुर्याउने व्यवस्था मिलाउँछन् ।

कार्कीसँगै उनका चार जना परिवारका सदस्यले पनि तरकारी खेतीमा नै लागेका छन् । एउटै गाउँका यी दुई जना कृषकको देखा सिकी गरेर अहिले खवराको गाउँ नै तरकारी र फलफूलको गाउँमा परिणत भएको छ । २४० घरधुरीको बसोबास रहेको खवराका प्रायः सबै मानिसहरु तरकारी र फलफूल खेतीमा लागेका छन् । ‘अहिले खवरा गाउँ नै हरियाली गाउँमा परिणत भएको छ, ताजा र अर्गानिक तरकारी र फलफूलका कारण खवराको परिचय नै फेरिएको छ, नेपाल कम्यूनिस्ट पार्टी (नेकपा) बेनी नगरपालिकाका सचिव एवं स्थानीय राजकुमार थापाले भने ।

मानिसहरु अहिले छिटो र सस्तोका लागि तरकारीजन्य वस्तुमा पनि किटनाशक औषधि प्रयोग गर्दछन् । औषधिले मानिसको स्वास्थ्यमा कति असर पार्छ भन्ने खासै चासो राख्दैनन् तर कार्की र शर्माले उपभोक्ता स्वास्थ्यको हितमा हुने गरी तरकारी उत्पादन गर्दै आएका छन् ।

विषादीका कारण मानिसको स्वास्थ्यमा प्रत्यक्ष असर गर्छ भन्ने विषयमा गाइँगुइँ सुनेका कार्की कहिल्यै पनि तरकारीमा विषादी प्रयोग गर्ने र क्षणभरमै मालामाल हुने मन नपलाएको बताउँछन् ।

कार्की र शर्माले उत्पादन गरेको तरकारीको माग सदरमुकाम बेनी बजारमा धेरै छ । बाहिरबाट आयातित सस्तो तरकारीभन्दा उपभोक्ताले बरु केही रकम बढी तिरेरै भए पनि कार्की र शर्माले उत्पादन गरेको तरकारी खरीद गर्ने गरेका छन् ।

प्रायः यी दुई कृषकको तरकारी बेनी बजारमै खपत हुन्छ । अझ बजारमा तरकारी पुर्याउन नै हम्मेहम्मे पर्ने गरेको कृषकद्वयको अनुभव छ । ‘बजारमा होस् वा गाउँमा अर्गानिक तरकारी खोज्नेको माग बढ्दै गएको छ,’ शर्माले भने, ‘मागेजति तरकारी पुर्याउन सकेको छैन ।’

उपभोक्ताको चाहनाअनुसारको उत्पादन दिन सके पैसा कमाउन विदेश जान नपर्ने शर्माको भनाइ छ । प्रायः सबै काम आफैँले गर्ने शर्मालाई पछिल्लो समय प्रविधिले सघाएको छ ।

खेतबारीको खनजोत गर्नका लागि आधुनिक मेसिन आएकाले सहज भएको शर्माले बताए । ‘परिवारसँग रमाएर आफ्नै बारीमा कमाएको छु,’ अर्का कृषक कार्कीले भने, ‘मिहेनत गर्न सके कमाउन विदेश किन जानु ?’ तरकारीको उत्पादनबाट सफलता पाएका शर्मा र कार्कीले पछिल्लो समय फलफूल खेती, माछा र बाख्रापालनलाई समेत व्यवस्थित गर्ने बताएका छन् ।

तरकारी बारीबाट नै जीवनमा हरियाली ल्याउन सफल यी दुई कृषकको सिको गरे पैसा र सम्मान दुवै आफ्नै गाउँठाउँमा कमाउन सकिने स्थानीय वुद्धिजिवीको भनाइ छ ।

नोट : हामीले यो लेख कृषिपत्रिका डटकम बाट लिएका हौँ । कृषिपत्रिका डटकममा तपाईले कृषिबारे थप जानकारीहरु पढ्न सक्नुहुनेछ । यो लेख कृषिपत्रिका डटकममा पढ्नका लागि यो लिंकमा जानुहोस् । http://krishipatrika.com/

माथि उल्लेखित जानकारीहरु विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो । साथै तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला । तपाइको एक सेयरले थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग मिल्नेछ ।