हिमाली तथा केही पहाडी जिल्लामा स्ट्रबेरी खेती हुदैँ आएको छ । धेरै जसोले यसलाई ब्यावसायिक खेतीमा रुपमा अंगाल्न सकेका छैनन् । तर, पछिल्लो समय जाडो याममा फल दिने स्ट्रबेरी खेती तर्फ नेपाली कृषकहरु व्यावसायीक रुपमा लागेका छन् । स्ट्रबेरी र भूईंकाफल ( Strawberry) फ्रागार्या प्रजातिको विरूवा हो ।

यो फल विश्वव्याी खेती गर्ने गरिन्छ भने यस फलको विशेष गन्ध यसको पहिचान बनेको छ । यो फल रातो रङ्गको हुने गर्दछ । यस फललाई ताजा फलको रूपमा साथै प्रशोधन गरि जाम, रस, आइसक्रिम, मिल्क शेकको रूपमा समेत खाने गरिन्छ ।

कस्तो हावापानीमा लगाउनु उपयुक्त हुन्छ त ?

हावापानीको दृष्टिकोणले यो बाली शीतोष्ण प्रदेशीय हो । यसका विभिन्न जातहरु विभिन्न हावापानीमा अनुकूलित हुने किसिमले विकसित भएकोले यसको खेती समशीतोष्ण प्रदेशसम्म भैरहेको छ । यसको खेती संसारका धेरै देशहरुमा भैरहेको पाईन्छ र पौष्टिकताको हिसाबले महत्वपूर्ण मानिन्छ।

यसको खेती समुद्र सतहबाट १००० देखि २००० मिटरसम्म सफलताका साथ भैरहेको छ। प्रशस्त घामको प्रकाश पुग्ने र सिंचाईको सुविधा पुर्‍याउन सकिने ठाउँमा यसको खेती राम्रो हुन्छ।

यसको गुणस्तरीय फल उत्पादन गर्न तापक्रमको कस्तो अवस्था रहनु पर्दछ

यस बालीको वृद्धि र विकासको लागि २२ देखि २५ डिग्री सेल्सियस दिनको र ७ देखि १३ डिग्री सेल्सियस रातको तापक्रम सबैभन्दा राम्रो मानिन्छ। ७ डिग्री सेल्सियस भन्दा तलको तापक्रम हुँदा र तुषारो पर्दा फूल मर्ने समस्या देखिन्छ। अतः हाल त्यस्तो प्रतिकूल मौसम भएका ठाउँहरुमा प्लाष्टिक हाउसमा खेती गर्ने चलन बढेको पाईन्छ ।

खेतीको लागि कस्तो प्रकारको माटो बढी उपयुक्त मानिन्छ ?

प्रशस्त प्राङ्गारिक पदार्थ भएको, पानी नजम्ने तर पानी अडिने, हल्का बलौटे दोमट, हल्का अम्लिय पि.एच. मान ५.७ देखि ६.५ सम्म भएको माटो उत्तम मानिन्छ ।

माटोको अम्लियपना र अन्य तत्वको कमीले बिरुवामा कस्तो असर पार्दछ ?

माटोमापि.एच. को मात्रा बढी भएमा जराको वृद्धि विकास राम्रो हुँदैन। साथै क्याल्सियमको मात्रा बढी भएमा पात ओइलाउने समस्या बढी हुन्छ। एउटै जमिनमा धेरै वर्ष खेती गर्न राम्रो मानिँदैन।

स्ट्रबेरीका जातहरु कति छन् ?

नेपालमा थुप्रै जातहरु भित्र्याइएका छन् जसमध्ये प्रिमियर, नर्थवेष्ट, रेडकोर्ट, रोयल सोभरिन, आलब्रिटन, न्योहो, ओफ्रा, क्यामारोसा, ब्लेक मोर, ओनो आदि मुख्य हुन्।

यसका बिरुवा कसरी उत्पादन गरिन्छ ?

यसको बिरुवा तयार गर्दा फल फलिसकेका रनर्सलाई प्रयोग गरिन्छ। एउटा स्वस्थ्य बिरुवाबाट १२-१८ वटासम्म रनर्स तयार गर्न सकिन्छ। माउवोटबाट निस्केका लहराहरु भूईंको सम्पर्कमा आउँदा गाँठोबाट जरा निस्कन्छन् र नयाँ रनर्सको विकास हुन्छ।

यसका बिरुवाहरु तयार हुन कति अवधि पर्खनु पर्दछ ?

माघ-फाल्गुणमा लगाईएको बिरुवा जेष्ठ-आषाढमा रनर्सको रुपमा विकसित हुन्छन् र तिनीहरुलाई नर्सरी ब्याडमा सारेर हुर्काएपछि आश्विन-कात्तिकमा बगैंचामा सार्नको लागि तयार हुन्छन्।

स्ट्रबेरीको बिरुवा रोप्नु अगाडी जग्गाको तयारी कस्तो हुनु पर्दछ ?

यसका बिरुवा साना र लहरा जाने किसिमका भएकोले जग्गाको तयारीमा निकै ध्यान पुर्‍याउनु पर्दछ। माटोलाई २-३ पटक खनजोत गरी डल्ला फुटाई झारपात हटाई माटोलाई खुकुलो र बुरबुराउँदो बनाउनु पर्दछ।

प्रति रोपनीमा लगाउने बिरुवाको लागि कति परिमाणमा मलखादको प्रयोग गर्नु पर्ला ?

यसको लागि माटो निकै मलिलो चाहिने हुँदा प्रति रोपनी २.५ मे.टन गोबर वा कम्पोष्ट मल, ६-८ के.जी. यूरिया, ५.६ के.जी. डि.ए.पि. र ५-७ के.जी.म्यूरेट अफ पोटास आवश्यक पर्दछ। यसको अलावा जिंक सल्फेट ०.५५, क्याल्सियम सल्फेट ०.५५, र बोरिक एसिड ०.२५ फोलिएर स्प्रे गर्दा उत्पादनमा वृद्धि हुन्छ ।

यसका बिरुवाहरुकुन समय र कति दूरिमा लगाउन उचित हुन्छ ?

यसका बिरुवा बगैंचामा लगाउँदा भाद्र-आश्विन र माघ-फाल्गुणमा लगाउन उपयुक्त हुन्छ। बिरुवा देखि बिरुवाको दूरी ४५ से.मी. तथा लाईन देखि लाईनको दूरी ७५ से.मी. राख्नु उचित हुन्छ। एक रोपनी जमिनको लागि १७५ देखि २२५ वटासम्म बिरुवाको आवश्यकता पर्दछ।

यसलाई अन्य बाली भन्दा केही विशेष हेरचाह गर्नु पर्दछ ?

यसका जराहरु माटोको सतहमै फैलिने हुँदा माटोमा प्रशस्त चिस्यान रहनु पर्दछ र झारपात बढ्न दिनु हुँदैन। यसको लागि कालो रङ्गको १.५ मि.मि. मोटाई भएको प्लाष्टिकले मल्चिङ्ग गर्‍यो भने चिस्यान पनि कायम रहन्छ र झारपात पनि पलाउन दिँदैन।

यसलाई सिंचाईको कति आवश्यकता पर्दछ ?

यसका जराहरु छोटो हुने र सतहमै फैलिने हुँदा माटोमा चिस्यान कायम राखी रहन आवश्यक हुन्छ।हिउँदको मौसममा कात्तिक देखि माघसम्म महिनाको दुई पटक सिंचाई गरे पुग्छ भने गर्मी मौसममा हप्ताकै दुई पटक सिंचाई गर्नु पर्ने हुन्छ।

स्ट्रबेरीका बिरुवालाई काटछाँट र तालिमको जरुरी हुन्छ ?

उत्पादनमा वृद्धि गर्न र गुणस्तरीय फल उत्पादन गर्न काटछाँट र तालिमको नितान्त आवश्यकता पर्दछ । बिरुवालाई तीन प्रकारले तालिम दिन सकिन्छ । पहिलो एक मूल प्रणाली जसमा शुरुमा रोपेको मूलबोट राखी अन्य सबै रनर्स उखेलेर हटाउनु पर्दछ ।

दोश्रो चार मूल प्रणाली जसमा पहिले रोपेको मूलबोटबाट चारबटा रनर्सलाई बढ्न दिईन्छ भने तेश्रो बहुमूल प्रणालीमा एक फिटसम्मको दूरीमा सबै रनर्सलाई बढ्न दिइन्छ र त्यसपछिका रनर्सलाई बढ्न नदिई सबैलाई उखेलेर हटाइन्छ।

यसको फल तयार हुन कति अवधि लाग्दछ ?

फूल फुलेको करीब ३० देखि ४५ दिनभित्र फलको विकास हुन्छ र त्यसको १५ देखि २० दिन पछि फल टिप्नलायक हुन्छ ।

स्ट्रबेरीको फल पाकेको कसरी पहिचान गर्न सकिन्छ ?

फलको आधा चौथाई भागमा रङ्गको विकास भएपछि फल टिप्नलायक हुन्छ। ठीक्क पाकेको फल गुलाबी रातो सुन्तले देखि जात अनुसार बैजनी रङ्गको हुन्छ ।

यसको फल कसरी टिप्नु पर्दछ रु के सबै फल एकै पटक टिप्न सकिन्छ ?

फल एकै पटक नपाक्ने भएकोले पटक पटक गरी टिप्नु पर्दछ। फललाई एक एक गरी भेट्नो सहित नङ्गले वा सानो खाले क्लिपरको सहायताले टिप्नु पर्दछ । नजिकको बजारको लागि फल पूरै पाकेपछि टिप्नु पर्दछ भने टाढाको बजारका लागि आधा रङ्ग विकसित भएपछि टिप्नु पर्दछ ।

यसको उत्पादन प्रति रोपनी कतिसम्म लिन सकिन्छ ?

यसको उत्पादन माटोको मलिलोपना, सिंचाई तथा मौसमले निर्धारण गर्दछ। सरदरमा लिने हो भने १-२.५ मे.टन सम्म उत्पादन भएको पाइएको छ।

यसबालीलाई कीराहरुले कतिको सताउँदछ 

अन्य बालीहरुको तुलनामा कीराहरुकमै लाग्दछन् तापनि रातो माकुरे, सुलसुले र जापानिज खपटे कीराहरुले नोक्सानी गर्दछन्।

यसमा लाग्ने रातो माकुरे कीरा कस्तो खालको कीरा हो र यसलाई कसरी नियन्त्रण गर्न गरिन्छ ?

दुई थोप्ले रातो माकुरे, सुलसुले पातको तल्लो सतहमा बसी बिरुवाको पातबाट रस चुस्दछ र बिरुवा कमजोर भई उत्पादनमा ठूलो ह्रास हुन्छ। यसको नियन्त्रणका लागि मित्र जीवको संरक्षण तथा सुलसुलेनाशक डाइकोफोल १-२ मि.लि.प्रति लिटर पानीमा मिसाई छर्नु पर्दछ।

जापनिज खपटे कीरा के हो ?

यसको माउ खपटेले फलमा प्वाल पारेर खान्छ भने लाभ्रेले जरा खाई नोक्सानी गर्दछ। यसको रोकथाम गर्न विविध उपाय गर्न सकिन्छ जस्तै खपटेलाई टिपेर नष्ट गर्ने, फेरोमन पासोको प्रयोग गर्ने र बढी आक्रमण भएमा पाइरिथ्रीन वा कार्बारिल जस्ता विषादिहरु १-२ मि.लि.प्रति लिटर पानीमा मिसाई छर्नु पर्दछ।

यस बालीमा रोगको प्रकोप कस्तो छ ?

यस बालीमा देखा पर्ने रोगहरुमा खैरो ढुसी, कालो दाग हुने, खराने, पातको थोप्ले, जरा कुहिने आदि हुन्। यिनीहरु मध्ये खैरो ढुसी र जरा कुहिने रोगले बालीलाई बढी नोक्सानी गरेको पाईन्छ।

यस बालीमा खैरो ढुसी रोगले कसरी क्षति गर्छ र यसबाट बच्न के उपाय गर्नु पर्ला ?

यस रोगको ढुसीले आक्रमण गरेपछि फलमा खैरो धूलो जस्तो पाउडर देखिन्छ र रोगको प्रकोप बढी भएपछि फल सडेर जान्छ। यसलाई रोकथाम गर्न लक्षण देखिएका फलहरु टिपेर नष्ट गर्ने र फूल फक्रनासाथ थिराम वा क्याप्टन जस्ता विषादि १-२मि.लि. प्रति लिटर पानीमा मिसाई छर्नु पर्दछ।

फल लामो समयसम्म घामको सम्पर्कमा आउँदा नोक्सानी हुन्छ ?

लामो समयसम्म घामको सम्पर्क तथा सुख्खाको कारणले गर्दा फलको रातो रङ्ग विस्तारै हराउँछ र फलमा दाग देखिन्छ। माटोमा ठिक्कको चिस्यान कायम राख्ने र बढी घाम लाग्ने स्थानमा छायाँको व्यवस्था गरेमा यस समस्याबाट पार पाउन सकिन्छ।

एक्कासी फलको मुख फुट्ने र फल खोक्रो हुने समस्या पनि यदाकदा सुनिन्छ नि ?

तापक्रममा आएको एक्कासीको परिवर्तनले गर्दा फलको टुप्पो फुट्ने साथै फल खोक्रो हुने गर्दछ जसलाई भ्यागुते मुख पनि भनिन्छ। यस्तो अवस्थालाई सहन गर्ने खालका जात पनि विकास भएका छन् । वास्तवमा यस्ता समस्याहरु यदाकदा देखिन्छन् ।

यसका धेरै कारणहरु मध्ये मौरीको क्रियाकलापमा कमी आई राम्ररी परागसेचन नहुनु, माटोमा नाईट्रोजनको मात्रा बढी हुनु आवश्यकता भन्दा बढी चिसो र तुषारो मुख्य मानिन्छ।

नुवाकोटमा मात्रै करीब दुई सय परिवारले स्ट्रबेरीको व्यावसायिक खेती गरिरहेका छन्। जिल्लामा स्ट्रबेरीको वार्षिक कारोबार रु.४ करोड भन्दा बढि कारोवार हुने गरेको छ ।

नोट : हामीले यो लेख कृषिपत्रिका डटकम बाट लिएका हौँ । कृषिपत्रिका डटकममा तपाईले कृषिबारे थप जानकारीहरु पढ्न सक्नुहुनेछ । यो लेख कृषिपत्रिका डटकममा पढ्नका लागि यो लिंकमा जानुहोस् । http://krishipatrika.com/

माथि उल्लेखित जानकारीहरु विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो । साथै तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला । तपाइको एक सेयरले थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग मिल्नेछ ।