भूकम्प र झरीको हैरानी कमकम हुँदै गएसँगै घाम चर्किन थालेको छ । उपत्यका जस्तो उचाइमै चिरिक्क पोल्ने तराईमा कस्तो असर पारिरहेको होला , सहजै अनुमान गर्न सकिन्छ । केही दिनयता दिउँसो घरबाहिर निस्कनु कष्टप्रद बन्दै गएको छ । योसँगै सावधानीको अर्को बुँदा थपिएको छ ।

यो मौसममा शरीरलाई गर्मीको कुप्रभावबाट जोगाउन धेरै जनाले धेरै उपाय अपनाउने गरेका छन् । तिनै व्यक्ति पनि आँखा जस्तो संवेदनशील अंगको सुरक्षाबारे भने त्यति होसियार रहेको पाइँदैन । घाममा लगाउने उपयुक्त प्रकारको चस्मा, सनग्लास वा गगल्सले गर्मी याममा तपाईंका आँखालाई सुरक्षित पर्यावरण प्रदान गर्ने गर्छ,

बीपी कोइराला लाइन्स नेत्र अध्ययन केन्द्रका निर्देशक डा. डीएन साह भन्छन् ।

अध्ययनहरूले के देखाएका छन् भने, परावैजनी किरणसँगको बढ्दो सम्पर्कका कारण भविष्यमा मोतीबिन्दु हुन सक्छ । यसबाट बाँच्न सनग्लास लगाउनुपर्छ ।

उपयुक्त गुणस्तरको चस्माले तपाईंका आँखालाई कडा घामबाट मात्र जोगाउँदैन, धूलो, धुवाँ जस्तो प्रदूषणबाट सुरक्षित राख्नुका साथै अनुहारलाई स्टाइलिससमेत बनाउँछ ।तर, यो मौसममा परावैजनी किरण (अल्ट्राभ्वाइलेट रे) लाई अवशोषित गर्ने क्षमता नभएको गाढा रंगको चस्मा लगाउँदा फाइदाको साटो बेफाइदा हुन सक्छ, डा. साह भन्छन् ।

चस्मा सभैं शतप्रतिशत परावैजनी किरण छान्ने किसिमको लगाउने गर्नुपर्छ । सिसाको रंगको मात्राको सम्बन्ध परावैजनी लगायत अन्य घातक विकिरणलाई रोक्ने क्षमतासँग हुँदैन ।

सामान्य व्यक्ति घाममा जाँदा प्रकाशको तीव्रता अनुसार आँखाको पुतलीले आफ्नो आकार परिवर्तन गर्ने गर्छ । अर्थात्, आँखाभित्र जाने प्रकाशको मात्रालाई नियन्त्रित गर्छ । घाम बढी भए पुतलीको प्वाल सानो हुन्छ, जसले गर्दा कम मात्रामा प्रकाश आँखाभित्र जान्छ ।

आँखाको नानी न्यूनतम प्रकाशमा अधिकतम खुल्छ र अधिकतम प्रकाशमा धेरै साँघुरो हुन्छ । कालो वा कुनै गाढा रंगको सिसा भएको सनग्लास लगाएर घाममा निस्किँदा आँखाको पुतली ठूलै हुन्छ । यसैले, तपाईंले लगाउने सनग्लास परावैजनी किरण अवशोषित गर्न नसक्ने खालको छ भने आँखा थप जोखिममा पर्छन् । सनग्लासले गर्दा पुतलीको आकार ठूलो नै हुन्छ, जसले गर्दा बढी मात्रामा आँखाको पर्दामा परावैजनी किरण जान सक्छ ।

युभी प्रोटेक्टेड अर्थात् परावैजनी किरणलाई रोक्न सक्ने क्षमता नभएको सनग्लास लगाएर घाममा निस्कँदा आँखालाई झन् हानि हुन्छ, डा. साह भन्छन्, घाममा निस्कँदा युभी प्रोटेक्टेड सनग्लास लगाउनुस् । सामान्य गगल्स लगाउनुको सट्टा केही नलगाई निस्कनु नै फाइदाजनक हुन्छ ।

गर्मी याममा अभिभावकहरूले घरबाहिर निस्किँदा आफ्ना बालबालिकालाई पनि गगल्स लगाइदिने गरेका हुन्छन् । कतिसम्म भने, काखको नानीलाई पनि त्यही रूपमा बाहिर निकाल्ने गर्छन् । त्यस्ता बालबालिका झलक्क हेर्दा राम्रा पनि देखिन्छन् । तर, तिनलाई गगल्स आवश्यक कुरो होइन । तर विशेषज्ञहरूले भने बालबालिकालाई सन ग्लास आवश्यक नरहेको बताउँछन् ।

भगवान्ले बच्चाको आँखालाई प्रकृति अनुसार सन्तुलनमा राख्न अपार क्षमता दिएका छन्, डा. साह भन्छन् । उनका अनुसार, घाममा वयस्कको दाँजोमा बालबालिकाको आँखाको पुतली धेरै सानो हुन सक्छ । यसले गर्दा परावैजनी किरणको कुप्रभाव बालबालिकामा त्यस्तो विधि पर्दैन । बालबालिकाका आँखाको सुरक्षाका लागि प्रकृतिले नै यस्तो उपाय अपनाएको हो ।

सनग्लासको उपयोग खुल्ला र प्रकाश भएको ठाउँमा गर्नुपर्छ । भारतको राष्ट्रिय अन्धत्व निवारण समितिद्वारा गरिएको सर्वेक्षण अनुसार, घर, ससाना बाटाघाटा र अँध्यारा स्थानहरूमा सनग्लासको उपयोग खतरनाक हुन सक्छ ।

# बन्द वा अँध्यारो स्थानमा सनग्लासको उपयोगले आँखाको पुतलीको स्वाभाविक लचकता कम भएर फोटोफोबिया रोग हुन सक्छ । विज्ञहरूका अनुसार, सनग्लासलाई केवल फेसनको वस्तु सम्झिनु हुन्न । कुनै सजावटी वस्तु जस्तै गरी सनग्लासको उपयोग गर्नु हँुदैन ।

सनग्लास आँखालाई आराम दिन लगाउने हो । तर, लेन्सको उचित र उपयुक्त चुनाव गर्न चुक्नु हुन्न । लामो समयसम्म गुणस्तरहीन लेन्स लगाउनाले आँखाको स्वास्थ्यमा असर पर्छ । आँखा कमजोर हुँदै जान्छन् ।

बजारमा पाइने सनग्लासको सिसामा केही पावर हुन सक्छ, डा. साह सावधान गराउँछन्, यस्तो सनग्लास लगाउँदा दृष्टिमा असर पर्न सक्छ । घाममा लगाउने चस्मा अर्थात् सनग्लासमा उपयोग गरिएको सिसा गुणस्तरीय हुनुपर्छ । यसमा अलिकति पनि पावर हुनु हँुदैन । सनग्लास पातलो होइन कि ठूलो हुनुपर्छ, पूरै आँखालाई छोप्ने खालको । घामबाट जोगिन लगाइने सबै चस्माको सिसा परावैजनी किरणलाई रोक्ने क्षमतायुक्त हुनैपर्छ ।

त्यस्तै, सनग्लासको सिसा नीलो वा हरियो रंगको हुनु उचित मानिन्न । किनभने, त्यस्तो सनग्लासले ट्राफिक संकेतहरूमा भ्रम उत्पन्न गर्न सक्छ । कालो र खैरो सिसा भएको सनग्लास राम्रो मानिन्छ, डा. साह भन्छन् ।

कतिपय व्यक्ति अत्यन्त महँगो अन्तर्राष्ट्रिय ख्यातिप्राप्त ब्रान्डको सनग्लास नै राम्रो हुने मान्यता राख्ने गर्छन् । तर, यो सही होइन । अन्तर्राष्ट्रिय ख्यातिप्राप्त ब्रान्डको अत्यधिक महँगो सनग्लास जस्तै गुणस्तरको चस्मा निकै कम मूल्यमा किन्न सकिन्छ, साह भन्छन्, राम्रो र भरपर्दो कम्पनीको ग्लास अप्टिसियनको सुझावमा लिएर आफूले चाहे जस्तो फ्रेममा फिट गराउनुस्, यो २० हजार पर्ने गगल्सभन्दा कम हुँदैन ।

अप्टिसियन (चस्मा बनाउने व्यक्ति) को सहयोगमा सनग्लासको सिसाको छान्दा गुणस्तरीय सनग्लास आमनेपालीको पहँुचमा हुने उल्लेख गर्दै उनी थप्छन्, घामको चस्माको सिसाको गुणस्तरमा सम्झौता गर्नु हुन्न ।

सनग्लास लगाउनुअघि सफा लुगाले लेन्स सफा गर्ने गर्नुपर्छ । नत्र संक्रामक रोग सर्ने सम्भावना हुन्छ । अरूको सनग्लास भरसक लगाउनु हुन्न ।

किन लगाउने, कस्तो नलगाउने:-

. मोतीबिन्दुको कारक परावैजनी किरणबाट आँखामा असर नपरोस् भनी सनग्लास लगाउनुपर्छ ।

. तर, परावैजनी किरणलाई अवशोषित गर्ने क्षमता नभएको सनग्लास लगाउँदा फाइदाको साटो बेफाइदा हुन सक्छ ।

. सनग्लासको रंगको मात्राको सम्बन्ध परावैजनी लगायत अन्य घातक विकिरणलाई रोक्ने क्षमतासँग हुन्न ।

. त्यति उज्यालो नभएका स्थानमा सनग्लासको उपयोगले आँखाको पुतलीको स्वाभाविक लचकता कम भएर फोटोफोबिया रोग हुन सक्छ ।

. बालबालिकालाई सनग्लास आवश्यक हुन्न ।

थप जानकारी :

आँखाको दृष्टि कमजोर छ ? यस्तो विधी अपनाउनुहोस्

हिजोआज हरेकजसो घरका एक न एक सदस्य चस्मा लगाउनुपर्ने वाध्यतामा हुन्छन् । कसैमा टाढाका बस्तु नदेख्ने त कसैलाई नजिकको बस्तु खुट्याउन नसक्ने समस्या हुन्छ । यस्तो समस्या कसैले जन्मजात लिएर आउछन् भने कसैलाई विभिन्न परिस्थितीबस हुने गर्छ । यस्तो अवस्थामा सामन्य दिनचर्या कठिन बन्छ । खान, बस्न, हिँड्न, पढ्न, हेर्न, काम गर्न असहज हुन्छ । त्यसैले आँखाप्रति हामी सर्तक र संवेदनसिल हुनैपर्छ ।

आँखा पाक्ने, चिलाउने, दुख्ने अवस्था यदाकदा आउँछ । यो आम समस्या हो, जसलाई उपचारपछि सामन्य अवस्थामा फर्काउन सकिन्छ । तर, जटिल वा दीर्घकालिन समस्याहरुमा भने उपचारसँगै विभिन्न सावधानी अपनाउनुपर्ने हुन्छ ।

आँखाको दृष्टि कस्तो हुनुपर्छ ?

हामी सबैको दृष्टि एकसमान हुँदैन । कसैको दृष्टि राम्रो हुन्छ, जसले आसपासका दृश्यहरु स्पष्टसँग देख्नत सक्छन् । तर, कसैले त्यस्ता दृश्यहरु धमिलो देख्छन् । आँखाको दृष्टि कति राम्रो छ भनेर मापन गर्ने सरल बिधी छ । सामन्यतः एउटा निश्चित दुरीमा, निश्चित आकारको अक्षरहरु राखेर त्यसलाई देख्न सक्ने क्षमताको आधारमा आँखाको दृष्टिको स्तर जाँच्न सकिन्छ ।

सामन्यतः दृश्यको तीक्ष्णता एक चार्ट तीन मिटर वा ६ मिटर वा ४० सेन्टिमिटर दुरीमा राखेर नाप्ने गरिन्छ । यसैको आधारमा कसको दृष्टि सामन्य छ, कसको दृष्टिमा समस्या छ र कसको अन्धापन छ भन्ने कुरा छुट्याउन सकिन्छ ।

के कारणले दृष्टिमा समस्या हुन्छ ?

आँखामा धेरैखाले समस्या हुन्छन् । कसैले जन्मजात दृष्टि गुमाएका हुन्छन् । कसैको विभिन्न संक्रमणले आँखाको ज्योति हराउन सक्छ । आँखा सम्बन्धीका समस्याहरुको सहि उपचारको अभावमा दृष्टि गुमाउनु पर्ने हुनसक्छ । शक्तिशाली प्रकासमा निरन्तर पढ्ने, लेख्ने, निरन्तर कम्प्युटर वा मोवाइलको स्त्रिmनमा हेर्ने, हावामा हानिकारक प्रदूषणको सम्पर्कमा आउनु, पाचन विकार, अन्तुलित खानपान, भिटामिन ए को कमी जस्ता कुरा कमजोर दृष्टिका लागि जिम्मेवार हुन्छ । मदिराको सेवनले पनि आँखामा समस्या निम्त्याउँछ ।

सावधानी

जटिल किसिमको समस्यामा शल्याक्रिया वा विशेष उपचार पद्धतीबाट आँखाको दृष्टि जोगाउन सकिन्छ । यद्यपी सामन्य अवस्थामा भने खानपान, जीवनशैलीमा परिवर्तन गनुपर्ने हुन्छ । यसका साथसाथै विशेष सावधानी अपनाउनुपर्छ ।

– धूलो, धूँवा, चहकिलो प्रकास, हानिकारक वायु आदिबाट आँखालाई जोगाउनुपर्छ । यसका लागि चस्मा लगाउन सकिन्छ ।

– आँखा आसपासको भागलाई सधै सफा राख्नुपर्छ । खासगरी सुत्नुअघि आँखा सफा पानीले धुनुपर्छ ।

– मधुमेह, उच्च रक्तचापले पनि आँखाको दृष्टि कमजोर बनाउँछ, त्यसैले मधुमेह, रक्तचाप नियन्त्रण राख्नुपर्छ ।

– आँखामा जथाभावी औषधी नराखौं ।

– कमसल खालको चस्मा लगाउनु हुन्न ।

– आँखामा कुनै बस्तु पस्यो भने रगड्नु हुँदैन ।

घरेलु उपचार बिधी

१. आँखाको दृष्टि कमजोर भएकाले हरेक दिन गाजरको जुस सेवन गर्नुपर्छ । हरियो एवं ताजा सागपात आफ्नो खानामा सामेल गर्नुपर्छ ।

२. खानामा भिटामिन-ए अनिवार्य सामेल गरौं । गाजर, सुन्तला, मेवा, पहेंलो रंगको सब्जी, पालक, धनिया, माछा, अन्डामा भिटामिन ए बिद्यमान हुन्छ ।

३. मोतियाबिन्दुको समस्या भिटामिन सिको कमीले हुनेगर्छ । त्यसैले भिटामिन सि प्राप्त गर्नका लागि सुन्तला, कागति, गोलभेडा, गोभी जस्ता खानेकुरा सेवन गर्नुपर्छ ।

४. बदाम, ओमेगा-३ फ्याटी एसिड, भिटामिन इ र एन्टि अक्सिडेन्टयुक्त खानेकुराले दृष्टिमा सुधार ल्याउँछ ।

अन्य विधी के छ ?

– रातभर पानीमा १० वटा जति बदाम भिजाएर राख्ने । बिहान त्यसको बोक्रा उतारेर पेस्ट बनाउने । यस पेस्टलाई तातो दुधसँग सेवन गर्नुपर्छ । यसलाई केहि महिनासम्म निरन्तरता दिनुपर्छ ।

– पिसेको सुकुमेललाई दुधमा राखेर उमाल्ने । यसलाई राती पिउने गर्नुपर्छ, जसले आँखालाई स्वस्थ्य बनाउँछ ।

– धनियाको तीन भागका साथ एक भाग चिनीको मिश्रण तयार गर्ने । यसलाई पिसेर पानीमा उमाल्ने, एक घण्टा त्यतिकै राख्ने । एक सफा कपडाले छानेर उक्त रस पिउनुपर्छ ।

नोट: माथि उल्लेखित स्वास्थ्य सम्बन्धी जानकारीहरु विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो । मानिसको शारिरिक अवस्था र समय अनुसार पनि माथि उल्लेखित कुराहरुको उपलब्धी फरक पर्छ । सम्पुर्णरुपमा यहि कुरामा मात्रै भर नपर्नुहोला । माथि उल्लेखित कुराहरु प्रयोग गर्दा तपाईको स्वास्थ्यमा थप खराबी देखिए, कृपया तुरुन्त रोकेर स्वास्थ्यकर्मीहरुसँग सल्लाह लिनुहोस् ।

साथै तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला । तपाइको एक सेयरले थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग मिल्नेछ ।