मेवा तराई तथा मध्य पहाडमा उत्पादन गर्न सकिने एक महत्वपूर्ण फल हो । क्यारिकेसी (caricaceae) समूहमा पर्ने यो फल पौष्टिक दृष्टीले निकै महत्वपूर्ण मानिन्छ ।

मेवा “भिटामिन ए” को महत्वपूर्ण श्रोत हो । बर्षैभरी फल दिने केही मात्र फलहरु मध्ये मेवा पनि एक हो । उत्कृष्ट उब्जाउ क्षमता, पुष्ठ फल तथा आकर्षक जातहरुले गर्दा फलहरुको समूहमा मेवाको बिशेष स्थान छ ।

करिब ४०० बर्षअघि भारत हुँदै मेवाको प्रवेश नेपालमा भएको मानिन्छ । नेपालमा बिशेषगरि घरायसी प्रयोजनको लागि मात्र मेवा लगाईएको पाईन्छ । भिटामिन ए, भिटामिन सि, कार्बोहाईड्रेट लगायत अन्य विभिन्न खनिजको महत्वपूर्ण श्रोत तथा उत्कृष्ट स्वाद भएको हुँदा मेवाको बजारमा अत्याधिक माग छ ।

हावापानी

मेवा उष्ण तथा उपोष्ण प्रदेशीय फल भएको हुँदा यसलाई तराई तथा मध्य पहाडमा सजिलै उत्पादन गर्न सकिन्छ । तातो तथा ओषिलो हावापानी मेवा खेतीका लागि उपयुक्त मानिने हुँदा समुद्री सतह देखि करिब १००० मि. उचाई सम्म यसको सफल व्यवसायीक खेती गर्न सकिन्छ । मेवाको राम्रो वृद्धि विकासका लागि करिब २१ डी सेल्सियस देखि ३३ डी. सेल्सियस सम्मको तापक्रम उपयुुक्त मानिन्छ ।

१० डी. सेस्ल्सियास वा सो भन्दा कम तापक्रम मेवा खेतीको लागि हानिकारक हुन्छ । मेवाखेतीका लागि करिब ३५ से.मी देखि २०० मि. सम्म औषत बार्षिक वर्षा उपयुक्त हुन्छ । मेवाको लागि पानी आवश्यक छ तर पानी जमेको भने पटक्कै हुनुहुदैँन । थोपा सिंचाई मेवाका लागि निकै राम्रो मानिन्छ ।

माटो

ब्यबसायिक मेवा खेतीको लागि पानी नजम्ने, प्रशस्त प्रांगारिक पदार्थ भएको, बलौटे दोमट माटो उपयुक्त मानिन्छ । मेवाका जराहरु जमिनबाट धेरै गहिराईमा जान नसक्ने हुँदा माटो मलिलो हुनु आवश्यक छ । उचित पानीको निकास भएको तथा हावा खेल्ने माटो यसको खेतीको लागि राम्रो मानिन्छ । पि.एच ६ – ६.५ मेवा खेतीको लागि सुहाउँदो हुन्छ ।

मेवाका जातहरु

मेवाका धेरै जातहरु मध्ये अत्याधिक प्रयोगमा ल्याईएका केही जातहरु यस प्रकार छन् ।

कोयटुम्बर – १

यस जातको बिकास राची नामक स्थानीय जातबाट भएको मानिन्छ । यसको बिरुवा होचो, सानैमा फल लाग्ने तथा फलहरु गुलिया तथा गोलो आकारका हुन्छन् । पेपिनको वास्ना नआउने हुँदा यसलाई ताजा फलको रुपमा प्रयोग गर्न सकिन्छ ।

कोयटुम्बर – २

ठूलो तथा पहेंलो फल लाग्ने यो मध्यम तथा अग्लो जात हो । यसमा पेपिनको मात्रा अत्याधिक हुन्छ ।

रेड लेडी

छिटै उत्पादन दिने तथा उत्कृष्ट स्वाद हुने यो निकै महत्त्वपूर्ण उन्नत जात हो । लगाएको आठ देखि नौ महिनामै उत्पादन लिन सकिने यस जातका बिरुवा रिङ्ग स्पट भाईरस संग प्रतिरोधात्मक हुन्छन्। रातो तथा बाक्लो गुदि हुने यसको फल निकै सुगन्धित तथा गुलिया हुन्छन् ।

कुर्ग हनी डिउ

यो व्यावसायिक दृष्टीले निकै महत्वपूर्ण जात हो । यसका सबै बिरुवा सत प्रतिशत फल दिने खालका हुन्छन् ( प्रायः उभयलिङ्गी अथवा पोथी ) । यो बाक्लो गुदि भएको लाम्चो खालको स्वादिष्ट फल दिने जात हो ।

वासिंगटन

यो निकै पुरानो जात हो । यो जातको बोट अग्लो, फल मध्यम तथा स्वादिष्ट हुन्छ । यसको एउटा फल एक के.जी. सम्म हुन्छ । पुसा नन्हा पुसा नन्हा जातका बिरुवा निकै होचा हुन्छन् । यो घरभित्रै पनि सजिलै लगाउन सकिन्छ । लगातार तीन बर्ष सम्म फल दिने यस उन्नत जातका बिरुवालाई गमलामा लगाउन अत्याधिक रुचाईन्छ ।

पुसा डेलिसियस

यसका सबै बिरुवाहरु फल दिने खालका हुन्छन् । यसको फल मध्यम आकारको निकै स्वादिष्ट हुन्छ। पुसा म्याजेस्टि यो पनि सत प्रतिशत फल दिने जातहरु अन्तर्गतनै पर्दछ । यसका फलहरु भाईरल रोग संग प्रतिरोधात्मक हुन्छन् । यिनको भण्डारण लामो समय सम्म गर्न सकिन्छ ।

पुसा ड्वार्फ़ : यो होचो बोट हुने तथा मध्यम आकारको फल दिने जात हो । यो जात बाक्लो गरि खेती गरिने पद्धति (high density orcharding) को लागि उपयुक्त मानिन्छ ।

लिङ्गको छनोट

लिङ्गको छनोट मेवा खेतीको लागि सबैभन्दा महत्वपूर्ण हुन्छ । सफल व्यावसायिक खेतीको लागि भाले, पोथी तथा उभयलिङ्गी मेवाको छनोट हुनु अत्यावश्यक छ । सामन्यतया भाले मेवाको फल लाग्दैन फुल्ने मात्र गर्दछ । यसकारण व्यवसायीक मेवा खेती गर्दा धेरै भाले मेवा राख्नु उपयुक्त मानिदैन । जब मेवा फुल्न थाल्छ तब मात्र भाले, पोथी तथा उभयलिङ्गी मेवा चिन्न सकिन्छ ।

भाले मेवाका फूलहरु झुन्डिएका तथा समूहमा आउने गर्दछन भने पोथी मेवाका फूलहरु छुट्टाछुट्टै आउदछन । भाले तथा उभयलिङ्गी मेवामा पुष्पदलहरु तल तिर जोडिएका हुन्छन् भने पोथी मेवामा स्वतन्त्र हुन्छन् । भाले मेवाका कोपिलाहरु निकै साघुरा तथा चम्चा आकारका हुन्छन् । यस्तै पोथी मेवाका कोपिला केही ठूला र सोलि आकारका हुन्छन् भने उभयलिङ्गी मेवामा बेलनाकार हुन्छन् ।

प्रसारण

मेवाको प्रसारण बीउ बाट हुन्छ । यसको बिरुवालाई नर्सरी बेडमा उत्पादन गर्न सकिन्छ । सामान्यतया एक हेक्टरमा बिरुवा लगाउन करिब ४५० देखि ५५० ग्राम बीउ चाहिन्छ ।

बेर्नाको तयारी

व्यावसायीक मेवा खेतीका लागि बेर्नाको तयारी अनिवार्य हुन्छ । बेर्ना तयार गर्न बेड बनाउदा चौडाई एक मि. , उचाई १५ से.मि. तथा लम्बाई आवश्यकता अनुसार तयार गरेर पाकेको गोबरमल माटोमा मिलाई सम्म बनाई १० से.मि.को फरक पारेर करिब एक से.मि. को गहिराईमा बिउ रोप्नु पर्दछ । बीउ रोपीसके पछि माथीबाट हल्का माटोले पुरी परालले छोपेर हजारीबाट हल्का पानी दिनुपर्दछ । बीउ रोपेको करिब १५-२० दिनभित्र बेर्ना उम्रन थालेपछि पराल हटाई दैनिक सिंचाई दिनुपर्दछ ।

बेर्ना रोपण

यसरी तयार भएको बेर्ना एक महिना पछि बल्ल रोप्न लायक हुन्छ । बेर्ना रोप्दा १५ से.मि. लम्बाई, १५ से.मि. चौडाई र २० से.मि.को खाडल बनाई, पाकेको गोबरमल राखी एक बोट देखि अर्को बोटको दुरि डेढ देखि दुई मिटरको फरकमा रोप्नु पर्दछ । बेर्ना रोपिसके पछि हल्का सिचाई दिनु पर्दछ । जब मेवा फुल्न थाल्छ उक्त समयमा भाले तथा पोथी मेवा पहिचान गरि १० बोट पोथी मेवामा एक बोट भाले मेवा राखी अरु भाले मेवा फालिदिनुपर्दछ ।

रोग तथा व्यवस्थापन

कोत्रे रोग, पात बटारिने रोग, पात डढुवा रोग तथा अन्य विभिन्न भाईरल तथा ढुसिजन्य रोगहरु मेवामा अत्याधिक लाग्ने केही रोगहरु हुन् । कोत्रे रोगको ब्यवस्थापन तातो पानीबाट तथा ढुसीनासक बिषादिको प्रयोगबाट गर्न सकिन्छ । पात बटारिने रोगको ब्यवस्थापनका लागि मोनोक्टोफर्स (०.०५%) बिषादिको प्रयोग उपयुक्त हुन्छ भने पात डढुवा रोगको ब्यवस्थापन वेभिष्टिन बिषादिको प्रयोग द्वारा गर्न सकिन्छ ।

निकै गुणकारी फल मेवाको नेपाली बजारमा दिन प्रती दिन बढ्दो माग छ तर माग अनुसार व्यवसायिक खेती हुन नसक्दा बढ्दो बजारमागलाई अहिलेको उत्पादनले धान्न सक्ने अवस्था छैन । नेपालमा व्यवसायीक मेवा खेतीको प्रचुर सम्भावना छ तर लगानी निकै कम छ फलतः मेवा खेती फस्टाउन सकेको छैन । यसकारण मेवामा लगानी बढाई आत्मनिर्भर हुनु आजको आवश्यकता हो ।

हामीले केहि सम्बन्धित थप जानकारी दिइएका छाै

 मेवा खानुका फाइदा

मेवामा भिटमनि ए पाइन्छ । गर्मी मौसममा मेवाको सेवन अमृत समान हुन्छ । यसले विभिन्न रोग संग लड्ने क्षमाता प्रधान गर्छ । यस्ता छन् मेवा सेवनबाट हुने फाईदाहरु

१. मेवाको नियमित सेवनले कलेजोलाई स्वस्थ राख्नुका साथै छालालाई पनि सुन्दर तथा स्वस्थ राख्न मद्दत गर्छ ।

२. मेवाको बियाँमा जिवाणु प्रतिरोधी गुण हुन्छ । मेवाको बियाँ पिँधेर घाउमा लगाउँदा घाउमा थप संक्रमण हुन दिदैन र घाउ छिटै निको हुन्छ ।

३. मेवामा प्रशस्त मात्रामा भिटामिन ए पाइने भएकोले यसको नियमित सेवनले आँखा तेजिलो बनाउँछ । साथै यसले रगतलाई सफा पनि बनाउँछ ।

४. जन्डिसका बिरामीले मेवाको नियमित सेवन गर्नाले फाइदाजनक हुका साथै यसले कलेजोलाई क्रियाशील बनाउन मद्दत पनि गर्छ ।

५. मेवा बजारमा सहज रुपमा पाइने र गाउँघरमा पनि सहजै फलाउन सकिने सस्तो फल पनि हो । मेवामा भिटामिन बी पनि पर्याप्त पाइन्छ ।

६. यसले शरीरमा फोलिक एसिड, तथा भिटामिन बी का विभिन्न रुपहरुको सरीरमा कमी हुन दिँदैन ।

७. यसमा पर्याप्त फाइबर पाइने भएकाले कब्जियत तथा अन्य पाचन प्रक्रिया सम्बन्धि समस्या समाधान गर्न मद्दत गर्छ ।

८. मेवाको नियमित सेवनले शरीरमा रोगप्रतिरोधात्मक क्षमता बढाउँछ ।

खानमा जति मीठो त्यत्तिकै गुणकारी मेवा

छालाका लागि मेवा छालाका लागि निकै लाभदायी मानिन्छ, यो फेसप्याकको रुपमा प्रयोग गर्न सकिन्छ । यसले छालाको जलन र संक्रमणबाट मुक्ति दिन्छ। फर्मेन्टेशन गरिएको मेवाको बोक्राले मरेका छालालाई पुनर्जीवन प्रदान गर्दै ताजा र चम्किलो राख्छ। छाला चोटमा पनि यो लाभकारी हुन्छ । मेवाबाट निम्न रोगहरुको उपचार गर्न सकिन्छ।

मेवा अन्य फलफूलको तुलनामा निकै स्वस्थ फल मानिन्छ । यो फल पेट तथा मुटु दुबैको लागि निकै लाभदायी हुन्छ। मेवा देख्न र खानमा जति मीठो हुन्छ यो त्यत्तिकै गुणकारी पनि हुन्छ ।

डंडीफोर र चाँया भएमा

काँचो मेवाको टुक्रा नियमित बेलुका अनुहारमा केही समय दलेर मुख धुने गरेमा डंडीफोर र चाँया निको हुँदै जान्छ ।

दाद आएमा

काँचो मेवाको टुक्रा काटेर दादमा नियमित लगाउने गरे दाद आएको ठिक हुन्छ । तर बासी मेवा भने प्रयोग गर्नु हुँदैन ।

काँचो मेवाको दूधमा गिलसिरिन मिसाएर जिब्रोमा विहान/वेलुका दल्ने गरे केही दिनमा ठिक हुन्छ ।

घाँटीभित्रबाट सुनिएमा

काँचो मेवाको टुक्रा पकाएर पानीले गारगल गरेमा २/३ दिनमा ठिक हुन्छ ।

चाउरी परेमा

मेवामा भएको एन्टिअक्सिडेन्टले उमेर अगावै छाला चाउरी पर्ने समस्याबाट मुक्ति मिल्छ। यसले मानिसलाई युवा बनाइराख्छ ।

कलेजोको क्यान्सरमा

यसले क्यान्सरको कोषको वृद्धिमा ढिला गराउछ र कलेजोलाई बचाउछ।

गर्भनिरोधक

भाले लंगुरमा गरिएको एक अध्ययनले मेवामा गर्भनिरोधक क्षमता पनि भएको पाइएको छ। त्यसैले पुरुषले मेवा प्रयोग गरेको अवस्थामा सहवास भएकामा तत्काल गर्भ रहने सम्भावना कम हुन्छ ।

नोट : हामीले यो लेख कृषिपत्रिका डटकम बाट लिएका हौँ । कृषिपत्रिका डटकममा तपाईले कृषिबारे थप जानकारीहरु पढ्न सक्नुहुनेछ । यो लेख कृषिपत्रिका डटकममा पढ्नका लागि यो लिंकमा जानुहोस् । http://krishipatrika.com/

नोट: माथि उल्लेखित स्वास्थ्य सम्बन्धी जानकारीहरु विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो । साथै तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला । तपाइको एक सेयरले थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग मिल्नेछ ।