पहिले–पहिले मुटु रोगलाई वृद्धवृद्धा मानिसहरूको रोग मानिन्थ्यो । तर पछिल्लो समयमा मुटु रोग किशोर तथा युवा अवस्थाकै मानिसहरूमा समेत डरलाग्दो गरी फैलिएको पाइन्छ । मुटु रोग विश्वमा धेरै मानिसको ज्यान लिने प्रमुख रोग हो । त्यसकारण यसप्रति सावधान हुनैपर्छ । उच्च रक्तचाप, मधुमेह, हृदयघात, कोलेस्टेरोल, युरिक एसिड आदिको समस्या निकै बढेको देखिन्छ ।

मुटुका धेरै जसो रोगहरू जीवनशैलीसँग सम्बन्धित छन् । आजकल जीवनशैली व्यवस्थित छैन । अव्यवस्थित जीवनशैलीको नतिजा हो मुटुको रोग । आधुनिक सभ्यता, व्यस्त जीवन, महत्वकांक्षा, भोजभतेर, कम्प्यूटर, टेलिभिजन, अत्याधिक मानसिक तनाव, व्यायामको कमी, पैसा कमाउने दौड यी नै हुन् संक्षिप्तमा मुटु रोग बढ्नुका प्रमुख कारणहरू :

यसकारण जीनव शैलीलाई व्यवस्थित गर्न सकेको अवस्थामा धेरै हदसम्म मुटु रोग रोक्न सकिन्छ । मुटु रोग नियन्त्रणका लागि जीवन शैली व्यवस्थित गर्नेतर्फ लाग्न जरुरी छ । सुत्ने, उठ्ने, खाने, पिउने, बानी व्यावहार, सोचाई, दिनचर्या आदि सबै जीवन शैलीभित्र पर्दछन् ।

सम्झन सजिलो होस् भनी जीवन शैलीलाई आहार, विहार र विचार गरी तीन वटा पक्षमा विभाजित गरेर हेर्न सकिन्छ । मानिसको आहार, विहार र विचारको स्वरूप नै जीवन शैली हो । यी लक्षणहरू देखिएमा सचेत हुनुहोस् कि तपाइँलाई पनि मुटुको रोग सुरु भइसकेको हुनसक्छ ।

मुटु रोग छ ? कस्तो खाना खाने त ?

कुल क्यालोरीको ५५ देखि ६५ प्रतिशत कार्वोहाइड्रेटयुक्त खानेकुराबाट प्राप्त गर्नुपर्छ । कार्वोहाइड्रेट जटिल किसिमका खाद्यपदार्थबाट प्राप्त भएमा राम्रो मानिन्छ । कुल क्यालोरीको करिव १५ देखि २० प्रतिशत क्यालोरी प्रोटिनयुक्त खानेकुराबाट प्राप्त गर्नुपर्छ । चिल्लो कम गर्नका लागि कम चिल्लोयुक्त दूध, बोसो नभएको सेतो मासु, अण्डाको सेतो भाग आदिलाई खानामा समावेश गर्न सकिन्छ ।

मुटुरोग लाग्न नदिन कुल क्यालोरीको १० प्रतिशत मात्र चिल्लो पदार्थ भएको खाना खानुपर्छ । मुटु रोगको जोखिम छ भने कुल क्यालोरीको १० प्रतिशत मात्र चिल्लो पदार्थ भएको खाना खानुपर्छ । एक ग्राम तेलबाट ९ क्यालोरी शक्ति पाइने भएकाले तौल बढ्ने संभावना भएकाले कम मात्रामा तेलको प्रयोग गर्नुपर्छ । तसर्र्थ कम तेलमा पकाउने विधिहरू वफाउने, उसिन्ने पनि प्रयोग गर्नुपर्छ ।

मुटु रोग भए/ नभएको कसरी थाहा पाउने ?

मानव शरीरका अङ्गहरुमध्ये मुटु जटिल प्राकृतिक अङ्ग हो। यो हरपल चलिरहन्छ। छातीभित्र धडकिरहने यो सानो अङ्गले शिरदेखि पैतालासम्म प्रभाव पारिराखेको हुन्छ। हामीलाई मुटुरोग लागे/नलागेको कसरी पत्ता लगाउन सकिन्छ।

मुटुका धेरै रोगहरू हुन्छन् र प्रत्येक रोगका पनि आफ्नै प्रकारका लक्षणहरू पनि हुन्छन्। मुटुरोगका अनगिन्ती लक्षणहरूमध्ये सबैले थाहा पाइराख्नुपर्ने १२ वटा प्रमुख लक्षणहरू रहेको वरिष्ठ मुटुरोग विशेषज्ञ डा. प्रकाशराज रेग्मीले बताए।

डाक्टर रेग्मीका अनुसार मुटुरोगका लक्षण यस्ता छन् ।

१. छातीको बिचको भाग दुख्नु

२. दम बढ्नु

३. खुट्टाहरु सुन्निनु

४. घाटीँको रक्तनली फुल्नु

५ ओठ, जिब्रो र औंलाका टुप्पा नीलो हुनु

६. औंलाका टुप्पा बाक्ला , चाक्ला हुनु

७. टाउको दुख्ने र चक्कर लाग्नु

८. मुटुको धड्कन रोकिने वा छिटो चल्नु

९. कफमा रगत देखा पर्नु

१०. जोर्नीहरु दुख्ने, सुन्निने र ज्वरो आउनु

११. हात, खुट्टा, ओठ आदि झट्का दिदै अनियन्त्रितरुपमा चल्नु

१२. छातीमा हात राख्दा बिरालो कनेको जस्तो थर्केको महसुस हुनु

मुटु रोगका लक्षण र घरेलु उपचार

मुटु रोगका लक्षणहरु :

१. छाति दुख्ने, ढक्क फुुल्ने वा भारी हुने (छातिमा बेचैनी हुने वा भारीपन महशुस हुनु) हृदयाघातको मुख्य सूचकका रूपमा लिइन्छ । त्यसैले यदि तपाईलाई यस्तो भइरहन्छ भने त्यसलाई हल्का रूपमा नलिनुस् । तत्कालै अस्पतालमा गएर उपचार गर्नुहोस् ।

२. यदि तपाईलाई स्वाश लिन बल लगाउनु पर्ने वा कठिनाई वा केही बेर हिँड्दैमा अप्ठेरो भएर गल्नुहुन्छ भने पनि त्यो मुटु रोगको लक्षण हुनसक्छ ।

३. गर्मी महिनामा तथा धेरै परिश्रम गर्दा पसिना आउनु स्वाभाविकै हो । तर यदि चिसो याममा तथा बसेको बेलामा पनि पसिना तरतरी आउँछ भने त्यो मुटु रोगको लक्षण हुनसक्छ ।

४. नियमित रूपमा वाक्वाक् लाग्नु पनि हृदय रोगको लक्षण हुनसक्छ । मुटुको धमनी अवरुद्ध भएको कारणले यस्तो भएको हुनसक्छ । वाक्वाक् लाग्ने, निकै थकाई तथा कमजोरी महशुस हुने र तनाव महशुस हुने जस्ता लक्षण खतराका सूचक हुन सक्छन् ।

५. यदि तपाईको हात बारम्बार झमझमाउँछ वा चिमोटेको समेत थाहा नपाउने गरी सिथिल हुन्छ भने सचेत हुनुहोस् । यसो हुनु भनेको मुटु रोग तथा प्यारालाइसिस लगायतको लक्षण हुनसक्छ ।

६. यदि शरीरको कुनै भाग जस्तै काँध, हात वा गर्धनको पछिल्लो भागले काम गर्न छाड्यो वा छुँदा पनि थाहा हुँदैन भने हेलचेक्र्याई नगर्नुहोस् । त्यो मुटु रोगको लक्षण हुनसक्छ ।

७. यदि तपाईलाई बोल्दा अप्ठेरो महशुस हुन्छ, स्पष्ट उच्चारण गर्न सक्नुहुन्न वा जिब्रो लरबरिन्छ भने त्यो मुटु रोगको लक्षण हुनसक्छ ।

मुटु रोगको हेरचाह :

१. घ्यू वा तेल तथा अन्य चिल्लोको मात्रा जतिसक्यो कम प्रयोग गर्नु उचित हुन्छ । खाना पकाउन शुद्ध तोरीको तेल नै सबैभन्दा उत्तम हुन्छ ।

२. नुन दैनिक ३ देखि ५ ग्रामभन्दा बढी प्रयोग गर्नु हुँदैन । नुन थपेर खाने बानी छोड्नुपर्छ ।

३. बिहान बेलुकीको खानामा हरियो साग हुनु अत्यन्त लाभदायी हुन्छ । दैनिक कम्तिमा एकपटक फलफूल खानुपर्छ ।

४. बेलुकीको खानामा २ वा ३ वटा सुख्खा गहुँको रोटी, साग र मौसमी तरकारी हुनुपर्छ । बेलुकीको खाना ८ बजेभित्र खाइसक्नुपर्छ । बिहान एक छाक मात्र भात खाने गर्नुपर्छ । खानाको मात्रा सबैको लागि एकैनास हुँदैन । धेरै शारीरिक श्रम गर्नेले धेरै खानुपर्छ, थोरै गर्नेले थोरै खाने गर्नुपर्छ । काम कम भए खाना धेरै गर्नु हुँदैन । बेलुकीको खाना खाएपछि तुरुन्त सुत्नु हुँदैन, कम्तीमा दुई घण्टापछि मात्र सुत्नुपर्छ ।

५. शाकाहारी हुनु मुटुका लागि फाइदा जनक छ । तर नियन्त्रित रूपमा माछा, मासु खाएमा हानी छैन । खसी, राँगो, बँगुरले कोलेस्टेरोल धेरै बढाउँछ । माछा र कुखुराले कम बढाउँछ । चिल्लो नराखी माछा र कुखुरा पकाएको मात्र खानुपर्छ । यस्तो खानाले हानी गर्दैन । माछा मासु बिहान र दिउँसोको खानामा मात्र प्रयोग गर्नुपर्छ । बेलुकी माछा मासु नखानु नै उत्तम हुन्छ ।

६. उच्च फाइबरयुक्त खानाले मुटुलाई फाइदा गर्छ । खानामा फाइबरको प्रमुख श्रोत गहुँ, गेडागुडी, हरियो सागपातहरू हुन् । गेडागुडीलाई नियमित रूपमा खानु अझ बढी फाइदा जनक हुन्छ ।

७. खाना थोरै थोरै तर धेरैपल्ट खानु उचित हुन्छ । दुई छाक खाने तर पेट कसेर खाने, खाने बित्तिकै सुत्ने, यो मुटुका लागि अत्यन्तै खतरनाक हो । आहार व्यवस्थापन भन्नाले यस्तो बानी त्यागी थोरै खाने, धेरै पल्ट खाने र उचित खाना खाने बानी बसाल्नु राम्रो हुन्छ ।

८. मुटु रोग लागिसकेकाहरूले चिकित्सकको सिफारिसअनुसार रोगअनुसारको आहार लिनुपर्छ ।

९. मोटो मानिसले तौल घटाउनु पर्छ र यसका लागि कम क्यालोरीयुक्त आहार लिनुपर्छ ।

मुटु रोगको घरेलु उपचारहरू :

१. एउटा अमला र एउटा मिस्र्री लिनुहोस् र त्यसलाई पिनेर धूलो बनाउनुहोस् र मिसाउनुहोस् । यसको प्रयोग हरेक बिहान दुई चम्चा पानी सँग प्रयोग गर्दा मुटुको रोग र ब्लड प्रेसरमा पनि कमि आउने छ ।

२. एउटा प्याज लिनुहोस् र त्यसलाई पिनेर त्यसको जुस निकाल्नुहोस् । अब दुई चम्चा प्याजको जुस र शुद्ध मह मिसाउनुहोस् र यसको प्रयोग दिनमा तिन पटक प्रयोग गरेमा ब्लड प्रेसर र मुटुको रोग भएकोलाई धेरै फइदा गर्दछ । सधँै खाना खाँदा काचो प्याज वा लसुनको प्रयोग गरेमा यसको समस्या कम हुँदै जानेछ ।

३. एक चम्चा अर्जुना पौडरको सेवन दिनको एक पटक पानी सँग गर्नुहोस् । एउटा अर्जुनाको रूखको बोक्रालाई पानीमा उमालेर खानाले पनि यो रोग कम हुँदै जानेछ ।

४. दुईवटा काचो लसुन बिहान उठ्ने बितिकै पानी सँग खानुहोस् । यसले यो रोग हटाउन धेरै मदत गर्दछ ।

५. एक ग्लास दुधमा आधा चम्चा बेसार मिसाउनुहोस् र यसको सेवन दिनको दुई पटक गर्नुहोस् । यसले मुटुको रोगलाई घटाउन धेरै मदत गर्दछ ।

६. एक कप कागतीको जुस, एक कप अदुवाको जुस, एक कप लसुनको जुस र एक कप स्याउको जुस लिनुहोस् र सबैलाई मिसाउनुहोस् र त्यसको माथिबाट तिन कप मह राखेर मिलाउनुहोस् र एउटा बोतलमा राख्नुहोस् । हरेक बिहान एक चम्चा यसको प्रयाग गर्नुहोस् । यसो गर्दा यसले मुटुको रोगमा धेरै कमि ल्याउने गर्दछ ।

७. अर्जुन रूखको बोक्रालाई पिनेर पाउडर बनाएर त्यसको पाउडर एक कप पानी र एक कप दुधमा राखेर पकाउनु र बाक्लो भएपछि यसलाई छानेर यसको सेवन हरेक दिन बिहान खाली पेट वा राती सुत्न अगाडी एक पटक प्रयोग गर्दा यसले यो रोग हुनबाट रोक्छ र कम पनि गर्दछ ।

८. एक कप काचो लौकाको जुस, तुलसीको पातको जुस, पुडिनाको जु्स र बिरे नुन मिलाएर र त्यसको सेवन दिनमा एक पटक ३ महिना नियमित प्रयोग गर्नाले यो रोगमा कमि आउने छ र ब्लड प्रेसरमा पनि कमि ल्याउने छ ।

किन हुन्छ मुटुको चालमा गडबडी ? यस्ता छन् कारण र लक्षण

मुटुको चालमा हुने गडबडी भिन्नैखालको मुटु रोग हो। मुटुको चाल आवश्यकताभन्दा कम या बढी हुनुलाई हामी मुटुको चालको गडबडी भन्छौं।

समान्य अवस्थामा मुटुको चाल एक मिनेटमा ६० देखि १ सय पटकसम्म धड्किनुपर्छ। यदि त्यो भन्दा कम वा बढी पटक धड्कियो र त्यसले बिरामीलाई गाह्रो भयो भने हामी त्यसलाई मुटुको चालको गडबडी भन्छौं।

मुटुको चलमा गडबडी जुनै उमेर समूहका मानिसलाई हुन सक्छ। तर, उमेर बढ्दै जाँदा यसको जोखिम पनि बढ्दै जान्छ।

यस्तो समस्या कसैलाई जन्मजात हुन सक्छ भने कसैलाई मुटुमा संक्रमण भएर हुन सक्छ। हृदयघात वा अनियन्त्रि रक्तचापका कारण पनि मुटुको चालमा गडबडी आउन सक्छ। सुगर नियन्त्रण नभएका मान्छेलाई पनि यस्तो समस्या हुने गर्छ।

मुटुको चाल गडबडी भएको बिरामी आफैंलाई थाहा हुन्छ। बिरामीलाई मुटुको चाल गडबड हुँदा गाह्रो महसुस हुन्छ।

लक्षण

– रिगँटा लाग्न सक्छ।

– मुटु ढुकढुक हल्लिने हुन्छ।

– कोही रिगँटाले गर्दा बिहोस पनि हुन्छन्।

– कसैलाई छाती दुख्ने हुन्छ।

यस्ता लक्षण देखिए भने तुरुन्तै नजिकैको अस्पतालमा गएर ‘इसिजी’ गराउनुपर्छ। इसिजी गरेपछि वास्तविक समस्या के हो भन्ने पत्ता लाग्छ।

नेपालमा यो रोगको उपचार शहीद गंगालाल हृदय केन्द्रमा मात्र सम्वभ छ। गंगालालमा पनि केही डाक्टरले मात्र मुटुको चाल गडबडी सम्बन्धी उपचार गर्छन्। नेपालभरिबाट बिरामी रिफर भएर आउँछन्। त्यसैले गंगालालमा यस्ता बिरामीको चाप अत्याधिक छ।

कारण

– कसैलाई जन्मजात हुन्छ।

– जन्मजात मुटुले करेन्ट प्रवाह गर्न सकेन भने वा धेरै करेन्ट प्रवाह गर्यो भने पनि मुटुको चाल कम हुन्छ।

– मुटुको संक्रमण हुँदा।

– हृदयघातपछि पनि मुटुको चालमा गडबडी हुन सक्छ।

– सबैभन्दा धेरैलाई हुने भनेको उमेरका कारणले गर्दा हो।

– उमेर बढी भएको मान्छेलाई मुटुको चाल कम पनि हुन सक्छ र बढी पनि हुन सक्छ। उच्च रक्तचाप बढी भयो भने वा लामो समयसम्म नियन्त्रण भएन भने मुटुको चालमा गडबडी आउँछ।

मुटुको चाल गडबड हुन नदिन कतिपय कुरा हामीले नियन्त्रण गर्न सक्छौं, कतिपय सक्दैनौं।

मुटुको चालमा गडबड हुन नदिन हामीले मुख्य कुरा त मुटुको रोग लाग्न दिनु भएन। त्यसकालागि खानपिनमा ध्यान दिनुपर्छ।

– धूमपान नगर्ने,

– मध्यपान नगर्ने,

– रक्तचापलाई नियन्त्रणमा राख्ने,

– सुगर कन्ट्रोलमा गर्नुप¥यो,

– मोटोपन छ भने तौल घटाउने,

– नियमित व्यायाम गर्ने,

– खानपिनमा धेरै चिल्लो पदार्थहरु खानु भएन

– नुन धेरै सेवन गर्नु हुँदैन।

यी उपाय अपनाउँदा मुटुको चाल गडबड हुनबाट जोगाउन सकिन्छ।

उमेरसँगै मुटुको चालमा आउने गडबडी र जन्मजात हुने समस्यालाई भने हामीले नियन्त्रण गर्न सक्दैनौं।

मुटु सम्बन्धी रोग महिलालाई भन्दा पुरुषलाई बढी देखिनेगर्छ। महिलामा उत्पन्न हुने हार्मोनका कारण पुरुषका तुलनामा महिलालाई मुटु रोगको जोखिम कम हुन्छ। तर, महिनावारी बन्द भइसकेपछि भने महिला र पुरुषमा मुटुरोगको जोखिम बराबरी जस्तै देखिन्छ।

नोट: माथि उल्लेखित स्वास्थ्य सम्बन्धी जानकारीहरु विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो । मानिसको शारिरिक अवस्था र समय अनुसार पनि माथि उल्लेखित कुराहरुको उपलब्धी फरक पर्छ । सम्पुर्णरुपमा यहि कुरामा मात्रै भर नपर्नुहोला । माथि उल्लेखित कुराहरु प्रयोग गर्दा तपाईको स्वास्थ्यमा थप खराबी देखिए, कृपया तुरुन्त रोकेर स्वास्थ्यकर्मीहरुसँग सल्लाह लिनुहोस् ।

साथै तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला । तपाइको एक सेयरले थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग मिल्नेछ ।