चाडबाडमा तुलनात्मक रुपमा खाद्य वस्तुको खपत बढी हुन्छ । तर, यस्तै मौकामा हो, कालोबजार फस्टाउने अनि गलत नियत भएका व्यापारीले उपभोक्ता ठग्न छाडेका छैनन् । रंगरोगन गरेर, सस्तो मूल्य देखाएर वस्तु बिक्रीमा राखिएको हुन सक्छ । यस्ता वस्तुको उपभोगले स्वास्थ्यलाई गम्भीर असर पुर्‍याउने जोखिम रहन्छ । ठगी हुने सम्भावित वस्तुप्रति उपभोक्ता आफै सजग हुनु आवश्यक छ ।

मसला, मासु, तरकारी, मिठाइलगायत वस्तुमा यस्तो मिसावट र अखाद्य वस्तु प्रयोग गरिएको हुनसक्ने अधिकारकर्मीहरू बताउँछन् । दूध, दही, घ्यू, तेल, चामल, दाल, गेडागुडीलगायतमा धेरै मिसावट देखिने गर्छ ।

खाद्य वस्तु किन्दा सामान्य सचेतना भए पनि ठगीबाट बच्न सकिने खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका अनुसन्धान अधिकृत मदन चापागाईं बताउँछन् । किनमेल गर्दा वस्तुको लेबल हेर्ने, त्यसको उत्पादन र उपभोग्य मिति, त्यसको प्राकृतिक रुपरंग ख्याल गर्न सकियो भने ठगिनबाट बच्न सकिने उनको भनाइ छ ।

चापागाईंका अनुसार उत्पादकको पहिचान स्पष्ट नभएका, सडकपेटीमा बेच्न राखिएका, अस्वाभाविक मूल्य रहेका वस्तु खरिदमा विशेष ध्यान पुर्‍याउनु पर्छ । ‘लेबल स्पष्ट नभएको, खाद्य अनुज्ञापत्र नलिएका र अस्वाभाविक देखिने वस्तुमा समस्या हुनसक्छ,’ उनी भन्छन् ।

१. बेसार र मसलाः क्यान्सरका कारक

बेसार र मरमसला हरेक भान्साका शोभा बन्छन् । तर, तिनै वस्तुमा धेरै मिसावट पाइने गरेको छ । बेसारमा मेटानिल येलो नामक रसायन मिसाएर बिक्री गरिने गरेको पनि भेटिएको छ । यस्तो रसायन प्रयोग गरिएको बेसार उपभोग गर्दा क्यान्सरसमेत लाग्न सक्ने चिकित्सकहरु बताउँछन् । यस्तै, बेसारमा केसरी नामक अर्को वनस्पतिको धुलोसमेत मिसाउने गरेको भेटिन्छ ।

बेसार हल्का गुलाबी वा बैजनी रंगको भेटिए, शंकास्पद हुने विज्ञहरू बताउँछन् । यस्तै, पिसेको खुर्सानी र जिरामा काठको धूलोसमेत मिसाइने गरेको पनि भेटिन्छन् । मरमसलामा पनि विभिन्न अखाद्य वस्तु र रंग प्रयोग गरेर उपभोक्ता ठग्ने गतिविधि भइरहेका उपभोक्ता अधिकारकर्मीहरू बताउँछन् ।

२. चिउरामा किरिकिरि

खुला ठाउँमा राखेको चिउरालगायतका खुद्रा वस्तु खरिद नगर्न चापागाईं सुझाउँछन् । ‘चिउरामा त्यसकै रंग र आकारका ढुंगा र ग्रेन मिसाएर बेच्ने गरेको पनि पाइन्छ,’ उनी भन्छन्, ‘कुनै-कुनै ठाउँबाट किनिएको चिउरा चपाउँदा किरिकिरि हुन्छ, यस्तो चिउरा स्वास्थ्यका लागि हानिकारक हुनसक्छ ।’

३. वासिङ पाउडरयुक्त दूध !

दूध र दूग्ध पदार्थ पनि मिसावट हुने वस्तुमा पर्छ । दूधमा यूरिया, रंग वा वासिङ पाउडर मिसाइने गरेको पनि भेटिएको छ । ती तत्व स्वास्थ्यका लागि निकै हानिकारक मानिन्छ । केही समयअघि दूधमा दिसामा पाइने जीवाणु -कोलिर्फम) मिसाइएको पाइएको थियो । ल्याक्टोमिटरले दूधमा पानीको मात्रा मापन गर्छ । यसको रिडिङ २८ देखि ३४ हुनुपर्छ ।

यही स्ट्यान्डर्ड कायम गर्न दूधमा यूरिया, चिनी, वासिङ पाउडर मिसाउने गरिएको छ । दूधमा मिसावट गरिएको सजिलै खुट्याउन सकिँदैन । शंका लागेमा प्रयोगशाला परिक्षणबाट यसको पहिचान गर्न सकिन्छ । यदि दूधमा हानिकारक तत्व छ भने त्यसको सामान्य आभाष भने पाउन सकिन्छ । यस्तै, घ्यू र अन्य डेरी उत्पादनमा पनि मिसावटको समस्या देखिने गरेको छ ।

४. स्याउ किन्दा स्याकरिन पनि

स्याउ धेरै उपभोग हुने फलफूलमा पर्छ । तर, यही स्याउमा मिसाइने हानिकारक तत्वले स्वास्थ्यलाई फाइदा होइन, घाटा पुर्‍याउन सक्छ । स्याकरिन प्रयोग गरिएका स्याउ बजारमा पाइने गरेको विज्ञहरु बताउँछन् । स्याउलाई बढी रातो र आकर्षक देखाउन स्याकरिन प्रयोग गरिन्छ ।

चम्किलो देखिने स्याउ काट्दा गाढा रातो झोल निस्किन्छ भने भित्री सेतो भागमा हल्का रातो देखिन्छ । स्याकरिन प्रयोग गरिएको स्याउमा पानीको मात्रा धेरै हुन्छ भने स्वादिलो र गुलियो हुन्छ । यस्तै, स्याउलाई आकर्षक बनाउन ‘वेक्स्ड’ प्रयोग गरिएको पनि भेटिन्छ । चम्किलो बनाउन मैन तथा मैनजन्य पदार्थको झोलमा स्याउलाई डुबाउने गरिन्छ । यसले स्वास्थ्यलाई हानी गर्ने विज्ञहरु बताउँछन् ।

५. केरामा कार्बाइड

सबै केरा स्वास्थ्यवर्द्धक हुन्छन् भन्ने सोच्नुभएको छ भने यस्तो धारणा त्याग्नोस् । बजारमा स्वास्थ्यलाई हानी पुग्ने कार्बाइड प्रयोग गरिएको पनि हुनसक्छ । केरा पकाउँदादेखि नै कार्बाइड प्रयोग गरिने उपभोक्ता अधिकारकर्मीहरु बताउँछन् । कार्बाइडको सहज उपलब्धताका कारण पनि यसको प्रयोग बढ्ने गरेको छ ।

कार्बाइड प्रयोग गरिएको केराको उपभोगले फोक्सो, मिर्गौला र मस्तिष्कमा नकारात्मक असर पुर्‍याउँछ । कालो कालो दाग लागेको केरामा कार्बाइड प्रयोग भएको हुनसक्ने सम्भावना भएकाले यस्ता केरा नखान विज्ञहरु सुझाउँछन् । हेर्दा पहेंलो र आकर्षक देखिए पनि छाम्दा अस्वाभाविक र कम बासनादार हुन्छन्, यस्ता केरा ।

६. कमजोर नियमन

उपभोक्ता अधिकारकर्मीहरु सरकारी नियमन कमजोर हुँदा कालाबजारीले प्रश्रय पाएको बताउँछन् । खाद्य प्रविधि तथा गुण नियन्त्रण र आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले बजार अनुगमन गर्छन् । तर, नियामक निकायको कमजोर उपस्थितिका कारण बजारमा गलत प्रवृत्तिले प्रश्रय पाइरहेको अधिकारकर्मीहरुको दाबी छ ।

खाद्य सुरक्षा र उपभोक्ता हितका लागि सरकारले विभिन्न ऐन, नियम तर्जुमा गरे पनि त्यसको कडाइका साथ लागू हुन नसकेको उपभोक्ता अधिकारकर्मीको भनाइ छ । विभाग भने पछिल्लो समय बजार स्वच्छ हुँदै गएको दाबी गर्छ ।

हामीले केहि सम्बन्धित थप जानकारी दिइएका छाै

पकाएको खानेकुरा सात घण्टापछि यसरी विषाक्त बन्छ

अहिले शहरिय क्षेत्रका कामकाजी दम्पतीले एक पटकमा दुई, तीन छाकका लागि खाना तयार गर्ने चलन पनि छ । आज बनाएको खाना बाँकी राखेर बेलुका वा अर्को बिहानसम्म खाने गरिन्छ । खाना पकाइरहने समयको बचत गर्न र झन्झटबाट मुक्त हुने काइदा हो यो ।

खानेकुरा जब विषालु बन्छ

धेरैजसो खानेकुरा जब पकाएर लामो समय राखिन्छ, त्यो खान योग्य हुँदैन । अर्थात पकाएर राखेको खाना केही समय राखेर सेवन गर्दा त्यसले भोक त मेट्छ, शरीरको आवश्यक्ता पुरा गर्दैन ।

दाल, भात, तरकारी, अचार आदि जो पकाइन्छ, यस्ता खानेकुरा निश्चित अवधीभित्र सेवन गरिसक्नुपर्छ । यदी त्यसो गरिएन भने हामी खानाको रुपमा विष सेवन गर्न पुग्छौं । किनभने लामो समय राखिएको खाना विषाक्त बन्ने प्रक्रियामा हुन्छ ।

पेट भर्ने कि पोषक तत्व प्राप्त गर्ने ?

तपाईं/हामीलाई थाहै छ, खाना खानु भनेको पेट भर्नु वा भोक मेट्नु मात्र होइन । जिब्रोको तलतले मेट्नु मात्र पनि होइन । हामीले खाने खाना खासमा शरीरको लागि हो । शरीरलाई स्वस्थ्य, तन्दुरुस्त, उर्जावान र जीवित राख्नका लागि खाना अपरिहार्य मानिन्छ ।

हामीले खाने खाना यस्तो स्रोत हो, जसबाट शरीरलाई आवश्यक विभिन्न पोषक तत्व प्राप्त हुन्छ । प्रोटिन, क्याल्सिमय, भिटामिन, फाइबर, फलाम आदि तत्वहरु खानेकुराको माध्यामबाट प्राप्त हुन्छ । यी पोषक तत्व हाम्रो शरीरका लागि अनिवार्य हुन् ।

त्यसैले खानेकुरा सेवन गर्नु भनेको त्यसमा रहेको विभिन्न पोषक तत्व ग्रहण गर्नु हो । जब कुनैपनि खानेकुरा पकाएर लामो समय राखिन्छ, त्यसमा रहेको पोषक तत्व क्रमस नष्ट हुँदै जान्छ । त्यती मात्र होइन, रासायनिक प्रतिक्रियाद्वारा त्यो विषाक्त बन्दै जान्छ । त्यसैले निश्चित अवधीभन्दा लामो समय राखेर खाइएको खानाले शरीरलाई रोगी, जीर्ण बनाउँछ ।

खाना विषाक्त बनेपछि

पकाएको खानेकुरा जति जति समय गुजि्रदै जान्छ, उत्तिनै खराब हुँदै जान्छ । निश्चित अवधीपछि उक्त खानेकुरा सड्ने, गल्ने प्रक्रियामा जान्छ । त्यसपछि खानेकुरामा हानिकारक जीवाणुहरु बढ्न थाल्छ । यस्ता खानेकुरा शरीरमा नपच्ने मात्र होइन, हानिकारक समेत हुन्छ । खाना खराब हुँदै जाँदा त्यसमा रहेको ब्याक्टेरिया सात घण्टापछि एक लाख गुना बढ्न पुग्छ । यसले खानामा टक्सिन अर्थात विषाक्त तत्व बढाइदिन्छ ।

पकाउन नजान्दा पनि विषाक्त

चाडपर्वमा हामी खानेकुरा बनाएर लामो समय राख्छौं । कतिपय खानेकुरा पटक पटक तताएर खान्छौं । धेरैजसो खानेकुरा पुनः पकाउँदा पनि त्यो विषालु हुनपुग्छ । यस्ता खानेकुराले हाम्रो स्वास्थ्य खराब गर्छ । भित्री अंगहरु खासगरी कलेजो, मिर्गौला अदिको कार्य संचालनमा बाधा पुर्‍याउँछ ।

शरीरमा विभिन्न रोगको आक्रमण त्यही बेला हुन्छ, जतिबेला हाम्रो शरीरको कार्य क्षमता घट्छ । हाम्रो शरीरको रोग प्रतिरोधात्मक क्षमता कमजोर हुन्छ । शरीरभित्र विषाक्त तत्व बढ्न थाल्छ । र, यस्तो अवस्थामा आउनुमा खराब खानपान मूख्य हुन्छ ।

सकेसम्म ताजा वा पकाउनसाथ खानेकुरा सेवन गरौं । खानेकुरा पकाउने शैलीले पनि त्यसलाई पोषिलो राख्ने वा विषालु बनाउने भन्ने कुरामा निर्भर गर्छ । हरेक खानाको प्रकृति अनुसार त्यसलाई पकाउने निश्चित विधी र समय हुन्छ । यसरी सबै कुरा मिलाएर पकाएको खानेकुरामा पोषक तत्व रहन्छ ।

जस्तो, हरियो सागपातमा फाइबरको मात्रा बढी हुन्छ । तर, त्यही सागलाई लामो समय पकाइयो भने त्यसको पोषक तत्व नष्ट हुन्छ । दुधमा पनि क्याल्सियम, भिटामिन डि जस्ता थुप्रै किसिमका पोषक तत्व पाइन्छ । तर, दुधलाई निश्चित समयभन्दा बढी पकाइयो भने त्यसमा रहेको पोषक तत्व रहँदैन ।

कुनैपनि खानेकुरा कसरी पकाइन्छ वा त्यसमा के मिश्रण गरिन्छ भन्ने कुराले पनि पोषक तत्व कति प्राप्त हुन्छ भन्ने कुरा निक्र्यौल गर्छ ।

खानेकुरालाई सही ढंगले भण्डारण गर्ने, पकाउने र खाने गर्नुपर्छ । यसरी खानेकुरा सेवन गर्दा त्यसमा रहेको पोषक तत्व शरीरले ग्रहण गर्छ । अन्याथा, खानेकुरा रोगको स्रोत बन्छ । भनिन्छ नि, संसारमा जति मानिस खान नपाएर मर्छन्, त्यो भन्दा दोब्बर खान नजानेर मर्छन् ।

नोट: माथि उल्लेखित स्वास्थ्य सम्बन्धी जानकारीहरु विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो । साथै तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला । तपाइको एक सेयरले थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग मिल्नेछ ।