रेबिज प्राणघातक सरुवा रोग हो । यो रोग बहुला कुकुर वा अन्य शङ्कास्पद जनावरको टोकइपछि मानिसमा सर्ने गर्छ । त्यस कारण यस रोगलाई जुनोटिक रोग पनि भनिन्छ । रेबिज रोग कुनै पनि प्रकारका उष्ण रगत युक्त प्राणीहरुमा यो रोग लाग्न सक्दछ । यो रोग चिकित्सा विज्ञानको धेरै पुरानो रोग भएको र हाल यस रोग चुनौतीका रूपमा रहेको पाइन्छ । यो रोगबाट विश्वमा बर्सेनि ५५ हजार मानिस तथा दक्षिण एसियामा ३० हजार तथा नेपालमा बर्सेनि १०० जनाको मृत्यु हुने गरेको अनुमान छ ।

नेपालमा यो रोग प्रमुख जनस्वास्थ्य समस्याका रूपमा रहेको छ । यो रोग मुख्यतः बहुला कुकुर वा शङ्कास्पद जनावर वा जङ्गली जनावर खास गरी (स्याल, न्याउरीमुसा, फ्याउरो, चितुवा) आदि जनावरको टोकाइपछि समयमा उपचार नगरेको कारणबाट सर्ने गर्छ । यो रोगमा बिरामीलाई प्यास लाग्छ तर घाँटीमा स्नायु नसाको पक्षघातले गर्दा पानी निल्न सक्दैन । मुखमा पानी पार्न साथ डराउने हुन्छ । बहुला जनावरले टोकेपछि त्यसको विषाणु घाउको माध्यमबाट स्नायु नसा, सुषम्ना हुँर्दै मस्तिष्कमा पुगेर बुद्धि विकास भएपछि रेबिज देखापर्छ ।

रेबिज रोगको चक्र

यो रोगको चक्र खासगरी सहरी तथा जङ्गली चक्र हो । नेपालमा यो रोग जङ्लगी मांसाहारी जनवार मुख्यतया स्यालको टोकाइबाट सामुदायिक कुकुर, भुस्याहा कुकुरको माध्यमबाट मानिसमा सर्ने गरेको पाइन्छ । रेबिज रोगको मुख्य संवाहक कुकुर नै हो । बढी जनघनत्व, भुस्याहा जनावरको सङ्ख्या बढी र जङ्गली जनावरको घनत्व बढी भएको तराई, भित्री मधेस तथा पहाडी क्षेत्र रेबिजको दृष्टिकोणले जोखिमपूर्ण मानिन्छ ।

शङ्कास्पद कुकुर वा जनावर वा बहुला कुकुरले टोकेपछि उपनाउनुपर्ने सावधानी ।

—शङ्कास्पद कुकुर, जनावर वा बहुला कुकुरले टोक्नासाथ तुरुन्तै साबुन पानी, सम्भव भए मनतातो पानी र साबुनले वा सम्भव भए धाराको फोर्सले बगिरहने पानी यदि त्यो पनि सम्भव नभएको खण्डमा मगमा पानी राखेर फोर्सले साबुन पानीले तुरुन्तै धुनुपर्छ । डिटोल वा अन्य एन्टिसेप्टी झोल पदार्थ लगाउनुपर्छ ।

रगत बग्ने गरी घाउ भएमा वा खरोच भएमा २४ घण्टाभित्रमा टिटनस को सुई पनि लिनुर्छ । यसो गर्दा रेबिजका बिषाणुहरु शरीरभित्र प्रवेश गर्नबाट रोक्न सकिन्छ । घाउ पाक्ने सम्भावना भएमा एन्टिबायोटिक औषधि दिनुपर्छ । यसरी उपचार गरेमा रेबिज लाग्नबाट बच्न सकिन्छ ।

— सम्भव भएसम्म १० दिनसम्म टोक्ने जनावर वा कुकरको निगरानी गरिनुपर्छ ।

— रेबिज विशेषज्ञ वा चिकित्सकको सल्लाहका लागि नजिकको स्वास्थ्य संस्था वा अस्पतालमा चाँडो सम्पर्क राख्नुपर्छ ।

शङ्कास्पद कुकुर वा जनावर वा बहुला कुकुरले टोकेपछि गर्न नहुने कार्य

—कुनै पनि शङ्कास्पद कुकुर वा जनावर वा बहुला कुकुरले टोकेपछि जडीबुटी दल्ने, नुनखुर्सानी दल्ने, धामीझाँक्री कहाँ जाने वा अन्य परम्परा विधिबाट उपचार गर्ने जस्ता कार्यहरु गर्नुहुँदैन ।

— घाउमा टाँका लगाउनु हुँदैन । तत्काललै ड्रेसिङ पनि गर्न मिल्दैन ।

रेबिजविरुद्ध खोप लिनुपर्ने अवस्था

—टोक्ने जनावरमा १० दिनभित्र रेबिजको लक्षण देखिएमा वा प्रयोगशालाबाट रेबिज प्रमाणित भएमा ।

—टोक्ने जनावर चिनिएन, १० दिनभित्र मरेमा वा मारियो वा बेपत्ता भएमा, हराएमा ।

— मांसाहारी जङ्गली जनावरले आकस्मात आक्रमण गरी घाइते बनाएमा ।

—बुहला जनावरको ¥याल आलो घाउ भएको भागमा लागेमा ।

—रेबिजको लक्षण भएको व्यक्तिले टोकेमा वा आँखामा नै पर्ने गरी थुकेमा ।

—रेबिज रोगीको जुठो खाएमा वा अन्य सम्पर्कमा रेबिज विशेषज्ञ, चिकित्सकको सल्लाहबाट मात्रै खोप लिनुपर्छ ।

साभार रेबिज गाइड बुक इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा ।

रेबिज रोगबारे जान्नै पर्ने केही कुरा

रेबिज रोग पशुबाट मानिसमा सर्ने रोग हो । चरा र स्तनधारी प्राणीहरुमा मात्र असर गर्ने यो रोग जंगली जनाबरहरु जस्तै स्याल ब्वाँसो, फ्याउरो आदि जनाबरहरुमा उत्पन्न हुन्छ । घरपालुवा पशु भनिने कुकुरमा प्राय यो रोग तीनै जंगली जनाबरबाट सर्ने गर्छ र मानिसमा यो रोग सार्ने मुख्य माध्यम त्यहि घरपालुवा भनिने जनाबर कुकुर हो । कुकुरको टोकाईबाटै मानिसमा यो रोग सर्छ भन्दा हुन्छ ।

विश्व स्वास्थ्य संगठन डव्लुएचओले विश्वभर रेबिजबाट मर्नेको संख्या बार्षिक करीब ५५ हजार रहेको जनाएको छ । तर नेपालमा यो रोगबाट बर्षेनी कतिको ज्यान जान्छ भन्ने आधिकारिक तथ्यांक छैन् । तर रेबिज रोग लाग्नुको करीब ८० प्रतिशत बढी माध्यम कुकुरकै टोकाई भएको अनुमान छ । ३ देखी ५ प्रतिशतलाई जंगली जनावरले टोकेको अनुमान छ ।

रेबिज खोपका अन्वेशक फ्रान्सिस बैज्ञानिक लुईस पास्चरले मृत्युबरण गरेको आजकै दिन अर्थात २८ सेप्टेम्बरलाई सम्झँदै विश्व रेबिज विरुद्धको दिवस मनाउन थालिएको हो ।

यसबर्षको रेबिज विरुद्धको दिवसको नारा ‘जनचेतना, खोप र उन्मुलन’ भन्ने रहेको छ । तपाईँ हामीले पनि आफूले पालेको जनावर विशेषगरी कुकुरलाई समयमै रेबिज विरुद्धको खोप लगाइदिन जरुरी छ । यदि लगाइसकेको भए पनि अन्य संक्रमित जनावरहरुसंग उनीहरुको सम्पर्क र संसर्ग नहोस भन्ने कुरामा विशेष सचेत हुन आवश्यक छ । किनकी यो संक्रमणको जोखिममा हामी जो कोही पनि जुनसुकै बेला पर्न सक्छौँ ।

रेबिजको लक्षण कति दिनमा देखिन्छ ?

कुकुरले टोक्ने वित्तिकै अर्थात आजको आजै रेबिजको लक्षण देखिदैन । अर्थात जनावरले टोकेको केही महिना वा बर्ष पनि लाग्न सक्छ । बरु महत्वपूर्ण कुरा के हो भने जनावर अर्थात कुकुरले कुन ठाँउमा टोकेको छ ? कति ठाँउमा टोकेको छ ? लुगामाथिबाट टोकेको छ कि नांगो छालामा टोकेको छ ? कुकुर कस्तो खालको छ? आदि कुरामा ख्याल गर्नुपर्छ । यी माथिका आधारमा उपचार प्रक्रिया समेत परिवर्तन हुन्छ ।

रेबिज कुकुरबाट मानिसमा मात्रै सर्छ ?

रेबिज मानिसलाई मात्रै होइन गाई, भैँसी , भेँडा बाख्रा, घोडा, गधा, सुँगुर, बंगुर र बिरालोमा पनि रेबिज लाग्न सक्छ । रेबिज रोग लागेको कुनै पनि जंगली जनाबरहरुसंगको सम्पर्कमा आउँदा सजिलोसंग कुकुरमा सर्दछ । रेबिज रोग लागेको कुकुरको टोकाई तथा चटाईबाट सर्ने यो रोग सबै पशु तथा मान्छेहरुलाई सर्न सक्छ ।

रेबिज रोग लागेपछि के हुन्छ ?

तत्काल यसको केही लक्षण देखिदैन तर समयमै उपचार भएन भने यसले मानसिक रुपमै असर पार्छ । अर्थात मानिस बहुलाउने हुन्छ । त्यस्तै रेबिज रोग लागेको मानिस पानीबाट डराउँछ । रेबिज रोगको असर मस्तिस्कमा पर्ने भएकोले संक्रमित व्यक्ति चिच्याउने, अरु मानिसहरुलाई चिथोर्ने , कोपर्ने जस्ता काम गर्छ ।

रोगको तीन अवस्था अनुसार लक्षण देखा पर्छन्

पहिलो अवस्था : टाउको दुख्ने, ज्वरो आउने, घाँटी, जीउ दुख्ने हुन्छ । भने विरामी साना तिना कुरामा पनि उत्तेजित हुने गर्दछन् ।
दोस्रो अवस्था : चिडचिडाहट हुने, अध्यारो सुनसान कोठामा एक्लै बस्न रुचाउने , जो संग र जे गर्दा पनि रिसाउने, पानीसंग खेल्न मात्रै होइन पानी हेर्नै डराउने, श्वास प्रश्वासमा कठिनाई हुने हुनाले तिर्खा लोपनि विरामीले पानी खान सक्दैन ।
तेस्रो अवस्था : रयाल चुहाउने , अरुलाई टोक्न खोज्ने, विस्तारै हातगोडा नचल्ने हुँदै मृत्युसमेत हुन्छ ।
रेविजरोगको असर मस्तिकमा पर्छ । यदि रेबिज रोग लागेको मानिसको समयमा उपचार भएन भने उसको मृत्युसम्म हुने खतरा हुन्छ ।

रेबिजको खोप निशुल्क उपलव्ध छ :

रेबिज विरुद्धको यो खोप सरकारले नेपाली जनतालाई निशुल्क रुपमा उपलव्ध गराउदै आएको छ । कुकुर स्याल फ्याउरो जस्ता शंकास्पद जनावरले टोकेमा तत्काल सरकारी स्वास्थ्य संस्थामा पुगी चिकित्सक तथा स्वास्थ्यकर्मीसंग परामर्स लिनुपर्छ । र आवश्यकता अनुसार खोप लगाउनुपर्छ । यो खोप बढी जसोलाई पाँच डोज दिने गरिएको छ । कसै कसैलाई सात डोज समेत दिइन्छ । तर खोपको पैसा लाग्दैन ।

नोट: माथि उल्लेखित स्वास्थ्य सम्बन्धी जानकारीहरु विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो । मानिसको शारिरिक अवस्था र समय अनुसार पनि माथि उल्लेखित कुराहरुको उपलब्धी फरक पर्छ । सम्पुर्णरुपमा यहि कुरामा मात्रै भर नपर्नुहोला । माथि उल्लेखित कुराहरु प्रयोग गर्दा तपाईको स्वास्थ्यमा थप खराबी देखिए, कृपया तुरुन्त रोकेर स्वास्थ्यकर्मीहरुसँग सल्लाह लिनुहोस् ।

साथै तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला । तपाइको एक सेयरले थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग मिल्नेछ ।