नेवारी खाजा नेवार जातीमा मात्र नभएर अहिले सबै जातीमा प्रिय बनेको छ। रेष्टुरेन्टको मेनुमा समेत नेवारी खाजा पाउन सकिन्छ। नेवारी खाजा ‘समयबजी’ विशेष गरि इन्द्रजात्राको दिनमा बनाइने विशेष परिकार हो । तर, यसलाई हरेक जसो भोजमा बनाउने र सबैलाई बाँड्ने चलन बढिरहेको छ ।

यसपरिकारलाई विभिन्न अर्थ राखेर तयार गरिएको हुन्छ , जस्तै : राम्रो भाग्यको लागि, स्वास्थ्यको लागि, लामो आयूको लागि र प्रगतीको लागि । यस परिकारमा विभिन्न परिकारहरु एक ठाउँमा तयार गरिन्छ, जस्तै : अचार, मासु, गेडागुडी, चिउरा आदि ।

सुरुमा गाँजर, आलु र केराउ मिलाएर अचार तयार गर्नुपर्छ । अचार बनाइसकेपछि उसिनेको आलुको परिकार तयार पार्नुपर्छ । अब रायोको सागको परिकार बनाउनुपर्छ । त्यसपछि गेडागुडी, माछा, मासुका परिकारहरु तयार गर्नुपर्छ । त्यसपछि सबै खानेकुरालाई चिउरा सहित सर्भ गर्नुपर्छ ।

नेवारी खाजाको क्रेज

सो त नेवारी खाजा काठमाडौंबासीका लागि पुरानो खाजा होइन । तर, पछिल्लो समय यसको लोकप्रियता बढ्दै गएको छ । नेवारी खाजाले व्यावसायिक रूप पनि लिँदै आएको छ ।

ग्राहकहरू पनि नेवारी खाजाको स्वाद लिन खोजी–खोजी नेवारी होटलहरूमा जाने गरेको पाइन्छ । युवा वर्ग, परिवारको साथमा रमाइलो गर्न वा स्वादको मज्जा लिन नेवारी होटलतिर ग्राहकको आकर्षण बढ्दै गएको छ । काठमाडौं उपत्यकाभित्र करिब ८० प्रतिशत नेवारीहरू बसोबास गर्ने अनुमान छ ।

उपत्यकाभित्र रहेर नेवारी खाजाको स्वाद नलिएको व्यक्ति त सायदै होला । नेवारी खाजाघर विस्तारै ब्राण्डको रूपमा पनि स्थापित हुँदै गइरहेको छ । नेवारभित्र आ–आफ्नो चालचलन भएपनि खाना भने भिन्न रहेको पाइँदैन । अधिकांश नेवारी जाति बाक्लो बस्ती रहेको उपत्यकामा यसको ग्राहक बढ्दै जानु स्वभाविक नै हो । साना होटलदेखि रेष्टुराँसम्ममा यसको व्यापार बढ्दै गइरहेको छ ।

यहाँ बसेर केही हुदैन भन्नेको लागि पनि राम्रो व्यवसायको रुपमा लिइने गर्दछ नेवारी खाजा घर । यो व्यवसायबाट नै नाम र मनग्य आम्दानी कमाइरेहका छन् नेवारी रेष्टुरा र होटलहरूले । यसमा विदेशी पर्यटक भन्दा नेपाली ग्राहकको आकर्षण नै बढी रहेको छ । करिब ८५ प्रतिशत नेपाली समुदाय नै नेवारी खाजाप्रति आकर्षित भएको पाइन्छ ।

कीर्तिपुरमा रहेको लहना, सःसः द नेवा रेष्टुराँमा ग्राहकको मोह बढी मात्रामा रहेको पाइन्छ । नयाँ पुस्तालाई लक्षित गर्दै शुक्रबार र शनिबार यस्ता होटलहरूमा मनोरञ्जनसम्बधि विविध कार्यक्रमहरू सञ्चालनमा ल्याउँदा पनि यसको आकर्षण बढ्दै गएको छ । यसका साथै परिवारजनसँग जाने ग्राहकको पनि उपस्थिति बढी मात्रामा रहेको देखिन्छ । तर नेवारी खानामा भने सम्पूर्ण वर्गलाई समेटिएको पाइन्छ ।

सःसः दि नेवा रेष्टुरेन्ट

नामैले निकै चर्चित रहेको सःसः अहिले ग्राहकको रोजाइमा पर्न पुगेको एक नेवारी रेष्टुरेन्टमध्ये पर्दछ । कीर्तिपुरको सगल टोलमा रहेको यस रेष्टुरेन्ट अनुमानित ५ लाखको लगानीमा चार जनाको सेयरमा सन् २०६६ सालमा स्थापना भएको थियो । कीर्तिपुर पहिलेदेखि नै नेवारी खाजामा निकै प्रख्यात छ ।

यहाँ ससुरालीमा जसरी ज्वाइँको सम्मान गरेर नेवारी चलनअनुसार खाना खुवाइन्छ, त्यसैगरी ग्राहकको पनि सेवा गरिन्छ र त्यही अनुसार नेवारी खाजा तयार गरिन्छ ।

यहाँ विभिन्न क्षेत्रबाट ग्राहकहरू नेवारी खाजाको स्वाद लिन र नेवारी संस्कृतिको बारेमा बुझ्न आउँछन् । नेपालीहरूमात्र नभएर विदेशी पर्यटकहरू पनि नेवारी खाजाप्रति आकर्षित भएर खाजा खान आउने गर्दछन् । विदेशीहरूमा पनि जापानिजहरू बढी मात्रामा आउने गरेका रेष्टुरेन्टका प्रोमोसनल म्यानेजर क्यूबी महर्जनले बताए ।

नेवारी खाजाका साथसाथै नेवारी संस्कृतिलाई पनि प्राथमिकता दिँदै आएको महर्जनको भनाइ छ । सःसःमा विशेषगरी समयबजी, चटामरी, छोइला, बारा, खाजा सेट, ऐला, थो, योमरी, हाँसको छोइला बढी मात्रामा व्यापार हुने पनि उनले बताए । हाँसको छोइला बनाउनका लागि तराईबाट हाँस ल्याइन्छ । यहाँ खाना, खाजाहरू पुरानै नेवारी शैलीमा टपरी र चरेसको प्लटेमा ग्राहकलाई दिइने गरेको छ । हप्ताको दुई दिन शुक्रबार र शनिबार धेरै नै बढी ग्राहक आउने र शनिबार साँझको समयबाट लाइभ ब्याण्डको प्रस्तुति हुने गरेको छ ।

शुक्रबार र शनिबार अनलाइबाट पनि धेरै रिजर्भेसन हुने बताइएको छ । जात्रा तथा मेलाहरूमा त झन् सःसः एकदम नै व्यस्त देखिन्छ । सञ्चालक फिरोज सिंह आफैं पनि गायक भएका कारण उनले पनि मनोरञ्जन दिँदै आएका छन् । सःसःको वातावरण रमाइलो र शान्त छ, त्यसैले परिवारहरू धेरै मात्रामा आउने गर्दछन् र मनोरञ्जन अनि खाजाको स्वाद लिन पनि जान्छन् ।

सःसःले धेरै राम्रो नाम र सम्मान पाएका कारण अन्य क्षेत्रमा पनि शाखा स्थापना गर्ने प्रोमोसनल म्यानेजर महर्जनले बताए । यहाँ खाना र खाजा धेरै नै स्वादिस्ट, सफा अनि त्यति महँगो नभएका कारण कलेजका विद्यार्थी बढी आउने उनको भनाइ छ ।
यहाँ दैनिक दुई सयभन्दा बढी ग्राहक आउने गर्दछन् । सःसः पहिलो एक नेवारी रेष्टुरेन्ट हो, जसले २०१० मा सार्क ट्रेड फयरमा सहभागी भई विदेशीहरूको पनि मन जित्न सफल भएको थियो ।

ल्होसा घासा अथेन्टिक

काठमाडौंको ज्याठास्थित ल्होसा घासा पनि नेवारी खाजा पारखीको लागि सञ्चालनमा ल्याएको रेष्टुराँ हो । संयुक्त लगानीमा सञ्चालनमा ल्याइएको यस होटलमा सुरुका दिनमा १४ लाखका लगानीबाट सुरु गरिएको थियो । २०७४ साल असार २ गतेदेखि सञ्चालनमा आएको यस होटल पर्यटकीय मार्गमा भएको हुँदा पर्यटकहरूले पनि नेवारी स्वाद चाखेर राम्रो प्रतिक्रिया दिएको पाइन्छ । यो रेष्टुराँमा पनि नेपाली ग्राहकहरूको उपस्थिति नै बढी मात्रामा रहेको बताउँछन् होटलका सञ्चालक उत्तम डंगोल ।

ल्होसाको अर्थ स्नाक्स र घोसाको अर्थ गेडागुडी हो । नेवारी नामबाट राखिएको ल्होसा घासामा ग्राहकलाई दिने सेवा र स्वस्थ खानेकुरामा बढी ध्यान दिएको पनि देखिन्छ । यहाँ दैनिक व्यापार १२–१३ हजारसम्म हुने गरेको छ । विशेषगरी शुक्रबार र शनिबार ग्राहकको चहलपहल बढी हुने गरेको छ । यस होटलमा नेवारी शैलीका कोठाहरू र स्वादले जे केहीको पनि मन लोभ्याउन सक्छ ।

विदेशी पर्यटकहरूमा जापानिज र चाइनिजले विशेष गरी यहाँको चतामरी मन पराउने बताएका छन् । यहाँ चतामरी पिज्जा, छोइला, नेवारी बजी सेट, बारा, आलु साँधेको, ल्होसा घासा स्पेशल डबल फ्राई, ल्होसा घासा चतामरी आदि खाजाको सेटमा पाइन्छ । विशेष गरी यहाँ ग्राहकले रुचाइएका खाजामा चतामरी पिज्जा र चिकेन फ्राई पनि पर्छ । यसका साथै यसले पछिल्ला दिनमा शाखा विस्तारमा पनि जोड दिने बताएको छ ।

थसी नेवः बार एण्ड रेष्टुरेण्ट

ललितपुरको सिद्धिपुरमा रहेको नेवारी रोष्टुराँमा नेवारी खाजाको लागि मात्र भन्दा पनि स्वच्छ वातावरण र ग्रामीण नेवारी शैलीलाई नजिकबाट हेर्न पाउने र शान्त वातावरणमा रहेको रेष्टुराँको रुपमा समेत लिइन्छ । यस होटल सञ्चालनमा आएको तीन वर्ष भएको छ । रेष्टुराँ सञ्चालक सञ्जय सुवाल हुन् । उक्त क्षेत्रमा थसी नाम गरेको बिरुवा पाउने भएको हुदा उक्त बिरुवाको नामबाट यस होटलको नाम राखिएको हो । नेवारी शैलीमा सजाइएका कोठा र खाजाको स्वादका कारण यहाँ हप्तामा सातै दिन ग्राहकहरू पुग्ने गरेका छन् ।

यहाँ पनि विशेषगरी शुक्रबार र शनिबार भिड लाग्ने गर्दछ । यहाँको दैनिक व्यापार भने १० देखि १५ हजारसम्म हुने गरेको छ । यसका साथै यहाँ खाजामा नेवारी खाजा सेटमा बफ समयबजि, चिकेन समयबजि र भेज समयबजीको व्यवस्था गरिएको छ । यसका साथै यहाँ बफ चिल्ली, चिकेन चिल्ली, छोइला, चतामरी, बारा, आलु तामा आदि नेवारी खाजा पाईन्छ ।

नेवारी किचेन

ललितपुरस्थित पुल्चोकको लोबिम मलसँगै रहेको नेवारी किचेनले रेष्टुराँ सञ्चालनमा ल्याएको एक वर्ष भइसकेको छ । यस होटलका सञ्चालक राजिव श्रेष्ठ हुन् । उनले पोखरा लेकसाइडमा पनि १० वर्ष नेवारी होटल सञ्चालन गरेका थिए । यहाँ विशेषगरी नेवारी स्वाद र कोठाको शैलीमा पनि नेवारीपन भल्केको देखिन्छ । यहाँ पारिवारिक वातावरणका साथै नयाँ पुस्तालाई समेत लक्षित गरी खाने र बस्ने व्यवस्था गरिएको पाइन्छ । यसका साथै विदेशी पर्यटकलाई समेत छुट्टै मेनुको व्यवस्था गरिएको छ ।

यहाँ पनि शुक्रबार र शनिबार ग्राहकको भिड लाग्ने गरेको छ । यहाँ ग्राहकको रोजाइमा पर्न गएको नेवारी खाजा सेट र र मःम रहेको छ । यसका साथै पन्चाक्वा, छोईला, कचिला, बारा, चतामरी आदि नेवारी खाजाहरू यहाँ पाइन्छ ।

फेमस मोबाइल मःम सेन्टर एण्ड नेवारी खाजा

२०५४ सालमा यस होटलको स्थापना भएको थियो र अहिलेसम्म पनि यो व्यवसायमा निरन्तर लागि रहेको सञ्चालिका दिना प्रजापतिले बताइन् ।

भक्तपुर सूर्यविनायकमा रहेको यो खाजा घर नेवारी खाजामा भन्दा पनि मःममा बढी प्रख्यात छ । १० वर्षअगाडि बानेश्वरमा पनि शाखा खोलेको र दुई ठाउँमा भएका कारण समय दिन नसकेका कारण उता छोडी यतामात्र समय दिएको उनले बताइन् । यहाँ मःम र नेवारी खाजा खानको लागि पाटन, काठमाडौं र यहाँकै लोकल मानिसहरू आउने गरेका पनि उनले बताइन् ।
सुकुलढोका नेवारी खाजा घर

भक्तपुर त्रिपुरासुन्दरीमा एक वर्ष अगाडिदेखि पाँच लाखको लगानीमा यो खाजा घर सञ्चालनमा आइरहेको छ । दस वर्ष अगाडि भक्तपुर सूर्यविनायकमा पनि सञ्चालन गरिएको थियो । यस खाजा घरमा विशेषगरी नेवारी खाजा नै बनाइन्छ । यहाँ छोइला, कचिला, सेकुवा, बारा, लोकल रक्सी मसला हालेको आदि उपलब्ध हुने यस खाजाघरका सञ्चालक सिताराम लोहोलाले बताए । नेवारी चलनअनुसार सुकुलमा बसेर खाजा खाने गर्दछन् ।

पछिल्लो समय सञ्चालनमा आएका होटलहरूले व्यवसायको रुपमा भन्दा पनि नेवारी सस्ंकृति जोगाउन र खानालाई पनि सबै ग्राहकसमक्ष पुराउने हिसाबले सञ्चालनमा ल्याएको देखिन्छ । यसमा अधिकांश ग्राहकहरू नेपाली नै रहेको बताउँछन् होटल व्यवसायीहरू ।

मासुका लोकप्रिय नेवारी परिकार :

सानो गल्ली । गल्ली नजिकै पुरानो घर । घरको ढोकामा झुन्डाइएको थोत्रो पर्दा । यो दृष्य हो पाटनस्थित सुरज नेवारी खाजा घरको । यसका सञ्चालक हुन्, निरज महर्जन ।

निरजले खाजा घर चलाउन थालेको १५ वर्ष भइसक्यो । केही दिनअघि त्यहाँ पुग्दा सञ्चालक महर्जन नेवारी मासुका परिकार बनाउन व्यस्त देखिन्थे । त्यसो त हरेक दिन मासु र माछाका परिकार बनाउनु उनको दिनचर्या नै हो।

ग्राहकहरू मासुका हरेक परिकारहरू मनपराउने गरेको उनी बताउँछन् । मासु खानेहरूको संख्यामा कमी नआएको उनको भनाइ छ।

उनको खाजा घर बिहान ९ बजेदेखि राती ८ बजेसम्म खुल्छ । ‘सुरुमा पसल सञ्चालन गर्दा सामान सस्तो थियो, अहिले त निकै महँगो भएको छ,’ उनले भने । नेवारी परिकारमा बफको परिकार विशेष मानिन्छ । यद्यपि, अन्य परिकारका समेत पारखीहरू रहेको उनी बताउँछन् । बच्चादेखि पाका उमेरसम्मका मानिसहरू नेवारी खाजा खान आउने उनी बताउँछन् । टाढा–टाढाबाट पनि ग्राहक नेवारी परिकार खान आउने गरेको उनले बताए।

पाटन पर्यटकीय हिसावले लोकप्रिय छ । मठ मन्दिर, बस्तीसँगै नेवारी परिकार यहाँका आकर्षण हुन् । पर्यटकहरू मठमन्दिर अवलोकन गर्न मात्र होइन, नेवारी परिकार खान आउने गरेको स्थानीय बताउँछन्।

भैँसीपाटीका मनयम खड्कालाई नेवारी खाजा निकै मनपर्छ । ‘म हप्ताको तीन पटक नेवारी खाजा खान्छु, त्यसमा पनि पाटनको नेवारी खाजा मलाइ विशेष मनपर्छ,’ उनी भन्छन्, ‘खासमा नेवारी खाजामा मासु हुने भएकाले मन परेको हो।’

पुरानो पसलमा पाइने परिकारको स्वाद मनपर्ने उनले बताए । ‘त्यसैले पनि म पुराना खाजा पसलमा खोजी खोजी जान्छु,’ उनले भने । नेवारी खाजा सेट र छोइला खाने गरेको उनले बताए।

कुमारीपाटीको भित्री गल्लीमा रहेको सानो पुरानो नेवारी खाजाघर १२ वर्षदेखि सञ्चालनमा छ । पुरानो खाजाघरमा कुनै पनि नाम लेखिएको भने छैन । तर, त्यहाँ नेवारी खाजा खान टाढाबाट ग्राहक आउने गरेको व्यापारी मेनुका श्रेष्ठ बताउँछिन् । उनी भन्छन्, ‘अरु समयमा राम्रो व्यापार भए पनि शुक्रबार र शनिबार भने निकै भीड हुने गरेको छ ।’

१२ बजेपछि खाजा खान आउनेको भीड लाग्ने गरेको उनी बताउँछिन् । दिउँसो कलेजका विद्यार्थी आउने गरेकोमा साँझ भने सबै उमेरसमूहका ग्राहक आउने उनले बताइन्।

‘ग्राहकले खाजा मनपराउने गरेको छन्,’ उनले भनिन्, ‘कतिले ‘मिठो छ’ भन्ने प्रतिक्रिया दिन्छन् । ग्राहकको राम्रो प्रतिक्रियाले खुसी बनाउँछ।’

मासुका केही नेवारी परिकारहरू :

छोइला

छोइला नेवारी समुदायमा प्रचलित मासुको परिकार हो । नेवारी समुदायमा बफको धैरै परिकारहरू बनाउने भएकाले बफकै छोइला प्रचलित रहेको महर्जन बताउँछन् । उनका अनुसार छोइला नेवारी भोजमा मात्र नभएर खाजाको रूपमा बढी प्रयोग हुन्छ । नेवारी खाजाको परिकारमा छोइलाको स्वाद पिरो र स्पाइसी हुने गर्छ । नेवारी भाषामा यसलाई ‘हाकु छोइला’ भनिन्छ । पोलेर तयार पारेको छोइला खाँदा मसालेदार स्वाद पाउन सकिन्छ।

सामान्यतया एक प्लेट छोइलाको मूल्य १ सय २० रूपैयाँबाट सुरू हुने महर्जन बताउँछन् । उनी भन्छन्, ‘नेवारी खाजा भन्नेबित्तिकै छोइला अगाडि आउँछ, छोइलालाई नेवारी खाजाको परिकारमध्ये मुख्य परिकारको रूपमा लिने गरिन्छ । पोलेको मासुलाई भुटेको तेलले झानेर तयार पारिने छोइला चिउरासँग खाने गरेको पाइन्छ । छोइलालाई पोलेर र बोइल गरेर तयार पार्न सकिन्छ।

सपु म्हिचा

सपु म्हिचा नेवारी मासुको परिकारमा निकै मन पराइने खानाको परिकार हो । मासुको परिकारमा राखिए पनि यो मासीबाट तयार गरिन्छ । बोनम्यारोलाई भैंसीको आन्द्रामा धागोले बाँधेर तयार पारेको परिकारलाई सपु म्हिचा भनिन्छ । सपू म्हिचामा बोनम्यारोको स्वाद लिन सकिन्छ । चिल्लो बढी हुने भएकाले पनि यसको स्वाद अन्य मासुको परिकारभन्दा फरक हुन्छ । सपू म्हिचाको एक पिसको मूल्य ६० रूपैयाँ पर्छ।

स्वँपुका

स्वँपुका पनि नेवारी खाजामा निकै परिचित नाम हो । स्वँपुका खसीको फोक्सोलाई फ्राइ गरेर तयार गरिन्छ । खसीको फोक्सोमा थरिथरिका मसला राखी तयार गरिने मिठो परिकार हो स्वँपु । स्वँपुलाई नेवारी खानाको मुख्य मेन्यु मानिन्छ।

झुकु

झुकु अर्थात् ब्लडबाट तयार पारिएको परिकार । यसलाई ब्लड ससेस् पनि भनिन्छ । झुकु ससेसलाई तेलमा फ्राई गरेर खान दिइने नेवारी मासुको परिकार हो।

खाजा पसल सञ्चालक श्रेष्ठ अचेल झुकु कम बनाउने गरेको बताउँछिन् । उनी भन्छिन्, ‘अन्य मासुको परिकारजस्तै झुकु खाने ग्राहक आउँछन् । तर, पहिलाभन्दा कम बनाउने गरेकी छु । नेवारी भोजमा झुकु अनिवार्य जस्तै हुने उनी बताउँछिन्।

नेवारी मासुको परिकारमध्ये एक मैन्हं निकै रूचाइएको परिकार हो । पाटनस्थित खाजा घरमा जिब्रो र कानको परिकारको स्वाद चाख्न सकिन्छ।

भुटन

भुटन हरेकलाई मनपर्ने मासुको परिकार हो । भुटनलाई खाजाको रूपमा विशेष खाने गरिन्छ । भुटनमा खसी, बफ लगायतको मासुबाट तयार गरिन्छ।

नोट: माथि उल्लेखित स्वास्थ्य सम्बन्धी जानकारीहरु विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो । 

साथै तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला । तपाइको एक सेयरले थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग मिल्नेछ ।