छातीमा सामान्य दुखाई भए पनि हामी हृदयघात पो हुन लाग्यो की भनेर त्रसित हुने गर्छौ । तर, यो बुझाई पूर्ण छैन् । अन्य धेरै कारणले छाती दुख्ने बताउँछन् कार्डियो थेरासिस् तथा भस्कुलर सर्जन प्राडा गम्भीरलाल राजभण्डारी । छातीभित्र मुटु मात्र हुँदैन् । यहाँ फोक्सो, खाना नली, रक्तनलीहरु, हड्डी, मांशपेशी, छाला समेत हुन्छन् । यी कुनै पनि अंगमा समस्या आए छाती दुख्न सक्छ ।

मुटुको दुखाई हो होइन कसरी थाहा पाउने ?

छाती अन्तर्गत पर्ने कुन अंगको समस्याले गर्दा छाती दुख्यो भनेर थाहा पाउन सबै भन्दा उपयुक्त उपाए त स्वास्थ परीक्षण नै हो । परीक्षणपछि मात्र के कारण र कुन अंगमा समस्या भएको हो भन्ने एकीन हुन्छ । तर, तुरुन्त परीक्षण गरिहाल्ने अवस्था छैन भने निम्न लक्षणका आधारमा छाती दुखाइलाई छुट्टाउन सकिन्छ ।

मुटुमा समस्या भएमा देखिने दुखाई

अधिकांशलाई मुटुको समस्याले छाती दुख्दा छातीको बायाँतीर बिच भागमा एकनासले दुख्ने, धेरै दुखाइ हुने, पोल्ने र कसैमा दायाँ हात तीर, घाँटी तिर सर्दै दुख्ने हुन्छ । दुखाईको साथै बान्ता हुने, पसिना आउने, मुटुको धड्कन बढेजस्तो महसुश हुने गर्छ ।

फोक्सोको कारणले हुने दुखाई

फोक्सोमा संक्रमण हुँदा पनि छाती दुख्छ । साथै यसको दुखाईसंगै दम बढेजस्तो स्वाँ.. स्वाँ.. हुने, ज्वारो आउने हुन सक्छ । श्वास लिदा वा फेर्दा छाती च्वास् च्वास् दुख्ने, करङमा कक्रक्क भए फोक्सोको कारणले दुखेको हुनसक्छ ।

श्वास नलीमा समस्या हुँदाको दुखाई

श्वास नली ठीक मुटुको पछाडी हुन्छ । यस नलीमा समस्या हुँदा तथा ग्यास्टिक हुँदा पनि छाती दुख्छ ।

मांशपेशी वा हड्डीको कारणले हुने दुखाई

छाती वरीपरीको मांशपेशी वा हड्डीमा समस्या आयो भने पनि छाती दुख्छ । छातीको दाँया भागको पछाडी छेउतिर करंगको भागमा दुखेमा मांशपेशी वा हड्डीमा समस्या हुन सक्छ । निमोनिया हुँदा पनि छाती दुख्न सक्छ । सामान्यतया छाती दुख्ने लक्षित उमेर समूह भनेको ४०/४५ वर्ष कटेपछि हो । तर अहिले अस्वस्थ खानपान, विलासी जीवनशैली, उच्च रक्तचाप मधुमेह, धुमपान, मद्यमापन, लागु औषधको प्रयोगले कलिलो उमेरमै मुटु, फोक्सो लगायतका अंगमा समस्या हुन्छ र छाती दुख्नेको संख्या पनि बढ्दो छ ।

यसरी बचौं

मुटु, फोक्सो, श्वासनली लगायतका अंगमा समस्या आएकै कारण छाती दुख्ने भएकाले छाती दुख्नबाट बच्न यी अंगलाई स्वस्थ राख्नु पर्छ । धुमपान मध्यपान गर्नु हँुदैन् । स्वस्थकर खाना खानुपर्छ । सक्रिय जीवनशैली अवलम्बन गर्नुपर्छ । कम्तीमा वर्षमा एक पटक स्वास्थ परीक्षण गराउनु पर्छ । मुटुको कारणले दुखे जस्तो लक्षण देखिए तुरुन्त चिकित्सकोमा जानु पर्छ ।

हृदयघात के हो, कसरी बच्ने?

हृदयघात अर्थात Heart Attack भनेको मुटुको कुनै पनि धमनीहरूमा सतप्रतिशत अवरोध भई मुटुको मांसपेशीले काम गर्न नसक्नु र अन्त्यमा सो भागको मृत्यु हुनु हो। यो हृदयघात यदि मुटुको देब्रे मुख्य धमनीमा अवरोध भएमा प्राणघातक पनि हुन सक्छ भने साना साना धमनीहरुको अवरोध भएर भएको हृदयघात कहिले काँही मानिसलाई थाहा नहुन पनि सक्छ।

तर ठूलो धमनीमा अवरोध भएमा छातिको बिच वा देब्रे तिर बेस्सरी थिचेको जस्तो दुख्छ, चिट चिट पसिना आउँछ, वाक वाक लाग्ने र बेहोस पनि हुन सक्छ।

उच्च रक्तचाप, मधुमेह र कोलेस्टेरोललाई समयमानै नियन्त्रणमा राख्न सकेमा ५०५ हृदयघात कम हुनसक्छ। मोटोपन कम गर्ने व्यायाम नियमित गर्ने, मानसिक तनाव हुन नदिने, जीवन शैलीमा सुधार ल्याउने हो भने समयमानै यो रोगलाई नियन्त्रण गर्न सकिन्छ। मुख्य भूमिका जनचेतनाको कमि र यो रोगका साधारण लक्षणहरू मात्र हुने हुनाले समयमानै यो रोगको निदान गर्न निकै कठीन भएको हो।

हृदयघात हुनुभन्दा अगाडि यसको साधारण लक्षण मात्र हुन्छ। जब व्यायाम गर्दा, उकालो चढ्दा, भर्याङ उक्लदा, मानसिक तनाव बढ्दा छातिको बिचमा वा देब्रेतिर भारी हुने, ढुंगाले थिचे जस्तो अनुभव हुने, स्वाँ स्वाँ बढ्ने तर आराम गरे पछि सन्चो हुने। कहिले काही देव्रे हातमा वा च्यापूतिर पनि दुखाई सरेको जस्तो पनि हुनसक्छ।

यदि यस्तो लक्षण देखा परेमा तुरून्त मुटुरोग विशेषज्ञको परामर्श लिनु जरूरी छ। अधिकाशं मानिसहरु यस्लाई सामान्य सोचेर घरमै बसिरहन्छन् र अन्त्यमा हृदयघात पनि हुनसक्छ। हृदयघात भइसकेपछि उपचार सहज हुँदैन। देव्रे मुख्य धमनीमा अवरोध भएमा समस्या झनै जटिल हुन्छ। किनकी पहिलो हृदयघातमा नै मृत्युसम्म हुन सक्छ ।

तसर्थ वयस्कहरुले कमसेकम एक पटक आफ्नो मुटुको परीक्षण गर्नु अति आवश्यक छ। मुटुमा समस्या देखिएमा नियमित जाँच गर्नुपर्छ। किनकी हालसम्म हृदयघातको मुख्य कारण थाहा छैन। तर यस्का कारक तत्वहरु मात्र थाहा छ।

हामीले परिवर्तन गर्न नसक्ने कारक तत्वहरुमाः

उमेर – जती उमेर बढी छ खतरा त्यतिनै बढी हुन्छ।

पुरूष – पुरुषलाई बढी हृदयघात हुन्छ भने महिलालाई महिनावारि बन्द भएपछि पुरूषलाई जतिकै हुन्छ ।

बंशाणुगत – बंशाणुगत हुने रोगमा पर्दछ।

जाति – दक्षिणपूर्वी एसियामा बढी हुन्छ।

परिवर्तन गर्न सकिने कारक तत्वहरुमाः

-धुम्रपान

-उच्च रक्तचाप

-मधुमेह

-उच्च कोलेस्टेरोल

-व्यायामको कमी

-मानसिक तनाव

-जीवन शैली

-जन चेतना

-मोटोपना

-नियमित स्वास्थ्य परीक्षण

कसरी थाहा पाउने मुटुको धमनीको अवरोध?

यदि माथि उल्लेखित लक्षण देखिएमा तुरून्त Rest ECG (Electrocardiogram) गर्नुपर्छ। यदि ECG मा केही समस्या देखा परेमा वा देखा नपरे पनि Exercise ECG = TMT ( Treadmill Test ) वा Stress Echocardiography गर्नुपर्ने हुनसक्छ। TMT – POSITIVE भएमा CAG (Coronary Angiography) गर्नुपर्छ। यदि TMT गर्न नसक्ने अवस्थामा वा TMT – NEGATIVE भएमा पनि मुटुको धमनीको रोगको लक्षणहरु छन भने CAG गर्नुपर्छ । CAG बाट मात्र कति अवरोध छ कि छैन भनेर हेर्न सकिन्छ । hallium test र Stress Echocardiography बाट हृदयघात भएपछि Myocardium viability हेर्न सकिन्छ। आजकाल CORONARY CT ANGIOGRAPHY बाट Calcium score र अवरोध पनि हेर्न सकिन्छ।

जब मुटुको घमनी ७०% भन्दा बढी अवरोध भएमा यस्लाई ANGIOPLASTY अथवा CABG (CORONARY ARTERY BYPASS GRAFING) गर्नुपर्छ।यदि ७०% भन्दा कम अवरोध भएमा नियमित जाँच र औषधि सेवनका साथै जीवनशैलीमा परिवर्तन ल्याउनुपर्छ।

हाल मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरमा मुटुको वयस्कहरुको सवै प्रकारका उपचार तथा शल्यकृया शुरु भैसकेको छ। चाडै नै क्याथ ल्याब पनि सुरु हुदैछ । नेपाल सरकारबाट विपन्न नागरिकले पाउने सुविधा पनि छ, भल्बको शल्यकृया निःशुल्क गर्न पहल हुँदैछ। निकट भविष्यमा मुटु र फोक्सोको प्रत्यारोपणको तयारी हुँदैछ। तर जनशक्तिको कमी र विरामीको चाप अनुसार अस्पताल भवनको क्षमता कम भएको हुनाले नेपाल सरकारले जनशक्ति र ठूलो ठाउँ उपलब्ध गराउन पहल गरिरहेको छ।

हृदयघात हुनुभन्दा एक महिनाअघि शरीरले दिन थाल्छ यस्ता संकेत

हृदयघातको नाम सुन्दा पनि धेरैलाई डर लाग्छ । यो जतिखेर पनि जहाँ पनि आउन सक्छ । हृदयघातका कारण हरेक वर्ष धेरै मानिसको मृत्यु हुन्छ ।

बूढाबूढीलाई मात्र हृदयघात लाग्छ भन्ने होइन । यौवनावस्थामा रहेका व्यक्ति पनि यसको शिकार हुन्छन् । हृदयघात हुनुभन्दा एक महिनापहिले नै यसको लक्षण देखिन शुरु गर्छ । यसमा ध्यान दिँदा यसको खतराबाट बच्न सकिन्छ ।

अन्य भागमा पीडा

छाती वा शरीरका अन्य भागमा पीडा भयो भने हृदयघातको संकेत हो । छाती बाँउडियो भने त पक्का हृदयघातको लक्षण हो ।

सास लिन अप्ठ्यारो

सास लिन गाह्रो भयो भने पनि हृदयघातको लक्षण हो । यस्तो समस्या महिलाहरूमा बढी देखिन्छ ।

पाचनतन्त्रमा गडबडी

पाचनतन्त्रसँग जोडिएका समस्या छ भने बेवास्ता नगर्नुस् । यो पनि हृदयघातको लक्षण हुनसक्छ ।

आत्तिने

लगातार तनाव, चिन्ता र डर महसूस गर्नुहुन्छ भने सम्भावित हृदयघातको लक्षण हुनसक्छ ।

अत्यधिक पसिना

कसरत वा हिँडडुल गर्दा अत्यधिक पसिना आउनु त सामान्य कुरा हो र अकारण पसिना आयो भने चाहिँ हृदयघातको लक्षण हो ।

गोडा फुल्ने

मुटुलाई शरीरका अन्य अंगमा रगत पु–याउन समस्या आएमा शिराहरू फुल्छन् । यो फुल्नु भनेको हृदयघातको लक्षण हो ।

ढुकढुकी बढ्नु

धेरै दिनसम्म नसा र ढुकढुकी तीव्र गतिमा दौडिरहेका छन् भने बेवास्ता नगर्नुस् र चिकित्सकलाई अवश्य देखाउनुस् ।

नोट: माथि उल्लेखित स्वास्थ्य सम्बन्धी जानकारीहरु विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो । मानिसको शारिरिक अवस्था र समय अनुसार पनि माथि उल्लेखित कुराहरुको उपलब्धी फरक पर्छ । सम्पुर्णरुपमा यहि कुरामा मात्रै भर नपर्नुहोला । माथि उल्लेखित कुराहरु प्रयोग गर्दा तपाईको स्वास्थ्यमा थप खराबी देखिए, कृपया तुरुन्त रोकेर स्वास्थ्यकर्मीहरुसँग सल्लाह लिनुहोस् ।

साथै तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला । तपाइको एक सेयरले थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग मिल्नेछ ।