विशेष गरी शहरी जीवनमा दिनको सुरुवातको अत्यावश्यक चिज बन्दै गएको कफीको प्रियता बिस्तार हुँदैछ । कफी पिउनेहरुको जमात ठूलो छ र नेपालमा व्यवसायिक रुपमा उत्पादन पनि हुँदै आएको छ गुल्मीसहितका जिल्लामा ।

कफी मानव स्वास्थ्यका लागि फाइदाजनक छ । यसले दुखाई कम गर्ने, फाइबरको इनटेक बढाउने, कलेजोको सिरोसिसबाट जोगाउने, टाइप टू डाइबिटिजको जोखिम कम गर्ने, अल्जाइमरको जोखिम कम गर्ने, डिप्रेसन तथा आत्महत्या गर्ने मनसाय हटाउने, पार्किन्सनबाट जोगाउने तथा मुटु सम्बन्धी रोगको जोखिम कम गर्दछ ।

कफी पिउँदा हुने ११ स्वास्थ्य फाइदाहरु 

१. दुखाई कम गर्ने

अध्ययनले देखाएको छ कि शारीरिक परिश्रम हुने खालको काम गरेपछि कफी पिउँदा दुखाई कम हुन्छ । द जर्नल अफ पेनमा प्रकाशित भएको अध्ययन अनुसार शारीरिक व्यायामपछि खाइने दुई कप कफीले व्यायामपछि हुने दुखाई ४८ प्रतिशतले कम गर्छ ।

२. फाइबरको मात्रा बढाउने

कफीमा फाइबरको मात्रा हुन्छ । फाइबर मानव स्वास्थ्यका लागि अत्यावश्यक तत्व हो । एक कप कफीमा १.८ ग्राम फाइबर हुने जर्नल अफ एग्रिकल्चर एण्ड फुड केमेस्ट्रीले उल्लेख गरेको छ । एक व्यक्तिले दिनको २०-३८ ग्राम फाइबर लिनु पर्ने विज्ञले बताएका छन् ।

३. लिभरको सिरोसिसबाट जोगाउने

कलेजोको सिरोसिस हुनबाट कफीले जोगाउन सक्ने देखिएको छ । सेलको डिजेनेरेशनका कारण हुने सिरोसिसविरुद्ध कफी फाइदाजनक हुने हेपाटोलोजी जर्नलमा प्रकाशित अध्ययनमा उल्लेख गरिएको छ ।

४. टाइप टू डाइबिटिजको जोखिम कम गर्ने

दिनको ६ कप वा त्यो भन्दा बढी कफी पिउने व्यक्तिमा डाइबिटिजको जोखिम २२ प्रतिशत कम हुन्छ । पछिल्लो अध्ययन अनुसार एक कप कफीका कारण टाइप टू डाइबिटिजको जोखिम ९ प्रतिशत कम गर्ने देखिएको छ ।

५. अल्जाइमरको जोखिम कम गर्ने

कफीमा हुने क्याफिनले अल्जाइमर रोगको जोखिम कम गर्ने केही अध्ययनहरुले देखाएका छन् । कफीले ब्रेन प्लाक्यु निर्माणलाई जोगाउने देखिएको छ । ब्रेन प्लाक्यु कम हुँदा अल्जाइमरसहितका रोग लाग्छ ।

६. आत्महत्या तथा डिप्रेशनको जोखिम कम गर्ने

१० वर्षसम्म ८६ हजार भन्दा बढी महिलामा गरिएको अध्ययन अनुसार कफी पिउनेहरुमा आत्महत्याको जोखिम कम हुने देखिएको हो । यस्तै अर्को अध्ययनमा दिनको चार कप वा त्यो भन्दा बढी कफी पिउने महिलामा डिप्रेशनको जोखिम २० प्रतिशतले कम हुने देखिएको छ ।

७. पार्किन्सनबाट जोगाउन सहयोग गर्छ

स्वीडनेमा भएको पछिल्लो अध्ययन अनुसार कफीले पार्किन्सनसहितका जोखिम कम गर्न सहयोग गर्ने देखिएको छ । वंशाणुगत कारणले हुने पार्किन्सनबाट पनि कफीले जोगाउन सक्ने अध्ययनमा उल्लेख छ ।

८. मुटु सम्बन्धी रोगको जोखिम कम

कोरियामा भएको अनुसन्धानले कफीका कारण मुटु सम्बन्धी रोगको जोखिम कम हुने देखिएको छ । दिनको तीनदेखि पाँच कप कफी पिउनेमा मुटु सम्बन्धी रोगको जोखिम कम हुने देखिएको हो ।

९. कफी पिउनेहरुको डिएनए बलियो

युरोपियन जर्नल अफ न्युट्रिसनमा प्रकाशित भएको अध्ययन अनुसार कफी पिउनेहरुको डिएनए बलियो हुने देखिएको छ ।

१०. मल्टिपल स्क्लोरोसिसको जोखिम कम गर्ने

कफीका कारण मल्टिपल स्क्लोरोसिस (एमएस) को जोखिम कम हुने देखिएको छ । पछिल्लो अध्ययन अनुसार दिनको कम्तिमा चार कप कफीले एमएसको जोखिम कम गर्ने देखिएको छ ।

११. कोलोरेटिकल क्यान्सरको जोखिम कम गर्ने

कफीको कम मात्रै प्रयोगले पनि कोलोरेटिकल क्यान्सरको जोखिम २६ प्रतिशतले कम गर्छ । कफीको मात्रा बढ्दै जाँदा जोखिम थप घट्दै जान्छ ।

कफीले छालाको स्वास्थ्यमा पूराउने फाइदा निम्न छन्

१. छालालाई मुलायम र चम्किलो बनाउन पनि कफीले मद्दत पूराउँछ । कफीमा हुने तत्वले नष्ट भएको तन्तुको पुननिर्माणमा सहयोग गर्छ ।

कोषको पुनः वृद्धिमा सघाउँछ र छालामा कोलाजेन फाइबरको तह बढाउँछ । यसका कारण छालाको लचिलोपना बढ्नुका साथै चम्किलो पनि बन्दछ ।

२. रक्तसंचारलाई स्वस्थ तथा दुरुस्त बनाउनका लागि समेत कफीले भूमिका खेल्दछ ।

कफीमा हुने तत्वले रक्तनलीमा रगतको संचारलाई स्वस्थ तवरबाट संचालन गर्न सहयोग गर्दछ जसका कारण छालाका कोषिकामा पर्याप्त अक्सिजन तथा उर्जा पुग्दछ र छाला स्वस्थ बन्दछ ।

३. कफी एन्टी अक्सिडेन्ट तत्वको भरपर्दो श्रोत हो । यो तत्वले छालामा चाउरीपना, बुढ्यौलीका लक्षण देखिनबाट रोक्दछ ।

साथै एन्टीअक्सिडेन्टले छालाको कोषको क्षयिकरणको दर पनि घटाउनुका साथै विभिन्न खाले प्रदुषक तत्वबाट छालामा हुने हानीबाट समेत सुरक्षा प्रदान गर्दछ । कफीमा हुने एन्टी अक्सिडेन्टले छालाको प्राकृतिक सुरक्षा प्रणालीलाई मजबुत बनाउँछ ।

४. कफीको नियमित सेवनले घाममा हुने परावैजनी किरणबाट छालामा पर्ने हानीबाट समेत जोगिन सघाउ पुग्ने वैज्ञानिकहरु बताउँछन् ।

परावैजनी किरणले छालालाई नराम्रो असर पूराएर क्यान्सर जस्ता जटिल रोग समेत निम्ताउने जोखिम हुन्छ । तर कफीमा भएको क्याफाइन तत्वले छालालाई विकिरणबाट सुरक्षा कवच प्रदान गर्छ । यसका साथै क्याफाइनले डिएनए क्षयिकरणको दर पनि घटाउँछ । यसका साथै कफीले छालामा क्यान्सर प्रतिरोधी क्षमताको समेत विकाश गर्न मद्दत पूराउँछ ।

कफीले आयु बढाउन सक्ने एक अनुसन्धान अनुसार

एक अनुसन्धान अनुसार आयु लम्बिन सक्ने परिणाम, दिनमा तीनपल्ट कफी पिउनाले । बेलायतको राजधानी लन्डनस्थित इन्टरनेसनल एजेन्सी फर रिसर्च अन क्यान्सर एन्ड इम्पेरियल कलेजका अनुसन्धानकर्ताहरूको भनाइअनुसार कफी धेरै पिउनुको सम्बन्ध मुटु र पेटका रोगबाट मृत्यु हुने जोखिम घट्नुसँग छ ।

युरोपका १० देशका ३५ वर्ष माथिका करिब ५ लाख मानिसमा अनुसन्धान गरिएको थियो । ‘एनल्स अफ इन्टर्नल मेडिसिन’ जर्नलमा प्रकाशित उक्त अनुसन्धानका अनुसार एक कप थप कफी पिउनाले कुनै पनि मानिसको आयु लम्बिन सक्छ, चाहे त्यो कफी ‘डिक्याफिनेटेड’(कफीबाट क्याफिन निकालिएको) नै किन नहोस् । तर, केही वैज्ञानिकले भने अनुसन्धानको निष्कर्षमा आशंका व्यक्त गरेका छन् ।

उनीहरूको भनाइमा कफी पिएकै कारण हो वा कफी पिउनेहरूको स्वस्थ जीवनशैलीका कारण आयु लम्बिएको हो दाबी गर्न सकिँदैन। युनिभसिर्टी अफ क्याम्ब्रिजका प्रोफेसर सर डेभिड स्पिगलहाल्टर भन्छन्, ‘कफीका कारण मृत्युदरमा आएको कमीको विश्लेषण गर्ने हो भने दैनिक थप एक कप कफी पिउने पुरुषको उमेर तीन महिनाभन्दा बढी लम्बिन सक्छ र महिलाको औसत आयु एक महिना बढ्न सक्छ।’

यो अनुसन्धान सटिक तरिकाले गरिएको भए पनि यसको निष्कर्ष ध्रुवसत्य हो भन्ने चाहिँ होइन। अनुसन्धानले कफीले आयु लम्ब्याउने ठोकुवा गरे पनि कफीमा आयु बढाउने त्यस्तो के तत्व छ भनेर बताउन सकेको छैन। कफीबारे केही भ्रम पनि नभएका होइनन्। केही मानिस धेरै कफी पिउँदा हृदयघात हुने आशंका गर्छन् ।

तर, धेरै कफी पिउँदा मृत्युको जोखिम बढ्ने कुनै त्यस्ता प्रमाण पनि फेला परेका छैनन् । बरु विभिन्न अनुसन्धानले यसको ठीक उल्टो अर्थात आयु लम्बिने निष्कर्ष निकालेका छन् । सन् २०१२ मा ‘न्यु इङ्ल्यान्ड जर्नल अफ मेडिसिन’ले करिब ४ लाख व्यक्तिको स्वास्थ्य सम्बन्धी १३ वर्ष गरेको अनुसन्धानको प्रतिवेदन प्रकाशित गरेको थियो ।

हुन त यी सबै अनुसन्धान विश्लेषणात्मक मात्र हुन् । अहिलेसम्म कफीले हाम्रो मुटु जोगाउँछ वा कफीमा हामीले थाहा नपाएको अन्य कुनै त्यस्तो तत्व छ भनेर पत्ता लागेको छैन। स्वस्थ व्यक्ति कफीप्रति धेरै आकर्षित भएको पनि हुनसक्छ, तर तपाईंलाई कफी पिउने बानी लाग्यो भने हानिकारक भने छैन। कफी अमृत नै नभए पनि तपाईं एकाबिहानै आरामसँग बसेर कफी पिउनुको आनन्द त लिन सक्नु हुन्छ नि होइन त !

नोट: माथि उल्लेखित स्वास्थ्य सम्बन्धी जानकारीहरु विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो । मानिसको शारिरिक अवस्था र समय अनुसार पनि माथि उल्लेखित कुराहरुको उपलब्धी फरक पर्छ । सम्पुर्णरुपमा यहि कुरामा मात्रै भर नपर्नुहोला । माथि उल्लेखित कुराहरु प्रयोग गर्दा तपाईको स्वास्थ्यमा थप खराबी देखिए, कृपया तुरुन्त रोकेर स्वास्थ्यकर्मीहरुसँग सल्लाह लिनुहोस् ।

साथै तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला । तपाइको एक सेयरले थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग मिल्नेछ ।