मानसिक तनाव हुँदा वा शारीरिक परिश्रम गर्दा छातीको बीच भागमा दुख्यो भने मुटु दुखेको शंका गर्नुपर्छ । यस्तो मुटुको दुखाइ छातीमा ढुंगाले थिचेको जस्तो हुने, डोरीले बाँधेको जस्तो, मुठ्ठीले थिचेको जस्तो, आगोले पोलेको जस्तो हुन्छ । यस्तो दुखाइ दायाँ–बायाँ कुम, पाखुरा, घाँटी तथा चिउँडोतिर सर्ने गर्दछ ।

धेरैजसो मानिसले दम बढ्यो भने फोक्सोमा खतरा भएको भनि सोच्दछन् । यो केही सत्य भए पनि दम खोकीको सम्बन्ध फोक्सोसँग मात्र नभई मुटुसँग पनि हुने गर्छ । परिश्रम गर्दा उत्पन्न दम धेरैजसो मुटुकै कमजोरीले हुने गर्छ ।

खुट्टाको घुँडादेखि कुर्कुचासम्म अगाडिपट्टिबाट रहेको लामो हड्डीमाथि औँलाले थिच्दा खोपिल्टा बस्यो भने खुट्टा सुन्निएको रहेछ भन्ने बुझ्नुपर्छ ।

घाँटीको बाहिर दायाँ वा बायाँतर्फ रक्तनली फुलेको छ भने मुटुभित्रको चाप बढ्यो भन्ने बुझ्नुपर्छ । मुटु कमजोर भएमा मुटुभित्रको चाप बढ्छ । यस्तो अवस्थामा घाँटीबाहिरका नसा राम्रोसँग फुलेको देखिन्छ ।

स्वस्थ मानिसको औँलाका टुप्पा चिटिक्क परेका थेप्चा हुन्छन् । मुटुमा समस्या भएका मान्छेको औँलाका टुप्पा
बाक्लो हुन्छ ।

रक्तचाप बढ्यो भने टाउको दुख्छ, चक्कर लाग्ने हुन्छ । कहिलेकाहीँ मुटुको धड्कन ढिला भयो भने चक्कर लाग्ने हुन सक्छ । १ मिनेटमा ६० देखि १०० पल्ट धड्कनुपर्ने मुटु प्रतिमिनेट ४५ भन्दा कमपल्ट धड्कियो भने चक्कर लाग्ने हुन्छ ।

क्षयरोग र क्यान्सर लाग्दा मात्र हैन, कहिलेकाहीँ मुटुमा समस्या हुँदा पनि कफमा रगत देखापर्ने हुन सक्छ । जोर्र्नीहरू दुख्ने र ज्वरो आउने, हातखुट्टा, ओठ आदि झड्का दिँदै अनियन्त्रित रूपमा चल्ने, छातीमा हात राख्दा बेग्लै आवाज आउनेजस्ता लक्षण देखापरे मुटुरोग लागेको हुन सक्छ ।

मुटु कसरी स्वस्थ राख्ने?

सहरीकरण जति बढ्दै गयो हामीलाई हिँड्न उति नै कठिन लाग्न थालेको छ। केही पाइला हिँड्न पनि हामी सवारीसाधन नै खोज्न थालेका छौं।

सुविधा खोज्ने होडमा हामी मुटु रोगको जोखिम बढाइरहेका छौं। मुटु रोग पछिल्लो समयमा घातक र भयावह बन्दैछ।
यसको जोखिम कम गर्ने सबभन्दा सहज उपाय भनेको आफ्नो दैनिकी परिवर्तन गर्नु हो। शारीरिक रूपमा सक्रिय भएर हो।

मुटु स्वस्थ राख्न कम्तिमा पनि दैनिक तीस मिनेट लम्केर हिँड्नुपर्छ। साताको पाँच दिन हिँडे मात्र पुग्छ भन्ने सुनिए पनि सधैं हिँड्नु लाभदायक हुन्छ।

उच्च रक्तचाप, मधुमेह, शरीरको तौल, कोलस्ट्रोलको मात्रा कति छ भनेर वर्षमा कम्तिमा एकपटक स्वास्थ्य परीक्षण गर्नुपर्छ। यस्ता समस्या अचेल निकै बढेका छन्।

जाडोमा मुटुका समस्या बढी हुन्छ। चिसोमा मुटुको धमनी खुम्चिने हुनाले रक्तचाप र रगत जम्न चाहिने प्रोटिन बढ्छ। धमनीमा ‘ब्लकेज’ भएकालाई छाती बढी दुख्न सक्छ। कहिलेकाँही धमनीभित्र जमेको बोसो फुटेर पनि रगत जम्न सक्छ। यसले रगतको प्रवाह रोक्छ र हृदयघातको सम्भावना बढ्छ।

मुटु जोगाउन खानपिनमा ध्यान दिनुपर्छ। दैनिक व्यस्तताका कारण हामी जंकफुड र रेडिमेड खानामा भर परिरहेका छौं। यस्ता खानामा क्यालोरी र फ्याट बढी हुन्छ। शाकाहारी दालभात स्वस्थ हुन्छ। नुन र तेल कम गर्नुपर्छ भने हरियो सागसब्जी र फलफूलमा जोड दिनुपर्छ। मांसाहारी नै भए पनि रातो मासु कम गरी कुखुराको खानुपर्छ। माछा पनि लाभदायक मानिन्छ।

हरियो सागसब्जी र फलफूलमा धेरै एन्टीअक्सिडेन्ट हुन्छ जसले खाना पचाउन सहयोग गर्छ। खराब कोलस्ट्रोल घटाउँछ र शरीरका कोषिकाको आयू बढाउँछ। बाहिरी खानेकुरामा अक्सिडेन्ट मिसावट हुन्छ जसले मान्छेलाई चाँडै बुढो देखाउँछ।
मुटुका निम्ति जैतुनको तेल राम्रो मानिन्छ। तर, सबैले यो प्रयोग गर्न सक्छन् भन्ने छैन। त्यसैले आफूले प्रयोग गर्दै आएको तेल नै मात्रा घटाउनु लाभदायक हुन्छ।

कम उमेरमै हृदयघात हुने समस्या पनि बढेको छ। बाह्य रूपमा स्वस्थ देखिएको मान्छेको भित्रभित्रै समस्या आइरहेको हुन सक्छ।

चुरोट मुटुका लागि सबभन्दा बढी हानीकारक हो। युवा अवस्थामा हृदयघात हुने ८० प्रतिशत कारक चुरोट नै हो। तनाव, चुरोट, सूर्ती र रक्सी मिश्रणले मुटुमा बोसो जमाउने र फुट्ने क्रम बढाउँछ।

कतिपयलाई रक्सी खाएको भोलिपल्ट रक्तचाप अनियन्त्रित रूपमा बढ्न सक्छ। लामो समय धेरै रक्सी खानो कालान्तरमा मुटु सुन्निएर फेल पनि हुनसक्छ। पुरुषले प्रतिदिन ३० मिली र महिलाले १५ मिलीसम्म रक्सी (हार्ड ड्रिंक्स) खानु ठीकै हुन्छ।

यसबाहेक मुट स्वस्थ राख्न ‘एरोबिक’ गर्नु राम्रो मानिन्छ। हात खुट्टा सबै चलाएर व्यायाम गर्दा मुटुमा रक्तसञ्चार हुन्छ।

लामो समय कुर्सीमा बसेर काम गर्नुपर्नेले बेलाबेला हिँडडुल गर्नुपर्छ। तनाव कम गर्न साथीहरू वा परिवारसँग नयाँ ठाउँ घुम्ने र समय बिताउने वा ध्यान गर्न सकिन्छ। व्यक्तिको रूचि र स्वाभाव अनुसार उसले आफ्नो मन भुलाउने र खुसी राख्ने क्रियाकलाप गर्न सक्छ।

शरीर स्वस्थ राख्ने केही उपाय :

शरीर स्वस्थ भए मात्रै मस्तिष्क पनि स्वस्थ हुन्छ । जुन मान्छे स्वस्थ हुन्छ, त्यो जुनसुकै क्षेत्रमा पनि सफल हुन्छ । किनभने स्वस्थ मान्छेको शरीर र दिमाग पूर्ण रूपमा सक्रिय हुन्छ । स्वस्थ रहनका लागि केही यस्ता उपाय छन्, जो धेरै उपयोगी हुन्छन् र वैज्ञानिक दृष्टिकोणबाट पनि राम्रो मानिन्छन् ।

केही यस्ता उपायः

१. तामाको भाँडामा राखिएको पानी पिउनु स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । तामामा ब्याक्टेरियानाशक गुण हुन्छ । यसले संक्रमण हुनबाट बचाउने गर्छ । तामाको भाँडामा राखिएको पानी फोक्सोका लागि पनि लाभदायक हुन्छ ।

२. शरीरलाई निद्रा मात्र होइन, पूर्ण रूपमा आराम दिनुपर्छ । आठ घन्टा सुत्नु मात्र राम्रो होइन, सुत्नुपहिले इलेक्ट्रोनिक सामानलाई टाढा राख्नुपर्छ । किनभने यसले दिमागलाई असर गर्छ र आराम गर्न दिँदैन । यसले गर्दा आठ घन्टा सुते पनि आराम महसुस हुँदैन ।

३. खानेकुरामा ध्यान दिनुपर्छ । आवश्यकभन्दा बढी खानाले शरीरमा हानि पुर्याउन सक्छ । त्यसैले आफ्नो शारीरिक गतिविधिअनुसार नै आहारको निर्धारण गर्नुपर्छ । कम वा हल्का खाना खाँदा राम्रो । किनभने यसले पेटमा पनि समस्या हुँदैन र मधुमेहजस्ता समस्या पनि हुँदैन ।

४. बस्दा सीधा भएर बस्ने । हामी प्रायः बसेरै दिन बिताउँछौँ । त्यसरी बस्दा कम्मर वा शरीरको पोस्चर राम्ररी नमिलेमा अन्य अंगमा दबाब पर्छ । यसले दुखाइ महसुस हुन्छ । त्यसैले बस्ने वेला ढाड सीधा बनाएर बस्नुपर्छ ।

यो पनि जानीराखौ :

स्वस्थ शरीरका लागी व्यायाम गर्ने पनि तरिका जान्नुहोस् :

शरीरलाई स्वस्थ राख्न एउटा वयस्क मानिसले सातामा कम्तीमा एक सय पचास मिनेट शारीरिक गतिविधि गर्न जरुरी छ । शारीरिक व्यायाम गर्नका लागि योग, एरोविक्स लगायतका अन्य शारीरिक गतिविध गर्न सकिन्छ । तथापि जुनसुकै गतिविधि सुरु गर्दा पनि विस्तारै-विस्तारै तथा थोरैबाट सुरु गरेर क्रमशः समय बढाउँदै लैजानुपर्छ । त्यसको लागि निश्चित लक्षण निर्धारण गर्नुका साथै आफूलाई उत्प्रेरित गर्न जरुरी छ ।

व्यायाम सुरु गर्दा कस्तो र कतिबेर गर्ने ?

केही नगर्नुभन्दा केही गर्नु राम्रो भने झै कम्तीमा पाँच मिनेट शारीरिक गतिविधिबाट पनि व्यायाम सुरु गर्न सकिन्छ । यसलाई पछि विस्तारै बढाउन सकिन्छ । व्यायाम गर्दा एरोविक तथा शरीर सुगठित बनाउने व्यायाम गर्न सकिन्छ । कुनै व्यक्ति विकलाङ्ग भएमा चिकित्सकको सल्लाह अनुसार सक्रिय जीवन जिउन सकिन्छ ।

त्यसबाहेक, मुटु रोग, उच्च रक्तचाप, मधुमेह तथा अन्य कुनै स्वास्थ्य समस्या भएका व्यक्तिले पनि चिकित्सकको सल्लाह अनुसार नै व्यायाम गर्न सक्दछन् ।

पाँच दिन कम्तीमा पनि एरोविक गर्ने

सातामा कम्तीमा साढे दुई घण्टा मुटुको धड्कन बढ्ने, पसिना आउने किसिमको व्यायाम गर्न जरुरी छ । यसको लागि फटाफट हिँड्ने, बास्केटबल, फुटबल लगायतको खेल खेल्ने, डान्स गर्ने लगायतका गतिविधि गर्न सकिन्छ । त्यसबाहेक यस्ता प्रत्येक गतिविधिलाई दश-दश मिनेटको गतिविधिमा बाँडेर दश मिनेट फटाफट हिँड्ने, दश मिनेट डान्स गर्नेजस्ता गतिविधि गर्न सकिन्छ ।

यस्ता कुनै पनि व्यायाम गर्दा ठिक्कको गतिविधि गर्नुपर्छ । आफूले गरेको व्यायाम मोडरेट छ कि छैन भनेर हेर्न कसैसित कुरा गर्न सकिन्छ । किनभने मोडरेट एक्सरसाइज गर्दा सामान्य बाक्य बोल्न त सकिन्छ तर गाना गाउन सकिँदैन ।

प्रत्येक दिन ६० देखि ९० मिनेटको एक्सरसाइज गर्ने

शरीरको तौल कम गर्न चाहनेहरूका लागि दिनमा कम्तीमा पनि तीस मिनेटभन्दा बढी एक्सरसाइज गर्न जरुरी छ । यस्ता एक्सरसाइज बिहान मात्र गर्नुपर्छ भन्ने पनि छैन । लन्च तथा डिनर पश्चात् पनि केही एक्सरसाइज गर्न सकिन्छ ।

त्यस्तै हड्डी तथा मांसपेशीलाई बलियो बनाउन तथा तागतिलो बनाउन सातामा कम्तीमा दुई पटक हेभी एक्सरसाइज गर्न सकिन्छ ।

विशेषगरी हातखुट्टा, ढाड, पेट, छाती, कुम लगायतका शरीरको विभिन्न अंग बलियो बनाउन सातामा कम्तीमा दुईदेखि तीन पटक वेट लिˆटिङ्गजस्ता हेभी एक्सरसाइज गर्न सकिन्छ ।

यस दौरान आफूलाई सक्रिय राख्न के गर्ने ?

यसका लागि कुनै पनि प्रकारको सामान्य व्यायाम वा गतिविधिबाट दिनको सुरुवात गर्न सकिन्छ । फिटनेस ट्रेनरको सल्लाह अनुसार पनि घुम्ने, टहल्ने, टेनिस, फुटबल आदि गेम खेल्ने तथा अन्य विभिन्न गतिविधि अपनाउन सकिन्छ ।

कुनै पनि गतिविधिको समयावधि बढाउन आफूलाई मन लागेको कुनै एक एक्सरसाइज गर्न सकिन्छ । ताकि उक्त गतिविधि गर्न कुनै असहज महसुस नहोस् ।

क्रमशः समय बढाउने

दैनिक आधा घण्टादेखि एक घण्टा एक्सरसाइज गर्न सुरुसुरुमा जोसुकैका लागि कठिन हुनसक्छ । त्यसैले, कुनै पनि एक्सरसाइज सुरु गर्दा सुरुका दिनमा दश मिनेटबाट सुरु गरेर त्यसलाई कम्तीमा पाँच दिन नियमित गर्दै लैजानुपर्छ । त्यसपश्चात् प्रत्येक साता पाँच , दश मिनेट जोड्दै लगेर दिनमा ३० देखि ६० मिनेट सक्रिय रहन सकिन्छ ।

त्यति मात्र हैन, स्वस्थ रहनका लागि वयष्कहरुलाई मध्यम तथा तीव्र किसिमको एक्सरसाइज सातामा १ सय ५० मिनेट देखि साढे दुई घण्टासम्म गर्नु आवश्यक छ । यस्ता एक्सरसाइजले मुटुलाई स्वस्थ राख्नुका साथै श्वासप्रश्वास सम्बन्धी गतिविधि सुचारु बनाउन सहयोग गर्छ । कहिलेकाही यस्ता गतिविधि गर्दा ३० मिनेट एकै पटक एक्सरसाइज गर्न नसकेको खण्डमा १० दश मिनेटको ब्रेक लिएर पनि त्यस्ता एक्सरसाइजलाई पूरा गर्न सकिन्छ ।

एक्सरसाइज गर्नका लागि टिभी हेर्ने, भिडियो गेम खेल्ने तथा इन्टरनेट चलाउने समयमा कटौती गर्न सकिन्छ । त्यसबाहेक, परिवारको साथमा कतै घुम्न गएर, व्याडमिन्टन खेलेर तथा पार्कमा घुम्न गएर आफूलाई सक्रिय राख्न सकिन्छ ।

मौसम चाहे जस्तो होस्

धेरै जसो मानिस गर्मी तथा वर्षाको वहाना बनाएर एक्सरसाइज गर्न हच्किन्छन् । जबकि निश्चित लक्ष्य लिएको खण्डमा जुनसुकै मौसममा पनि उत्तिकै सक्रिय रहेर एक्सरसाइजलाई निरन्तरता दिन सकिन्छ ।

यसका लागि एउटा वर्षाको समयमा रेनकोट लगाउन सकिन्छ भने जाडो मौसममा ज्याकेट, टोपी तथा सनस्कि्रनका साथमा न्यानो कपडा पहिरिएर एक्सरसाइज गर्न सकिन्छ । त्यसबाहेक इनडोर एक्सरसाइज गरेर पनि सक्रिय जीवनशैली अपनाउन सकिन्छ ।

नोट: माथि उल्लेखित स्वास्थ्य सम्बन्धी जानकारीहरु विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो । मानिसको शारिरिक अवस्था र समय अनुसार पनि माथि उल्लेखित कुराहरुको उपलब्धी फरक पर्छ । सम्पुर्णरुपमा यहि कुरामा मात्रै भर नपर्नुहोला । माथि उल्लेखित कुराहरु प्रयोग गर्दा तपाईको स्वास्थ्यमा थप खराबी देखिए, कृपया तुरुन्त रोकेर स्वास्थ्यकर्मीहरुसँग सल्लाह लिनुहोस् ।

साथै तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला । तपाइको एक सेयरले थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग मिल्नेछ ।