अनुपम थियो, त्यो दिन । कौतुहलताले भरिएको मेरो दिमागलाई शान्त पार्न सक्ने एक अत्यन्त उपयुक्त र सुनौलो मौका। मैले सोचेजस्तो रुपमा… शायद अन्तिम !

अँह, कक्षा आठ सम्म आइपुग्दा कहिले पनि त्यो “प्रजनन र यौन शिक्षा” बारे स्कुलमा चर्चा भएन। पाठ्यक्रममा ती बिषयहरु नभएका पनि होइनन्, तर जब-जब ती आउँदथे, सर र मिसहरुको औंलाहरु यति छिटो चल्दथे; अनि नतिजा, जाबो ५-७ पेज त तीन सेकेन्डमै पल्टिहाल्दथ्यो । ठ्याक्कै त्यसबेला रिस उठ्दथ्यो… “वहाँहरु जिन्दगीमा गलत जागिर गर्दै हुनुहुन्छ। बरु ब्यांकमा पैसा दिने ठाउँमा बस्नु नी”, मेरो दिमागले आवेगमा सोच्ने गर्दथ्यो।

ती बिषयहरु बारे बुझ्ने अरु स्रोत नभएका पनि होइनन्, तर निश्चिन्त भई ढुक्कसँग प्रश्नोत्तर गर्दै साँचो कुरा जान्ने अरु बिश्वस्त ठाउँ मैले कहिं पनि देखिन । अन्तर्मुखी भएकोले होला जो सँग पनि सोध्न नसक्ने म, त्यसमाथि कक्षाका चल्ता-पुर्जा केटाहरुका कुरा धेरै नै अतिरञ्जित। मोबाईल फोन पनि १० कक्षापछि मात्र दिन्छु भन्नु भएको थियो, बा ले ।

कहिलेकाँही काठमाडौँबाट आउनेहरुको कुरा सुन्दा यस्तो लाग्थ्यो , यो मधेशको ठाउँनै यस्तो । म जस्तो उमेरको मान्छेलाई पनि बच्चै सोचेर बाँधेर राख्नुपर्छ भन्ने सोच भएको, दिक्क लाग्दो…. एउटा मोबाईल दिन पनि !

साँच्चै नै त्यो दिन अनुपम थियो। भित्र-भित्रै यो पाली चाहिँ पक्कै ती बिषयहरुमा चर्चा हुन्छ भन्ने विश्वास थियो। बिश्वास यस कारण कि, ती कुराहरु समेटिएको बिषय ऐच्छिक थियो। त्यस माथि पढाउने शिक्षक बिदेशी। “अब बिदेशी शिक्षक भएपछि, पक्कै पनि वहाँलाई ती बिषयहरुमा कुरा गर्न लाज नलाग्नु पर्ने हो”, मनमा एकप्रकारको निश्चिन्तता थियो ।

खाजा पछिको त्यो कक्षामा, सधैझैँ वहाँ आउनुभयो। आफ्नो बेग्लै लवजमा “गुड अफ्टरनुन क्लास” भन्दै। सधै ठुलो स्वरमा अभिवादन गर्ने म, त्यस दिन चुप थिएँ। वास्तबमा भन्नु पर्दा, त्यस बेला मरिगए बोलि फ़ुटेन र मेरो लागि सबै कुरा रोकिएको थियो – निमेष भरका लागि भएपनि।

“आजको क्लासमा के….. छ”?

“सर, पेज नम्बेर ३४”… प्रश्न सकिन नपाउँदै, पछाडी बसेका २ छिल्लिएका केटाहरु हाँस्दै चिच्याए।

सरले किताब पल्टाउनु भयो अनि…… बिना कुनै भाव, फेरी बन्द गर्नुभयो।

“यो बिषय तिमीहरुले बिज्ञानमा पढेकै हुनुपर्छ, आज हामी अर्को चिज बारे कुरा गर्छौं”।

सो निर्णय सुनेर, दु:ख लाग्यो…
“बच्चाहरु कसरी हुन्छन्, अनि यी कुराहरु हामी सबैलाई थाहा छ होईन त? भक्तहरु…सबै भगवानको कृपा हो…” पाठबाट उम्किंदाको स्पष्टीकरण आउदै थियो।

मलाई वहाँको त्यो पहिलो चोटी देखेको आध्यात्मिक रुप मन परेन….पटक्कै मन परेन । तर के गर्नु, कसैको पनि त्यहाँ नाई-नास्ती गर्ने आँट भए पो ? फेरी पनि मनको कौतुहलता जहाँ को त्यहीं रह्यो….जिन्दगी !!
==================================================================================
केहि दिनपछि फेरी चल्ता-पुर्जा केटाहरु बिश्राम समयको फाईदा लिँदै, आ-आफ्ना अनुभव र अतिरञ्जित कुराहरु गर्न थाले। सँगै बसेर सुन्न नसकेपनि उनीहरुको कुरा आईपुग्दा स्वत-स्फुर्त रुपमा कान ठाडा त हुने नै भए ।

“ओए, मैले अस्ति छुट्टीमा एउटा कण्डम प्रयोग गरेको, क्या मज्जा आयो”, केटाहरु वीचबाट एउटा बोल्यो ।

“आफै त गरिस् होला नी, साले जगन्नाथ”……हा हा। अर्कोले कुरा काट्यो…. अनि सबै गललल्ल हाँसे।

“मेरो थोडी बिहे भएको छ रे अहिले”? थप्दै उ पनि आफै हाँस्यो ।

“विद्या कसम…बडा स्मुथ…चिल्लो… मैले….अनुभव…” आदि-इत्यादी, उ थप्दै गयो ….
उनिहरुको संवाद सुनिसकेपछि, मैले आफैसँग अठोट गरें… “अब म पनि एउटा लिएर आफै हेर्छु, हेरौं त्यो पनि कुन खेतको मुली रैछ”।

तर बिडम्बना, कहाँबाट ल्याउने? अर्को पहाड तेर्सियो मेरो स्व-यात्रामा….न म आफ्नो ठाउँको तीरको पसलहरुबाट किन्न सक्थें, न आफ्ना कक्षाका ती केटाहरुसँग माग्न। लाज र डर त छदैं नै थिए….

उपायहरु सोच्दै जाँदा, एउटै निस्कर्षमा पुगें….“बब्लु”! – मेरो स्कुल भन्दा बाहिरको मिल्ने साथी ।
==================================================================================

भोलिपल्ट स्कुल छुट्टि भईसकेपछि, बब्लु सँग भेट भयो। उसले आफ्नो कुरा सुनाउँदै गर्दा, मैले वीचमा फ्याट्ट भनें “बब्ले मलाई एउटा कण्डम चाहियो”…

हा हा.. “रे के गर्छस् बे त्यसले? तेरो जिगर कत्रो छ, त मलाई थाहा छ रे । बेलुन हेर बरु.. त्यस्तै हो रे”।
पहेंलो दाँत देखाउँदै, मस्त दिल खोलेर, बर्षौं देखि बल्ल हाँस्न पाएझैँ गरी हाँस्न थाल्यो ।

“मलाई अरु कुरा थाहा छैन, चाहियो। तैंले मलाई मद्दत गर्नुपर्छ”, मैले ढिपी कसें ।

ए बे.. जा रे मेडिकलमा किन्न। म थोडी त्यसको फ़ेक्टरि हो ?

“तँ ल्याईदे मलाई… बरू लागेको भन्दा दश रुपैंया तँलाई बढी दिन्छु” ।

“जा भाग बे…पागल कुत्ताले टोकेको छ रे मलाई”, उ आफ्नो अडान लिंदै थियो।

“जे ले टोकोस् तँलाई, मलाई मतलब छैन…यत्ति पनि गर्दिन्नस है? ल ल.. मेरो सोझो अनुहारको फेरी परेको बेला फाईदा लिनु छैन हैन तँलाई? अब पर्खि न, तेरो करतूत सबै तेरो बापूलाई भनिदिन्छु अनि पछि पनि तैंले भनेको केहि पनि गर्दिन। मैले भावनात्मक रुपमा धम्क्याँए।

आखिर नधम्क्याउँ पनि किन; मैले उसलाई गरेको सहयोगको सट्टा त्यति सहयोग खोज्ने त मेरो पनि हक लाग्दथ्यो।

मेरो धम्कि सुनेपछि उसले अलि गम्भीर भएजस्तो गर्यो। अनि भन्न थाल्यो…

“तँलाई पार्टीको कुरा थाहा छ”?

“पसले कान्छो?” मैले पुष्टि गर्न खोजें ।

अँ अँ..

के भयो त? उसले दिन्छ? उसको किराना पसलमा पनि राख्न थाल्यो?…

नाई रे.. कुरा त सुन.. भन्न दे न एक बार… ।

एक दिन कान्छोले, परेशान भएर मलाई भन्यो… “आज बाउको दुई लात्ती खाएँ”।

“किन… के गरिस्”?

पासा…मैले बिर्सेर आफूसँग भएको कण्डम, आफ्नो कोठाको टेबलको घर्रामा राखेछु…. बाउले भेट्यो…. टंलाई अहिले नै केटि चाहियो भन्दै लात हान्यो..म टाप” !!

त्यो घटनाबारे सुनाउँदै गर्दा… बीचमा लडी-बडी गर्दै भन्यो “म चाहँदिन रे.. तैले पनि मार भेटोस्”…. उसले आफ्नो कुरा सक्ने तरखर गर्यो।

“नाई, मेरो जिम्मा केहि हुन्न तँलाई, कसैले थाहा पाए पनि तेरो नाम लिन्न”…मैले पनि आफ्नो अडान छाडिन।

मेरो चित्त केहि कुराले पनि नबुझ्ने भएपछि उ बिस्तारै गल्यो ।

“म तँलाई कण्डम दिन सक्दिन, तर कहाँ पाउँछ भनिदिन सक्छु”।

“मेडिकल चाहिं नभन्”… मैले त्यो विकल्प बन्द गरिदिएँ।

“बुझेको छु रे”, उ झन् ज्ञाता बन्यो । “तँलाई थाहा छ बे, हाम्रो हाटखोलाको चिल्ले काले”?

“अँ…. त्यो सँग माग्न जानु”?

हो हो.. तर उसँग माग्नु पर्दैन…तँलाई त्यसको खाट माथिको तख्ती याद छ”?

“छ….जहाँ त्यसले कपाल चिल्लो बनाउने ब्रयलक्रिम (Brylcreem) को धेरै डिब्बाहरु राखेको छ”?

“त्यहीं छ बे”, “पिल्लरको बाजुबाट गिन्ती गर्दा ४ नम्बरको डिब्बामा राखेको छ त्यसले, त्यहाँ बाट एउटा झिकिहाल्।
==================================================================================
काले मेरो पनि नजिकैको साथी थियो…. बिशेष गरि क्रिकेट खेल्दा। उसको घर आउ-जाउ गर्न पनि कुनै समस्या थिएन- अझ भन्नुपर्दा, उसकोमा जान फाईदाजनक थियो। कालेको घरको तल्लो तल्लामा रहेको होटलमा मैले कहीँ पनि खान नमिल्ने कुरा खान पाउँदथे; मुख्यत: बंगुरका मासुको परिकारहरु। त्यसमाथि कालेको बुवा एकदमै मिजासिलो, त्यहाँ पुग्दा वहाँ जहिले पनि खुशी हुने, आफ्नै छोरालाई जस्तो व्यवहार गर्ने, अनि केहि त खाऊ भनि रहनुहुन्थ्यो। म बेला-बेला सोच्दथें, म प्रतिको व्यवहार, शायद मेरो पढाई र सोझो देखिने अनुहारको कारण ले पो हो कि?

केहिपनि बोल्न धक नमान्ने भएपनि, काले त्यति सारो होला भनेर मैले सोचेको थिईन। त्यस बेलाका केहि दिन उसको छवि दिमागमा धमिल्लिदै गरेपनि, मनले केहि पनि सोच्न खोजिरहेको थिएन, आफ्नो स्वार्थ जो थियो, पुरा गर्नुपर्ने थियो मलाई !
==================================================================================
भव्य प्रतिक्षाको पछिको त्यो शनिबार, उसको घर जाँदा शरीरमा उर्जाको बेग्लै संचार भएको थियो। मा पुग्दा उ घर बाहिर रहेछ तर अंकलको सल्लाह अनुरुप मैले माथि गएर बस्दै गर्ने निर्णय गरें। मेरो लागि त झन् सुनौलो मौका थियो त्यो, डिब्बा-छापामार हुने।

तर मेरो दुर्भाग्य…. कोठा पुगेपछि पो थाहा भयो ! सधै डिब्बा हुने त्यो दिन फलेकमा कुनै पनि थिएन। त्यो देखेपछि मनलाई एक किसिमको निराशाले छोप्दै ल्यायो…उसको झ्यालबाट बाहिर हेरेर टोलाउनु भन्दा अर्को विकल्प म सँग केहि थिएन।
“हाव… केटा, तँ कति खेर आईस ?”
“एकैछिन भयो” उसको प्रश्नको उत्तर दिदैं, म फर्किएँ।
“अनि के छ? सुना। “अर्को शनिबार चाहिँ क्रिकेट खेल्न जानु पर्छ है..यो हप्ता पानी पर्दैन अरे… शनिबारसम्म त पीच पनि सुकिसक्छ, अनि…..” उ हप्ता-दिनको योजना सुनाउँदै गयो ! तर अगाडीको दुई वाक्य बाहेक केहि कानमा घुसेको भए, मारिदिनु !

आफूभित्रको त्यो छटपटी सम्हाल्न नसक्ने भएपछि मैले भित्र भए जति सबै साहस निकालेर मुख फोरें…”ओए, मलाई एउटा कण्डम दे न”।

मेरो कुरा सुनेपछि, पहिला त उ ट्वाल्ल पर्यो, एकछिन खित्कियो अनि केहि नबोली….हातले पर्खिन ईशारा गर्यो।
त्यो पल साच्चैंनै कति राहत दिने, अनि उसले बनाउने बंगुरको सेकुवा भन्दा पनि धेरै मिठो थियो।
उसले खाटमुनि बाट आफ्नो बाकस झिक्यो। बाकसमा रहेको ७-८ वटा ब्रयलक्रिम को डिब्बा मध्ये एउटा खोल्यो, त्यहाँ बाट एउटा कण्डम झिक्दै मेरो हातमा राखीदिएर भन्यो.. “लु मोज गर् केटा” ।

“होईन, मलाई खोलेर हेर्न मात्र चाहिएको हो”, आफ्नो अभिप्राय दर्शाउन खोजें।

“तेरो इच्छा”, उसले केहिपनि चासो लिएन।

नपाउँदा कस्तो औडाहा भएको मलाई, त्यो हातमा लिई सकेपछि भित्र एकप्रकारको मिश्रित भावले सतायो। खुशी हुदै गर्दा, सँगै थररर मुटु कामेको पहिलो पटक अनुभव गर्दै थिएँ म।

“ल, म गएँ है”, र्युद्ध फत्ते गरेझैँको जोशका साथ झैँ, मैले भनें ।

“ल जा जा…. अर्को शनिबार नबिर्सी है”…..“ए साँची बरु केहि खान्थिस कि?”

“नाई, आज केहि नाई, अलि हतार छ आज”।
==================================================================================
शायद, यस्तो महशुस हुनु स्वाभाविक नै हो। नपाउँदा के के न होला भनेर हुटहुटी लाग्ने चिज, पाएपछि कति छिट्टै भारी हुने। अझ स्पष्टसँग भन्नु पर्दा गोजीमा भएको १०-१५ ग्रामको कण्डमले, छातीमा पल्ला बराबरको भार दिईरहेको थियो। अनि मेरो हात बेलाबेलामा अनायासै गोजी छाम्न पुग्दथ्यो, त्यो नखसेको सुनिश्चित गर्न।
मुख्य प्रश्न त अझै बाँकी नै थियो। यसलाई कहाँ लगेर राख्ने? घरमा कसैले देखे भने क् हुन्छ? मलाई पार्टी जस्तो लात खानु छैन.. यस्तै कुरा सोच्दा सोच्दै घर आईपुगेछ।

“ओए, के गरेर आईस्? शनिबारको दिन पनि तँलाई फुर्सद नहुने भयो?….आ, खाजा खान”…घर पुगेपछि एक्कासी परिचित आवाजले झस्क्यायो।

“केहि छैन… म लुगा फेरेर आँउछु”, मनको बाघलाई नियन्त्रण गर्दै म आफ्नो कोठा पुगें।

ढक्क फुलेको मुटुलाई कोठाको बन्द चुकुल भित्र शान्त पार्न खोजें… केहि छिन् लाग्यो, ढुकढुकी सुस्त हुँदै जान ।

“बेला भएन? चिया सेलाई सक्यो”।

“१ मिनेट… आएँ”, झस्किएकै स्वरमै कोठाबाट चिच्याएँ।

वरिपरि हेरें। कहाँ राख्ने यसलाई ? कुनै ठाउँ पनि सुरक्षित लाग्न छाडिसकेको थियो, त्यसबेला। बाकसमा राख्न मिल्दैन। किताब राख्ने दराजमा के राख्नु यसलाई? ओछ्यान मुनि पनि, अरुले मिलाईदिंदा फ्याट्ट निस्कियो भने के गर्नु? खाटको तल त बडार्दा पक्कै देखिन्छ। उफ्फ़…खेल्ने कुरामा… !

अँ…. मैले राख्ने ठाउँ भेटिसकेको थिएँ । हो….मेरो खेल्ने कुरा कसैले पनि हेर्दैन, त्यहीं ठिक होला।

त्यो सानो प्याकेटलाई पट्याएर मैले क्रिकेट खेल्दा, विकेट किपरले लगाउने पन्जा (ग्लोव्स) को बाँया हातको बुढी औला भित्र कोचें। एक त त्यो पन्जा ठुलो र कडा, त्यस भित्र औंला सुरक्षित राख्न औंला आकारकै अलि फराकिलो रबरको डल्लो हुन्छ, केहि चिज भएर फुले पनि कसैलाई पनि थाहा हुँदैन। यदि कसैले पन्जा भित्र हात हाल्यो भने पनि पहिला दाँया हाल्छ, मैले… आफु भित्रको मनोवैज्ञानिकलाई जगाएं।

यति गरिसकेपछि, त्यो दिन आफु मिठो खाजा र चिया खान योग्य भएकोमा कुनै सन्देह लागेन।
==================================================================================
यी सिलसिलामा सबै भन्दा कष्टप्रद, आईतबारको दिन थियो। अघिल्लो दिनदेखि बिहान स्कुल नजाँदा सम्म, कोठामा आउजाउ गर्ने हरेक माथि कडा निगरानी गरिरहेंको थिएँ। स्कुलमा हुँदा पनि, कसैले त्यो घरमा भेटेर केहि जात्रा भयो कि भन्ने त्रासले छिनछिनमा सताईरहने। सधै मनपर्ने, न झुप्रो पसलको त्यो चाउमिन न ब्रिजमोहन स्विट्सको सिङ्गडा चार्ट; केहिमा पनि रुचि भएन, त्यो कालो आईतबार। खेल्न पनि खासै मन लागेन, एकैछिन रमायो कि फेरी कहाँ कहाँबाट त्यहि कुराको डर एक्कासी आएर छोप्दथ्यो।

त्यो दिन स्कुल छुट्टि भईसकेपछि; कहीं नगई, साँझ भन्दा अघाडी, घर पुग्दा त सबै चकित। कसैले केहि नभनेपनि, उनीहरुको अनुहार भाव, म प्रस्टसँग पढ्न सक्ने थिएँ। दुई दिन सम्म मेरो दिनचर्या नै घर-स्कुल-घर भएको थियो अनि बेलाबेला पन्जा हेर्दै त्यो त्यहीं भएको निश्चित गर्ने त…. भन्नै परेन।

केहि दिनसम्म कुनै अप्रिय घटना नभएकाले त्यो त्यहाँ सुरक्षित भएको मनले ठम्याउँदै गर्दा मेरो आत्मबिश्वास फर्केर सामान्य भईसकेको थियो। अनि गज्जबका थिए लगत्तैका दिनहरु। सबै चिजमा खुशी, भित्रैबाट आनन्द, युद्ध जिते पछिको जस्तो उन्माद, ठुलै उपलब्धि पश्चातको उमंग झैँ….. जताततै बारम्बार बज्ने गीत “पिरतीको छाता…” जस्तै जिन्दगीले पनि ओडाई रहेको भान भईरहेको थियो, त्यो वैशाखको चिट-चिट मौसममा।

केहि दिनको प्रतिक्षा पछि … अन्वेषणको त्यो रात पनि आयो।

दङ्ग पर्दै मैले पन्जा भित्रबाट त्यो प्याकेट निकालें। नियालेर हेरें त्यसलाई। सेतो टल्किने खोलमा केहि पनि नाम लेखिएको थिएन , बनाएको र त्यसलाई प्रयोग गरिसक्नु पर्ने मिति बाहेक। खुशी लाग्यो, म समय भन्दा केहि बर्ष अघाडी नै रहेछु !

“शायद…. मेरो कराणले देशमा एउटा जनसंख्या बढ्ने वाला छ”, एक शुखद ग्लानी सँगै मैले अलिकति प्याकेट खोलें। त्यसलाई बाहिर निकाल्न, खोलेको प्याकेट भित्र औंला हाल्न साथ, ती चिल्लो भएको अनुभव गरें। अनि, बिस्तारै त्यसलाई बाहिर निकालें।

“साँच्चै नै, बब्लेले भने जस्तै, कण्डम त चिल्लो, पारदर्शी तर अलि लामो…..बेलुन जस्तै पो हुँदोरहेछ” !!!

लेखक : मोचन भट्टराई (fb/mochan.bhattarai)