पौष्टिक आहारको मेनुमामा सबैभन्दा अगाडि फलफूल, सागसब्जीको नाम आउँछ । हरियो सागसब्जी र फलफुल विना पौष्टिक तत्वको आहार अधुरो मानिन्छ । तर, पोषणका लागि खाइने यस्ता खानेकुरा अहिले विषाक्त बन्दैछ । अतः फलफूलबाट हामी पोषण होइन, विष सेवन गरिरहेका छौं ।

कसरी ?

खेतमा उब्जाउ हुने यस्ता सागसब्जीलाई किरा फट्यांग्राबाट जोगाउनको लागि बजारमा पाइने अनेकथरीका किटनाशक औषधीको प्रयोग हुने गर्दछ, तर यसरी किटनाशक औषधी प्रयोग गरेता पनि त्यसमा हामीले हाम्रो नाङ्गो आँखाले नदेखिने किटाणुहरू हुने गर्छ ।

यसमा पनि कैयौ यस्ता तरकारी तथा फलफुल छन जसलाई हामीले पखाले पनि त्यसको सतहमा नदेखिने किटाणुका अंशहरू तासिरहेको हुन्छ । जसको कारण हामीलाई विभिन्न किसिमका रोगहरू लाग्ने खतरा रहन्छ । अमेरिकाको एक गैर-सहकारी संगठन इन्वायर्नमेटल वर्किग ग्रुपले १२ थरीका फलफुलहरूलाई खराब फलफुलको सूचीमा सूचीकृत गरेको छ जस्तै, पालक, स्याउ, नाशपाती, चेरी, अंगुर, गोलभेडा, हरियो खुर्सानी र आलु आदि ।

विभिन्न थरीका किटनाशक

अमेरीकाको कृषि विभागबाट प्राप्त भएको आँकडाका अनुसार, २०१५ मा ७०६ वटा स्ट्रबरीमा गरिएको अनुसन्धानमा ४० वटामा ७० प्रकारका किटनाशक भेटाएका थिए । त्यसैगरी युरोपियन फुड सेफ्टी अथोरेटीले आफ्नो ८४ हजार भन्दा पनि बढी खानाको परिक्षणमा ४३.९ प्रतिशत किटनाशकको अवशेष पाइएको थियो तर त्यसलाई खतारनाक सूचीमा सुचिकृत गरिएको थिएन ।

नो टाक्सिंग टू द लिविंगका निर्देशक कार्लाेस डिप्राडाका भनाई अनुसार उब्जाउ हुने फलफुल वा सागसब्जीहरू मध्ये कुनमा कति किटनाशक छ र त्यसलाई पूर्ण रुपमा नियन्त्रण गर्न भने सम्भव नभएको बताउनु हुन्छ ।

किटनाशकको प्रयोग एकै थरीको हुँदैन

शोधकर्ताहरूको भनाई अनुसार विश्वमा खानाको खपत र किटनाशकको प्रयोग एकै थरीको हुँदैन । कुनै देशमा यसको प्रयोगमा प्रतिवन्ध लगाएको छ भने कुनै देशमा यसको प्रयोग अधिक मात्रामा हुने गर्दछ । अमेरीका र युरोप जस्ता देशहरूमा खाद्य पदार्थमा किटनाशकको प्रयोग कम मात्रामा प्रयोग गरिएको पाइन्छ तर यसलाई शोधकर्ताहरू खतरा भने मानिदैन ।

तर पनि स्वास्थ्य क्षेत्रका केही कार्यकर्ताहरू कम मात्रामा प्रयोग गरेता पनि अनेक थरीका किटनाशक औषधीहरुको एक साथ प्रयोग गर्दा त्यसबाट आउने कांकटेल असरको कारण निकै चिन्तित देखिन्छ । जुन निकै खतरनाक हुन्छ ।

यही सम्बन्धमा केही वैज्ञानिक शोधकर्ताका अनुसार एक साथ फरक फरक किटनाशक औषधीको प्रयोगको मिश्रणबाट प्रजनन क्षमतामा कमी ल्याएको हुन्छ साथै वीर्यको विकास र बच्चाको दिमागमा पनि प्रभावित पारेको हुन्छ । यस्ता किटनाशक औषधीको अधिक मात्रामा प्रयोग गर्नाले हाम्रो शरीरको हार्माेनमा पनि समस्या उत्पन्न गरेको हुन्छ ।

कसरी हटाउने किटनाशक ?

– डि प्राडाका अनुसार आर्गेनिक फलफुल तथा सागसब्जीको प्रयोग नै किटनाशकबाट बच्ने प्रभावशाली उपाय हो, तर यो महँगो र बजारमा सजिलै उपलब्ध हुँदैन ।

– फलफुल अथवा सागसब्जी सफा पानीमा ३/४ चोटी राम्ररी धुनाले पनि केहि फाइदा हुन्छ, तर यसबाट किटनाशक पूर्ण रुपमा सफा भने नहुन सक्छ ।

– फलफुल जस्तै नाशपाती, स्याउ तासेर खानाले पनि किटनाशकको खतरामा कमी आउँछ । अन्य फलफुल जस्तै अंगुर, स्ट्रवरी, चेरी मज्जाले पानीमा पखालेर मात्र खानुपर्छ ।

कस्तो हुनुपर्छ खानपान ?

आरोग्य, अर्थात रोगमुक्त हुनु । स्वस्थ्य रहनु शरीरको स्वभाविक अवस्था हो । रोग, विकार, कष्ट, दुख वा दुर्बलता अस्वभाविक अवस्था हो । प्रकृति व्यवस्थाको उल्लंघनको कारण यस्तो हुन्छ ।

जो व्यक्ति प्राकृतिक जीवन होइन, कृतिम वा भौतिक जीवनमा डुब्छन्, उनीहरु स्वास्थ्यप्रति लापरवाही हुन्छन् । यसको कारण शरीरमा रोग लाग्छ । यसमा खानपानको गडबडी एक ठूलो कारण हो ।

खानपानसम्बन्धी यी कुरा बुझ्नैपर्छ-

१. खाना अर्थात आहार त्यही हो, जसबाट शरीरलाई आवश्यक सबै पोषण तत्व प्राप्त हुन्छ ।

२. खाना मिठो र सुपाच्य हुनुपर्छ ।

३. खानेकुराले शरीरलाई उर्जा प्रदान गर्छ । निरोगी बनाउँछ ।

४. खाना बिस्तारै चपाएर खानुपर्छ, जसले गर्दा खानेकुरामा रहेको पोषक तत्व शरीरले राम्ररी लिन्छ ।

५. प्रकृतिसँग जति नजिक हुन्छौ, उत्तिनै हामी निरोगी हुन्छौ । ऋतु अनुसार पाइने सागसब्जी, अन्न, फलफूल, कन्दमुल खानुपर्छ ।

६. जतिसुकै भोक लागेपनि तीन भागको एक भाग पेट खाली राख्नुपर्छ, जसमा वायु रहन्छ । यसले पाचन प्रणालीलाई सहज बनाइदिन्छ ।

आहार, निन्द्रा वा ब्रम्हाचर्य

यो मानव जीवनको तीन आधार स्तम्भ हो । यसमा आहार एक महत्वपूर्ण स्तम्भ हो । आहार के हो ?

यसको बयान गर्दै महषिर् चरकले भनेका छन्, ‘अन्न-नलीद्वारा जुन पदार्थ आमाशयमा पुग्छ । र, त्यो हाम्रो शरीरमा धातुको पोषण, रक्षण र क्षतिपूर्ति गरेर जीवन-प्रक्रियालाई संयमित राख्छ । त्यही आहार हो ।’

अर्थात आवश्यक पोषण तत्व परिपूर्ति गरेर शरीरको कार्य-सम्पादन गर्नमा सघाउ पुर्‍याउने नै आहार हो । यसले शरीरलाई उर्जा प्रदान गर्छ ।

मिताहार

आर्युवेदमा भनिएको छ कि, शरीरको निर्माण पोषणयुक्त आहारबाट हुन्छ । अर्थात पोषणले युक्त । अयुक्त आहारले शरीरमा रोग उत्पन्न गर्छ ।

युक्त आहार असलमा मिताहार नै हो । देश, काल, ऋतु, मात्रा, शारीरिक बनावट र मानसिक वृत्तिको ध्यानमा राखेर युक्तिपूर्वक आहार ग्रहण गर्नुपर्छ । यसले शरीरको दोष, अग्नि र धातुलाई समान अवस्थामा राख्छ । मल निष्कासनको प्रक्रिया ठीक प्रकारले हुन्छ । साथै मन वा इन्दि्रय प्रशन्न रहन्छ ।

हठयोगमा आहारको वयान गरिएको छ ।

भोजन मिठो र सुपाच्य हुनुपर्छ । त्यस्तो भोजन भगवानलाई समर्पित गरेर आमाशयको एक तिहाइ भाग पूर्ण गर्नका लागि खानु पर्छ । आमाशयको एक चौथाई भाग पाचन क्रियाका लागि वायुका लागि खाली छाडिदिनुपर्छ ।

अतः जतिसुकै भोक लागेपनि भोक लागेको भन्दा केहि थोरै खानेकुरा खानुलाई मिताहार भोजन भनिन्छ ।

आहार पौष्टिक, स्वादिलो हुनुपर्छ । सकेसम्म गाईको दुधले बनेको भोजन ठिक हुन्छ । साथै त्यसबाट धातुलाई पोषण र मनलाई खुसी प्राप्त हुनुपर्छ । भोजन केवल भोक मेटाउने वा पेट भर्ने साधन होइन ।

भोजनले शरीरको सात धातु -रस, रक्त, मासु, हड्डी, मज्जा वा शुक्र) बनाउँछ । इन्दि्रयलाई उर्जा दिन्छ । भोजनले शरीरको विकास गर्ने र त्यसलाई निरोगी बनाउने काम गर्छ । त्यसैले भोजन गर्नुअघि त्यसको सही चयन गर्न सक्नुपर्छ । अर्थात त्यसमा आवश्यक तत्व, कार्बोहाइड्रेट, बोसो, प्रोटिन, भिटामिन, खनिज, लवण र जल हुनुपर्छ ।

चपाएर गरौं भोजन

भोजन गर्दा हतारमा वा छिटोछिटो गर्नु हुँदैन । भोजन बिस्तारै-बिस्तारै, प्रेमपूर्वक वा शुद्ध भावले गर्नुपर्छ । अक्सर हामी हतारमा चपाएर निल्छौ । यसो गर्दा मुखबाट निस्कने र्‍याल खानामा सही ढंगले घुलमिल हुन पाउँदैन । त्यस्तो भोजन पेटमा पुगेपछि पाचन प्रणालीलाई बोझ हुन्छ । यसले आन्द्रालाई कमजोर बनाउँछ ।

दाँतले पनि राम्ररी आफ्नो काम गर्न पाउँदैन, त्यसैले त्यो पनि कमजोर हुन्छ ।

खाना राम्ररी चपाएर खानुपर्छ, जसले गर्दा त्यसमा रहेको पौष्टिक तत्व हाम्रो शरीरमा राम्ररी प्राप्त हुन सकोस् । त्यसैले के भनिन्छ भने, भोजनलाई त्यसबेलासम्म निल्नु हुँदैन, जबसम्म त्यो पिसिएर रसदार हुँदैन ।

यसै प्रकारले पेय पदार्थ पनि मुखमा राखेर पिउनुपर्छ । भोजन गरेको समयमा चिसो पानी पिउनु हुँदैन । भोजन गर्नुभन्दा आधा घण्टा अघि वा आधा घण्टा पछि मात्र पानी पिउनुपर्छ ।

जिब्रोको काम

जिब्रोको दुई वटा काम छ । पहिलो स्वाद लिने, दोस्रो बोल्ने ।

यदि यी दुबै कामलाई आफ्नो अधिनमा लिन सकेमा मानिस स्वस्थ्य र सुखी रहन्छ । स्वादका लागि जस्तोपायो त्यस्तै खानेकुरा सेवन गर्दा रोगी हुन्छ । साथै जे पायो त्यही बोल्दा दुख वा सत्रुको सामना गर्नुपर्छ । यी दुबैमा नियन्त्रण गर्नुपर्छ ।

अक्सर के हुन्छ भने हामी स्वादिष्ठ खानेकुरामा लोभिन्छौ र जिब्रोको निर्देशन मानेर जे पनि खान्छौ । कति मान्छे त दिनहुँ समोसा, पकौडा, चाट, तारेको खानेकुरा सेवन गर्छन् । पिरो, अमिलो वा मसेलदार खानामा लोभिन्छन् । उनीहरु जिब्रोलाई महत्व दिन्छन् । यसले स्वास्थ्यलाई खराब गर्छ ।

यसैले खानुअघि बुद्धिको प्रयोग गर्नुपर्छ । खाना अगाडि आएपछि यो सोचौं कि, उक्त खाना शरीरमा गएपछि त्यसले असर त गर्दैर्न ?

यस्तो खानेकुरा सेवन गरौ, जो स्वास्थ्यवर्द्धक होस् । खानपानमा नियन्त्रण गरौ ।

प्रकृतिसँग नजिक

व्यक्ति प्रकृतिसँग जति नजिक हुन्छ, उतिनै बढी स्वस्थ हुन्छ । अहिले रोगको कारण नै मानिसहरु प्रकृतिबाट टाढा हुनु हो । फलस्वरुप प्रकृतिबाट मिल्ने स्वभाविक उर्जा शरीरले पाएको छैन । जबकी सम्पूर्ण प्रकृति हामीलाई स्वस्थ्य बनाइराख्नका लागि प्रयासरत हुन्छ । त्यसैले प्राकृतिक खाद्य पदार्थ जस्तो कि, अन्न, फल आदिमा धेरै निर्भर हुनुपर्छ ।

ऋतु अनुसार मिल्ने सब्जी, फल स्वास्थ्यमैत्री हुन्छ । जबकी कोल्ड स्टोरमा राखिएको खानेकुरामा पोषक तत्व हुँदैन ।

खानेकुरामा सबै किसिमको पोषण तत्व हुनुपर्छ । साथै त्यसमा सबैखाले रंग पनि हुन आवश्यक छ । खाना सेवन गर्दा हातले गर्नु राम्रो हो । यो हाम्रो परम्परा पनि हो । हातले खाना सेवन गर्दा स्वास्थ्यलाई फाइदा पुग्ने वैज्ञानिक तथ्य नै छ ।

भावको अभाव किन ?

खाना खाने क्रममा हामी अरु काम गरिरहेका हुन्छौ । र, ठान्छौ खाना खाने समय वर्वाद भएन । तर, यो एकदमै बेठिक हो । खाना खाएको बेला अन्यत्र ध्यान दिनु वा अन्य काम गर्नु ठिक होइन । खाना सेवन गरिरहँदा सम्पूर्ण ध्यान खानामा हुनुपर्छ ।

खाना खएको बेला हामीमा खानाप्रति शुद्ध भाव हुनुपर्छ । खाना शरीरमा गएपछि उर्जाको रुपमा खर्च भएको तत्व परिपूर्ति गर्छ, रोगबाट लड्छ, बल-बुद्धि आरोग्य वा सुन्दरता दिन्छ । अतः भावको अभावमा भोजनले शरीरमा राम्रो प्रभाव पार्दैन ।

खाना खाएको समय ठिक ढंगले बसेर, शान्त मनले खानामै केन्दि्रत भएर खानुपर्छ ।

खाना खाएको समय हतारमा, रिस, आवेगमा हुनु हुँदैन ।

दुई पटक मलत्याग

सामान्यत हामी दिनमा दुई पटक भरपेट खाना खान्छौ, जसले दुई पटक मल अर्थात दिसा बन्छ । तर, हामी एक पटक मात्र खासगरी बिहानको समयमा दिसा उत्सर्जन गर्छौ । र, एक समय मल आन्द्रामै रहन्छ । यसले कब्जियत, ग्याष्ट्रिक, भारिपन, आलस्य, रक्त विकार, छाला रोग आदि हुन्छ । त्यसैले दुई पटक खाना खान भएपछि बिहान र साँझ दुई पटक शौचालय आवश्य जानुपर्छ ।

प्रकृति अनुसार भोजन

हाम्रो शरीरमा वात, पित्त र कप यी तीन दोष अनिवार्य उपस्थित हुन्छ । यी दोष विकृत भएपछि शरीरमा अनेक प्रकारको रोग लाग्छ । शरीर जुन प्रकृतिको हुन्छ, शरीरमा जस्तो विकार हुन्छ, त्यसलाई ध्यानमा राखेर भोजन गर्नुपर्छ ।

पथ्य र अपथ्य

भोजन दुई प्रकारको हुन्छ, पथ्य र अपथ्य । जुन भोजन शरीरलाई स्वस्थ्य बनाइराख्छ, बल, बुद्धि, दीर्घायु दिन्छ, त्यो पथ्य हो ।

जो भोजन शरीरमा रोग उत्पन्न गर्छ त्यो अपथ्य हो ।

पथ्य-अपथ्यको जानकारी नहुँदा हामी यस्तो भोजन गर्छौ, जुन गर्न नहुने थियो ।

गीतामा गुण-भेदको दृष्टिबाट आहारको तीन प्रकारको हुने भनिएको छ । सात्विक, राजसी, तामसिक । सात्विक आहारले आयु, बुद्धि, बल, आरोग्य, सुख र प्रेम बढ्छ । राजसी आहार लवणयुक्त, अधिक तातो, जलन पैदा गर्ने, रुखो हुन्छ । तामसिक आहार जो अधकल्चो, रसहीन, दुर्गन्धित, बासी र अपवित्र हुन्छ ।

नोट: माथि उल्लेखित स्वास्थ्य सम्बन्धी जानकारीहरु विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो । मानिसको शारिरिक अवस्था र समय अनुसार पनि माथि उल्लेखित कुराहरुको उपलब्धी फरक पर्छ । सम्पुर्णरुपमा यहि कुरामा मात्रै भर नपर्नुहोला । माथि उल्लेखित कुराहरु प्रयोग गर्दा तपाईको स्वास्थ्यमा थप खराबी देखिए, कृपया तुरुन्त रोकेर स्वास्थ्यकर्मीहरुसँग सल्लाह लिनुहोस् ।

साथै तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला । तपाइको एक सेयरले थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग मिल्नेछ ।

यो भिडियो पनि हेर्नुहोस :