गर्भावस्थादेखि जीवनको हरेक अवस्थामा बाँच्न, स्वस्थ रहन र पूर्ण रुपमा मानसिक तथा शारीरिक विकासका लागि मानिसलाई बिभिन्न पोषक तत्वहरुको आवश्यकता पर्दछ ।

यी मध्ये आयोडिन पनि एक महत्वपूर्ण खनिज तत्व हो । आयोडिन बिभिन्न किसिमका फलफूल, तरकारी, अन्डा, गेडागुडी तथा माछा जस्ता चीजहरुबाट प्राप्त गर्न सकिन्छ जुन सबै उमेरका मानिस तथा जीवजन्तुहरुलाई दैनिक रुपमा चाहिन्छ ।

गर्भावस्थादेखि २ वर्षको उमेरसम्म मानिसको दिमागको ८० प्रतिशत विकास भईसकेको हुन्छ । त्यसैले यस समयमा शरीरमा आयोडिनको कमी भएमा मानसिक तथा शारीरिक विकासमा अवरोध आउँछ ।

नेपालको भौगोलिक अवस्थाले गर्दा यहाँको माटो र पानीमा आयोडिनको अभाव छ त्यसैले खानामा आयोडिन मिसाएको नुन खानु नै एक मात्र सरल उपाय हो ।

आयोडिनका फाइदाहरु :

गर्भावस्थामा :

गर्भवती महिलाले दैनिक रुपमा आयोडिनको सहि मात्राको प्रयोगले गर्भको बच्चाको मानसिक र शारीरिक विकासमा मद्दत गर्छ । साथै आयोडिनको कमीले गर्भको बच्चा तुहिने, मरेको बच्चा जन्मने जस्ता समस्याहरुबाट बच्न सकिन्छ ।

बाल्यावस्थामा :

बाल्यावस्थामा आयोडिनको सही मात्राले बालबालिकाको मानसिक तथा शारीरिक विकासमा मद्दत गर्छ ।

किशोरावस्थामा :

किशोरावस्थामा आयोडिनको सही मात्राले मानसिक तथा शारीरिक बृद्धि हुनुका साथै पढाइका साथसाथै अन्य क्रियाकलापमा पनि सकारात्मक असर पर्दछ ।

सबै उमेरमा :

आयोडिनको सही मात्राले शरीरका बिभिन्न अंगहरुको बिकासमा सहयोग गर्ने हुनाले यसको प्रयोगले गलगाँड तथा हाइपोथाइरोइडिजम् जस्ता समस्याहरु बाट मुक्ति मिल्छ ।

यो जानकारी पनि थाहापाउनुहोस् :

शरीरका लागि आवश्यक क्याल्सियम कसरी प्राप्त गर्ने ?

दूध र दूधजन्य उत्पादन क्याल्सियमको प्रमुख स्रोत हो । क्याल्सियमले शरीरको मांसपेशी बलियो बनाउनका साथै हड्डी पनि दरिलो हुन्छ । त्यसो भन्दैमा दूध मन नपराउनेहरूले क्याल्सियम कसरी प्राप्त गर्ने भन्ने चिन्ता लिनुपर्दैन । हाम्रो शरीरलाई आवश्यक क्याल्सियम पाउन दूधकै भर पर्नुपर्छ भन्ने पनि छैन । क्याल्सियम प्राप्त गर्न यी खाद्य उपयोगी हुन्छन् :

तिल : अचारमा प्रयोग हुने तिल शक्तिवद्र्धक खाद्य सामग्री हो । यसमा क्याल्सियमको मात्रा प्रशस्त हुन्छ । एक औँस तिलमा २ सय ७७ मिलिग्राम क्याल्सियम पाइन्छ ।

टुसा पलाएको भटमास : हामी भटमास उसिनेर, भुटेर खान्छौँ । विभिन्न सांस्कृतिक पर्वमा भटमास टुसा आउने गरी भिजाएर दाल बनाएर खाने चलन छ । यसरी टुसा आएको भटमासमा पनि प्रशस्त क्याल्सियम पाइन्छ । आधा कप टुसा पलाएको भटमासमा दुई सय ३० मिलिग्राम क्याल्सियम हुन्छ ।

सेल्मन माछा : हामी सबैलाई थाहा छ, माछामा क्याल्सियम हुन्छ । तर, सेल्मन जातको माछामा अन्यभन्दा बढी क्याल्सियम हुन्छ । एउटा सेल्मन माछामा दुई सय १२ मिलिग्राम क्याल्सियम पाइन्छ ।

काँक्रो, बन्दाकोबी : हरियो काँक्रो, बन्दाकोबी पनि क्याल्सियम बढी हुने तरकारी हो । यसलाई सब्जीको रूपमा भन्दा जुस बनाएर खाँदा बढी क्याल्सियम पाइने चिकित्सकहरू बताउँछन् । एक कप झोल बनाएर पिउँदा एक सय ८८ मिलिग्राम क्याल्सियम पाइन्छ ।

बदाम : मानिसलाई शक्ति दिने खाद्यवस्तुमध्ये बदाम पनि एक हो । यसमा मिनरल र क्याल्सियम दुवै उच्च मात्रामा पाइन्छ । एक मुठी बदाममा ७२ मिलिग्राम क्याल्सियम पाइन्छ ।

के हो स्वस्थ जीवनशैली ?

खराब जीवनशैली रोगहरूको प्रमुख कारण हो भने स्वस्थ जीवनशैली आरोग्य जीवनको आधारमात्र नभएर रोगहरूको औषधि पनि हो । खराब जीवनशैलीका कारण ९० प्रतिशत रोगहरू जन्मन्छन् । स्वस्थ जीवनशैलीबाट नै ९० प्रतिशत रोगहरू ठीक हुने गर्छन् । मधुमेह, उच्च रक्तचाप, मुटुका रोग तथा मानसिक रोग (नकारात्मक सोचका कारण) जस्ता डरलाग्दा रोगहरू अनुचित जीवनशैलीकै उपज हुन् । र, यस्ता रोगबाट मुक्त हुन आफ्नो जीवनशैली परिवर्तन गर्न आवश्यक छ ।

चना र मकै झैं मुठीभरि औषधि खाएरमात्र कुनै हालतमा पनि यस्ता रोगहरूबाट मुक्त हुन सकिँदैन । स्वस्थ र निरोगी जीवनका लागि जीवनशैली ठीक राख्न जरुरी छ । स्वस्थ जीवनशैलीका लागि एक पैसा पनि खर्च गर्नु पर्दैन । आहारविहारमा ध्यान दिए पुग्छ । यहाँ आहारको अर्थ व्यापक छ । मुख र जिब्रोले लिने खाद्य पदार्थलाई मात्र आहार मान्नु हुँदैन । आहारको अर्थ हुन्छ, बाहिरको चिज शरीर भित्र लिनु । जेसुकै कुरा पनि हामीले बाहिरबाट भित्र लिन्छौं भने त्यो आहार हो ।

भोजन आहार हो, जसलाई हामीले मुख र जिब्रोद्वारा भित्र लिन्छौं । तर आँखाद्वारा पनि हामीले बाहिरको दृश्य भित्र लिन्छौं । दृश्य पनि आहार नै हो । कानले लिने आवाज, त्वचाले गर्नेे स्पर्श तथा मनले ग्रहण गर्ने विचार र कल्पना पनि आहार नै हो । गलत विचारको आहारले नै अधिकांश मानसिक रोग सुरु हुन्छन् । त्यसैले त भनिन्छ, जस्तो खान्छौं, उस्तै हुन्छौं । त्यसैले आहारको यो महत्ववलाई मनन् गर्दै स्वस्थ जीवनका लागि चार कुरामा विशेष ध्यान दिनु अनिवार्य छ ।

– सन्तुलित भोजन

– शुभाचरण

– निद्रा-वि श्राम

– शुभविचार

यो नै स्वस्थ जीवनशैली हो । यस्तो स्वस्थ जीवनशैलीलाई व्यवहारमा उतार्न स्वस्थकर नियमको पालना गर्नुपर्छ ।

नियम एक

– बिहान सूर्योदयपूर्व वा ब्रह्म मुहूर्तमा उठ्ने बानी बसाल्ने ।

– उठ्नासाथ एकदुई गिलास शुद्ध पानी (कब्जियतले दिसा खलास हँुदैन भने मनतातो पानी) पिएर बाथरुम जाने ।

– दिसापिसाब तथा स्नान गर्ने ।

– दैनिक रूपमा, नसके कम्तीमा पनि सप्ताहको एक दिन स्नान गर्नुपूर्व तोरीको तेल या तिलको तेल या जैतुनको तेलले सम्पूर्ण शरीर मालिस गर्ने ।

-सफासुग्घर लुगा लगाएर शान्त, सफा र खुल्ला ठाउँमा बसेर प्राणायाम, ध्यान तथा योग आसनहरू गर्ने ।

– सकिन्छ भने दिनहुँ पाँच किलोमिटर हिँड्ने या दौडिने ।

– कम्तीमा पनि महिनाको एक पटक उपवास बस्ने ।

नियम दुई

– काम पूरा लगनका साथ गर्ने ।

– परि श्रमअनुसार वि श्राम गर्ने ।

– बढी भोगविलास नगर्ने ।

– विवाहित भए सप्ताहमा एकदुई पटक सहवास गर्ने ।

– समयमै खाने, समयमै सुत्ने र समयमै उठ्ने ।

– गहिरो र पर्याप्त निद्रा लिने ।

– सधैं सत्य, प्रिय र हितकारी वचन बोल्ने ।

– फटाहा कुरा नगर्ने, कटुवचन नबोल्ने ।

– विनम्र व्यवहारको अपेक्षा गरिएजस्तै आफूले पनि विनम्र व्यवहार गर्ने ।

– फजुल खर्च नगर्ने, जुवातास नखेल्ने, व्यभिचार तथा अनावश्यक फेसनमा धन र समय खेर नफाल्ने ।

नियम तीन

– घुस खाने तथा भ्रष्टाचार गर्ने जस्ता कुकृत्यहरू नगर्ने ।

– जस्तोसुकै आपत्-विपत्मा पनि मनको धैर्यलाई टुट्न नदिने ।

– हिम्मत र हौसला बनाइराख्ने ।

– ठूलाको आदर, असलको संगत र सानालाई माया गर्ने ।

– सधैं सत्य, अनुशासन र न्यायको मार्गमा हिँड्ने ।

– अन्याय र असत्यका अगाडि कहिल्यै नझुक्ने ।

– जातपात, भेषूभषा मत-सम्प्रदाय, लिंग, वर्ण र पेसा आदिको आधारमा कसैसग भेदभाव तथा पक्षपातपूर्ण व्यवहार नगर्ने ।

नियम चार

– देशको संविधान र कानुनको पालना गर्ने ।

– देशलाई अहित हुने कुनै काम नगर्ने ।

– सरल र सरस जीवन जिउने ।

– घर सफासुग्घर र फूलहरू रोप्ने ।

– घर बनाउँदा बिहान सूर्यको प्रकाश घरभित्र छिर्ने गरी बनाउने ।

– बेडरुममा अनावश्यक सामग्रीहरू नराख्ने ।

– भित्तामा उत्तेजक तस्बिर तथा धेरै भित्तेपात्रोहरू नझुन्ड्याउने ।

– बिछ्यौना सधैं सफासुग्घर राख्ने ।

– लुगाहरू मिलाएर राख्ने ।

– च्यातिएका लुगालाई नष्ट गर्ने ।

– अध्ययन कोठामा किताबहरू मिलाएर राख्ने ।

– च्यातिएका किताबहरूलाई पुनः बाइन्डिङ गरेर राख्ने ।

– नचाहिने किताबहरू व्यवस्थापन गर्ने ।

– टुटेफुटेका कुनै पनि सामग्रीहरू कोठामा नराख्ने ।

– पत्रपत्रिकाहरूलाई यत्रतत्र नफाल्ने ।

नियम पाँच

– जीवनको एक महान् लक्ष्य बनाउने र त्यसका लागि प्रयासरथ रहने ।

– मेहनतको पसिना बगाउने र अनि चैनका साथ सुत्ने ।

– बेलाबेलामा स्वास्थ्य परीक्षण गराउने ।

स्वस्थ जीवनशैली भनेकै यही हो । यस्तो जीवनशैली अपनाउने मानिसको जीवन नै स्वस्थ र सुखी हुन्छ ।

नोट: माथि उल्लेखित स्वास्थ्य सम्बन्धी जानकारीहरु विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो । मानिसको शारिरिक अवस्था र समय अनुसार पनि माथि उल्लेखित कुराहरुको उपलब्धी फरक पर्छ । सम्पुर्णरुपमा यहि कुरामा मात्रै भर नपर्नुहोला । माथि उल्लेखित कुराहरु प्रयोग गर्दा तपाईको स्वास्थ्यमा थप खराबी देखिए, कृपया तुरुन्त रोकेर स्वास्थ्यकर्मीहरुसँग सल्लाह लिनुहोस् ।

साथै तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला । तपाइको एक सेयरले थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग मिल्नेछ ।