हाम्रो आँखा बेला बेला फरफराइ रहेको हुन्छ । यो फरफराइ केही सेकेण्डसम्म या केही घण्टासम्म जारी रहने हुन्छ । कसै–कसैमा हप्तौंसम्म पनि हुने गरेको पाइन्छ । हाम्रो समाजमा आँखा फरफराउनु भनेको कुनै राम्रो वा नराम्रो घटना वा खबर प्राप्तिको संकेत हो भन्ने विश्वास गरेको पाइन्छ ।

महिला र पुरुषमा अलग–अलग तरिकाले आँखाको फरफराउने विश्वास छ । पुरुषमा दाहिने आँखा फरफरायो भने शुभ समाचार र देब्रे आँखा फरफरायो भने अशुभ समाचार सुन्न पाइने भन्ने मान्यता हुन्छ । भने, महिलामा भने त्यसको ठ्याक्क उल्टो रुपमा लिने गरिन्छ ।

तर, यो सबै विश्वास मात्र रहेको छ । आँखा फरफराउनु विभिन्न वैज्ञानिक कारणसंग जोडिएको हुन्छ । सुख्खा आँखा, प्रकाश सवेदनशिल आँखा, तनाव, थकान, क्याफिन तथा अल्कोहलको प्रयोग, पोषक तत्वको कमी तथा एलर्जी आदिका कारणले आँखा फरफराउने गर्छ ।

आँखालाई धेरै भार पर्ने काम गरेमा, अनिन्द्राको समस्याले सताएमा, विभिन्न तनाबका कारणले हाम्रो आँखालाई कष्ट परिरहेको हुन सक्छ । यो आँखा फरफराउनुको मुख्य कारण हो । आँखा सुक्खा भएमा वा आँखामा धेरै दबाब पर्न गएमा यो समस्या देखा पर्न सक्छ ।

चिया, कफीमा पाइने क्याफिनको प्रयोग बढीमात्रा गरिएमा र अल्कोहल बढी सेवन गरेमा आँखा फरफराउने समस्या देखा पर्न सक्छ । कम्प्युटरको बढी प्रयोग गर्ने, एन्टिहिस्टामिन या एन्टिडिप्रेसान्टका औषधि बढी प्रयोग गर्ने, कन्ट्याक्ट लेन्स प्रयोग गर्ने व्यक्तिहरुमा आँखा बढी फरफराउँने समस्या हुन्छ ।

आँखामा एलर्जी हुने, रातो हुने, सुन्निने वा आँसु बढी आउने मानिसको आँखा फरफराउने गर्छ । हाम्रो शरीरमा म्याग्नेसियम तथा अन्य केही पोषक तत्वको कमी हुँदा पनि आँखा फरफराउने समस्या देखा पर्छ ।

यो कुनै गम्भीर समस्या त होइन । यदि हामीले यसमा लापरवाहि गर्यौ भने चै हाम्रो आँखामा विभिन्न रोगहरु देखापर्न थालछन् । त्यसैले, हामीमा आँखा फरफराउने समस्या बढी देखिन थाल्यो भने तत्काल हामीले आँखाको डाक्टरको मा गइहाल्नु पर्छ ।

गर्मीमा आँखाको समस्या र हेरचाह :

आँखा हाम्रो शरीरको महत्वपूर्ण र संवेदनशील अंग हो। आँखाकै कारण संसार देखिने भएकोले शरीरका अन्य अंगमध्ये यसको अझै बढी महत्व छ। आँखामा विभिन्न खाले समस्याहरु देखापर्छन्। त्यसमा पनि गर्मीको समयमा आँखामा बढी समस्या देखा पर्छ। गर्मीमा आँखा पाक्ने, चिलाउँने र आखा पोल्ने समस्याले बढी सताउँछ।

आँखा पाक्ने समस्या

हाम्रो आँखाको सेतो भागमा देखिने झिल्ली हुन्छ। आँखाको ढकनीमा लाग्ने झिल्लीमा संक्रमण भयो भने आँखामा संक्रमण हुन्छ। यसले गर्दा आँखा पाक्ने समस्या आउँछ। मुख्यतया भाइरस र व्याक्टेरियाको समस्याले नै आँखा पाक्छ। यो बाहेक अन्य किटाणुको कारणले पनि आँखा पाक्छ।

शरीरको ‘इम्युन सिस्टमले’ व्याक्टेरीयासँग र संक्रमण हुन सक्ने किटाणुसँग लड्न सक्ने क्षमता कम भयो भने संक्रमण देखिन्छ। आँखा पाक्ने रोग सरूवा रोगको रूपमा देखिन्छ। आँखा पाकेको व्यक्तिलाई हेरेर यो रोग सर्ने होइन। आँखामा संक्रमण भएको बिरामीको आँखाको आशुबाट सुरू भएर अरूलाई सर्ने हुन्छ । बिारमीले छोएको सामानबाट र रुमालबाट बढी सर्छ ।

यसका लक्षणहरू :

– बिरामीलाई सुरूमा आँखामा अफ्ठेरो पनको महसुस हुन्छ।

– आँखामा रातोपन हुन्छ ।

– रातोपनसँगै आँखाबाट चिप्रा आउने समस्या हुन्छ।

– आँखाको वरिपरीको ढकनी सुन्नीन्छ।

– उज्यालोमा हेर्न गाह्रो हुन्छ ।

यसको उपचार :

आँखामा समस्या आएपछि सुरुमा उपचारको लागि चिकित्सककहाँ नै जानुपर्छ। आँखामा जथाभावी औषधि हाल्नु हुँदैन। आँखालाई असर नहुने औषधीहरू हुन्छन् त्यसको प्रयोग गर्नुपर्छ। उपचारको लागि नेत्र विशेषज्ञकहाँनै जानुपर्छ। त्यसपछि हामीले संक्रमण कम गर्नको लागि औषधि दिन्छौ। बिरामीले पनि आफ्नो उपचारका लागि पहल गर्नुपर्छ। आँखाको सरसफाइमा ध्यान दिनुपर्छ।

आँखामा लागेको कचेराहरू सफा गर्नुपर्छ। आँखालाई हातले छुनुहुँदैन। यदि छोइयो भने साबुन पानीले हात धुनुपर्छ। जो व्यक्तिले आँखामा औषधि हाल्छ उसले पनि हात धुनुपर्छ। बिरामीले प्रयोग गर्ने रूमाल, सुत्ने सिरानी अलग्गै हुनुपर्छ। सानो बच्चा नानी छ भने उसलाई आँखा छोएको हातले चलाउनु हुँदैन।

रूमालको भन्दा पनि टिस्यू पेपर र नेपकिनलगायतको प्रयोग गरेर त्यसलाई फाल्नु राम्रो हुन्छ। जसले गर्दा किटाणु आँखामा सर्ने खतरा कम हुन्छ।

लापरबाही गरे के हुन्छ?

आँखाको संक्रमणमा धेरै देखिने समस्या भनेको कडा खालको औषधिले गर्दा हुन्छ। चिकित्सकलाई नजचाइकन औषधी राख्दा आँखामा फुलो पर्ने खतरा हुन्छ। कडा खालको किटाणुको संक्रमण भएमा त्यो अवस्थामा पनि फुलो पर्ने र कालन्तरमा दृष्टि नै गुम्ने खतरा हुन्छ। आँखाको नानीमा असर गर्छ र आँखामा दाग देखिने हुन्छ। जसले गर्दा दुरदृष्टिमा असर गर्छ।

त्यसैले आँखा धुने, आँखालाई सफा गर्ने काम गर्नुपर्छ। गर्मीमा यो समस्या अझै बढी हुन्छ । फागुन चैतदेखि साउन भदौसम्म आँखा पाक्ने समस्या हुन्छ।

आँखा चिलाउने

आँखा चिलाउने एउटा एलर्जी नै हो। यो के कारणले भएको हो भन्ने पत्ता लगाउन विशेष किसिमले परीक्षणनै गर्नुपर्छ। तर हामीले हेर्दा धुवा–धुलो अनि घामको कारणले पनि आँखा चिलाउँछ। गर्मी र धेरै हावा चल्ने मौसममा नै आँखा चिलाउने समस्या हुन्छ।

आँखा चिलाउँदा आँखा रातो हुने, आँखामा आँशु आउने लगायतका समस्या देखा पर्छन्। कोही बिरामीको आँखाको सेतो भागलाई पहेलोसमेत भएको हुन्छ। यसको उपचारको लागि आँखामा एलर्जी नै हो भन्ने भयो भने एलर्जी विरूद्धको औषधि खुवाउँनुपर्छ। यसको औषधि अलि लामो समय पनि खानुपर्ने हुन्छ। चिसो महिना र पानी पर्न थालेपछि भने अलि कम हुन्छ। त्यो बेलामा औषधिलाई कम गर्दै लैजानुपर्छ।

एलर्जीबाट जोगिन बाहिर धुलोमा हिड्दा चश्मा लगाउनुपर्छ। आँखाको सुरक्षा गर्नुपर्छ। चिसोले, आइसले आँखा सेक्नुपर्छ । यसले आँखालाई फाइदा गर्छ। त्यो बाहेक आँखामा आँशुको काम गर्ने औषधी पनि हाल्नुपर्छ ।

आँखा पोल्ने

आँखामा आँशुको मात्रा कमी भएर आँखालाई गाह्रो हुन्छ जसले गर्दा आँखा पोल्ने समस्या उत्पन्न हुन्छ। आँखामा आँशुको कमी भयो भने औषधी मार्फत आँशु थप्नुपर्छ। धेरैनै आँशुको मात्रा कम छ भने दिने औषधि र आशुको मात्रा कम भएको बेलामा दिने औषधीमा फरक हुन्छ। आँखा पोल्ने अन्य समस्याले पनि हुन्छ। अनिन्द्राको कारणले पनि आँखा पोल्छ। यस्तो भएको पनि आँखामा आँशुको मात्रा कम भएर हो। आँखा पोल्ने समस्या भएको व्यक्ति पनि धुलो र घामबाट जोगिनुपर्छ।

यसको लागि आइसले सेक्यो भने फाइदा हुन्छ। यसको साथै चश्मा पनि लगाउनुपर्छ। ओपीडीमा आउने बिरामीको समस्या हेर्दा ८० प्रतिशत आँखा पोल्ने चिलाउने निन्द्रा नलाग्ने थकान जस्तो भयो भन्ने गरेका हुन्छन्। यो सबै आँखा सुक्खा भएर नै हो। काठमाडौंको धुवा धुलोको कारणले यस्तो समस्या उत्पन्न हुन्छ।

आँखा चिलाउँछ ? के गर्ने त अब ?

आँखा चिलाउँदा धेरैको बानी हुन्छ हातले मिच्ने । हातले मिच्दा आँखा चिलाउने मात्र हैन, आँखा रातो समेत हुने गर्छ । अझ हात फोहोर छ भने त त्यसले आँखामा विभिन्न किसिमका संक्रमण निम्त्याउन सक्छ ।

त्यसैले त चिकित्सकहरू सकेसम्म आँखा नमिच्न, हात नलगाउन तथा नकन्याउन सुझाव दिने गर्छन् ।

त्यो सुझावलाई हामी मनन पनि गर्छौं । तैपनि कहिलेकाही धुलोधूवाँ, प्रदूषण तथा विभिन्न एलर्जीका कारण आँखा यसरी चिलाउँछ कि हाम्रो हात स्वतः आँखामा पुग्ने गर्छ । परिणामस्वरूप आँखा पोल्ने, आँखा रातो हुने तथा आँखा सुन्निने गर्दछ ।

आँखा बेस्सरी चिलाए के गर्ने ?

-आँखामा वरफ वा चिसो पानीले सेक्दा पनि चिलाउने समस्या कम हुने गर्छ । त्यस्तै, नरम कपडालाई पानीमा भिजाएर करिब २० मिनेटसम्म उक्त कपडालाई आँखामा राख्नाले पनि आँखा पोल्ने, चिलाउने, सुन्निने तथा रातो हुने समस्याबाट छुटकारा पाउन सकिन्छ ।

-चिसो दूधको प्रयोग गरेर पनि आँखा चिलाउने समस्याबाट राहत पाउन सकिन्छ । कपासलाई चिसो दूधमा केही समय भिजाएर त्यसलाई बेला बेलामा आँखाको वरिपरि राख्नाले पनि आँखा चिलाउने समस्याबाट राहत पाउन सकिन्छ ।

– घाम, पानी, धुलो, धूवँ लगायतका कारण पनि आखाको एलर्जी हुनसक्छ । आँखाको एलर्जी भएमा आखा पोल्ने, चिलाउने तथा रातो हुने गर्दछ । घरबाहिर निस्कनु परेमा चश्माको प्रयोग गरेर पनि आँखा चिलाउने समस्या कम गर्न सकिन्छ ।

-आँखा बेसरी चिलाएमा तुरुन्तै चिसो पानीको फोहराले आँखालाई पखालेर पनि यो समस्याबाट राहत पाउन सकिन्छ । त्यसको लागि पानीको फोर्स भने धेरै हुनु हुँदैन ।

– गुलाव जलको प्रयोयद्वारा पनि आँखा चिलाउने समस्या कम गर्न सकिन्छ । केही थोपा गुलाव जलको प्रयोगले सुरुमा त आँखामा केही जलन होला तर फेरि आराम पनि तुरुन्तै हुन्छ ।

– चिकित्सकको सल्लाह अनुसार आइड्रपको प्रयोग गरेर पनि आँखा चिलाउने समस्या कम गर्न सकिन्छ । यस्ता आइड्रप जुनसुकै औषधी पसलमा सजिलै किन्न पाइन्छ । किन्नुअघि चिकित्सकको सल्लाह लिन भने निकै आवश्यक मानिन्छ ।

नोट: माथि उल्लेखित स्वास्थ्य सम्बन्धी जानकारीहरु विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो । मानिसको शारिरिक अवस्था र समय अनुसार पनि माथि उल्लेखित कुराहरुको उपलब्धी फरक पर्छ । सम्पुर्णरुपमा यहि कुरामा मात्रै भर नपर्नुहोला । माथि उल्लेखित कुराहरु प्रयोग गर्दा तपाईको स्वास्थ्यमा थप खराबी देखिए, कृपया तुरुन्त रोकेर स्वास्थ्यकर्मीहरुसँग सल्लाह लिनुहोस् ।

साथै तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला । तपाइको एक सेयरले थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग मिल्नेछ ।