बर्षायामको सुरु सँगै च्याउ खाएर ज्यान गुमाउँनेहरुको खबर आउँन थालेको छ । जतासुकै पाइने असुरक्षित च्याउ खाएर ज्यान गुमाउँनेहरुको सूचि यसपाली कति लामो हो भन्न सकिन्न । केहि समय अगाडीको समाचारमा थियो – बिहान जंगलबाट ल्याएको विषालु च्याउ खाँदा चितवन कविलासपुरको एउटा परिवारका ४ जनाले ज्यान गुमाएका छन् । एकजनाको गम्भिर अवश्थामा उपचार हुँदै छ । च्याउ खाएर ३५ वर्षीय बुद्धिबहादुर चेपाङ, उनकी श्रीमती ३० वर्षीया सोमती चेपाङ, उनका छोराहरु ९ वर्षका मानबहादुर चेपाङ र ६ वर्षका सन्तकुमार चेपाङको मृत्यु भएको छ । १८ वर्षीय छोरा अर्जुन चेपाङको भने गम्भीर अवस्थामा भरतपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

यस्ता समाचारहरुले अब फेसबुकमा खुब लाइक र सेयर बटुल्ने छन् तर यसबारे वास्तविक जानकारी भने त्यति सेयर हुदैनन् । यहाँ हामीले केहि जानकारी लेखेका छौँ । कृपया पढ्नुहोस् र जानकारी सेयर गर्नुहोला ।

च्याउ अति नै पौष्टिकतत्वयुक्त र स्वास्थ्यबर्द्धक खाद्यवस्तुका रुपमा चिनिने गर्छ । बर्षाको मौसममा नेपालका वन, पाखा तथा खाली चउरहरुमा समेत च्याउहरु प्रशस्त उम्रने गर्दछन् । प्राकृतिक रुपमा उम्रने च्याउहरु कतिपय अति पौष्टिकतत्वपाइने र खानमा पनि स्वादिला हुन्छन् भने कतिपय त्यतिकै मात्रामा बिषालु पनि । लगभग उस्तै रंग तथा आकारमा पाइने हुनाले च्याउका धेरै प्रजातीहरुमा खानयोग्य र बिषालु छुट्याउँन गार्‍हो पनि हुन्छ । कुन च्याउ खानयोग्य र कुन बिषालु हुन्छन् भन्ने छुट्याउँन मानिसहरु परम्परागत ज्ञानको प्रयोग गर्छन् । तर कतिपय अवश्थामा यो क्रम भंग हुन्छ र मानिसहरु अकालमा मृत्युको शिकार बन्छन् । अब बर्षा सुरु हुदैछ । बारीका डिलमा र जतासुकै च्याउ उम्रिन सुरु हुन्छ । फेरि पनि पहिलेका बर्षमा जस्तै च्याउ खाएर मृत्युवरण गरेका समाचार सुन्न नपरोस् । यसैले आँउनुहोस् च्याउको बारेमा केहि जानकारी साटासाट गरौं ।

लगभग पाँच हजार वर्ष अगाडिदेखिको खोज र अनुसन्धानबाट संसारमा तीन हजार ८०० किसिमका च्याउहरू पत्ता लागेका छन् । तीमध्ये एक हजार जाती विषालु, दुई हजार जाती खान योग्य र २०० जाती औषधीय गुणयुक्त पाइएका छन् । तीमध्ये पनि ६ किसिमका च्याउ अद्वितीय गुणले भरिपूर्ण छन् । च्याउमा प्रोटिन, भिटामिनहरूमा थाइमिन, राइवोलेविन, नाइसिन, वायोटिन, एसकर्भिक एसिड, विभिन्न मिनरल्स, विभिन्न एमिनो एसिडस् आदि तत्वहरू पाइन्छ । त्यस्तै, भिटामिन ए, बी, सी, खनिज र क्याल्सियम पनि पाइन्छ । बोसो नगन्य मात्रामा पाइन्छ, च्याउमा स्टार्च हुँदैन, त्यसैले च्याउलाई पौष्टिक खानाको रूपमा लिइएको हो ।

खान योग्य च्याउहरु पनि बुझेर मात्र खानुपर्छ

धेरै प्रजातीहरु खान योग्य च्याउहरुलाई कृत्रिम रुपमा रोप्न या खेती गर्न सकिदैन । यसैले च्याउहरु जंगलबाट सकंलन गर्ने कार्य संसारभर नै चलेको छ । तर खान योग्य च्याउहरु पनि कुनै कुनै अवश्थामा बिषालु बन्न पुग्छन् । खान योग्य र पहिले खाएका च्याउहरु नै पनि कुहिन थालेपछि बिषालु बन्छन् । त्यस्तै कतिपय च्याउहरु कुनै निश्चित खानेकुरासँगसँगै खान हुदैन । जस्तै कोप्रिनस प्रजातीका च्याउहरु रक्सीसँग खाएमा बिषालु हुन्छन् ।

च्याउका बारेमा रहेका केही गलत धारणाहरु र तिनको खण्डन

खान योग्य च्याउहरु चम्किला र उज्याला हुन्छन् । धेरै खानयोग्य च्याउहरु चम्किला, उज्याला हुने भएपनि केही बिषालु च्याउहरुमा पनि यो गुण हुने गर्छ । धेरै बिषालु च्याउहरु सेतो रंगका हुन्छन् । एमानिटा प्रजातीको बिषालु च्याउ एमानिटा म्युस्कारिया चम्किलो रातो तथा पहेलो हुनेगर्छ ।

गलत धारणा १ : किराहरुले बिषालु च्याउ खादैनन् वा किराले खाएको च्याउ बिषालु हुदैन

बुझ्नु पर्ने कुरा के हो भने सबै जीवजनावारका लागि बिषहरु एउटै हुँदैनन् । कुनै कुनै यस्ता बिषहरु हुन्छन्, जुन निश्चित जीवजन्तुलाईमात्र हानी गर्न सक्छन् । यसैले किराहरुका लागि बिषालु नहुने च्याउहरु मानिसहरुका लागि बिषालु हुनसक्छन् । एमानिटा फालोइड्स प्रजातीको च्याउमा किरा लाग्छन् तर यो मानिसका लागि बिषालु हुन्छ ।

गलत धारणा २ : बिषालु च्याउले चाँदीलाई कालो बनाउँछ

धेरै मानिसहरु पकाएको बिषालु च्याउमा चाँदी डुबाउँदा कालो हुने विश्वास गर्छन् । तर हालसम्म कुनै पनि बिषालु च्याउमा चाँदीसँग प्रतिक्रिया गर्ने तत्व भेटिएको छैन । यसको मतलब, च्याउलाई चाँदीसँग कुनै लिनुदिनु छैन र च्याउमा चाँदी डुबाउँदा चाँदीको रंगमा परिवर्तन हुदैन ।

गलत धारणा ३ : बिषालु च्याउहरु स्वादिला हुँदैनन्

धेरै मानिसहरु खानयोग्य च्याउहरुमात्र स्वादिला हुने र बिषालुहरु च्याउ तितो या टर्रो या वेस्वादिलो हुने ठान्छन् । तर यो सत्य होइन । एमानिटा च्याउ पकाएर स्वाद मानी मानी खाएकाहरु मृत्युको मुखमा पुगेर धन्न फर्किएका छन् । तिनलाई सोध्दा च्याउ खाँदा स्वादिलो भएको बताएका थिए ।

गलत धारणा ४ : राम्ररी पकाएमा सबै च्याउ खान योग्य हुन्छन्

कुखुराको मासु राम्ररी पकाएर (६० से. भन्दा माथि) खाँदा बर्डफ्लू लाग्दैन भने जस्तो हैन । कतिपय च्याउमा भएका बिष जति पकाएपनि बिषालु नै रहन्छ । अल्फा एमानाइटिन जस्ता च्याउमा पाइने बिषहरुले तापक्रमसँग कुनै सम्बन्ध राख्दैनन् । यस्ता च्याउहरु जति पकाएर खाएपनि खतरनाक हुन्छन् ।

गलत धारणा ५ : बिषालु च्याउले भातलाई रातो बनाउँछ

यो गलत सोचाईले पनि मानिसहरु मृत्युको शिकार बनेका छन् । नेपालमा च्याउ खाएर बिरामी भएकाहरुले पनि च्याउसँग सेतो भात नै खाएका थिए । अहिलेसम्म कसैले पनि च्याउलाई भातमा मिसाउँदा रातो भएको देखेको बताएका छैनन् ।

गलत धारणा ६ : बिषालु च्याउको टुप्पो तिखो हुन्छ

एमानिटा फालोइड्स प्रजातीको च्याउको टुप्पो वयश्क अवश्थामा सतह मिलेको, टुप्पो तिखो नभएको हुन्छ । धेरै बिषालु च्याउहरुमा पनि टुप्पो तिखो हुदैन । त्यस्तै खानयोग्य च्याउहरुमा पनि टुप्पो तिखो हुन सक्छ ।

बिषालु च्याउ खाँदा कस्तो लक्षण देखिन्छ

बिषालु च्याउ खाँदा देखापर्ने प्रारम्भिक लक्षणहरु बान्ता, पखाला, टाउको दुख्ने तथा रिंगटा लाग्ने हुन्छ । यसपछि बिरामीले केही सञ्चो भएको अनुभव गर्नसक्छ । तर बिषको असर केही क्षण पछाडी पुनः देखिन थाल्छ । कुनै कुनै च्याउले केही समयमा नै मृत्यु गराउँछ भने कुनै च्याउ खाएर प्रारम्भिक लक्षण देखिएको दुई तिन दिन पछि मात्र कलेजो तथा मृगौलामा असर देखाउँन थाल्छ । जसको दुई हप्ता भित्र मृत्यु हुन सक्छ । यसैले च्याउ खाएको केही समय भित्र माथि उल्लेख गरिए अनुसारका लक्षण देखिए तुरुन्त अस्पताल जानुहोस् ।

बिषालु च्याउबाट कसरी जोगिने

सबैभन्दा पहिले बिषालु च्याउबाट जोगिनु यस्ता च्याउ नखानु नै हो । व्यवसायिकरुपमा खेती गरिएका च्याउहरु सुरक्षित हुन्छन् । भरसक जतासुकैको वा केटाकेटीले ल्याएको च्याउ खाँदै नखानुहोस् । होस् गर्नुहोस्, च्याउ खान अनुभव र आँट होइन, ज्ञान चाहिन्छ ।

नोट : लेखमा प्रयोग भएका च्याउका प्रजाती या च्याउका नामहरु वैज्ञानिक नामहरु हुन् । यो लेख हामीले paniphoto.com बाट लिएका हौँ ।

हामीले केहि सम्बन्धित थप जानकारी दिइएका छाै

हामीले च्याउलाई अधिकतम तरकारीका रुपमा प्रयोग गरिने गर्छौं । च्याउले हाम्रो खानामा प्रसस्त मात्रामा भिटामिन र खनिज पदार्थ प्रदान गर्ने गर्दछ । च्याउले हामीलाई खानपानले लाग्ने विभिन्न रोगहरु लाग्न नदिन र हाम्रो शरीरको निराकरणमा मद्दत गर्छ । सबै च्याउ खानयोग्य भने हुँदैनन् ।

कतिपय च्याउमा मानव शरीरलाई हानी पुर्‍याउने विषालु तत्व पनि पाइन्छ । विशेषगरी, जंगली च्याउ खाँदा वा टिप्दा ध्यान पुर्‍याउनुपर्छ । अन्य तरकारीमा जस्तै च्याउमा पाउने एन्टिअक्सिडेन्टले हामीलाई क्यान्सर लाग्न दिँदैन ।

हामीले खाने च्याउमा प्रसस्त मात्रामा पाइने ‘सेलेनियम’ नामको खनिज पदार्थले कलेजोको काममा सहयोग पुर्याएर क्यान्सर पैदा गर्ने पदार्थलाई शरीरबाट निस्कासन गर्न मद्दत गर्छ । सेलेनियमले रोगप्रतिरोगी क्षमता पनि वृद्धि गर्छ ।

च्याउमा पाइने ‘फोलेट’ नामक भिटामिनले शरीरमा वंशाणु तहमा हुने काममा मद्दत गरी क्यान्सर लाग्ने प्रक्रियामा वाधा पुर्‍याउने गर्छ । च्याउमा प्राकृतिक रुपमै ‘इन्सुलिन’ पाइन्छ । च्याउमा निकै थोरै मात्रामा क्यालोरी र चिल्लो पदार्थ हुन्छ । थोरै क्यालोरी र थोरै चिल्लो पदार्थका साथै प्रसस्त पोषक तत्व पाइने च्याउलाई चिनीरोगीका लागि उपयुक्त हुनुका साथै स्वास्थ्यका हिसाबले निकै उपयुक्त तरकारी मान्न सकिन्छ ।

च्याउमा केही मात्रामा ‘आइरन’ पाइने हुदा यसको सेवनबाट रक्तअल्पता भएका व्यक्तिलाई फाइदा पुग्छ । च्याउमा हाम्रो शरीरमा आवश्यक पर्ने ‘फाइबर’ प्रसस्त मात्रामा पाइने भएकोले फाइबरले पाचन प्रकियालाई सक्रिय बनाएर हामीलाई भोक कम लगाउने गर्छ ।

च्याउ एक यस्तो अचम्मको वनस्पति हो, जसमा ‘भिटामिन डी’ पनि पाइन्छ, जसकारण शरीरका विभिन्न हड्डीमा भएको समस्यामा फाइदा पुर्‍याउँछ । ‘भिटामिन डी’ले च्याउमै पाइने फस्फोरस र क्याल्सियमको पाचन प्रक्रियामा मद्दत पुर्‍याउँछ । यसै गरि च्याउको सेवनले हाम्रो शरीरमा विभिन्न कारणले लाग्ने रोग लाग्नबाट बच्न सकिन्छ ।

च्याउको सेवनल‍े डिप्रेसनबाट बच्न सकिन्छ

बेलायतस्थित इम्पिरियल कलेज अफ लन्डनका अनुसन्धाताद्वारा गरिएको यो अनुसन्धान ‘साइन्टिफिक रिपोर्ट’ मा प्रकाशित छ । सिलोकाइबिन च्याउ उदासी रोग (डिप्रेसन) को उपचारमा धेरै लाभदायक हुन सक्छ ।

सिलोकाइबिन च्याउ डिप्रेसनले प्रभावित व्यक्तिको मस्तिष्कको मुख्य तन्त्रको कार्य प्रणालीलाई पुन: सक्रिय तुल्याउन सक्षम हुने उक्त अनुसन्धानमा उल्लेख छ ।

अध्ययनअन्तर्गत डिप्रेसनग्रस्त केही बिरामीको उपचार सिलोकाइबिन (एउटा मनोसक्रिय पदार्थ, जुन च्याउमा पाइन्छ) बाट गरे । अनुसन्धानमा ती बिरामी सामेल थिए जसको रोग पारम्पारिक उपचारका माध्यमले निको पार्न सम्भव भएको थिएन ।

अनुसन्धान अनुसार, उपचार गरिएको केही साता पछि सिलोकाइबिन लिने रोगीमा रोगको लक्षणमा कमी देखिन थाल्यो ।