पहिलेको पुस्तामा साना बच्चालाई घरबाहिर धेरै खेल खेल्यो भनेर कठालोमा समातेर घरभित्र ल्याइदैछ । बच्चाले घरभित्र भन्दा घरबाहिर बढी समय विताएकोमा आमावुवालाई चिन्ता छ । त्यही कारण बच्चालाई जबरजस्ती तानेर घरभित्र ल्याउनुपरेको छ ।

वर्तमान पुस्ता फरक छ । अहिले बच्चा घरबाट बाहिर निस्कन रुचाउँदैनन् । त्यही कारण बच्चालाई घरबाट घिसारेर आमाले बाहिर ल्याउने जोडदार यत्न गरिरहेकी छिन् । तर, बच्चा घरभित्रै बस्न खोजिरहेका छन् ।

पहिले अभिभावकलाई छोराछोरी घरभित्र आएनन् भनेर चिन्ता थियो । अहिले ठिक विपरित भएको छ । अहिले छोराछोरी घरबाट बाहिर निस्किएनन् भनेर अभिभावकको टाउको दुखेको छ । एउटा पुस्तान्तरसँगै कति बद्लिएको छ बालबालिकाको व्यवहार ?

यस्तै अहिले सामाजिक सञ्जालमा केही थान चित्र छ्यापछ्याप्ती छ । उक्त चित्रले एक पुस्ताअघिका बालबालिकाको दैनिकी कस्तो थियो भने झल्काउँछ । चित्रमा बालबालिकाहरु आपसमा भेला भएर विभिन्न खेल खेलिरहेका देखिन्छन् ।

धेरै पर पुग्नुपर्दैन, फेसबुक वा डिजिटल प्रविधिले यो रुपमा व्यापकता पाउनुअघि पनि बालबालिकाहरु घरबाहिर खेल्थे । दौडन्थे । उफ्रन्थे । रुमाल लुकाउनेदेखि चोर पुलिससम्मका खेलहरु खेलेर रमाउँथे । यस्ता खेल उनीहरु समूहमा खेल्थे । त्यसबेला त उनीहरुलाई थाहा थिएन, तर यही खेलबाट उनीहरुको शारीरिक, मानसिक विकासमा सहयोग पुग्थ्यो । सामाजिक भावनाको विकास हुन्थ्यो । सहकार्यको महत्व बुझ्थे । खेल-खेलमै उनीहरुले जीवन र समाजलाई बुझ्ने मौका पाउँथे ।

अहिलेको अवस्था एकदम फरक छ । अहिलेका बच्चाहरु समूहमा खेल्न रुचाउँदैनन् । घरबाहिर निस्कन चाहँदैनन् । घरभित्र अझ एउटै कोठामा थुनिएर नितान्त एक्लै रमाउन खोज्छन् । घण्टौं घण्टौ एक्लै बस्छन् । एक्लै रमाउँछन् । एक्लै रिसाउँछन् । एक्लै ठुस्किन्छन् । खासमा उनीहरु भर्चुअल संसारमा हराइरहेका हुन्छन् ।

अहिले अधिकांश बालबालिका टिभीमा झुन्डिरहेका हुन्छन् । मोवाइलमा झुन्डिरहेका हुन्छन् । ल्यापटपमा झुन्डिरहेका हुन्छन् । कार्टुन, भिडियो गेम, भिडियोमा लिप्त भइरहेका हुन्छन् ।

भिडियो गेम, भिडियो र फेसबुकले त बालबालिकालाई अरु एकोहोरो बनाएको छ । ति माध्याममा भुलिएपछि उनीहरु दिसापिसाब आएको थाहा पाउँदैनन्, भोक लागेको मेसो पाउँदैनन् । एकै ठाउँमा बसिरहँदा शरीर कक्रिएको पनि भेउ पाउँदैनन् । जब कसैले उनीहरुको क्रमभंग गरिदिन्छन्, सपनाबाट ब्युँझिएजस्तै गर्छन् ।

अहिलेका बालबालिकाहरु नजानिदो ढंगले स्क्रिनमा लिप्त हुँदै गएका छन् । उनीहरु मोवाइल, ल्यापटप, टिभी वा ट्याबलेटको स्क्रिनभन्दा बाहिरको संसारबाट बेखबर हुँदैछन् । आफ्नै परिवार र समाजबाट विमुख हुँदैछन् ।

पछिल्लो अध्ययनले के देखाउँछ भने अहिलेका बच्चाहरु दिनहुँ कम्तीमा दुई घण्टा स्क्रिनमा बिताउँछन् । यत्तिका समय उनीहरु आफ्नो आमावुवा र समाजसँग पनि विताइरहेका छैनन् । अर्को तथ्य के भने, बच्चाहरु यति धेरै समय स्क्रिनमा बिताइरहेका छन् कि जसको बारेमा उनका आमाबुवालाई थाहा छैन ।

यसरी लामो समय स्क्रिनमा बिताउनु आफैमा एक जटिल समस्या हो र यसले बच्चालाई गाँज्दै लगेको बताइन्छ । जब बच्चाहरु स्क्रिनमा एकोहोरिन्छ, तब उनीहरु परिवार र समाजबाट विमुख रहन्छन् । उनीहरुको पारिवारिक जीवन चौपट हुन्छ । साथसाथै उनीहरुमा मानसिक समस्या देखापर्छ, शारीरिक समस्या त छँदैछ ।

लामो समय स्क्रिनमा बिताउने बच्चाहरुमा तुरुन्त देखिने समस्या भनेको शारीरिक नै हो । उनीहरुमा टाउको दुख्ने, गर्दन दुख्ने, आँखा रुखो हुने, बेचैन हुने जस्ता समस्या देखिन्छ । बच्चाहरु लामो समय स्किनमा बिताउने भएकाले उनीहरुमा आँखाको समस्या आम बन्दै गएको विश्वव्यापी तथ्यांकले देखाउँछ ।

कम्प्युटर, ल्यापटप, मोवाइल आदिको स्क्रनद्वारा उत्सर्जित प्रकाशको ब्लु लाइटले आँखाको संवेदनशिल रेटिनामा गंभिर असर पुग्ने अध्ययनमा उल्लेख छ । अतः यसको प्रभाव मस्तिष्कमा पनि छ । ब्लु लाइटको प्रभावले निद्राको तालमेल समेत खलबलिने गर्छ । निद्राको चक्र बिगि्रएकाले बच्चाहरुमा मोटोपनको समस्या समेत बढ्ने देखिएको छ ।

यसरी ल्यापटप, मोवाइल आदिबाट आउने ब्लु लाइटको प्रभाव घटाउनका लागि के गर्न सकिन्छ भनेर अहिले विकल्पको खोजी भइरहेको छ । यद्यपी बच्चाले व्यतित गरिरहेको स्क्रिन टाइम कटौती गरिदिनु नै यसको राम्रो विकल्प हो । बच्चालाई घरभित्रै वा कोठाभित्र मोवाइल, ल्यापटमा लिप्त हुन दिनुको बदला घरबाहिरको खेलकुदमा प्रेरित गर्नुपर्छ । यसका लागि अभिभावकले पनि बालबालिकासँग समय विताउनुपर्छ । उनीहरुसँगै खेल्नुपर्छ । बच्चालाई भुलाउनका लागि वा खुसी तुल्याउनका लागि मोवाइल, ल्यापटप दिने प्रवृत्ति त्याग्नुपर्छ ।

थप जानकारी :

बच्चामा देखिने समस्या र समाधानका उपायहरु

जाडो मौसममा बच्चाहरुलाई धेरै समस्याले सताउने गर्छ । त्यसैले उनीहरुलाई अरुबेला भन्दा बढी स्याहार गर्नुपर्छ । जाडोमा बच्चाहरुलाई सामान्यतया रुघाखोकी, पखाला जस्ता समस्या देखिन्छन् । नेपालको हावापानीमा धेरै किसिमका भाइरस पाइने भएकाले तिनले यस्ता समस्या निम्त्याउने गर्छन्। जाडोयाममा प्रायः बच्चाहरुलाई रुघाखोकीले सताउने गर्छ । रुघाखोकीले ५ वर्षमुनिका बच्चाहरुलाई बढी सताउँछ ।

आमाको मात्र दूध खाने बच्चालाई सुरुको अवस्थामा रुघा कम लाग्छ । तर, ५/६ महिना कटेपछि समस्या देखिन थाल्छ । चिसोले रुघाखोकी हुँदै उनीहरुलाई निमोनियासम्मका रोग लाग्न सक्छ। सरकारले साना बच्चाहरुलाई निमोनियाबाट जोगाउन खोप कार्यक्रम सञ्चालन गर्दै आएको छ । त्यसैले पछिल्लो समय कडा खालका निमोनिया भनेर अस्पताल आउनेहरुको संख्या धेरै घटेको पाइन्छ। जाडो महिनामा बच्चामा देखिने अर्को समस्या हो, पखाला । यो समस्या पनि ६ महिनादेखि पाँच वर्षमुुनिका बच्चामा देखिन्छ ।

धेरैजसो पखाला रोटा, नोरक, इन्टोरो, सिगेला इकोलाइ लगायत भाइरसले गराउँछन् । नेपाल सरकारले रोटा भाइरस विरुद्धको खोप ल्याउने तयारी गरेको छ। जाडोमा आउँले पनि बच्चाहरुलाई निकै सताउँछ । पखालाको तुलनामा आउँले सिकिस्त नै पार्ने गर्छ। बच्चाहरुलाई पखाला लाग्नुको कारण उनीहरुले सरसफाइमा ध्यान नदिनु नै हो । फोहोरमा खेल्ने, हात नधोई खाने जस्ता कारणले उनीहरुलाई पखालाले सताउँछ ।

यसपाली भने पखाला र रुघाखोकी लागेर गत वर्षको तुलनामा कम बिरामी आएका छन्। जाडो महिनामा हामी अभिभावकहरु नै पानी खाँदैनौं, बच्चाहरुले झन् ध्यान दिने कुरै भएन । उमालेको पानी बच्चालाई ख्वाइराख्नुपर्छ । यसका साथै खाना खानुअघि र बच्चाहरु बाहिर खेलेर आएपछि राम्रोसँग हात धुन लगाउनुपर्छ। चिसोबाट हुने एलर्जीले पनि बच्चाहरुलाई धेरै दुःख दिएको पाइन्छ ।

रुघाखोकीका साथै दम्मा बढ्ने, छाती घ्यारघ्यार हुने, श्वासप्रश्वास सम्बन्धी समस्या बढी देखिन्छ । नाक बन्द भइराख्ने, सिँगान बगिराख्ने समस्या त आम समस्या नै भयो । कतिपय बच्चालाई कान पाक्ने, कपालमा चायाँ आउने समस्या पनि हुन्छ। विशेषतः जाडो महिनामा बच्चालाई चिसो लाग्छ भनेर हत्तपत्त नुहाइदिने गरिँदैन । त्यसले कपालमा चायाँ पर्ने, जिउ चिलाउने जस्ता समस्या देखिन्छ ।

ननुहाएर लुतोले पनि सताउने गर्छ। काठमाडौंमा पानी दूषित भएकाले अरु ठाउँमा भन्दा टाइफाइडको जोखिम बढी हुने गर्छ । यो सामान्यतया वर्षायाममा देखिने भए पनि काठमाडौंमा भने जाडो महिनामा पनि देखिन्छ । यस्ता समस्याबाट बचाउन बच्चालाई भ्याक्सिन लगाउनुपर्छ । त्यसले रोगसँग लड्न सक्ने क्षमता बढाउँछ र इन्फ्लुएन्जाबाट बचाउँछ। स्याहार कसरी गर्ने ? जाडोयाममा बच्चालाई यी धेरै समस्या देखिने भएकाले सरसरफाइसहित विभिन्न कुरामा ध्यान पुर्‍याउनुपर्छ ।

न्यानो भएर बस्ने, रुघा लागेको मान्छेसँग घुलमिल नगर्ने, बासी खानेकुरा नखाने, चिसो चिज सकेसम्म नखाने, उमालेको पानी मात्र खाने गर्नुपर्छ । बच्चालाई रुघा खोकी लागेको छ भने स्कुल नपठाई केही दिन घरमै आराम गराउनुपर्छ। बच्चा बस्ने र सुत्ने कोठा सधै हावा खेल्ने तर न्यानो बनाएर राख्नुपर्छ । एकछिन हिटर बालेर तातो बनाउन सकिन्छ ।

लगातार हिटर बालिरहँदा नाक सुक्खा हुने, खोकी लाग्ने जस्ता समस्या हुन्छ । त्यसैले बच्चालाई न्यानो कपडा, टोपी, पञ्जा, मोजा लगाएर प्राकृतिक रुपमै न्यानो बनाएर राख्नुपर्छ । कोठामा बच्चाले खेल्ने ठाउँमा कार्पेट ओछ्याउने, घर बाहिर लैजाँदा मास्क लगाएर मात्र निकाल्यो भने चिसोबाट हुने रोगबाट बचाउन सकिन्छ। राति सुत्दा बच्चाहरुले लुगा फाल्ने गर्छन् ।

जाडो छ भन्दैमा धेरै बाक्ला लुगा लगाएर अनि ओढाएर बच्चालाई असजिलो र गुम्म पार्नुहुँदैन । कतिपय बच्चा गर्मी ज्यानका हुने भएकाले उनीहरुले सिरक ओढ्न नरुचाएर पटकपटक फाल्छन् । यसैले पातला दुइटा लुगा लगाइदिएर ठिक्क बाक्ला दुइटा लुगा ओढाइदिनुपर्छ । यसपछि पनि बच्चाले लुगा फाल्यो कि भनेर राति उठेर बेलाबेला हेर्नुपर्छ। बच्चालाई पनि ठूला मान्छेलाई जस्तै जाडो महिनामा खाना रुच्ने गर्छ ।

त्यसैले स्वच्छ र तातो खानेकुरा बेलाबेला खुवाउनु जरुरी हुन्छ । बच्चालाई बिहानको पकाएको कुरा बेलुका ख्वाउने गर्नु हुँदैन । सानो बच्चालाई ताते र झोलिलो खानेकुरा पटक–पटक ख्वाउनुपर्छ । तातो बाक्लो दाल ख्वाउने गर्नाले बच्चाहरु स्वस्थ हुन्छन् र आवश्यक क्यालोरी पनि पाउँछन ।

नोट: माथि उल्लेखित स्वास्थ्य सम्बन्धी जानकारीहरु विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो । मानिसको शारिरिक अवस्था र समय अनुसार पनि माथि उल्लेखित कुराहरुको उपलब्धी फरक पर्छ । सम्पुर्णरुपमा यहि कुरामा मात्रै भर नपर्नुहोला । माथि उल्लेखित कुराहरु प्रयोग गर्दा तपाईको स्वास्थ्यमा थप खराबी देखिए, कृपया तुरुन्त रोकेर स्वास्थ्यकर्मीहरुसँग सल्लाह लिनुहोस् ।

साथै तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला । तपाइको एक सेयरले थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग मिल्नेछ ।