घरमा यदी कोही गर्भवती भएको छ भने हामी मध्ये धेरैले गर्भवतीलाई माछामासु खान कर गरिरहन्छौँ । पक्कैपनि आउने सन्तती र गर्भवती महिलाको स्वास्थ्यको दृष्टिकोणले माछामासु खानु अर्थात पौष्टिक तत्व मिलाएर सन्तुलित भोजन गर्नु उपयुक्त हुन्छ ।

गर्भवती महिलले जे खान्छिन् त्यो सिधै पेटमा रहेको बच्चालाई पुग्ने गर्छ । यही कारण डाक्टरहरुले गर्भवतीलाई भरपुर मात्रामा प्रोटिन र भिटामिन खान सल्लाह दिन्छन् । सोच्नुहोस् त यदी कोही शाहाकारी महिला गर्भवती छिन् भने उचित पोषक तत्वको व्यबस्थापन कसरी गर्ने ? , हामी मध्ये धेरैलाईलाई भिटामिन र प्रोटिन माछामासुबाट मात्र पाइन्छ भन्ने भान हुन सक्छ ।

तर यस्तो हैन् , शाकाहारी भोजनबाट पनि गर्भवती महिलाले त्यती नै मात्रामा पौष्टिक तत्व लिन सक्छिन् । शाहाकारी भोजन गर्ने महिलाहरुले प्रोटिनकोलागि दुधजन्य पदार्थ, फलफुल, बदाम, काजु, किसमिस, पिस्ता, ओखर आदी खानु उपयुक्त हुन्छ ।

जसले गर्दा गर्भमा शिशुको बिकाससंगै शरीरका विभिन्न अंगहरु तथा हड्डि बन्न सहज हुन्छ । प्रोटिनकै अभावका कारण नवजात शिशुहरुमा देखिन धेरै समस्या यी फलफुल तथ दुधजन्य पदार्थले हटाउन सक्छ ।

यस्तै आयरनको पुर्तिकोलागि गर्भवती महिलाले गहुँ, जौँ, मकै जस्ता बस्तुको उपभोग गर्नु उपयुक्त हुन्छ । अनि सोयाविन, पनीर, दाल, हरियो सब्जी, आदीमा पनि आयरनको मात्रा हुने हुदाँ यस्ता तरकारी हरेक दिन भान्सामा पकाउदा फाइदा हुन्छ । तर कफि या चिया धेरै सेवन गर्ने बानी छ भने त्यो चाँही हटाउनु पर्छ ।

क्याल्सियम तथा भिटामिन डीको मात्रा पुरा गर्न दुध दही तथा फलफुलको जुस पिउनु उत्तम हन्छ । क्याल्सियमले शिशुको हड्डि बनाउने काम गर्छ । क्याल्सियमको मात्रा कम भएमा शिशु कमजोर हुन्छ । अनि शरीरमा भिटामिन डीको पर्याप्त मात्रा भएमात्रै क्याल्सियमले काम गर्छ ।

गर्भावस्थामा महिलाहरुलाई भिटामिन बी १२ को समेत आवस्यक पर्छ ।

भिटामिन बी १२ निक्कै नै कम शाकाहरी आहारामा पाइन्छ । यही कारण शाकाहरी महिलाहरुमा यसको कमी भएको पाइन्छ । त्यसैले यदी घरमा कोही शाहाकारी महिला गर्भवती छन् भने सोयामिल्क, सोयाबडी तथा भैँसीको दुध समेत सेवन गर्न लगाए यस्को पुर्ति हुन्छ ।

फोलिक एसिड पनि गर्भवती महिलाहरुलाई धेरै आवस्यक तत्व हो । यसकोलागि हरियो पत्ता भएका साग, होल ग्रेन ब्रेड, होल ग्रेन पास्ता, गेडागुडी र अमिला फलको सेवन गर्न उपयुक्त हुन्छ ।

गर्भवती महिलाले एक दिनमा कति पानी पिउने ?

शरीरलाई स्वस्थ र फिट राख्नका लागि पानीको अहम भूमिका रहेको हुन्छ । मानव शरीरमा पानीको मात्रा ५० देखि ६० प्रतिशत रहेको हुन्छ । पानीले शरीरका अंगहरुको रक्षा गरेको हुन्छ साथसाथै कोषहरुसम्म पोषक तत्व पुगाउन र अक्सीजन पुगाउन काम पनि पानीले गरेको हुन्छ ।

एकछिन सोचौँ, जब एक सामान्य व्यक्तिले पानी पिउनुको यति धेरै महत्व छ भने गर्भवती महिलाका लागि सही मात्रामा पानी पिउनु कति महत्वपूर्ण होला ?

गर्भावस्थाको सुरुवाती चरणमा गर्भ तुहिने समस्या सबैभन्दा धेरै हुन्छ । यसकारण यो समयमा आफ्नो खानामा विशेष ध्यान दिनुपर्छ र त्यो सँगसँगै पानी कति मात्रामा पिउने भन्ने कुरामा त झनै बढी ध्यान पुगाउन आवश्यक छ ।

गर्भावस्थामा कति पानी पिउने ?

स्वास्थ्यकर्मीहरुका अनुसार गर्भावस्थाको समयमा एक दिनमा गर्भवती महिलाले लगभग २ देखि ३ लीटर पानी पिउनुपर्छ । स्वासथ्यकर्मीहरुको यो पनि सुझाव छ कि, महिलाहरुले पानीका साथसाथै अन्य झोलीलो पदार्थको सेवन पनि उत्तिकै आवश्यक छ । यसले गर्भवती महिलाका साथसाथै पेटमा रहेको बच्चाका लागि पनि लाभदायक छ ।

सही मात्रामा पानी भएन भने के असर हुन्छ ?

गर्भवतीको समयमा कम मात्रामा पानी पिउने हो भने महिलाको शरीरको तापमान बिग्रने समस्या हुन्छ । गर्भवती महिलाको शरीर अन्य समयमा भन्दा बढी हीट हुने गर्छ यदी गर्भावस्थाको पहिलो तीन महिनामा गर्भवती महिलाको शरीरको तापमान नियन्त्रणमा राखिएन भने यसले गर्भ तुहीने समस्या निम्त्याउन सक्ने खतरा रहन्छ ।

गर्भावस्थामा चाहिए जती पानी नपिउने हो भने महिलाहरुमा धेरै प्रकारका इन्फेक्शन हुने संभावना बढेर जान्छ । गर्भावस्थाको अन्तिम तीन महिनामा कम पानी पिउने समस्याले गर्भवती महिलाहरुलाई समयभन्दा अगाबै व्यथा लाग्ने समस्या पनि सुरु हुन सक्छ ।

गर्भावस्थामा कम मात्रामा पानी पिउने कारणले गर्भवती महिला भन्दा बढी गर्भमा रहेको बच्चालाई नकारात्मक असर पर्न सकछ किनभने पानीको मात्रा कम भएमा गर्भवती महिलाको शरीरमा एमनियोटिक द्रव्यको स्तर कम भएर जान्छ ।

एमनियोटिक द्रव्य भ्रूणको चारैतिर रहेको हुन्छ । यसले गर्भमा रहेको शिषुको बाहिरी झट्काबाट सुरक्षित राख्न मद्यत गरेको हुन्छ । गर्भवती महिलाको शररिमा यसको कमी भएमा गर्भमा रहेको बच्चामा नकारात्मक असर पर्न सक्छ । यसका अलावा यसको कमीका कारण समय नपुगेरै बच्चा जन्मने समस्या रहन सक्छ । पानीका साथसाथै गर्भवती महिलाका लागि झोलीलो पदार्थको सेवन पनि अति नै महत्वपूर्ण मानिन्छ ।

ताजा फलफूलको जुस

ताजा फलफूलको जुसमा भरपुर मात्रमा भिटामिन पाइन्छ, जो गर्भवती महिलाका लागि निकै नै लाभदायक छ । गर्भावस्थाको समयमा कहिल्यै पनि बजारमा पाइने विभिन्न किसिमका जुसको सेवन हानिकारक हुन सक्छ यसले आमाको साथसाथै पेटमा रहेको बच्चालाई पनि हानि पुगाउँछ ।

त्यसैले ताजा फलफूलको जुस सेवन गर्नु राम्रो हुन्छ । गर्भावस्थामा हरेक दिन एक कप सुप पिउनु पनि उत्तम मानिन्छ । गर्भवती महिलाहरुका लागि नियमित दुध सेवन गर्नु लाभदायक हुन्छ किनकी दुधमा भरपूर मात्रामा प्रोटीन र क्याल्सीएम पाइन्छ ।

गर्भावस्थामा महिलाले ध्यान दिनुपर्ने ३० कुराहरु :

गर्भ रहने बित्तिकै महिलाहरु संवेदनशील हुनुपर्छ । गर्भावस्थामा स्त्रीको शरीरमा बच्चा बढिरहेको हुन्छ । यो समयमा बच्चाको विकास हुन्छ । गर्भावस्थाको पहिलो तीन महिना गर्भवती महिलाले विशेष रुपमा आफ्नो हेरचाह गर्नुपर्छ । यो समयमा गर्भपातको सम्भावना अधिक हुने हुनाले गर्भवती महिले धेरै आराम गर्नुपर्छ । यो समय शरीरमा धेरै परिवर्तन हुने हुँदा गर्भवती महिलाहरुको लागि कठिन हुन्छ ।

यो समयमा गर्भवती महिलाहरुले नियमित व्यायाम गर्नुपर्छ । नियमित व्यायामले गर्भपतन हुने समस्या केहि हदसम्म कम हुन्छ । गर्भावस्थामा महिलाहरुले आफ्नो खानपिनमा पनि विषेश रुपमा ध्यान दिनु पर्छ । अतः गर्भवती महिलाले के खान हुन्छ र के खान हुँदैन भन्ने कुरामा ध्यान पुर्याउनुपर्छ । यसबाट बच्चालाई कस्तो असर पर्न जान्छ भन्ने कुराको पनि ख्याल गर्नुपर्छ ।

१. नियमित रूपमा (प्रत्येक २८ देखि ३० दिनमा) महिनावारी हुने महिलामा महिनावारीको दसौं दिनदेखि अठारौं दिनसम्म शारिरीक सम्पर्क गरे गर्भ रहन सक्छ ।

२. गर्भपूर्वको अवस्थामा किशोरी वा महिलामा कुनै जोखिमपूर्ण समस्या छ भने त्यसलाई कसरी कम गर्न, नियन्त्रणमा राख्न वा हटाउन सकिन्छ भन्ने कुरा थाहा पाइने हुनाले बच्चा जन्माउनुपूर्व सम्बन्धित चिकित्सकको सल्लाह लिनु राम्रो हुन्छ ।

३. कलिलो उमेरमा गर्भधारण गरे बेथा लामो हुने, बच्चा जन्माउन गाह्रो हुने, बच्चा पनि कम तौलको हुने एवं महिना नपुगी बेथा लाग्ने हुँदा आमा र बच्चा दुवैको ज्यान जोखिममा हुन्छ ।

४. गर्भाधानका क्रममा शिशु, सालनाल, बच्चा वरिपरिको पानी, पाठेघरको वृद्धि र शरीरका विभिन्न भागमा प्रोटिन एवं बोसो जम्मा हुनाले गर्भको अवधिमा करिब १० देखि १२ किलोसम्म तौल बढ्न सक्छ ।

५. छोरा वा छोरी कसरी ? लोग्ने मानिसको क्रोमोजोममा एक्स र वाई दुवै हुन्छ भने महिलामा एक्स एक्स मात्र हुन्छ । त्यसैले लोग्ने मानिस र स्वास्नी मानिसबीच यौन सम्पर्कपछि छोरा पाउन लोग्ने मानिसमा मात्र हुने वाई आउनुपर्छ ।

६. गर्भ रहेका चिन्हहरू विभिन्न हुने भए पनि नियमित रूपमा भइरहने महिनावारी रोकिनु गर्भ रहेको शंका गर्ने मुख्य आधार हो ।

७. गर्भ रहेको निश्चित गर्ने तरिका विभिन्न–पिसाब जाँच, योनिद्वारबाट आन्तरिक परीक्षण भएपनि अल्ट्रासाउन्ड (भिडियो एक्सरे)को आफ्नै महत्व छ ।

८. आर्थिक विपन्नता वा सेवाको अभावले पटक–पटक अल्ट्रासाउन्ड गराउन नसके पनि गर्भमा रहेको बच्चामा कुनै किसिमको शारीरिक समस्या छ–छैन थाहा पाउन गर्भावस्थाको करिब १६ देखि २२ हप्ताभित्र कम्तीमा एकपटक अल्ट्रासाउन्ड गराउनुपर्छ ।

९. मानिसको ४० हप्ता लामो गर्भ अवधिलाई पहिलो, दोस्रो र तेस्रो त्रैमासिक गरी तीन चरणमा बाँडिएको छ । प्रत्येक त्रैमासिकअनुसार गर्भवतीका चिन्ह पनि फरक– फरक हुन्छन् ।

१०. नियमित रूपमा महिनावारी भइरहेका किशोरी वा महिलामा अन्तिम पटक महिनावारी भएको दिनमा ९ महिना ७ दिन जोडेमा बच्चा जन्मिने मिति तय गर्न सकिन्छ । यसरी हिसाब गरी निकालेको दिन करिब ५ प्रतिशतले बच्चा जन्मन्छ भने अधिकांस (करिब ८० प्रतिशत) महिलाले दुई हप्ताअघि वा एक हप्तापछि बच्चा जन्माउँछन् ।

११. गर्भावस्थाको करिब १८ हप्तापछि बच्चा चलेको महसुस हुन्छ । गर्भ रहेको करिब ३६ हप्तापछि बच्चा तल सर्ने (पुट्ठाको हड्डी भित्र जाने) हुनाले सास फेर्न अलि हलुका महसुस हुन्छ ।

१२. गर्भावस्थाको अन्त्यतिर बेथा लाग्नुपूर्वका चिन्हहरू (तल्लो पेट दुख्ने, छोड्ने, हल्का रगत मिसिएको सिंगान जस्तो देखा पर्ने, पिसाबजस्तै पानी बग्ने लगायतका समस्या देखा पर्न सक्छन् ।

१३. विश्व स्वास्थ्य संगठनका अनुसार गर्भवती महिलाले कम्तीमा चार पटक जाँच गराउनुपर्छ । यस क्रममा स्वास्थ्य परीक्षणका अतिरिक्त खोप, स्वास्थ्य शिक्षा, पोषण शिक्षा पनि प्राप्त हुन्छ ।

१४. पहिलो पटकको गर्भ जाँच महिनावारी रोकिएको थाहा हुनासाथ वा करिब ६ हप्ताको वरिपरी गराउनुपर्छ ।

१५. प्रत्येक गर्भवती महिलाले हेमोग्लोबिन, रक्त समूह, यौन रोग (भीडीआरएल), एचआईभी एवं हेपाटाइटिस बी, ब्लड सुगरसम्बन्धी रगत जाँच, पिसाब जाँच एवं भिडियो एक्सरे गराउनुपर्छ । यसका अतिरिक्त कतिपय महिलामा देखापरेको स्वास्थ्य समस्याअनुसार थप जाँच गराउनुपर्छ ।

१६. पहिलो गर्भावस्थामा दुईपटक टी टी खोप लिनुपर्छ भने फोलिक एसिड र आइरन एवं क्याल्सियम क्रमशः पहिलो र दोस्रो त्रैमासिकदेखि खानुपर्छ । यसका साथै शक्ति प्राप्त हुने थप कार्बोहाइडेड तथा प्रोटिनयुक्त खाना खानुपर्छ ।

१७. नियमित जाँच गर्नुको उद्देश्य गर्भावस्था, सुत्केरी बेथा लाग्दा तथा सुत्केरी बेथापछि आमा र नवजात शिशुको पूर्ण स्वस्थता हो ।

१८. जाँचमा प्रत्येक पटक तौल लिने, रक्तचाप र नाडीको गति नाप्ने एवं रक्तअल्पता भए नभएको तथा खुट्टा सुन्निएको छ, छैन जाँच्नुपर्छ ।

१९. मधुमेह, उच्चरक्तचाप, मुटु एवं मिर्गौलाको रोगी, नेगेटिभ रगत समूह भएकी, पेटभित्रको बच्चा सानो शंका गरिएकी, जुम्ल्याहा बच्चा भएकी, पहिले पटक–पटक गर्भ तुहिएकी गर्भवती महिलालाई विशेष निगरानीमा राख्नुपर्छ ।

२०. गर्भावस्थाको १२ हप्तापछि मात्र बाहिरी पेट जाँच गरी पाठेघर छाम्न सकिन्छ ।

२१. गर्भावस्थाको १२ हप्तामा पुठ्ठाको हड्डी अघिल्लो भागसम्म, २० हप्तामा नाइटोको तल्लो भागमा, २४ हप्तामा नाइटोको माथिल्लो भागमा र ३६ हप्तामा मध्य छातीको हड्डीमुनिसम्म पाठेघरको (पेट) को उचाइ बढ्छ ।

२२. गर्भ रहेको ५ देखि ८ हप्तामा मानव शरीरका मुख्य अंगहरू तथा स्नायु प्रणालीको विकास हुन्छ भने ६ हप्ताबाट मुटुको धड्कन सुरु हुन्छ । गर्भावस्थाको ८ हप्तासम्ममा अनुहार (मुख) को आकार आउँछ भने ९ देखि १२ हप्तामा शरीरका भित्री अंगहरू फोक्सो, मिर्गौला कलेजो, अस्थिपञ्जर बन्न थाल्छन् ।

२३. विशेष गरी गर्भावस्थाको चौथो हप्तादेखि दसौं हप्तासम्म गर्भमा रहेको बच्चाको मुटु तथा स्नायु प्रणालीअन्तर्गतका महत्वपूर्ण अंग निर्माण हुने भएकाले अनावश्यक रूपमा जथाभावी औषधि सेवन तथा चुरोट एवं मद्यपान गरे गम्भीर प्रकारका शारीरिक समस्या भएका बच्चा जन्मिन सक्छन् ।

२४. गर्भावस्थामा हुन सक्ने साधारण समस्याहरूमा बिहानीपख वाकवाकी लाग्ने, मुखमा अमिलो पानी आउने र छाती पोल्ने, पिसाब छिटो–छिटो लाग्ने, योनिस्राव (सेतो पानी) अलि बढी बग्ने, पिडौंला एवं जननेन्द्रिय वरिपरिका नसाहरू फुल्ने, कब्जियत हुने, खुट्टा सुन्निने, कम्मर दुख्ने, पिडौला बाउँडिन्छ ।

२५. गर्भाधानका क्रममा शुक्रकीट र डिम्बको मिल्न डिम्बवाहिनी नलीमा निषेचित भएर पाठेघरमा बस्ने क्रममा हल्का रातोपन जस्तो रक्तस्राव देखिनुबाहेक गर्भावस्थामा बढी मात्रामा रगत देखिनु राम्रो लक्षण मानिँदैन ।

२६. करिब २० प्रतिशत गर्भवती महिलालाई सिजेरियन आवश्यक परे पनि ८० देखि प्रतिशतमा भने राम्रै र सुरक्षित तवरले सुत्केरी गराउन सकिन्छ ।

२७. नवजात शिशुको टाउको बाङ्गिनु, पेटमा उल्टो वा तेर्सो बस्नु, पाठेघरभित्र शिशुको बसाइ परिवर्तन भइरहनु वा अस्थिर रहनु, शिशुको मुख वा निधार पहिलेनै बाहिर आउन खोज्नु, शिशुको मुख आमाका ढाडतिर फर्केर रहनुपर्नेमा अन्यथा हुनु गर्भवती तथा सुत्केरी बेथाका बेला असामान्य परिस्थिति हुन्छ । जुम्ल्याहा शिशु हुँदा, गर्भवती महिलाको उमेर बढी (३५ वर्ष भन्दा माथि) हुँदा, पटक–पटक गर्भ खेर जाँदा, गर्भावस्था लम्बिँदा, रक्तसमूह नेगेटिभ हुँदा अतिरिक्त हेरचाह पुर्याउनुपर्छ ।

२८. सामान्यतया मानिसको गर्भ अवधि ४० हप्ता (२८० दिन) को हुन्छ । गर्भ ४२ हप्ता (२९४ दिन) भन्दा पछाडि गयो भने राम्रो मानिँदैन । औसतमा १० प्रतिशत गर्भवती महिलामा ४२ हप्ता नाघ्छ ।

२९. उच्च रक्तचाप, मधुमेह, मुटुको समस्या, मिर्गौलाको खराबी, मूत्रनली संक्रमण, थाइरोइड ग्रन्थिको काममा घटीबढी, छारे रोग, रक्तअल्पता, हेपाटाइटिस, यौन रोग, एचआईभी एड्स, क्षय रोग, दम, संक्रामक तथा परजीविजन्य रोग, आलो र शल्यक्रियाको आवश्यकता पर्ने कतिपय पेटको पीडा आदि गर्भावस्थासँगै हुनसक्ने अन्य स्वास्थ्य समस्या हुन् ।

३०. पेटभित्रै शिशु मर्ने, सुत्केरी बेथापूर्व पानी फुट्ने (सानो सूतक हुने), महिना नपुग्दै बेथा लाग्ने आदि गर्भावस्थामा आइपर्ने केही विशेष समस्या हुन् ।

नोट: माथि उल्लेखित स्वास्थ्य सम्बन्धी जानकारीहरु विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो । मानिसको शारिरिक अवस्था र समय अनुसार पनि माथि उल्लेखित कुराहरुको उपलब्धी फरक पर्छ । सम्पुर्णरुपमा यहि कुरामा मात्रै भर नपर्नुहोला । माथि उल्लेखित कुराहरु प्रयोग गर्दा तपाईको स्वास्थ्यमा थप खराबी देखिए, कृपया तुरुन्त रोकेर स्वास्थ्यकर्मीहरुसँग सल्लाह लिनुहोस् ।

साथै तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला । तपाइको एक सेयरले थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग मिल्नेछ ।

भिडियो हेर्नुहोस् :