घरभित्रको सरसफाइक केहि टिप्स

१. खाना खाइसकेपछि पकाउने भाँडाकुँडा साबुन अथवा सफा खरानीले माझनुहोस्। यदि सकिन्छ भने ती भाँडाकुँडालाई घाममा ओभाउन दिनुहोस्।

२. घरभित्र (बस्ने ठाउँ) सधैं सफा गर्नुहोस्। भुइँ बढार्ने र पखाल्ने गर्नुहोस्। भित्ता, खाट र टेबलकुर्सीमुनि पनि सफा गर्नुहोस्। भित्ता र भुइँमा साङ्ला, उडुस र बिच्छीजस्ता किराहरू लुक्नसक्ने प्वालहरू छन् भने टाल्नुहोस् ।

३. उपियाँ, उडुस र अन्य परजीवीहरू मास्न बिच्छयौना र लत्ताकपडा घाममा सुकाउनु होस्।

४. भुइँमा नथुक्नुहोस्। खोक्दा र हाच्छिउँ गर्दा आफ्नो नाक, मुख हात, कपडा वा रुमालले छोप्नुहोस् र त्यसपछि हात धुनुहोस्।

५. चपीमा दिसा-पिसाब गर्नुहोस् । केटाकेटीलाई पनि चपी जान सिकाउनुहोस्। यति गर्न नसके कम्तीमा पनि उनीहरूलाई दिसा—पिसाब गर्नका लागि घर र खानेपानीको स्रोतबाट टाढा पठाउनुहोस्।

व्यक्तिगत सरसफाइका केहि टिप्स

१. सकिन्छ भने दिनहुँ साबुनपानीले नुहाउनु (धुनु) ज्यादै राम्रो हुन्छ । नसके हप्तामा दुई चोटी नुवाए पनि हुन्छ ।

२. खाना पकाउनुअगि, खाना खानुअगि, दिसा—पिसाब गरिसकेपछि र केटाकेटी तथा रोगीको सेवा गर्नुअगि र पछि आफ्ना हात धुनुहोस्।

३. यौनाङ्गहरू दिनहुँ सफा पानी र साबुनपानीले धुनुहोस्। तर डुस (Douche) अथवा योनी भित्र पानी हालेर पखाल्ने कहिल्यै नगर्नुहोस्। महिलाको योनीबाट निस्केको तरल पदार्थले स्वतः यौनाङ्गलाई सफ राख्छ तर डुस गर्दा यो पखाल्दा तरल पदार्थ बग्ने हुँदा उनको योनीमा संक्रमण हुनसक्छ ।

४. यौन सम्पर्कपछि पिसाब फेर्ने गर्नुहोस् । यसो गर्नाले पिसाब नलीको संक्रमणलाई रोक्न सकिन्छ तर गर्भ भने रोकिँदैन ।

५. दिसा बसिसकेपछि राम्ररी पुछ्नुहोस् वा सफा पानीले पखाल्नु होस्। दिसा जहिले पनि अगाडिबाट पछाडितिर पुछ्नुपर्छ । पछाडिबाट अगाडि पुछ्दा किटाणु र परजीवीहरू पिसाब नली र योनीमा पुग्न सक्छन् ।

हामीले केहि सम्बन्धित थप जानकारी दिइएका छाै

चाडबाडमा खानपान र दाँतको सरसफाइ

चाडबाडका बेला खानेकुरा निर्धक्क खाँदा कहिलेकाहीँ बिरामी पर्ने गरिन्छ। यस्तै, खानेकुरा चपाउने दाँतमा समस्या पनि आउने गर्छ। चाडपर्व भन्ने बित्तिकै पहिलो ध्यान खानेकुरामा पुग्ने गर्छ। त्यसमाथि दशैं–तिहार जस्ता चाडबाडमा मासुको परिकार छुट्दै छुट्दैन। त्यसका लागि यी केही समस्याका समाधानबारे जानी राखौं।

चाडबाडमा किन मानिस बिरामी पर्छन् ?

खानपिनमा गुलियो, अमिलो, पिरो, नुनिलो र चिल्लोको मात्रा बढी भएको आहार र निद्रामा असन्तुलन हुन गई स्वास्थ्यमा गडबड हुने गरेको देखिन्छ। खानपानमा असंयम, अनिद्रा, नियमितको शारीरिक श्रम, व्यायाममा कमि आदिले शरीरमा अनेक समस्या आउन सक्छ। अझ चाडबाडमा उपभोग गर्ने मासु अस्वस्थ भइदियो भने त १ सय ६० प्रकारका रोगले आक्रमण गर्न सक्छ।

दाँत तथा मुखको स्वास्थ्य कसरी ख्याल गर्ने ?

चाडबाडको समयमा दाँतलाई स्वस्थ र काम गर्ने अवस्थामा राख्नु भनेको आधा बढी उत्सव सफल पार्नु हो। चाडबडका बेलामा दाँतमा हुनसक्ने प्रमुख खतरा भनेको धेरै साह्रो कुरा (जस्तैः मासुको हड्डी, खाना खाएपछि खाइने सुपारी–छुर्पी आदि) चपाउँदा दाँत चोइटिनसक्छ। दाँतको सानो चोइटा निस्कँदा तातो वा बढी चिसो खाँदा सिरिङ–सिरिङ भए पनि ठुलो चोइटा निस्कँदा खपिनसक्नुको पीडा र गिजा तथा जिब्रोमा घाउ हुन सक्छ।

थरिथरिका स्वादिला परिकार खानेबेला पनि दुई दाँतको बीचमा खाना अड्िकन सक्छ। पहिले नै चेप छ वा किराले खाएको छ भने, झनै खाना अड्किन्छ। अड्किएका खाना समयमै सफा नगरे कुहिन थाल्छ र त्यसले अम्ल निकाल्छ। कुहिएको खाना र अम्लले दाँतलाई पनि कुहाएर पीडा दिन्छ। गिजामा समेत संक्रमण बनाउँछ। गिजा संक्रमित हुँदा गिजा सुन्निने, खुकुलो हुने, रातो वा निलो हुने, रगत बग्ने र हड्डी कमजोर हुने जस्ता समस्या आउँछन्। हड्डी नै कमजोर भएपछि दाँत हल्लिने, टनटन दुख्ने, चपाउन नसक्ने हुल्छ।

दाँतको दुखाइ कस्तो हुन्छ ?

दाँतको दुखाइ असाध्यै पीडादायी हुन्छ। यसको दुखाइ कहिलेकाहीँ औषधि खाँदा पनि निको हुँदैन। एस्प्रिन, बु्रफिन जस्ता औषधि खाँदा तत्काल दुखाइबाट राहत मिन्छ तर समस्याको निराकरण हुँदैन। त्यसैगरी, दुखाइ कम गर्न ल्वाङको वा अन्य तेल प्रयोग गर्दा ओठ, गिजा पोलेर घाउ हुन सक्छ।

समयमै ध्यान नदिए दाँतबाट कस्ता–कस्ता समस्या निम्तिन्छ ?

भनिन्छ, मानिसले स्वादिष्ट भोजनबाट तब मात्रै सन्तुष्टि लिन सक्छ जब दाँतमा कुनै खराबी हुँदैन। दाँतको मुख्य कार्य भोजनलाई चपाएर, टुक्र्याएर पचाउन योग्य बनाउनु हो। रोगी दाँतले राम्ररी चपाउन नसकेका कारण भोजन पच्न गाह्रो भई त्यसको प्रभाव सोझै स्वास्थ्यमा पर्छ।

विकारयुक्त दाँत तथा गिजाप्रति लापरबाही गर्दा विकार पेटमा पुगेर वा रगतमा मिसिएर शरीरमा विभिन्न रोग (कोलिसिस्टाइटिस, जोर्नी र हड्डीका विभिन्न रोग, रक्तचाप, रक्तअल्पता, फोक्सोको रोग, झाडापखाला वा कब्जियत, पेट र गाला सुन्निने, पेटको अल्सर, आँखाको रोग, मिर्गौला रोग, मुटुरोग, सब एकयुट ब्याक्टेरियल इन्डोकार्डाटिस, हृदयघात, मधुमेह आदि) लाग्ने सम्भावना बढ्न। गर्भवती महिलामा यस्ता समस्या आए त्यसको प्रभाव गर्भस्थ शिशु तथा प्रशव समयमा पर्न सक्छ।

ब्रिटिस जर्नलमा प्रकाशित स्कटल्यान्डमा गरिएको खोजमा दिनमा दुई पटक दाँत माझ्नेमा भन्दा १ पटक मात्र दाँत माझ्नेमा मुटु सम्बन्धी समस्या हुने खतरा ७० गुणा बढी हुन्छ भन्ने पत्ता लगाएका छन्। मुटुरोगको प्रमुख कारणमा धूमपान र मोटोपना भए पनि मुखमा जम्मा भएका ब्याक्टेरिया रक्त प्रवाहमा भई मुटुरोग निम्त्याउने गरेका प्रमाण फेला परेका छन्।

रोकथाम कसरी ?

चाडबाडका बेला दाँतका अस्पताल र क्लिनिक कमै खुल्छन्। त्यसैले दाँत र मुखलाई स्वस्थ राख्नका लागि निम्न कुरामा ध्यान दिनु जरुरी छ।

१. दाँत र मुखको सरसफाइ

मुख हाम्रो शरीरको हातजस्तै व्यस्त र फोहरी अंग हो। यसभित्र असंख्य जिवाणु सक्रिय रहन्छन्। हानिकारक जिवाणुले हाम्रो दाँत तथा गिजालाई क्षति पु¥याउँछन्। खाना खानुअघि र पछि हात मुख धुनु जत्ति अनिवार्य छ, खाना खाइसकेपछि ब्रस गर्नु, मुख सफा गर्नु पनि उत्तिनै अनिवार्य छ।

दिनको २ पटक बिहान र बेलुका खानापछि तलमाथि गरी दाँत सफा गर्ने गरौं। सम्भव भए नरम टुथब्रस नभए दतिवन र केराउको दाना जति फ्लोराइड भएको दन्तमञ्जन प्रयोग गरी दाँतका सबै सतह सफा गरौं। अन्य समयमा खाना खानासाथ मुख कुल्ला गर्ने बानी बसालौं। साथै, दुई दाँतबीचको सतह फलामको पिन, आल पिन, काठले घोचेर होइन डेन्टल फ्लसको प्रयोग गरी सफा गर्नुपर्छ।

२. खानेकुरामा नियन्त्रण

टाँसिने, प्रशोधित, धेरै गुलियो, धेरै तातो–चिसो र अमिलो खाद्य पदार्थ साथै सुर्तीजन्य पदार्थ, पान, सुपारी आदिको प्रयोगमा सचेत बनौं। भिटामनी बी र सी पाइने टमाटर, अमला, कागती, सुन्तला, अंकुराउँदै गरेका अन्नबाली, मूला, गाँजर, बन्दागोबी, सखरखण्डजस्ता रेसादार फलफूल, हरियो सागपात सेवनमा बढी जोड गरौं। रेशादार, ताजा फलफूल, दूध, माछाजस्ता सन्तुलित खानाको प्रयोग गरौं।

३. नियमित परीक्षण किन जरुरी ?

असह्य पीडा र जटिल समस्या भए मात्र चिकित्सककहाँ पु्ग्ने हाम्रो बानी छ। त्यस्तो जटिलता नआओस् भन्ने लाग्छ भने हरेक ६ महिनामा नियमित दन्त परीक्षण गराउनुपर्छ। रोग लागेर उपचारमा खर्च र दुःख व्यहोर्नुभन्दा रोग लाग्न नदिन नियमित परीक्षण गर्नु उपयुक्त हो ।

कहिले र किन गर्ने त नियमित स्वास्थ्य जाँच ?

झट्ट हेर्दा शरीर स्वस्थ देखिए पनि कतिपय रोगहरू सुषुप्त अवस्थामा रहेका हुन्छन् । जसले दीर्घकालीन रूपमा गम्भीर समस्या सिर्जना गर्न सक्छ । त्यसैले नियमित स्वास्थ्य जाँच गर्दा लुकेर बसेको रोग पहिचान हुन्छ र समयमै त्यस्ता रोग निर्मूल पार्न सहज हुन्छ ।

नियमित स्वास्थ्य जाँचले आकस्मिक मृत्युबाट बच्न सकिन्छ अर्थात् यस्तो सम्भावनालाई कम गर्न सकिन्छ । मानिसको आयु लामो बनाउनका लागि पनि नियमित स्वास्थ्य जाँच आवश्यक हुन्छ ।

नियमित स्वास्थ्य जाँच गराउँदा उच्च रक्तचाप, मधुमेह, उच्च कोलेस्ट्रोल, मुटुका रोग, उच्च रक्तचाप, डाइबिटिज, हर्माेन समस्या, मिर्गौलाका रोग, क्यान्सरलगायत अन्य सर्ने तथा नसर्ने रोगहरूका बारेमा अवगत हुन्छ । यस्ता प्रकृतिका रोगले लामो समयसम्म लक्षण नदेखाउन सक्छ ।

५ वर्षभन्दा कम उमेरमा नियमित स्वास्थ्य जाँच अनिवार्य छ । यो उमेरमा गराएको स्वास्थ्य जाँचले जन्मजात देखिने, बाल्यकालमा लाग्ने र पोषणसम्बन्धी रोगबारे जानकारी हुन्छ र यसलाई निर्मूल पार्न सहज हुन्छ ।

पाँचदेखि ३० वर्षको उमेरभित्र कम्तीमा एकपटक स्वास्थ्य जाँच गर्नुपर्छ । किनभने उमेर बढ्दै जाँदा एक्लोपन, डिप्रेसन, शारीरिक विकासबारे थाहा पाउन सकिन्छ ।

४० वर्षपछि पनि कम्तीमा एकपटक स्वास्थ्य जाँच गराउनुपर्छ । यसो गर्दा उमेर, वंशाणुगत र जीवनशैलीसँग सम्बन्धित स्वास्थ्य समस्याबारे थाहा हुन्छ । यद्यपि, ४० वर्षपछि ६–६ महिनामा चिकित्सकलाई भेटेर स्वास्थ्य परीक्षण गर्नु राम्रो हुन्छ ।

नोट: माथि उल्लेखित स्वास्थ्य सम्बन्धी जानकारीहरु विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो । मानिसको शारिरिक अवस्था र समय अनुसार पनि माथि उल्लेखित कुराहरुको उपलब्धी फरक पर्छ । सम्पुर्णरुपमा यहि कुरामा मात्रै भर नपर्नुहोला । माथि उल्लेखित कुराहरु प्रयोग गर्दा तपाईको स्वास्थ्यमा थप खराबी देखिए, कृपया तुरुन्त रोकेर स्वास्थ्यकर्मीहरुसँग सल्लाह लिनुहोस् ।

साथै तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला । तपाइको एक सेयरले थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग मिल्नेछ ।