मानव शरीरका लागि च्याउ अति उत्तम पौष्टिक आहार हो तर त्यही च्याउलाई ननिचेर खाँदा विषको रूपमा परिणत हुने गर्दछ । भरतपुर अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार वर्षात् शुरु भएसँगै विषालु च्याउ खाएर बिरामी पर्नेको सङ्ख्या दिनानुदिन बढ्दो छ । यो मौसममा हरेक दिनजसो त्यस्ता बिरामी आउने गरेको पौडेलले जानकारी दिए । अहिले अस्पतालको सघन उपचार कक्षमा दुई जना बिरामी छन्, जसमध्ये एक जनाको अवस्था गम्भीर रहेको उनको भनाइ छ ।

वर्षा शुरु भएसँगै जङ्गलमा च्याउ उम्रने र त्यही च्याउ तरकारीको रूपमा प्रयोग गर्दा विषाक्त भई कतिपयको ज्यानै जाने पौडेलले बताए । अस्पतालको सघन उपचार कक्षमा यस्ता बिरामी लामो समय राख्नुपर्ने बाध्यता हुन्छ । अस्पतालका वरिष्ठ फिजिसियन डा भोजराज अधिकारी सबै च्याउ सामान्य नभएर विषालु हुने बताउँछन् । विशेषगरी वनको च्याउ बढी विषालु हुने र तिनमा विष देखिने गर्दछन् ।

त्यस्ता च्याउमा हरेक वर्ष हरेक समय फरक फरक विष देखिने गरेको अधिकारीको भनाइ छ । च्याउको जात सामान्यतया झट्ट हेर्दा उस्तै उस्तै हुने हुनाले कुन बढी विषालु हो र होइन भनेर मानिसलाई छुट्याउन कठिन हुने उनले बताए । जानकारीको अभावमा कुन च्याउ विषाक्त हो भनेर पहिचान गर्न नसक्दा समस्या देखिने गरेको छ ।

अधिकारीले भने, “यिनीहरुमा पहिलेनै तयारी विष हुन्छ, ती कीटाणु होइनन् ।” यिनीहरुले सोझै शरीरको कलेजो, मिर्गौला र आन्द्रामा असर गरेर अचानक पखाला लाग्ने, बान्ता हुने, रक्तचाप घट्ने, पिसाब कमी भएर मिर्गौलाले काम नगर्ने, जण्डिस देखिने, मुटुको धड्कन कम हुनेजस्ता लक्षण देखिने उनको भनाइ छ । विषालु च्याउ खाएर अस्पताल आउने बिरामीमा विषलाई सिधै कम (न्यूट्रलाइज) गर्ने पदार्थ नहुने हुनाले उनीहरुलाई सहयोग गरेर जुन अङ्गमा असर छ त्यसलाई औषधि प्रयोग गरी जोगाउनुपर्ने उनी बताउँछन् ।

विष रोक्ने औषधि नहुने भएकाले त्यसले शरीरका कुन अङ्गलाई असर गरेको छ त्यही अङ्गको उपचार गर्नुपर्ने उनको भनाइ छ । अधिकारीले समाजमा यस्ता खालका च्याउहरु पखालेर, उमालेर खायो भने विष जान्छ भन्ने भ्रम रहेको भन्दै यस्तो भ्रमबाट मुक्त हुन सुझाव दिए । च्याउलाई उमाल्दैमा विष नजाने उनको भनाइ छ । पहिले हल्का हल्का विष लाग्यो भने अरु केहीले होला भन्ने सोचेर पुनः च्याउ खाने प्रचलन रहेको भन्दै यस्तो गर्न नहुने उनको सुझाव छ ।

अधिकारीले एउटै ढुसीमा पछि पनि विष कडा खालको बन्ने गरेको बताए । वनको च्याउ नचिनी नखान र थाहा नपाई खाइहालेमा तत्काल अस्पताल पुग्नुपर्ने अधिकारी बताउँछन् । उनका अनुसार च्याउ खाएको छ घण्टाभित्रमा अस्पताल आएमा ९० प्रतिशत बच्छन् भने दुई दिनपछि आउँदा ४० प्रतिशतलाई मात्र बचाउन सक्ने अधिकारीको भनाइ छ । जिल्लाको ग्रामीण क्षेत्र रहेको इच्छाकामना गाउँपालिकाका प्रमुख गीता गुरुङले च्याउ खाएर बिरामी पर्ने अधिकांश ग्रामीण तथा दुर्गम भेगका हुने गरेको बताए । आर्थिक अभावका कारण दैनिक छाक टार्ने क्रममा पोषिलो खाना खोज्दै गर्दा च्याउलगायतका वनका कन्दमूल खान बाध्य हुने अवस्था रहेको छ । गुरुङले च्याउ किनेर मात्र खान अनुरोध गरिएको जानकारी दिए । उनले भुईंच्याउ खानै नहुने बताए ।

च्याउ किन खाने ? यस्ता छन् फाइदा

तरकारीका रुपमा प्रयोग गरिने च्याउ ‘ढुसी’ प्रजातिभित्र पर्छ । च्याउ जस्तो रङहीन तरकारीले पनि हाम्रो खानामा प्रसस्त मात्रामा भिटामिन र खनिज पदार्थ प्रदान गर्छ । खानपानले विभिन्न रोगहरु लाग्न नदिन र निराकरणमा मद्दत गर्ने त सबैलाई थाहै छ । त्यस्तै, च्याउको सेवनले पनि विभिन्न रोग लाग्नबाट बच्न सकिन्छ । थोरै क्यालोरी र थोरै चिल्लो पदार्थका साथै प्रसस्त पोषक तत्व पाइने च्याउलाई स्वास्थ्यका हिसाबले उपयुक्त तरकारी मान्न सकिन्छ ।

अन्य तरकारीमा जस्तै च्याउमा पाउने एन्टिअक्सिडेन्टले क्यान्सर लाग्न दिँदैन ।

त्यसैगरी, च्याउमा प्रसस्त मात्रामा पाइने ‘सेलेनियम’ नामको खनिज पदार्थले कलेजोको काममा सहयोग पु¥याएर क्यान्सरजन्य पदार्थलाई शरीरबाट निस्कासन गर्न मद्दत गर्छ । सेलेनियमले रोगप्रतिरोगी क्षमता वृद्धि गर्न सहयोग गर्छ।

च्याउमा पाइने ‘फोलेट’ नामक भिटामिनले शरीरमा वंशाणु तहमा हुने काममा मद्दत गरी क्यान्सर लाग्ने प्रक्रियामा वाधा पुर्‍याउने देखिएको छ ।

च्याउ यस्तो अचम्मको वनस्पति हो, जसमा भिटामिन डी पनि पाइन्छ । जसले शरीरका विभिन्न काममा फाइदा पुर्‍याउँछ । भिटामिन डीले च्याउमै पाइने फस्फोरस र क्याल्सियमको पाचन प्रक्रियामा मद्दत पुर्‍याउँछ । तसर्थ हड्डीको समस्या भएका र वृद्धहरुले च्याउलाई घाममै सुकाएर खाएमा धेरै लाभ लिन सक्छन् ।

च्याउमा केही मात्रामा ‘आइरन’ पनि पाइन्छ, जसले हाम्रो शरीरको सोस्न सक्ने क्षमतालाई बढाउँछ । तसर्थ च्याउको सेवनबाट रक्तअल्पता भएका व्यक्तिलाई फाइदा पुग्छ ।

च्याउमा प्राकृतिक रुपमै ‘इन्सुलिन’ पाइन्छ । चिल्लो पदार्थ र कलेस्टेरोल नहुने भएकाले चिनीरोगीका लागि च्याउ उपयुक्त आहार मानिन्छ ।

त्यसैगरी, यसमा पाइने ‘बिटा ग्लुकान’ नामक तत्वले रगतमा ग्लुकोजको (कोलेस्टेरोल) मात्रा कम गर्न मद्दत गर्ने अनुसन्धानहरुले देखाएका छन् । बिटा ग्लुकानले रोग प्रतिरोधी क्षमता पनि वृद्धि गर्छ ।
च्याउमा प्रसस्त मात्रामा ‘पोटासियम’ पनि हुनेगर्छ । पोटासियम धेरै पाइने र सोडियम थोरै पाइने भएकाले मुटुरोग र रक्तचापका बिरामीका लागि उपयोगी हुन्छ ।

च्याउमा हाम्रो शरीरमा आवश्यक पर्ने ‘फाइबर’ पनि पाइन्छ । ढुसी प्रजातिमा पाइने फाइबर (बिटा ग्लुकान र काइटिन) ले भोक कम लगाउन मद्दत गर्छ ।

उच्च प्रोटिन र कम कोलेस्टेरोल हुने भएकाले मोटोपना भएका व्यक्तिका लागि च्याउ उपयुक्त खानेकुरा हुन सक्छ ।

यसैगरी, च्याउमा भिटामिन बी पनि प्रसस्त मात्रामा पाइन्छ, जसले हाम्रो शरीरका विभिना काममा मद्दत पुर्‍याएर हामीलाई स्वस्थ राख्न मद्दत गर्छ ।

कुनै पनि एउटा खाने कुरा त्यसमा स्वास्थ्यका लागि के तत्व पाइन्छ भन्ने कुराले महत्वपूर्ण हुनेगर्छ । च्याउ त्यस्तै महत्वपूर्ण खानेकुराभित्र पर्दछ । दैनिक खानामा विभिन्न रङ्गीविरङ्गी फलफूल र तरकारीका साथमा कहिलेकाही रङहीन च्याउलाई पनि समावेश गर्नुपर्छ ।

तर, सबै च्याउ खानयोग्य भने हुँदैनन् । कतिपय च्याउमा मानव शरीरलाई हानी पुर्‍याउने विषालु तत्व पनि पाइन्छ । विशेषगरी, जंगली च्याउ खाँदा वा टिप्दा ध्यान पुर्‍याउनुपर्छ । ‘जंगली च्याउ खाएर मृत्यु’ भन्ने समाचार हामीले सुनिरहेकै हौं । तसर्थ, नचिनेका र जंगली च्याउका साटो खानयोग्य च्याउलाई आफ्नो भोजनमा समावेश गरेर धेरैभन्दा धेरै फाइदा लिऔं ।

च्याउ खेती गर्ने तरिका :

1. धेरैलाई कम जानकारी भएको वास्तवमा च्याउ भनेको के हो ?

च्याउभन्नाले एक प्रकारको ढुसीबाट उम्रने स्वादिष्ट पौष्टिक खाद्य पदार्थ हो। साधारणतया च्याउ भनेपछि जङ्गलमा पाईने च्याउलाई सम्झिइन्छ तर कतिपय च्याउहरुको कृत्रिम तरीकाबाट घरमै खेती गर्न सकिन्छ र हाल आएर व्यावसायिक खेती भैरहेको अवस्था छ।

2. च्याउ कति प्रकारका हुन्छन् ?

च्याउ धेरै प्रकारका हुन्छन् तर नेपालमा खेती भइरहेका मध्येमा गोब्रेच्याउ, कन्येच्याउ, रातो च्याउ, सेतो च्याउ आदि मुख्य हुन्।

3. गोब्रे च्याउकस्तो ठाउँमा खेती गरिन्छ ?

गोब्रेच्याउ चिसो हावापानीमा फष्टाउने खालको च्याउ हो। वातानुकूलित यन्त्रको जडान गरी तापक्रम, सापेक्षिक आर्द्रता र चिस्यान उचित मात्रामा कायम गरी बाह्रै महिना उत्पादन गर्न सकिन्छ तर खुल्ला वातावरणमा भने सिमित समयमा मात्र खेती गर्न सकिन्छ।

4. गोब्रेच्याउको लागि कतिसम्मको तापक्रम उचित हुन्छ ?

यसको बीउ रोपेपछि तीन हप्तासम्म कोठाको तापक्रम २०-२५ डिग्री सेन्टिग्रेड हुनु पर्दछ। यस्तो तापक्रममा ढुसीजालो राम्रोसँग फैलिन्छ। कम तापक्रममा ढुसी फैलिन सक्तैन। बढी तापक्रम भएमा अरु नै ढुसी वा अन्य रोगका जीवाणुहरु उम्रेर बीउ वा च्याउ नै नष्ट गरिदिन्छ।

5. गोब्रेच्याउ उत्पादन गर्न सापेक्षिक आर्द्रता कति हुनु पर्दछ ?

बीउ रोपेपछि ७०-७५ प्रतिशत आर्द्रता हुनु जरुरी हुन्छ। च्याउ निस्कने बेलामा सापेक्षिक आर्द्रता ८०-९० प्रतिशत हुनु पर्दछ। सुख्खा मौसममा भूईंमा पानी छर्केर पनि केही हदसम्म आर्द्रता कायम गर्न सकिन्छ।

6. गोब्रेच्याउ उत्पादन गर्न हावा संचालन र उज्यालोको व्यवस्था कस्तो हुनु जरुरी हुन्छ ?

च्याउ उत्पादन गर्ने कोठामा बाहिरबाट राम्ररी ताजा हावा भित्र पस्ने र भित्रको हावा बाहिर निस्कने साथै घामको प्रकाश सोझै नपर्ने गरी व्यवस्था मिलाउनु पर्दछ।

7. च्याउको बीउ/स्पान कस्तो हुनुपर्दछ ?

यसको बीउ/स्पान तयार गरी राखेको बोतलमा सेतो ढुसी राम्रोसँग फैलिएको र अन्य प्रकारको ढुसी वा जीवाणु नउम्रिएको हुनु पर्दछ। यसको बीउ सरकारी तथा व्यक्तिगत तर भरपर्दो ठाउँबाट खरिद गर्नु पर्दछ।

8. गोब्रे च्याउ खेती गर्ने ठाउँको व्यवस्थापन कसरी गर्न सकिन्छ ?

सिमेन्ट प्लास्टर गरेको ठाउँमा वा भूईंमा नै मलको ब्याड बनाएर यसको खेती गर्न सकिन्छ। कम ठाउँ भएको कोठामा एउटा बाकस अर्कोमा खप्टयाएर पनि यसको खेती गर्न सकिन्छ। साधारणतया बाकसको साईज १.५ मिटर X १.० मिटर X २० से.मि. बनाउनु पर्दछ र मुन्तिरको काठ करीब ३ से.मि. को फरकमा ठोकी हावा पस्ने हुनु पर्दछ र तल चारै कुनामा चारवटा खुट्टा राख्नु पर्दछ। यसको खेती र्‍याक बनाएर पनि गर्न सकिन्छ।

9. गोब्रे च्याउ खेती गर्न कम्पोष्ट मलको तयारी कसरी गर्नु पर्दछ ?

यसको खेती गर्न पहिले कम्पोष्ट मल तयार गर्नु पर्दछ जसको लागि नयाँ पराल १०००के.जी., यूरिया5के.जी., एमोनियमसल्फेट 16के.जी., सुपरफस्फेट 10के.जी., कृषि चून ३०के.जी., फर्मालिन १ लिटर, डाईथेन एम-४५, १२५ ग्राम र नुभान १०० मि.लि. प्रयोग गरी माथिबाट प्लाष्टिकले छोप्नु पर्दछ।

10. गोब्रे च्याउ खेती गर्दा कुन कुन आधारभूत कुराहरुमा विशेष ध्यान पुर्यारउनु पर्दछ ?

यसको खेती गर्दा एकपछि अर्को कुराको पालना गर्नु पर्ने हुन्छ। जस्तो कि शुरुमा कम्पोष्ट मल तयार गर्ने, दोश्रो काम तयारी मलको ब्याड बनाउने, तेश्रो भरपर्दो श्रोतबाट बीउ खरिद गरी ल्याउने, चौथो चरणमा होसियारीपूर्वकबीउ रोप्ने, तयार भएको बाली टिप्ने तथा च्याउ खेती गरिएको कोठालाई सफा राखिराख्नु पर्दछ।

11. कम्पोष्टमल तयारगर्नेविधि पनि बताई दिनु हुन्थ्यो कि?

मल बनाउन चाहिने जति पराल जोखेर १ देखि १.५ फिटटुक्रा पारेर काटी सफा पानीले राम्रोसँग भिजाउनु पर्दछ। चाहिने जति रासायनिक मल र अन्य सामाग्री जोखेर तयार गर्नु पर्दछ।

12. कम्पोष्टमल तयारगर्दा शुरुमा के गर्नु पर्दछ ?

पहिलो दिन परालको थुप्रोलाई एउटा काठको फ्रेम (५ फिट X ५ फिट X १० ईन्च) भित्र तह-तह पारी राख्दै हलुका सँग गोडाले कुल्चिएर मिलाउनु पर्दछ। प्रत्येक ३-४ तह पछि पहिले मिसाएको एमोनियमसल्फेटर यूरियाको मात्रा 1-2के.जी. छर्नु पर्दछ। सयदि पराल राम्रोसँग भिजेको रहेनछ भने झारी वा हातले अलि अलि पानी छम्कनु पर्दछ।

13. कम्पोष्ट तयार गर्दा बीच बीचमा पल्टाउनु जरुरी हुन्छ?

गुणस्तरीय कम्पोष्ट मल तयार गर्नको लागि आठौं पटकसम्म पल्टाउनु पर्ने हुन्छ। यसरी पल्टाउँदा मल पाके नपाकेको र ब्याड बनाउन तयारी अवस्थामा भए नभएको स्पष्ट थाहा हुन्छ।

14. पहिलो पल्टाई कति दिन पछि र के के गर्नु पर्दछ?

पाँचौ दिनमा पहिलोपटक पल्र्टाउनु पर्दछ। यसरी पल्टाउँदा बाहिरको भित्र र भित्रको बाहिर पर्ने गरी सुख्खा पराललाई भित्र पारी काठको फ्रेम भित्र गोडाले थिच्दै थुप्रो बनाउनु पर्दछ।

15. दोश्रो पल्टाई कति दिन पछि र के प्रकृया पूरा गर्नु पर्ने हुन्छ?

दसौं दिनमा दोश्रोपल्ट पल्टाई सिफारिश मात्राको कृषि चून तह-तहमा छरी थुप्रो बनाउनु पर्दछ।

16. तेश्रो पल्टाई कति दिन पछि गर्नु उचित होला?

करीब तेह्रौ दिनमा तेश्रोप टक पल्र्टाईदिनु पर्दछ। यस अवस्थामा मलबाट तातो बाफ आउन शुरु गर्दछ र चिस्यानको मात्रा कम भएमा अलि अलि पानी छम्कनु पर्दछ।

17. चौथो पल्टाई कति दिन पछि गर्नु पर्दछ र कुनै सामाग्री थप गर्नु पर्दछ कि?

सोह्रौं दिनमा चौथोपटक पल्टाउनु पर्दछ र यसै मौकामा आवश्यक मात्राको रासायनिक मल थप्नु पर्दछ। यस बेलासम्ममा मल पल्टाउँदा नमिठो तथा आँखा पिरो हुने एमोनियाको ग्यास निस्केको जस्तो अनुभव हुन्छ।

18. पाँचौं पल्टाई कति दिन पछि गर्नु पर्ला र यस पटक के के थप सामाग्री राख्नु पर्ला ?

कम्पोष्ट राखेको उन्नाइसौं दिनमापांचौपटक पल्र्टाउनु फाइदाजनक हुन्छ तर यस पटक कुनैथप सामाग्री दिईरहन जरुरी पर्दैन।

19. छैठों पल्टाई चाहिं कति दिन पछि गर्नु पर्ने हुन्छ ?

करीब तेश्रो हप्तामा छैठौंपटकको पल्र्टाईपूरा गर्नु पर्दछ। यस पल्टाईको साथमा रोगनाशक विषादि डाइथेन एम-४५, २-३ ग्राम प्रति लिटर पानीमा मिसाएर छर्नु पर्दछ।

20. सातौं पल्टाई कति दिनमा गर्नु पर्ला ?

करीब २५ दिन भित्र सातौंपल्र्टाईगरी सक्नु पर्दछ तर यस पल्टाईको बेला कुनै थप सामाग्री राख्न जरुरी हुँदैन।

21. आठौं पल्टाई कति दिनमा गर्नु पर्ला र यस बेलामा के के कुरामा ध्यान दिनु पर्ला ?

साधारणतया गर्मीको समयमा २८-३०दिनमामल पाकेर तयार भईसक्छ तर जाडोको मौसममा ४०-४५ दिन लाग्न सक्तछ। पाकेको मल हल्का खैरो कालो रङ्गको हुन्छ र परालको त्यान्द्रा पनि सजिलैसँग चुडिन्छ। मललाई मुट्ठी पार्दा हत्केला भिजेको हुन्छ र मल डल्लो परेको अवस्था हुनु पर्दछ।

22. गोब्रे च्याउखेतीको लागि ब्याड कसरी तयार गर्नु पर्दछ ?

मल तयार भएपछि च्याउखेतीगरिनेकोठामा ब्याड बनाउनु पर्दछ। ब्याडको लम्बाई कोठाको साईज अनुसार तथा चौर्डाई३-४फिटरउचाई६-८इन्चसम्मकोबनाउनु पर्दछ। ब्याडहरुको बीचमा १-१ फिटको बाटो राख्नु पर्दछ। काठको र्‍याक अथवा बाकसमा पनि मल भरेर खेती गर्न सकिन्छ।

23. गोब्रे च्याउको बीउ/स्पान रोप्दा के कस्ता कुराहरुमा ध्यान दिनु पर्ला ?

ब्याडमा मल भरेको १-२ दिनमा मलको तापक्रम करीब २५० सेन्टिग्रेडमा आउँछ र एमोनियाको गन्ध पनि हराउँदै जान्छ। बीउ रोप्नु भन्दा अगाडी कपास वा कपडाको टुक्रालाई मिथाइलेटेड स्प्रिटले भिजाई हात तथा बीउ राखेको भाँडोबाट बीउ झिक्ने सुइरोलाई राम्ररी सफा गर्नु पर्दछ। सुइरोले बीउको बोतलमा चलाई बीउलाई सफा गरेको भाँडोमा खन्याउनु पर्दछ।

24. बीउ कति गहिराईमा र कसरी रोप्नु पर्दछ ?

तयारभएको ब्याडबाट १-१.५ ईन्च मल हटाएर बीउछरी फेरी सोही मलले छोपी हलुकासँग थिची सम्म बनाउनु पर्दछ। बीउ रोपेपछि ब्याड माथि २ प्रतिशत फर्मालिन (१ लिटर पानीमा ५० मि.लि. फर्मालिन) ले उपचार गरी राखेको खबर कागजले छोप्नु पर्दछ।

25. ब्याडमा चिस्यानको मात्रा कसरी कायम राख्ने ?

ब्याडमा पानी दिँदा शुरुमा खबर कागज मात्र भिज्ने गरी दिनु पर्दछ। बीउ रोपेपछि कोठाको तापक्रम२०-२५०सेन्टिग्रेडहुनु पर्दछ। रोपेको ८-१० दिन पछि ब्याडमा सेतोढुसीफैलिँदै गएको देखिन्छर १५-२० दिनमा मलको सबै भागमा ढुसी फैलिएर जान्छ।

26. ब्याडलाई छोप्ने/केसिङ्ग गर्ने माटोको तयारी कसरी गरिन्छ ?

वीउरोपेको दुईहप्तादेखि ब्याडलाई छोप्ने/केसिङ्ग गर्ने माटोको तयारी गर्नु पर्दछ। यसको लागि दोमट माटो राम्रो हुन्छ। बारीबाट माटो झिक्दा माथिको करीब ६ ईन्च जति माटो हटाएर भित्रको माटो झिकी डल्ला फोडी मसिनो बनाउनु पर्दछ।

27. ब्याड छोप्ने माटोलाई उपचार पनि गर्नु पर्ला ?

अवश्य नै। यस्तो १००के.जी. माटोमा२के.जी.कृषि चूनर२५० मि.लि.फर्मालिनप्रयोग गरी सफा गरेको सावेलले चलाएर थुप्रोलाई माथिवाट प्लाष्टिकलेछोपी ४८घण्टासम्म उपचार गर्नु पर्दछ। प्लाष्टिक हटाएपछि २-३ दिनको फरकमा २ पटक चलाई फर्मालिनको गन्ध हटाउनु पर्दछ।

28. उपचार गरिएको माटोलाई कसरी प्रयोग गर्नु पर्दछ ?

बीउ रोपेको १५-२० दिनपछि उपचार गरिएको माटोले ब्याडमा एकैनासले १-१.५ ईन्च बाक्लो पारेर छोप्नु पर्दछ।

29. ब्याडमा सिंचाई/चिस्यान कायम गर्न कस्तो उपाय गर्नु पर्ला ?

ब्याडलाई माटोले छोपेपछि झारी वा स्प्रेयरले माटोको सतहभित्र भिज्ने गरी पानी दिनु पर्दछ। चिस्यानको मात्रा बढी भएमा ढुसी/च्याउ नष्ट हुन सक्तछ। अतः बढी होसियारीका साथ सिंचाई गर्नु पर्दछ।

30. माटोले ब्याडलाई छोपी सकेपछि च्याउ रोपेको कोठाको वातावरण कस्तोहुनुपर्दछ?

यसरी माटोले ब्याड छोपी सकेपछि ७-१० दिनसम्म कोठाको तापक्रम २०-२५ डिग्री सेन्टिग्रेडमा राख्नु पर्दछ।यस अवधिमा च्याउको ढुसी माटोको सतहसम्म फैलिन थालेको हुन्छ।

31. माटोले छोपेको १०-१२ दिनपछि कोठाकोतापक्रम, आर्द्रता फरक हुनु जरुरी हुन्छ?

यसरी माटोले छोपेको एघारौं दिनदेखि कोठाको तापक्रम घटाएर १५-१८ डिग्री सेन्टिग्रेडरसापेक्षिकआर्द्रता८०-९० प्रतिशत कायम गरी बाहिरको हावा कोठा भित्र संचालन हुने व्यवस्था मिलाउनु पर्दछ।

32. च्याउ खेती गरिएको कोठाकोतापक्रम तथाआर्द्रता कायम गर्न के कस्ता उपायहरु अवलम्बन गर्न सकिएला ?

कोठा भित्र उपयुक्त वातावरण कायम राख्न गर्मीको समयमा भूईं तथा भित्तामा जुटको बोरा पानीले भिजाई चिसो पार्नु पर्दछ। जाडोको समयमा भने कोठा भित्र हिटर तथा ठूलो भाँडोमा पानी तताएर राखी तापक्रम तथा आर्द्रताबढाउन सकिन्छ।

33. कोठा भित्र हावाको संचालन बढाउन के कस्तो व्यवस्था मिलाउनु पर्ला ?

बाहिरको स्वच्छ हावा संचार गराउन एयरकूलर चलाउन अथवा साधारणतया झ्यालहरु खोलेर पनि आवश्यकता पूर्ति गर्न सकिन्छ। झ्यालहरु खोल्नको लागि भने झ्यालहरुमा मसिनो प्वाल भएको तारको जाली लगाउन अनिवार्य हुन्छ।

34. ब्याडमा माटोले छोपेको कति दिन पश्चात् च्याउ टिप्न तयार हुन्छ?

ब्याडलाई माटोले छोपेको १५-२१ दिनसम्ममा च्याउका मसिना सेता कोपिला(डल्ला) हरु उम्रिन थाल्दछन्। यस्ता डल्ला देखिएको एक हप्ता पछि च्याउ टिप्न तयार हुन्छ।

35. च्याउटिप्दा के कुराहरुमा ध्यान दिनु पर्ला?

च्याउटिप्न जानु अगाडी साबुन पानीले हात धुनु पर्दछ। च्याउ टिप्दातीनवटा औंलाले डाँठमा समातेरएकपल्ट दाहिने अर्को पल्ट देब्रेपट्टि बटारेर होसियारीपूर्वक टिप्नुपर्दछ।झुप्पै भएको ठाउँमा भने चक्कुको सहायताले टिप्नु पर्दछ।

36. टिपेको च्याउलाई कति दिनसम्म भण्डारण गर्न सकिन्छ?

च्याउसकेसम्म ताजैमा खाने र टिपेकै दिन बिक्री गर्ने हो तर रेफ्रिजरेटरमा ३-४ दिनसम्म राख्न सकिन्छ। राम्ररी खेती गरिएको ठाउँमा २-३ महिनासम्म च्याउ फलिनै रहन्छ।

37. च्याउ खेती गर्दा कुन कुन अवस्थामा सरसफाईको विशेष महत्व हुन्छ?

यसको खेती गर्दा कम्पोष्ट मल बनाउने ठाउँ देखि च्याउ उमार्ने, मल भर्ने, ब्याड बनाउने, बीउ रोपेपछि छोप्ने कागज, च्याउ टिप्दा प्रयोग गरेको औजार आदि सबै ठाउँमा सरसफाईमा ध्यान दिनु पर्दछ अन्यथा रोगकीराले आक्रमण गरी च्याउ उत्पादनमा ह्रास हुन्छ।

38. गोब्रे च्याउमाकस्ता कस्ता रोगहरु देखा पर्दछन्?

यसमा खैरो प्लाष्टर रोग (ब्राउन प्लाष्टर मोल्ड), ट्रफल रोग (वेट बबल डिजिज), हरियो रोग (ग्रीन मोल्ड), सुकेका फोका रोग(ड्राई बबल डिजिज) तथा खैरो ब्याक्टेरिया रोग (ब्राउन ब्लच) जस्ता रोगहरु लागेको पाईन्छ।

39. गोब्रे च्याउमाखैरो प्लाष्टर रोगको लक्षण कस्तो हुन्छ?

योढुसीबाटउत्पन्न हुने रोग हो। यसको लक्षण ब्याड माथि र केसिङ्ग गरेको माटो माथि पहिले सेतोफिक्का खैरो रङ्ग हुँदै पछिगाढा खैरोपाउडरजस्तोधूलो देखा पर्दछ। कोठामा राम्रो हावा संचालन नहुँदा तापक्रम बढी हुँदा र कम्पोष्ट मलमा बढी चिस्यान हुँदा रोग चाँडै फैलिन्छ।

40. यस रोगको नियन्त्रण कसरी गर्न सकिन्छ ?

रोगले आक्रमण गरेको ठाउँमा २ प्रतिशतको फर्मालिन छर्ने साथै बेभिष्टिनको ०.१ प्रतिशतको झोल पनि प्रयोग गर्न सकिन्छ। केसिङ्ग गरेको माटोको राम्ररी उपचार गर्ने तथा हावाको संचार व्यवस्थित गर्नु पर्दछ।

41. खैरो ब्याक्टेरिया रोग लागेको कसरी पहिचान गर्न सकिन्छ ?

योरोग लागेपछि च्याउको छाता जस्तो भागमा पहेंलो गोलो गोलो आकारका थोप्लाहरु देखिन्छन् र ती थोप्लाहरु मिलेर खैरो थोप्लाहरु बन्दछन्। यो रोग लाग्नको मुख्य कारण माटोको उपचार नगर्नु र सापेक्षिक आर्द्रता बढी हुनु हो।

42. खैरो ब्याक्टेरिया रोगलाई कसरी व्यवस्थापन गर्न सकिन्छ ?

यसको व्यवस्थापन गर्न च्याउ खेती गरेको कोठामा ८० प्रतिशत भन्दा बढी सापेक्षिक आर्द्रता बढ्न दिनु हुँदैन र कोठामा राम्रोसँग हावा संचालन हुन दिनु पर्दछ।

43. गोब्रे च्याउमा कस्ता-कस्ता कीराहरुले सताउँछन् र तिनीहरुकोनियन्त्रणकसरी गर्नुपर्दछ?

यसमा विशेष गरेर झिङ्गा र सुलसुलेले असरगरेको पाइन्छ। यिनीहरुलाई नियन्त्रण गर्नका लागि नुभानकीटनाशकविषादि १-२ मि.लि. प्रति लिटर पानीमा मिसाई दुई पटक सम्म छर्नुपर्दछ तर विषादी छरेको कम्तीमा ४ दिनसम्म च्याउ टिप्न र खान हुँदैन।

44. यसको उत्पादन कति सम्म लिन सकिन्छ?

एक टन परालको कम्पोष्ट प्रयोग गरिएको ठाउँबाट २००-३००के.जी. ताजा गोब्रे च्याउउत्पादनगर्न सकिन्छ।

45. कन्येच्याउकुन कुन वस्तुहरुमा उत्पादन गर्न सकिन्छ ?

कन्येच्याउको खेती धानको पराल, गहुँको छ्वाली, मकैको खोष्टा, तोरीको डाँठ आदिको सदुपयोग गरी उत्पादनगर्नसकिन्छ।

46. कन्ये च्याउ खेती गर्न कस्तो तापक्रम र आर्द्रताको जरुरत पर्दछ ?

यसको खेती सफलताका साथ गर्नका लागि २०-३० डिग्री सेन्टिग्रेड तापक्रम तथा ८०-९० प्रतिशत सापेक्षिक आर्द्रताको जरुरत हुन्छ।

47. कन्ये च्याउको खेती गर्दा पहिलो चरणको काम के हो ?

पहिलो चरणको काममा सफा पराललाई बीउको मात्रा मिलाउन सजिलो होस् भनी तौलिनु पर्दछ। तौलिएको पराललाई २-२.५ ईन्चको टुक्रा बनाउनु पर्दछ। टुक्रा परेको पराललाई २ घण्टा पानीमा भिजाई ३-४ पटक सफा पानीले पखाली एक रात भिरालो परेको ठाउँमा फिंजाई पानी तर्काउनु पर्दछ।

48. कन्ये च्याउको खेतीको लागि दोश्रो चरणमा गर्नु पर्ने काम के होला ?

चिसो पानीले सबै सूक्ष्म जीवाणुहरु नष्ट नहुने हुँदा ती जीवाणुहरु नष्ट गर्न ३० मिनेटदेखि१घण्टासम्मतातो पानीकोवाफलेबफाउनु उचित हुन्छ।

49. बफाएको परालमा कसरी बीउ छर्नु पर्दछ ?

बफाएको पराललाई सफा ठाउंमा राखी चिसो भएपछि १६X१८ ईन्चको प्लाष्टिक झोलामा ६ ईन्च जति पराल राखी वीउ छर्ने र फेरी ६ ईन्च पराल राखी वीउ छर्नु पर्दछ।यसरी ४-५तहसम्म वीउ छरी सकेपछि हल्का तरीकाले थिची दिनु पर्दछ।प्लाष्टिक भित्र अक्सिजनको संचार होस् भन्नका लागि प्रत्येक १० से.मी. को फरकमा १ से.मी. बराबरको प्वाल बनाउनु पर्दछ।

50. बीउ छरेको प्लाष्टिक झोला कस्तो ठाउँमा राख्नु पर्दछ ?

वीउ रोपिसकेको प्लाष्टिक झोलालाई अन्ध्यारो ठाउँमा२०-३०डिग्री सेन्टिग्रेड तापक्रम भएको कोठामा झ्याल ढोका बन्द गरी ३ हप्ता सम्म राख्नु पर्दछ।

51. परालमा ढुसीहरु फैलिएपछि के प्रकृया अपनाउनु पर्दछ ?

परालमा पूरा ढुसी फैलिए पछि प्लाष्टिक झोला चिर्ने र डल्लोलाई ईटा तथा फ्ल्याक माथि राख्नु पर्दछ।यी डल्लाहरुलाई झुन्ड्याउन पनि सकिन्छ।

52. प्लाष्टिक झोला चिरेको कति दिनपछि च्याउ टिप्न तयार हुन्छ र कति पटकसम्म टिप्न सकिन्छ?

प्लाष्टिक झोला खोलेको ५-७ दिनमा च्याउ टिप्न तयार हुन्छ।एउटा डल्लोबाट ३-४ पटक सम्म च्याउ टिप्न सकिन्छ तर प्रत्येक दिन २-३ पटक जमीनमा पानी छर्कनु पर्दछ।

53. रातो च्याउ अन्य च्याउ भन्दा के फरक छ ?

रातो च्याउ अरु च्याउ जस्तो तरकारीमा प्रयोग गरिँदैन। यसलाई टिपेपछि सुकाउनु पर्दछ जसलाई निर्जलीकरण गर्ने भनिन्छ। यसलाई सुकाएर चूर्ण (पाउडर) बनाई सकेपछि तातो पानीमा मिसाएर वा चिया/कफीमा मिसाएर खान सकिन्छ। यो ज्यादै पोषणयुक्त र बहु-औषधिमूलक भएकोले मानव शरीरको लागि अति नै उपयोगी मानिन्छ।

54. रातोच्याउखेती गर्न कस्ता-कस्ता सामाग्रीहरु प्रयोग गर्न सकिन्छ ?

रातो च्याउको खेती काठजन्य पदार्थहरुमा गर्न सकिन्छ। नेपाल कृषि अनुसन्धान परिषदले गरेको परीक्षण अनुसार ४ वटा सूत्र प्रयोग गरी यसको खेती गर्न सकिन्छ जस मध्ये पहिलोमा काठको धूलो ९० प्रतिशत र धानको ढुटो १० प्रतिशत र दोश्रोमा काठको धूलो ९० प्रतिशत र गहुँको चोकर १० प्रतिशत राखी यसको खेती गर्न सकिन्छ।

55. रातो च्याउको खेती कस्तो हावापानीमा बढी सप्रन्छ ?

यसको खेती २५-२८ डिग्री सेन्टिग्रेडतापक्रमर ८०-१०० प्रतिशत सापेक्षिक आर्द्रता भएकोठाउँमा राम्रो हुन्छ। खेती गरिने कोठामाराम्रो उज्यालो र हावाको आवागमन राम्रो हुनु पर्दछ।

56. सेतो च्याउ कस्तो किसिमको च्याउ हो र यसलाई कस्तो किसिमको हावापानीको जरुरत पर्दछ ?

यो पनि एक प्रकारको ढुसी नै हो तर यसको आकार धागो वा जालो जस्तो सेतो रेशा जस्तो देखिन्छ। यो बढ्दै गएपछि सेतो छाता आकारको हुन्छ। यसलाई गोब्रे च्याउ कै जस्तो तापक्रम र सापेक्षिक आर्द्रतामा खेती गर्न सकिन्छ।

57. सेतो च्याउ खेती गर्दा कस्ता सामाग्री र प्रविधिको प्रयोग गर्नु पर्दछ ?

यसको खेती गर्न गोब्रे च्याउ उत्पादन गर्ने सामाग्री तथा प्रविधिलाई प्रयोग गर्न सकिन्छ जुन यसै शीर्षक अन्तर्गत अघिल्ला पृष्ठहरुमा उल्लेख छ तर बीउ रोपेको प्लाष्टिकको पोकालाई झ्याल बन्द गरेको अँध्यारो कोठा वा छिडी वा प्लाष्टिक टनेलमा राख्नु पर्दछ। कोठा वा छिडीको तापक्रम २०-२५ डिग्री सेन्टिग्रेडहुनु पर्दछ।

58. सेतो च्याउको उत्पादन कतिसम्म लिन सकिन्छ ?

सेतो च्याउको उत्पादन ५ के.जी. बराबरको सुकेको परालबाट ४-६ के.जी. सम्म लिन सकिन्छ।

59. सेतो च्याउमा गोब्रे च्याउमा लाग्ने रोगकीरा बाहेक पनि भिन्न प्रकारको समस्या देखिन्छ ?

सेतो च्याउको खेती गरेको ठाउँमा कोप्रिनस जातको ढुसी अर्थात् जङ्गली च्याउ उम्रन्छन्। यस्तो जङ्गली च्याउको डाँठ लामो हुने र यसलाई हातमा माडेमा कालो मसी जस्तो झोल निस्कन्छ। यसको नियन्त्रणको लागि च्याउ खेती गरेको ठाउँमा २ प्रतिशतको फर्मालिनको झोल छर्कनु पर्दछ।

नोट: माथि उल्लेखित स्वास्थ्य सम्बन्धी जानकारीहरु विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो । मानिसको शारिरिक अवस्था र समय अनुसार पनि माथि उल्लेखित कुराहरुको उपलब्धी फरक पर्छ । सम्पुर्णरुपमा यहि कुरामा मात्रै भर नपर्नुहोला । माथि उल्लेखित कुराहरु प्रयोग गर्दा तपाईको स्वास्थ्यमा थप खराबी देखिए, कृपया तुरुन्त रोकेर स्वास्थ्यकर्मीहरुसँग सल्लाह लिनुहोस् ।

साथै तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला । तपाइको एक सेयरले थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग मिल्नेछ ।