तपाई अधिकांश पाठकलाई थाहा छ भारतको बिहारमा पछिल्लो दुई दशकदेखि अज्ञात रोगका कारण बर्सेनि एक सयभन्दा बढी बालबालिकाको मृत्यु हुँदै आएको थियो । दिउँसोभरि खेलिरहेका, रमाइरहेका बालबालिका राति अकस्मात छलपटाएर ढल्ने गर्दथे।

स्वस्थ बालबालिकाको एक्कासी हुने निधनले चिकित्सकसमेत अमलममा परेका थिए। के कारणले बच्चाको मृत्यु भएको हो भन्ने कुरा रहस्यमै थियो। तर, एउटा गहन खोजले ती बालबालिकाको मृत्युको कारण पत्ता लगाएको छ ।

अमेरिकी र भारतीय चिकित्सकहरु सम्मिलित अनुसन्धान टोलीले ती बालबालिकाको मृत्युको कारण सबैले मन पराउने फल लिचीलाई मानेको छ। अनुसन्धान प्रतिवेदनले खुलासा गरेको छ की विषादी भएर मात्र हैन खालि पेटमा बच्चाहरुले खाने गरेको लिची नै उनीहरुको मृत्युको कारण हो। खासगरी लिची फल्ने महिना मेदेखि जुलाईसम्ममा ती बालबालिकाको मृत्यु हुने गरेको थियो।

दुई दशकदेखि बिहार मुजफ्फरपुर क्षेत्रका बालबालिकामा देखिएको रातिको समयमा अकस्मात ढलेर बेहोस हुने र कतिपयको मृत्यु हुने क्रम अझै पनि अन्त्य भने भएको छैन। तथापि सन् २०१४ मा गरिएको अनुसन्धानपछि भने मृत्युको घटनामा कमी आएको छ।

मेडिकल जर्नल दि ल्यानसेटमा प्रकाशित अनुसन्धान अनुसार ती बालबालिका खालि पेटमा लिची खाएकै कारण ढल्ने गरेका थिए। लिचीमा पाइने विषलू तत्व हाइपोग्लिसिन त्यसको मुख्य कारक थियो। मुजफ्फरपुर लिची उत्पादनका लागि प्रख्यात ठाउँ हो, त्यहाँका बालबालिकाले खालि पेटमा बगैँचामा झरेका चिली खाने गरेको र त्यसले रातिको समयमा उनीहरुलाई समस्या पार्ने गरेको जर्नलमा लेखिएको छ।

लिचीमा पाइने विषालु पर्दाथ हाइपोग्लिसिनले शरीरमा ग्लुकोज उत्पादन गर्ने क्षमतालाई रोकिदिन्छ। अभावका कारण गरिब क्षेत्रका ती बालबालिकाले बिहानदेखि दिउँसोभरि लिची खाएर बेलुका खाना नखाने गरेको अध्ययनले देखाएको छ। बेलुकीको खाना नखाने हुँदा ब्लड सुगरको तह न्यून हुने बालबालिका ग्लुकोजको कमीका कारण बेहोस हुन्थे। जसका कारण उनीहरुको दिमाग सुन्निएको हुन्थ्यो।

सन् २०१४ को मेदेखि जुलाईसम्म मुजफ्फरपुर अस्पतालमा भर्ना भएका बालबालिकाको परीक्षण गर्दा उनीहरुको दिमाग सुन्निएको पाइएको थियो। लिचीमा हुने हाइपोग्लिसिन नामक विषालू पर्दाथ नै यसको मुख्य कारण थियो।

अहिले बिहारका स्वास्थ्य अधिकारीहरुले गरिब क्षेत्रका बालबालिकालाई अनिवार्य रुपमा रातको खाना खुवाउन र लिचीको मात्रा घटाउन भनेका छन्। चिकित्सकहरुले बच्चामा त्यस्ता लक्षण देखिए लो ब्लड सुगरको तत्कालै उपचार गर्न सुझाब दिइएका छन्।

यो अनुसन्धानपछि बिहारको ग्रामीण क्षेत्रमा बिरामी बच्चाको संख्या आधाभन्दा बढीले घटेको ‘न्युयोर्क टाइम्स’ले जनाएको छ। यसैले बिहानको समय लिची खानू सबैका लागि हानिकारक हो । यसमा भएको तत्व नै खालिपेटमा विषदी बन्छ । तर ज्यान लिन्छ ।

लिची खेती गर्ने तरिका :

कटहर परिवारमा पर्ने सानो तथा मीठो फल लिची जसलाई वैज्ञानिक नाममा (Litchi chinensis) भन्छन, जेनस लिचीको एकमात्र सदस्य हो। यो ऊष्णकटिबन्धीय फल हो, जसको मूल निवास चीन हो । यो सामान्यतः मैडागास्कर, भारत, बंगलादेश, पाकिस्तान, दक्षिण ताइवान, उत्तरी भियतनाम, इण्डोनेशिया, थाईल्याण्ड, फिलीपींस दक्षिण अफ्रीका र नेपालमा पाइन्छ।

स्वाद र पौष्टिकताको दृष्टिले सर्वोत्तम फलहरूमध्ये एउटा प्रमुख फल हो लिची। यो एउटा बाक्लो बोक्रामाथि स-साना गोलाकारका काँडाजस्ता गीर्खाहरू भएको सानो आकारको फल हो। राम्रोसँग पाकेपछि यसको बोक्रा रातो वा गुलाबी रङको हुन्छ र यही रातो वा गुलाबी रङको बोक्राभित्र पाइने सेतो प्रकारको गुदी नै हामी स्वादिष्ट मानेर खाने गर्दछौँ।

लिची खनिज तत्वले भरिपूर्ण एक अत्यन्त स्वादिष्ट फल हो। एउटा ताजा र पाकेको लिचीमा ७० देखि ७७ प्रतिशतसम्म गुदी पाउन सकिन्छ। यसको प्रमुख पोषक तìव कार्बोहाइड्रेट्स हो जसको मात्रा स्थानीय जलवायु र उब्जाउ माटोमा निर्भर गर्दछ।

रासायनिक विश्लेषणअनुसार एउटा ताजा र पाकेको लिचीमा चिनी वा गुलियो पदार्थको मात्रा १५ दशमलव ३ प्रतिशत, प्रोटिन एक दशमलव १५ प्रतिशत र अम्ल एक दशमलव ६ प्रतिशत रहेको हुन्छ। यसका साथै यस फलमा क्याल्सियम, फोस्फरस, फलाम तìव, खनिज लवण एवं भिटामिन ‘सी’ पनि प्रचुर मात्रामा पाइने भएको हुँदा यो फल स्वास्थ्यको दृष्टिले अत्यन्त लाभदायक मानिन्छ।

कलेजो र कमलपित्तजस्ता रोगीको लागि त यो फल एक किसिमले वरदान नै मानिन्छ किनकि कलेजोको असामान्य यसको नियमित सेवनले सामान्य अवस्थामा ल्याउन सक्छ। लिचीको सेवनले पाचन रस उत्पन्न गर्नमा सहयोग पुग्नाका साथै पाचन प्रणालीमा रहेका विकारहरूलाई पनि निर्मूल पार्दछ।

यसको सेवनले भोक बढाउने गर्दछ। दिमागीय कमजोरी हटाउन र स्मरणीय शक्ति बढाउन पनि यो फल निकै लाभदायक मानिएको छ। यसका साथै मुटुको धड्कन बढ्ने र हात खुट्टा पोल्नेजस्ता रोगीहरूले पनि लिची खाने र यसको रस दल्ने गर्नाले अत्यन्त फाइदा हुने बताइएको छ। त्यति मात्र नभई यो फल वीर्यबर्धक र वातपित्त नाशक पनि मानिन्छ। यो फल विभिन्न दृष्टिकोणले स्वास्थ्यबर्धक हुँदाहुँदै पनि कही कफबर्धक पनि भएकाले लिची खाएको कम्तीमा आधा घण्टासम्म पानी खान भने हुँदैन।

लिची खेती गर्दा ध्यान दिनुपर्ने केहि कुराहरु :

लिची कस्तो हावापानीमा हुने फलफूल बाली हो ?

उष्ण प्रदेशीय फलफूलहरु मध्ये लिचीलाई विशेष प्रकारको हावापानीको जरुरत पर्दछ । यसको लागि बढी आद्र्रता भएको गरम ओसिला तर हिउदमा चिसो तर तुसारो नपर्ने खालको हावापानी भएको ठाउँहरु ब्यवसायिक खेतीको उपयुक्त हुन्छन् । राम्रोसंग फूल फुल्न फूल्नु अगाडी ठण्डा मौसमको आवश्यकता पर्दछ ।

लिचीको बृद्धि र विकासको लागि कतिसम्मको तापक्रम उपयुक्त हुन्छ ?

लिचीको लागि १०० देखि ३५० से. तापक्रम ठाउँहरु उपयुक्त मानिन्छन् तर हिउदको तापक्रम १० से. भन्दा कम नहुने र गर्मीको याममा ४०० से. भन्दा बढी नहुने ठाउँमा यसको खेती सफलताका साथ गरेको पाईन्छ।

लिचीको खेती गर्न वार्षिक वर्षा कतिसम्म हुनु आवश्यक छ ?

यसको खेतीको लागि २० देखि २३० सेन्टिमिटर वार्षिक वर्षा हुने ठाउँहरु उपयुक्त हुन्छन्। यसको सफल खेतीको लागि कुल वर्षा भन्दा पनि हिउँद र गर्मी यामको वर्षाको वितरढाले बढी प्रभाव पार्दछ।

लिची खेतीको लागि कस्तो माटो उपयुक्त मानिन्छ ?

लिची खेतीको लागि बलौट, दोमट माटोनै सवै भन्दा उपयुक्त हो तर निकासको राम्रो प्रबन्ध गर्न सके चिम्ट्याईलो र कालो माटोमा समेत खेती गर्न सकिन्छ। भूमिगत पानीको सतह कमसे कम २ मिटर हुनु पर्दछ।

माटोको अम्लियपना र क्षारियपना कस्तो हुनु पर्दछ ?

लिचीको खेती पि.एच.५.५ को हाराहारीमा भएको सबै भन्दा उत्तम हो तर ५.००–६.०० सम्म पि.एच. भएको माटोमा ब्यवसायिक खेती गर्न सकिन्छ।

लिचीको बिरुवा कुन तरिकाले लगाउन उपयुक्त हुन्छ ?

यसको खेती प्रायः समथर जमीनमा नै गरिने हुँदा वर्गाकार वा आयताकार वा त्रिभुजाकार तरीकाले बिरुवा लगाउन उपयुक्त हुन्छ। मध्ये पहाडी क्षेत्रको वेशी–खोंचतिर कन्टुर तरीका पनि अपनाउन सकिन्छ।

लिचीका बिरुवा कति दूरिमा लगाउँदा उचित हुन्छ ?

लिचीको प्रायः सबै जातहरु नै उचाइ भन्दा पनि बढी फैलने किसिमका भएकोले बिरुवाको दुरी कम्तीमा १०X१० मीटर कायम गर्नु पर्दछ।

लिचीको बगैंचा स्थापना गर्दा रेखाङ्कन गर्न किन जरुरी छ ?

लिचीका बोटहरु धेरै वर्षसम्म बाँच्ने र वर्षै पिच्छे फल दिई रहने हुँदा यसको उचित स्याहार संभार गर्न मेशिनरीहरुको पनि प्रयोग गर्न सकियोस भनी रेखाङ्कन गरी उचित तरिका अपनाई बिरुवा लगाउन जरुरी हुन्छ।

लिचीको बिरुवा रोप्नु अगाडी कति गहिराईको खाड्ल खन्नु पर्दछ ?

हावा छेक्ने रुख लगाईएको दिशातिरबाट कम्तीमा १०–१५ मीटर छोडी रेखाङ्कन गरिएका स्थानमा बिरुवा रोप्ने फल्याकको प्रयोग गरी १ घनमीटरको खाडल बिरुवा रोप्नु भन्दा १५–२० दिन अगावै खन्नु पर्दछ।

लिचीका बिरुवा रोप्नु अगावै हावा छेक्ने बिरुवा लगाउन किन आवश्यक हुन्छ ?

लिचीको फूल फुल्ने र फल लागको लागेको समयमा हावाहुरीले फूल तथा फलहरु बढी नै झार्दछ। लिचीका हाँगाबिंगा अन्य फलफूलको भन्दा कमजोर हुने हुँदा बढी नै भाँचिन्छन्। तसर्थ, यस्तो परिस्थितीबाट बाँच्नको लागि बिजु आँप, कटहर, जामुन, युकालिप्टस, सिसौ जस्ता बिरुवाहरु हावा छेक्ने बिरुवाको रुपमा लगाउनु पर्दछ।

लिचीको बगैंचामा सिंचाई गर्न जरुरी छ ?

लिचीको बोटले आवश्यकता अनुरुप पानी नपाएमा बिरुवाको बृद्धि रोकिने र पातहरु झर्ने हुन्छ। सुख्खा र गर्मी याममा बढी सिंचाईको जरुरी हुन्छ। सिंचाईको अभाव हुने ठाउँहरुमा फूल र फलहरु झर्ने र अडिएका फलहरु साना र पाक्ने अवस्थामा फुट्ने क्रम बढी हुन्छ।

लिचीमा मलखादको ब्यवस्था कसरी गर्न पर्दछ ?

लिची बिरुवाको राम्रो बृद्धि र उच्च गुणस्तरको बढी फल उत्पादन गर्न सन्तुलित मात्रामा खाद्य तत्वहरु दिन आवश्यक हुन्छ । साधारणतः फल नफलेका बिरुवामा ७५–१०० ग्राम नाईट्रोजन, २५–५० ग्राम फास्फोरस र ७५–१०० ग्राम पोटासको आवश्यकता पर्दछ । त्यसरीनै फल दिने बिरुवाको लागि ५००–६०० ग्राम नाईट्रोजन, १५०–२०० ग्राम फास्फोरस तथा ५००–६०० ग्राम पोटास प्रति बोटको दरले दिनु पर्दछ । प्राङ्गारिक मल २५० के.जी. तथा अन्य शुक्ष्म तत्वहरुको पनि आवश्यक हुन्छ ।

नोट: माथि उल्लेखित स्वास्थ्य सम्बन्धी जानकारीहरु विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो । मानिसको शारिरिक अवस्था र समय अनुसार पनि माथि उल्लेखित कुराहरुको उपलब्धी फरक पर्छ । सम्पुर्णरुपमा यहि कुरामा मात्रै भर नपर्नुहोला । माथि उल्लेखित कुराहरु प्रयोग गर्दा तपाईको स्वास्थ्यमा थप खराबी देखिए, कृपया तुरुन्त रोकेर स्वास्थ्यकर्मीहरुसँग सल्लाह लिनुहोस् ।

साथै तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला । तपाइको एक सेयरले थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग मिल्नेछ ।