हामी हाम्रा नानीबाबुहरु विरामी नहुन भनेर के के सम्म गर्छौँ । टेक्नोलोजि र जनचेतनाको बढ्दै गएको यो युगमा आफ्ना छोराछोरीको स्वास्थ्य र सुरक्षाकालागि अनेक उपायहरु अपनाइरहेका हुन्छौँ ।

बालबालिकालाई किटाणु, जीवाणु र विषाणुबाट बचाउन सरसफाइमा ध्यान नदिने त कुरै भएन् । तर नयाँ एक अध्ययनले भने बाल अबस्थामा किटाणुबाट बचाउदै इन्फेक्सनबाट धेरै मात्रामा बचाए पछि ल्युकेमिया भन्ने रोग लाग्ने खतरा बढी भन्ने तथ्य अघि सारेको छ । ल्युकेमिया हुने अबस्थाको पछाडी भने बच्चालाई यदी इन्फेक्सन भइराख्यो भने इम्युन सिष्टम अर्थात प्रतिरोधी क्षमता दह्रो हुन्छ ।

तर यसरी इन्फेक्सन नै नभई कोही हुर्किएमा उसमा त्यो क्षमता हुदैन र रोगी हुने सम्भावना बढी रहन्छ । नेचर रिव्युज क्यान्सर नामको जर्नलमा छापिएको अध्ययनको लेखमा अक्युट लिम्फोब्लाष्टिक ल्युकेमिया जुन बच्चामा हुने क्यान्सर रोगकोलागि दुई पक्ष जिम्मेबार रहेका छन् ।

जसमा जन्मजात नै जेनेटिकको कारण र पछि भने बच्चालाई इन्फेक्सन नहुदाँ (धेरै सुरक्षित र धेरै सफाइको कारण) इम्युनिटी विकास नहुदाँ यो रोग लाग्न सक्छ ।

सजिलो गरि अध्ययनको निष्कर्ष भनेको यदी जेनेटिक कारणले यो रोग सरेको हैन् भने बाल अबस्थामा धेरै सरसफाइमा ध्यान दिने र किटाणुबाट बचाउने गर्दा उनिहरुमा लिम्फोब्लाष्टिक ल्युकेमिया हुने सम्भावना बढी हुन्छ ।

यो यस्तो क्यान्सर हो जुन जन्मअबस्थादेखि ४ वर्षसम्मका बच्चाहरुलाई लाग्ने गर्छ । यो रोग अहिले विकसित मुलुकहरुमा धेरै मात्रा देखिन थालेको छ । र यसको मुख्य जिम्मेबार भने सरसफाइ नै रहेको अध्ययनको निष्कर्ष छ ।

क्यान्सर कसलाई, किन, कसरी र कुनबेला लाग्न सक्छ ?

के हो क्यान्सर ?

‘क्यान्सर’ भयावह रोग, जसको उपचार महंगो मात्र नभई कतिपय अवस्थामा असंभव हुने गर्छ । जब शरीरमा खराब कोशिकाहरुको बढोत्तरी हुन्छ, त्यसले क्यान्सर पैदा गर्छ ।
हाम्रो शरीरमा दिनहुँ कैयौं कोशिका जन्मने र मर्ने क्रम चलिरहेको हुन्छ । जब प्रदूषण, खराब खानपान, जीवनशैलीका कारण उक्त कोशिका पैदा गर्ने डिएनएमा असर पुग्छ, कोशिका जन्मने र मर्ने स्वभाविक प्रक्रियामा बाधा पुग्छ । त्यसले शरीरमा खराब कोशिकाको बृद्धि गर्छ । यहि नै क्यान्सरको कारण बन्छ ।

कसरी थाहा पाउने क्यान्सर भएको ?

क्यान्सर रोगका लक्षण विभिन्न प्रकारका हुन्छन् । शरीरको कुनै अंगमा फोका वा गाँठो देखा पर्नु, अचानक शरीरको कुनै भागबाट रगत बग्नु, छालामा असामान्य बद्लाव आउनु, भोक कम लाग्नु, बढी खोकी लग्नु, खोकीमा रगत देखा पर्नु यसका सामान्य लक्षण हुन् ।

यदी शरीरको कुनै पनि अंगमा कुनै पनि रोगको लक्षण देखापरेको एक महिनासम्ममा उपचार गर्दागर्दै पनि निको भएन भने एकपटक चिकित्सकका गएर क्यान्सर रोगको अनिवार्य परिक्षण गराउन आवश्यक छ ।

चाहे त्यो गोलीगाँठोकै समस्या होस् वा शरीरको कालो दाग नै किन नहोस् ? निरन्तर खोकी होस् वा दिनदिनै टाउको दुख्ने समस्या होस् वा छालामा देखापरेको घाउ वा दिशा तथा पिसाबमा देखिएको रगत नै किन नहोस् ?

उदाहरणको लागि, यदी तपाईलाई ग्यास्ट्राइटिस छ र पेट पोलिरहन्छ भने औषधी खाएमा त्यो समस्या निको हुन्छ, तर क्यान्सरमा औषधीले पनि त्यसलाई निको पार्न सक्दैन ।

मुखमा घाउ सबैलाई आउँछ, तर त्यो एक-दुई हप्तामा निको पनि हुन्छ । तर, यदि त्यो घाउ क्यान्सर हो भने उपचार गरेको २/३ महिनामा पनि निको हुँदैन । खोकी पनि त्यस्तै हो ।

कसरी फैलन्छ क्यान्सर ?

एउटा अंगमा देखा परेको क्यान्सर अन्य कुनै पनि अंगमा जान सक्छ । र, त्यो जुन-जुन अंगमा गयो, त्यसैमा असर देखाउँछ । उदाहरणको लागि पत्थरीको क्यान्सर । त्यो पेटमा हुने भए पनि त्यसले दिमागमा असर पार्न सक्छ । जसले गर्दा बेहोस हुने, प्यारालाइसिस हुने, अंग नचल्ने समस्या उत्पन्न हुनसक्छ । त्यस्तै, फोक्सोमा गएमा खोकी लाग्ने, फोक्सोमा पानी जम्ने, स्वाँ स्वाँ आउने हुन्छ । जुन क्यान्सरको चौथो चरण हो ।

कसरी जोगिने ?

क्यान्सर रोगबाट बच्ने थुप्रै उपाय छन् । ती यसप्रकार छन्

१. धुम्रपान तथा सुर्तिजन्य वस्तु सेवन नगर्ने ।

२. खानपानमा ध्यान पुर्‍याउने । जसमा सन्तुलित आहार, शाकाहारी भोजन लगायत पर्दछन् ।

३. रातो मासुको कम उपभोग गर्ने ।

४. बोसोयुक्त मासु नखाने

५. तारेको, पोलेको खाना नखाने

६. नुन तथा पुराना अचार कम खाने

७ केमिकल्सयुक्त खानाको कम उपभोग गर्ने । प्लाष्टिक बोटलमा राखिएको खानेकुरा नखाने ।

८. पर्याप्त व्यायाम गर्ने । घाममा धेरै नबस्ने ।

९. क्यान्सर रोगको रोकथाम गर्न विभिन्न खोपहरुको प्रयोग गर्न सकिन्छ । जस्तै हेपाटाइटीस बी खोपले कलेजोको क्यान्सर हुन दिदैन । पाठेघरको मुखको क्यान्सर विरुद्धको खोपले क्यान्सर रोग लाग्न दिदैन ।

१०. नियमित स्वास्थ्यपरिक्षण गराउने ।

कुन अवस्थामा अस्पताल जाने ?

धेरैजसो क्यान्सरहरुमा तेश्रो वा चौथो चरणमा मात्र रोगको लक्षण देखा पर्ने गर्छ । बाँकी अन्यमा रोगको लक्षण देखापर्दासम्म निकै ढिलो भैसकेको हुन्छ ।

हुन त क्यान्सर कुनै पनि उमेरमा लाग्न सक्छ । तर ३० वर्ष नाघिसकेपछि हाम्रो समाजमा क्यान्सर हुन सक्ने खतरा बढेर जान्छ । त्यसैले, यो उमेर पार गरिसकेका मानिसलाई वर्षमा एकपटक भएपनि अनिवार्य स्वास्थ्य जाँच गराउन सुझाव दिन्छौ । अन्यथा हामीकहाँ लक्षण देखा परेपछि मात्र चिकित्सककहाँ जाने चलन छ, त्यो पनि डराई-डराई ।

जब हामी गाडी किन्छौ, ६-६ महिनामा सर्भिसिङ गराउछौ, मोटरसाइकल किन्छौ, ३-३ महिनामा सर्भिसिङ गराउँछौ । तर जबसम्म स्वास्थ्यमा समस्या आउँदैन, हामी चिकित्सकका जादैनौ । जुन गलत छ ।

म सरकारसित पनि यो अनुरोध गर्न चाहन्छु कि जागिर दिँदा होस वा जागिरको दौरान, वर्षमा कम्तिमा एकपटक सरकारले आˆनो कर्मचारीको स्वास्थ्यबारे रिपोर्ट बनाउने बानीको विकास गर्नु जरुरी हुन्छ । त्यसको लागि विमा गरिदिन सकिन्छ ।

कसरी हुन्छ क्यान्सरको उपचार

क्यान्सरको उपचार गर्ने चिकित्सकलाई अन्कोलोजिस्ट भनिन्छ । अन्कोलोजिस्टलाई तीन श्रेणीमा विभाजित गरिन्छ, जसमा सर्जिकल अन्कोलोेजिस्ट, मेडिकल अन्कोलोजिस्ट तथा रेडियो अन्कोलोजिस्ट पर्छन् ।

क्यान्सरको उपचारमा उनीहरुको आ-आफ्नै भुमिका हुन्छ । उनीहरु विशेषगरी क्यान्सर रोगको पहिचान गर्न, कुन चरणको क्यान्सर हो र त्यसको अवस्था के छ भन्ने बताउन निपुर्ण हुन्छन् ।

१. सर्जिकल अन्कोलोेजी – शल्यक्रियाद्वारा क्यान्सरको उपचार गर्ने विधिलाई सर्जिकल अन्कोलोजी भनिन्छ ।

शल्यचिकित्सक पनि दुई प्रकारका हुन्छन् । जनरल र विशेषज्ञ (क्यान्सर) शल्यचिकित्सक । उनीहरुको पनि विभिन्न श्रेणी हुन्छ । उनीहरुले क्यान्सरको प्रकृति र अंगको आधारमा शल्यक्रिया गर्दछन् ।

२. मेडिकल अन्कोलोजी औषधीको प्रयोगद्वारा क्यान्सर रोगको उपचार गर्ने विधिलाई मेडिकल अन्कोलोजी भनिन्छ । यसमा केमोथेरापी पनि पर्दछ ।

मेडिकल अन्कालोजिस्ट फिजिसियन (इन्टरनल मेडिसिन) पृष्ठभुमिबाट आएका हुन्छन् । उनीहरुले क्यान्सर रोगको लागि भनेर विशेष तालिम लिएका हुन्छन् । र, अलग्गै अध्ययन गरेका हुन्छन् । जसलाई ‘पोष्ट डक्ट्रेट’ भनिन्छ ।

मेडिकल अन्कोलाजिस्टहरु फिजिसियन पृष्ठभुमिबाट आएको हुनाले उनीहरुलाई विभिन्न औषधी तथा क्यान्सर रोगसित सम्बन्धित सबै कुराको जानकारी हुन्छ । उनीहरुलाई एउटा सामान्य मानिसलाई लाग्न सक्ने सबै रोगबारे जानकारी हुन आवश्यक छ ।

त्यस्तै, रोगको उपचार तथा त्यसले निम्त्याउने साइड इफेक्ट तथा चिकित्सकीय क्षेत्रमा भित्रिएका नयाँ प्रविधि तथा विकासबारे पूर्ण ज्ञान आवश्यक छ ।

यस अर्थमा मेडिकल अन्कोलोजिस्टलाई ‘क्याप्टेन अफ द सिप’ पनि भन्ने गरिन्छ । किनकी कुनै पनि क्यान्सरका विरामीको उपचारका लागि उसले प्रमुख समन्वयकारी भुमिका खेल्ने गर्दछ ।

कुनै पनि विरामीले क्यान्सरका लक्षण लिएर आएमा उक्त लक्षण क्यान्सरजन्य हो कि हैन भनेर पत्ता लगाउनु एउटा मेडिकल अन्कोलोजिस्टको दायित्वभित्र पर्दछ । यस मानेमा, मेडिकल अन्कोलोजिस्टले जाँच गर्दा के फाइदा हुन्छ भने उनीहरुमा शरीरमा लाग्न सक्ने कुनै पनि रोगका बारेमा पूर्णरुपमा जानकारी रहेको हुन्छ । उनीहरुले उक्त रोग टिभी, क्यान्सर वा अरु केही हो भनेर विभिन्न कोणबाट परीक्षण गर्न सक्छन् ।

हुन त, क्यान्सर रोगका अन्य विशेषज्ञहरु पनि हुन्छन् । त्यसमा, रेडियोथेरापिस्ट पनि पर्दछन् । तर उनीहरुको तालिममा ‘इन्टरनल मेडिसिन’ पर्दैन । त्यसैले, क्यान्सर हो कि होइन पत्ता लगाउनु छ भने सबैभन्दा राम्रो उपाय भनेकै मेडिकल अन्कोलोजिस्टसितको जाँच हो । जब मेडिकल अन्कोलोजिस्टले के भएको हो भन्ने पत्ता लगाउँछन्, त्यसपछि मात्र उपचार अगाडि बढ्छ । उपचारलाई कसरी अगाडी लैजाने भन्ने कुरामा मेडिकल अन्कोलोजिस्टले समन्वयकारी भुमिका खेल्छ । त्यसमा, सर्जिकल अन्कोलोजिस्ट, रेडियो अन्कोलोजिस्ट लगायतका सबै टिमको सहकार्य रहेेको हुन्छ ।

३. रेडियो अन्कोलोजी रेडियसन (रेडियो विकिरण) को माध्यमद्वारा क्यान्सर रोगको उपचार गरिने विधिलाई रेडियो अन्कोलोजी भनिन्छ । रेडियो अन्जोकोली अन्तर्गत विरामीको उपचार गर्ने चिकित्सकलाई रेडियो अन्कोलोजिस्ट भनिन्छ ।
त्यही टिम मिलेर क्यान्सर रोगको उपचारका लागि योजना तयार पार्दछन् । त्यसमा अन्य सहयोगी टिमले पनि साथ दिने गर्छ । जसमा डाइटिसियन, फिजियोथेरापिस्ट, फिजिसियन, नर्स, प्यारामेडिक्स लगायत पर्दछन् ।

त्यसमध्ये, रेडियो अन्कोलोजिस्टले विरामीलाई रेडियोथेरापी दिने कि नदिने, कुन अवस्थामा थेरापी दिने, कति डोज दिने भनेर हेर्ने गर्दछन् ।

त्यसबाहेक, उपचारको दौरान विरामीमा धेरै साइड इफेक्ट हुन सक्छ । किनभने एउटा विरामीलाई क्यान्सर रोगमात्र हैन, उसलाई मधुमेध, उच्च रक्तचाप, मुटुको रोग लगायतको पनि रोग रहेको हुन्छ । र एउटा मेडिकल अन्कोलोजिस्टले यी सबै कुरालाई ध्यानमा राखेर उपचार गर्नु पर्ने हुन्छ । औषधीको मात्रा तय गर्दासमेत यी सबै कुरालाई मनन गर्नु पर्ने हुन्छ ।

यो जानकारी किन आवश्यक छ ?

पहिले सबै प्रकारका रोगको उपचार एउटै चिकित्सकद्वारा हुने गथ्र्यो । अहिले क्यान्सरको पनि उपविशेषताहरु आइसकेको अवस्थामा कुन चिकित्सकको के भुमिका हुन्छ भनेर छुट्याउनु जरुरी छ । नेपालको परिप्रेक्षमा पहिले यो कुरा छुट्टएिको थिएन । अहिले जनशक्तिको विकास भएसँगै काठमाडौंमा छुट्टनिे क्रम बढ्दो छ । तर मोफसलका मानिसलाई क्यान्सर रोग तथा त्यसका विशेषज्ञ चिकित्सकबारे जानकारी छैन ।

म एक मेडिकल अन्कोलोजिस्ट भएको नाताले पनि यसबारे बताउन जरुरी सम्झिन्छु ।

मेडिकल अन्कोलोजिस्टको विशेषता

एउटा मेडिकल अन्कोलोजिस्टले क्यान्सरलाई रोगको रुपमा मात्र हेर्दैन । उसले सम्पूर्ण शारीरिक अवस्थासित जोडेर हेर्छ । तालिमका क्रममा पनि हामीलाई त्यही सिकाइएको हुन्छ । हामीले अध्ययनकै क्रममा माथिदेखि तलसम्मका रोगको बारेमा तथा तीनको औाषधीकाबारे अध्ययन गर्नुपर्ने हुन्छ । उदाहरणका लागि स्तन क्यान्सरलाई शरीरको एउटा अंगमा हुने समस्याको रुपमा त हेरिन्छ, साथै उसका शरीरमा अन्य कुनै रोग लागेको छ कि छैन भनेर पनि हेर्नुपर्छ ।

जब एउटा विरामीको सम्पूर्ण परीक्षण गरिन्छ, त्यसपछि मात्र अन्कोलोजिस्टले स्तनको शल्यक्रिया गर्नुपरेमा शल्यचिकित्सककहाँ पठाउने गर्दछन् । शल्यक्रिया गरिसकेपश्चात उक्त विरामीलाई पुनः मेडिकल अन्कोलोजिस्टकहाँ नै पठाइन्छ । जहाँ उनीहरुको क्रमिक ‘फलोअप’ हुने गर्छ ।

बीचमा यदी विरामीलाई रेडिएसनको आवश्यकता परेमा मेडिकल अन्कोलोजिस्टले उक्त विरामीलाई रेडियो अन्कोलोजिस्टकहाँ रिफर गर्ने गर्छन् । त्यस दौरान मेडिकल अन्कोलोजिस्टले विरामीलाई गहन निगरानीमा राख्ने गर्दछन् ।

‘क्याप्टेन अफ सिप’

यसरी, मेडिकल अन्कोलोजिस्टले क्यान्सर रोगको उपचारका लागि समन्वयकारी भुमिका निर्वाह गरी ‘क्याप्टेन अफ सिप’ को काम गर्दछन् ।

सो क्रममा औषधी दिने तथा किमोथेरापीको काम मेडिकल अन्कोलोजिस्टको भागमा पर्दछ । त्यो उनीहरुको विशेषतामा पर्दछ । त्यसको अलावा विरामीलाई अन्य कुनै उपचार चाहिएमा भने उनीहरुले समन्वयकारीको भुमिका खेल्छन् ।

त्यसैले, यदी कुनै विरामीमा क्यान्सरको लक्षण देखापरेमा उसले सुरुदेखि अन्त्यसम्म मेडिकल अन्कोलोजिस्टको सुझावअनुसार उपचार गर्नु नै सबैभन्दा उत्तम हुन्छ ।

नोट: माथि उल्लेखित स्वास्थ्य सम्बन्धी जानकारीहरु विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो । मानिसको शारिरिक अवस्था र समय अनुसार पनि माथि उल्लेखित कुराहरुको उपलब्धी फरक पर्छ । सम्पुर्णरुपमा यहि कुरामा मात्रै भर नपर्नुहोला । माथि उल्लेखित कुराहरु प्रयोग गर्दा तपाईको स्वास्थ्यमा थप खराबी देखिए, कृपया तुरुन्त रोकेर स्वास्थ्यकर्मीहरुसँग सल्लाह लिनुहोस् ।

साथै तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला । तपाइको एक सेयरले थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग मिल्नेछ ।