निन्द्रा हाम्रो शरीरमा फूर्ति र ताजापन ल्याउनका लागि निकै महत्वपूर्ण हुन्छ । दिनभरि काम गरेर थाकेर आएपछि जो कोहिलाई पनि मीठो निद्रा चाहिन्छ । हाम्रो ब्यस्त जीवनमा हामीले कम्तिमा पनि दिनमा ७ देखि ८ घण्टा सुत्नु अति आवश्यक हुन्छ । समयमा सुतेर उठ्दा दिनभरि शरीर स्वास्थ्य रहन्छ र मस्तिष्कले पनि सही तरिकाले काम गर्ने गर्छ ।

तर, दैनिक सात देखि आठ घन्टा सुतेर निन्द्रा पुगेको महसुश भएपनि कहिले कहिँ हाम्रो शरीर थाकेको जस्तो हुन्छ भने यसका विभिन्न कारण हुन सक्छन् । शरीरमा दीर्घकालीन रोग, हाम्रो खराब अस्वस्थ्य भोजन, अनियमित दिनचर्या, थाइरोइड, तनाव आदि हाम्रो थकानका मुख्य कारण हुन् । हामीले हाम्रो खानपानमा र दैनिक कार्यमा अलिक ध्यान दिएमा हामीले हाम्रो थकान हटाउन सक्छौं ।

हाम्रो शरीरमा पानीको मात्रामा कमी हुँदा पनि हामीलाई दिनभरि थकाइ लागेको अनुभव हुनुका साथै दिनभरी हाई आउने हुन्छ । त्यसैले हामीले दिनमा अत्यधिक पानी पिउने गर्नुपर्छ । हामीले हाम्रो दैनिक खानेकुरामा हरियो सागपात र विभिन्न तरकारीहरु समावेश गर्नुपर्छ । स्वास प्रस्वासमा समस्या तथा शरीरमा रगतको कमी र हेमोग्लोबिनको स्तर घट्दा पनि हामीलाई दिनभरि थाकेको जस्तो महसुस हुन्छ ।

बिहान छिट्टो उठेर ३० मिनेट जति व्यायाम गर्दा वा डुल्दा हाम्रो स्वास्थ्यलाई निकै फाइदा पुग्ने गर्छ । शारीरिक ब्यायामले हाम्रो शरीरलाई दिनभरि ऊर्जाशील बनाउछ । ब्यायाम गरिसकेपछि बिहान बिहान चिसो पानीले नुहाउने गर्नुपर्छ । यसले हाम्रो रक्त सञ्चारलाई सक्रिय पारेर हाम्रो शरीरलाई पूरा दिन ताजा राख्न मद्दत गर्छ । शरीरको थकाइ हटाउनका लागि तात्तातो चिया वा ताजा फलको जुस पिउनु राम्रो उपाय हो ।

बिहान कागती पानी पिउने गर्दा थकान कम लाग्छ र शरीरमा तुरुन्तै ऊर्जा आउछ । साथै शरीरमा थकाइ अनुभव भएजस्तो लाग्दा हात र गोडामा मालिश गर्नुपर्छ । यसले रक्तसंचारमा मद्दत गर्नुका साथै मांसपेशीलाई आराम गराएर शरीरलाई फुर्तिलो बनाउछ । शरीरमा तातो पानीले सेक्दा पनि आराम महसुस हुन्छ ।

किन लाग्छ दिउसो निन्द्रा ?

रातमा मात्र होइन दिउसो पनि आराम गर्नु र एक झप्को निदाउनु स्वास्थ्यका लागि राम्रै मानिन्छ । तर कोहीकोही मानिस यस्ता पनि हुन्छन् जसलाई दिउसो धेरै निन्द्रा लाग्ने गर्छ । हामी सबैले महसुस गरेकै कुरा हो हामी चाहे जस्तो सुकै महत्वपूर्ण काममा संलग्न भएको किन नहोस् दिउसो एक पटक निन्द्रा लागेर आउंछ।

वैज्ञानिकहरुका अनुसार दिउसो मध्यान्हमा मानिसको सरीरमा उर्जाको मात्रा कम हुने गर्छ । उर्जाको मात्रा कम हुनुले नै मानिसलाई दिउसोमा अल्छी लाग्छ र सुत्न मन लाग्छ । दिउसो केहीबेर सुत्नु नराम्रो होइन । तर यदि दिउसो निकै धेरै निन्द्रा लाग्यो भने त्यो स्वास्थ्य समस्याको एउटा कारण हो । त्यसैले दिउसो धेरै निन्द्रा लाग्ने समस्यालाई गम्भीरता पूर्वक लिनुपर्ने विज्ञहरु बताउँछन् ।

यदि तपाइँलाई दिनभर थकान महसुस हुन्छ, आलस्य आउँछ र सुत्न मन लाग्छ भने त्यसको एउटा कारण तपाइँलाई अघिल्लो रात राम्ररी निन्द्रा नपरेकोले हुनसक्छ वा निन्द्रा बिथोलिएकाले पनि हुनसक्छ । अनियमित जिवनशैलीका कारण रातमा पर्याप्त र मीठो निन्द्रा नपर्दा दिउसो निन्द्रा आउने तथा आलस्य जाग्ने हुन्छ ।

दिउसो बढि निन्द्रा लाग्नुको अर्को कारण तपाइँले कुनै रोगको उपचारमा खाइरहेको औषधि पनि हुनसक्छ । केही स्वास्थ्य समस्याको उपचारमा प्रयोग गरिने औषधि पनि दिनको निन्द्राका लागि जिम्मेवार हुन्छन् । खासगरी डिप्रेसनको उपचारमा सेवन गरिने, चिसोको उपचारमा तथा एलर्जीको उपचारमा खाइने औषधिले पनि निकै निद्रा जगाउँछन् ।

दिउसो पर्याप्त घाम नताप्नु वा गुम्सिएर बस्ने गर्दा पनि निन्द्रा आउन सक्छ । यसले जोर्नी दुख्ने लगायतका समस्या पनि थपिदिन सक्छ ।
तपाइँलाई दिउसो निकै निन्द्रा आउँछ र माथि उल्लेखित कारणहरु मध्ये कुनै कारण तपाइँको सन्दर्भमा मेल खान्छ भने तपाइँले धेरै ठूलो चिन्ता लिनु परेन ।

सामान्य जिवनशैली तथा आनिवानीमा सुधार गर्ने, पर्याप्त व्यायाम गर्ने, तथा सन्तुलित भोजन गर्ने गरियो भने दिउसोमा बढि निन्द्रा लाग्ने समस्या हट्छ । तर दिउसोमा निकै धेरै अल्छी लाग्छ र माथि उल्लेखित कारणहरु मेल खाँदैनन् भने गम्भीर हुनुहोस् । यसको अर्थ तपाइँको मानसिक वा शारीरिक स्वास्थ्यमा केही खराबी छ भन्ने हो । त्यसैले चिकित्सकको परामर्श लिनु उपयुक्त हुन्छ ।

 

अन्य जानकारी :

किन निन्द्रा लाग्दैन ?

अनिन्द्राले रोग निम्त्याउँछ । जब राम्ररी निन्द्र पर्दैन, हाम्रो शरीर भद्दा हुन्छ । काम गर्न जाँगर चल्दैन । मस्त सुत्न नसक्नु वा गहिरो निन्द्रा लिन नसक्नु आफैमा शारीरिक तथा मानसिक जटिलता हो । यसले थप रोग निम्त्याउने खतरा पनि रहन्छ ।

कति निदाउने ?

एक रातमा कति समय निदाउने ? यसको जबाफ उमेर अनुसार केहि फरक हुन्छ । खासगरी बच्चाले अधिक समय सुत्नुपर्ने हुन्छ, तुलनात्मक रुपमा बयस्कले कम । अक्सर किशोर-किशोरी, युवा, बयस्क, बृद्धबृद्धाले औसत सातदेखि आठ घण्टा सुत्नुपर्ने बताइन्छ । यद्यपी सुत्ने अवधीले मात्र हुँदैन, त्यो कति गहिरो र मस्त थियो भन्ने कुरा मूख्य हो ।

अनिन्द्रा के हो ?

जब हामी मस्त निदाउन सक्दैनौं, जब हाम्रो निन्द्रा बिथोलिन्छ त्यही नै अनिन्द्रा हो । निन्द्रा पुरा नहुँदा शरीरलाई आरम मिल्नदैन । यसको नकारात्मक असर हाम्रो स्वास्थ्य र मस्तिष्कमा पर्छ । पर्याप्त निन्द्रा लिन नपाएमा हामीभित्र मानसिक तथा शारीरिक बिकारले डेरा जमाउँछ ।

किन लाग्दैन निन्द्र ?

– धेरैजसो मानसिक कारणले निन्द्रा विथोलिन्छ । मनमा कुरा खेलाउने बानीले निन्द्र पर्दैन ।

– धेरै सोच्ने, मनमै तर्क वितर्क गर्ने, कुण्ठा, गुनासा, आवेग जस्ता मानसिक विकारले निन्द्रा बिथोलिन्छ ।

– शारीरिक समस्याले पनि निन्द्रा लाग्दैन । कमजोरी वा कुनै पीडाको कारण मस्त सुत्न सकिदैन ।

– धेरै उत्साहित हुँदा, धेरै थाकेको बेला पनि निन्द्रा लाग्दैन, यद्यपी यी क्षणिक समस्या हुन् ।

कसरी लिने गहिरो निन्द्रा ?

निदाउनका लागि औषधी सेवन गर्नु राम्रो विकल्प होइन । त्यसले नकारात्मक असर गर्छ । कतिले निदाउने बाहानामा मदिरा सेवन गर्छ, जो एकदमै नराम्रो अभ्यास हो । मस्त मातेपछि बेहोसीमा सुत्ने बानीले स्वास्थ्यमा थप ठूलो हानी गर्छ ।

आफुलाई के कारणले निन्द्र लागेको छैन भन्ने कुराको पहिल्याउनुपर्छ । कसैलाई चिन्ताले हुनसक्छ, कसैलाई शारीरिक कारणले । कसैलाई बाह्य वातावरणले पनि निन्द्र नलागेको हुनसक्छ । निन्द्रा नलाग्नुको कारण फेला परेपछि सोहि अनुसार निदानको उपाय खोज्न सकिन्छ । त्यसबाहेक अन्य केहि विधी छन्, जसले निदाउन सहयोग गर्छ ।

१. राती सुत्ने समयलाई नियमित गरौं । संभव भएसम्म ८ देखि १० बजेसम्म ओछ्यानमा पुग्नुपर्छ । नियमित सुत्ने अभ्यासले ठीक समयमा निन्द्रा लाग्छ ।

२. ओछ्यानमा पुगेपछि छटपटी हुन्छ, मनमा कुरा खेलाउँछ भने मनपर्दो रेडियो कार्यक्रम सुन्न सकिन्छ । मोवाइलमा कुनै अडियो उपन्यास सुन्न सकिन्छ । यसले ध्यान एकाग्र हुन्छ र निन्द्रा लाग्छ । यद्यपी भिडियो हेर्ने, चर्को ध्वनी सुन्ने, फेसबुक चलाउने नगरौं, जसले एकाग्रता भंग गर्छ ।

३. कथा, उपन्यास पढ्ने अभ्यास छ भने मनपर्ने पुस्तक पढ्न सकिन्छ । त्यसबाहेक जीवनोपयोगी एवं धर्मको, दर्शनको पुस्तकहरु पढ्न सकिन्छ । यसले पनि मनलाई शान्त तुल्याउँछ र निन्द्रा लाग्छ ।

४. सुत्ने समयमा हरहिसाब गर्ने, योजना बनाउने, वितेका कुरा सम्झने, अपमानति भएको कुरा सम्झने जस्ता कुराले मन अधैर्य र अशान्त हुन्छ । त्यसैले सुत्ने बेला यस्ता कुराबाट ध्यान हटाउनुहोस् ।

५. शारीरिक रुपमा निस्क्रिय हुँदा पनि निन्द्रा लाग्दैन । त्यसैले आफ्नो दैनिकीलाई सक्रिय बनाउनुहोस् । दिनमा त्यस्तो कुनैपनि गल्ती नगर्नुहोस्, जसले तपाईलाई ग्लानी, हिनताबोध हुन्छ । यस्ता कुराले राती सुत्न सकिदैन ।

६. सुत्नुअघि हल्का व्यायाम गर्नुहोस् । १५ मिनेटजति ध्यान गर्नुहोस् । यसले मनलाई शान्त तुल्याउँछ र निन्द्रा लाग्छ ।

नोट: माथि उल्लेखित स्वास्थ्य सम्बन्धी जानकारीहरु विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो । मानिसको शारिरिक अवस्था र समय अनुसार पनि माथि उल्लेखित कुराहरुको उपलब्धी फरक पर्छ । सम्पुर्णरुपमा यहि कुरामा मात्रै भर नपर्नुहोला । माथि उल्लेखित कुराहरु प्रयोग गर्दा तपाईको स्वास्थ्यमा थप खराबी देखिए, कृपया तुरुन्त रोकेर स्वास्थ्यकर्मीहरुसँग सल्लाह लिनुहोस् ।

साथै तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला । तपाइको एक सेयरले थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग मिल्नेछ ।