केही सङ्क्रमित रोग पशुबाट मानिसमा सर्ने गर्छन् । तिनलाई पशुजन्य रोग भनिन्छ । मुख्यतः सङ्क्रमित रोग ग्रसित पशुसँग सीधा सम्पर्क, प्रदूषित मासु खानाले, मलमूत्रको सम्पर्कमा आउनाले तथा सङ्क्रमित पशुको दुग्धजन्य उत्पादनहरु मानिसले उपभोग गर्दा लाग्न सक्छ । पशुहरुबाट मानिसमा आउने प्रमुख रोग निम्न छन् ।

विषाणुजनित रोगहरुमा : जापानिज इन्सेफालाइटिस, बर्डफ्लु, रेबिज एवं एकथाइमा आदि ।

जापानिज इन्सेफलाइटिस :

यस रोगका विषाणु सुँगुर, बङ्गुर प्रजातिको रगतमा पाइन्छ । लामखुट्टेद्वारा यस रोगबाट ग्रसित सुँगुर, बङ्गुरको रगत चुसेपछि जब मानिसलाई टोक्न पुग्छ अनि यस रोगका विषाणु मानिसको शरीरमा प्रवेश गर्छ । मानिसमा जोर्नी दुख्ने, कडा ज्वरो, टाउको दुख्ने, रगतमा प्लेटलेट्सको कमी हुनु यस रोगका लक्षण हुन् । समयमा उपचार नपाएमा यो रोग प्राणघातक हुनेछ ।

बर्डफ्लु :

बर्डफ्लु रोगका बिषाणु मुख्यत कुखुरा प्रजातिमा पाइन्छ । ग्रसित कुखुराहरुको चुच्चोबाट पानी बग्छ र सास लिन गाह्रो हुन्छ । यस रोगका बिषाणु हावाको माध्यमबाट कुखुरा फार्ममा काम गर्ने व्यक्तिको नाकबाट प्रवेश गरेर फोक्सोमा सङ्क्रमण गराउँछ । यसले गर्दा बिरामीमा जोर्नी दुख्ने, ज्वारो आउने, टाउको दुख्ने जस्ता लक्षण देखिन्छ ।

रेबिज :

बहुला कुकुरले टोक्दा र्यालबाट यस रोगका बिषाणु मानिसको शरीरमा प्रवेश गर्छ । यो एउटा प्राणघातक रोग मानिन्छ । ग्रसित मानिसको घाँटीको मांसपेसीमा पक्षघात हुन्छ एवं पानी पिउँदा घाँटीमा कडा दुखाइ हुन्छ र मानिसको मृत्यु हुन्छ ।

एक थाइमा :

यो रोग प्रायः भेडा, बाख«ा पाल्नेहरुलाई सङ्क्रमित पशुको मुख तथा छाला छुनाले हुने गर्छ । यस रोगका बिषाणुले भेडा, बाख«ालाई सङ्क्रमण गराउँछ जसले गर्दा छाला चिलाउने घाउ, खटिरा आउने गर्छ ।

जीवाणुजनित रोगहरु

टीबी क्षयरोग :

यो रोग भयानक सङ्क्रामक मानिन्छ । यस रोगबाट ग्रसित पशुले दाना चारो खान कम गर्छ र विस्तारै दुब्लाउँदै जान्छ । पशुलाई हल्का ज्वरो कहिले काँही आउँछ । टीबीबाट ग्रसित पशुको काँचो दूध या कम उमालेको दूध वा मासु प्रयोग गर्नाले मानिसमा यो रोग हुन सक्छ । यस रोगबाट ग्रसित मानिसमा अलि अलि ज्वरो आउँछ । कमजोरी र आलस्य बढेर जान्छ ।

प्लेग :

यो पनि एक प्रकारको प्राणघातक रोग हो । यो रोग ग्रसित मुसालाई उपियाँले रगत चुस्नाले अन्य स्वस्थ्य मुसामा फैलिन्छ । जब सङ्क्रमित मुना मर्न थाल्दछ अनि सङ्क्रमित उपियाँले मानिसको रगत चुस्दा मनिसमा रोग फैलिन्छ । यस रोगबाट ग्रसित मानिसमा कडा ज्वारो आउने जोर्नी दुख्ने जस्ता लक्षण देखिन्छ । बेलैमा उपचार नपाएमा बिरामीको मृत्यु हुन्छ ।

बु्रसलोसिस :

यो एउटा सङ्क्रामक सम्पर्कित रोग मानिन्छ । जुन बु्रसेला नामक जीवाणुले गर्दा लाग्छ । यो रोग प्रायः गाई, भैँसी, भेडा, बाख्रा, सुँगुर, बङ्गुर, कुखुरामा हुन्छ । ग्रसित पशुबाट मानिसमा यो रोगको सङ्क्रमण पशुको गर्भाशयको सङ्क्रमित श्राव, गर्भपातका कारण या सङ्क्रमित सालनालाई हातले छुँदा छालाका माध्यमबाट मानिसमा सर्छ ।

पटक पटक गर्भाधान गर्दा पनि गर्भ नरहनु, गर्भ रहेमा पनि ६, ७ महिनाको अन्तरालमा गर्भपतन हुनु तथा बाँझोपन पशुमा यसका मुख्य लक्षण हुनाले मानिसमा यस रोगको सङ्क्रमण हुँदा मांसपेशी तथा जोर्नी दुख्ने, जोर्नी सुन्नीने, राति अत्यधिक पसिना आउने कम या ज्यादा बिहान बेलुका आउने गर्छ ।

पशुजनित रोगबाट जनस्वास्थ्य सुरक्षित गर्ने मुख्य उपाय बर्डफ्लु सङ्क्रमित कुखुरा डढाएर खाल्टोमा पुर्ने, पशुको गोठ राम्रोसित सरसफाइ गर्ने, गाई, भैँसीको दूध राम्रोसँग उमालेर पिउने जुन व्यक्तिले कुकुर पालेका छन्, कुकुरलाई एन्टी रेविजको खोप नियमित दिने ।

पशुलाई फोहोर पानी दिनु हुन्न । पशु बिरामी परे बेलैमा उपचार गर्ने । पशुहरुलाई बेलाबेलामा बाह्य परजीवी जस्तै लामखुट्टे, किर्ना, उपियाँबाट बचाउन औषधि गर्ने, जुन पशुलाई कडा ज्वरो आएर मरेको र त्यसको मुख, मलद्वार तथा योनीबाट रगत बगेको छ भने सम्भव भएसम्म मरेको पशुलाई जलाएर गहिरो खाल्डो खनी पुर्ने । मृत पशुको छेउछाउको घाँस, पराल, सोतर डडाउनुपर्छ ।

मरेको पशु ओसारपसार गर्ने बाहनलाई निसङ्क्रमित गर्ने । पोथी पशुमा गर्भपतन भएमा तिनको यस्ता पशुहरुको छेउछाउको वातावरण निसङ्क्रमित गर्ने । पशुहरु तथा पशुजन्य उत्पादनहरुसँग काम गर्दा व्यक्तिगत सरसफाई व्यक्तिगत सुरक्ष उपकरणको प्रयोग अनिवार्य गर्नु नै बुद्धिमानी हुन्छ ।

के हाे छारे राेग ? कसरी बच्न सकिन्छ यसबाट ?

मस्तिष्कमा देखा पर्ने रोग हो, छारे रोग । यो रोग नसा सम्बन्धी समस्या हो ।

यसले मस्तिष्कमा विद्युत तंरग पैदा गर्छ जसकारण विभिन्न लक्षण देखा पर्छन् । यस्ता रोग लागेका मानिसलाई हाम्रो समाजमा जुत्ता सुँघाउने तथा धामीझाँक्री लगाएर उपचार गर्ने चलन छ ।

छारे रोग लागेका मानिसमा सुरुमा निम्न किसिमका लक्षणहरू देखा पर्दछन्:

–बिरामी मुर्छा पर्ने

–हातखुट्टा र शरीरक अनियन्त्रित रुपले काप्ने

–आखाँ पल्टाउने

– बेहोस हुने

– मुखबाट फिँज निकाल्ने

– जिब्रो टोक्ने

यस्ता लक्षण देखा परेमा तुरुन्त स्वास्थ्य चौकी गएर चिकित्सकसँग सल्लाह गरी उपचारका आवश्यक उपायहरू अपनाउनु पर्दछ ।

कम्तिमा २ बर्षसम्म नियमित औषधी सेवन गर्दा यो रोग निको हुन्छ । छारेरोग लागेका मानिसलाई मानसिक तथा शारीरिक रुपमा असर पारिरहेको हुन्छ । यसबाटबाट बच्न समय समयमा चिकित्सकसँग वा मनोवैज्ञानिकसँग परामर्श लिइराख्नुपर्ने हुनसक्छ ।

छारे रोगको उपचार कसरी गर्ने ?

–नियमित रुपमा चिकित्सकसँग सल्लाह गरेर औषधी सेवन गर्ने ।

– तनाव र चिन्ताबाट टाढा रहने ।

– माछा मासु फलफूल तथा सागसब्जी पर्याप्त मात्रामा खाने ।

– मध्यपान, धुम्रपान र लागूपदार्थ जस्ता स्वास्थ्यलाई हानी गर्ने चीजको सेवन नगर्ने ।

– बिहान बेलुका व्यायाम गर्ने ।

जण्डिस राेग हो भन्ने भ्रममा नपरौँः

जण्डिसमा उसिनेको खानेकुरा, गाँजर, मुला, काँक्रो, उखुको रस, ग्लुकोज, मेवा खानु पर्दैन, मासु खाए पनि हुन्छ
डा‍. सुधांशु केसी

अचेल प्रत्येकजस्तो दैनिक पत्रिकामा दिनहुँ विराटनगर र जण्डिसबारे केही न केही छापिएकै हुन्छ। जण्डिस रोगले यति जना पीडित भए, यति जनाको मृत्यु भयो भन्ने खबर दैनिक पढ्न पाइन्छ। तर समाचार लेख्ने, सम्पादन गर्ने र छाप्नेले जण्डिस भन्ने रोग हुँदैन, यो त रोगको लक्षण मात्र हो भन्ने नबुझेर यसलाई भयंकर रोगको रुपमा चित्रण गरेको पाइन्छ। जनमानसमा जण्डिस भन्ने बित्तिकै डर र त्रास छाउने गर्छ।

हुन त कोही न कोही बेला हाम्रो घरपरिवार अथवा छिमेकीमा कसै न कसैलाई जण्डिस भइरहेको हुन्छ। यो स्वभाविक हो, किनभने अनेक रोगमा जण्डिस हुने गर्छ। तर हाम्रो समाजमा जण्डिस भन्ने बित्तिकै यो एउटा छुट्टै रोग र यसको उपचार एलोप्याथिक पद्धतिमा नभई आयुर्वेदमा मात्र छ भन्ने मान्यता रहेको पाइन्छ।

कसैलाई जण्डिस भएको थाहा पाउने बित्तिकै घर वरिपरि कम्तीमा पनि ५० जना डाक्टर देखिन्छन्। उपचार गर्ने तरिका, उपचार गर्ने ठाउँ, गर्न हुने र नहुने कुरा, खान हुने र नहुने कुरा आदिको लामो लिस्ट बन्ने गर्दछ। उसिनेको खानेकुरा, गाँजर, मुला, काँक्रो, उखुको रस, ग्लुकोज, मेवालाई जण्डिसको राष्ट्रिय खानेकुराको रुपमा चित्रण गरिन्छ।

चिल्लो, पिरो, अमिलो छुनै हुँदैन र मासु खायो भने त ठहरै मरिन्छ भन्ने मानसिकता अधिकांश नेपालीमा रहेको पाइन्छ। मैले बिरामीलाई मासु खानुपर्छ भन्दा कोही फिस्स हास्छन, कोही अचम्म मानेर आँखा ठूलोठूलो पार्छन, कोही कोही त नजिस्किनुस् न डाक्टर साब् पनि भन्छन्। कसैले त यत्रो टाढाबाट बिरामी देखाउन आयो, यस्तो कुरा सुन्नलाई हो त पनि भन्छन्। यस्तो चर्चाको विषय, यस्तो गलत अवधारणा भएको जण्डिसबारे केही जानकारी दिन जरुरी सम्झिएर यो लेख लेख्ने जमर्को गरेको छु।

जण्डिस भनेको के हो?

रगतमा विलिरुविनको मात्रा बढी भएर आँखा, छाला र मुखभित्र पहेँलो हुनुलाई जण्डिस भनिन्छ। यो कुनै रोग नभएर विभिन्न रोगमा देखिने लक्षणमात्र हो। साधारण अवस्थामा रगतमा बिलिरुबिनको मात्रा १ मिलिग्रामभन्दा कम हुन्छ। बिलिरुबिनको मात्रा ३ मिलिग्रामभन्दा बढी भएमामात्र आँखा पहेँलो देखिन्छ। रगतमा विलिरुविनको मात्रा अत्याधिक भएमा यो पहेँलोबाट हरियोमिश्रित पहेँलो हुन्छ।

जण्डिस किन हुन्छ?

जण्डिसको कारक तत्व विलिरुविन रगतको रातो कणबाट आउँछ। रातो कणको १२० दिनको उमेर पुगेपछि यो फियोमा गएर नष्ट हुन्छ। विभिन्न प्रकृया पूरा भएपछि यसबाट विलिरुविन निस्कन्छ र रगतमा जान्छ। रगतमा भएको विलिरुविनलाई कलेजोको कोषहरुले लिएर पित्तमा फ्यालिदिन्छ। पित्तको थैलीबाट निक्लेको पित्तमा मिश्रित विलिरुविन पित्तको नली हुँदै सानो आन्द्रामा जान्छ।

सो आन्द्राबाट फेरि सोसिएर ८० प्रतिशत जति पुनः रगतमा जान्छ। यसरी रगतमा विलिरुविन सधैँ रहिरहन्छ। कलेजोमा जानुअघिको विलिरुविन कन्जुगेटेड विलिरुविन भनिन्छ। सामान्य अवस्थामा यी दुवै विलिरुविन मिलाएर १ मिलिग्राम रगतमा भन्दा कम हुन्छ। कुनै कारणले यो मात्रा बढी भएमा यस अवस्थालाई जण्डिस भनिन्छ। आँखामा देखिनलाई यो मात्रा ३ पुग्नुपर्दछ।

विलिरुविन विभिन्न अवस्थामा बढ्न सक्छ र जण्डिस देखा पर्ने तीन विशेष अवस्थाहरु छन्।

१) रगतको रातो कण अध्याधिक नष्ट भएर अध्यायिक विलिरुविन निस्केर कलेजोले त्यसलाई लिन नसक्नु।

२) कलेजोको रोग लागेर रगतबाट विलिरुविन लिएर पित्तमा फ्याक्ननसक्नु।

३) पित्तको नली कुनै कारणले अवरुद्ध भएर पित्त आन्द्रामा जान नसक्नु।

जण्डिसले के असर गर्दछ?

साधारण जण्डिस आफैँले नवजात शिशुबाहेक अरुलाई असर गर्दैन। नवजात शिशुमा १० भन्दा बढी विलिरुविन वढेमा यसले मगजमा पसेर विभिन्न नशासम्बन्धी समस्या गर्न सक्दछ। वयस्कमा १ हुनु र १० हुनुमा कुनै फरक पर्दैन। २५ भन्दा माथि पुगेमा, मृगौलाको समस्या भएमा व्यक्तिहरुमा मृगौला खराब हुन सक्दछ।

नत्र विलिरुविनले आँखा र छाला पहेँलो हुने, पिसाब गाढा हुने, दिशाको रङ हलुका पहेँलो। कहिलेकाहिँ माटोजस्तो हुने गर्दछ। यसबाहेक विलिरुविनको कारणले सारा शरीर चिलाउन सक्दछ। तसर्थ जण्डिस आफैँले कुनै खास समस्या गर्दैन भने बुझ्न जरुरी छ। कुन कारणले जण्डिस भएको हो, उक्त कारणले गर्दा हुने लक्षणहरु भने छुट्टाछुट्टै हुन्छ। त्यसैले कोही मानिसको मृत्यु जण्डिसले भयो भन्दा गलत हुन जान्छ।

जण्डिसका कारणहरु

जण्डिसका कारणहरुलाई ३ भागमा विभाजन गर्न सकिन्छ।

१) अध्याधिक विलिरुविन उत्पादन हुनु

शरिरमा अध्याधिक मात्रामा विलिरुविन उत्पादन भएर त्यसलाई कलेजोले पित्तमा फ्याँल्न नसक्दा जण्डिस हुन सक्छ। यस किसिमको जण्डिसमा विलिरुविन ५ मिग्राभन्दा बढी हुँदैन र यसको मात्रा बढ्नेघटने भइरहन्छ। निम्नलिखित अवस्थामा यस किसिमको जण्डिस हुनसक्दछ।

(क) रगतको रातो कण अध्याधिक मात्रामा नष्ट हुनु (हेमोलाइटिक जण्डिस)। यस अवस्थामा रातो कणको बनावटमा फरक पर्नाले फियोमा अध्याधिक मात्रामा नष्ट हुन जान्छ र विलिरुविनको मात्र बढ्न जान्छ।

(ख) असामान्य अवस्थाको रातो कण बन्नु (इनइफेक्टिभ इरिथ्रोपोइसिस) । विभिन्न कारणले गर्दा रातो कणभन्दा असामान्य अवस्थाको रातो कण बन्दछ जसको आयु सामान्य रक्तकणको १२० दिनभन्दा कम हुन जान्छ। फियोमा नष्ट हुने क्रम बढ्छ र विलिरुविनको मात्रा बढ्न जान्छ।

(ग) शरीरको कुनै ठाउँमा अत्याधिक रक्तश्राव पछि जमेको रगत विस्तारै सोसिँदै जान्छ। यदि त्यसको मात्रा बढी छ र सोसिने क्रम चाँडै हुन जान्छ भने त्यस अवस्थामा पनि जण्डिस हुन सक्दछ।

२) कलेजोको रोगहरु

कुनै पनि कलोजोको रोगमा जण्डिस हुन सक्दछ। कलेजेको कारणले हुने जण्डिसलाई ३ भागमा विभक्त गर्न सकिन्छ।

(क) जन्मजात रोग

रगतमा भएको विलिरुविनलाई कलेजोमा लिएर पित्तमा फ्याक्नलाई चाहिने इन्जाइमको कमीले गर्दा विलिरुविनको मात्रा बढेर जण्डिस हुन सक्दछ। गिलवर्ट सिण्ड्रोम, क्रिगलर नाजार सिण्ड्रोम, रोटोर सिण्ड्रोम र डुविन जोनशन सिण्ड्रोममा जण्डिस देखा पर्दछ। साधारणतया विलिरुविन ५ मिग्रा र विशेष अवस्थामा १० मिग्रा पुग्न सक्दछ।

(ख) एक्युट हेपाटाइटिस

कलेजोको अल्पकालीन रोगलाई एक्युट हिपाटाइटिस भनिन्छ। यसमा कलेजो सुन्निने र कलेजोले काम गर्न नसक्ने हुनाले जण्डिस देखा पर्दछ। पानीबाट सर्ने हिपाटाइटिस इ र ए यसका प्रमुख कारणहरु हुन्। यसबाहेक कम मात्रामा भए पनि रगत र अन्य शारिरीक रसबाट सर्नै हिपाटाइटिस बी र सीबाट पनि हुन सक्दछ।

विभिन्न औषधीहरु सेवन गर्नेमा पनि यो देखिन सक्छ। जस्तै टिवी रोगका केही औषधीहरु, साइड इफेक्ट्स नहुने भनिएका केही आयुर्वेदिक औषधीले पनि जण्डिस गर्न सक्दछ। अत्याधिक मात्रामा रक्सी र रक्सिजन्यपदार्थ सेवन गर्नाले पनि जण्डिस हुन सक्दछ।

अहिले विराटनगरमा महामारीको रुपमा देखिएको जण्डिस हेपाटाइटिस ईको कारणले गर्दा लागेको एक्युट हेपाटाइटिस ईले गर्दा हो। साधारण अवस्थामा यसले रोगीलाई मार्दैन तर केही प्रतिशतमा एक्युट लिभर फेल्युर भएर त्यसको कारणले गर्दा मृत्यु हुन सक्दछ।

विराटनगरमा भएको मृत्युाको अर्को कारण एक्युट भाइरल हेपाटाइटिस सँगै रगतमा ब्याक्टेरियाद्वारा संक्रमण देखिन्छ। ढलमिस्रित पानी पिउनाले त्यसमा हेपाटाइटिस ईसँगै कोलिफर्म ब्याक्टेरियाको संक्रमण भएर लिभर फेल्युरको अवस्थाले ज्यान लिएको हुन सक्दछ।

(ग) क्रोनिक हेपाटाइटिस

कलेजोको दीर्घकालिन रोगलाई क्रोनिक हेपाटाइटिस भनिन्छ। हेपाटाइटिस वि र सीले गरेको एक्युट हेपाटाइटिस ६ महिनाभित्र आफै ठीक नभएमा क्रोनिक हेपाटाइटिस गर्न सक्दछ र कालान्तरमा जण्डिस हुन्छ।

यसबाहेक अन्य रोगहरु जस्तै अटोइम्युन हेपाटाइटिस, प्राइमरी विलियरी सिरोसिस, विलसन डिजिज, बड चियारी सिण्ड्रोम आदिहरुमा जण्डिस देखा पर्न सक्दछ। तर हाम्रो देशमा रक्सी र रक्सीजन्य पदार्थ अध्याधिक र लामो समयसम्म प्रयोग गर्नाले कुनै समयमा जण्डिस देखा पर्दछ। रक्सी धेरै खाने मान्छेमा जण्डिस देखा परेमा अवस्था निकै गम्भीर भएको बुझ्नु पर्दछ।

(घ) कलेजोको क्यान्सर

कलेजोमा हुने क्यान्सर (कलेजोको क्यान्सर अथवा अंगअंगबाट आएको क्यान्सर) ले गर्दा पनि जण्डिस हुन सक्दछ। यस अवस्थामा हुने जण्डिस कलेजोले काम गर्न नसकेर भन्दा पनि कलेजो पित्तनली बन्द भएर हुने गर्दछ।

३) पित्तको नली बन्द हुनु

कुनै कारणले पित्तको नली बन्द भएमा पित्त आन्द्रामा जान नसकेर रगतमा विलिरुविन बढ्न सक्छ। यस किसिमको जण्डिसलाई सर्जिकल जण्डिस अब्सट्रक्टिभ जण्डिस भनिन्छ। यस किसिमबाट हुने जण्डिसमा विलिरुविनको मात्रा बढ्ने, घट्ने हुने, पेटको दुखाइ हुने र धेरै जसोमा ज्वरो आउने हुन्छ।

सारा शरीर चिलाउने, सेतो, गन्हाउने दिशा हुन सक्दछ। यस किसिमको जण्डिसको कारणहरुमा पित्तको नलीमा ढुङ्गा हुनु, पित्तको नलीको क्यान्सर, पित्तको नली खोलिने ठाउ र प्यान्क्रियाजको क्यान्सरमा यस किसिमको जण्डिस हुन्छ। कहिलेकाहिँ जुका पित्तको नलीमा गएर बसिदिनाले पनि जण्डिस देखा पर्दछ।

जण्डिसको उपचार

जण्डिस कुनै रोग नभएर रोगको लक्षण मात्र भएकाले यसको कुनै उपचार गर्नु पर्दैन। विलिरुविनको मात्रा १ मिग्रा.हुनु र ५ मिग्रा हुनुमा शरीरमा कुनै फरक पर्दैन। बढ्दै गएमा रोग बढ्दै गइइरहेको हुन सक्दछ। त्यसैले एकचोटी जण्डिस भएपछि त्यो कुन कारणले भएको हो थाहा पाउन जरुरी हुन्छ र त्यसको उपचार गर्नुपर्ने हुन सक्दछ।

कतिपय रोगहरुले जण्डिस गरे पनि त्यस रोगको अथवा रोगको कारणको कुनै उपचार गर्नु पर्दैन। जस्तै हानिरहित जन्मजात रोग गिलवर्ट सिण्ड्रोम आदिको उपचार नगर्दा विरामीको आयु घट्दैन। हेपाटाइटिस इ, ए र हेपाटाइटिस बीले गर्ने एक्युट हेपाटाइटिसमा भइसकेको कुनै उपचार गर्न पर्दैन। जण्डिसको कारण अनुसार त्यसको उपचार गर्ने तरिकाहरु पनि फरक हुने गर्दछ।

अन्त्यमा

हामी नेपाली बिलिरुबिन र जण्डिसबाट धेरै नै डराउने गर्दछौँ। यसको नाजायज फाइदा धेरै जनाले उठाइरहेका छन्। जण्डिस भन्ने बित्तिकै डाक्टरभन्दा बढी घर वरिपरिका छरछिमेकीको कुरा सुन्ने गर्दछौँ। डाक्टरले जण्डिस बुझ्दैन भन्ने मान्यता धेरैको छ।

जण्डिसलाई रोग भनेर भ्रमको खेती गरेर जनताहरुलाई उल्लु बनाउनेहरुको प्रतिकार गर्नु जरुरी छ। रगतमा बिलिरुबिन बढी देखिएमा वा जन्डिस देखिएमा तुरुन्तै यसको कारण पत्ता लगाउनु जरुरी हुन्छ। अनि मात्र त्यसको उपचार गर्नतिर लाग्नु पर्दछ।

नोट: माथि उल्लेखित स्वास्थ्य सम्बन्धी जानकारीहरु विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो । मानिसको शारिरिक अवस्था र समय अनुसार पनि माथि उल्लेखित कुराहरुको उपलब्धी फरक पर्छ । सम्पुर्णरुपमा यहि कुरामा मात्रै भर नपर्नुहोला । माथि उल्लेखित कुराहरु प्रयोग गर्दा तपाईको स्वास्थ्यमा थप खराबी देखिए, कृपया तुरुन्त रोकेर स्वास्थ्यकर्मीहरुसँग सल्लाह लिनुहोस् ।

साथै तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला । तपाइको एक सेयरले थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग मिल्नेछ ।