बैदेशिक रोजगारीको लागि खाडी जाने अधिकांश युवाहरु दिनप्रतिदिन रोगी बन्दै गएका छन् । नेपालबाट स्वास्थ परीक्षण पास भएर गएका २१ देखि ३५ बर्ष उमेरका युवाहरु खाडी गएको केही दिनदेखि नै बिरामी पर्न थाल्छन् ।

सर्लाहीका ३४ बर्षीय रामवीर यादब (नाम परिवर्तन) नेपालबाट कतार आएको केही दिन मै ब्लड प्रेसर हाइ भयो र बिरामी पर्न थाले तर अस्पताल गएनन् । निर्माण कम्पनीमा कडा परिश्रम गरिरहे ।

१५ दिनपछि अवस्था गम्भीर भयो नेपाली डाक्टरको क्लिनिकमा पुगे चिकित्सकले उनलाई औषधि लेखिदिए केही दिन औषधि खाएर छाडे । फेरि केही दिनमा बिरामी परेर उनी अस्पताल आएको अवस्थामा भेटिए ।

उनको रक्तचाप बढेर १२४ पुगेको छ र उनी बिरामी छन् । निर्माण कम्पनीमा काम गर्ने उनी १० घण्टाको कार्य अवधिमा आधा समय उच्च तापक्रम र आधा समय चिसो एसीमा काम गर्ने बताउछन् पटक–पटक बिरामी भए पनि उनले आफ्नो परिवार र कम्पनीलाई जानकारी गराएका छैनन् ।

कतारको दोहामा न्युज २४ कर्मी रिया भण्डारी

औषधि किन्ने फुर्सद नपाउदा औषधि सेवन नगरेको उनले बताए । उनी त एक प्रतिनिधि पात्र मात्रै हुन्, खाडीमा पुगेका अधिकांश कामदार बिरामी भए पनि औषधि सेवन गर्दैनन् ।

औषधि सेवन गरे र बिरामी भएको थाहा पाए कम्पनीले निकाली दिन्छ कि भन्ने डर उनीहरुमा छ । कडा परीश्रमले ल्याउने स्वास्थ्य जोखिम त छदैछ कामदारमा स्वास्थ्य चेतना पनि न्यून भएको खाडी मै कार्यरत चिकित्सकहरु बताउछन् औषधि नखाने सिकिस्त नहुँदासम्म अस्पताल नआउने समस्याले पनि कामदारहरुलाई मृत्युको मुखमा पु¥याउने जोखिम रहेको कतारमै कार्यरत चिकित्सक डा. नितेश अर्याल बताउँछन् ।

२१ बर्षदेखि ३५ बर्ष उमेर समूहका युवाहरु खाडी मुलुक जान्छन् । यो उमेर समूहमा दीर्घ रोग र हृदयघाट भएर मर्ने उमेर होइन तर पनि खाडीको वातावरण र जीवनशैली कडा परीश्रमको यी रोगहरु छिटो देखिने चिकित्सक बताउछन् । कामदारहरु गम्भीर बिरामी नभएसम्म बिरामी भएको बताउदैन् र अस्पताल पनि जाँदैनन् ।

नेपाल र कतारको हावापानीमा ठूलो अन्तर छ यसले पनि उनीहरुको शरीर त्यहाँको वातावरणमा मिल्न कठिन पर्ने ११ बर्ष देखि कतारको अलखोरको एक अस्पतालमा कार्यरत डा. नरेन्द्र शाक्य बताउृँछन् ।

तिर्खा लाग्दा अधिकाशले कोक र पेय पदार्थ पिउने गर्छन् यसले झन् डिहाइड्रेसन (जलबियोजन)हुन्छ मृगौला सम्बन्धी रोग निम्त्याउछ । बाहिर कडा तापक्रममा काम गर्ने र बेलुका आएर १७ डिग्रीसम्मको चिसो एसीमा सुत्ने गर्छन् । यसले पनि उनीहरुको शारीरले तापक्रम व्यस्थापन गर्न सकिरहेको हुदैन र बिरामी पर्छन् ।

खाडीमा हुने अधिकाश मृत्युको घटना भने सडेन कार्डिक डेथ भएको डा. शाक्य बताउँछन् । सुतेको सुत्यै मृत्यु हुने भनेकै सडेन कार्डिक डेथ हो यो हुनुको कारण नेपालबाट दीर्घ रोगको परीक्षण नगरी आउने, मुटु सम्बन्धी परीक्षण नगरी स्वास्थ भएको सर्टिफिकेट बनाएर खाडी जाने करण मुटुको भल्भमा समस्या भएको र खाडीको जीवनशैलीले मुटु सम्बन्धि समस्या बढ्ने गर्छ ।

यसले गर्दा सडेन डेथ हुने घटना हुने डा. नितेश अर्याल बताउँछन् । नेपालबाट बैदेशिक रोजगारमा जाँदा मुटु सम्बन्धि जांच अनिवार्य गर्न डा नरेन्द्र शाक्यको सुझाब छ ।

स्वास्थ्य परीक्षण गर्दा सम्पूर्ण परीक्षण गरेर आफू स्वास्थ्य छु भन्ने एकिन भएपछि मात्रै खाडीमा काम गर्न जान डा. अर्यालको सुझाब छ । हाल बैदेशिक रोजगारमा जानेहरुको स्वास्थ्य जांचमा सम्पूर्ण जांच नहुने चिकित्सक बताउछन् ।

खाडीका मुलुकहरु समुद्री सतहबाट नजिक छ र होचो ठाउमा पर्छ यसले नेपालबाट पुग्नेहरुलाई रक्तचाप उच्च हुने समस्या छ, शरीरमा रक्तचाप होचो ठाउँमा उच्च र अग्लो ठाउमा न्यून हुने डा शाक्य बताउँछन् ।

त्यसै कारण नेपालमा रक्तचाप न्यून भएको कतिपयलाई खाडीमा उच्च हुने गर्छ । त्यस्तै नेपालबाट खाडी पुगेका अधिकांश कामदारमा मृगौला सम्बन्धी रोग, मुटु रोग उच्च रक्तचाप, क्षयरोग बढी देखिएको हमाड अस्पतालमा कार्यरत एक मात्र नेपाली चिकित्सक डा सुशिल निरौला बताउँछन् ।

केही समय अगाडि डा.निरौलाको टिमले गरेको अनुसन्धानमा नेपालबाट जाने कामदारलाई अरु देशको तुलनामा क्षयरोग बढी देखिएको थियो । कतारमा २० जना भन्दा बढी
नेपाली चिकित्सक छन् र एउटा नेपाली अस्पताल कान्तिपुर अस्पताल नै छ ।

नेपाली चिकित्सकको अस्पताल र क्लिनिकमा नेपाली बिरामीको भीड लाग्ने गर्छ । कतारमा नेपाली चिकित्सक नहुँदा अंग्रेजी र अरेबिक भाषा बोल्न नसक्ने कामदारहरु बिरामी हुँदा पनि अस्पताल जान्दैनन् थे तर अहिले नेपाली चिकित्सक नै पाएपछि अस्पताल आउने पहिलेको तुलनामा बढेका छन् ।

आर्थिक वर्ष २०७४/०७५ को चैत मसान्तसम्म वैदेशिक रोजगारीमा गएका ६ सय ८ जनाको मृत्यु भएको छ । यो तथ्यांकलाई केलाउने हो भने हृदयाघातका कारण ९४, मुटुसम्बन्धी अन्य समस्याका कारण ५३, आत्महत्याबाट ९९ र अन्य रोगका कारण ४७ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य सम्बन्धी चेतना न्यून हुनु, बिरामी हुँदा पनि काम गर्न बाध्य हुन्, औषधि सेवन नगर्नु, ओभर टाइम कडा परिश्रम गर्नु, पानी कम पिउनु, धेरै चिसोमा एसी लगाएर सुत्नु र उच्च तापक्रममा काम गर्नु पानी भन्दा अन्य पेय पदार्थ बढी पिउनु जस्ता कारण खाडी गएका कामदारको स्वास्थ्य जोखिममा छ ।

याे पनि जान्नुहाेस

बैदेशिक रोजगारीको कहाली लाग्दो अवस्था

बैदेशिक रोजगारका जानकारले कामका लागि खाडी मुलुकमा जाने नेपालीको अवस्था कहाली लाग्दो भएको बताएका छन्। बैदेशिक रोजगारीको वर्तमान अवस्था, समस्या र समाधानका उपायका बारेमा संसदको अन्तराष्ट्रिय सम्बन्ध तथा श्रम समितिले गरेको छलफलमा विज्ञहरुले नेपाली कामदारको कहाली लाग्दो अवस्था रहेको बताएका हुन्।

बैदेशिक रोजगारीका जानकार डा. गणेश गुरुङले हरेक दिन औसतमा १५ सय व्यक्ति जो ग्रामीण भेगका र एस एल सी पनि पास हुन नसकेकोहरु खाडी मुलुक जाने गरेको बताए। उनका अनुसार त्यसबाट दैनिक एक अर्व ४८ करोड रेमिट्यान्स नेपाल भित्रन्छ, जो नेपाली अर्थतन्त्रको रक्तसञ्चार हो।

गुरुङका अनुसार दैनिक ४ जना सम्मको शव नेपाल फर्कन्छ। जो मर्ने उमेरका व्यक्ति होइनन। शव ल्याउन सरकारले सहयोग गर्न पनि नसकेको गुरुङको भनाई छ। उनले कागज पत्र नभएकाले उतै जन्मिएका बच्चा ल्याउन, शव ल्यउन र जेलमा रहेका कामदारलाई फिर्ता ल्याउन निक्कै ठूलो समस्या भएको बताए।

२३ करोड अर्थात समग्र जनसंख्याको तीन प्रतिशत मान्छे अन्य मुलुकमा गएर बसेका छन्। भारत बाहेक राहादानी लिएर आधिकारिक रुपमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या ३० लाख रहेको सरकारको अनुमान छ भने झण्डै २० लाख नेपाली गैर कानूनी रुपमा विदेशिएका छन्। एम दिनमा झण्डै २० वटा जहाज खाडी मुलुकका लागि उड्ने गरेका छन्। गुरुङले विदेश पठाउनका लागि दलालहरु अहिले गाउँ गाउँमा पुगेको बताए। उनले भने‘ अहिले बोराका बोरा राहादानी लिएर ठगहरु गाउँ गाउँमा पुगेका छन्’

वैदेशिक रोजगार विभागका पूर्व महानिर्देशक तथा स्थानीय विकास मन्त्रालयका सहसचिव पूर्णचन्द्र भट्टराईका अनुसार ७४ प्रतिशत अदक्ष र आधा प्रतिशत मात्र उच्च दक्ष कामदार वैदेशिक रोजगमारीमा गएका छन्। भारी मूल्य, उच्च कमिसन तथा दोहोरो कमिसन हुनु, मागको सन्तुलन नहुनु, अधिकांश माग नक्कली हुनु, अधिकांस करार नक्कली हुनु, जीवनका लागि नै महत्वपूर्ण हुने ओरिन्टेसन पनि नक्कली, स्वास्थ्य परिक्षणको प्रमाणपत्र पनि नक्कली भएकाले समस्या झन बढिरहेको भट्टराईको भनाई छ ।

स्वास्थ्य परिक्षणका लागि ३ हजार रुपैयाँ लाग्न भएपनि दलालहरुले मिलेमतोमा खाने भएकाले सक्कली प्रमाणपत्र पाउन नसकेको भट्टराइले दावी गरे। दलालले विदेश पठाउन भारतको बाटो अपनाउने गरेकाले मानव वेचविखनको समस्या पनि उच्च हुँदै गएको उनले बताए। ‘मानव वेचविखन सबैभन्दा ठूलो समस्या छ, ‘भारतबाट दलालले बसका बस मान्छे पठाउने गरेका छन्। त्यसका लागि दलालले गाउँ गाउँमा मान्छे खटाएका छन्, भट्टराईले भने, यहाँ ल्याएर कोठामा थुनेर राख्छन् । पैसा लिएर सबै भन्नलाई घोकाएका हुन्छन्। नाता सम्बन्धका आधारमा राम्रो आम्दानीको लोभ देखाउँछन्।’

‘झाम्टे मुन्द्रे र गुण्डाले धम्क्याउँछन्। पासपोर्ट हातमा पुगे मरिगए फिर्ता गर्दैन ।’ उनले भने ‘वर्षैसम्म लुकाएर राख्छन्। लामो समय पैसा होल्ड गर्छ। आधा दलालका कार्यालय झोलामा हुन्छ। कारवाही गर्दा भाग्नका कार्यालय भएकाहरुले अर्कै व्यक्तिको नाममा दर्ता गरेका हुन्छन्। कारोवार बैंकिङ प्रणालीबाट हुन्न।’ सरकार र कामदारको बीचमा भेट विमान्स्थलको श्रम डेस्कमा मात्र हुने गरेको उनको भनाई छ।

सुधारका योजना

विज्ञहरुले कुनै एउटा क्याप्सुलले मात्र समयाको समाधान हुन नसक्ने बताएका छन् । उनीहरुले विदेशमा हुने ठगीको मुख्य जिम्मेवार नेपाली नै भएको बताए। भट्टराईले भने, ‘वैदेशिक रोजगार सुधार आयोग बनाउनु पर्छ। सबैले सकारात्मक सहयोग गर्नुपर्छ। सरकार र रोजगारीमा जाने कामदारको भेट हुुनु पर्छ। प्याकेजमा सुधारको योजना बनाउनु पर्छ।

वैदेशिक रोजगार विभागका पूर्व महानिर्देशक एवं यातायात व्यवस्था विभागका महानिर्देशक काँशीराज दाहालले मुलुकभर रहेका ५ हजार दलाल घर जग्गाको व्यापार खस्किए पछि ठगिका लािग यो व्यवशायमा लागेको बताए। उनले वैदेशिक कार्यालयका लागि शाखा कार्यालय विस्तार गर्नु पर्नेमा जोड दिए।

नोट: माथि उल्लेखित स्वास्थ्य सम्बन्धी जानकारीहरु विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो ।

साथै तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला । तपाइको एक सेयरले थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग मिल्नेछ ।

भिडियाे