यदि तपाईले खाली समयमा कानमा हेडफोन लगाएर घण्टौंसम्म गीतहरु सुन्नुहुन्छ भने सतर्क रहनुहोस् । घण्टौंसम्म कानमा हेडफोन लगाएर गीत सुन्दा विभिन्न प्रकारको रोगहरु लाग्ने खतरा हुन्छ । तपाई÷हाम्रो साथीको रुपमा प्रयोग गरिने हेडफोन दुश्मन जस्तै हो । हेडफोनको प्रयोग गर्दा कानमा मात्रै समस्या उत्पन्न हुँदैन, अन्य विभिन्न रोग लाग्ने खतरा समेत हुन्छ ।

हेडफोनको प्रयोग गर्दा निम्न रोग लाग्न सक्छः–

बहिरोपनः

एक अध्ययनका अनुसार यदि कुनै मानिस दुई घण्टासम्मको लागि ९० डेसिबल भन्दा बढी आवाजमा गीत सुन्छ भने उसलाई बहिरापनको समस्या देखापर्छ । साथै अन्य रोगहरुले च्याप्ने समेत हुन्छ । कानको सुन्ने क्षमता ९० डेसिबल हुन्छ । लगातार गीत सुन्दा जुन ४० देखि ५० डेसिबलसम्म कम हुन्छ । जसको कारण ती ब्यक्तिले टाढाको आवाज विस्तारै सुन्न छोड्दै जान्छ ।

मुटुको रोगः

ठूलो आवाजमा गीत सुन्नु कानको लागि मात्रै नभई मुटुको लागि पनि हानिकारक छ । ठूलो आवाजमा गीत सुन्दा मुटुको धड्कन पनि बढ्दै जान्छ । नर्मल स्पिड हुनुपर्नेमा मुटुको धड्कन बढ्दै जाँदा समस्या देखा पर्नसक्छ ।

टाउको दुखाईः

हेडफोनबाट निस्कने विद्युत चुम्बकीय तरंगका कारण ब्यक्तिको दिमागमा नराम्रो असर पर्छ । जसको कारण टाउको दुख्ने, निद्रा नलाग्ने लगाएतका समस्या देखा पर्छ ।

कानको संक्रमणः

यदि तपाईले खाली समयमा अफिस या घरमा एक–अर्कासँग गीत सुन्न हेडफोन सेयर गर्नुहुन्छ भने सतर्क रहनुहोस् । तपाईको यस्तो बानीले कानमा इन्फेक्शन हुने सम्भावना धेरै हुन्छ ।

कान शुन्य हुन्छः

लामो समयसम्म हेडफोनबाट गीत सुन्दा ब्यक्तिको कान शुन्य हुनसक्छ । जसको कारण मानिसको सुन्ने क्षमता कम हुँदै जान्छ । ठूलो आवाजमा गीत सुन्दा कानमा मात्रै असर गर्दैन, मानसिक रोगको समस्यासमेत बढ्छ ।

डाक्टरहरुका अनुसार लामो समयसम्म हेडफोनबाट गीत सुन्दा कानमा छन्–छन् आवाज आउनु, रिंगटा लाग्नु, टाउको वा कान दुख्नु लगाएतको समस्या देखा पर्छ ।

बच्ने उपायः

यदि यी समस्याहरुबाट तपाई पनि बच्न चाहनुहुन्छ भने आवश्यक परेको अवस्थामा मात्र हेडफोनको प्रयोग गर्नुस् । हेडफोनको प्रयोग गर्दा राम्रो क्वालिटीको मात्र प्रयोग गर्नुहोस् । सानो डेसिबलमा मात्र सुन्नुहोस् ।

हेडफोन र एयरफोन

पछिल्लो समय युवा पुस्तामा तीव्र र कडा स्वरको सम्पर्कमा रहने गर्दा उनीहरूको सुन्ने क्षमता समस्या आउने गरेको चिकित्सकहरुले बताएका छन् । युवा पुस्तामा सुन्ने क्षमता कमी आउनु भनेको हेडफोन र एयर फोनको प्रयोग पनि एक रहेको नाक कान घाँटी रोग विशेषज्ञ डा. ढुण्डिराज पौडेलले बताए ।

“हेडफोन अत्यधिक प्रयोग गर्ने दर बढेको छ । जसले गर्दा कानसम्बन्धी समस्या बढ्दै गएको देखिन्छ,” उनले भने, “हेडफोनको अत्यधिक प्रयोग, चर्को स्वरमा गीत सुन्ने आदिले गर्दा युवाको सुन्ने क्षमतामा कमी देखिएको छ ।”

यसरी लामो समयसम्म हेडफोन र एयरफोन प्रयोग गर्दा कानको नशा कमजोर हुनु, सुन्ने क्षमता प्रभावित हुनु, कान दुख्ने वा सुन्निनु, मानसिक तनावलगायतका समस्या समेत देखिने डा. पौडेलको भनाई छ । ९० डेसिबलभन्दा बढी स्वरमा गीत सुन्दा यसले कानलाई गम्भीर क्षति पुर्‍याउन सक्छ । इयर फोन वा हेडफोनमा संगीत सुन्दा करिब ६० प्रतिशत कम आवाज मै सुन्नु राम्रो मानिन्छ । हेडफोनको माध्यमले गीत सुन्दा समयसमयमा ब्रेक लिनुका साथै भोल्युमसमेत कम राख्नुपर्ने नाक कान घाँटी रोग विशेषज्ञ डा. वीरसिंह थापाले बताए ।

“पहिला-पहिला ५० वर्ष नाघेका मानिसमा कान नसुन्ने समस्या बढी देखिन्थ्यो भने आजभोलि युवामा पनि कान नसुन्ने र दुख्ने समस्या बढी देखिने गरेको छ,” उनले भने, “वायु प्रदुषणले पनि कानमा संक्रमण भई सुन्ने क्षमतामा कमी आउँछ । भने आफुखुसी कानमा औषधी हाल्ने बानीले पनि सुन्ने क्षमता ह्रास ल्याउँछ ।”

त्यसैगरी, नाक कान घाँटी रोग विशेषज्ञ डा. शंकर साहले पछिल्लो समय नाक कान घाँटीका उपचार गर्न आउने बिरामीमा सबैभन्दा बढी कान नसुन्ने, सुस्त श्रवण समस्या देखिने गरेको बताए । “कान नसुन्ने समस्या एउटा कानको संक्रमण हो, तर त्यो संक्रमणको समयमै उपचार नगर्ने गर्दा सुन्ने क्षमतामा कमी आउँछ भने अर्को हेडफोनमा उच्च डेसिबल ध्वनी तरंगमा हुने जुन निरन्तर, अत्यधिक, अवैज्ञानिक प्रयोगले सुन्ने क्षमता समेत गुम्ने हुन्छ,” उनले भने, “कान नसुन्ने एउटा भनेको धेरै मान्छेको बानी के हुन्छ भने कान चिलायो, तोरीको तेल हाली हाल्ने जसले कानमा संक्रमण भई गम्भीर समस्या आउन सक्छ ।” होहल्ला, चर्को स्वर, तीव्र आवाज भइरहेको ठाउँमा रहँदा इयर प्लग आदिको प्रयोग गर्नु पर्ने डा. शाहको भनाई छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभरीमा करिब ४६ करोड ६० लाख व्यक्तिलाई श्रवण क्षमतासम्बन्धी समस्या रहेको छ । जसमा तीन करोड ४० लाख बालबालिका रहेका छन् । १२ देखि ३५ वर्ष उमेर समूहका १ अर्ब १० करोड युवा चर्को ध्वनिको सम्पर्कका कारण कान न सुन्ने जोखिममा रहेका छन् । टाउको र कानको चोटपटकले समेत सुन्ने क्षमता प्रभावित हुने संगठनले जनाएको छ ।

त्यस्तै, एक अध्ययनका अनुसार सन् २०५० सम्ममा ९० करोडभन्दा बढी मानिको कानको सुन्ने क्षमतासम्बन्धी समस्या देखिने जनाएको छ । दक्षिण एसियामा ६५ वर्षमाथिका करिब एक तिहाइ मानिस कान सुन्ने समस्याले प्रभावित छन् । सो अध्ययनले जन्मजात कारणले समेत कान नसुन्ने समस्या देखिन जनाएको छ ।

नेपालमा कान स्वास्थ्यका बारेमा कुनै बृहत अध्धययन नभए पनि विभिन्न सर्वेक्षण अनुसार देशैभरका विभिन्न अस्पतालमा नाक कान घाटी विभाग उपचारका लागि जाने बिरामीमध्ये करिब २० प्रतिशतमा कान नसुन्ने समस्या देखिएको जनाएका छन् ।

रोकथामका उपायहरु

कहिल्यै पनि कानमा तेल नहाल्ने ।

धेरै व्यक्तिले प्रयोग गरेको हेडफोन र एयरफोनको प्रयोग नगर्ने (जसमा एक जनाको कानको संक्रमण अर्कोमा सर्ने हुदाँ विभिन्न कानको समस्या हुनसक्छ ।)

कान पाक्ने समस्या भएकाहरूले कानमा पानी पस्न नदिने ।

कानलाई सलाईको काँटीलगायतका वस्तुले कोट्याउनु हुँदैन ।

होहल्ला, तीव्र आवाज भइरहेको ठाउँमा रहँदा ‘इयर प्लग’ आदिको प्रयोग गर्ने ।

हेडफोन र एयरफोनको माध्यमले गीत सुन्दा समयसमयमा ब्रेक लिनुका साथै भोल्युम कम राख्ने ।

कानमा चिकित्सकीय सल्लाहबिना कुनै पनि औषधी नहाल्ने ।

कानमा कुनै प्रकारको संक्रमण भए डाक्टरको सल्लाह लिनुपर्छ ।

याे पनि जान्नुहाेस

मोबाइल फोनको फाइदा र दुरुपयोग

सूचना र सञ्चारको विकासले विश्व जति साँघुरिदै छ, त्यत्ति नै यसको दुरुपयोगले समाजमा आतंक र अपराधिक कृयाकलापहरु पनि तीव्ररुपले वृद्धि भईरहेको छ । सञ्चारमाध्यमको सहि उपयोगले जति राष्ट्र समाजको विकास हुन्छ, त्यसको दुरुपयोगले अति नै त्रासदीपूर्ण दूर्दशा निम्त्याउँछ । जसको क्षति बेहोर्न सञ्चारजगत नै असक्षम भएका छन् । यसको उदाहरण स-साना बालबालिकाको अपहरणदेखि लिएर न्यूयोर्कका जुम्ल्याहा टावर आक्रमणसम्मलाई लिन सकिन्छ ।

त्यहि सञ्चारमाध्यमको सहायताले अन्तरिक्षामा घुमिरहेको यानलाई जमिनबाट नै सञ्चालन र नियन्त्रण गरिँदैछ । सञ्चारमा आएको क्रान्ति कै कारण महिनौं समय लाग्ने काम पनि क्षण भरमा गर्न सकिने भएका छन् । राम्रा पक्षको मात्रै अपेक्षा गरेर स्वीकार गरिएको सञ्चार क्षेत्र यस शताब्दीमा आएर अपराधीहरुको भरपर्दो संयन्त्र पनि बन्न पुगेको छ ।

सबै कुराको राम्रो र नराम्रो पक्ष त अवश्य हुन्छ नै तर सञ्चार क्षेत्रको दुरुपयोगबाट पर्न आएको नकरात्मक परिणामले भने सामान्य किसानदेखि लिएर धनी, गरिब, विद्धान वैज्ञानिक कोही पनि बच्न सकेका छैनन् । संसारको विभिन्न सञ्चारको माध्यमहरुमध्ये हाल आएर सर्वसधारणसम्मले प्रयोग गर्न सक्ने सेलफोन अर्थात मोबाईल फोनको सदुपयोगबाट हुने फाइदा र दुरुपयोगबाट हुन आउने क्षेतिबारे सबैमा ज्ञान हुनु अति आवश्यक हुन्छ ।

एक्काइसौँ शताब्दीको पूर्वाद्धमा आएर हाम्रो जस्तो विकासोन्मुख राष्ट्र पनि समग्रमा भन्नुपर्दा सञ्चार क्रान्तिमा सफलतापूर्वक फड्को मार्न सफल भएको छ । हुन त आज पनि हामी मध्येका कैयौं नेपालीहरु एक कल फोन गर्नको लागि तीन चार दिनको बाटो हिँडनुपर्ने बाध्यता नभएको होइन तर शहरी क्षेत्रको सञ्चार विकासलाई हेर्दा त्यसलाई अपवादको रुपमा राख्दा पनि केहि आपती नपर्ला जस्तो लाग्छ । हाल आएर विभिन्न मोबाइल फोन कम्पनीहरुले सबै वर्गले उपयोग गर्नसक्ने गरि सस्तो सेवा सुविधा उपलब्ध गराएर सञ्चार सेवाबाट सबै लाभान्वित भएका छन् भने त्यसको दुरुपयोगबाट समाजले अकल्पनीय क्षति पनि त्यति नै बेहोर्नु परिरहेको छ ।

समाजमा दुश्कर्म गर्दै पेट पाल्ने दुष्ट अपराधीहरु जस्तै चोर, लुटेरा, डाँका वा बलात्कारीहरु मोवाइल फोनलाई दुरुपयोग गरेर गोप्य रुपमा संगठित हुने गर्दछन् । अपराध भइरहेको अवस्थामा अरुले देखे पनि त्यहि फोनको सहायता लिएर फरार भई पुन: संगठित भएर अर्को ठाँउमा त्यस्तै अपराधिक कृयाकलापहरुलाई निरन्तरता दिने गर्दछन् ।

केवल लाईन फोनबाट फोन गर्दा अरुले थाहा पाएर अपराधिक रहस्य खुल्न सक्ने भएकोले मोवाइल फोनलाई भरपर्दो माध्यमको रुपमा लिएको पाइन्छ । त्यसैगरी फोनबाट धम्की दिँदै रकम माग्नु, मागेको अनुसार नपाए मार्ने धम्की दिनु, व्यक्तिको अपहरण गर्नु, अपहरणपश्चात फोनमार्फत फिरौती माग्नु यी सबै मोबाइल फोनको दुरुपयोगबाट बढवा पाएको घटनाहरुमा पर्न आउँछन् ।

मोबाइल फोनको सुविधा हुनु पूर्व यस्ता घट्नाहरु हुँदैनाथे भन्न खोजेको चाँहि अवस्य होइन तर धेरै कम्ती थियो भन्ने कुरालाई कसैले नकार्न सक्दैन । सञ्चारको स्वतन्त्रतामाथि अंकुश लगाएर यसलाई नियन्त्रण गर्नुपर्छ भनि निरंकुशतालाई बढावा दिन खोजेको पनि होइन ।

 

त्यसको दुरुपयोगबाट हुन आउने अपराधिक गतिविधिहरुलाई कसरी नियन्त्रण गर्न सकिन्छ भन्ने उपाय खोज्नु आजको आवश्यकता हो । सञ्चार क्षेत्रको दुरुपयोगलाई समयमै नियन्त्रण गर्न नसकेमा हाम्रो जस्तो अपराधिक गतिविधिले जरा गाडिसकेको समाजमा सर्वसाधारणको भविष्य जोखिमपूर्ण बन्न पनि सक्छ ।

विद्यालय जाने उमेरका बालबालिकाहरुले प्लास्टिकका खेलौना जस्तै खेल्दै हिँडेका मोबाइल फोनबाट समाजमा सकरात्मक परिणाम पक्कै पनि आउँदैन । यसबाट विकृती र खर्च त अवश्य नै बढ्नेछ भने सुरक्षाको सवालमा उनीहरु कुनै पनि बेला खतरामा पर्न सक्छन् । ती खतराको जवाफदेही पनि कोही हुने छैन । यसबाट बालबालिकाको सुन्दर भविष्यतिर डोरिने बाटो पनि अन्तैतिर मोडिन पनि सक्छ ।

भोलि सत्य सावित हुनुपर्ने कलिला सपना तहसनहस हुनसक्छन् । शिक्षकले कक्षा कोठामा पढाइरहेको बेलामा विद्यार्थीको फोन घण्टी बज्नु, एकाग्र भएर ज्ञान हाँसिल गर्ने समयमा मोबाइल फोनमार्फत विसंगतीपूर्ण सूचना आउनु र विकृतीपूर्ण भाषामा वार्तालाप हुनु पनि अध्ययनरत विद्यार्थीहरुका लागि खतरायूक्त छ । जसले विद्यार्थीको महत्वपूर्ण समय अनावश्यकरुपमा नाश भइरहेको हुन्छ । साक्षात् भेटघाटमा बोल्नै नसक्ने कुराहरु पनि मोबाइल फोनमार्फत सजिलै हुन सक्छन् । त्यसबाट विकृतीपूर्ण संस्कारले कहिल्यै उखेल्न नसक्ने गरी जरा गाडिनेछ । त्यसैले मोबाइल फोन प्रयोगको सम्बन्धमा उमेरको हदबन्दी तोक्नुपर्ने अवस्था पनि आउँदैन भन्न सकिन्न ।

विशेष गरी ‘प्लस टु’ मा अध्ययनरत विद्यार्थीहरुले देखासेकीको रुपमा प्रयोग गरेका मोबाइल फोनले घरका परिवार र समाजलाई सकरात्मक परिणाम पक्कै पनि दिने छैनन् नै बरु त्यसको सट्टामा सामाजिक अपराध, वैराग्यपूर्ण विसंगती र निराशापनले साम्राज्य जमाउने छ ।

यस कुरामा कुनै पनि सम्बन्धित निकायले ध्यान दिएको देखिँदैन । यसैको कारणले समाजमा दिनमा दुईगुणा र रातमा चौगुणा अपराधिक कृयाकलापहरु भईरहेका हुन्छन् जसको जवाफदेही कोही पनि हुँदैन तर त्यसबाट उत्पन्न समस्या भने समाजका हरेक वर्गले भोग्न बाध्य छन् । यस बिषयमा समयमै सचेत हुनु जरुरी छ ताकि भोलि गएर ती विसंगती नै देशका संस्कार नबनुन् ।

नोट: माथि उल्लेखित स्वास्थ्य सम्बन्धी जानकारीहरु विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो ।

साथै तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला । तपाइको एक सेयरले थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग मिल्नेछ ।

भिडियाे हेर्नुहाेस