आउनुहोस्, एकछिन हाम्रो शरीरको मोलमोलाई गरौं । तपाईंको शरीरको मूल्य कति ? १० लाख, ५० लाख, एक करोड, पाँच करोड, अर्ब । कति ?

तपाईं रनभुल्लमा पर्नुभयो सायद । शरीरको कुनै अंग छुट्याऔं । तपाईंले आफ्नो आँखाको मूल्य कति राख्नुहुन्छ ? हातको ? खुट्टाको ?

मानौं तपाईंको कलेजो बिक्री गर्नुपर्ने भयो, फोक्सो बिक्री गर्नुपर्ने भयो, कतिमा बेच्नुहुन्छ ? यी अंगको कुरा छाडौं । के तपाईं आफ्नो हातको एउटा औंला बेच्न तयार हुनुहुन्छ ?

निश्चय पनि तपाईंको बोली बन्द हुन्छ । अर्थात नाजवाफ हुनुहुनेछ । किन ?

किनभने तपाईंले अहिलेसम्म आफ्नो शरीरको मोल कति होला भनेर सोच्नुभएन । यो कुनै बजारमा राखिने बस्तु पनि होइन, जसको निश्चित मूल्य हुन्छ । यद्यपी हामीले शरीर बेच्नु परेमा यसलाई कति मूल्य राख्न सकिएला भनेर अनुमान भने गर्न सक्छौं । जबकी अनुमान मात्र गर्दा पनि हामी शरीरको मूल्य तोक्न सक्दैनौं ।

यसको अर्थ हो, शरीर अनमोल छ ।

तपाईंले हातमा लगाएको घडीको मूल्य छ, पन्ध्र सय, पाँच हजार वा बाह्र हजार । तपाईंले चढ्ने मोटरसाइकलको निश्चित बजार मूल्य छ, डेढ लाख, दुई लाख वा चार लाख । तपाईंले आफ्नो जग्गाको मूल्य पनि तोक्नुभएकै छ, प्रति आना सात लाख, १० लाख वा १५ लाख । तपाईंको घरको बजार मूल्य पनि तय भइसकेकै छ, पचास लाख, एक करोड वा दुई करोड ।

तपाईंसँग भएका ति सबै भौतिक सम्पतिको निश्चित बजार मूल्य छ । ति सबैकुरा तपाईं किन्न र बेच्न सक्नुहुन्छ ।

तर, तपाईंको शरीर अनमोल छ । लाख, करोड, अर्ब, खर्ब जति मूल्य चुकाएपनि तपाईं आफ्नो शरीर बेच्न तयार हुनुहुन्न । किनभने शरीर नै नभएपछि तपाईंलाई जतिसुकै धनदौलत पनि आवश्यक हुँदैन । अबौर्ं रुपैयाँ होस् वा आलिसान महल, जतिसुकै घर-घडेरी होस् वा विलासी गाडी । ति सबै व्यर्थ हुनेछ, जब तपाईंको शरीर नै हुनेछैन ।

अब एकपटक सोच्नुहोस् त, अहिले तपाईंले के कुरालाई बढी महत्व दिइरहनुभएको छ ?

धनदौलत, जग्गा-जमिन, मोटर-कार, घर-घडेरीलाई । निश्चय पनि हामीलाई धन-सम्पति चाहिन्छ । हामी भव्य घरमा बस्न चाहन्छौं, विलासी गाडी चढ्न चाहन्छौं, यथेष्ठ जग्गा जमिन जोड्न चाहन्छौं । किनभने हामी दुःख, अभाव, कष्टसँग भयभित छौं । यस्तो अवस्था झेल्न नपरोस् भनेर हामी सम्पति आर्जन गर्न चाहन्छौं । ऐश-आरम एवं सुविधाको खोजीमा पनि हामी धन-दौलतको पछि लाग्छौं ।

धन सम्पति आर्जन गर्नु नराम्रो होइन । मूर्खता होइन । मूर्खता चाहि के हो भने, धन दौलतकै खातिर आफ्नो शरीर मूल्य गुमाउनु । अर्थात धन-दौलतको लागि हामी यसरी चक्कर लगाइरहेका हुन्छौं कि शरीरको कतिपनि ख्याल राखिरहेका हुँदैनौं ।

जस्तो हाम्रो दिनचर्या र सोंच-चिन्तन कस्तो छ ? हेरौं ।

हामी बिहान ६ वा ७ बजे ओछ्यान छाड्छौं । ओछ्यान छाड्नुअघि हाम्रो हातमा मोवाइल हुन्छ । मोवाइलमा हामी फेसबुक चलाइरहेका हुन्छौं वा साथीसँग कुनै कारोवारको वा नाफाघाटाको कुरा गरिरहेका हुन्छौं ।

उठेपछि हामीलाई चियको तलतल लाग्छ । चियासँगै चुरोट पनि । चिया र चुरोट पिइरहँदा पनि हामी साथीभाईसँग कुनै जग्गाको वा कुनै कामधन्दाको कुरा गरिरहेका हुन्छौं । लेनदेनको कुरा गरिरहेका हुन्छौं ।

भान्सामा भात पाकिरहेको छ । तर, घरको भात पर्खेर बस्ने फुर्सद छैन हामीलाई । हामी यति हतारोमा हुन्छौं कि, गाँस टिप्ने फुर्सद मिल्दैन । वा खाना यति हतारमा खान्छौं कि न त्यसको स्वाद थाहा पाउँछौं, न राम्ररी खान्छौं ।

अब दिनभर तपाईं केको चक्कर लगाउनुहुन्छ ? पैसाको, कमाईको ।

कहाँ जग्गा खरिद गर्ने ? कहाँबाट पैसा कमाउने ? के-कसो गरेर पैसा बचाउने ?

साँझ साथीभाईसँग मदिरासहितको जमघट पनि हुनसक्छ । यो जमघटको उदेश्य पनि कतै न कतै तपाईंको कारोबारसँग सम्बन्धित छ ।

राती घर र्फकनुहुन्छ । दिनभरको हिसाब-किताब सोच्दा-सोच्दै तपाईंको निद्रा विथोलिन्छ । कतै मिल्न लागेको काम बिगि्रएको छ, कतै नयाँ काम फेला परेको छ । कति ठाउँमा तपाईंले धोका पाउनुभएको छ । यिनै कुराहरुले तपाईंको मन विथोलिन्छ ।

हात पर्नै लागेको जग्गा फुत्किएको कुराले तपाईं वेचैन हुनुभएको छ । कतै राम्रो आयआर्जन हुने स्रोत फेला पार्नुभएको छ । यो खुसीले पनि तपाईंको मनमा उथलपुथल ल्याएको छ ।

हेर्नुहोस् त, दिनभरमा तपाईं पैसाकै चक्करमा लाग्नुभयो । जे-जति काम गर्नुभयो, जे-जति साथी भेट्नुभयो, जे-जति ठाउँमा पुग्नुभयो, ति सबैमा तपाईं पैसा वा धनसम्पतिसँग जोडिएर पुग्नुभयो ।

के यसबीचमा तपाईंले आफ्नो शरीरको ख्याल राख्नुभयो ? सही समयमा खाने र पिउने गर्नुभयो ? विश्राम गर्नुभयो ? खानेकुराको शुद्धता र पोषणमा चासो राख्नुभयो ? तनाव वा वेचैनीबाट मुक्त रहने प्रयास गर्नुभयो ? खुसी रहने अभ्यास गर्नुभयो ?

संभवत तपाईंले आफैलाई भुल्नुभयो । आफैलाई भुलेर सम्पति अनि सुखको खोजीमा दौडनुभयो । अब भन्नुहोस् त, तपाईंले आफ्नो अनमोल शरीरलाई कति बेवास्ता गरिरहनुभएको छ ?

शरीर अनमोल छ । यो अद्भुत पनि छ । यही शरीर भएर नै हाम्रो अस्तित्व छ । तर, हामी आज आफ्नो शरीरलाई बेवास्ता गर्दै धन-दौलतको पछाडि दौडिरहेका छौं । धन-दौलत अनावश्यक छ भन्ने होइन । तर, प्राथमिकता शरीरलाई दिनुपर्छ । शरीरलाई निरोगी, तन्दुरुस्त राखौं ।

हामीले केहि सम्बन्धित थप जानकारी दिइएका छाै

मान्छेले किन अरुको प्रगति, सफलताले सुखी बनाउँदैन ? किन मान्छेले अरुको नराम्रो मात्र देख्छ ?

‘अरुको आङको जुम्रा देख्ने, आफ्नो आङको भैंसी पनि नदेख्ने ?’ नेपाली समाजमा प्रचलित भनाई हो यो । ख्याल गर्नुहोस् त, जब हामी एकअर्कासँग भेट्छौ । साथीभाई बस्छौ । तब तेस्रो पक्षको बारेमा टिप्पणी गर्न थाल्छौ । ‘फलानो यस्तो, फलानो उस्तो’ भन्दै । हामी उक्त व्यक्तिको नराम्रो कुरा मात्र खेलाइरहेका हुन्छौ, खोतलीरहेका हुन्छौ । अनावश्यक र मनगढन्ते टिकाटिप्पणी गरिरहेका हुन्छौ ।

जबकी हामी यसरी जमघट भइरहँदा कहिल्यै तेस्रो व्यक्तिको गुणगान गाउँछौ ? तोस्रो सकारात्मक र राम्रा कुराहरुबारे चर्चा गर्छौ ?

यो दुर्लभ वा अपवाद हुनसक्छ । किनभने अक्सर हामी अरुको निन्दा गरेर आफु रमाइरहेका हुन्छौ । अरुको बारेमा नराम्रो कुरा गरेर, अरुको बारेमा नराम्रो चर्चा गरेर हामी आनन्द लिइरहेका हुन्छौ । हाम्रो प्रवृत्ति के हुन्छ भने, अरुको गल्ती कमजोरी सजिलै पहिल्याउने । अरुले के गल्ती गर्छ, अरुको कमजोरी के छ ? हामी फटाफट भन्न सक्छौ । खुट्याउन सक्छौ ।

आफ्नो गल्ती-कमजोरीमा किन हाम्रो मुख टालिन्छ ?

तर कसैलाई सोध्नुहोस्, ‘तिम्रो गल्ती कमजोरी के छन् ?’ संभवत त उनको मुख टालिनेछ । उनको वाक्य फुट्ने छैन । चुपचाप बस्नेछ । किनभने अरुको गल्ती/कमजोरी खोतल्नेहरुले आफैतिर भने कहिल्यै फर्केर हेरेका हुँदैनन् । आफ्नो गल्ती कहिल्यै देख्दैनन् । कमजोरी देख्दैनन् । त्रुटी देख्दैनन् । अरुको चियोचर्चा गर्दागर्दै आत्ममूल्यांकन गर्न भुल्छन् ।

हामी अरुको नराम्रो कुरा कति सजिलै पहिल्याउँछौ ? यदि कुनै व्यक्तिको नाम लिएर हामीलाई ‘फलानोको बानी कस्तो छ ? फलानो कस्तो मान्छे हो ?’ भनेर सोधियो भने हामी फटाफट जवाफ दिन थाल्छौ । कनीकुथी उनको गल्ती र कमजोरी औल्याउन थाल्छौ । प्रश्नकर्ताले उनको नकारात्मक कुरा मात्र सोधेका हुँदैनन् । तर, हामी उनको सकारात्मक कुरा भन्दै भन्दैनौ ।

अरुको क्षमता, सफलतामा हामी किन दृष्टिविहिन ?

हरेक व्यक्ति सर्वगुणी हुँदैनन् । गल्ती सबैले गर्छन् । कमजोरी सबैमा हुन्छ । अवगुण सबैसँग हुन्छ । तर, साथसाथै हरेक व्यत्तिका केही न केही राम्रा पक्ष हुन्छ । गुण हुन्छ । क्षमता हुन्छ । हामी ति क्षमता, गुण कहिल्यै अरुलाई सुनाउँदैनौ ।

किन ?

किनभने हामीमा कुष्ठा छ । हामीमा इष्र्या छ । हामीमा दम्भ छ । यहि कुण्ठा, इष्र्या, दम्भले हामीलाई यसरी थिचेको छ कि, माथि उठेर खुला र निष्पक्ष दृष्टिले समाज एवं दुनियाँ नियाल्नै दिदैन । हाम्रो आँखामा पनि भ्रमको पर्दा लगाइदिएको छ । त्यही कारण हामी अरुको सकारात्मक कुरा, गुण, क्षमता कहिल्यै देख्दैनौ । देखेपनि खुला रुपमा चर्चा गर्दैनौ ।

वास्तवमा यो एक किसिमको मनोविकार हो । हामी यस्ता दुषित मनोविकारले यति ग्रस्त छौ कि, हाम्रो इन्दि्रयले पनि ठिकसँग काम गर्न सक्दैन । अरुले राम्रो भनेको, अरुले राम्रो गरेको, न हामीसँग सुन्ने कान छ, न हेर्ने आँखा छ । न त बुझ्ने मन नै छ । हामी अनुभूत पनि गर्दैनौ ।

हामी किन यतिधेरै नकारात्मक भयौ ?

हामी मानविय मूल्य र मान्यताबाट पन्छिदै गएका छौ । भौतिक सुख-सयलको भोग एवं तृष्णाले हामीलाई व्याकुल बनाएको छ । त्यही कारण हामी मानविय जीवन बाँच्न भुल्दैछौ । हामी आफैलाई अवगुण र विकारको भण्डार बनाउँदैछौ, त्यही कारण अरुलाई हामी खराब, नराम्रो, दुर्गुणी, कमजोर देखिरहेका छौ । यो हाम्रो आफ्नै दृष्टिदोष हो ।

अरुलाई होच्याएर आफुलाई सान्तवना

हामी अरुको कुरा किन काट्छौ ? किन अरुको अवगुणको मात्र चर्चा गर्छौ ?

हामीलाई किन अरुको प्रगति, उन्नती, सफलताले सुखी बनाउँदैन ?

किनभने हामी आफुभित्र दबिएको मनोवेगलाई घटाउन वा थमथमाउन अरुको नराम्रो कुरा गर्छौ । कुनै व्यक्तिको नराम्रो कुरा वा दुर्गुण बताएर हामी आफुले आफैलाई सान्तवाना दिइरहेका हुन्छौ । थमथमाइरहेका हुन्छौ । अर्थात अर्काको प्रगति, क्षमता, सफलताले पोलेर त्यसलाई सितल बनाउन हामी अरुको नराम्रो कुरा काटेर होच्याउँछौ । यसरी मौखिक रुपमा होच्याएर पनि हामी आनन्द लिइरहेका हुन्छौ । सन्तुष्ट लिइरहेका हुन्छौं ।

खुशी कहाँ खोज्ने त ?

हामी पढेर परीक्षामा उच्च अंक हासिल गर्न चाहन्छौं । राम्रो जागिर खान चाहन्छौं । भौतिक सुख सुविधाले सम्पन्न हुन चाहन्छौं । आफ्नै घर, आफ्नै गाडी होस् भन्ने चाहन्छौं । आफन्त, साथीभाई सबैसँग समधुर सम्बन्ध होस् भन्ने चाहन्छौं । किन ?

किनकी यी सबैबाट हामी खुशी प्राप्त गर्न चाहन्छौ । हाम्रा यी सबै प्रयास र अपेक्षाको एउटै गन्तव्य हो, खुशी ।

त्यतीमात्र होइन, हामी मिठो खानेकुरा खान्छौं । हामीलाई स्वाद लाग्छ । त्यसबाट प्राप्त गर्ने पनि खुशी नै हो । हामी राम्रो लुगा लगाउँछौ । सबैले राम्रो भनिदिन्छन् । त्यसबाट हुने पनि खुशी नै हो ।

हामी सन्तुलित खानेकुरा खान्छौं । व्यायाम गर्छौं । सक्रिय रहन्छौ । किन ? किनभने शरीरमा कुनै कष्ट नहोस् । दुःख नहोस् । अर्थात खुशी मिलोस् ।

खुशी नै जीवनको शक्ति हो । सौन्दर्य हो । तर, कहाँ पाइन्छ खुशी ? कसरी मिल्छ खुशी ?

हामी सोच्छौ पैसाले खुशी मिल्छ । धन दौलतले खुशी दिन्छ । हो, यसले हाम्रो जीवन यापनलाई सहज बनाउँछ । हाम्रा अप्ठ्यारा र समस्याहरु सल्टाइदिन्छ । जीवनलाई केही हदसम्म सहज बनाउँछ । यसर्थ यी माध्यम हुन्, स्रोत होइनन् ।

पैसाले खुशी मिल्छ भने सबैभन्दा धनाड्य संसारका सबैभन्दा बढी खुशी हुने थिए । जबकी विश्वका सबैभन्दा धेरै धनराशीका स्वामी र एउटा फुटपाथमा जीवन गुजार्ने व्यक्तिले प्राप्त गर्ने खुशीमा कतिपनि अन्तर छैन । एउटा अर्बपतिले करोडौं आर्जन गर्दा जति खुशी अनुभूत गर्छ, त्यती नै खुशी एउटा फुटपाथमा बस्नेले भरपेट खान पाउँदा गर्छ ।

यसर्थ खुशीको मात्रा र परिणामले न धनी भन्छ, न गरिब । न शक्तिशाली भन्छ, न कमजोर । खुशी त उही हो । अझ घतलाग्दो कुरा त खुशी बाहिर होइन, हामीभित्र छ । हामी आफु स्वयम् खुशीका स्रोत हौ ।

खुशी, किन्नुपर्दैन । खुशी, माग्नुपर्दैन । खुशी, चोरी डकैती गर्नुपर्दैन । किनभने यसको अथाह स्रोत हामीभित्र छ ।

नेपालीमा प्रचलित भनाई छ, भोक मिठो कि भोजन ? निद्रा मिठो कि ओछ्यान ?

वास्तवमा कुनै भौतिक वस्तु वा उपलब्धी खुशी होइनन् । खुशीका स्रोत होइनन् । खुशी त हामीभित्र छ ।

खुशी कहाँ खोज्ने त ?

खुशी हुनु एक मानविय व्यवहार, प्रवृत्ति हो । हामी सधै खुशीको खोजीमा हुन्छौ । खुशीको खोजीमा नै हामीले खुशी पनि गुमाइरहेका हुन्छौ । किनभने हामीलाई लाग्छ, खुशी ति तमाम भौतिक कुरामा छन् जसको प्राप्तीले हामीलाई खुशी बनाउँछ ।

खुशी हुनका लागि हामीलाई पैसाको जरुरत पर्दैन । ऐश आरमको जरुरत पर्दैन । मिष्ठान्न भोजनको आवश्यक्ता पर्दैन । खुशी हुनका लागि केवल यसको स्रोत आफैभित्र छ भन्ने बुझे पुग्छ ।

खुशी किन हुने त ?

जब हामी खुशी हुन्छौ, प्रफुल्ल हुन्छौ, तब हामी आसपासको वातावरण पनि राम्रो हुन्छ । हाम्रा अघिल्तिर उभिएका मान्छे पनि प्रफुल्ल हुन्छन् । घर परिवारका सदस्य खुशी हुन्छन् । खुशीले खुशी विस्तार गर्छ ।

जब हामी खुशीको अवस्थामा हुन्छौ, हाम्रो मन शान्त हुन्छ । मस्तिष्क स्थिर हुन्छ । हामी फुरुंग हुन्छौ । यसले शरीरका विकारहरु हटाउँछ । रिस राग, घृणा, क्रोधको स्तर घटाइदिन्छ । अर्थात हाम्रो मनोविकार पखालिन्छ ।

यसर्थ हामी खुशी हुनुपर्छ । खुशी हामी आफैसँग छ । साना साना उपलब्धी, साना साना कुरामा पनि हामीले खुशी हुने प्रवृत्तिको विकास गर्नुपर्छ । किनभने खुशी नै संसारको सौन्दर्य हो ।

नोट: माथि उल्लेखित जानकारीहरु विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो । मानिसको शारिरिक अवस्था र समय अनुसार पनि माथि उल्लेखित कुराहरुको उपलब्धी फरक पर्छ । साथै तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला । तपाइको एक सेयरले थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग मिल्नेछ ।