स्वस्थ तन र मनका लागि मीठो र गहिरो निद्रा अपरिहार्य मानिन्छ । पर्याप्त निदाइएन भने डायबेटिज, डिप्रेसनजस्ता रोग लाग्नुको साथै वजन बढ्ने समस्या देखापर्न सक्छ । मीठो निद्राका लागि यी टिप्स उपयोगी हुन सक्छन्

‘हेभी डिनर’ नलिनुस्

डिनरमा हेभी खाना खाने गर्नुभएको छ र पेट डम्म हुनेगरी अघाउँजी खाने बानी बसाल्नुभएको छ भने आजैदेखि बानी सुधार्नुस् । तरकारी, दाल, फलफूल, सलाद, दूधजस्ता हलुका खाना उपयुक्त मानिन्छन्, जसले मीठो निद्रा लगाउन मद्दत पुर्‍याउँछन् ।

तातो पानीले राति ननुहाउनुस्

दिनभरिको कामबाट राति घर फर्किएपछि तातो पानीले नुहाउने बानी छ भने बानी बदल्न ढिलो नगर्नुस् । किनकि, शरीर एक हदसम्म चिसो नभएसम्म मीठो निद्रा पर्दैन भन्ने कुरा विभिन्न अनुसन्धानले पुष्टि गरिसकेका छन् । नुहाउनैपरे पनि सुत्नुभन्दा केही घण्टाअगाडि नै नुहाउने बानी बसाल्नुस् ।

सुत्ने कोठामा मधुरो बत्ती राख्नुस्

चर्को प्रकाशमा बसेर सुत्न जाँदा निदाउन समय लाग्नसक्छ । तसर्थ बेडरुममा मधुरो प्रकाशको बन्दोबस्त गर्नुस् । जसले गर्दा मीठो निद्राका लागि आवश्यक मुड ओछ्यानमा पल्टिनुअघि नै बन्नपुग्छ ।

ओछ्यानमा मोबाइल नचलाउनुस्

ओछ्यानमा पल्टिएपछि मोबाइल चलाउने बानी छ भने आजैदेखि आफूलाई बदल्नुस् । मोबाइल चलाउँदा तपाईं यसैमा अलमलिनुहुन्छ र निद्रा लाग्न पाउँदैन । साथै, सुत्दाखेरि मोबाइल अनिवार्य रूपमा साइलेन्स मोडमा राख्ने गर्नुस् ।

तालिका बनाउनुस्

सुत्ने र उठ्ने समयतालिका बनाउनुस् र यसलाई भरिसक्के पालना गर्नुस् । सधै एउटै समयमा सुत्ने र उठ्ने बानी बसाल्न सक्नुभयो भने अनिद्राको समस्या बिस्तारै हट्दै जानेछ ।

सुत्नुअघि कसरत नगर्नुस्

कसरत गर्नु राम्रो हो, तर सुत्नुभन्दा ठीक अघि गर्नुचाहिँ राम्रो होइन । यसले शरीरमा रक्तसञ्चारलाई तीव्र गरिदिन्छ, जुन सामान्य अवस्थामा फर्किन समय लाग्छ । यसले तपाईंको निद्रालाई पर धकेल्ने गर्छ । त्यही भएर बेलुकाको कसरत र सुत्ने समयबीच चार घण्टाको ग्याप राख्नु राम्रो हु्न्छ ।

चुरोट छोड्नु्स्

चुरोट खाने बानी छ र निद्रा लाग्दैन भने चुरोट छोड्न ढिलो नगर्नुस् । चुरोट नखाने मानिस खानेहरूको तुलनामा चार गुणा बढी राम्रोसँग निदाउने गर्छन् भन्ने तथ्य अनुसन्धानबाट पुष्टि भइसकेको छ । चुरोटमा पाइने निकोटिनले गर्दा राम्रोसँग निदाउन सकिँदैन ।

सुत्नुअघि औषधि नखानुस्

प्रेसर, डिप्रेसन लगायतको औषधि नियमित सेवन गर्ने गर्नुभएको छ भने औषधि खाने समय र सुत्ने समयबीच केही घण्टाको अन्तर राख्ने कोसिस गर्नुस् । यस्ता औषधि खानासाथ सुत्न जानुभयो भने निदाउन समय लाग्छ ।

मनमा गुम्सिएका कुरा लेख्नुस्

मनोचिकित्सकका अनुसार निद्रा नलाग्ने समस्या भएका अधिकांश मानिसले मनमा अनेक कुरा खेल्ने भएकाले निद्रा नलाग्ने गरेको बताउने गरेका छन् । यस्तो समस्या भएकाहरूले मनमा गुम्सिएका कुरा सुत्नुअघि डायरीमा लेख्ने गरेमा निदाउन सहज हुने उनीहरूको सुझाव छ ।

कथा, संगीत सुन्नुस्

निद्रा लाग्दैन भने रेडियो, ल्यापटप, मोबाइलबाट मीठामीठा कथा, संगीत सुन्दै निदाउने बानी बसाल्नुस् । डाक्टरहरू निदाउने यो शैलीबाट धेरै मानिस लाभान्वित भइसकेको बताउँछन् ।

सकारात्मक सोच राख्नुस्

नराम्रो चिताउने र सोच्ने बानीले गर्दा पनि निदाउन समस्या पर्ने गरेको मनोचिकित्सकहरूको भनाइ छ । यसका लागि आफू र अरूको भलो चिताउने गर्नुस् । सुत्नुअघि आज राम्रा काम के–के गरियो र भोलि के–के राम्रा काम गर्न सकिन्छ भन्नेबारे विचार गर्नुस् । यसले तपाईंको मनलाई तनाव र छटपटीबाट मुक्त गराउँछ । यसको सीधा असर पर्छ निद्रामा ।

गहिरो सास लिने गर्नुस्

फुर्सदमा गहिरो र लामो सास फेर्ने गर्नुस् । यसले शरीरमा अक्सिजनको इन्टेक बढाउँछ, जसले गर्दा राति मीठो निद्रा पर्छ । गहिरो सास लिने गरेमा मुटुको धड्कन सन्तुलनमा आउने र रक्तचापका बिरामीलाई राम्रो हुने गर्छ ।

गहिरो सास लिँदा दिमागमा इन्डोर्फिन नामक रसायन उत्सर्जन हुन्छ, जसले तपाईंलाई तनावरहित बनाएर मीठोसँग निदाउने अवस्था सिर्जना गरिदिन्छ । गहिरो सास लिँदा पाँच सेकेन्डसम्म सास तान्ने, तीन सेकेन्ड थाम्ने र पाँच सेकेन्डसम्म सास फाल्ने गर्नुपर्छ । यो विधिलाई योगगुरुले मात्र नभई चिकित्सकहरूले पनि अनिद्रा भएका मानिसका लागि उपयोगी ठहर्याइसकेका छन् ।

खानपानमा ध्यान दिनुस्

मीठो निद्रा लगाउन माछा, दही, केरा, चना, प्याजजस्ता खाद्य पदार्थमध्ये कुनै एक वा एकभन्दा बढीलाई हरेक दिनको खानामा समावेश गर्ने कोसिस गर्नुस् ।

सुत्नुअघि पानी नपिउनुस्

कसै–कसैले सुत्नुअघि पानी पिउने बानी बसालेका हुन्छन् । यस्तो बानी आजैदेखि बदल्नुस् । किनकि, पानी पिएर सुत्न जाँदा राति पिसाब फेर्न उठ्नुपर्छ । यसरी निद्रा भंग हुन्छ । सुत्नुभन्दा एक अथवा दुई घण्टाअघि पानी पिउने गर्नुस् ।

हामीले केहि सम्बन्धित थप जानकारी दिइएका छाै

कुन कुन उमेरका मानिसहरुको लागि कति निद्राको आवश्यक ?

संयुक्त राज्य अमेरिकाको राष्ट्रिय निद्रा फाउण्डेशनले गरेको अनुसन्धानमा जनाइए अनुसार विभिन्न उमेरका मानिसहरुको निद्राको आवश्यकता पनि फरक हुने गर्छ। तपाईंले कति घण्टा सुत्नु पर्छ? हामीहरु प्राय:ले आफूलाई पर्याप्त निद्रा नपुगेको सहजै थाहा पाउछौं। तर पर्याप्त निद्रा भनको कति हो त? अमेरिकामा हालै गरिएको एक अनुसन्धानले भनेको छ त्यो तपाईंको उमेरमा भर पर्छ।

सुत्ने नियमितताको अभाव, मदिरा, कफी र इनर्जी ड्रिंक्स जस्ता पेय पदार्थको सेवन, अलार्म घडी र दिनको प्रकाश जस्ता कुराहरुले मानिसको बायोलोजीकल क्लक अर्थात जैविक घडीलाई प्रभावित गर्ने गर्छ।

अमेरिकामा भर्जीनीया राज्यको आर्लींगटनमा कार्यालय रहेको निद्रा विषयमा अनुसन्धान गर्ने एउटा संस्था न्याशनल स्लीप फाउण्डेशनका अनुसार व्यक्तिको निद्राको आवश्यकता उस्को जीवनशैलीमा आधारित हुने गर्छ।

नवजात शिशुहरुलाई अरु उमेरका मानिसभन्दा बढी निन्द्राको आवश्यकता पर्छ, तिनीहरुका लागि १९ घण्टासम्म सुत्नु सामान्य हो।तर उमेरले पनि मानिसको निन्द्राको आवश्यकतामा महत्वपूर्ण भूमिका निर्धारण गर्ने गर्छ।

नवजात (०-३ महिना)

भर्खर जन्मेका बच्चाहरुले सामान्यतया दैनिक १४ देखि १७ सुत्नु पर्दछ। ११ देखि १३ घण्टा सुत्दा पनि तिनीहरुलाई निद्रा पुग्छ, तर १९ घण्टाभन्दा बढी सुत्न दिनु हुंदैन।

शिशु (४-११ महिना)

यिनीहरुका लागि उपयुक्त १२ देखि १५ घण्टाको निद्रा हो। कम्तीमा १० घण्टा सुत्दा पनि निद्रा पुग्न सक्छ तर शिशुहरुलाई १८ घण्टाभन्दा बढी कहिल्यै सुत्न दिनु हुंदैन।

वामे सर्नेहरु (१-२ बर्ष)

यो उमेरका बच्चाहरुले ११ देखि १४ घण्टा सुत्नु पर्छ। यिनीहरुका लागि स्वीकार्य ‌९ देखि १६ घण्टाको निद्रा हो।

विद्यालय जानु अघिका(३-५ बर्ष)

विशेषज्ञहरु यो उमेर समूहका बच्चाहरुले १० देखि १३ घण्टा सुत्नु पर्ने बताएका छन्। तर ८ घण्टाभन्दा कम र १४ घण्टा भन्दा बढी निद्रा यिनीहरुलाई उपयुक्त हुंदैन।

स्कुले उमेरका (६-१३ बर्ष)

अमेरिकी निद्रा फाउण्डेशनका अनुसार यो उमेरकाहरुले ९ देखि ११ घण्टा सुत्नुपर्छ। ७ घण्टा भन्दा कम र १२ घण्टा भन्दा बढीको निद्रा यिनीहरुका लागि स्वस्थ मानिएको छैन।

किशोरकिशोरी (१४-१७ बर्ष)

किशोरकिशोरीहरुका लागि सुझाइएको निद्राको अवधि ८ देखि १० घण्टा हो। तर यिनीहरुले ११ घण्टाभन्दा बढी र ७ घण्टाभन्दा कम सुत्नु उपयुक्त नहुने अमेरिकी निद्रा फाउण्डेशनले जनाएको छ।

युवा (१८-२५ बर्ष)

युवा उमेर समूहकाहरुले ७ देखि ९ घण्टा सुत्नु उपयुक्त हो। तर यिनीहरुले ६ घण्टा भन्दा कम र ११ घण्टा भन्दा बढी सुत्नु हुंदैन।

वयस्क (२६-६४ बर्ष)

यो उमेर समूहका लागि सुझाइएको निद्राको अवधि युवाहरुको लागि जस्तै छ।

बृद्ध (६५ बर्ष भन्दा माथि)

यो उमेर समूहका मानिसहरुका लागि दैनिक ७-८ घण्टाको निद्रा स्वस्थ मानिएको छ। तर यिनीहरुले ५ घण्टाभन्दा कम र ९ घण्टाभन्दा बढी सुत्नु स्वस्थ होइन।

८ घण्टाभन्दा कम सुत्नेलाई यस्तो खतरा

दैनिक आठ घण्टाभन्दा कम सुत्ने मानिसमध्ये धेरैमा मानसिक तनाव एवम् निराशा (डप्रेसन)को समस्या देखिएको एक अध्ययनले देखाएको छ ।

अमेरिकाको न्युयोर्कमा रहेको विघम्टन विश्वविद्यालयलले हालै गरेको एक अध्ययनले सो तथ्य पत्ता लागेको जनाएको थियो ।

सुत्ने समयावधि र मानसिक अवस्था बीचको सम्बन्धको तुलनात्मक अध्ययन गर्दा कम सुत्नेमा बढी मानसिक समस्या र चिन्ता देखिएको सो अध्ययनमा पत्ता लागेको हो ।

विश्वविद्यालयले अध्ययनपछि सार्वजनिक गरेको प्रतिवेदनमा बढी सुत्ने मानिसमा भन्दा कम सुत्ने मानिसमा बढी नकारात्मक सोचाई पाइएको पनि उल्लेख गरेको छ ।

आठ घण्टा भन्दा कम सुत्ने मानिसहरुमा चिन्ता, कुन्ठा, तनाव र निराशा धेरै आउने गरेको सो विश्वविद्यालयद्वारा प्रकाशित मेडिकल जर्नलको पछिल्लो संस्करणमा छापिएको समाचारमा जनाइएको छ ।

त्यसैगरी सो अनुसन्धानले सुत्ने समयमा अनियमितता भएका मानिसहरुलाई ध्यान एकत्रित गर्न निकै गाह्रो हुने गरेको पाइएको पनि बताएका छन् ।

सुताई नपुगेका मानिसहरुमा आउने नकारात्मक सोचाईका कारण ध्यान एकत्रित गर्न पनि गाह्रो हुने गरेको अनुसन्धानकर्ताहरुको निष्कर्ष छ ।

अनियमित सुताई भएकाहरुमा नकारात्मक सोँचको विकास हुने गरेको र उनीहरुको जीवनमा नै नकारात्मक असर असर समेत पर्ने गरेको पाइएको समाचारमा जनाइएको छ ।

अनुसन्धान टोलीका एकजना सदस्य जाकोब नोटाले नकारात्मक सोँचका कारण उत्पन्न परिस्थितिले मानिसलाई तनावका साथै मानसिक असन्तुलनतर्फ समेत उन्मुख गराउनसक्ने खतरा देखिएको बताए ।

अनुसन्धानकर्ताहरुले मानसिक तनाव र चिन्ता कम गर्न नियमित रुपमा र दिनमा कम्तीमा आठ घन्टासम्म सुत्नुपर्ने सुझाव पनि दिएका छन् ।

यसकारण लाग्नसक्छ सुत्दासुत्दै झट्का

कतिजनालाई सुतिरहेका समयमा अचानक झट्का महसुस हुन्छ । कसैलाई गहिरो निद्रामा सुतिरहेका बेला अचानक झट्का महसुस हुने गर्छ । त्यतिमात्र होइन, कतिपयलाई त झट्काकै कारण सुतिरहेको बेलामै पनि तल झरेजस्तो समेत महसुस हुन्छ ।

संसारका झण्डै ७० प्रतिशत मानिसले यस्तो झट्का महसुस गरिरहेका हुन्छन् । यसको मतलब के पनि हो भने मानिसहरू न त पूरै सुतेका हुन्छन्, न त पूरै उठेका नै हुन्छन् ।

कतिपयलाई भने डर, त्रास, अनिद्रा तथा निद्रा सम्बन्धी अन्य समस्याका कारण पनि यस्तो हुने गर्छ ।

यस्तो कुरा केही समयका लागि मात्र महसुस हुने गर्छ त्यसैले यसकै कारण मानिसको मृत्यु भने हुँदैन । त्यसैले त, यस्तो समस्या हुने व्यक्तिहरूले खासै गम्भीर समस्या भएको महसुस गर्दैनन् ।

यस्तो समस्या बारम्बार दोहोरिरहेको खण्डमा भने मानिसलाई अवश्य पनि एन्जाइटीको समस्या हुनसक्छ । साथै यसले निद्रा समेत बिगार्नसक्ने हुँदा जो कोही पनि यस्ता कुराबाट टाढै रहन चाहन्छन् ।

सुत्दा झट्का महसुस हुने कारण

१. क्याफिनको बढी प्रयोग

तनाव वा सुत्नुअघि मदिरा तथा क्याफिनको सेवनका कारण पनि बारम्बार यस्तो झट्का महसुस हुने गर्छ । यद्यपि यसको वैज्ञानिक पुष्टि भने भएको देखिँदैन ।

२. आइरनको कमी

साँझको समयमा धेरै एक्सरसाइज गर्दा तथा क्याल्सियम, म्याग्नेसियम एवं आइरनको कमी हुँदा यस्तो झट्का बारम्बार महसुस हुने गर्छ ।

३. निद्राको कमी

जब हामी सुत्ने कोसिस गर्छौं तब हाम्रो मस्तिष्क अर्धचेत अवस्थामा रहने गर्छ । यस्तो अवस्थामा मस्तिष्कको आधा भाग सकि्रय रहन्छ । त्यसबाहेक सुत्दा नमिलेमा वा अप्ठ्यारो गरी सुतेमा समेत यस्तो झट्का महसुस हुने गर्छ ।

४. उत्तेजित पार्ने तत्व

नसालाई उत्तेजित पार्ने औषधीका कारण वा चिकित्सकको सल्लाहविना सेवन गरिएका विभिन्न औषधीहरूको प्रयोगले पनि हाइपनिक जर्क हुनसक्छ ।

५. मांसपेशीको ऐँठन

कतिपय अवस्थामा मांसेपेशीमा हुने ऐँठनका कारण पनि हाइपनिक जर्क हुने गर्छ । विशेषगरी, मांसपेशीमा ऐँठन भएमा शरीरमा घर्षण पैदा हुन्छ, जसका कारण मांसपेशीबाट आवाज निस्कन्छ र शरीरले झट्का महसुस गर्छ ।

६. निद्रा र अनिद्राबीचको अवस्था

सामान्यतया सुतिरहँदा हाम्रो मस्तिक निद्रा र अनिद्राको बीचको स्थितिमा रहने गर्छ । यो यस्तो स्थिति हो, जसमा मस्तिकले गहिरो निद्रा लिने भरपूर कोसिस गरिरहेको हुन्छ । यो मस्तिष्कको संक्रमण काल पनि भएकाले यही अवस्थाका कारण शरीरले बारम्बार झट्का महसुस गर्छ ।

गर्मीमा राम्रो निद्राका लागि तल उल्लेख गरिएका खानेकुरा खानुहाेस्

गर्मि मौसममा धेरै मानिसलाई भोक नलाग्ने, निन्द्रा नलाग्ने हुन्छ ।त्यसका लागि यी तल दिएका खानेकुराहरु खानु पर्छ ।

आलु

निद्राको समस्या भएका मानिसले उमालेको वा भुटेको आलु खानु राम्रो हुन्छ । यस्तो आलु छिटो पच्छ र शरीरमा गर्मी पैदा हुन दिँदैन । अनि निद्रा राम्रो पर्ने नै भयो ।

सजिवन

गर्मीमा हाम्रो शरीरबाट असाध्यै पानी निस्कन्छ किनकि पसिना खुबै चुहिन्छ । त्यसैले पानीको स्तर कायम राख्नु जरूरी हुन्छ । सजिवन खाँदा त्यसमा भएको ९५ प्रतिशत पानी र २५ प्रतिशत क्यालोरीले शरीरमा पानीको कमी हुन दिँदैन ।

फर्सी

फर्सी धेरै लाभदायक तरकारी हो । यसमा भएको ट्रिप्टोफानले शरीरमा अत्यावश्यक सेरोटोनिन उत्पादन गर्छ । सेरोटोनिन दिमागमा हुने रसायन हो जसले मूड फ्रेश गर्छ, उदासी हटाउँछ र डिप्रेसनबाट बाहिर निकाल्छ ।

यसले राम्रो निद्रा पनि ल्याउँछ । यसमा भएको पोटासियम र फाइबरले पाचन प्रक्रिया तथा चिनीको स्तरलाई पनि सन्तुलनमा राख्छ ।

लौका

गर्मीमा कुनै हालतमा पनि शरीरमा पानीको कमी हुन दिनु हुँदैन । यसका लागि हरिया सागसब्जी, फल र लगातार पानी पिउनु उपयुक्त हुन्छ ।

शरीरमा पानीको कमी भयो भने पनि निद्रा लाग्दैन । लौकाको तरकारी र लौकालाई दहीमा मिसाएर राइता अवश्य खानुस् । यसले शरीरलाई ठण्डा राख्छ ।

नोट: माथि उल्लेखित स्वास्थ्य सम्बन्धी जानकारीहरु विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो । मानिसको शारिरिक अवस्था र समय अनुसार पनि माथि उल्लेखित कुराहरुको उपलब्धी फरक पर्छ । सम्पुर्णरुपमा यहि कुरामा मात्रै भर नपर्नुहोला । माथि उल्लेखित कुराहरु प्रयोग गर्दा तपाईको स्वास्थ्यमा थप खराबी देखिए, कृपया तुरुन्त रोकेर स्वास्थ्यकर्मीहरुसँग सल्लाह लिनुहोस् ।

साथै तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला ।
तपाइको एक सेयरले थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग मिल्नेछ ।