बैज्ञानिकहरु भन्छन्, ‘शरीरमा हुने पानीको मात्रा (६० प्रतिशत ) को केवल १.५ प्रतिशत कम हुँदा पनि शरीरमा सुख्खा हुने अर्थात ‘डिहाइड्रेसन’को असर देखा पर्न थाल्दछ ।’ ‘डिहाइड्रेसन’ धेरै कारणले हुने गर्दछ र तपाईँलाई तिर्खा लाग्नुको अलावा अरुपनि थुप्रै असर शरीरमा परिरहेको हुन्छ ।

ल हेरौँ डिहाइड्रेसनका असरहरु :

१. सास गन्हाउने :

हाम्रो व्यस्त जीवनमा पानी पिउन हामीले भुलिरहेका हुन्छौँ । कामको दौरान तपाईँले बोल्दा जब तपाईँका सहकर्मीहरु परपर सर्छन अनि मात्रै तपाईँलाइ महसुस हुन्छ कि तपाईँले पानी पिउनु भएको छैन र तपाईँको सास गन्हाई रहेको हुन्छ ।

२. शारीरिक क्षमतामा कमी :

शरीरमा पानीको मात्रा कम हुँनासाथ तपाईँको शारीरिक क्षमतामा कमी आउँछ । शरीरमा पानीको मात्रा केवल २ प्रतिशत कम हुँदा मात्रै शरीरको क्षमता १० प्रतिशतले घट्छ ।

३. सुख्खा छाला :

छालालाई स्वस्थ, तन्दुरुस्त र चमकदार राख्नको लागि प्रसस्त पानी पिउनु एकदमै जरुरी हुन्छ । यतिमात्रै होइन छालाबाट पानी बाहिर जान नदिन छालामा मोइस्चराइजरको प्रयोग गर्नुपनि उत्तिकै जरुरी हुन्छ ।

४. ड्राइभिङ क्षमतामा असर :

फिजियोलोजी एण्ड विह्याभियर नामक जर्नल प्रकाशित गरिएको एक अनुसन्धान पत्रले शरीरमा पानीको मात्रा कम हुँदा ड्राइभिङमा पूर्ण रुपमा ध्यान दिन नसकी ड्राइभिङ क्षमतामा ह्रास आउने देखाएको छ ।

५. थकान :

शरीरमा पानीको मात्रा कम हुदा रक्तचाप घट्छ, मुटुको धड्कन बढ्छ र मस्तिष्कमा रगत प्रवाह घट्छ । यी सबैले शरीरलाई थकित बनाउँछ । त्यतिमात्र नभई पानीको मात्रा कम हुँदा शरीरका मसल्सहरु पनि थकित हुने गर्छ ।

६. खराब मुड :

हरीरमा पानीको मात्रा कम हुनुको असर शरीरिक रुपबाट मात्र नभई मानसिक रुपमा पनि पर्छ । जर्नल अफ न्युट्रिसन मा प्रकाशित एक अध्ययनका अनुसार शरीरमा पानीको मात्रा कम हुँदा मानिस झोक्किने , रिसाउने , अल्छि हुँने, काममा केन्द्रीत हुन नसक्ने र दुखी रहने गरेको पाइयो ।

७. शरीर चिसो बनाउछ :

रगतमा हुने पानीले शरीरमा तातोपना कायम राखिराख्न र तापक्रम मिलाएर राख्न मद्धत गर्छ ।पानीको मात्रा कम हुँदा तातोपानी बाहिर जाने हुँदा शरीर चिसो हुन्छ ।

८. आँखा धमिलो हुने र तिर्मिराउने :

पानीको मात्रा कम हुँदा मासंपेशीमा मात्र नभई मस्तिस्कमा पनि रक्तसञ्चार कम हुन्छ । जसले गर्दा आँखाको दृष्टि धमिलो हुने तथा तिर्मिरयाउने तथा काम गर्ने क्षमतामा ह्रास आउछ ।

९. टाउको दुखाई :

चिकित्सकहरुका अनुसार पानीको मात्रा शरीरमा कम हुँदा सेरोटोनिनको मात्रा परिवर्तन हुन्छ । जसले टाउको दुख्ने गर्छ । त्यसैले अब जब जब टाउको दुख्छ एक दुई गिलास पानी पिउनुस सम्भवत टाउको दुखाई हराएर जान्छ ।

१०. कब्जियत गराउछ :

आन्द्रामा पचेका खानाहरु पास हुन शरीरमा पानीको जरुरी हुन्छ । तपाईँले यदि कम पानी पिउनु भएको छ भने आन्द्रामा भएका बस्तुबाट पानी शरीरमा तानिन्छ र पचेको खानामा कडा हुन्छ । जसले गर्दा कब्जियत गराउछ ।

थप जानकारीः

पानी कति र कसरी पिउने ? मानव जीवन तथा रोग नियन्त्रणमा पानीको महत्व

शरीरलाई खानाजस्तै पानी पनि आवश्यक छ । शरीरलाई स्वस्थ राख्न पानी पिउने समय र तरिकाबारे थाहा पाउनु जरुरी छ । शरीरमा आवश्यक पानी भएन भने विभिन्न रोगको जोखिम बढ्न सक्छ ।

हामीले खाएको पोषक तत्व रगतमा पुर्याउन र शरीरको विजातिय तत्व बाहिर निकाल्न पानीको भुमिका रहन्छ । शरीरको ७६ प्रतिशत भाग पानीले बनेको हुन्छ ।

पानीमा तरलता, स्वच्छता, हलुकापन, शीतलपनजस्ता गुणहरू हुन्छन् । पानीको कमीले शरीरभित्र मात्र होइन, शरीरबाहिर छालामा पनि नकारात्मक असर देखा पर्न सक्छन् ।

गलत जीवनशैली विषसमान

प्रायः मानिस उषापानको बदलामा अत्यधिक चियाको प्रयोग तथा धुम्रपान गर्ने गर्छन् । बिहान उठ्नेवित्तिकै र राति अवेरसम्म टेलिभिजन हेर्ने, रेडियो सुन्ने वा पढ्ने गर्छन्, यसले स्वास्थ्यमा असर गरिरहेको हुन्छ ।

कपाल रङ्गाउने, केमिकल मिसावट भएको, तारेको, भुटेकोे मिठाइ तथा अखाद्य पदार्थ जंकफुड तथा पानीको प्रयोग, प्लास्टिकका भाडा अत्यधिक प्रयोग गर्ने जस्ता संस्कृतिले शरीरभित्र धेरै विष तत्व प्रवेश गरिरहेको हुन्छ ।

यस्ता विकार शरीरबाट बाहिर निस्कन पाएन भने भित्रै जमेर बस्छ, फलस्वरूप विभिन्न अंगहरूमा अल्सर, ट्युमर, स्टोन, क्यान्सर, युरिक एसिड, कब्जियतजस्ता समस्या देखिन्छ । अध्ययन अनुसार अहिले ९० प्रतिशत स्वास्थ्य समम्या निष्काशन प्रक्रियाको गडबडीले भइरहेको छ । कम पानी पिउनाले मुत्राशयको क्यान्सर हुने खतरा रहन्छ ।

शरीरमा पानीको उचित मात्रा कति ?

शरीरमा पानीको मात्रा फोक्सो ९० प्रतिशत, रगत ८२ प्रतिशत, छाला ८० प्रतिशत, मांस पिण्ड ७५ प्रतिशत, मष्तिष्क ७० प्रतिशत, हड्डी २२ प्रतिशत रहेको हुन्छ । प्रत्येक मानिसलाई साधारणतया दैनिकरूपमा तीन देखि चार लिटर वा १०र१२ गिलास पानी आवश्यक पर्छ ।

यो मात्रा स्थानीय हावापानी, तापक्रम, व्यक्तिको श्रमको अवस्था आदिमा भर पर्छ । यो कुरा व्यक्तिको प्रकृति, जीवनशैली आदिमा पनि भर पर्छ । धेरै पानी पिए पनि खतरा हुन सक्छ । कम पानी पिए फोहोरलाई बाहिर निष्कासन गर्न गाह्रो पर्छ । जसको पेट सफा हुन्छ, उसलाई रोग लाग्ने सम्भावना कम हुन्छ । ठिक तरिकाबाट पानी पिउनाले बिषाक्त तत्व पनि बाहिर निष्काशन गर्न सक्छ ।

कहिले धेरै, कहिले थोरै पानी खानु हुँदैन । खानेकुरा र पानीको मात्रा मिलाएर मात्रै सेवन गर्न जरुरी छ । सधैँ केही समयको अन्तर राखी पानी पिउने गर्नुपर्छ । जति धेरै पानी बाहिरिन्छ, उति धेरै पानी पिउनुपर्ने विज्ञहरूको सुझाव छ । पानीसँगै झोल पदार्थ भएका खानेकुरा पनि प्रयोग गर्नुपर्छ । फलफूल, सागपात प्रशस्त मात्रामा खाने गर्नुपर्छ । शरीर स्वस्थ राख्न रसिलो फलफूल खानुपर्छ ।

उचित तरिकाले पानी पिउँदा हुने फाइदा

पानी शरीरमा सिंचिंत भइ बल, आय, आरोग्यता र पौष्टिकता प्रदान गर्छ । यसलाई आयुप्रदाता, प्राण र रसायन मानिएको छ । पेट सफा गर्न पानीको महत्वपूर्ण भूमिका रहन्छ । पटक–पटक गरी दिनभर पिएको पानीले क्यान्सरका सेललाई समेत बाहिर निकाल्छ ।

पानिको उचित प्रयोगले धेरै विकार नष्ट हुन्छन् । दिसापिसाब, पसिना, थुकलगायत माध्यमबाट शरीरको पानी बाहिरिन्छ । शरीरमा पानीको कमी भयो भने विभिन्न रोग लाग्न सक्ने चिकित्सक बताउँछन् ।

बिहान उठ्नेबित्तिकै मनतातो पानी पिउने गर्दा शरीरका अर्गान खुल्छन् । यसले स्वास्थ्यमा फाइदा पुग्छ । स्वस्थ छालाका लागि पनि शरीरलाई आवश्यक मात्रामा पानी पिउने गर्नुपर्दछ । स्वच्छ पिउने पानी ठिक ढङ्गले सेवन गरे र दैनिक कम्तिमा तीन लिटर पानी पिए क्यान्सरलगायत रोगबाट छुटकारा पाइन्छ ।

पानी कम हुँदा देखिने समस्या

पानी कम हुँदा छालामा असर पर्छ । छालामा सुक्खापन आउने, चाउरी पर्नेजस्ता समस्या देखा पर्न सक्छन् । यति मात्रै होइन, शरीरमा एलर्जी हुन सक्छ । रगतको मात्रामा कमी, कमजोर पाचनतन्त्र, शरीरको तापक्रम बढ्ने, महत्वपूर्ण संवेदनशील अङ्गमा असर पर्ने आदि समस्या हुन्छ ।

– लामो समय पानी नपिउँदा कहिलेकाहीँ मानिस बेहोस हुन सक्छ । ठीक समयमा पानी पिउन सकिएन भने ज्यानसमेत जान सक्छ ।

– पानीको मात्रा भएन भने बेहोस हुने, खुट्टा फर्कने, थकाइ लाग्ने, टाउको दुख्ने, झर्को लाग्नेजस्ता समस्या देखा पर्ने हुन्छ ।

– पानीको कमी हुँदा किड्नीमा समस्या, पिसाबको संक्रमण हुन्छ । पानी एकैपटक धेरै खाँदा किड्नीमा ओभरलोड हुन्छ र समस्या उत्पन्न हुन्छ ।

– शरीरमा पर्याप्त मात्रामा पानी पुगेन भने कब्जियतको समस्या हुन्छ ।

– हामीले पिउने पानीको मात्राअनुसार शरीरको तापक्रम बढ्ने/घट्ने हुन्छ । पर्याप्त पानी पुग्यो भने तापक्रम बढ्छ, पानी कम भयो भने तापक्रम घट्छ ।

– जोर्नीमा पानीको मात्रा पुगेन भने शरीर पोल्नुका साथै जोर्नी दुख्ने समस्या बढ्दै जान्छ । त्यसैले पर्याप्त मात्रामा पानी सेवन गर्नुपर्ने हुन्छ ।
– हामीले पिउने पानीको मात्राअनुसार रक्तचाप बढ्ने र घट्ने हुन्छ । शरीरमा पानीको अभाव हुँदा रक्तचापको मात्रा घट्ने चिकित्सक बताउँछन् ।

– शरीरमा पानीको अभाव भयो भने मुटुको चाल असामान्य बनाउन सक्छ ।

– पानीको अभावले हाम्रो शरीरमा पाचन प्रक्रिया असहज बनाउँछ । हामीले खाएको खानेकुरालाई पानीले नै आन्द्रासम्म पुर्‍याउँछ । र, पाचन प्रणालीलाई सफा बनाउन पनि महत्वपूर्ण काम गरेको हुन्छ ।

पानी कसरी पिउने ?

उषापान- (खाली पेटमा : पानी पिउने) वा अमृतपान जसमा उषाको अर्थ बिहान र पानको अर्थ सेवन गर्नु भन्ने हुन्छ । अर्थात् बिहानै मुख कुल्ला नगरी पिउनु भन्ने हुन्छ । हाम्रो आमाशयको क्षमता ६०० मिलीलिटर हुन्छ । आमाशयको क्षमता डबल बनाउँदा सवा १ लिटर हुन्छ अर्थात बिहान ३–४ गिलास पानी (बच्चाले दुई गिलास) मनतातो वा चिसो पिउनुलाई उषापान भनिन्छ ।

बिहान उठ्नेबित्तिकै खाली पेटमा मुख कुल्ला नगरी मुखमा भएको र्‍यालसहित निल्ने गरी पानी पिउने गर्नुपर्छ, यसले मानिसलाई बल, स्वास्थ्य, आरोज्ञ, शीतलता प्रदान गर्छ । पचेको मल र मृत तन्तुलाई समेत बाहिर पठाइदिन्छ ।

उषापान स्वस्थ्य जीवनको प्रमुख आधार हो, जसले शरीरका प्रायः सम्पूर्ण रोग निर्मुल पार्ने काम गर्छ । रगतको गाढापन कम गरी हृदयघातलाई न्यून गर्छ । यसले आमाशय तथा आन्द्राको भित्तामा रहने म्युकस तथा डेडसेल समेत बाहिर निकाल्छ ।

उषापानमा व्यक्तिले आफ्नो प्रकृतिअनुसार मनतातो या चिसो पानी सेवन गर्न सक्छ । आर्थराइटिस समस्या, घुँडा दुखेको, शरीर मोटो छ भने मनतातो पानीमा गौमूत्र दुई बिर्को मिसाई पिउँदा लाभ हुन्छ । तर, अमिलो पानी आउने समस्या भएकाले तातो पानी पिउनु हुँदैन । बेलुका खाना खाएर सुतेपछि रातभर खानाको पाचन हुन्छ । त्यसैबाट हामी शक्ति पाउँछौं ।

त्यस्तै पच्न नसकेका बाँकी पदार्थ हाम्रो ठूलो आन्द्रामा गएर जम्मा भएको हुन्छ । त्यसलाई सही समयमा निष्काशन गर्न सकेनौं भने हामीलाई कब्जियत हुन्छ । भनिन्छ, कब्जियत सबै रोगको जननी हो । कब्जियत रोगकै कारणबाट अरू रोग सुरूवात हुन्छ ।

यदि हामीले ओछ्यानमै चियाको बदला पेटभरि पानी पियौं भने कब्जियत लाग्न पाउँदैन र त्यसको कारणबाट लाग्ने अरू रोगहरू स्वतः हराएर जान्छ । चिसो पानीमा मह मिसाएर पियो भने पिसाब पोल्ने समस्या बन्द हुन्छ । तातो पानीमा मह मिसाएर पियो भने शरीर गर्मी हुन्छ ।

दैनिक उषापान गर्दा हुने फाइदा

एउटा ठूलो बाढीको रूपमा बगाएर मुखदेखि मलद्वार सम्मको (विजातीय) पदार्थलाई पगालेर फाल्ने गर्छ । ठोस रूपमा रहेको पदार्थलाई तरल बनाएर बाहिर निष्काशन गर्ने काम गर्छ, जसले हाम्रो पेट सफा गर्छ । पानीको मात्रा पूरा गरेर जलबियोजनबाट बचाउँछ ।

उषापान गर्नाले हाम्रो शरीरमा एक प्रकारको शक्ति जागरूक हुन्छ । र, त्यस शक्तिले रोगको हरण गर्छ । जीवनी शक्तिको वृद्धिले रोगसँग लड्ने क्षमताको विकास गराउँछ । उषापान विशेष गरी अजीर्ण वा मलबद्धता, पाइल्स, सङ्ग्रहणी मन्दाग्नि, उदरशुल, कम्लपित्त आदि रोगको लागि अत्यन्त फाइदाजनक छ । यो मूत्रविकारको लागि त रामवाण नै हो ।

पत्थरी, मृगौलासम्बधी रोग लाग्न पाउँदैन । पिनास, नाथ्री फुट्ने, टाउको दुख्ने, रूघाखोकी आदि रोगबाट मुक्ति दिलाउँछ । रगत शुद्ध पारी स्मरणशक्तिको विकास गराउँछ । वीर्यसम्बधी रोगहरू रहन पाउँदैन । कालोपोतो, चायाँ र डन्डीफोरआदि समस्याको समाधान हुन्छ, छाला सुन्दर हुन्छ । मनका चिन्ता शान्त बनाउँछ ।

पित्त प्रकृतिको व्यक्तिले यदि प्रातःकाल विस्तारबाट उठ्नेबित्तिकै आधा लिटरभन्दा बढी चिसो पानी पिउने गर्छ भने उसको लागि यो अमृत हुन जान्छ । मेटाबोलिजम राम्रो हुन्छ । उषाकालमा गरम पानी पिइयो भने मोटोपन कम हुन्छ, गरम पानीमा गौमूत्र एक वा दुई बिर्को मिलाइ पिइयो भने कब्जियत नास हुन्छ ।

तर, जोर्नीको दुखाई हुनेले चिसो पानी पिउनु हुँदैन । अतः उषापान एक प्रकारको अमृतपान हो । जसको प्रयोगले मानव शरीरलाई पूर्ण निरोगी बनाउँछ । त्यसैले उषापान स्वास्थ्य जीवनको प्रमुख आधार हो । तर १ घण्टासम्म केही पनि खानु हुँदैन।

उषापानमा अपनाउनुपर्ने सावधानी

-जसको हात र पाउ सुनिन्छ ।

-जसको दाँतबाट पानी आउँछ तथा चक्कर लाग्ने समस्या छ ।

-जसको मृगौला स्वस्थ छैन । दमको समस्या र नसाको समस्या हुने ।

-गर्भवती महिलाले बिहान सबेरै १.२५ लिटरकोे सट्टा ५०० मिली मात्र पिउने ।

-मोटो व्यक्तिले मनतातो पानी मात्र पिउने । अम्ल पित्तको समस्या हुनेले चिसो पानी मात्र पिउने ।

पानी पिउने सही तरिका

खानापछि करिव १ घन्टासम्म पानी पिउनु हुँदैन । किनभने खाना खानासाथ जठाराग्नी सक्रिय भई भोजन पचाउने कार्यमा लाग्छ । यो कार्य करिब ९० मिनेटसम्म जारी रहन्छ । यदि पानी पिएमा पाचन क्रियामा बाधा पर्नेदेखि हृदयघातसम्म हुनसक्छ । तर, थोरै एक/दुई घुँट भने अप्ठेरो अवस्थामा पिउन सकिन्छ ।

पानी पिउँदा बिस्तारै थोरै र्‍याल मिसाई ठोस कुरा खाएको जस्तो गरी घुटघुट खानु (पिउनु) पर्छ । किनभने थोरै पानी पिउने गर्दा मुखको र्याल पेटमा जान सक्छ । त्यो र्यालले गर्दा हानिकारक फंंगस तथा ब्याक्टेरियालाई मारी विभिन्न रोगबाट बचाउन सक्छ ।

रक्तचाप समस्या हुनेले नुहाउनुभन्दा आधा घण्टा अगाडि १५० मिली वा २ गिलास पानी पिउने । सुत्नुभन्दा आधा घण्टाअगाडि १५० मिली पानी पिउनाले मुटु रोग तथा पक्षघात हुन पाउँदैन । धेरै चिसो पानी पिउनु हुँदैन । किनभने यसले हाम्रो पेटको अग्नि तत्व अर्थात पाचनतन्त्रलाई कमजोर बनाई दिन्छ ।

पानी हर हमेशा बसेर पिउनु पर्छ । उठेर पानी पिउँदा वृद्धावस्थामा घुँडा दुख्ने समस्या हुनसक्छ । मुहारमा उदासीपन छाउन सक्छ । भोजनको बीचमा अति आवश्यक परेमा मात्रै थोरै मात्रामा पानी पिउन सकिन्छ ।

भोजनको एक घण्टाअघि र पछि मात्र पानी पिउनु पर्छ । भोजनको समयमा बढी पानी पिउनाले पाचन क्रियामा नराम्रो असर पर्छ ।एक चोटी उमालेको पानी सेलाइसकेपछि दोबारा उमाल्नु वा तातो गर्नु हुँदैन । यसो गरे पानी बिष समान हुन्छ ।

बढी खाई अजीर्ण भएको बेला घण्टाघण्टामा एक–एक गिलास पानी पिउनु अमृततुल्य हुन्छ । जीर्ण अर्थात् भोक नलाग्ने समस्यामा पानी पिउनु बलप्रदायक हुन्छ । खाना खाँदा बीचमा एक–दुई घुटको पानीले भेषज अर्थात् औषधिको काम गर्छ ।

तर, खानाको अन्त्यमा पानी पिउने हो भने त्यो बिष बनेर नानाथरी रोग उत्पन्न गर्छ । साथै, बिहान जागरणपछि उषाकालमा पिएको दुई गिलास मनतातो पानीले असंख्य रोगको हरण गर्छ । साथै, पानी खाने, खाना पिउने मन्त्रलाई बिर्सनु हुँदैन ।

नुहाइसकेपछिको एक गिलास पानीले रक्तचाप घटाउन निकै सहायता गर्छ । खानाभन्दा एक घण्टाअगाडि पिएको एक गिलास पानीले पाचनप्रक्रिया र पाचन प्रणालीलाई चुस्तदुरूस्त राख्छ ।

सुत्नुभन्दा एकाध घण्टाअघिको एक गिलास पानीको सेवनले रातको समयमा हुनसक्ने हृदयाघातको खतरालाई घटाउँछ ।

पानी पिउन नहुने अवस्था

गर्मीयाममा सामान्य घुमफिर गर्दा योग प्राणायाम वा व्यायाम गर्दा, शारीरिक परिश्रम गर्दा तुरून्तै खाना वा खाजा खाने बेलामा, खाना वा खाजा खानेबित्तिकै तत्कालै पानी पिउनु हुँदैन ।

पाकेको आप, केरा, तरबुजा, मेवा, काक्रो आदि फल खानेबित्तिकै, अमिलो, चिल्लो पदार्थ, चिया, दूध पिउनसाथ, हाच्छ्यु गर्नासाथ दिसापिसाव तथा सहवास गर्नसाथ र उभिएर पानी पिउँदा स्वास्थ्यमा हानी पुग्छ । अति नै थाकेको बेला साथै श्रम, व्यायाम, दौड या मैथुन कार्य गर्नेबित्तिकै र अति नै भोक लागेका बेला पानी पिउनु हुँदैन ।

शरीर असजिलो अवस्था या आसनमा छ भने साथै सुतेको अवस्था तथा खाना खानुअगाडि र पछाडि अति तातो चिज खानेबित्तिकै पानी पिउन वर्जित छ । पानी पिएलगत्तै सुत्नु पनि हितकर मानिँदैन । फलफूल, सुर्ती चुरोटको धुवाँ तथा खैनी, गुट्खा, सुपारी सँगै पानी पिउनु हर दृष्ट्रिले रोगकारक हुन्छ ।

मात्रा घटाएर पानी पिउनुपर्ने अवस्था

शरद (असोज–कात्तिक) र गृष्म (जेष्ठ–असार) मा सामान्यभन्दा बढी र अरू मौसममा स्वस्थ व्यक्तिले समेत पानीको मात्रा घटाएर पिउनु राम्रो हुने आयूर्वेदमा उल्लेख छ । दिनभरीमा करीव अढाईदेखि चार लिटरसम्म अवस्थानुसार पानी पिउनु पर्छ ।

अरूचि, रूघा, नाकबाट पानी या सिँगान धेरै बग्ने, शरीर सुन्निने, क्षयरोग, मन्दाग्नि, उदर (पेटसम्बन्धी रोग), कुष्ठ रोग, ज्वरो, आँखाको रोग, घाउखटिरा आदिमा पानीको मात्रा घटाएर पिउनु स्वास्थ्यअनुकूल मानिन्छ ।

मौकामा पानी पिइयो भने बिहान खाली पेटमा पिएको २ गिलास पानीले सबै आन्तरिक अङ्गको क्षमतालाई दोब्बर बनाउन सहयोग गर्छ । घाम छिप्पिँदै जाँदा पानीको मात्रा बढाउँदै लाने र घाम अस्ताउँदै जाँदा मात्रा घटाउँदै पानी पिउने गरे शरीरको भित्रि वातावरण सन्तुलित रहन्छ ।

जारको पानी प्रयोग गर्दा होसियार हुनुपर्ने

हाल पिउने पानी तयार गर्दा टयूबेलको पानीमा फिल्टर गरी मीठो स्वादका लागि अदक्ष प्राविधकद्वारा अप्राकृतिक तथा अखाद्य रसायन मिसाउने गरेका पाइएको छ । यस्तो पानी अक्वारियममा राख्दा त्यसमा रहेका पूरै माछा मरेको पाइयो भने त्यस्ता पानी पिउँदा कति असर पर्ला सहजै अनुमान लगाउन सकिन्छ ।

माटो वा तामाको भाँडाको पानि लाभदायक छ । माटो या तामाको भाँडामा राखिएको पानी पिउने गर्नाले शरीरमा आवश्यक तामा तत्व पूरा गर्छ । पानीको ब्याक्टेरीया नष्ट गर्छ । डिसेन्ट्री, जन्डिस, झाडा, कब्जियत, ग्यास आदी समश्या बाट पर राख्छ । ज्वाइन्ट पेन, सुन्निने, दुखाइमा लाभ मिल्छ ।

क्यान्सर हुनबाट रोक्छ । पेटको आन्तरिक सफाइ, कलेजो र किड्नी स्वस्थ राख्छ । रगतको कमी समस्यामा लाभ पुग्छ । छाला सम्बन्धि समस्या हुनबाट रोक्छ । रातभर तामाको भाँडामा राखेको पानी बिहान पिउँदा मुटु स्वस्थ हुनुका साथै रक्तचाप नियन्त्रण गर्छ ।

नोट: माथि उल्लेखित स्वास्थ्य सम्बन्धी जानकारीहरु विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो । मानिसको शारिरिक अवस्था र समय अनुसार पनि माथि उल्लेखित कुराहरुको उपलब्धी फरक पर्छ । सम्पुर्णरुपमा यहि कुरामा मात्रै भर नपर्नुहोला । माथि उल्लेखित कुराहरु प्रयोग गर्दा तपाईको स्वास्थ्यमा थप खराबी देखिए, कृपया तुरुन्त रोकेर स्वास्थ्यकर्मीहरुसँग सल्लाह लिनुहोस् ।

साथै तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला । तपाइको एक सेयरले थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग मिल्नेछ ।