विश्व स्वास्थ्य संगठनका अनुसार प्रायः मानिसले आफ्नो जीवनमा एक या एकभन्दा बढीपटक टाउको दुखाइको समस्या भोगेका हुन्छन् । टाउको दुख्नुका कारण सामान्यदेखि प्राणघातकसम्म हुन सक्छन् । चिकित्सकहरूले जुनसुकै उमेर समूहका व्यक्तिलाई टाउको दुख्दा सामान्य रूपमा एकपटक आँखा जचाउन सल्लाह दिने गरिन्छ ।

प्रायः टाउको दुख्नुको कारण आँखासम्बन्धी समस्याले नै हुन सक्छ । आँखाको जाँचपछि वा आँखाको समस्याको उपचारपछि पनि टाउको दुख्न नछाडे समस्या अर्कै हुन सक्छ । यो अवस्थामा टाउको दुख्ने कारण यस्ता हुन सक्छन् :

टेन्सन हेडेक

यो सामान्य रूपमा हुने टाउको दुखाइको एक प्रकार हो । यस्तो प्रकारको दुखाइमा व्यक्तिले आफ्नो टाउको केही कपडाले कसेर बाँधेझैँ महसुस गर्छन् ।

माइग्रेन

माइग्रेन आफैँमा व्यापक विषय हो । सामान्य बुझाइमा यसलाई आधा टाउको दुखेको पनि भनिन्छ । यो प्रकारको दुखाइमा टाउकाको कुनै एक भाग (कहिले दाहिने, कहिले देब्रे) दुख्ने गर्छ । यो अवस्थामा वाकवाकी आउने, बान्ता हुने, उज्यालोमा हेर्न असहज हुनेजस्ता समस्या पनि हुन्छ ।

क्लस्टर हेडेक

यो प्रकारको टाउको दुखाइ थोरै मानिसमा मात्रै हुने गर्छ । दिनमा कुनै एक समयमा दुख्ने र फेरि निश्चित समयको अन्तरपछि दुख्ने लक्षण देखिन्छ । बिरामीले यो प्रकारको दुखाइमा जीवनकै सबैभन्दा बढी दुखाइको रूपमा चित्रण गर्छन् ।

कस्तो दुखाइमा डाक्टरकहाँ जाने ?

अन्य सामान्य अवस्थाको भन्दा फरक किसिमले दुखेमा ।

अचानक र असाध्यै दुखेमा ।

दुखाइसँगै ज्वरो आउने, खोकी लाग्ने, घाँटी उचाल्न वा घुमाउन असजिलो भए ।

टाउको दुखाइसँग आँखा हेर्न अप्ठ्यारो हुने, एउटा चिज दुईवटाजस्तो देखिने, हातगोडा लाटो हुने, चक्कर लाग्ने, वान्ता हुनेजस्ता लक्षण देखिए ।

टाउको दुख्नुको संवेदनशीलताबारे सजग भएर सकेसम्म तुरुन्त दक्ष चिकित्सकको सल्लाह लिनु उपयुक्त हुन्छ ।

टाउको दुखाइ कम गर्न

टाउको दुखे वा दुख्लाजस्तो भए दैनिक जीवनमा निम्न विषयमा ध्यान दिनुपर्छ । केही पाटोमा विचार पुर्‍याए दुखाइ केही हदसम्म कम गर्न सकिन्छ ।

दैनिक ६–८ गिलास पानी अनिवार्य पिउने ।

दैनिक सागपात तथा फलफूल खाने ।

सुर्तीजन्य पदार्थ र मदिरा सेवन नगर्ने ।

दीर्घकालीन रोगहरू, जस्तैः मधुमेह, उच्च रक्तचापलगायत समस्या छ भने नियमित जाँच गराउने ।

शारीरिक व्यायाम गर्ने ।

आँखा जाँच गराइराख्ने ।

यो पनि

टाउको दुखाइ आँखा, मस्तिष्क, रगतका नसाहरू, रगतको प्रवाहमा हुने अवरोध, रक्तचाप र अन्य अंगका रोगसँग पनि सम्बन्धित हुने भएकाले दक्ष चिकित्सकको सल्लाहमा रोग पहिचान गरी उपचार विधि अपनाउनुपर्छ ।

स्वयंले दुखाइ कम गर्न खोज्ने तथा औषधि प्रयोग गर्ने बानीका कारण धेरै रोग पुरानो भएर समस्या निम्त्याइरहन्छन् । वेलैमा चिकित्सककहाँ जाने र सही उपचार गराउने हो भने जटिल रोग ठीक गराएर जीवनलाई सामान्य अवस्थामा फर्काउन सकिन्छ ।

दुखेको टाउको ठिक गर्ने १२ उपाय

धेरैबेर सम्म टिभी अथवा कम्प्युटरमा व्यस्त हुँदा, मध्यपान गरेर विहानीपख ह्याङ्गोभर हुँदा अनि घरव्यवहारको चिन्ताले गर्दा धेरैजसोलाई टाउको दुख्ने समस्याले सताइरहेकै हुन्छ। अलिअलि टाउको दुख्दा त कुनै काम गर्नको लागि असहज हुन्छ भने ४\५ दिनसम्म लगातार टाउको दुख्दा कस्तो हालत हुन्छ।

यसरी कैयौँ दिनसम्म लगातार टाउको दुख्ने समस्यालाई ‘माइग्रेन’ भनिन्छ। माइग्रेनबाट ग्रसित हुनेहरूलाई विशेष गरी आधा टाउको दुख्ने गर्दछ। कहिले दाहिने टाउको दुख्छ भने, कहिले देब्रे! कहिले अगाडिको टाउको दुख्छ भने कहिले पछाडिको!

यसरी लगातार टाउको दुख्न थालेपछि विभिन्न थरीका औषधीहरू प्रयोग गर्ने गरिन्छ। तर यसरी नियमित रूपमा पेनकिलर तथा सिटामोलको प्रयोग गर्नाले टाउको दुख्ने समस्या झन् बढी हुँदै जाने नयाँ खोजले बताएको छ।

त्यसो भए यसको समाधान के त?

१. यौन सम्पर्क

न्यूरोलोजिस्टहरूका अनुसार माइग्रेन जस्तो लगातार टाउको दुख्ने समस्यालाई नियमित रूपमा यौन सम्पर्क गर्दा धेरै राहत मिल्दछ। अनुसन्धानमा संलग्न भएका आधाभन्दा बढी माइग्रेन ग्रसितहरूले यौन सम्पर्कपछि त्यसको लक्षणमा केहि कम आएको महशुस गरेका थिए। यौन सम्पर्क गर्नाले हाम्रो शरीरमा प्राकृतिक पेनकिलर ‘इण्डोरफिन’ पैदा हुने गर्दछ र मांशपेसी दुख्ने, टाउको दुख्ने जस्ता समस्यालाई कम गर्दछ।

२. महङ्गा पेनकिलरको प्रयोग नगर्नुहोस्

‘प्लस’ अथवा ‘एक्स्ट्रा’ लेखेका पेनकिलरहरूबाट टाढै रहनुहोस्। यसको प्रयोगले छिटै टाउको दुखेको निको हुन्छ भन्ने धेरै मानिसहरूको धारणा रहेको हुन्छ, तर यस्ता औषधीहरूमा क्याफिन र कोडिन जस्ता रसायनहरूको प्रयोग गरिएको हुन्छ, जसले गर्दा हाम्रो शरीरलाई चाहिने हर्मोनहरूको विकासमा वाधा पुर्याउँदछ।

३. सिधा भएर बस्नुहोस्

टाउको दुख्यो भन्दैमा कुर्सीमा बसेर निहुरो पर्नु अथवा टाउको पछाडि पारेर बस्नु उचित हुँदैन। यसरी कुर्सीमा सी-आकार (C-shape) मा बस्दा हाम्रो टाउको ठाडो हुन जान्छ र घाँटी तन्किन जान्छ। यसरी घाँटी तन्किँदा मस्तिष्कका स्नायुहरू च्याप्पिने हुन्छ र टाउको दुख्न कुनै बेर लाग्दैन।

त्यसैले कुर्सीमा बस्दा दुवै खुट्टाले सिधा भुइँमा टेक्नुहोस्, पिठ्युँ र घुँडालाई सिधा राख्नुहोस्, ढाडलाई पनि सिधा बनाउनुहोस् र अगाडि हेर्नुहोस्। यस्तो पोजिसनमा बस्दा शरीरको काम गर्ने प्रक्रियामा कुनै बाधा नपुग्ने चिकित्सक सल्लाह दिने गर्दछन्।

४. ह्याम स्याण्डवीच तथा ह्याम बर्गर नखानुहोस्

यदि तपाईँलाई टाउको दुख्ने समस्याले सताइरहन्छ भने, ह्याम राखिएका बाह्य खानेकुराहरूको सेवन नगर्नुहोस्। यसमा ‘टाइरामाइन’ र ‘नाइट्रेट’ जस्ता तत्वहरू हुन्छन्, जसले मस्तिष्कमा रगतको चाप बढाउने काम गर्दछ। मस्तिष्कमा रगतको चाप बढेपछि टाउको दुख्नु स्वाभाविक नै हुन जान्छ।

साँधेको, गाढेको, पोलेको र बफाइएको खानेकुराहरूमा पनि टाइरामाइन प्रशस्तै हुने गर्दछ, त्यसैले गाढेको अचार मीठो छ भन्दैमा नखानुहोला।

५. गेडागुडी धेरै खानुहोस्

गेडागुडीमा ‘म्याग्नेसियम’ जस्ता फाइदाजनक खनिजपदार्थ धेरै मात्रामा पाइन्छ, यसले शरीरका माशंपेसीहरूलाई आराम प्रदान गर्दछ। हाम्रो शरीरमा म्याग्नेसियमको मात्रा कमी भयो भने मस्तिष्कमा रगतको चाप कम हुने तथा रगतमा सुगरको मात्रा कम हुने हुन्छ, जसले गर्दा टाउको दुख्ने समस्या निम्त्याउने चिकित्सकहरूको धारणा रहेको छ।

अनुसन्धानकर्ताहरूले खोज गरेअनुसार धेरैजसो माइग्रेन ग्रसितहरूमा म्याग्नेसियमको मात्रा कमी भएको देखिएको छ।
म्याग्नेसियम प्रशस्तै पाइने अन्य खाद्यपदार्थहरूमा हरियो सागपात, गोलभेडा, आलु, जौ, फापर, आदि पनि पर्दछन्।

६. पर्फ्युमलाई बिर्सिदिए हुन्छ

कडा बासना भएका पर्फ्युम, आफ्टरसेभ, साबुन, एयर फ्रेसनर तथा घरायसी सामान सफा गर्ने कुराहरूमा हाम्रो नाकमा भएका स्नायू कोषहरूलाई सक्रिय गराउने रसायनिक पदार्थहरू हुन्छन्।

ती स्नायू कोषहरूको सिधा सम्बन्ध मस्तिष्कसँग हुने गर्दछ। कतिपय व्यक्तिहरूमा यसले गर्दा कडा टाउको दुख्ने समस्या हुन जान्छ। त्यसैले यदि फ्रेसनर प्रयोग गर्नुहुन्छ भने झ्यालबाट हावा छिर्न दिनुहोस् र रसायनबिहीन फ्रेसनरको प्रयोग गर्नुहोस्।

७. २०\२० नियमको पालना गर्नुहोस्

कार्यालयमा दिनैभरी कम्प्युटरको स्क्रीनमा हेरिराख्ने व्यक्तिहरूमा धेरैजसो टाउको दुख्ने समस्या देखापर्ने हुन्छ। त्यसको साथसाथै थकाइ लाग्ने र आँखा तिरमिराउने जस्ता शारीरिक समस्या पनि देखापर्न सक्छ।

त्यसैले हरेक २० मिनेटमा कम्प्युटर स्क्रीनबाट आँखा हटाउनुहोस् र लगभग २० फिट पर २० सेकेण्डसम्म हेर्ने बानी बसाल्नुहोस्।

८. कपाललाई नकस्नुहोस्

कपाललाई बेस्सरी कसेर बाँध्दा तालुमा भएका स्नायू कोषहरू खुम्चिने गर्छन् र टाउको दुख्ने समस्या आउन सक्छ। त्यसैले, विशेष गरी महिलाहरूमा माइग्रेनको समस्या छ भने कपाल छोडेर राख्नुहोस् अथवा हलुका मात्रै बाँध्नुहोस्।

९. प्रशस्त पानी पिउनुहोस्

पानीबिना कुन प्राणीको जीवन सम्भव छ होला र? मानिसहरूमा धेरैजसो शारीरिक समस्या तथा डरलाग्दा रोगहरूको कारण नै पानीको कमी हुनु हो। टाउको दुखिराखेको छ भने पनि १\२ गिलास सफा पानी आरामले पिउनुभयो भने पनि धेरै राहत पाउन सकिन्छ

१०. शरीरलाई प्रशस्त निन्द्रा दिनुहोस्

आफ्नो शरीरको स्वास्थ्यभन्दा महत्वपूर्ण अरू केहि पनि हुँदैन। शरीर नै नरहे अरू के कुराको मतलब हुन्छ र? त्यसमाथि निन्द्रा भनेको त शरीरलाई नभई नहुने कुरा हो। दिनभरीको काम र व्यवहारले हामी शारीरिक तथा मानसिक दुवै तवरले थकित भइरहेका हुन्छौँ, त्यस्तो बेलामा शरीरलाई आरामदायी निन्द्राको खाँचो पर्दछ।

११. योग गर्नुहोस्

विहान उठेर विभिन्न योगका आसनहरू गर्नाले पनि टाउको दुख्ने समस्यामा कमी हुँदै जान्छ। योग गर्नाले शरीर तथा दिमागलाई आराम मिल्ने र आफ्नो दुखाइमा नियन्त्रण हुने पनि योगविदहरूको विश्वास रहेको छ।

१२. सहने बानी बसाल्नुहोस्

यदि तपाईँलाई माइग्रेन नै भएको हो भने, त्यसको दुखाईको बारेमा तपाईँलाई थाहै हुनुपर्ने! कुनै पनि पेनकिलर खाएपनि सञ्चो हुँदैन, न पानी पिएर ठीक हुन्छ, न मसाज गरेर! त्यसैले यसको सबैभन्दा उचित तर गाह्रो उपाय भएको ‘सहनु’ नै हो।

नोट: माथि उल्लेखित स्वास्थ्य सम्बन्धी जानकारीहरु विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो । मानिसको शारिरिक अवस्था र समय अनुसार पनि माथि उल्लेखित कुराहरुको उपलब्धी फरक पर्छ । सम्पुर्णरुपमा यहि कुरामा मात्रै भर नपर्नुहोला । माथि उल्लेखित कुराहरु प्रयोग गर्दा तपाईको स्वास्थ्यमा थप खराबी देखिए, कृपया तुरुन्त रोकेर स्वास्थ्यकर्मीहरुसँग सल्लाह लिनुहोस् ।

साथै तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला । तपाइको एक सेयरले थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग मिल्नेछ ।

भिडियाे हेर्नुहाेस्ः