मानसिक तनावका थुप्रै कारणहरू छन्। हाम्रो जीवनलाई, हाम्रो अवस्थालाई कसरी लिन्छौ। त्यो चिजसँग हाम्रो तनाव निर्धारित हुन्छ। कुनै व्यक्तिलाई एउटा घट्नाले तनाव दिन सक्छ भने अर्कोलाई नदिन सक्छ। जस्तै भूकम्पका कारण कति व्यक्तिलाई तनाव भयो कतिलाई भएन।

मुख्य कुरा कुनै पनि घटन्लाई हामी कसरी हेर्छो भन्ने हो। मेरो आफ्नो क्षमता कति छ? कुनै पनि चिजलाई कसरी सम्हाल्नुहुन्छ? जब आफ्नो क्षमताले आफ्ना समस्यालाई समाधान गर्न सकिदैन तबसम्म तनाव भइरहन्छ।

१. ब्यक्तिगत सम्बन्ध :

तपाईँको जीवनमा साथ दिने सहयोग गर्ने मानिसहरुसंग राम्रो र स्वस्थ ब्यक्तिगत सम्बन्ध राख्नुस् । मानसिक स्वास्थ्यमा ब्यक्तिगत सम्बन्धको धेरै ठूलो भूमिका हुन्छ ।

२. मनोरञ्जनलाई समय दिनुस् :

आफ्नो दैनिक कार्यमा तपाइले भित्रबाटै गर्न मन पराउने क्रियाकलाप नाचगान खेल आदिको लागि समय निकाल्नु अत्यन्त जरुरी हुन्छ ।

३. समूहमा सहभागी :

आफ्नो जस्तै रुची भएका ब्यक्तिहरुको समूहमा सहभागी हुने र रुचिका बिषयमा कुराकानी र भावना बिचार आदानप्रदान गर्न तपाइलाई मानसिक रुपमा स्वस्थ रहन मद्दत गर्छ ।

४. सामूदायिक क्रियाकलाप :

सामुदायिक क्रियाकलापमा सहभागी हुने गर्नाले आफूले समूदायलाई केही दिन सकेको खुसी मिल्छ । समुदायको बिकास निर्माण जनचेतना, सामूदायिक हितका कार्यक्रममा स्वयंसेवक बनी आफ्नो श्राम, ज्ञान र अनुभव बाड्नुहोस् ।

५. आफ्नो हेरचाह :

आफनो खानपान सरसफाई शारीरिक स्वास्थ्य आदिमा ध्यान दिनु आवश्यक छ । यसले तपाईको मानसिक स्वस्थ्यमा टेवा पुर्याउँछ ।

६. आफैलाई चुनौति :

कामकाजको समय होस् या अरु कुनै बेला आफैलाई नयाँ र नौलो कामको लागि चुनौति थप्नुस् । चुनौति पुरा गर्न नयाँ तरिका ज्ञान र अनुभवको खोजी गर्नुस् यसले तपाइलाई ब्यस्त र स्वस्थ राख्छ । चुनौति पुरा हँुदा तपाइको आफ्नो स्वयं बिकास भएको अनुभूति हुन्छ र खुसी लाग्छ ।

७. तनावको सामना :

तपाईलाई कस्तो अवस्था र ब्यबहारले तनावमा ल्याउँछ । र तनावको बेला तपाई कसरी प्रतिवाद गर्नुहुन्छ । यो आफैले बुझ्न जरुरी हुन्छ । र यो बिरुद्ध निरन्तर अभ्यास गरेर तनावको प्रभाव आफूमा कम गर्न सक्नुहुन्छ ।

८. पुनर्ताजकी :

मानसिक रुपमा स्वस्थ रहन निन्द्राको ठूलो भूमिका हुन्छ । नियमित रुपमा सही समयमा सुत्ने र उठ्ने बानीदखिे तपाईँलाई ताजा राख्छ । यसैगरी दिनभरीको कामको बीचबीचमा केही छोटो समय निकालेर कामको तनाबबाट पर रहने, टि भी हेर्ने, गफ गर्ने गर्नाले पुनः ताजा भई प्रभावकारी रुपमा काम सम्पन्न गर्न सकिन्छ ।

९. बर्तामानको महसुस :

धेरे जसो मानिसको मस्तिष्कमा या त पहिलेकै समयमा भएको सफलता असफलताका बारेमा भविष्यको योजना खेलिरहेको हुन्छ । यो गरिरहदा कहिलेकाहि तपाइले वर्तमानलाई भूलेको हुन सक्छ । त्यसैले कहिलेकाहि भूत र भविष्य भूलेर वर्तमानलाई महसुस गरी रमाउन सिक्दछौं र मानसिक रुपमा स्वस्थ रहन सक्छौं ।

१०. मद्दत :

अरुलाई मद्दत गर्दा तपाइलाई खुसी त मिल्छ नै तर तपाइ आफै आफनो समस्याको बेला कत्तिको मद्दत माग्नु हुन्छ । कतिपय कामको सिलसिलामा समस्या उतपन्न हुन्छ । र तपाइलाई मद्दतको जरुरी पर्छ ।

यस्तो अवस्थामा निधक्र्क भएर मद्दत माग्नु उत्तम हुन्छ । यसले आफनो समस्या सेयर हुनुको साथै समाधानको उपाय अथवा मद्दत नै मिल्ने संभावना बढी हुन्छ र तपाइ मानसिक तनावबाट मुक्त रहन सक्नुहुन्छ ।

थप जानकारीः

तपाईलाई पनि मानसिक रोग लागेको छ कि ?

मानसिक रोगीहरुसँग मैले लामो समयदेखि संगत गरिरहेको छु । यसैले मानसिक रोगीहरुका स्मरणीय स्टोरीहरु धेरै छन् । तर गोपनीयता उनीहरुको अधिकार भएकाले विस्तृत भन्न चाहन्न ।

हरेक चारजनामा एकजना मनोरोगी हुन्छन् । हरेक रोगअनुसार स्टोरीहरु फरक फरक हुन्छन् । हामी रोगको कारण जान्न कैयौं दिन र घण्टौं लगाएर बिरामी र उनका आफन्तसँग अन्तरक्रिया गर्छाै ।

धेरै महिलाहरु सासु बुहारीको झगडामा मनोरोगी बनेका छन् । कोही बैदेशिक रोजगारका कारणले पनि मनोरोगी बनेका छन् । कसैलाई कम उमेरमा विवाह गरिदिन खोज्दा, कोही आफ्नो क्षमता भन्दा धेरै चिन्ता लिने हुँदा, कोही दुर्घटनाको तनाबले पनि मनोरोगी भएका हुन्छन् ।

पतिपत्नीमा यौन ज्ञान र मायाप्रेमको अभाव पनि रोगको कारण बनेको पाइन्छ । हाम्रो समाजमा पहिले श्रीमान बरालिन्थे अहिले विदेश जान्छन् ।

मनोरोग के हो ?

मनोरोग भनेको नयाँ हैन । यो मानवमा पहिलेदेखि नै थियो । त्रेतायुगमा अध्योध्याका राजा भगवान रामचन्द्रका पिता राजा दशरथलाई पनि मनोरोग थियो । छोरा रामचन्द्र वनवास गएपछि उनी दरबारमा उदास भएर बस्ने गर्थे, जसलाई बैरागीपन भनियो ।

मानसिक स्वास्थ्य भनेको मन र मष्तिष्कको अवस्था हो । जब मन र मष्तिष्कमा गडबड हुन्छ, मनोविकार उत्पन्न हुन्छ । मनले मुटु र पेटमा जैविक प्रकृया र उच्च मानसिक क्रियाकलाप गराउँछ । यो सबै मान्छेले बुझेका हुँदैनन् ।

मनोरोग लागेपछि व्यक्तिको व्यवहारमा परिवर्तन आउन थाल्छ । मानसिक रोग लागेपछि व्यक्तिको बोलीवचन, आभाष, स्मरण, चेतना व्यवहार आदि सबैमा परिवर्तन आउन थाल्छ । हो, यही गडबड भएको ज्ञान मान्छेमा हुँदैन, र यो रोगलाई उनीहरुले धेरै रहस्यमय रुपमा लिइरहेका हुन्छन् ।

राजा दशरथका पालामा दरबारका बैद्यहरुले राजाको उदासीनता हटाउन अनेक उपाय लगाए होलान् । नर्तकी नचाए होलान्, औषधि भन्दै मादक पर्दाथ सेवन गराए होलान् । यस्ता उदाहरण अरु पनि होलान् । फरक यत्तिमात्र हो, आजकल मनोरोगको वैज्ञानिक तवरले सटिक उपचार हुन्छ । त्योबेला सटिक उपचार थिएन ।

मनोरोग जोकोहीलाई पनि लाग्न सक्छ । यसले बुढो, बालक, जवान, महिला, पुरुष, धनी, गरिब कोही भन्दैन । हाल विश्वमा तीन सय भन्दा बढी प्रकारका रोगहरु पत्ता लागिसकेका छन् । यसको उपचार सम्भव छ ।

बीपी अस्पताल धरानकै कुरा गर्ने हो भने सन् २००६ मा चार सय बिरामी ओपीडीमा आएका थिए । तर, सन् २०१३ मा बिरामीको संख्या ओपडीमा मात्र करिब १८ हजार नाघेको छ ।

मनोरोग र डिप्रेसनमा के फरक छ ?

मनोरोग भन्नेवित्तिकै डिप्रेसन (उदासिनता) हो भन्ने आम बुझाइ छ । तर, सबै मानसिक रोग डिप्रेसन हुँदैनन् । डिप्रेसनले धेरै मान्छेलाई सताउने भएकाले मात्र यस्तो बुझाइ भएको हो । डिप्रेसनकै कारण धेरैले आत्महत्या पनि गरेका छन् । नशा सेवन पनि मानसिक रोग हो । ‘एन्जाइटिस’ पनि मानसिक रोग हो ।

मानसिक रोग नर्मल र कडा अनि जटिलखाले हुन्छन् । रोगबारे बुझेर समयमै उपचार गराउन सके सबै मानसिक रोग निको हुन्छ । समान्य डिप्रेसनलाई अस्पताल भर्ना गरिरहनु पर्दैन । तर, कडाखाले रोग लागेमा भर्ना आवश्यक छ।

मनोरोगका लक्षण के हुन् ?

धेरैले मानसिक स्वास्थ्यबारे चासो राख्दैनन् । तर, स्वस्थ्य मानसिकता भएको व्यक्ति हुन यति ख्याल गरे पुग्छ । जस्तो, व्यक्ति तनाव वा बेचैनीबाट मुक्त हुनुपर्छ । दैनिक जीवन आरामदायी हाँसीखुसी र सुखप्रद बित्नुपर्छ । जीवनमा उद्देश्यका लागि उत्प्रेरणा हुनुपर्छ । समाजमा सहयोगको भावना हुनुपर्छ ।

फुर्सदको समय बिताउने आफ्नै तौरतरिका र सृजनशील मन हुनुपर्छ । कुनै पनि प्रकारको मनोरोग वा समस्याको लक्षण हुनुहुँदैन । अर्थात मानसिक स्वास्थ्यबारे बुझ्नुपर्दा तीन गुणलाई बुझनु राम्रो हुन्छ । आफनो विषयमा सन्तुष्टि वा खुसी, अरु व्यक्तिसँगको सम्बन्धमा निश्चिन्तता र जीवनका आवश्यकता पूरा गर्न सक्षमता ।

तर, यसको विपरीत सधैं चिन्ताग्रस्त हुनु , ध्यान एकाग्र गर्न नसक्नु, मन बेखुश हुनु । र, नियन्त्रण गर्न नसक्नु, निन्द्रामा गडबडी हुनु, मन कहिले उदास त कहिले उन्मादिलो हुनु, दैनिकी बिथोलिएर अप्ठेरो अवस्था आउनु, लामो समयदेखि दिक्दारी महसुस हुनु, बिना कारण डरलाग्नु, आफुमात्र ठीक अरु सबै बेठीक भन्ने लाग्नु आदि भएमा मानसिक समस्याका खतरा सूचक लक्षण हुन् ।

 

मानिसमा रहेका गलत धारण कसरी हटाउने ?

मनोरोग केहीलाई मात्र लाग्छ । यो एकैथरिको हुन्छ । बालबालिकालाई यो रोग लाग्दैन । मानसिक रोग चारित्रिक कमजोरी र इच्छाशक्तिको अभावमा मात्र लाग्छ । मनोरोग भुतप्रेत, पिशाच, दैवी स्राप, बोक्सीको बिगार वा जंगङ्गली लागेर मात्रै हुन्छ भन्ने धारणा गलत हो।

डाक्टरी दबाइले यो रोग निको हुँदैन र झन नराम्रो हुन्छ भन्ने धारणा पनि गलत हो । जादु, टुना, धामीझाँक्रीबाट उपचार गराउनुपर्छ भन्ने सोचाइ सही होइन । त्यस्तै मनोरोगीहरु हिंसात्मक हुन्छन् र एकपल्ट मनोरोग लागेपछि ठीक हुनै सक्दैन ।

भन्ने सामाजिक धारणा पनि गलत हो ।मनोरोग लागेको मान्छेसँग सम्पर्क गर्‍यो भने आफूलाई पनि सर्छ वा मनोरोगको उपचार महंगो हुन्छ भन्ने कतिपय मानिसहरुको धारणा छ, जुन गलत हो ।

त्यस्तै युवा अवस्थामा मनोरोग लाग्यो भने बिहे गरिदिनुपर्छ ठीक हुन्छ भन्ने अनेक भ्रम छन् । तर, बिहे गर्दैमा, धामी लगाउँदैमा मनोरोग निको हुँदैन । कडा मनोरोग लागेको व्यक्तिसँग निको नभएसम्म अर्को व्यक्तिले विवाह नगरेको राम्रो । गर्नैपर्ने बाध्यता भए सबै कुरा बुझेर र बुझाएर गरेको राम्रो ।

अझै पनि मनोरोग अन्य रोगहरु जस्तै समान्य रोग हो र यो सबैलाई लाग्छ भन्ने बुझाइ प्रस्ट भैसकेको छैन । धेरैले मनोरोग लागेमा रोग लागेको व्यक्तिलाई मात्र हैन, परिवारलाई नै हेयको दृष्टिले हेर्ने र असहयोग गर्ने गलत व्यवहार कायमै छ । अझ मनोरोगीहरुलाई पागल -म्याड) भनेर होच्याउने, हीन भावनाले हेर्ने, कमजोर बनाइदिने गरिन्छ ।

मनोरोगीहरुको व्यवहार असाधारण हुने भएकाले उनीहरुको व्यवहारलाई अतीतको रुपमा लिएर उनीहरुलाई गाली गर्ने कुुटपिट गर्ने गरिएको छ । मनोरोग लागेकाहरुलाई असल व्यवहार गर्नुपर्छ भन्ने आम बुझाइ विकास भएकै छैन ।

अझ छोरी मान्छेलाई मनोरोग लागेमा त झन सिंगो परिवार मात्रै नभएर कुललाई नै बदनाम गराउने खराब सोच पनि छँदैछ । मनोरोगबारे नेपाली समाजमा नपढेका, कम पढेकाहरु मात्र हैन, पढेलेखेका शिक्षितहरुमा पनि गलत धारण व्याप्त छ । तर यसमा सत्यता छैन ।

मनोरोग पनि अन्य रोगहरु जस्तै हो । जसरी रुघाखोकी लागेको व्यक्ति समयमै उपचार गर्दा ठीक हुन्छ, उसैगरी मनोरोग लागेको व्यक्ति पनि समयमै उचित उपचार गरे ठीक हुन्छ । जसरी समयमा उपचार नगर्दा रुघाखोकी बिग्रेर निमोनिया हुन्छ, उसैगरी सुरुमा उदासीनता (डिप्रेसन) बाट सुरु भएको रोग कडा मानसिक रोगमा परिणत हुन्छ र उपचारमा समय लिन्छ ।

अझै भनौं समयमै उपचार नगर्दा जसरी शरीरमा क्यान्सर हुन्छ, उसैगरी मनोरोग पनि बढेर गएमा जटिल प्रकारको हुन पुग्छ, जसले व्यक्ति, परिवार र देशलाई समेत हानी पुर्‍याउँछ ।

मानसिक रोगका कारणहरु के के हुन ?

मानसिक रोगका मुख्य तीन तत्व हुन्छन् । एउटा जैविक, अर्को समाजिक अनि मनोवैज्ञानिक । जैविक कारण भनेकै हाम्रो शरीरको रसायनिक प्रकृया हो । रसायनले गर्दा मष्तिष्क र मनमा गडबड भएमा यो रोग लाग्छ ।

अर्को हाम्रो समाजिक व्यवहार हो । अनि चेतन अवचेतन अवस्थामा हुने मनोवैज्ञानिक प्रतिक्रिया पनि हो ।
मानसिक रोग पनि अरु रोगहरु जस्तै हो । रोग बढाउने तत्व बढे यो रोग बढ्छ र घटेमा यो रोग घटछ । मानसिक रोगमा उपचार मात्र नभई रोगको म्यानेजमेन्ट पनि प्रमुख हुन्छ ।

छारे रोग, माइग्रेन, नशाको लत र दुव्र्यसनजन्य समस्या, उदासीपन, दुई ध्रवीय भावनाको मनोरोग, बिचार र संस्कारको दुश्चक्रको मनोरोग, एक्कासी सन्त्रास हुने मनोरोग, लगातार आत्तिने मनोरोग, सामाजिक परिस्थितिहरुमा आत्तिने मनोरोग, निश्चित कुरादेखि डराउने मनोरोग, शारीरिक रोगबिना शारीरिक लक्षण हुने मनोरोग, हिस्टेरिया, आदि अनेक प्रकारका मनोरोगहरु समाजमा देखापरेका छन् ।

यी मानसिक तनाब, द्वन्द्व, वैदेशिक रोजगारी, सांस्कृतिक परिवर्तन, व्यक्तित्वको गडबडी आदि अनेक समस्याले गर्दा देखापरेका हुन् ।

मनोरोग तीनसय भन्दा बढी प्रकारको पाइएको छ । । रोगको उपचार गर्नुमात्र हैन, रोगलाई समाजबाट क्रमसः निर्मूल गर्दै लान चिकित्सक र स्वास्थ्यकर्मी मात्र हैन, समाजमा व्यत्ति, घरपरिबार र समुदाय पनि उत्तिकै जिम्मेबार हुनुपर्छ ।

रोगबारे बिरामीहरु, परिवारजन, तिनको हेरचाहमा संलग्न व्यक्तिदेखि रोगबारे जान्न चाहने जोकोही पनि सचेत हुनसके मात्र लुकेका रोगहरु पत्ता लगाउन सहज सजिलो हुन्छ ।

मनोरोगबारे अन्य चिकित्सा क्षेत्रमा संलग्न विभिन्न कार्यक्रमका विद्यार्थी, स्वाथ्यकर्मी र चिकित्सकसमेत जानकार हुँदैनन् । यसैले मलाई लाग्छ, मनोरोगबारे सबैले जान्नु बुझनु आवश्यक छ । तर, अल्पज्ञानकै भरमा मनोरोगको उपचार गर्नु र पुस्तक पढेकै भरमा औषधी प्रेस्क्रिभ चाँहि गर्नु हुँदैन । बरु विज्ञ भएको अस्पतालमा जाने सल्लाह दिनुपर्छ ।

मनोरोगीसँग कस्तो व्यवहार गर्ने ?

हाम्रो समाजमा मनोरोगलाई हेर्ने दृष्टिकोण नै संकुचित भएकाले मनोरोग लागेपछि परिबार आत्तिने गरेको पाइन्छ । मनोरोगलाई सोसाइटीले पनि गलत तरिकाले व्याख्या गरिदिने हुनाले परिवारलाई अझै प्रेसर पर्छ ।

यसैले किशोरी उमेरमा मनोरोग लागेमा उपचार गराउनुको साटो बिहे गरिदिए ठीक हुन्छ भन्ने ठानेको पाइन्छ । तर यो गलत हो, हामीकहाँ आउने धेरै बिरामीहरु यस्तै पीडित भएको पाएका छाैं ।

मनोरोग लाग्दैमा आत्तिनुपर्दैन । संसारमा रोग नभएको मान्छे सायदै होलान् । यसैले मनोरोग लागेको व्यक्ति र तिनको परिवारलाई हेलाहोचो गर्नुहुँदैन । बिरामीलाई होच्याउनु, अवसरबाट वञ्चित गराउनुहुँदैन । मनोरोगीहरुलाई पेशामा, समुदायमा, राज्यमा सबैतिर विभेद छ । विभेद हटाउन परिबारबाटै सुरु गर्नुपर्छ ।

अझै पनि मानसिक रोगलाई कानुनीरुपमा लिने चलन छ । तर, यसलाई कानुनी समस्या हैन, स्वास्थ्य समस्याका रुपमा लिनुपर्छ । मानसिक रोग लाग्दैमा मान्छे अयोग्य हुँदैन । उसको रोग ठीक भएर पुनः दक्षतापूर्वक काम गर्न सक्छ ।

मानसिक रोगको सही उपचारमा औषधि नै मुख्य कुरा हो । जैविकता मुख्य कुरो भएकाले पनि औषधिलाई बढी प्राथमिकता दिइएको हो । तर, पनि औषधि मात्रै सबैथोक चाँहि होइन । बिरामीका लागि मिल्दो व्यवहार पनि अर्को औषधि हो । मानसिक रोगीसँग गर्ने व्यवहार सही हुनुपर्छ । जहिल्यै पनि प्रोत्साहनपूर्ण व्यवहार गर्नुपर्छ ।

मानसिक रोगका चुनौतीहरु

नेपालको कुरा गर्दा औषधी सुलभ छ । शिक्षण संस्थाहरुमा मानसिक बिभाग हुनुपर्ने नियम छ । तर, केहीमा छैनन् पनि । निजी क्षेत्रले पनि धेरै समेटन थालेको छ । दक्ष मनोरोग विशेषज्ञ र नर्सहरु आइरहेका छन् ।

हाल नेपालमा ७५ जना दक्ष मनोरोग बिशेषज्ञहरु तयार भैसकेका छन् । तर, धेरै विकल्पहरु भए पनि यी सबै असमान वितरणको कारणले गर्दा सीमित ठाउँमा मात्रै सीमित छन् ।

मानसिक रोगबाट जोगिने उपाय के हो ?

राज्यले मानसिक स्वास्थ्य र मनोरोगबारे पर्याप्त चेतना जगाउनुपर्छ । किनभने मानोरोगमा स्वयं व्यक्ति मात्र हैन, परिवारको दायित्व पनि धेरै हुन्छ । रोग पहिचान गरेर अस्पतालसम्म ल्याउने त परिबारले नै हो । यसैले पनि सरकारले अन्य रोगहरुमा नीति बनाएर सचेतना बढाएजस्तै मानसिक रोगबारे पनि प्रस्ट नीति बनाएर लागू गराउनुपर्छ ।

राज्यले मानसिक रोगीहरुलाई पनि अन्य रोगीहरु जस्तै व्यवहार गर्न चाहिरहेको छैन, यो दुखको कुरा हो । किनभने मानसिक रोग पनि अन्य रोगहरु जस्तै भएकाले उनीहरुमाथि विभेद हुनुहुँदैन ।

सरकारले स्वास्थ्य नीति बनाउँदा तथ्यपूर्ण अध्ययन अनुसन्धानको आधारमा बनाउनुपर्छ । मानसिक स्वास्थयबारे राज्यले धेरै जनचेतना जगाउनुपर्ने खाँचो छ । अझै पनि धेरै रोगीहरु गाउँघरमा लुकेर बस्न बाध्य छन् ।

उनीहरुले उपचार पाउन सकेका छैनन् । यसका लागि सरकारले सरकारी र निजी दुबै सञ्चारमाध्यमको सशक्त प्रयोग गर्नुपर्छ । सबैलाई आधारभूत मानसिक स्वास्थ्य सेवा प्रदान गर्नु राज्यको कर्तव्य हो । जुन संबैधानिक अधिकार हो ।

सबै ठाउँमा तत्कालै विज्ञ नियुक्त गरेर पठाउन नसकिएला, तर त्यस्ता ठाउँमा मानसिक स्वास्थ्य र मनोरोगबारे सटिक तामिलप्राप्त स्वास्थयकर्मीहरु खटाउन सकिन्छ । सोझै भन्दा हरेक स्वास्थ्यचौकी , र प्राथमिक स्वास्थय केन्द्रमा दक्ष मानसिक स्वास्थ्यकर्मी पठाउनुपर्छ । यसो भएमा रोगको तत्काल पहिचान गरेर विज्ञ भएको अस्पतालमा रिफर गर्न सकिन्छ । र, रोगीहरुले सही उपचार पाउन सक्छन् ।

राज्यले मानसिक स्वास्थय उपचारका लागि गाउँ-गाउँमा शिविर पनि चलाउनुपर्छ । यसो गर्दा मानसिक स्वाास्थ्यबारे चेतना जगाउन सजिलो हुन्छ र बिरामीहरु पत्ता लगाउन पनि सजिलो हुन्छ ।

अझै पनि हाम्रो समाजमा मानिसहरु आफू र आफ्ना नातेदारलाई मानसिक रोग लाग्यो भनेर हेक्का गर्दैनन् । उनीहरु पेट दुखेमा, टाउको दुखेमा डाक्टरकोमा गएर औषधि खान्छन् । तर, मानसिक रोग लागेको छ कि छैन भनेर जँचाउन चाहँदैनन् । बुझेकाहरु पनि डराउँछन् । कतै रोग लागेको थाहा पाएमा धेरै डराउँछन् र बढी चिन्ता लिन्छन् । धेरैले त आत्महत्या पनि गरेका छन् ।

अर्को कुरा, मनोरोग लागेमा काउन्सिलिङ गराउँदा ठीक हुन्छ भन्ने धारणा छ । त्यो गलत हो । मनोरोग रोग नै भएकाले त्यसका लागि पहिले उपचार गराउनैपर्छ । उपचारपछि ठीक हुँदैजाने क्रममा मात्र काउन्सिलिङ गराउने हो, जसको दिमागमै रोग छ, उसलाई तत्काल काउन्सिलिङले केही असर पार्दैन ।

नोट: माथि उल्लेखित स्वास्थ्य सम्बन्धी जानकारीहरु विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो । मानिसको शारिरिक अवस्था र समय अनुसार पनि माथि उल्लेखित कुराहरुको उपलब्धी फरक पर्छ । सम्पुर्णरुपमा यहि कुरामा मात्रै भर नपर्नुहोला । माथि उल्लेखित कुराहरु प्रयोग गर्दा तपाईको स्वास्थ्यमा थप खराबी देखिए, कृपया तुरुन्त रोकेर स्वास्थ्यकर्मीहरुसँग सल्लाह लिनुहोस् ।

साथै तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला । तपाइको एक सेयरले थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग मिल्नेछ ।

भिडियाे हेर्नुहाेस्ः