पेट दुख्ने, पेट फुल्ने, पेट असजिलो हुने, मुख नमिठो हुने, खाना नपच्ने, खानसाथ दिसा लाग्ने, केही चिज खाएपछि अमिलो डकार आउने या छातिको बीचतिर दुख्ने धेरै पेटका समस्या लिएर बिरामी हस्पिटल, क्लिनिकमा आउनु हुन्छ। यस्तो समस्या देखिनासाथ हामी ग्यास्ट्रिक भयो भन्छौं।

अल्सर हुँदा दुखाई बढेर आउने, खाली पेट बस्न नसक्ने खायो कि पेट दुखिहाल्ने र कसै कसैलाई बान्ता हुने, खान मन नलाग्ने समस्या बढ्दै जाँदा दिसा कालो पनि हुनसक्छ। तर, सबैमा ग्यास्ट्रिक र अल्सरका लक्षण यस्तै नहुन पनि सक्छन्।

यसो भनिरहँदा पेटका हरेक समस्या ग्यास्ट्रिक र अल्सरमात्र हुँदैनन्।

धेरै बिरामीहरु ग्यास्ट्रिक र अल्सर नभएर पेट र खाना नलीलाई असर गर्ने समस्याबाट ग्रसित हुन्छन्। तर साधारण ग्यास्ट्रिक भनेर उपचार गरेको पाइन्छ।

के हो त यो रोग : जिइआरडी (ग्यास्ट्रो एसोफेगल रिफ्लक्स डिजिज)?

सामान्यतया आमाशय (पेट) ले एसिड निकाल्छ। जुन पाचनमा र किटाणुबाट बच्न प्रयोगमा हुन्छ। यो एसिडको मात्रा धेरै हुँदा कसैको खानानली र पेटलाई जोड्ने भाग खुकुलो भएर आउँछ।

जसले गर्दा पेटमा रहने एसिडमाथि छातिमा र घाँटीमा आउन थाल्छ। त्यसलाई रिफ्लक्स (ग्यास्ट्रो एसोफेगल रिफ्लक्स डिजिज) भनिन्छ।

कसै कसैको त पेटको भाग नै खाना नलीमा आइदिन्छ। यसलाई  हाइटल हर्निया भनिन्छ।

मानिसमा यसले घाँटी पोल्ने, घाँटीमा केही अड्केको महशुस गर्ने, केही चिज खाएपछि अमिलो डकार, अमिलो पानी आउने या छातिको बीचतिर दुख्ने, छाति पोल्ने, सुक्खा खोकी लागिरहने आदि समस्या हुन्छ।

विशेष गरी पल्टेपछि वा सुतेपछि वा बिहानीपख यी समस्या बढ्ने गरेको पाइन्छ ।

बिशेष गरेर युवा वर्ग, महिला, मोटो ब्यक्ति, मानसिक तथा शारीरिक थकानमा काम गर्ने व्यक्तिमा यो समस्या देखा पर्न थालेको छ।

खानपिनको ख्याल नराख्ने, समयमा खान खाजा नखाने, घर बाहिर बढी खाजा र खाना खाने ब्यक्तिहरु यो पेटको समस्या लिएर आउनुहुन्छ।

धेरै पटक रिफ्लक्सका बिरामीको ‘ग्यास्ट्रिक’ भन्दै उपचार हुनेगर्छ। समस्याको सही पहिचान नहुँदा मानिस पनि ग्यास्ट्रिककै औषधि खाइरहेका हुन्छन्।

औषधि खाँदा हल्का निको भएको अनुभव पनि हुन्छ। कति बिरामी त औषधि खाँदा ठीक तर औषधि छोड्न साथ गाह्रो महसुस गर्नुहुन्छ।

लामो समयदेखि ग्यास्ट्रिकको औषधि सेवन गर्दै हुनुहुन्छ र पूर्ण रूपमा समस्या निको भाको छैन वा औषधिमा बानी परेको छ भने ख्याल राख्नुस् हजुरलाई जिइआरडी (ग्यास्ट्रो एसोफेगल रिफ्लक्स डिजिज) पनि हुनसक्छ। यसको उपचार ग्यास्ट्रिकको भन्दा केही फरक हुन्छ।

जिइआरडी (ग्यास्ट्रो एसोफेगल रिफ्लक्स डिजिज (रिफ्लक्स) का बिरामी किन बढ्दैछन्?

१. चुरोट, रक्सी, खैनी, सुर्तीको प्रयोग सानै स्कूल, कलेजबाटै हुँदा।

२. जंक फूड, चिल्लो, अमिलो, पिरो, अजिनोमोटो राखेको खाजा, चट्पट, पानीपुरी, दालमोठ, चाउचाउ, तेलमा, घिउमा फ्राइ गरेको, तारेको, पकौडा, समोसा, निम्किन, चकलेट, चना, केराउ, कोक नै स्थायी खाजाको रुपमा लिनाले।

३. अफिसमा काम गर्ने, बाहिर काममा हिँड्नुपर्नेहरू खाली पेट बढी बस्ने, खानपिनको ख्याल नराख्ने, समयमा खान खाजा नखाने, घर बाहिर बढी खाजा खाने, खाजा राम्रो नखाने।

४. दुई छाक टन्न खाने: यसले २४ घण्टालाई टार्न खोज्ने तर दिउँसो खाजा नखाने।

५. दूध चिया बढी खाने, कफी खाने चलन

६. चकलेट, कोक, फ्यान्टा जस्ता कृतिम पेय पदार्थको बढी प्रयोग।

७. साँझ बाहिर र चिल्लो, रातो मासु, तेलमा, घिउमा फ्राइ गरेको, तारेको माछा मासु फ्राइ गरेको बढी खाने, रक्सीको बढी प्रयोग आदि ।

८. घर बाहिर बढी खाने चलन ।

यस्तो तरिकाको खानपानले पनि हाम्रो समाजमा अहिलेको पेटको समस्या बढ्दै गइरहेको छ। के खाने, के नखाने त्यो बुझ्नु आवश्यक छ। साथ साथमा निम्न कुरामा पनि ख्याल राख्नु उत्तिकै आवश्यक हुन्छ ।

पानी बढी पिउने, हरियो साग सब्जी, तरकारी खाने, गिलो गरेर दाल भात खाने, खाजा राम्रो खाने। खाली पेट बस्दै नबस्ने तर खान पायो भन्दैमा धेरै टन्नै पनि नखाने। खाना खान साथ नपल्टने। खाना खाएको २ घण्टा पछि मात्र सुत्ने। बेलुका को खाना थोरै र हलुका खाने । दिन मा थोरै तर ३/ ४ घण्टाको फरकमा पटक, पटक थोरै र हलुका केही खाइरहने।

चिल्लो, पिरो, अमिलो, जंकफुड आदिलाई आफ्नो भोजनमा प्राथमिकता दिनु हुँदैन।

सिरानी हल्का अग्लो बनाएर सुत्दा समस्या कम हुनसक्छ।

डाक्टरलाई बेला बेलामा देखाउने, आवश्यकता अनुसार औषधि बढ्ने, घट्ने पनि हुन सक्छन्। नियमित व्यायाम, वजन घटाउने, रोगको सही पहिचान, डाक्टरको सल्लाह बमोजिम औषधी केही समय मिलाएर खानुपर्छ। यसो गर्न सके यी समस्याबाट टाढै रहन सकिन्छ।

Gastric Pain: Causes and When to Visit a Doctor

थप जानकारीः

ग्यास्ट्रिकले पीडित हुनुन्छ ? यसरी बच्नुस्

प्रायः नेपालीमा ग्यास्ट्रिक हुन्छ । खाना र व्यायाममा ध्यान नदिँदा ग्यास्ट्रिकको सिकार बन्न पुगिन्छ । बजारमा उपलब्ध विभिन्न तयारी खाद्य पदार्थ, रेस्टुरेन्ट आइटमको अत्यधिक प्रयोगले पनि ग्यास्ट्रिक बनाउँछ । शारीरिक श्रम कम गर्ने र अस्वस्थ जीवनशैली ग्यास्ट्रिकको मुख्य कारण हो । यस्ता छन् ग्यास्ट्रिकका लक्षण र त्यसबाट बच्ने उपाय स्

ग्यास्ट्रिकका लक्षण

ग्यास्ट्रिकलाई मानिसले सामान्य ढंगले लिन्छन् । तर, यसले स्वास्थ्यमा दीर्घकालीन असर पुर्‍याउँछ । ग्यास्ट्रिकले रिंगटा लाग्ने, वाकवाक हुने, पेट फुल्ने, भोक नलाग्ने, खान मन नलाग्ने, मुटुवरिपरिको क्षेत्र दुखेको अनुभव हुनेलगायतको लक्षण देखाउँछ ।

बच्ने उपाय

ग्यास्ट्रिकबाट बच्नका लागि रहनसहन र खानपिनले ठूलो भूमिका खेल्छ । बिहान उठ्नेबित्तिकै पानी पिउने बानीले ग्यास्ट्रिक नहुन सक्छ । रातको समय लगातार ७–८ घन्टाको सुताइले शरीरमा पानीको अभाव हुन जान्छ । त्यसैले बिहान उठ्नासाथ पानी पिउन आवश्यक हुन्छ । तर, उठ्नेबित्तिकै जुसको भने प्रयोग गर्नु हुँदैन । खाली पेटमा यस्ता पेय पदार्थ खाँदा पेटमा ग्यास भरिन जान्छ ।

ग्यास्ट्रिक भएमा समय–समयमा खाना खाइरहनुपर्छ । खाली पेट बस्ने भूल गर्नु हुँदैन । यसरी खाली पेट बस्दा ग्यास्ट्रिकको मात्रा बढ्दै जान्छ ।

तारेको र भुटेका खाद्य पदार्थ निकै कम प्रयोग गर्नुपर्दछ । यस्ता खाद्य पदार्थको नियमित प्रयोगले पाचन प्रक्रियामा समस्या सिर्जना गर्छ र ग्यास्ट्रिक बढ्न जान्छ ।

ग्यास्ट्रिक हुनेहरू अल्कोहलबाट टाढै रहनुपर्छ । व्यस्तता, मानसिक तनाव, भय, चिन्ता, शोक, अनिद्राले पनि ग्यास्ट्रिक बढाउन सक्छ । यस्तो कुरामा सचेत हुनुपर्छ । शारीरिक श्रम र व्यायाम नगर्नेहरूलाई पनि ग्यास्ट्रिक हुन्छ ।

धूम्रपान र चिया–कफी बढी पिउँदा पनि ग्यास्ट्रिक बढ्छ । ग्यास्ट्रिक हुनेले निकै कम मात्रामा चिया पिउनुपर्छ ।

योगबाटै निको पार्न सकिन्छ

नियमित योग गर्दा पनि ग्यास्ट्रिकरहित बन्न सहयोग पुग्छ । ग्यास्ट्रिक निको पार्न गरिने योगका आफ्नै नियम छन् । त्यसका लागि पहिले ढाड र गर्दनलाई सीधा राखेर बस्नुपर्छ । त्यसपछि जोडसँग श्वास लिएर फ्याक्नुपर्छ । यस्तो क्रियाकलाप पटक–पटक गर्न जरुरी हुन्छ । तर, यस्तो योग खाली पेटमा भने गर्नु हुँदैन ।

ग्यास्ट्रिकबाट बच्न अर्को तरिकाले पनि योग गर्न सकिन्छ । त्यसका लागि दुवै खुट्टा जोडेर घोप्टो परी सुत्नुपर्छ । त्यसपछि दुई हत्केलाले भुइँ टेकेर आकाशतर्फ हेर्नुपर्छ । त्यसपछि बिस्तारै श्वास लिँदै छाती फुलाउनुपर्छ । त्यसपछि केहीछिन श्वासलाई रोक्ने कोसिस गर्नुपर्छ । त्यसपछि श्वास छाडेर पहिलेकै अवस्थामा फर्कनुपर्छ । नाडीशोधन योग गरेर पनि ग्यास्ट्रिक निर्मूल पार्न सकिन्छ ।

नोट: माथि उल्लेखित स्वास्थ्य सम्बन्धी जानकारीहरु विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो । मानिसको शारिरिक अवस्था र समय अनुसार पनि माथि उल्लेखित कुराहरुको उपलब्धी फरक पर्छ । सम्पुर्णरुपमा यहि कुरामा मात्रै भर नपर्नुहोला । माथि उल्लेखित कुराहरु प्रयोग गर्दा तपाईको स्वास्थ्यमा थप खराबी देखिए, कृपया तुरुन्त रोकेर स्वास्थ्यकर्मीहरुसँग सल्लाह लिनुहोस् ।

साथै तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला । तपाइको एक सेयरले थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग मिल्नेछ ।

भिडियाे हेर्नुहाेस्ः