विश्व स्वास्थ्य संगठनका अनुसार हाल विश्वमा १ करोड ४१ लाख जनामा नयाँ क्यान्सर देखिएको छ । डव्लुएचओले नै क्यान्सरकै कारण मृत्यु हुनेको संख्या ८२ लाख पुगिसकेको जनाएको छ । र यदि अहिलेकै अनुपातमा बढ्दै गएमा सन् २०२५ सम्म १ करोड ९३ लाख जनामा क्यान्सर देखिने अनुमान गरेको छ ।

क्यान्सर रोगको मुख्य कारक तत्वको खोजी गर्दा बदलिदो जीवनशैली, खानपान, बाताबरणीय प्रभाव प्रमुख रुपमा आउँछ । नेपालमा यी तीनवटै पक्षहरु क्यान्सर रोगका लागि अनुकुल सिद्ध भएको पाइएको छ ।

त्यसैले पनि हामीकहाँ क्यान्सरका विरामी दिनानुदिन बढी रहेका हुन् भन्न कुनै दुविधा छैन् ।क्यान्सर एक जटिल रोग हो तर पनि करिव ४० प्रतिशत क्यान्सर रोकथाम गर्न सकिन्छ । एक तिहाई अर्थात ३३ प्रतिशत क्यान्सर समयमा पत्ता लगाएर उपचार गरी निको पार्न सकिन्छ ।

र बाँकी करीब २७ प्रतिशतलाई पनि उचित उपचारबाट आयु लम्याउन सकिन्छ ।त्यो कसरी सम्भव छ ? त्यसका लागि यी कुराहरुमा विशेष ध्यान दिनुपर्छ ? यसरी जानौँ :

के के लक्षण देखिए सतर्क हुने ?

निम्न चिन्ह तथा लक्षणहरु देखिएमा कतै क्यान्सर त भएको छैन भनि नजिकको स्वास्थ्यकर्मीकहाँ वा अस्पतालमा पुगेर देखाउने तथा सल्लाह लिइ हाल्ने गर्नुपर्छ :

लामो समय सम्म खोकी निको नहुनु, खकारमा रगत देखा पर्नु ।

खाना निल्न गाह्रो हुनु, स्वर परिर्वतन वा धोद्रो हुनु ।

लामो समय सम्म कव्जियत हुनु, पातलो दिसा हुनु, दिसामा रगत देखिनु ।

महिलाहरुमा महिनावारी नभएको वेलामा रगत देखिनु, महिनावारी रोकिएका महिलाहरुको पुनः रक्तस्राव हुनु वा सहवास पछि रक्तस्राव हुनु ।

स्तनमा गाँठा गुठीहरू देखिनु, मुन्टोवाट रगत मिसिएको दुध आउनु वा मुन्टो दबिनु ।

शरीरमा गिर्खा, गाँठा गुठीहरू देखिनु ।ड्ड कोठी र मुसाहरूको रंग बदलिनु वा आकार बढ्दै जानु ।

छोटो समयमै शरीरको वजन घटनु, रक्तअल्पता देखिनु, ज्वरो आईरहनु ।

नाक,मुख र दिसा बाट रगत आउनु ।

धेरै दिनसम्म टाउको दुखी रहनु, बान्ता हुनु, रिगंटा लाग्नु,आँखा धमिलो देखिनु वा कम्पन (मृगी) आउनु ।

निम्न उपाायहरू अपनाएमा क्यान्सर रोगवाट बच्न सकिन्छ :

चुरोट,बिंडी, खैनी, सुर्ती, जाँड, रक्सीको सेवन नगर्ने ।

बासी, सडेगलेको र ढुसी परेको खानाहरू नखाने ।

पोलेर डढेको मासु र अन्य खानेकुराहरू नखाने ।

अखाद्य रंग, रसायनिक मल, किटनाषक औषधि प्रयोग गरिएका खानेकुराहरू नखाने ।

चिल्लो बोसोयुक्त खानेकुराहरू र धेरै नुन नखाने ।ड्ड धुलो,धुवाँ तथा वातावरणीय प्रदुषणबाट जोगिने ।

महिलाहरूले नियमित रुपले गर्भासय स्राव परीक्षण गर्ने ।

स्तनमा गिर्खा,गाँठागुठीे छ–छैन प्रत्येक महिना राम्ररी छामेर हेर्ने र फेला परेमा स्वास्थ्यकर्मीहरुसंग परामर्श लिने ।

दिनहुँ शारीरिक व्यायाम गर्ने, अनावश्यक मोटोपन घटाउने ।

मौसम अनुसारको हरियो सागपात, तरकारी र फलफूल दिनहुँ खाने ।

थप जानकारीः

क्यान्सर किन र कुन कुन अंगमा हुन सक्छ ?

क्यान्सर के हो ?

सामान्यतः अनुशासनमा बस्ने शरीरका कोषहरुले आफ्नो कर्तव्य बिर्सिन्छन् र एकाएक हतार हतार बढ्न थाल्छन् , बाँडिन थाल्छन् र त्यसले गर्दा शरीरमा समस्या आउँछ । यही क्यान्सर हो ।

क्यान्सरको अर्को नराम्रो बानी एउटा ठाउँबाट अर्को ठाउँमा सर्ने हो । एउटा अंगमा उम्रेको क्यान्सर छेउकै अंग अथवा टाढाको अंगमा फैलियो भने त्यसलाई मेटास्टासिस भएको भनिन्छ ।

क्यान्सर कुन कुन अंगमा हुन सक्छ ?

क्यान्सर कुनै पनि अंगमा हुन सक्छ । पुरुषहरूमा फोक्सोको क्यान्सर , मुखको क्यान्सर धेरै भेटिन्छन् भने महिलाहरूमा पाठेघरको मुख  र स्तनको क्यान्सर ।

क्यान्सर किन हुन्छ ?

क्यान्सर किन हुन्छ को उत्तर त्यति सोझो छैन । केही क्यान्सर वंशाणुगत हुन्छन् भने फोक्सो, मुख आदीको क्यान्सरको धेरै जसो कारण चुरोट र खैनी हो ।

हामीले हेर्ने यस्ता क्यान्सरका बिरामी मध्ये ८० प्रतिशत भन्दा धेरैले चुरोट वा खैनी खाएका हुन्छन् । मैले क्यान्सर मात्र हेर्न थालेको ५ बर्षमा चुरोट/खैनी नखाएर पनि फोक्सो र मुखको क्यान्सर भएका बिरामीहरू निकै कम भेटेको छु ।

सोझै भन्नु पर्दा चुरोट वा खैनी नखाने मान्छेलाई फोक्सो वा मुखको क्यान्सर हुने संभावना निकै कम हुन्छ । अन्य जोखिमहरूमा मोटो शरीर, वातावरणको प्रदूषण, खानामा प्रयोग हुने केमिकल र कीटनाशकहरू पर्छन् ।

क्यान्सरको उपचार

अपरेसन:

काटेर फ्याल्न मिल्ने छ भने क्यान्सरको अपरेसन गरिन्छ । जहाँ रोग छ, त्यो भाग काटेर हटाउनु नै क्यान्सरको अपरेसन हो । तर धेरै पटक काटेर निकाल्नै नसकिने अवस्थामा क्यान्सर भेटिन्छ । टाउको र घाँटी, रगत वा अरु निकाल्नै नमिल्ने अंगमा क्यान्सर भएको छ भने पनि अपरेसन सम्भव नहुन सक्छ ।

किमोथेरापी:

क्यान्सरका औषधीलाई किमोथेरापी भनिन्छ । आजकल सयौं प्रकारका किमोथेरापी बनेका छन् । केही क्यान्सर किमोथेरापीसँग सजिलै निको हुन्छन् भने केहीलाई किमोथेरापीले छुँदैन । हरेक किमोथेरापीका आ-आफ्नै राम्रा र नराम्रा असरहरु हुन्छन् । सामान्यतया ‘कपाल झर्छ’, ‘वाक्‌वाक् हुन्छ’ भनेर सोचिए पनि सबै किमोथेरापीले त्यस्तो गराउँदैनन् ।

रेडियोथेरापी:

रेडियोथेरापी भनेको रेडियसनको प्रयोगले क्यान्सरको उपचार गरिने प्रविधिलाई भनिन्छ । नेपालीमा रेडियसनलाई विकिरण भनिन्छ, सामान्य भाषामा भन्नु पर्दा, अलि बढि ताकतका एक्स-रे भनेर बुझ्दा पनि हुन्छ ।

रेडियोथेरापी गर्ने विभिन्न मेसिनहरु हुन्छन् र उपचार केही मिनेट प्रति दिन, हप्तामा ५ दिन गरेर, ६ हप्ता जति हुन्छ । खोई किन हो, रेडियोथेरापी लाई हाम्रा बिरामीहरूले ‘सेकाई गर्ने’ भन्नुहुन्छ। यो शब्द आफैंमा गलत छ, किन भने रेडियोथेरापी गर्दा पोल्दैन, न त दुख्छ, बिरामीले केही थाह पाउनुहुन्न ।

रेडियोथेरापी सुरु गरेको २-४ हप्तामा कसै कसैको छाला अलि कालो हुन सक्छ । अरु प्रतिकूल असर के हुन्छन् भन्ने कुरा रेडियोथेरापी कुन अंगमा गरिँदैछ मा भर पर्छ । धेरै जसो बिरामीहरूले रेडियोथेरापी सजिलै लिनुभएको मैले पाएको छु ।

नेपालमा क्यान्सरको उपचार

नेपालमा क्यान्सरको अपरेसन धेरै वटा अस्पतालमा हुन्छन् र किमोथेरापी पनि धेरै वटा अस्पतालमा लगाउन मिल्ने भएको छ । क्यान्सरको उपचारमा आजकल निकै प्रगति भएको क्षेत्र रेडियोथेरापी हो । नेपालमा नपुग्दो हुने गरि थोरै भएको पनि रेडियोथेरापी नै हो ! रेडियोथेरापी हुने नेपालमा जम्मा ४ वटा अस्पताल छन् ।

सबै भन्दा पुरानो, बीर अस्पताल हो, त्यस पछि भक्तपुर क्यान्सर अस्पताल । भरतपुर स्थित क्यान्सर अस्पताल र मणिपाल कलेज पोखरामा पनि यो सेवा उपलब्ध छ ।

यो बाहेक भक्तपुरमा निजी लगानीमा काठमाडौं क्यान्सर सेन्टर खुलेको छ जसमा नयाँ प्रविधिको रेडियोथेरापी र किमोथेरापी गरिन्छ । हरिसिद्धिमा पनि नेपाल क्यान्सर अस्पताल खुलेको छ जसमा क्यान्सरको सबै उपचार सम्भव छन् ।

मैले काम गर्ने ग्राण्डी अन्तराष्ट्रिय अस्पतालले पनि क्यान्सरमा लगानी गर्ने बाटोमा अघि बढेको छ, अपरेसन र किमोथेरापी सेवा दिइरहेको यो अस्पतालमा रेडियोथेरापी पनि थपियो भने हामी पनि साच्चिकै क्यान्सरको उपचार गर्न सक्षम अस्पताल हुनेछौं ।

भविष्य ?

क्यान्सरको उपचारको क्षेत्रमा हरेक दिन केही न केही नयाँ आइरहेका हुन्छन् । केही दशक अघि पार पाउन नसकिने भनिएको क्यान्सर बेलामै भेटिए निको हुन थालेको छ ।

विश्वास के गर्न सकिन्छ भने बर्षहरु बित्दै जाँदा, नयाँ औषधि, नयाँ प्रविधि आउनेछन् जसले गर्दा क्यान्सर पनि सजिलै निको हुने रोग हुनेछ र समाजमा रहेका नकारात्मक कुराहरू कम हुँदै जान्छन् ।

माथि उल्लेखित बाहेक नेपालमा अन्य नयाँ क्यान्सर अस्पताल खुल्ने तरखरमा छन् । टिचिङ अस्पतालले धेरै वर्ष भयो कोसिस गरिरहेको । निजामती अस्पतालमा पनि खुल्ने रे भनेको सुनिन थालेको छ ।

निजामती अस्पताल मै नेपालमा पहिलो पटक बोन-म्यारो प्रत्यारोपण गरेर रक्तक्यान्सरको सफल उपचार पनि सुरु भएको छ । यसरी नै नयाँ सुविधा सम्पन्न क्यान्सर अस्पतालहरू नेपालका विभिन्न भागमा खुल्न थाले भने नेपालमै सजिलै उपचार सम्भव होला क्यान्सरको ।

नोट: माथि उल्लेखित स्वास्थ्य सम्बन्धी जानकारीहरु विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो । मानिसको शारिरिक अवस्था र समय अनुसार पनि माथि उल्लेखित कुराहरुको उपलब्धी फरक पर्छ । सम्पुर्णरुपमा यहि कुरामा मात्रै भर नपर्नुहोला । माथि उल्लेखित कुराहरु प्रयोग गर्दा तपाईको स्वास्थ्यमा थप खराबी देखिए, कृपया तुरुन्त रोकेर स्वास्थ्यकर्मीहरुसँग सल्लाह लिनुहोस् ।

साथै तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला । तपाइको एक सेयरले थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग मिल्नेछ ।