धरानका १० वर्षीय विशाल राई (नाम परिवर्तन) आजभोलि विद्यालय जानै मान्दैनन् । विद्यालय गयो कि उनलाई शौच आउँछ र प्रत्येक घण्टा शौच गर्नका लागि उनी शौचालय पुग्छन् । तर, जब घर आएर मोबाइल चलाउन पाउँछन्, उनलाई न शौच आउँछ न त अन्य टेन्सन नै मोबाइलमा गेम खेल्न पाए उनलाई सबै चिन्ताबाट मुक्ति मिल्छ ।

तीनकुने काठमाडौँकी ११ वर्षीय सन्ध्या पौडेल (नाम परिवर्तन) पनि अधिकांश समय मोबाइलमै रमाउँछिन् । मोबाइलमा गेम खेल्न पाएपछि उनी सबै कुरा बिर्सिन्छिन् । गेम नखेल वा मोबाइल नचलाऊ भनेर कसैले भन्यो भने उनी ती व्यक्तिलाई थुक्ने, पिट्ने वा जे भेट्यो त्यसैले पिट्ने गर्छिन् ।

यी दुई प्रतिनिधि घटना मात्रै हुन् । अचेल अधिकांश घरमा मोबाइल प्रयोगका कारण बालबालिकामा परेको असर हो यो । र, यो समस्या यी दुई घरमा मात्रै भएको पनि होइन । प्रत्येक घर परिवारमा यही वा यस्तै समस्याहरु देखिन थालेका छन् ।

मोबाइलमा हुने गेम अर्थात् खेलका कारण बालबालिकाहरु पारिवार र समाजबाट टाढा मात्रै भइरहेका छैनन्, उनीहरु एकाग्र, हिंस्रक र उदण्डसमेत बनिरहेका छन् ।

पब्जीले बढाउँदैछ खतरा

तपाईंले आफ्नै घर वा छिमेकमा बच्चा वा ठूला मान्छेहरु पनि ‘हान हान, मार मार’ ऊ त्यहाँ लुकेको छ भन्दै कराएको सुन्नुभएको होला । बाहिर सुन्दा पागल भयो कि क्या हो भनेजस्तो लागेपनि वास्तवमा उनीहरु खेल खेलिरहेका हुन्छन् ।

अहिले कम्प्युटर वा मोबाइलमा एउटा खेल निकै लोकप्रिय बनिरहेको छ । प्लेयर्स अननोन्स ब्याटलग्राउण्ड अर्थात् पब्जी ।यो गेममा खेलाडीहरु एउटा टापुमा हुन्छन् । एउटा टिममा अधिकतम ४ जना ‘लडाकु’ हुन्छन् र टापुमा रहेका बाँकी ९६ जना लडाकुहरुलाई मार्नुपर्ने हुन्छ ।

टापुमा रहेका सबै ‘शत्रु’लाई मार्न सकेमा त्यो खेलाडी विजयी हुन्छ ।यो खेलमा बन्दुकबाट गोली हान्ने, बम हान्ने र आगोको लप्का फाल्ने काम गर्नुपर्छ । अनि सबैलाई मारेर आफू विजयी बन्नुपर्छ ।

हो, यही गेम हो पब्जी । जसले यतिबेला विश्वमै तहल्का मिचेको छ र धेरैको कम्प्युटर वा मोबाइलमा यही गेम डाउनलोड भएको छ । अनलाइनमा मात्रै खेल्न मिल्ने यो गेमको ‘एडिक्सन’ यति बढेको छ कि कतिपय बालबालिका तथा युवाहरु मध्यरातमा पनि हान हान र ठोक ठोक भनिरहेका हुन्छन् ।

पब्जीले बालबालिकालाई हिंस्रक बनाइरहेको छ : बासु आचार्य, मनोविश्लेषक

मनोचिकित्सक बासु आचार्यलाई केही महिनाअघि धरानबाट एउटा फोन आयो । आफ्नो छोरा एकोहोरो भएको र विद्यालय जानै नमान्ने भएको भन्दै सम्पर्क गरेका थिए विशाल राईका परिवारले ।

पेशाले विशालका बुवा नेपाल सरकारको उपसचिव छन् भने आमा प्राइभेट बैंकमा जागिर गर्छिन् । उनीहरु दुबैजना आफ्नै काममा बिजी रहन्थे । छोरा विशाल भने अधिकांश समय आमा वा बुवाको मोबाइलमा बिजी भइरहन्थे ।

पछिल्लो समय विशाललाई एउटा समस्या देखा पर्यो । विद्यालय गयो कि आधा वा एक घण्टामा दिसा लाग्ने । तर विद्यालय गएन र घरमै मोबाइल खेलेर बस्यो भने सबै ठीक हुने ।

समस्या बढ्दै गएपछि परिवारले राम्रो अस्पतालहरुमा लगेर जचाए । तर डाक्टरले केही रोग नभएको भन्दै फिर्ता पठाइदिए । हैरान भएपछि ती अभिभावक मनोचिकित्सक बासु आचार्यकोमा पुगे ।

मनोचिकित्सकले जब घटना बुझे, उनी आफै छक्क परे । विशाललाई त पब्जीको एडिक्सन भइसकेको रहेछ । उनी अधिकांश समय मोबाइलमा पब्जी गेम खेल्दा रहेछन् । जसका कारण उनलाई मानसिक समस्या सुरु भएको रहेछ ।

विद्यालयमा रहँदा वा बस्दा दिमागमा पब्जीको मात्रै याद आउँदो रहेछ । अनि उनलाई दिसा लाग्दो रहेछ । प्रत्येक आधा वा एक घण्टामा दिसा लाग्ने र थोरै मात्रै दिसा आउने भएछ ।

जब विशाललाई काउन्सिलिङ गर्न थालियो र अन्य खेल वा विषयमा बढी केन्द्रीत गर्न थालियो अहिले भने बिस्तारै विशालको समस्या कम हुन थालेको छ ।

केही दिनअघि मात्रै तीनकुनेकी सन्ध्या पौडेल पनि आफ्ना अभिभावकसँग आचार्यको क्लिनिकमा आइपुगिन् । उनको समस्या पनि उस्तै थियो । मोबाइलमा गेम खेल्न पाए सबै ठीक हुने ।

खेल नखेल भन्यो भने बुवा वा आमालाई थुक्ने, गाली गर्ने, अगाडि जे देख्यो त्यसैले हान्ने गर्न थालिन् । हैरान भएपछि अभिभावकले उनलाई उपचारका लागि त्यहाँ ल्याएका थिए ।यी घटनाहरुले के बुझाउँदैछ भने बालबालिकाहरु गेमका कारण हिंस्रक बन्दै छन् र उनीहरुमा मानसिक समस्या पनि बढ्दै गएको छ ।

मनोविश्लेषक आचार्यका अनुसार पब्जी जस्तो हतियार र हत्या गर्ने खेलले बालबालिकालाई हिंस्रक, उदण्ड र आक्रामक बनाइरहेको छ । यो गेम खेल्नेहरु दिनानुदिन संवेदनाहीन बन्दै छन् । मानिसहरु मर्दा वा मारिँदा पनि उनीहरुमा खासै फरक पर्दैन र पार्दैन ।

जब ती बालबालिकाहरु १४ वर्ष कट्न थाल्छन्, त्यसपछि उनीहरु उदण्ड र हिंस्रक बन्न थाल्छन् । त्यसपछि घरका सदस्यलाई पनि जे भेट्यो त्यसैले आक्रमण गर्न सक्ने अवस्थामा पनि पुग्छन् । जब यसको एडिक्सन सुरु हुन्छ, त्यसपछि बालबालिका ‘आउट अफ कन्ट्रोल’ हुन थाल्छन् ।

गेमको एडिक्सन रोक्न के गर्ने ?

बालबालिकालाई पब्जी वा पब्जीजस्ता खेलको लत बस्न नदिन परिवारको भूमिका महत्वपूर्ण हुन्छ । बालबालिकाले मोबाइल वा कम्प्युटरमा के खेल खेल्दैछन्, के गर्दैछन् भनेर अभिभावक सचेत हुनुपर्छ । यदि बालबालिका यसको लतमा लागिसकेका छन् भने बिस्तारै उनीहरुलाई त्यस खेलबाट बाहिर ल्याउनपर्दछ । उनीहरुलाई नखेल मात्रै भनियो र कुनै कुरा खेल्नै दिइएन भने उनीहरु झनै हिंस्रक बन्न सक्छन् ।

त्यसकारण उनीहरुलाई अर्को विकल्प (खेल वा अन्य मनोरञ्जन) दिएर बिस्तारै यो लत हटाउन सकिन्छ ।त्यसकारण अभिभावकले अहिले नै आफ्ना बालबालिका के गरिरहेका छन् वा के गरिरहेका छन् भनेर निगरानी बढाउनुपर्छ । मोबाइलमा यस्ता हिंस्रक खेलको लत बसिसकेको हो भने बिस्तारै यसबाट छुट्कारा दिलाउनुपर्छ ।

खेल बन्द गर्ने प्रहरीको तयारी

पब्जीले अपराध जन्माउन सक्ने भन्दै महानगरीय अपराध महाशाखाले यो खेल बन्द गर्ने तयारी थालेको छ । पब्जीबिरुद्ध उजुरी आउन थालेको जानकारी दिँदै महानगरीय अपराध महाशाखाका प्रमुख (एसएसपी) धिरज प्रताप सिंहले भने, ‘अदालतको अनुमति लिएर पब्जी बिरुद्ध आवश्यक प्रक्रिया अगाडी बढाउँछौं ।’

थप जानकारीः

पब्जी गेमको कुलतः स्वास्थ्यमा कसरी हानी गर्छ ?

अहिले धेरैको मुखमा झुन्डिने शब्द हो, पब्जी । फुर्सदमा सम्झने गेम हो, पब्जी । स्मार्टफोन भेट्नसाथ खोजिने गेम हो, पब्जी । पब्जी गेम भनेपछि कामधन्दा छाड्नेहरु पनि छन् । लेखपढ गर्न छाड्ने पनि छन् । यस्तो लाग्छ, उनीहरुको सपना-विपना पब्जी नै हो ।

खेलका आफ्नै सर्त र सीमा हुन्छन् । खेलको आफ्नै महत्व हुन्छ । खासगरी आउटडोर गेमहरुले शारीरिक, मानसिक विकासमा ठूलो सघाउँ पुर्‍याउँछ । त्यसका अरुपनि थुप्रै फाइदा छन् । जस्तो कि, प्रतिस्पर्धाको भावना विकास हुन्छ । नेतृत्व क्षमता विकास हुन्छ । एकता एवं सामाजिक भावना निर्माण हुन्छ ।

यद्यपी अहिले भर्चुअल गेमको जमना छ । घरभित्र अझ एउटै कोठामा कोचिएर भर्चुअल गेममा रमाउनेको संख्या बढ्दो छ । यी भर्चुअल गेमहरु सर्वथा गलत भन्ने होइन । भर्चुअल गेमले पनि मानसिक तनावबाट मुक्त गराउन सक्छ । मनोरञ्जन दिन्छ । कतिपय चलाखीपूर्ण निर्णय गर्ने क्षमताको विकास गर्छ ।

तर, कुनैपनि कुरामा आवश्यक्ताभन्दा बढी आशक्ति हुनु भनेको कुलत लाग्नु हो । कुलतले मानसिक, शारीरिक, सामाजिक विकासमा अवरोध पुर्‍याउँछ । महत्वपूर्ण समय नष्ट त गरेको छ नै ।करियर बनाउने उमेरमा युवाहरु पब्जी खेलेर समय बर्बाद गरिरहेका छन् ।

पब्जीको साइड इफेक्ट

एकातिर पब्जी खेलको लोकप्रियता चुलिदो छ अर्कोतिर यसले मानसिक एवं शारीरिक समस्या पनि नित्याउँदैछ । अहिले पब्जीको कारण युवाहरुमा के कस्ता स्वास्थ्य समस्या देखापर्छ भनेर खोजी हुन थालेको छ । पब्जी खासमा एक मल्टीप्लेयर वा सामूहिक गेम हो, अर्थात एकसाथ केही खेलाडीले यसमा भाग लिन्छन् ।

यो गेम खेल्दै जाँदा युवाहरु यति निर्लिप्त हुने गरेका छन् कि उनीहरुले आफ्नो पढाई, कामधन्दा, करियर पनि सोच्न छाडेका छन् । साथै एकै स्थानमा घण्टौ बसेर गेम खेलिरहँदा स्वास्थ्यमा गंभीर समस्या पनि देखापर्दैछ ।

पब्जीले स्वास्थ्य खराब गरेपछि

पब्जीको कारण युवाहरुको स्वास्थ्यमा खराबी आएपछि यस खेलका निर्माताहरुले नै यसको रोकथामको उपाय खोजेका छन् । उनीहरुले यसका लागि ६ घण्टाको समय निर्धारित गरिदिएका छन् ।

यसको अर्थ अब कुनैपनि खेलाडीले ६ घण्टाभन्दा बढी समय गेम खेल्न सक्नेछैनन् ।६ घण्टा पनि हेल्थ नोटिफिकेशन आउनेछ । त्यसपछि भने गेम स्वत् बन्द हुनेछ ।

पब्जीबाट असर भोगेकाहरुको अनुभव

एक २४ बषिर्य युवाले पब्जी खेलिरहँदा आफ्नो स्वास्थ्यमा कसरी त्यसले असर पुर्‍यायो भन्ने कुरा शेयर गरेका छन् । उनका अनुसार पब्जीले त्यस्तो भयानक स्वास्थ्य समस्या त पैदा गराएको छैन । यद्यपी उनको स्वास्थ्य स्थिती भने सामान्य छैन, जो हुनुपथ्र्यो ।

खेल आक्रमक भएकाले त्यसको मानसिक प्रभाव आफुमा पर्ने उनले बताए । साथै खेल हिंस्रक भएकाले आफुमा पनि त्यही किसिमको प्रवृत्ति क्रमस विकास हुँदै गएको उनले महसुष गरेका छन् ।

लामो समयसम्म मोवाइल खेलेर एकै स्थानमा बसिरहँदा आँखामा समस्या भएको थियो । साथसाथै उनको गर्दन र हातमा पनि समस्या देखियो । यसको अर्को समस्या भनेको अनिद्रा हो । गेमका तल्लिन भएयता उनको निद्रा भंग भएको छ । निद्रा नियमित र गहिरो छैन ।

अर्को एक युवा पनि दैनिक ६ देखि ७ घण्टासम्म पब्जी खेलिरहँदा त्यसले आफ्नो स्वास्थ्य खराब गरेको सुनाउँछन् । उनलाई अहिले टाउको दुख्ने समस्या भएको छ । साथै आँखा पनि कमजोर भएको उनले महसुष गरेका छन् ।

गेम खेल्ने चक्करमा उनले आफ्नो दैनिक काम, पढाई पनि भुलेका छन् । साथीभाईसँग हेलमेल हुने, परिवारसँग रमाउने समय पनि कटौती भएको छ । अहिले उनलाई निरन्तर टाउको दुख्ने समस्या छ । त्यही कारण उनलाई मोवाइल गेम खेल्न झर्को लाग्न थालेको छ ।

पब्जी एक समस्या

अहिले बच्चाहरु विद्यालयबाट फर्केपछि मोवाइलमा पब्जी खेल्न थाल्छन् । वयस्कहरु पनि अफिसबाट फर्किएपछि पब्जीमै रामाउन थाल्छन् । यसले गर्दा उनीहरुको शारीरिक सक्रियता पुरै घटेको छ । एकै ठाउँ कोचिएर घण्टौ बिताइरहेका छन् ।

यस गेमको चक्करमा परेपछि मान्छेको सुत्ने तालिका गडबड भएको छ । अपर्यात निद्रा, मोटोपन, उच्च रक्तचाप, हृदयरोग जस्ता समस्यालाई यसले जन्म दिएको छ ।

पब्जी खेल्नेहरुलाई ढाँडको समस्या देखिएको छ । उनीहरुको आँखामा पनि समस्या देखिएको छ । पब्जीको एडिक्सनले मान्छेको दिनचर्या विथोलिएको छ ।

उनीहरुको खाने, सुत्ने तालिका प्रभावित भएको छ । यसले शारीरिक गतिविधिलाई पुरै निस्क्रिय बनाइदिएको छ । सामाजिक सम्पर्क पनि टुटाइदिएको छ ।

अब के गर्ने त ?

पब्जी अहिले धेरै अभिभावकको लागि टाउको दुखाईको विषय भएको छ । यो भर्चुअल गेम ठिक त्यस्तै हो, जो लागु औषधको लत हुनेगर्छ ।

पब्जीको लतमा फसेकाहरुलाई पारिवारिक जीवनमा फर्काउनुपर्छ । उनीहरुलाई यो गेमबाट मुक्त गराउनुपर्छ । यसका लागि अभिभावकले आफ्ना छोराछोरीसँग अतिरिक्त समय दिनुपर्ने विज्ञहरुको राय छ ।

बच्चालाई एक्लो हुन नदिने वा गेम खेल्ने अनुकुलता नदिनु नै बुद्धिमता हुने उनीहरुले बताएका छन् ।

नोट: माथि उल्लेखित स्वास्थ्य सम्बन्धी जानकारीहरु विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो । मानिसको शारिरिक अवस्था र समय अनुसार पनि माथि उल्लेखित कुराहरुको उपलब्धी फरक पर्छ । सम्पुर्णरुपमा यहि कुरामा मात्रै भर नपर्नुहोला । माथि उल्लेखित कुराहरु प्रयोग गर्दा तपाईको स्वास्थ्यमा थप खराबी देखिए, कृपया तुरुन्त रोकेर स्वास्थ्यकर्मीहरुसँग सल्लाह लिनुहोस् ।

साथै तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला । तपाइको एक सेयरले थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग मिल्नेछ ।

भिडियाे हेर्नुहाेस्ः