सबैको घरमा हुने सामान्य प्रक्रिया हो एक समय पकाएको खाना फेरि तताएर खानु । यो सामान्य लागेपनि कतिपय खानेकुरा फेरि तताएर खानु निकै हानिकारक हुन्छ । कतिपय यस्ता खानेकुरा पनि छन्, जुन पुनःतताएर खाँदा क्यान्सर जस्तो भयानक रोगको समेत खतरा हुन्छ । आज हामी त्यस्ता खाने कुराको बारेमा जानकारी दिन्छौँ ।

कुखुराको मासु

कखुराको मासुलाई दोहोराएर तताएर खानु हानिकारक हुन्छ किनकनी यसमा पाइने प्रोटिन कम्पोजिशन पुनःतताउँदा बदलिन्छ, जसको कारण पाचन सम्बन्धी समस्या हुन्छ ।

आलु

तरकारीको राज मानिने आलुलाई स्वास्थ्यबर्धक मानिन्छ । आलुको परिकारलाई लामो समयसम्म राख्दा यसमा भएको पोषक तत्व नास भएर जान्छ साथै आलुको परिकारलाई पुन तताएर खाँदा पनि पाचन सम्बन्धि समस्या देखिन्छ ।

चुकन्दर

चुकन्दरलाई पनि दोराएर तताउनु हुँदैन । यसको परिकारलाई पुनः तताउँदा यसमा पाइने नाइट्रट नाश भएर जान्छ ।

च्याउ

च्याउ सकेसम्म सधैँ ताजा नै खानुपर्दछ । च्याउलाई प्रोटिनको भण्डार नै मानिन्छ । पकाएको च्याउलाई फेरि तताएर खाँदा यसमो पाइने प्रोटिनको कम्पोजिसन फेरिन्छ जुन स्वास्थ्यको लागि निकै हानिकारक हो ।

त्यस्तै एक पटक पकाईसकेको खाने कुरा पुनः तताउन नहुने सूचीमा अण्डा र पालुङ्गोको साग पनि पर्दछ ।

यि माथि उल्लेखित खानेकुरा पुनः तताउँदा यसमा पाईन प्रोटिन नष्ट भई उत्पन्न तत्वले क्यान्सर निम्त्याउन सक्छ ।

थप जानकारीः

क्यान्सर के हो, कसरी बच्ने ?

क्यान्सरलाई धेरैले डरलाग्दो रोगको रुपमा लिन्छन् । समयमै ख्याल गरेन भनेर क्यान्सर फैलंदै गएर अकालमा ज्यान पनि जान सक्ने भएकाले यो डरलाग्दो रोग नै हो । क्यान्सर किन हुन्छ र यसबाट बच्न के गर्नुपर्छ भनेर उज्यालो सहकर्मी विना न्यौपानेले ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालका क्यान्सर रोग विशेषज्ञ, डा. आविश अधिकारीसँग कुराकानी गर्नुभएको छ :

सबैले बुझ्ने भाषामा क्यान्सर भनेको के हो ?

क्यान्सर एउटा दीर्घ रोग हो । जुन शरीरको कुनै पनि अंगमा हुन सक्छ । यो एक प्रकारको घाउ हो जुन फैलिंदै जान्छ र अन्त्यमा बिरामीको मृत्युको कारण बन्छ । अहिले संसारमा वार्षिक एक करोडको क्यान्सरका कारण मृत्यु हुने गरेको तथ्याङ्क छ । नेपालमा हरेक बर्ष ४० हजार जना क्यान्सरका बिरामी थपिने गरेको भए पनि धेरै जनाले उचित उपचार पाएका छैनन् ।

हाम्रो शरीर करोडौ सुक्ष्म कोषहरुले बनेको हुन्छ । ती कोषहरूले हाम्रो शरीर बनाउँछन । जब तीमध्येका केही कोष बिग्रिन्छन, तिनीहरूले आफ्नो काम गर्न छोड्छन् र अप्राकृतिक तरिकाले बढ्न थाल्छन् । त्यसरी बढ्दै गएपछि त्यो अंगमा घाउ बन्छ, जसको उपचार गरिएन भने त्यो अंगले राम्ररी काम गर्न सक्दैन र क्यान्सरका लक्षण देखिन थाल्छन् ।

क्यान्सर यो अर्थमा डर लाग्दो रोग हो, किनभने ती बिग्रेका कोषहरु अरु अंगहरूमा सर्दै जान्छन् र अरू अंगहरूलाई पनि असर गर्दै जान्छ् । यसलाई फैलिएको क्यान्सर भनिन्छ ।

क्यान्सर लाग्ने कारण के के हुन् ?

सामान्य अवस्थामा काम गरिरहेका कोषहरूमा केही परिवर्तन आउँछ र ती बढ्न थाल्छन् । अनि क्यान्सर हुन्छ । ती कोषहरूमा आउने त्यो डरलाग्दो परिवर्तनका कारण बिभिन्न छन् । हामीलाई थाहा भएका कारणहरूमध्ये मुख्य कारण चुरोट, खैनी हो ।

नेपाली महिलाहरूमा भेटिने एउटा मुख्य क्यान्सर पाठेघरको क्यान्सर हो, जसको कारण ह्युमन प्यापिलोमा भाइरस हो । बाँकी क्यान्सरका कारणहरूमा जंकफुड, विषाक्त पदार्थ हालिएका खानेकुरा, कीटनाशक छरेर उमारिएका तरकारी फलफूलको सेवन, वंशाणुगत कारणहरू तथा प्रदुषण हुन् । केही क्यान्सरहरूको कारण अहिलेसम्म पत्ता लागेको छैन ।

क्यान्सरका लक्षणहरू के के हुन् ?

क्यान्सरका लक्षण कुन अंगको क्यान्सर हो, त्यसै अनुसार फरक हुन्छन् । यस्ताखालका लक्षणहरू महिना दिनभन्दा लामो समयसम्म भए डाक्टरलाई देखाउनु पर्ने हुन्छ । अरु लक्षणहरु यस्ता छन् :

कमजोरी हुने र तौल घट्ने

शरीरका कुनै पनि अंगमा गिर्खा गाँठाहरू आउने

छालामा नयाँ कोठी पलाउनु वा भएका कोठी ठूलो हुँदै जाने

मुखमा र जिब्रोमा लामो समयदेखि घाउ हुने

खाना निल्दा दुख्ने र स्वर फेरिने

सास फेर्न गाह्रो हुने, खोकी लाग्ने वा खकारमा रगत देखा पर्ने

लामो समयदेखि ग्यास्टिक, पेट पोल्ने वा उल्टी हुने

कारण पत्ता नलागेको ज्वरो आइरहने

दिसामा रगत देखिने हुन्छ ।

 

क्यान्सर लाग्नै नदिनको लागि के गर्न सकिन्छ ?

यसका लागि निम्न कुरामा ध्यान दिनुपर्छ :

सूर्तिजन्य पदार्थ र जाँडरक्सीको प्रयोग नगर्ने

पान सुपारीहरु नखाने

अस्वस्थ्यकर खानपिनको बानी व्यवहारमा सुधार गर्ने

अविवाहित महिलाहरूले ह्युमन प्यापिलोमा भाइरसको भ्याक्सिन लगाउने

सामान्य समस्या भए पनि लामो समयसम्म रहिरहे डाक्टरसँग जाँच गराउने ।

अझै महत्वपुर्ण कुरा के छ भने अविवाहित महिलाहरूले ३ पटक ह्युमन प्यापिलोमा भाइरसको भ्याक्सिन लगाएमा पाठेघरको क्यान्सर ९५ प्रतिशतसम्म रोक्न सकिन्छ ।

चुरोट खैनी खाने सबैलाई क्यान्सर हुने, अनि नखानेलाई क्यान्सर नहुने हो त ?

क्यान्सर सबैलाई हुन सक्छ तर सूर्तिजन्य पदार्थ (चुरोट खैनी) खानेलाई मुख, घाँटी र फोक्सोको क्यान्सर हुने सम्भावना धेरै हुन्छ । एकजना सूर्तिजन्य पदार्थ प्रयोग नगर्ने मान्छेलाई क्यान्सर हुँदा, २० जना चुरोट खैनी खानेलाई क्यान्सर भइसकेको हुन्छ ।

क्यान्सर लागे पछि के के कुरामा ध्यान दिने त ?

तुरन्त क्यान्सर रोग विशेषज्ञसँग भेटेर सही उपचार सुरु गर्ने,

आयुर्वदले क्यान्सर निको हुँदैन त्यसैले अन्धविश्वासमा नलाग्ने,

क्यान्सरको डाक्टरसँग बसेर उपचार र त्यसका प्रभावबारे राम्रोसँग कुरा गर्ने ।

नेपालमा अहिलेसम्म क्यान्सरको अवस्था कस्तो रहेको छ त ?

नेपालमा क्यान्सरको अवस्था दुःखलाग्दो छ । रोगीहरूको सँख्या बढिरहेको छ, सरकारले सूर्तिजन्य पदार्थको उत्पादन र बेचबिखनमा रोक लगाउन सकेको छैन । सरकारी क्यान्सर अस्पतालमा सबै सुविधा अहिले उपलब्ध छैनन् । त्यसैले क्यान्सर लागेर उपचार गराउनु भन्दा लाग्नै नदिनेतिर लाग्नुपर्छ ।

यी १० लक्षण देखिए बुझ्नुस् क्यान्सर लाग्यो

१- निरन्तर खोकी- फोक्सोको क्यान्सर

फोक्सोको क्यान्सर धेरै नै नफैलिए सम्म अधिकाँश मानिसले चाल पाउँदैनन् । कतिपय मानिसमा भने फोक्सोको क्यान्सरका लक्षण शुरुमै देखिन्छन् । फोक्सोको क्यान्सरका मुख्य लक्षण मध्ये निरन्तर खोकी लाग्नु पनि एक हो । खोकी लाग्ने र त्यससँगै छाती दुख्ने हुन थाल्यो भने होसियार हुनुस् । लामो श्वास लिँदा वा हाँस्दा समेत छाति दुख्नु खतरनाक लक्षण हो ।

२- शरीरमा भएका मुसाको रंगमा परिवर्तन- स्किन क्यान्सर

मेलानोमा स्किन क्यान्सर मध्ये सबैभन्दा घातक क्यान्सर मानिन्छ । यो शरीरको कुनै पनि भागमा देखिन सक्छ । तर अधिकाँशलाई खुट्टाको पछाडी, पाखुरा वा अुहाारमा देखिन्छ । कतिपयलाई नङको भित्र समेत देखिन सक्छ ।यो क्यान्सरको शुरुवातमा शरीरमा रहेका मुसाको रंग फेरिन्छ । मुसा ठूलो हुने, आकार बदलिने र रंग बदलिँदै जाने यस्ता संकेत हुन् । दुख्ने र चिलाउने समेत हुन सक्छ ।

३- दिसामा रगत, दुखाइ- आन्द्राको क्यान्सर

दिशामा रगत देखिने र दिसा लाग्ने समय परिवर्तन भएको भयै हुनु पनि राम्रो संकेत होइन । यसले पनि तपाइँको सानो आन्द्रामा क्यान्सर भएको संकेत गर्छ । दिशा गर्दा दुख्ने वा रगत देखिनु निक्कै घातक मानिन्छ । यस्तो समस्या अधिकाँशलाई ६० वर्षको उमेरपछि मात्र देखिन्छ ।

४- मुख भित्र सन्चो नहुने घाउ- धेरै प्रकारका क्यान्सर

अमेरिकी क्यान्सर उपचार केन्द्रका अनुसार मुख भित्र घाउ देखिनु र सन्चो नहुने भयो भने क्यान्सरको लक्षण हुन सक्छ । यसलाई मुखको क्यान्सर भनिन्छ ।मुखको क्यान्सर भएपछि मुख भित्र भएका साना साना घाउ हप्तौं वा महिनौं सम्म सन्चो हुँदैनन् । दुखाइ नभएपनि यस्तो घाउ रहिरहने समस्या क्यान्सरको लक्षण हो ।

५- निल्न समस्या- खाना नलिको क्यान्सर

खाना निल्न समस्या भैरहेको छ भने सचेत हुनुस् । यो तपाइँको खाना नलीमा क्यान्सर भएको संकेत हुन सक्छ ।नियमितरुपमा खाना निल्न समस्या हुन थाल्यो भने चिकित्सककोमा गइहाल्नुस् । वजन घट्नु पनि यो क्यान्सरको अर्को लक्षण हो ।

६- रहस्यमयरुपमा वजन घट्नुः धेरै प्रकारका क्यान्सर

अधिकाँश क्यान्सरको साझा लक्षण मानिन्छ वजन घट्नु । यदि तपाइँको शरीरमा रहस्यमयरुपमा वजन घटिरहेको छ भने यो विभिन्न क्यान्सरको लक्षण हुन सक्छ ।अमेरिकी क्यान्सर सोसाइटीका अनुसार वजन घट्नुको कारण खुल्न सकेन भने यो क्यान्सरको लक्षण हुन सक्छ ।

७- पिसावमा रगत- प्रोष्टेट क्यान्सर

पिसाव गर्दा अनपेक्षितरुपमा पोल्ने र थोरै थोरै पिसाव आइरहने जस्ता लक्षण तपाइँलाई प्रोष्टेटमा समस्या भएका संकेत हुन सक्छन् । पिसाव गर्दा रगत देखिनु वा दुखाइ हुनु पनि यस्तो लक्षण हुन सक्छ ।

८- अनावश्यक टुडुल्को उठ्नु

कुनै पनि शरीरको भागमा अनावश्यक टुडुल्को उठ्न थाल्यो वा बढ्दै गयो भने यो पनि तपाइँको शरीरमा क्यान्सरको लक्षण हुन सक्छ । अधिकाँश क्यान्सर यस्तै टुडुल्को बढ्दै गएपछि पत्ता लाग्ने गरेका छन् । स्तन क्यान्सर, अण्डकोष क्यान्सरका लक्षणकोरुपमा यस्ता टुडुल्का देखिन सक्छ ।

९- रहस्यमय दुखाइ- धेरै प्रकारका क्यान्सर

शरीरमा असामान्य अवस्था आउँदा दुखाइ हुनु सामान्य विषय हो । तर शरीरको कुनै पनि भागमा विनाकारण दुखाइ महसुस हुन थाल्यो भने होस् गर्नुस् यो क्यान्सरको लक्षण हुन सक्छ । ब्रेन ट्युमर हुनेलाई टाउको दुख्ने, कोलोन क्यान्सर हुनेलाई ढाड दुख्ने र पाठेघर वा गुदद्वारको क्यान्सर हुनेलाई पनि पछाडीको भागमा दुखाइ हुन सक्छ ।

१०- दिसा/पिसावमा रगत- गुदद्वार क्यान्सर

दिशा वा पिसावमा रगत देखिनु खतरनाक हो । खासगरी दिशामा रगत देखियो भने यसले तपाइँको ठूलो आन्द्राको अन्तिम भाग वा गुदद्वारमा क्यान्सर भएको हुन सक्ने संकेत दिन्छ । पिसावमा रगत देखियो भने चाँहि प्रोष्टेट क्यान्सरको लक्षण पनि हुन सक्छ ।

नोट: माथि उल्लेखित स्वास्थ्य सम्बन्धी जानकारीहरु विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो । मानिसको शारिरिक अवस्था र समय अनुसार पनि माथि उल्लेखित कुराहरुको उपलब्धी फरक पर्छ । सम्पुर्णरुपमा यहि कुरामा मात्रै भर नपर्नुहोला । माथि उल्लेखित कुराहरु प्रयोग गर्दा तपाईको स्वास्थ्यमा थप खराबी देखिए, कृपया तुरुन्त रोकेर स्वास्थ्यकर्मीहरुसँग सल्लाह लिनुहोस् ।

साथै तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला । तपाइको एक सेयरले थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग मिल्नेछ ।

भिडियाे हेर्नुहाेस्ः