तपाईंको घरमा बगैंचा छ ? बगैंचामा फूलहरु फुलाउनु भएको छ, वनस्पति हुर्काउनुभएको छ ? करेसाबारी बनाउनुभएको छ ? सागसब्जी रोप्नुभएको छ ? बार्दली, छतमा फूल वा तरकारी फलाउनु/फुलाउनुभएको छ ?

वास्तवमा यी कुराहरु तपाईंका स्वास्थ्य, सक्रियता र खुसीसँग जोडिएका छन् । तपाईंले आफ्नो घरको आसपासमा, छतमा, वार्दलीमा फूलहरु फुलाउन सक्नुहुन्छ । सागसब्जी रोप्न सक्नुहुन्छ । वनस्पति हुर्काउन सक्नुहुनेछ । यी सबै कुराले तपाईंको स्वास्थ्यमा प्रत्यक्ष प्रभाव पार्छ ।

अग्र्यानिक र ताजा सागसब्जी

आफ्नै बगैंचा वा करेसाबारीमा सागसब्जी रोप्नुभएको छ भने तपाईं बजारमा निर्भर भइरहनु पर्दैन । अहिले त्यसैपनि बजारमा उपलब्ध सागसब्जी शुद्ध र स्वस्थ्यकर छैन । विषादीको प्रयोगले ति खान लायक छैनन् । सागसब्जीसँगै हामी विष पनि सेवन गरिरहेका छौं । त्यसैले बजारमा मात्र आश्रति भइरहनु भनेको शरीरलाई रोगी पनि बनाउनु हो । अतः आफ्नै घरबारी, बगैंचा, करेसाबारी, छत, बार्दलीमा किन सागसब्जी नरोप्ने ?

जब तपाईं आफै सागसब्जी रोप्न थाल्नुहुनेछ, यसबारे धेरै जानकारी हासिल गर्नुहुनेछ । कुन सिजनमा के रोप्ने, कसरी रोप्ने, कस्तो मलखाँद प्रयोग गर्ने इत्यादि । आफ्नै हातले रोपेको सागसब्जी खानु भनेको स्वास्थ्यका लागि अति फाइदाजनक छ । किनभने यसको शुद्धतामा तपाईं ढुक्क हुन सक्नुहुन्छ ।

सक्रियता

अहिले हामी धेरै अल्छे भएका छौं । टेलिभिजन हेरेर, गफ गरेर, मोवाइल चलाएर घण्टौ बस्छौं । खाना चाहि मिठो मसिनो चाहिने, मसलेदार चाहिने, तारेको भुटेको चाहिने, बजारको तयारी खानेकुरा चाहिने । यद्यपि त्यस अनुरुप शारीरिक श्रम नगर्ने । यही कारण हामीलाई अनेक किसिमको रोगले गाँजिरहेको छ । मोटोपनदेखि मधुमेहसम्मको रोग निम्त्याउने नै ऐशआरमको जिन्दगी हो ।

अतः शरीरले समुचित श्रम गर्नुपर्छ । शरीर समुचित श्रम गर्नकै लागि हो । शरीर सक्रिय र चलायमान हुनुपर्छ । यदि हामीले घर अगाडि, पछाडि, छतमा, बार्दलीमा सागसब्जी वा फलफूल लगाएका छौं भने हाम्रो सक्रियता स्वत बढ्छ । हामी गोडमेल गर्न थाल्छौं, सिंचाई गर्न थाल्छौं, स्यहारसुसार गर्न थाल्छौं । यावत् गतिविधिले हाम्रो शारीरिक सक्रियता बढ्छ । अतिरिक्त व्यायामको खाँचो हुँदैन ।

खुसी

बगैंचाका यावत् गतिविधिले हामीलाई खुसी पनि तुल्याउँछ । वास्तवमा यी सबै खुसीका स्रोत हुन् । जब तपाईं सागसब्जी, फलफूल लगाउनुहुन्छ, हुर्काउनुहुन्छ तपाईंको ध्यान त्यसमै मग्न हुन्छ । तपाईंमा नकारात्मक विचार आउँदैन । मन अन्यत्र भड्किदैन । आफुले गरिरहेको खेतीपातीमै तपाईं मग्न हुनुहुन्छ । यसले तपाईंको चित्त शान्त रहन्छ ।

तपाईंले रोपेका सागसब्जी उम्रन थाल्छन्, कोपिला लाग्न थाल्छ, फूल फुल्न थाल्छ, फल लाग्न थाल्छ । सागसब्जी हुर्कन थाल्छ । यी सबैकुरा ख्याल गरिरहँदा तपाईंमा एक किसिमको उत्साह पनि जाग्छ । आफुले रोपेका सागसब्जी, फलफूल उमि्रएको र फलेको देख्दा तपाईं प्रफुल्लित रहनुहुन्छ ।

तनाव हट्छ

सागसब्जी रोप्ने, फलफूल लगाउने, फलाउने आदि कामले तपाईंलाई तनावबाट टाढा राख्छ । अहिले हामी तनावग्रसत छौं । चारैतिर तनावले घेरिएका छौं । तनावकै कारण हामीलाई अनेक किसिमको रोग लाग्न थालेको छ । अतः तनाव हटाउनका लागि राम्रो काइदा हो बगैंचामा काम गर्नु ।

तपाईं सागब्जी रोप्न थाल्नुहुन्छ, स्यहार्न थाल्नुहुन्छ, फूल फुलाउन थाल्नुहुन्छ । यावत् गतिविधिले तपाईंलाई तनावबाट टाढै राख्छ ।

प्रकृतिसँग नजिक

तपाईं माटोको सम्पर्कमा रहनुहुन्छ । पानी खेलाउनुहुन्छ । मल तयार गर्नुहुन्छ । विरुवा, बुट्यान, फूलहरुसँग रमाउन थाल्नुहुन्छ । वास्तवमा तपाईं प्रकृतिको नजिक पुग्नुहुन्छ । प्रकृतिसँग जति निकट हुन सकिन्छ, खुसी र स्वस्थ्य रहन सकिन्छ । अहिले हामी प्रकृतिबाट विमुख हुँदै गएका छौं । यान्त्रिक जीवन विताइरहेका छौं । त्यसैले पनि हामी प्रकृतिसँग निकट हुन आवश्यक छ । प्रकृतिले हामीलाई रमाउन सिकाउँछ, बाँच्न सिकाउँछ ।

हामीले केहि सम्बन्धित थप जानकारी दिइएका छाै

अब आफ्नै कौसीमा खेती गर्ने कि ? कसरी गरिन्छ कौसीमा खेती जानिराखाैँ

विषेशगरी शहरी क्षेत्रमा बस्ने मानिससँग जमिन कम हुन्छ । कतिपयसँग त हुँदै हुँदैन। त्यस्तो ठाउँमा मलिलो कालो माटोको, कम्पोस्ट वा गोवर मल प्रयोग गरि थोत्रो जर्किन, बाटा, बाल्टि र प्लास्टिकको प्याकेट आदिको प्रयोग गरि विरुवा वा तरकारी उत्पादन गर्ने विधिनै कौसी तरकारी प्रविधि हो ।

कसरी गरिन्छ कौसीमा खेती 

कौसी तरकारी गर्न भान्छामा प्रयोग भएका नुन, तेल, दुध, चामल, मैदा आदीको प्याकेट फोहोरमा नफाली सुरक्षित राख्नु पर्छ । प्याकेटको मुख पुरै काटेर माटो भरेर कौसीमा राख्नु पर्छ । भान्छा बाटै निस्कने फोहोर पानीलाई बाटारबाल्टीमा हालेर राख्दा अझ सजिलो हुन्छ । लसुन, प्याज, टामटर, साग आदिका बोक्रा पनि एक ठाउँमा जम्मा गरेर राख्यो भने घरभित्रै व्यवस्थापन गर्न सहज पर्छ ।

सबै जना बसेर कुराकानी गरिरहेको बेलामा यसो हात सकृय राख्ने हो भने प्याकेटमा माटो भर्ने, बिउ राख्ने काम गर्न सकिन्छ। त्यसो गरे तपाईलाई भेट्न आउने आफन्तले पनि यस बारे ज्ञान पाई फाइदा लिन सक्नेछन् । आवश्यक्ता अनुसार प्लास्टिको छानो हालेर पनि यो खेती गर्न सकिन्छ ।

के के उत्पादन गर्न सकिन्छ 

कौसी तरकारी गर्न ठाउँ कति उपलब्ध छ त्यसले के के तरकारी उत्पादन गर्ने भन्ने कुराको निर्क्योल गर्छ । ८ मिटर भन्दा अग्लो ठाउँ उपलब्ध छ भने काक्रा, फर्सी, लौका, घिरौला, लगाएत लहरे बाली पनि लगाउन सकिन्छ । यदि ठाउँ अग्लो उपलब्ध छैन भने गोलभेडा, टामटर, बन्दा, काउली, खुर्सानी लगायतका तरकारी उत्पादन गर्न सकिन्छ ।

कम्पोस्ट (गड्यौले मल)कसरि बनाउने 

गड्यौले मल बनाउन भान्साबाट निस्केको फोहोरलाई एउटा काठको वाकसमा तह मिलाएर राख्ने । सामान्य तया दुई रुपैयाँ प्रति गोटा पाइने गड्यौला आधा आधा मिटर लम्वाई चौडाई भएको बाकसमा प्रति तहमा ८ देखि १० वटा सम्म राखेर छोड्दा गड्यौलाले फोहोर खाँदै जाने र मल तयार हुँदा फोहोर सबै माटोको दाना दाना जस्तो बन्न पुग्छ। यसका लागि भान्छाबाट निस्कने सजिलै र कुहिने फोहोरलाई एक ठाउँमा राखेर बक्सा आकारको जुनसुकै भाडोमा सजिलै गड्यौले मल बनाउन सकिन्छ।

समय कति दिनु पर्छ 

तरकारी रोपिसके पछि बिहान उठेर हातमुख धुन बाथरुम वा घर बाहिर कतै नजानुस्। तरकारी लगाएको थैलोमा पनि हातमुख धुन सकिन्छ। त्यति गर्न पनि अफ्ठेरो लागे एउटा बाटामा हातमुख धुनुस। जुन पानीले तपाईको तरकारी सिँचाई गर्न पुग्छ। पानी हाल्ने बेलामै तरकारी खान लायक भयो भएन हेर्नुस। दैनिक तपाईको हात लाग्नु भनेको त्यो बिरुवालाई माया गर्नु हो। बिरुवाले माया गरेको थाहा पाउँछ र छिटो ठुलो हुन्छ।

खर्च कति लाग्छ 

कौसी तरकारीमा ज्यामी लगाउनु पर्दैन । गड्यौले मल बनाउन नसके मात्र बजारको मल किन्न पर्छ । बिउबिजनहरु जिल्ला कृषि विकास कार्यलयले अनुदानमा दिन्छन् । यदि निरन्तर रुपमा कौसी तरकारी गर्ने हो भने तपाईले फोहोर गाडीमा फाल्न पर्दैन र मासिक रुपमा फोहोर फाले बापत तिर्ने पैसा बचत हुन्छ। तरकारी किन्न बजारमा जाने पैसा पनि बचत हुन्छ । त्यसैले यसमा खर्च भन्दा धेरै फाइदा हुन्छ ।

बजारमा आउने तरकारी छिटो नाफा कमाउने उद्देश्यले विषादी प्रयोग गरि उत्पादन गरिएको हुन्छ । कौसी तरकारी आफैले उत्पादन गर्दा विषादी प्रयोग गरिन्न । त्यो आफैँले उपभोग गर्ने हुनाले पनि त्यसको स्याहार समेत पुर्याइएको हुन्छ । यो दशैंमा सुरु गर्नु भयो भने तपाइँले वर्षभरिनै आफुलाई चाहिने तरकारी घरमै फलाउन सक्नुहुन्छ ।

बोरा नै पर्याप्त खेती गर्न, किन चाहियो जमीन ?

प्रविधिको बढ्दो विकाससँगै खेती गर्ने तरीकामा पनि परिवर्तन भएको छ । सामान्यतया खेतीका लागि जमीन, सिँचाइ, मलखाद, जनशक्तिलगायतको आवश्यकता पर्छ । तर, कृषि प्रविधिको विकासले परम्परागत खेतीबाट क्रमशः बोरामा गरिने ‘सेक फार्मिङ’, थोरै जमीनमा ठाडो वा चाङ लगाएर गरिने ‘भर्टिकल फार्मिङ’ हुँदै उच्चतम प्रविधि मनिएको पानीमा गरिने खेतीप्रणाली (हाइड्रोपोनिक्स) समेत प्रयोगमा आइसकेको छ । हाइड्रोपोनिक्स प्रविधि बिरुवालाई चाहिने विभिन्न पोषक तत्त्व पानीमा समावेश गरी उक्त पानीमा बाली हुर्काउने तरीका हो । त्यसका लागि बालीलाई माटोको आवश्यकता पर्दैन ।

यहाँ बोरामा गरिने खेती (सेक फार्मिङ) बारे चर्चा गरिएको छ । यस्तो खेती नेपालमा गाउँदेखि शहरबजारसम्म गरिँदै आएको छ । जमीन भिरालो हुँदा बीउ, मलखादलगायत पानीमा बग्ने समस्या हुन्छ । यसको विकल्पमा बोरामा खेती गर्ने प्रविधिको विकास भएको हो । शहरबजारमा जमीन, मलखाद तथा पानीको कमी भएको कारण यस्तो खेतीप्रति आकर्षण बढेको पाइन्छ । पूर्वी अफ्रिकाको केन्यामा मात्रै १० लाखभन्दा बढी मानिसले यसरी गरिने खेतीलाई आफ्नो पेशा बनाएका छन् । त्यसैगरी शहरतिर गमला, पुरानो बाल्टिन, बाटा, पेयपदार्थको बोतल, माछा बेच्न राख्ने थर्मकुल बक्स, दूध, तेलको प्याकेट, पोलिथिनलगायतमा समेत तरकारीखेती गरेको पाइन्छ ।

कसरी गर्ने बोरामा खेती

सेक फार्मिङ विधिबाट खेती गर्न शुरूमा राम्रो, दह्रो (नमक्किएको) बोराको व्यवस्था गर्नुपर्छ । त्यसपछि बोराको बीचमा पर्ने गरी केही ठूलो प्वाल भएको पाइप राख्नुपर्छ । बोरामा आवश्यक मात्रामा भरिएको माटो र मलखादसँगै माटोको उचाइ पुग्ने गरी पाइपमा समेत स–साना ढुङ्गा वा गिट्टी भरिन्छ । त्यस्तै, भरिसकेपछि बोराबाट पाइप हटाउनुपर्छ । यसो गर्नाले पाइपकै आकारमा गिट्टी भरिने हुँदा बोरामा लगाइएको बालीमा उक्त गिट्टीको माध्यमबाट सिँचाइ गर्न सजिलो हुन्छ । यस्तो प्रविधिबाट बोराको चारैतिर आवश्यक प्वाल पारी सागलगायतको बिरुवा लगाउन सकिन्छ । यद्यपि, नेपालमा भने सामान्यतया गिट्टीको प्रयोग नगरी पूरै बोरा वा आधामा मात्र खेती गर्ने चलन छ ।

माटो तथा हावापानी

यस्तो खेतीका लागि खुला, प्रशस्त उज्यालो भएको स्थान छनोट गर्नुपर्छ । साथै, बोरामा पानी जम्न दिनु हुँदैन । माटोभित्र समेत हावा खेल्न मिल्ने गरी सकेसम्म खुकुलो हल्का दुमट माटोको प्रयोग गर्नुपर्छ । प्राङ्गारिक मल प्रशस्त मात्रामा मिसाउनुपर्छ ।

फाइदा

यो प्रविधिबाट जमीन नभएकाले समेत सजिलै खेती गर्न सक्छन् । घरबाट निस्कने भान्साको फोहोर सदुपयोग हुन्छ । वातावरण प्रदूषणमा कमी आउँछ । साथै, आफैले उत्पादन गरेको स्वच्छ र शुद्ध अर्गानिक तरकारी उपभोग गर्न पाइन्छ । तरकारीका लागि छुट्ट्याइएको रकम तथा समयको बचत हुन्छ । विक्री गरेर आम्दानी पनि लिन सकिन्छ । काम नभएको तथा बिदाको समयमा तरकारीको स्याहार तथा गोडमेल गर्नाले स्वास्थ्य लाभ मिल्छ । हरियो बोटबिरुवाबाट प्राप्त स्वच्छ हावाले फ्रेश महसूस गराउँछ ।

समयको व्यवस्थापन

व्यस्त दिनचर्या भएको अवस्थामा पनि यो खेतीका लागि बिहान–बेलुकाको १र२ घण्टा समय दिए पुग्छ । तरकारी फलफूल केलाउँदा निस्केको फोहोर तथा घरबाट निस्किने अन्य कुहिने पदार्थलाई मल बनाएर तरकारीमा लगाउन सकिन्छ । साथै, तरकारी, भाँडा, लुगालगायत पखालेको पानीले नै सिँचाइ गर्न सकिन्छ ।

उत्पादन गर्न सकिने तरकारी

यो प्रविधिमार्फत साग, गोलभेँडा, करेला, फर्सी, बोडी, लसुन– प्याज, कुरिलो, बकुला, सिमीलगायत तरकारी उत्पादन गर्न सकिन्छ । त्यस्तै, मौसमी वा बेमौसमी तरकारीको रूपमा बन्दा, काउली, खुर्सानी, धनियाँ, पुदिनालगायतको खेती गर्न सकिन्छ । फलफूलहरूमा जुनार, अम्बा, स्ट्रबेरी, काँक्रो, कागती र जडीबुटीहरूमा बोजो, सुप, स्टेभिया, लेमन ग्रास, घोडताप्रे, घीउकुमारी, बाबरी, कपास, बिमिरोलगायत लगाउन सकिन्छ ।

रोगको उपचार

यस्तो खेती अर्गानिक किसिमले गर्दा राम्रो हुन्छ । बालीमा लाग्ने रोगकीरा नियन्त्रण गर्न, भिटामिनलगायत पोषक तत्त्व उपलब्ध गराउन गाईगोरुको गहुँत तथा साबुनपानीको प्रयोग गर्न सकिन्छ । त्यस्तै, उपलब्ध भएमा तितेपाती, कालोपाती ९बनमारा०, असुरो, सिस्नु, नीमलगायतको झोल पनि छर्न सकिन्छ । अधिक पानी र शीतबाट बचाउन, बेमौसमी तरकारी तथा फलफूल उत्पादन गर्न प्लाष्टिक घर बनाई बिरुवा हुर्काउन सकिन्छ ।

माथि उल्लेखित जानकारीहरु विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो । साथै तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला । तपाइको एक सेयरले थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग मिल्नेछ ।