नेपाली महिलाहरुको प्रजनन् स्वास्थ्य सम्बन्धी समस्याहरु मध्ये पाठेघर झर्ने (खस्ने) ‘जसलाई आङ खस्ने पनि भनिन्छ’ एक मुख्य समस्या हो ।अहिले पनि ग्रामिण भेगमा बसोबास गर्ने कतिपय महिलाहरुले यसलाई स्वास्थ्य समस्याको रुपमा लिने गरेको पाइदैन् । बरु उनीहरुले बच्चा भएपछि हुने स्वभाविक असरका रुपमा लिने गरेको पाईन्छ ।

अर्का तर्फ प्रजनन् अंग र यसको कामको बारेमा हाम्रो परिवार समाजमा निकै न्यून मात्रामा छलफल गरिन्छ । किनकी यस्ता कुरा परिवारको ठूला साना सदस्यसंग गर्दा लाज र इज्जत जाने कुरा सम्झिने गरिन्छ । यसले गर्दा कतिपय महिलाहरु मानसिक, शारीरिक रुपमा सहित श्रीमानबाट समेत पिडीत हुन बाध्य छन् ।

के हो पाठेघर झर्ने (खस्ने) समस्या ?

पाठेघर झर्नु (खस्नु) भनेको महिलाको शरीरमा पाठेघर रहनुपर्ने निश्चित ठाउँ छाडेर योनीबाट बाहिर आउनु वा शरीरभित्रै आफ्नो ठाउँ छाडेर तल खस्नु हो । यो समस्या मुख्यतया पहिलो बच्चा पाएको महिला तथा धेरै बच्चा पाएका पहिला जोसुकैलाई हुन सक्छ । यसलाई गाँउठाँउ अनुसार पाठेघर झर्ने (खस्ने) वा आङ खस्नु पनि भनिन्छ ।

पाठेघर खस्नुका कारण के ?

महिलाको पाठेघर झर्नु (खस्नु) को मुख्य कारण उनको गर्भाशयलाई बाँधेर राख्ने नशाहरु कमजोर भएर त्यससंग जोडिएका अंगहरु विस्तारै तल खस्नाले हुन्छ । पाठेघर झर्नुका मुख्य कारणहरु निम्न छन् ।

कम उमेरमा विवाह गर्नाले

कम उमेरमा बच्चा जन्माउनाले र गर्भान्तर नगरी बर्षेनी बच्चा जन्माउनाले

बच्चा जन्मिसकेपछि चाँडै साल झरेन भनेर बल प्रयोग गरी साल निकाल्नाले

सुत्केरी अवस्थामा टुक्रुक्क बसेर लुगा धुने वा गह्रौँ कामहरु गर्नाले

गर्भवती वा सुत्केरी अवस्थामा राम्रो स्याहार नपाउनाले

सुत्केरी अवस्थामा धेरै हिड्ने, गह्रौँ भारी उचाल्ने बोक्ने गर्नाले

चुरोट खाएर बारम्बार खोकी रहनाले पनि पाठेघर खस्नुका कारण हो ।

पाठेघर झर्दा (खस्दा) देखिने लक्षणहरु

यस्तो बेला टुक्रुक्क बस्दा केही अप्ठ्यारो हुन्छ र ढाड पनि दुख्छ ।खोक्दा, टुक्रुक्क बस्दा, बल गरेर कन्दा पाठेघरको मुख योनीको प्वालमा देख्न सकिन्छ । यस्तो अवस्थामा पाठेघरले पिसाबको थैलीलाई थिच्ने भएकोले छिनछिनमा पिसाब लाग्ने, कम्मर दुख्ने, खोक्दा, भारी बोक्दा योनीको मुखमा केही डल्लो आएर बसेको जस्तो हुन्छ ।

पुरै ठाउँ छोडी केही भाग योनी बाहिर पनि निस्कन सक्दछ । खोक्दा, हास्दा अलिअलि पिसाब चुहिने पनि हुन सक्छ ।बाहिर निस्केको पाठेघरमा घाउ हुने, संक्रमण हुने, हिंड्न गाहृो हुने, ढाड दुख्ने हुनसक्छ ।

पाठेघर झरेपछि (खसेपछि) पर्ने समस्या

हाम्रो समाजमा धेरै महिला तथा परिवारले महिलाको पाठेघर खस्ने समस्यालाई समस्याको रुपमा नलिई यसलाई बच्चा भएपछि हुने साधारण शारीरिक समस्या हो भनी लिने गरेको पाईन्छ । तर त्यसो होईन यो महिलाहरु भित्र लुकेको एउटा ठूलो शारीरिक तथा मानसिक समस्या हो । मुख्यतया उनमा निम्न समस्याहरु आउन सक्छन् ।

शारीरिक/स्वास्थ्य समस्या :

ढाड र कम्मर दुख्ने

हिड्दा, बस्दा, खोक्दा अप्ठ्यारो लाग्ने

तल्लो पेट दुख्ने

सेतो पानी बग्ने

टुक्रुक्क बसेर काम गर्दा अप्ठ्यारो हुने

पाठेघर बाहिरै आएको छद भने घाउ भएर अन्तमा क्यान्सर पनि हुन सक्छ ।

पारिवारिक/सामाजिक समस्या :

यौन सम्पर्क गर्दा अफ्ठयारो हुन सक्छ । जसले गर्दा श्रीमानसंगको सम्बन्ध चिसो भएर झगडा हुने र बिस्तारै बिछोड र श्रीमानले अर्को श्रीमती ल्याउने अवस्थाको सृजना हुन सक्छ । सधैको शरीरिक समस्याबाट मानसिक तवरले पनि विछीप्त हुन सक्छ ।

सेतो गन्हाउने पानी आउने हुनाले समूहमा संगै बस्ने मान्छेलाई गन्हाउने डरले समूहमा नबस्ने बसे पनि एक्लै बस्ने र अन्तमा एक्लो महशुस हुन सक्छ ।

पाठेघर झर्नबाट (खस्नबाट) बच्ने उपायहरु

किशोरीहरुलाई पोषिलो खाना खुवाउनु पर्छ ।

महिलाको उमेर कम्तिमा २० वर्ष पुगेपछि मात्र विवाह गर्ने ।

२० वर्षको उमेर पुगेपछि मात्र गर्भवती हुने ।

गर्भवती अवस्थामा कम्तिमा चारपटक र सुत्केरी अवस्थामा तीन पटक स्वास्थ्य जाँच गराउने ।

स्वास्थ्य संस्थामा गई दक्ष प्रसुतिकर्मीबाट प्रसुति गराउने ।

गर्भावस्था र सुत्केरी अवस्थामा पोषिलो खाना पर्याप्त मात्रामा खाने ।

गर्भावस्था र सुत्केरी अवस्थामा राम्रो स्याहार गर्ने ।

सुत्केरी भएको ६ हप्तासम्म आराम गर्ने ।

गर्भावस्था र सुत्केरी अवस्थामा गहृौ भारी नबोक्ने ।

दोस्रो गर्भको चाहना भए परिवार नियोजनको साधन अपनाई कम्तिमा २ वर्ष पर्खन ।

थप जानकारीः

कसरी हुन्छ पाठेघरको मुखको क्यान्सर ? यस्तो छ बच्ने उपाय

नसर्ने रोगमध्ये महिलामा देखिने पाठेघरको मुखको क्यान्सर पनि अग्रस्थानमा रहेको छ । पाठेघरको मुखको क्यान्सर भनेको उक्त अंगमा अनियन्त्रित कोषिकाहरुको वृद्धि हुनु हो ।

कसरी हुन्छ ?

पाठेघरको मुखको क्यान्सर यही कारणले हुन्छ भनेर किटान नभए पनि एक प्रकारको भाइरल संक्रमण यसको मुख्य कारण तत्व मानिन्छ । ह्युमन पापिलो नामको किटाणुका केही प्रजाति यसको प्रमुख कारण हुन् ।

यसैगरी शारीरिक सरसफाइमा ध्यान नदिनाले, धेरै जनासँग शारीरिक सम्पर्कमा राख्नाले पाठेघरको मुखको क्यान्सर हुने सम्भावना हुन्छ । पाठेघरको मुखमा बारम्बार संक्रमण हुने महिलाहरुलाई यस किटाणुले पाठेघरको मुखमा रहेका कोषिकाहरुमा संक्रमण गर्दछ र त्यसलाई अनियन्त्रित तवरले बढ्न मद्यत पु¥याउँछ ।

कारणहरु

—परिवारमा कसैलाई पाठेघरको मुखको क्यान्सर भएको (वंशानुगत)

—प्रजनन् सक्षम कुनै पनि उमेरका महिलालाई यो रोग लाग्न सक्दछ । विशेषगरी ३० वर्षदेखि ६० वर्ष उमेरका महिला जसको विवाह भएको अथवा शारिरीक सम्पर्क भएको महिलामा पाठेघरको मुखको क्यान्सर हुने सम्भावना हुन्छ ।

— सानै उमेरमा विवाह भएको र धेरै सन्तान जन्माएको महिलालाई यो रोग लाग्ने सम्भावना हुन्छ ।

—यौन व्यवसाय गर्ने महिलामा पनि यो रोग लाग्न सक्ने सम्भावना हुन्छ ।

लक्षणहरु

पाठेघरको क्यान्सर सबै व्यक्तिमा एउटै लक्षण हुन्छ भन्ने हुँदैन । व्यक्ति अनुसार फरक —फरक लक्षण हुन सक्दछ ।

—सुरुवातमा धेरै गन्हाउने पानी बग्ने, र पानीसँगै रगत मिसिएको हुनसक्छ । सँगसँगै पटकपटक इन्फेक्सन भइराख्ने पनि हुनसक्छ ।

— महिनावारी नभएको बेलामा पनि रगत देखापर्ने पाठेघरको मुखको क्यान्सरको लक्षण हो ।

— महिनवारी बन्द भइसकेको महिलामा फेरि रगत देखा परेमा पाठेघरको मुखको क्यान्सर भएको होकी भन्ने शंका पनि गर्न सकिन्छ ।

— क्यान्सर धेरै फैलिसकेको अवस्थामा भने खुट्टा सुन्निने, ढाड तथा कम्मर दुख्ने हुन्छ । साथै दिसा पिसाबमा पनि समस्या देखा पर्न सक्छ।
रोकथाम

—पाठेघरको मुखको क्यान्सरका रोगथामको लागि समय समयमा आईभिएफ परीक्षण गर्नुपर्छ । गर्भाशय श्राव परीक्षण गर्दा गर्भाशयको क्यान्सर शुरुमै पहिचान गरेर उपचार गर्न सकिन्छ ।

— सन्तुलित भोजन (फलफूल, हरियो सागसब्जी प्रशस्त मात्रामा खाने ।

— दैनिक शारीरिक क्रियाकलाप गर्ने, सानो उमेरमा विवाह नगर्ने र धेरै सन्तान नजन्माउने ।

—हेपाटाइटीस बी विरुद्धको खोप लगाउने र ह्युमन प्यापिलोमा भाइरस खोप लगाउनाले पनि पाठेघरको मुखको क्यान्सर हुनबाट बच्न सकिन्छ ।

–गन्हाउने पानी बग्ने, महिनावारी अनियमित हुने, महिनावारी बन्द भइसकेको महिलाहरुमा पुनः रगत देखा पर्ने र यौन सम्पर्क पछि रगत देखा पर्ने जस्ता लक्षण देखा परेमा परीक्षण गर्नु जरुरी हुन्छ ।

नोट: माथि उल्लेखित स्वास्थ्य सम्बन्धी जानकारीहरु विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो । मानिसको शारिरिक अवस्था र समय अनुसार पनि माथि उल्लेखित कुराहरुको उपलब्धी फरक पर्छ । सम्पुर्णरुपमा यहि कुरामा मात्रै भर नपर्नुहोला । माथि उल्लेखित कुराहरु प्रयोग गर्दा तपाईको स्वास्थ्यमा थप खराबी देखिए, कृपया तुरुन्त रोकेर स्वास्थ्यकर्मीहरुसँग सल्लाह लिनुहोस् ।

साथै तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला । तपाइको एक सेयरले थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग मिल्नेछ ।

भिडियाे हेर्नुहाेस्ः